A Structural Analysis of the Rajeshwari Khandakavya (राजेश्वरी खण्डकाव्यको संरचनात्मक विश्लेषण)

Dr.Khagendra Ghodasaini
0

राजेश्वरी खण्डकाव्यको संरचनात्मक विश्लेषण
डा. खगेन्द्र घोडासैनी

(सारसङ्क्षेप : प्रस्तुत लेख शैलीवैज्ञानिक समीक्षा सिद्धान्तका आधारमा ‘राजेश्वरी खण्डकाव्यको संरचनात्मक विश्लेषण’ गर्नमा केन्द्रित छ । शैलीविज्ञान साहित्यिक शैलीको भाषा र भाव दुबैलाई आधार बनाएर साहित्यको समीक्षा गर्ने पाश्चात्य साहित्य सिद्धान्त हो । शैलीविज्ञानले सामान्य भाषाभन्दा भिन्न विचलनयुक्त भाषालाई काव्य मानेको छ । यस दृष्टिले राजेश्वरी खण्डकाव्यको संरचनात्मक विश्लेषण गरी त्यसको समीक्षा गर्ने काम यस लेखमा गरिएको छ । शैलीका दृष्टिले राजेश्वरी खण्डकाव्य प्रभावकारी, आकर्षक र प्रभावान्वितियुक्त खण्डकाव्यका रूपमा रहेको निष्कर्ष निकालिएको छ ।)
शब्दकुञ्जी : विचलन, समानान्तरता, विशिष्ट, विचित्रता, अभिव्यञ्जना ।
विषय परिचय
शैलीविज्ञान भाषापरक साहित्य समीक्षा सिद्धान्त हो । यो आधुनिक युगमा विकसित नयाँ ज्ञान हो तर पूर्व र पश्चिममा यसको पुरानो पराम्परा देखिन्छ । पूर्वमा वैदिक मन्त्र, निरुक्त हुँदै आचार्य भरत, भामह, दण्डी, आनन्दवर्धन, क्षेमेन्द्र, कुन्तक आदिका साहित्य चिन्तनमा पाइने भाषापक्षको चिन्तन र पश्चिममा प्लेटो, अरस्तु, सिसरो आदि काव्य चिन्तकहरूमा भाषापरक चिन्तन देखिन्छ । आधुनिक भाषाविज्ञानको उदय, संरचनावादी भाषा वैज्ञानिक विभिन्न सम्प्रदायका चिन्तन मनन र अर्थविज्ञान र चिह्नविज्ञानसँग यसको साइनो गाँसिएपछि आधुनिक शैलीविज्ञानको विकास र विस्तार भएको हो ।
शैलीविज्ञानको समानार्थी शब्द सर्वप्रथम १९ औँ शताब्दीका प्रारम्भमा जर्मनमा Stilistik,, फ्रान्समा १८७२ मा Stylistique र १८८२ मा अंग्रेजीमा Stylistics शब्दको प्रयोग भएको पाइन्छ (शर्मा, २०५९, पृ. ४) । शैलीविज्ञान (Stylistics) शब्द शैली र विज्ञान गरी दुई शब्द मिलेर बनेको छ । जुन विज्ञानमा शैलीको वैज्ञानिक एवं व्यवस्थित रूपमा अध्ययन हुन्छ त्यो शैलीविज्ञान हो । ‘शैली’ शब्द अंग्रेजीको Style हो भने ‘शैलीविज्ञान’ अंग्रेजीको Stylistics को नेपाली रूपान्तर हो ।
आधुनिक युगमा शैलीविज्ञानको आरम्भ फर्निनान्ड डि सस्युरको वर्णनात्मक भाषावैज्ञानिक मान्यताबाट भएको देखिन्छ । सस्युरका मान्यताको उनका शिष्य चाल्र्स बालीले गरेको व्याख्याबाट आधुनिक शैलीविज्ञानको सूत्रपात भएको हो । चाल्र्स बालीले सामान्य व्यवहारको भाषालाई भाषाको मानक रूप माने र व्यक्तिद्वारा प्रयुक्त भाषालाई त्यस मानकबाट ‘विचलन’का रूपमा हेरे । यही भाषिक क्रियाव्यापारको अध्ययन गर्नु नै उनका दृष्टिमा शैलीविज्ञानको अभीष्ट हो । उनले शैलीलाई विज्ञानका रूपमा परिभाषित गरी यसलाई भाषाविज्ञानको एउटा शाखाका रूपमा चर्चा गरेका छन् (हाफ, १९६९, पृ. २५–३०) । त्यसैले आधुनिक शैलीविज्ञानको विकासमा संरचनावादी भाषाविज्ञानका विभिन्न सम्प्रदायका साथै कला र सौन्दर्यशास्त्रीय चिन्तन तथा चिह्न र प्रतीकविज्ञानको पनि महत्त्वपूर्ण देन देखिन्छ ।
शैलीको सूक्ष्म प्रयोग धेरै पहिलेदेखि हुँदै आए पनि आधुनिक शैलीविज्ञान भाषाविज्ञान र साहित्यशास्त्रको समन्वित रूप हो । त्यसैले प्रस्तुत लेखमा ‘राजेश्वरी खण्डकाव्यको शैलीवैज्ञानिक समीक्षा सिद्धान्तका दृष्टिले समीक्षा गर्न सकिन्छ’ भन्ने कुरालाई प्रमुख प्राक्कल्पना बनाइएको छ । यस प्राक्कल्पनाको परीक्षण गर्न शैलीवैज्ञानिक समीक्षाको सैद्धान्तिकपक्षको सङ्क्षिप्त चर्चासँगै त्यसका आधारमा ‘राजेश्वरी खण्डकाव्यमा के कस्तो शैलीगत संरचना छ’ भन्ने कुरालाई नै प्रमुख समस्याका रूपमा लिइएको छ ।
अध्ययन विधि
प्रस्तुत लेख दस्तावेज अध्ययन विधिमा आधारित छ । यो गुणात्मक ढाँचाको अध्ययन हो । यसमा पुस्तकबाट तथ्यहरू लिई तिनको वर्णन, तुलना र विश्लेषण गरेर निष्कर्ष निकालिएको छ ।
सहभागी नमुना छनोट
साहित्यको समीक्षा गर्ने पूर्वीय र पाश्चात्य जगत्मा अनेकौँ सिद्धान्तहरू छन् । ती सबैपक्षलाई प्रस्तुत अध्ययनमा जनसङ्ख्याका रूपमा परिभाषित गरिएको छ । यसका लागि सम्भावनारहित नमुना छनोट पद्धतिअन्तर्गतको उद्देश्यमूलक नमुना छनोट पद्धतिका आधारमा शैलीवैज्ञानिक समीक्षा सिद्धान्त र राजेश्वरी खण्डकाव्य छनोट गरिएको छ । यसक्रममा शैलीवैज्ञानिक समीक्षाको पृष्ठभूमि, विकास र सैद्धान्तिक आधार पहिल्याएर त्यसका आधारमा राजेश्वरी खण्डकाव्यको अनुसन्धानात्मक व्याख्या र विश्लेषण गरी निष्कर्ष निकालिएको छ ।
सैद्धान्तिक पर्याधार
शैलीविज्ञान साहित्य अध्ययनको एउटा नयाँ पद्धति हो । यसलाई आधुनिक भाषाविज्ञानको एक प्रायोगिक शाखा मानिएको छ । साहित्यगत शैलीको वैज्ञानिक अध्ययन शैलीविज्ञान हो (सुरेस, १९७७, पृ. ७६) । शैलीलाई भाषिक तत्त्व र भाषावैज्ञानिक कसीका आधारमा विश्लेषण गर्न सकिने हुँदा यो साहित्यिक समीक्षाको वस्तुपरक परिपाटी हो । त्यसैले शैलीवैज्ञानिक आलोचनाको दृष्टि र चिन्तनधारा भाषावादी छ भने विश्लेषण प्रणालीको प्रकृति वस्तुवादी छ (श्रीवास्तव, १९८०, पृ. २३) । यसले साहित्यलाई भाषिक/शाब्दिक प्रतीक मान्दछ ।
आधुनिक शैलीविज्ञानको उद्भव, स्वरूप र विकासका विषयमा स्पष्ट रूपमा दुई प्रमुख धारणाहरू पृष्ठभूमिका रूपमा देखिन्छन् । एकातिर सस्युर, उनका शिष्य बाली, रोमन याकोब्सन लगायतका भाषाविद्हरू छन् जसले सम्पूर्ण भाषिक प्रयोगप्रक्रियालाई अध्ययनको विषय बनाउँछन् । अर्कातिर लियो स्पिट्जर, निल्स एरिक, एङ्कविस्ट, स्टिफन उल्मन, रेने वेलेक, ज्योफ्री एन लिचलगायतका समीक्षक छन् जो केवल साहित्यिक भाषाशैली मात्रको वैज्ञानिक अध्ययन गर्ने विद्याका रूपमा शैलीविज्ञानको चर्चा गर्दछन् (नगेन्द्र, १९८०, पृ. १७–१८) । भाषाविज्ञानले प्रत्येक वस्तुलाई ध्वनिप्रतीकका रूपमा हेरेझैँ शैलीविज्ञानले पनि सम्पूर्ण साहित्यिक पाठलाई कलाप्रतीकका रूपमा हेर्दछ । त्यसैले साहित्यिक पाठलाई एकाधिक तहमा राखेर तिनको क्रमिक प्रस्तुतीकरण र समायोजनमा नै शैलीवैज्ञानिक अध्ययनले पूर्णता पाउँछ । शैलीको स्वरूप निर्धारण गर्नका लागि साहित्यिक कृतिलाई तिन ओटा स्तरमा हेर्नुपर्दछ (शर्मा, २०५९, पृ. १८) । कलासामग्रीको स्तर, कलामाध्यमको स्तर र कलाप्रतीकको स्तर ।
कलासामग्रीको स्तर
साहित्यिक कृति भाषिक सामग्रीमा आधारित हुन्छ । यसमा सबैभन्दा ठुलो एकाइ वाक्यलाई मानिन्छ । वाक्यभन्दा तल्ला तहहरूमा क्रमशः उपवाक्य, पदसमूह, रूप, ध्वनिका तहसम्म पुगेर साहित्यिक भाषाको अध्ययन गरिने हुँदा यसलाई भाषावैज्ञानिक शैलीविज्ञान भनिन्छ । यसमा वाक्यका प्रकार, संरचना, शब्दयुग्म, शब्दगुच्छा, व्याकरणिक स्थितिबारे प्रकाश पारिने हुँदा साहित्यिक स्वरूपको विश्लेषण हुँदैन केवल भाषिकपक्षको मात्रै विश्लेषण हुन्छ ।
कलामाध्यमको स्तर
भाषाले साहित्यको कलासामग्री निर्माण गर्छ । भाषाका माध्यमबाट व्यक्त हुने साहित्यिक स्वरूप र तिनको खोजी कलामाध्यमको स्तरमा गरिन्छ । यस अध्ययनको सबैभन्दा ठुलो एकाइ सङ्कथन वा पाठ हो । यसबाट साहित्यको कलामाध्यमका रूपमा बिम्ब, प्रतीक, छन्द, लय, गति, यति, अलङ्कार, ध्वन्यात्मकता आदिको निर्माण वा संयोजन हुन्छ । यिनैको विवरण विश्लेषणबाट शैलीवैज्ञानिक आफ्नो विवेच्य वस्तुको केन्द्र वा गहिराइसम्म पुग्दछ । यसमा सङ्कथनका सन्दर्भबाट अध्याय, खण्ड, अनुच्छेद र वाक्यको अध्ययन हुन्छ । त्यसैले यसलाई साहित्यिक शैलीविज्ञान वा पाठ शैलीविज्ञान पनि भनिन्छ (शर्मा, २०५९, पृ. १९) ।
कलाप्रतीकको स्तर
सिङ्गो कृतिलाई कलाप्रतीकका रूपमा हेर्ने काम यस स्तरमा हुन्छ । यसमा कृतिका प्रत्येक एकाइलाई अलग अलग रूपमा नहेरी सिङ्गो संरचनाका रूपमा हेरिन्छ । यो दृष्टिकोण सङ्केत विज्ञानबाट शैलीविज्ञानले ग्रहण गरेको हो । सम्पूर्ण घटकहरूको समुच्चय नै कृति हो र यसैले कृतिमा निहित सौन्दर्यको उद्घाटन गर्दछ । त्यसैले यसलाई संरचनात्मक शैलीविज्ञान भनिन्छ (शर्मा, २०५९, पृ. १९) ।
शैलीवैज्ञानिक विश्लेषणले भाषालाई नै आफ्नो मूल आधार बनाई कृतिगत वैशिष्ट्य केलाएर हेर्ने गरेको पाइन्छ । त्यसैले यस विज्ञानले भाषाविज्ञान र व्याकरणबाट साधन र कसीहरू आधारस्वरूप ग्रहण गरेर कृतिको शैलीगत अध्ययन र विश्लेषण गर्दछ । यसरी भाषाविज्ञानको सहयोग लिएर साहित्यको शैलीपरक अध्ययन गर्ने विद्या नै शैलीविज्ञान हो जसको पद्धति भाषापरक र दृष्टि कलापरक छ ।
राजेश्वरीको संरचनात्मक विश्लेषण
शैलीविज्ञानका अनुसार काव्यको समीक्षा पूर्वनिर्मित सिद्धान्तहरूका आधारमा नगरेर केवल त्यसका भाषिक विशेषताहरूका आधारमा गरिनुपर्दछ भन्ने कुरा प्रायः स्विकारिन्छ । शैलीविज्ञानका आधारमा काव्य वा साहित्यको समीक्षा गर्दा त्यसमा प्रयोग भएका भाषाका विविधरूपहरूमा ध्यान दिइन्छ जुन कुरा कवि वा साहित्यकारले जानेरै प्रयोग गरेको हुन्छ । यसकारण शैलीविज्ञानलाई साहित्यिक भाषाको प्रायोगिक पक्ष पनि भनिन्छ (चौधरी, १९९७, पृ. २६०) । यस समीक्षा पद्धतिमा समीक्षकले रचनाको शाब्दिक अर्थ ज्ञान गर्दै त्यो पाठलाई पनि ध्यान दिन्छ अनि त्यससँग सम्बन्धित आफ्नो मनमा परेको प्रतिक्रियालाई पनि व्यक्त गर्दछ । यसका लागि कहिले काहीँ उसलाई पटकपटक पनि त्यसको पाठ गर्नुपर्ने हुनसक्छ । पढ्दै जाँदा त्यसको गति, लय र त्यसको मौलिक भाव ग्रहण गर्दछ । यसबाहेक शब्दको एकअर्कासँग संगति, कोमल र कठोर शब्द, व्याकरणयुक्त प्रयोग, पदक्रम, पदविचलन आदिको प्रयोगबाट अर्थमा सङ्गति वा विसङ्गति, सुबोध, दुर्बोध के कस्तो स्थिति सिर्जना भयो भन्नेजस्ता पक्षहरूको खोजी शैलीवैज्ञानिक समीक्षकले गर्दछ ।
यस समीक्षा प्रणालीमा समीक्षकले काव्य भाषाका बाह्यरूपहरूको विभिन्न स्थितिमा परीक्षण गर्दै त्यसमा निहित आन्तरिक सौन्दर्यको उद्घाटन गर्न उपयोग गरिने तत्त्वहरूको उपयोग गर्दछ । तिनलाई शर्मा (२०५९) ले उल्लेख गरेका छन् :
साहित्यिक संरचना
साहित्यिक कृतिको आआफ्नै संरचना हुन्छ । कृति जेबाट बनेको हुन्छ तिनै अङ्गहरूबाट कृति संरचित हुन्छ । यसका दुई तह छन् :
बनोट : कृतिमा पाइने मूर्त घटकहरूलाई बनोट भनिन्छ । कृतिको बनोटबाटै विधा निर्धारण हुन्छ । अङ्क, दृश्य, संवाद, परिच्छेद, भाग, अध्याय, खण्ड आदिलाई बनोट भनेर बुझिन्छ । शैलीविज्ञानले कृतिका यिनै घटकहरूको विश्लेषण गरेर अमूर्त बनोटलाई मूर्त पार्ने काम गर्छ ।
राजेश्वरी २०१७ सालमा प्रकाशित भएको ऐतिहासिक विषयवस्तुमा आधारित चरित्र प्रधान खण्डकाव्य हो । यसमा वि.सं. १८३२ मा जन्मेर १८३४ मा शासनसत्ता समाल्न पुगेका रणबहादुर शाहकी जेठी महारानी राजेश्वरीको चरित्रलाई मुख्य विषय बनाइको छ । यसमा वि.सं.१८६३ तिरको नेपालको शासन व्यवस्थामा रहेको षडयन्त्र र स्वार्थको प्रभावले देश र जनताको भलो चाहने व्यक्तिको समूल विनाश कसरी हुन्थ्यो भन्ने यथार्थको प्रस्तुति छ । यस खण्डकाव्यमा बिस ओटा छाल छन् । प्रत्येक छालको शीर्षकमा अङ्क र अक्षर दिई त्यस छालको कथावस्तुलाई गद्यमा सङ्क्षिप्त रूपमा सङ्केत गरेर भिन्नभिन्न पात्रका माध्यमबाट काव्यको अभिव्यक्ति गर्न लगाइएको छ । यसरी राजेश्वरी खण्डकाव्यको बनोट कसिलो र व्यवस्थित देखिन्छ ।
बुनोट : कृतिमा पाइने अमूर्त घटकहरूलाई बुनोट भनिन्छ । कृतिमा रहेका छन्द, अलङ्कार, प्रतीक, चरित्र, कथानक, शब्द, वर्ण आदिको संयोजनजस्ता कुराहरू यसभित्र पर्दछन् । यिनैको विश्लेषण गरेर शैलीविज्ञानले बुनोटलाई मूर्त पार्ने काम गर्छ ।
राजेश्वरी खण्डकाव्यका प्रत्येक छालमा पाँचपाँच ओटा शार्दूलविक्रीडित छन्दका श्लोक र अन्तिम छालमा शिखरिणी छन्दको प्रयोग गरिएको छ । यसरी जम्मा श्लोकसङ्ख्या एक सय हुन जान्छ । यस दृष्टिले यो लघु आकृतिको खण्डकाव्य हो । राजेश्वरी करुण रसमा आधारित छ । यसको उद्देश्य अलङ्कार प्रदर्शन होइन तर यसमा अलङ्कारको बाहुल्य छ । यसमा अतिशयोक्ति, उपमा, लुप्तोपमा, तुल्ययोगिता, रूपक, व्यतिरेक, उत्प्रेक्षा, सन्देह, विशेषोक्ति, अर्थान्तरन्यास, उदात्त आदि अलङ्कारहरूको सोदाहरण प्रस्तुत गरिएको पाइन्छ (गौतम, २०७४, पृ. ३१–३५) । यसमा परम्परित अलङ्कारका अतिरिक्त मौलिक प्रतीक पनि चयन गरिएको छ । यसमा ‘नभको इन्दे्रनी नुहुनु’ ले रानी कान्तिपुरतर्फ जानु, ‘दुधका पोखरी, वैशाखी निशि, कलाकार, गिरिगुफा’ ले क्रमशः निर्मल स्वच्छ पानी भएको स्थल, वसन्तको सौन्दर्ययुक्त रात, राजा वा पति र एकान्त स्थल’ भन्ने अर्थ बुझाएका छन् । यस्तै ‘अस्तशेष’ले सिन्दुर पुछिएकी विधवा, दच्केकी वनसिंहदेखि मृगिणी’ले विपत्तिबाट त्रसित रानी र ‘शीतविन्दु’ले अश्रूवर्षालाई बुझाएका छन् भने तेस्रो नेत्रले ज्ञान, कातर स्यालले डरछेरुवा र यौटा चिलले खतरा एवं अनिष्टको सङ्केत गरेका छन् ।
यसमा राजेश्वरीको सम्पूर्ण जीवनगाथा केलाउने उद्देश्य नभई केवल ‘हेलम्बुमा निर्वासित भएदेखि वाग्मतीमा सती गएसम्मको’ घटनालाई आधार बनाइएको छ (घिमिरे, २०५०, क) । यसमा केवल इतिहासका तिन दिनका घटनालाई समेटिएको छ । त्यसैले यो सङ्क्षिप्त कथानकयुक्त खण्डकाव्य हो । कथानकका अङ्ग र भागहरूको विकास फ्रेटागका आधारमा शर्मा (२०६३) ले निम्नानुसार दिएका छन् :

१. आफ्ना पति रणबहादुर शाहद्वारा उपेक्षित भएर हेलम्बुमा अवस्थित आफ्नो कुटियामा बसेका बेला त्यहीँ बाहिर कान्तिपुरबाट गएका साथजना दूतहरू राजेश्वरीलाई कान्तिपुर लैजान बोलाउँछन् । पहिले त राजेश्वरीलाई विश्वास लाग्दैन तर पछि राजाको सन्देश सुनेपछि विश्वास हुन्छ र दूतहरूसँग कान्तिपुरतर्फ लाग्छिन् ।
२. अर्को दिन इन्द्रावतीको तीरमा पुगेपछि राजेश्वरीलाई पतिको मृत्युको आशङ्का हुन्छ । उनी हेलम्बु फर्किन खोज्छिन् तर दिइँदैन । दूतहरू उनलाई कान्तिपुरतिरै हिँडाउँछन् । दोस्रो दिन साँखुमा बास बस्दा बज्रयोगिनीलाई आसागुर्जा चढाउँछिन् । त्यहाँ पुजारीले उनलाई हेरेर सम्भावित विपत्तिको आशङ्का गर्छन् ।
३. अपरान्ह वाग्मतीमा पुग्दा उनलाई दरबारतिर जान सेनापति र अमात्यले रोक्छन् र उनीहरूसहित पुरोहितले राजेश्वरीलाई सती जान बाध्य पार्दछन् । राजेश्वरीले बालक राजा गिर्वाणको मुख हेर्ने इच्छा प्रकट गर्छिन् उनलाई भेट गर्न दिइँदैन ।
४. परिस्थिति राजेश्वरीको प्रतिकूल हुन्छ । उनको पक्षमा खुलेर बोल्ने कोही हुँदैनन् । राजनीतिज्ञ, दार्शनिक, कलाकार र कवि उनका पक्षमा भए पनि बोल्न सक्दैनन् ।
५. राजेश्वरीको मार्मिक यो जीवनगाथा आज पनि कविहरूले विभिन्न तरिकाले गाउँदै छन् भनी कविले उपसंहार गरेका छन् ।
यसरी राजेश्वरी खण्डकाव्यको कथावस्तुको बुनोट गरिएको पाइन्छ ।
राजेश्वरी खण्डकाव्यमा विभिन्न पात्रहरूको प्रयोग भएको छ । यसमा सहभागी भएका पात्रहरूको संरचनात्मक विवरण निम्नानुसार देखिन्छ :

राजेश्वरी खण्डकाव्यमा पन्चानब्बे श्लोक शार्दूलविक्रीडित छन्दका र अन्तिम छालका पाँच श्लोक शिखरिणी छन्दमा आधारित छन् । यस खण्डकाव्यमा बाँचुन्जेल पतिसँग बस्न नपाउने तर पतिको मृत्युपछि सती जानुपर्ने तत्कालीन सामाजिक बाध्यताको सिकार राजेश्वरी भएको देखाइएको छ । धार्मिक पाखण्ड र रुढिवादी संस्कारका नाममा भएका कलङ्कको चित्रण गरी मानवतावादी समाजको सिर्जना गर्नुपर्छ भन्ने खण्डकाव्यकारको मुख्य आशय रहेको देखिन्छ ।
भाषिक संरचना
साहित्यिक कृतिको आधार भाषा हो । भाषाको व्याकरण (वर्ण, रूप, वाक्य), शब्द र ध्वनि व्यवस्थाहरूको प्रयोगको अवस्थाबारे खोजी गरेर कृतिमा पाइने भाषाको विश्लेषण भाषिक संरचनाअन्तर्गत गरिन्छ ।
शैली
भाषिक उपकरणका सहायताले साहित्यिक कृतिको प्रस्तुति गर्दा पाठक कृतिबाट जे कुराले आकर्षित हुन्छ त्यही नै शैली हो । शैलीबाटै साहित्यिक कृतिको मूल्य निर्धारण हुन्छ । शैलीविज्ञानले त्यस्तो उपयुक्त शैली बन्नका लागि आवश्यक पर्ने आधारभूतपक्षको आवश्यकता ठान्दछ । त्यस्ता आधारभूत पक्षहरू यस प्रकार छन् :
चयन
आफूले वर्णन गर्न चाहेको विषयवस्तु अनुकूल शब्द र वाक्यको प्रयोग गर्नुलाई शैलीवैज्ञानिक शब्दावलीमा चयन भनिन्छ । शैलीगत दृष्टिले बेग्लाबेग्लै तर मोटामोटी रूपमा एउटै कथ्य प्रतिपादन गर्ने यिनै अभिव्यक्ति नै त्यस भाषाको प्रयोक्ताका निम्ति उपलब्ध भाषिक विकल्प हुन् र तीमध्ये कुनै एउटाको प्रयोग नै चयन हो । यो व्याकरणात्मक, शैलीगत र शैलीइतर गरी तिन किसिमको हुन्छ (एङ्कविस्ट, १०६४, पृ. १९) । यस्तै चयनले प्रयोक्ताको शैली निर्धारण गर्दछ । व्याकरणिक चयन भन्नाले व्याकरणिक नियमका दृष्टिले शुद्ध र अशुद्ध चयन भन्ने बुझिन्छ । शैलीपरक चयन र शैलीइतर चयन दुबै व्याकरणिक सीमाभित्र बसेर गरिने चयन हुन् । दुबैमा व्याकरणसम्मत भाषिक विकल्पबाट छानेर प्रयोक्ताको विकल्पले ठिक ठह¥याएको चाहिँ प्रयोग गरिन्छ । शैलीपरक चयनमा विभिन्न एकाइमध्ये कुनै एउटा विशेषको प्रयोग गरिन्छ । शैलीइतर चयनमा अर्थका दृष्टिले फरकफरक संरचनामध्येबाट एउटालाई छानिन्छ (एङ्कविस्ट, १०६४, पृ. १९) । शैलीवैज्ञानिक दृष्टिबाट समीक्षा गर्दा उपयुक्त विशेषताहरूको चयन लेखकले के कति मात्रामा कसरी गरेको छ भन्ने कुरा हेरिन्छ । अनेक पर्यायवाची शब्द र व्याकरणिक रूपमध्ये जसको चयनबाट पाठक प्रभावित हुनसक्छ त्यसको चयन भए नभएको खोजी शैलीवैज्ञानिक समीक्षकले गर्छ, जस्तै :
चाहेथेँ जसलाइ नै विरहको धिक्कारले बिर्सन
मैले थालिछु मौन मौन कसरी त्यल्लाई नै पर्खन ।
वीणाको कुन चाहिँ दिव्यक्षणको आनन्द झङ्कारले
सम्झ्यो हो वनवासिनी मकन रे मेरो कलाकारले ।। राजेश्वरी ४/२
यहाँ आफ्नो राजा लोग्नेलाई बुझाउन श्रीमान्, पति, बुढो, मालिक, छोराको बाबुजस्ता कुनै पदको चयन गर्न सकिन्थ्यो तर राजेश्वरीबाट कविले ‘कलाकार’ शब्द चयन गर्न लगाएका छन् जसकारण यसले प्रतीकात्मकता र प्रभावकारिता सिर्जना गरेको छ ।
राजेश्वरीमा केही ह्रस्व/दीर्घका मात्राहरूको विचलन गरिएको पाइन्छ । जस्तै : पनी, हेलम्बू, तिमि, सुस्तरि, गरि, जसलाइ, सरि आदि । यस्तैगरी केही शब्दहरू अप्रचलित र वैयक्तिक प्रकृतिका पनि छन् : ‘सुनफूल, बलभीनेरै, हिय, कोशी दुर, महाकाल, शून्यको, नाला, त्रिपुरा, झुक्किल, गोलसिमल’ आदि । यिनको अर्थ श्लोककै तल उल्लेख गरिएको छ ।
अग्रभूमि निर्माण
शैलीविज्ञानमा अग्रभूमि निर्माणको अवधारणा येन मुकारोभ्स्कीले ल्याएका हुन् । उनले साहित्यिक कृतिमा अग्रभूमिको निर्माण ‘स्वचालन’ अर्थात् भाषाको रुढ, परम्परित, चिरस्वीकृत र यान्त्रिक प्रयोगबाट हुँदैन ‘अवस्वचालन’ अर्थात् सौन्दर्यपूर्ण, सार्थक र नौलो प्रयोगबाट हुन्छ भनेका छन् (अधिकारी, २०६२, पृ. २७५) । यसले सहजै पाठकको ध्यानाकर्षण गर्छ किनभने यसमा चमत्कार हुन्छ । यो परम्परित कथनभन्दा भिन्न हुन्छ ।
अग्रभूमि, मध्यभूमि र पश्चभूमि वा पृष्ठभूमि चित्रकलामा प्रचलित शब्द हुन् । कुनै चित्रको पृष्ठभागमा देखिने दृश्य पश्चभूमि हो, बिचको भाग मध्यभूमि हो भने सबैभन्दा अगाडिको भागलाई अग्रभूमि मनिन्छ । पृष्ठभूमि र मध्यभूमिभन्दा अग्रभूमि बढी स्पष्ट, मुखर र ध्यानाकर्षण हुन्छ (शर्मा, २०६३, पृ. ५३४) । चित्रकलाका पारिभाषिक शब्दावलीलाई येन मुकारोभ्स्कीले साहित्य कलाको विश्लेषणमा उपयोग गरेका थिए । अग्रभूमिको निर्माणमा नवीनता, असामान्यता, अनपेक्षितताजस्ता विशेषता भेटिन्छन् । अग्रभूमि निर्माणका प्रमुख दुई पक्ष छन् : विचलन र समानान्तरता । विचलन र समानान्तरता समग्रमा अग्रभूमिकै विभिन्न रूप हुन् (अधिकारी, २०६२, पृ. २७५–२८१) विचलन र समानान्तरता अग्रभूमि निर्माणका अभिलक्षण (शर्मा, २०६३, पृ. ५३५) भएकाले यी दुबैलाई अग्रभूमि निर्माणअन्तर्गत राखेर हेर्नु सान्दर्भिक हुन्छ :
विचलन
मानक भाषाका नियमको उलङ्घन वा अतिक्रमणलाई नै विचलन भनिन्छ (शर्मा, २०५९, पृ. ८) । यसलाई विपर्यास पनि भनिएको छ (नेपाल, २००९, पृ. ७९) । काव्य वा साहित्यकारले कुनै विशिष्ट भावको सिर्जना गरेर पाठकलाई प्रभावित पार्नका लागि व्याकरणका स्वीकृत वाक्य ढाँचा वा पदको क्रम उल्ट्याएर प्रयोग गर्नु नै विचलन हो । कृतिमा विचलन विभिन्न प्रकृतिको हुन्छ, यो अनियमित प्रक्रिया हो । विचलन कोशीय, व्याकरणिक, ध्वनिप्रक्रियात्मक, लेखन प्रक्रियात्मक, अर्थतात्त्विक, भाषिक र प्रयुक्ति हुन्छ (शर्मा, २०५९, पृ. ८) यसरी विचलन अनेक रूपमा देखिन्छ । यो शाब्दिकका अतिरिक्त कथावस्तुजन्य पनि हुन सक्छ । इतिहास, भूगोलका तहमा अतिक्रमण भएमा त्यसले नयाँ कथ्य सिर्जना गर्छ, यसो गर्न विचलनको मात्रा बढाउनुपर्छ । कथनलाई आफ्नो अनुकूल परिवर्तन गर्नु प्रयुक्तिजन्य विचलन हो, जस्तै :
नेपाली जनको सिँगार म गरूँ सिन्दूर मेरो पुछी
पुस्केको यस केशसाथ शिरका चिन्ता जुरामा कसी ।
साँच्चै बाँच्न सकूँ मरेर अरुको अव्यर्थ उद्देश्यमा
केही साँच्न सकूँ विराट् मनुजको अक्ष्यय यै कोशमा ।। राजेश्वरी ११/५
यहाँ स्वीकृत व्याकरणिक ढाँचाको विचलन मात्रै होइन आर्थिक विचलन पनि देखिएको छ । आफू परेर सिँगार गर्ने अनि मरेर बाँच्न सक्ने सन्दर्भले आर्थिक विचलन भएको छ ।
समानान्तरता
साहित्यिक अभिव्यक्तिमा गरिने नियमित पुनरावृत्तिलाई समानान्तरता भनिन्छ (शर्मा, २०५९, पृ. ८) । विशेष प्रकृतिको व्याकरणिक संरचना वा भाषिक एकाइ एकभन्दा धेरैपटक दोहोरिएर प्रयोग हुन आउँदा समानान्तरता हुन्छ (नेपाल, २००९, पृ. १४७) । समानान्तरता ध्वनिगत, रूपगत, पदगत, उपवाक्य र वाक्यगत तथा अर्थ र प्रबन्धगत गरी विभिन्न प्रकृतिको हुन्छ (तिवारी, १९८३, पृ. ११३) । कथनको कुनै अंशलाई महत्त्वपूर्ण बनाउने उद्देश्यले व्याकरणिक नियमहरूको पालन केही अतिशयोक्तिपूर्ण गरिन्छ । यसमा वर्ण, पद, वाक्य र अर्थमध्ये कुनै एक वा एकाधिक भाषातत्त्वहरूको पुनरावृत्ति होओस् भन्ने अपेक्षा गरिन्छ । उपयुक्त समानान्तरताले काव्य पढ्दा आरोह र अवरोध वा अवरोह र आरोह सिर्जना हुन्छ । पाठकले अर्थ बुझे पनि नबुझे पनि मन लयसँग गाँसिएर सल्ल बग्छ र त्यो ठाउँमा प्रयोग भएका सरल, समान वा कठिन वर्णहरूको पुनरावृत्तिबाट पनि यस्तो स्थिति सिर्जना हुन्छ :
मेरो कान्तिपुरी मजुर सुनका गोधूलिले सुन्दर ।
सानो स्वर्गसरी बसन्तपुरको दर्बार मेरो घर ।।
सन्ध्याको मधु गन्धमा हरहरी धूवाँ, निकाल्ने धुरी ।
देओ मार्ग, म जान्छु रे हृदयको मेरै सुनौला पुरी ।। राजेश्वरी १३/१
यहाँ ‘र’ वर्णको उन्नाइसपटक भएको पुनरावृत्तिले गतिमा मधुरता झल्किएको छ । अल्पप्राण ध्वनिको बहुलता छ । गति र यति राम्रो हुनका लागि वर्ण, शब्द वा पदको रखाइ महत्त्वपूर्ण बनेको छ । यसैलाई समानान्तरता भनिन्छ । समानान्तरता बाह्य र आन्तरिक गरी दुई किसिमको हुन्छ :
(ख) बाह्य समानान्तरता : भाषाका कुनै ध्वनि, वर्ण, रूप, शब्द, पदावली आदिका बाह्य स्वरूप वा रूपाकृतिको पुनरावृत्तिलाई आन्तरिक समानान्तरता भनिन्छ । यसमा शाब्दिक चमत्कार देखिन्छ (अधिकारी, २०६२, पृ. २७९) । यो एक वा अनेक वर्ण, शब्द, रूप (नाम, सर्वनाम, क्रिया आदि), वाक्यांश र वाक्यको पुनरावृत्ति हुने स्थिति हो (चौधरी, १९९७, पृ. २८९) । जस्तै :
राजाको यदि दूत ह्वौ त भनिद्यौ सम्चार क्यै छैन रे ।
आफैमा परिपूर्णलाई दुनियाँ संसार क्यै ह्वैन रे ।। राजेश्वरी २/१
यहाँ समान ‘त/द’ वर्ण, शब्द र वाक्यांशको पुनरावृत्ति भएको छ ।
एक्लो कोमल प्याउली कुसुम यो एक्लासमै फुल्न द्यौ,
सन्ध्यामा छलिने कुनै किरण यो कैलासमै डुल्न द्यौ,
मान्छेबाट नकाट दुःखसुखको यौटै पनी यो कण,
सारा सृष्टि सिँगार्छ इन्द्रधनुको यौटै पनी यो कण ।। राजेश्वरी १९/५
यहाँ ‘क्, ल्’ वर्ण, अक्षर र वाक्यांशको पुनरावृत्तिले बाह्य समानान्तरता देखिन्छ ।
(क) आन्तरिक समानान्तरता : यसमा अर्थगत पुनरावृत्ति हुन्छ । यो सूक्ष्म र आर्थी तहमा निहित हुन्छ (अधिकारी, २०६२, पृ. २७९) । यसमा वाच्यार्थ वा भावार्थको पुनरावृत्ति हुन्छ (चौधरी, १९९७, पृ. २८९) । जस्तै :
राजाको म हूँ दूत अन्तपुरको विश्वासको पात्र हूँ । राजेश्वरी ३/१
उपर्युक्त रेखाङ्कित ‘को’ वर्णको पुनरावृत्तिले बाह्य समानान्तरता र ‘हूँ’ क्रियाको पुनरावृत्तिले आन्तरिक समानान्तरता झल्किएको छ । राजाको दूत र विश्वासको पात्र दुवैको सारमा अर्थ उही भए पनि त्यसको यहाँ पुनरावृत्ति भएको छ ।
रानी एक त पाउ छन् कमलका फूलैसरी कोमल
दोस्रो हिँड्नु छ खोँचमा बगरमा खोला तरी फेनिल ।
तेस्रो व्याकुल बोल्दछन् वन वनै वैशाखका न्याउल
चौथो के उनको छ पीर मनमा जान्लिन् उनै केवल ।। राजेश्वरी ६/१
यहाँ वर्ण, अक्षर, शब्द समूहको पुनरावृत्ति हुनुका साथै राजेश्वरीको पीडालाई पृथकीकरण गरी अर्थको पुनारावृत्ति गरिएको देखिन्छ ।
अस्पष्टता
एउटै वाक्यले एकभन्दा बढी भावबोध गराउनुलाई अस्पष्टता भनिन्छ । अस्पष्टता यस्तो ठाउँमा हुन्छ जहाँ एउटा बाह्य संरचनाबाट अनेक आन्तरिक संरचना सम्भव हुन्छ तर अनेक आन्तरिक संरचनामध्ये एउटा आन्तरिक संरचना उपयुक्त हुन्छ । जुन ठाउँमा यस्तो अस्पष्टता हुन्छ त्यहाँ फरक किसिमको भाव सञ्चार हुन्छ जसकारण अस्पष्टता रहँदैन (चौधरी, १९९७, पृ. ३०२–३०३) । यसलाई शैलीवैज्ञानिकहरूले अस्पष्टता भनेका छन् :
आफैलाई पियार गर्छु म त रे शृङ्गार आफै गरी । राजेश्वरी २/२
माथिको श्लोकमा आफैँलाई शृङ्गार गरेर आफैँसँग प्रेम गर्छु भनिएकाले यो ‘कथन’ सन्दिग्ध छ । त्यसैले यो अस्पष्टताको उदाहरण हो । ‘आफूले आफैँलाई प्रेम गर्छु’ को एक अर्थ बाँच्न चाहन्छु भन्ने जिजीविषा हो भने अर्को अर्थ मेरो प्रेमीले मलाई त्यागेको हुँदा अर्को प्रेमी छैन । म कसका लागि शृङ्गार गरूँ भन्ने पनि हो । यहाँ दोस्रो अर्थ बढी प्रसङ्गानुकूल देखिन्छ ।
असङ्गतता तथा विरोधाभास
शब्द र वाक्य विन्यासका स्तरमा व्याकरणिक नियमानुसार भएर पनि जहाँ अर्थका स्तरमा असंगत एवं विरोधपूर्ण देखिन्छ त्यसलाई असङ्गतता तथा विरोधाभास भनिन्छ । यसमा कुनै न कुनै प्रकारको चमत्कार भने अवश्य उत्पन्न हुनुपर्दछ (चौधरी, १९९७, पृ. ३११) । यस्तो स्थिति धार्मिक, सांस्कृतिक, पौराणिक अभिव्यक्ति, उखान र टुक्काहरूमा हुन्छ । जस्तै :
फर्की जान्छु म ता जहाँ गिरिगुफा बस्छिन् मलाई कुरी । राजेश्वरी ५/३
यस श्लोकमा गिरिगुफालाई स्त्रीलिङ्गी क्रियाको प्रयोग गरिएकाले व्याकरणिक नियमानुसार असङ्गतता देखिन्छ ।
पैलेको दुनियाँ सबै बदलियो रे स्वार्थको नाममा
छेपारो जसरी बदल्छ रंग यै छाया र यै घाममा । राजेश्वरी १०/४
स्वार्थी दुनियाँ बदलिएको छ त्यसैले छेपारोझैँ रंग बदल्छ भनी उखानको प्रयोगबाट पुष्टि गरिएको छ ।
राजा जीवित नै छँदातक थियौ रानी तिमी प्यारकी
पानी झैँ अनि झल्कँदी झलमल तर्वारको धारकी ।
सोसेको अब आत्मशक्ति विधवा बन्ध्यासरी छौ तिमी
टाढा सूर्य डुवाइ अन्ध क्षणकी सन्ध्यासरी छौ तिमी ।। राजेश्वरी १०/५
यहाँ रानीको राज्यशक्ति क्षीण हुनाका कारण सन्ध्यासँग तुलना गरिएको छ जबकी सबै रानीको यस्तो स्थिति हुँदैन त्यसैले यहाँ विरोध छ भने अर्थमा चमत्कार पनि छ ।
भाषिक संरचनामा विविधता
परिस्थिति अनुकूल लेखनका प्रकारमा भिन्नता आउँछ त्यही नै शैली हो । सामान्य वक्ताले आफूले वर्णन गर्न लागेको विषयानुसारको भाषा प्रयोग गर्ने प्रयास गर्न चाहन्छ तर विषय अनुकूल भाषाको प्रयोग गर्न सक्दैन, यसलाई उसको कमजोरीका रूपमा लिइन्छ । काव्यभाषामा भने कहिले काहीँ यसलाई विशिष्टता स्विकारिन्छ (चौधरी, १९९७, पृ. ३१९) । वक्ताले आफ्नो भनाइ वक्ता, वाच्य, विषय र भाव अनुकूल राख्नुपर्छ तर यसमा उसको सफलता र असफलता श्रोतामा परेको प्रभावका आधारमा गरिने हुँदा भाषिक संरचनामा विविधता हुन्छ । जस्तै :
मैले न्वाउनलाई शैल तलमा छन् दूधका पोखरी । राजेश्वरी ५/३
यहाँ हिमालबाट बगेको स्वच्छ पानी भन्नु पर्ने ठाउँमा स्वच्छता र पवित्रताको प्रतीक मानिएको ‘दुध’ शब्दको प्रयोग गरिएको छ । दुध पेय पदार्थ हो, नुहाउने पदार्थ होइन तर यस सामान्य नियमका विपरीत विशिष्ट कथन गरिएको छ । यसबाट कथनको विचित्रता, आकर्षण, मौलिकता र कविप्रतिभा व्यक्त भएको छ ।
निष्कर्ष
प्रस्तुत लेखमा शैलीविज्ञानको परिचय, उद्भव, विकास, सैद्धान्तिक स्वरूप र विश्लेषणको प्रक्रिया पहिल्याएर त्यसका आधारमा राजेश्वरी खण्डकाव्यको संरचनात्मक विश्लेषण गर्ने प्रयास गरिएको छ । शैलीवैज्ञानिक समीक्षा पद्धतिको आरम्भ प्रायोगिक भाषाविज्ञानबाट भएको देखिन्छ । भाषाको प्रयोजनपरक भेदबाट शैली जन्मिन्छ । यसले साहित्यिक कृतिमा पाइने भाषाको विश्लेषण एकातिर गर्छ भने अर्कातिर कृतिको सौन्दर्यशास्त्रीय दृष्टिबाट पनि समीक्षा गर्छ । त्यसैले शैलीवैज्ञानिक समीक्षा प्रणाली मिश्रित समीक्षा प्रणालीका रूपमा देखिन्छ । शैलीविज्ञानमा वस्तुपरकता, विचलन, चयन, समानान्तरता आदिको अपेक्षा गरिन्छ । यसमा सौन्दर्यपूर्ण उक्ति वा कथन वा अभिव्यक्तिलाई जोड दिइन्छ । यसमा भाषा र भाव दुबैलाई महत्त्व दिइन्छ । राजेश्वरी खण्डकाव्यमा पाइने साहित्यिक बनोट, बुनोट र भाषिक संरचना पहिल्याउने काम प्रस्तुत लेखमा गरिएको छ । यसबाट शैलीविज्ञानका आधारमा कृतिलाई हेर्ने दृष्टिकोण प्राप्त हुनुका साथै राजेश्वरीमा पाइने शैलीगत संरचना बुझ्न मद्दत मिल्ने अपेक्षा गरिएको छ ।
कृतज्ञताज्ञापन
अन्तमा प्रस्तुत लेख पढी उपयुक्त सुझाब दिएर परिमार्जन, संशोधन र परिष्कार गर्न मद्दत गर्नुहुने विषय विशेषज्ञ गुरुहरूप्रति हार्दिक कृतज्ञता प्रकट गर्दछु ।
सन्दर्भ सामग्रीसूची
अधिकारी, हेमाङ्गराज (२०६२). सामाजिक र प्रायोगिक भाषाविज्ञान, काठमाडौँ : रत्न पुस्तक भण्डार ।
एङ्कविस्ट र अन्य (सन् १९६४). लिङ्ग्विस्टिक्स एन्ड स्टाइल, लन्डन : अक्सफोर्ड ।
गौतम, धु्रवराज (२०७४). अलङ्कार विधानका दृष्टिले ‘राजेश्वरी’ खण्डकाव्य, प्रवाह, राष्ट्रकवि माधव घिमिरे विशेषाङ्क, उत्तमकृष्ण मजगैयाँ (सम्पादक), दाङ : लेखक सङ्घ ।
घिमिरे, माधवप्रसाद (२०५०). राजेश्वरी, ललितपुर, साझा प्रकाशन ।
चौधरी, सत्यदेव (सन् १९९७). भारतीय शैलीविज्ञान, दिल्ली : अलङ्कार प्रकाशन ।
नगेन्द्र (सन् १९८०). शैलीविज्ञान, दिल्ली : नेसनल पब्लिसिङ हाउस ।
नेपाल, घनश्यास (सन् २००९). शैलीविज्ञान, सिगगढी, पश्चिम बङ्गाल : एकता बुक हाउस प्रा.लि.।
तिवारी, भोलानाथ (सन् १९८३). शैलीविज्ञान, दिल्ली : शब्दकार ।
शर्मा, मोहनराज (२०५९). शैलीविज्ञान सिद्धान्त र आलोचना, काठमाडौँ : नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान
शर्मा, मोहनराज (२०६३). समकालीन समालोचना सिद्धान्त र प्रयोग, काठमाडौँ : अक्सफोर्ड इन्टरनेसलन पब्लिकेसन
श्रीवास्तव, रवीन्द्रनाथ (सन् १९८०). संरचनात्मक शैलीविज्ञान, दिल्ली : आलेख प्रकाशन ।
सुरेशकुमार (सन् १९७७). शैलीविज्ञान, नयाँ दिल्ली : दि म्याकमिलन कम्पनी अफ इन्डिया लिमिटेड ।
हफ, ग्राहाम (सन् १९६९). स्टाइल एन्ड स्टाइलिस्टिक्स, लन्डन : रुटलेज एन्ड केगल पल ।

(नोटः प्रस्तुत लेख जनता विद्यापीठबाट प्रकाशित विज्ञसमीक्षित जर्नल १८ ‍औं अङ्कबाट साभार गरिएको हो । यसलाई हुबहु सार्न वा कपीपेस्ट गर्न पाइने छैन, गरेमा प्रतिलिपि अधिकारसम्बन्धी कानुन आकर्षित हुने छ ।)


Post a Comment

0 Comments
Post a Comment (0)

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top