Format and use of project work (परियोजना कार्यको ढाँचा र प्रयोग)

Dr.Khagendra Ghodasaini
0
परियोजना कार्यको सिद्धान्त र प्रयोग
डा. खगेन्द्र घोडासैनी

परियोजना कार्यको परिचय
योजनाबद्ध कार्य नै परियोजना कार्य हो । कुनै विषयसँग सम्बन्धित वा व्यावहारिक ज्ञान प्राप्त गर्नका लागि योजनाको तयारी गरेर त्यसका माध्यमबाट गरिने कार्य नै परियोजना कार्य हो । यसलाई परियोजना विधि पनि भनिन्छ । यो अमेरिकी शिक्षाशास्त्री जोन डिबे (सन् १८५९-१९५२) को दार्शनिक अवधारणामा आधारित छ (नेपाल सरकार, २०७५, पृ.६) । यसका जन्मदाता जोन डिबेका शिष्य विलियम किलपैट्रिक (सन् १८७१-१९६५) हुन् । यो कक्षाकार्य वा गृहकार्यका रूपमा केही घण्टा, दिन वा हप्तामा सम्पन्न गर्नका लागि दिइन्छ । परियोजना कार्य विद्यार्थीहरूले आफै गरेर सिक्ने, विद्यार्थी केन्द्रित सिकाइ पद्धतिको ज्ञान, सिप र अभिवृत्तिमा व्यावहारिक परिवर्तन भई सिकाइ प्रभावकारी र दीर्घकालीन हुन्छ (नेपाल सरकार, २०७५, पृ.६ । पौड्याल (२०७९) ले परियोजना कार्यका केही परिभाषाहरू उल्लेख गरेका छन्, जसअनुसार जे.एस्टेन्सनका विचारमा परियोजना कार्य एउटा यस्तो समस्यामूलक काम हो जसलाई प्राकृतिक वातावरणमा रहेर पूरा गरिन्छ । यस्तै बलार्डका विचारमा परियोजना कार्य वास्तविक जीवनको एउटा अङ्ग हो जसलाई पाठशालामा आयात गरिन्छ । रामकुमार पाँडेका शब्दमा निगमन विधिमा निष्कर्ष निकाल्न पूर्व ज्ञान चाहिन्छ । यसबाट शुद्ध नयाँ ज्ञान हासिल हुँदैन तर परियोजना विधिमा आधारित आगमन विधिबाट एउटा मौलिक र नयाँ निष्कर्षमा पुग्न सकिन्छ । यसबाट परियोजना कार्यले नयाँ नियम बनाउन सहयोग गर्ने देखिन्छ । नयाँ नियम बनाउँदा वातावरणमा प्राप्त उदाहरणको खोजी गरेर त्यसको विश्लेषण गरिन्छ । यसरी विश्लेषण गरिने आधारको पहिचान गरी नियम बनाइन्छ । यसकारण परियोजना कार्यलाई आगमन विधको एउटा उच्चतम अभ्यासका रूपमा लिन सकिन्छ (पौड्याल, २०७९) । यस विधिमा सिकारुलाई परियोजनाका माध्यमबाट समस्याको समाधान गर्न सिकाइन्छ । यसमा शिक्षकले मार्गदर्शकको रूपमा काम गर्दछ । यो विधिले प्रत्यक्ष अनुभव दिन्छ । यसमा गरेर सिक्ने कुरामा जोड दिइएको छ । यस विधिबाट प्राप्त ज्ञान स्थायी र स्पष्ट हुन्छ । यसबाट बालबालिकामा सोच्ने शक्तिको विकास हुन्छ । यसमा आत्मनिर्भर हुने, सामाजिक गुणयुक्त र शारीरिक अङ्गले काम गर्नमा जोड दिइन्छ । शारीरिक र मानसिक परिश्रम हुने यो विधि धेरै महँगो र समय खपत हुने प्रकृतिको हुन्छ । यस विधिबाट शिक्षण गर्दा विद्यार्थीहरूको प्रत्यक्ष सहभागिता हुने भएकाले यो उद्देश्यपूर्ण शिक्षण विधि हो । किलपैट्रिकका अनुसार परियोजना उद्देश्यपूर्ण कार्य हो जसमा लगनपूर्वक सामाजिक वातावरणमा सम्पन्न गर्ने गरिन्छ (वैद्य, २०२१, युटुव भिडियो) । यसमा के गर्ने रु कुन समस्या र प्रयोजन परिपूर्तिका लागि गर्ने ? को को मिलेर गर्ने ? कसरी गर्ने ? भन्नेजस्ता आधारभूत प्रश्नहरूको समाधान खोज्ने कोसिस गरिन्छ ।
परियोजना उत्पादनमूलक, उपभोक्तामूलक, समस्यामूलक, अभ्यासमूलक, सिर्जनात्मक, कलात्मक आदि विभिन्न प्रकृतिका हुन्छन् । शिक्षण गर्दा देखिने समस्यालाई हेरेर यिनका स्वरूपमा फेरबदल गर्न सकिन्छ । यस लेखमा परियोजनाका केही ढाँचा उल्लेख गरेर यसको औपचारिक प्रतिवेदनको साझा ढाँचा कस्तो बनाउने भन्ने विषयमा एउटा अवधारणा प्रस्तुत गर्ने प्रयास गरिएको छ ।
परियोजना कार्यका ढाँचाहरू
परियोजना कार्यका अङ्गहरूबारे सबैको एउटै धारणा पाइँदैन । लेखकहरू त्यस्ता भिन्न धारणाहरूको समीक्षा गरेर परियोजना कार्यका चरणहरू पहिल्याउँदा उचित हुने देखिन्छ । विभिन्न लेखकका परियोजनाका अङ्गसम्बन्धी धारणाहरू निम्नलिखित रूपमा उल्लेख गरिन्छ स्
श्रेष्ठ (२०६८) ले परियोजना कार्यका चरणहरू भनी यसका छओटा चरणहरू औँल्याएका छन् । ती हुन्, पहिलो चरण, परियोजनाको विषयवस्तु र समस्या पहिचान, दोस्रो चरण, अन्तिम प्रतिफल निर्धारण, तेस्रो चरण प्रक्रियाको निर्धारण, सूचनाको स्रोत, प्राप्त गर्ने तरिका, प्रयोग, लाग्ने समय, मूल्याङ्कनको तरिका आदि, रुब्रिक्सको तयारी, चौथो चरण कार्यान्वयन, पाँचौँ चरण प्रस्तुतीकरण, छैटौँ चरण मूल्याङ्कन विद्यार्थीबाट स्वमूल्याङ्कन र शिक्षकबाट मूल्याङ्कन र निष्कर्ष हुनुपर्ने कुरा उल्लेख गरेका छन् । उनले ढाँचाको उल्लेख नगरी चरणको मात्रै उल्लेख गरेको पाइन्छ ।
विद्यार्थीहरू आफ्ना वास्तविक समस्याहरूमा केन्द्रित भएर खोजमार्फत् गहन ज्ञान र सिप विकास गर्नसक्ने हुँदा परियोजना कार्य विद्यार्थी केन्द्रित गतिशील शिक्षण विधि हो । सिकाइ अनुभवका माध्ममबाट हुने भएकाले यो रचनात्मक र आलोचनात्मक दुवै हुन्छ । परियोजना कार्य सिकाइ प्रभावकारी बनाउन कक्षाकोठा वा कक्षाबाहिर सञ्चालन गर्ने कार्यकलाप हो । यसलाई औपचारिक रूपमा अभिलेखीकरण गर्दा शीर्षक, उद्देश्य , आवश्यक सामग्री तथा साधनहरू, आवश्यक पूर्वज्ञान, कार्यान्वयन प्रक्रिया तथा विधि, तथ्याङ्क सङ्कलन, प्रस्तुति र विश्लेषण, नतिजा प्राप्ति, निष्कर्ष तथा सुझाव, अनुसूची कार्ययोजना, फोटो आदि जस्ता मुख्य शीर्षकमा आधारित हुनुपर्ने कुरा उल्लेख गरी प्रतिवेदनकै ढाँचामा प्रस्तुत गर्नुपर्दछ भनी उपर्युक्त ढाँचामा आधारित भएर गर्न सुझाइएको पाइन्छ (नेपाल सरकार, २०७५, पृ.८) ।
ShivaDeep Skill Education (2018, july 7) मा परियोजना कार्यका सातओटा अङ्गहरू उल्लेख गरिएका छन्, ती हुन् : समस्याको पहिचान, उद्देश्य, औचित्य, योजना, कार्यान्वयन, मूल्याङ्कन र अभिलेखीकरण ।
वैद्य ९२०२१, युटुव भिडियो० ले परियोजना विधिका निम्नलिखित चरणहरू उल्लेख गरेकी छन् स् परिस्थिति निर्माण, उद्देश्यको चयन, योजना, कार्यान्वयन, मूल्याङ्कन र लिखित प्रस्तुति । वैद्यको यो धारणा लिखित प्रस्तुतिका लागि नभई लिखित प्रस्तुति गर्नुपूर्वको प्रक्रियाका चरणहरू भएको बुझिन्छ किनभने यसको अन्तमा लिखित प्रस्तुति राखिएको छ ।
टिपिडी तालिमको परियोजना कार्य निर्माणको योजना. (-) मा परियोजना कार्यको परियच, उद्देश्य, महत्त्व, सीमा, परियोजना कार्य सञ्चालनको निर्माण तथा सङ्कलनको योजना निर्माण, सामग्री निर्माणको कार्यभार विभाजन र कार्य सञ्चालन, आवश्यक सामग्रीको निर्माण र सञ्चालन, शिक्षण कार्यकलापमा सामग्रीको प्रभाव, परियोजना कार्यको प्राप्ति, निष्कर्ष र अनुसूची जस्ता कुराहरू समेटिनुपर्ने कुरा उल्लेख गरिएको छ । यसमा परियोजना कार्य सञ्चालनको निर्माण तथा सङ्कलनको योजना निर्माणु शीर्षकले विधिलाई सङ्केत गरेको छ । यो समूह कार्यका रूपमा गरिने ढाँचाको परियोजना कार्य हो ।
बन्धु (२०६५) ले प्रयोजनका आधारमा अनुसन्धानलाई दुईवर्गमा राखेका छन् शैक्षिक अनुसन्धान र परियोजनमूलक अनुसन्धान । उनका दृष्टिमा शैक्षिक संस्थामा आन्तरिक वा सत्रान्त परीक्षा, प्रयोगशाला अध्ययन प्रतिवेदन, विद्यावारिधि उपाधिका लागि गरिने अनुसन्धान शैक्षिक अनुसन्धान हुन् भने विभिन्न व्यक्ति वा संस्थाले अनुदान, वृत्ति वा आर्थिक सहयोग लिएर गराइने अनुसन्धानलाई परियोजनामूलक अनुसन्धान भनेका छन् (पृ. १०) । उनले परियोजनामूलक अनुसन्धान कार्यको प्रतिवेदन मूल्याङ्कनु शीर्षकमा यसको मूल्याङ्कन पक्षबारे पनि चर्चा गरेका छन् । यसमा उनले विश्वविद्यालयहरू र तिनका अध्ययन संस्थानहरू, अनुसन्धान केन्द्र र विभागहरू, प्रज्ञाप्रतिष्ठानहरू तथा सरकारी र गैरसरकारी अनुसन्धान आयोजनाअन्तर्गत गरिने अनुसन्धान कार्यहरूलाई परियोजनामूलक अनुसन्धानको सीमामा समेटेका छन् (पृ. १५१) । यसबाट परियोजनामूलक अनुसन्धान र परियोजना कार्यका बिचको अन्तर पहिल्याउन मद्दत पुग्ने देखिन्छ ।
सुनुवार (२०७९) ले परियोजना कार्यका अङ्ग वा ढाँचाहरूमा शीर्षक, उद्देश्य, प्रतिफल, प्रयोग गरिएका सामग्रीहरू, परियोजना कार्यबाट सिकिएका ज्ञान, सिप, दक्षता र बानी तथा परियोजना कार्यबाट सिकिएका कुराहरूको व्यावहारिक जीवनमा प्रयोग र निष्कर्ष जस्ता कुरा उल्लेख गरिएका छन् ।
परियोजना कार्यका उपर्युक्त विभिन्न अङ्ग, ढाँचा तथा अनुसन्धानमूलक परियोजना कार्यका ढाँचासमेतलाई ख्याल गर्दा परियोजना कार्यको ढाँचा निम्नलिखित प्रकारको हुनपर्ने देखिन्छ :
शीर्षक, विषयपरिचय, समस्या, उद्देश्य, अध्ययनविधि (आवश्यक सामग्री तथा साधानहरू, तथ्याङ्क सङ्कलन, प्रस्तुति र विश्लेषण), नतिजा, परिणाम र प्राप्ति, निष्कर्ष तथा सुझाव, सन्दर्भ सामग्रीसूची र अनुसूची ।
परियोजना कार्यका विशेषताहरू
- शिक्षकको मार्गनिर्देशनमा गर्नुपर्ने,
- शोधरखोज वा अनुसन्धानलाई बढी जोड दिने प्रकृतिको हुनुपर्ने,
- भाषिक सिप र भाषाको प्रयोजनपरक भेदलाई बढी महत्त्व दिनुपर्ने,
- क्षेत्रकार्य (Field work) समस्या समाधान वा घटना अध्ययन (Case Study) भ्रमण (Tour), कृति समीक्षा (Book Review)
- प्राप्त ज्ञान एवं कुशलतालाई मापन र अवलोकन गर्न सकिने प्रकृतिको हुनुपर्ने,
- ७ देखि १५ दिनमा सकिने समयावधि हुनुपर्ने,
- व्यक्तिगत वा सामूहिक रूपमा गर्न सकिने,
- कम्तीमा तीन तीन महिनामा एउटा परियोजना कार्य सञ्चालन गर्नुपर्ने,
- परियोजना विद्यार्थी स्वयंको हस्तलिखित हुनुपर्ने,
- विद्यार्थीले आफूले गरेको परियोजना कार्य आफ्नै खोजको परिणाम हो, यो कुनै प्रकारको नक्कल वा चोरी होइन भन्ने प्रतिबद्धता व्यक्त गर्नुपर्ने,
- यसको आन्तरिक मूल्याङ्कन विषय शिक्षकबाट र बाह्य मूल्याङ्कन विद्यालयको प्रशासनले खटाएको व्यक्तिद्वारा तोकिएको मितिमा गरिने,
- विद्यार्थीले परियोजना कार्य सम्पन्न गरेपछि ती मध्ये राम्रो परियोजना बाह्य मूल्याङ्कनकर्ताका अगाडि प्रस्तुतीकरण गर्नुपर्ने ।
उद्धरण र सन्दर्भ सामग्रीसूची दिने तरिका
परियोजना कार्यमा अरूले गरेका कार्यको उद्धरण गर्नुपर्ने भए उद्धरण गर्ने तरिका जानेर सोहीअनुसार गर्नुपर्छ । त्यसका लागि र त्यसरी उद्धरण गरेका पत्रिका, किताब, अनलाइनमा प्रकाशित सामग्रीहरूको अन्तमा सन्दर्भ पनि दिनुपर्छ । उद्धरण र सन्दर्भ सामग्रीसूची तयार पार्ने तरिका निम्नलिखित लिङ्कहरूमा गएर विस्तृत रूपमा हेर्न सकिन्छ :
https://doi.org/10.3126/haimaprabha.v21i01.44839.
or
https://ghodasainik.blogspot.com/search?updated-max=2022-06-30T22:18:00-07:00&max-results=1&start=2&by-date=false.
परियोजना कार्यका केही शीर्षकहरू
परियोजना कार्यले आफ्ना लागि आवश्यक पर्ने ज्ञान आफै निर्माण गर्ने उपयुक्त अभ्यास सिकाउँछ । परियोजना विधि, योजना विधि, परियोजना कार्य, परियोजना कार्यविधि आदि शब्दबाट परियोजना कार्य नै बुझिन्छ । यो सिर्जनात्मक र खोज विधिमा आधारित सिकाइ प्रक्रिया हो । परियोजना कार्यका लागि क्षेत्र, उद्योग वा कुनै स्थानको भ्रमण नै आवश्यक हुन्छ भन्ने छैन । भाषा विषयमा त अझ पाठ्यपुस्तकलाई नै प्रयोगशालाका रूपमा उपयोग गरेर परियोजना कार्य गराउन सकिन्छ । यसका लागि कस्ता विषयमा परियोजना कार्य गर्न उपयुक्त हुन्छ भन्ने कुरालाई ख्याल गरेर परियोजना कार्य गराउन सकिने केही शीर्षकहरू छन् । तिनलाई निम्नलिखति रूपमा प्रस्तुत गरिएको छ :
- कथालाई बुँदा टिपोट गरेर नयाँ कथा कसरी बनाउन सकिन्छ ?
- निबन्धबाट बुँदा टिपोट गरेर कसरी नयाँ निबन्ध लेख्न सकिन्छ ?
- के पद्य कवितालाई गद्यमा रूपान्तरण गर्न सकिन्छ ?
- जीवनी विधाबाट मुख्य बुँदा टिपोट गरी कक्षा प्रस्तुति गर्न वा नयाँ जीवनी लेख्न के के गर्नुपर्छ र?
- कुनै पाठ तोकेर शिरविन्दु र चन्द्रविन्दु लागेका तथा पञ्चम वर्ण प्रयोग भएका शब्द टिपी तिनका आधारमा अनुस्वार र पञ्चम वर्णको प्रयोगसम्बन्धी नियम के के हुन्छन् ?
- (पाठ तोकेर) इ/ई, उ/ऊ, ब/व, श/ष/स, क्ष/ज्ञ आदि वर्ण प्रयोग भएका शब्द के कस्ता छन् ?
- व्यावहारिक लेखनका नमुनाहरू के कसरी तयार पार्न सकिन्छ ?
यसैगरी भाषिक सिप, व्यावहारिक लेखन, कृति समीक्षा तथा वर्णविन्याससँग सम्बन्धित समस्यामा केन्द्रित अन्य विभिन्न शीर्षकहरू बनाएर परियोजना कार्य सञ्चालन गराउँदा विद्यार्थीहरूको सिकाइ उपलब्धि बढ्नुका साथै प्रभावकारी शिक्षण गर्न समेत मद्दत पुग्ने देखिन्छ ।
सन्दर्भ सामग्रीसूची
Gurukul Study centre परियोजना कार्य. (९२०२१, जुन ३०) https://www.youtube.com/watch?v=XVhH9DqrnAE
घोडासैनी, खगेन्द्र (२०७९). एपिए सातौं संस्करणका प्रावधानहरू, https://doi.org/10.3126/haimaprabha.v21i01.44839
टिपिडी तालिमको परियोजना कार्य निर्माणको योजना (-).https://www.youtube.com/watch?v=f3IKI6Z-n5c.
थपलिया, तुलसीप्रसाद (२०६८, मङ्सिर १). परियोजना कार्य के, किन र कसरी रु https://shikshakmasik.com/1499
नेपाल सरकार (२०७५). परियोजना कार्य सञ्चालन शिक्षक निर्देशिका (आधारभूत तह, गणित, कक्षा ६/८) शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, पाठ्यक्रम विकास केन्द्र ।
बन्धु, चूडामणि (२०६५). अनुसन्धान तथा प्रतिवेदन लेखन. (दो.संस्क.) एकता प्रकाशन ।
योगेन्द्र, सुनुवार (२०७०, चैत्र १). प्रतिवेदन लेखन, परियोजना कार्य, घटना अध्ययन र कार्यमूलक अनुसन्धानको प्रतिवेदन तयार पार्ने विधि र नमुना. https://shikshakmasik.com/2321
वैद्य, रानी (२०२२). परियोना विधि. https://www.youtube.com/watch?v=kC370dE4-80
श्रेष्ठ, इमनारायण (२०६८, मङ्सिर १). https://www.shikshakmasik.com/1498 यसरी गर्न सकिन्छ कार्यान्वयन ।
ShivaDeep Skill Education. (2018, july 7). https://www.facebook.com/ssenepal/posts/1925399807523860/
अनुसूची-१
आवरण वा मुख पृष्ठ : यसमा परियोजनाको शीर्षक, परियोजनाको साधारण उद्देश्य र परियोजना तयार पार्ने व्यक्ति वा समूहको नाम, कक्षा, क्रमाङ्क र विद्यालयको नाम लेख्नुपर्छ, जस्तै :










परियोजनाको परिचय
परियोजना कार्यको शीर्षक र विषयलाई राम्रोसँग स्पष्ट पार्ने, उक्त विषयका बारेमा लेख्ने ।
सम्बद्ध साहित्यको पुनरवलोकन
आफूले गर्न लागेको परियोजना कार्यसँग सम्बन्धित विषयमा आफूभन्दा पहिले लेख्ने व्यक्तिहरूले के कति काम गरेका छन् तिनको अध्ययन गरी तिनमा पाइने अभाव भएको पक्षमा आफ्नो अध्ययनले कसरी परिपूर्ति गर्ने छ भन्ने कुरा उल्लेख गर्नुपर्छ । यसरी पूनरवलोकनमा समेटिएका किताब, पत्रिका, लेख आदिलाई अन्तमा सन्दर्भ सामग्रीसूचीमा समावेश गर्नुपर्छ ।
परियोजनाको समस्या
खोज, अध्ययन नहुनु समस्या हो, अध्ययन गर्नुपर्ने आवश्यकता देखिनुलाई समस्याका रूपमा बुँदागत रूपमा प्रस्तुत गर्ने ।
परियोजनाको उद्देश्य
समस्याको समाधान गर्ने प्रकृतिका वाक्यमा उद्देश्य राख्ने । उदाहरण यसको उद्देश्य कक्षा ११ को अनिवार्य नेपाली विषयको ‘प्रयोगात्मक तथा परियोजनाकार्य’ पाठ्यांशको आंशिक परिपूर्ति गर्ने उद्देश्यले अध्ययन गर्न लागिएको पनि थप्न सकिने । यसैगरी आफ्नो आवश्यकताअनुसार उद्देश्य थप्ने ।
परियोजना कार्यको योजना निर्माण
- के के गर्ने ?
- कसरी गर्ने ?
- को को मिलेर गर्ने ?
परियोजना लेखन विधि र प्रविधि
- स्रोत तथा सामग्री कहाँबाट उपयोग गर्ने ?
- के कस्ता साधनको उपयोग गरेर गर्ने ?
- खोज, अन्तर्वार्ता, विश्लेषण, वर्णन आदिमध्ये के गर्ने हो रु त्यसको किटान गर्ने ।
परियोजनाको परिणाम /छलफल /प्रतिफल/प्राप्ति
परियोजनाबाट सिकिएको व्यावहारिक सिपरबानीरदक्षतारज्ञानलाई विभिन्न शीर्षक र उपशीर्षकमा लेख्ने । परियोजनाको प्रकृतिअनुसार शीर्षक फरक हुन सक्छन् । खास परियोजनाले समेट्ने नयाँ कुरा यसैमा आउनुपर्छ ।
निष्कर्ष
परियोजना कार्यको के निष्कर्ष आयो त्यसलाई यहाँ उल्लेख गर्नुपर्छ ।
सन्दर्भ सामग्रीसूची
परियोजना सम्पन्न गर्दा प्रयोग गरिएका किताब, पत्रिका, अन्तर्वार्ता लिएका व्यक्तिको ठेगानासहितको पूर्ण विवरणलाई यसमा समावेश गर्नुपर्छ । अरूका कृतिबाट लिइएका सामग्रीको स्रोत नखुलाउँदा त्यस्तो कार्य चोरीमा गनिन्छ । त्यसैले त्यस्ता सामग्रीको अनिवार्य स्रोत खुलाउनुपर्छ । सन्दर्भ कसरी लेख्ने भन्ने कुराको जानकारी माथि सन्दर्भ सामग्रीसूची शीर्षकका अन्तमा दिइएका लिङ्कमा गएर हेर्न सकिन्छ । त्यसरी हेरिएक प्रत्येक स्रोतको सन्दर्भ भने अनिवार्य रूपमा दिनुपर्छ ।
अनुसूची- २
तहअनुसार परियोजना कार्यका विभिन्न ढाँचा वा नमुना हुनसक्ने देखिन्छन् । सबै तहका लागि समान प्रकृतिका ढाँचा बनाउन सकिने भए पनि विद्यालय तहका तल्ला कक्षाका लागि यो कठिन हुने देखिन्छ । त्यसैले परियोजनाको ढाँचालाई तल्ला तहमा त्यति जोड दिइनु हुँदैन ।
कक्षा १-८ का लागि पुरै ढाँचामा आधारित परियोजना दिइरहनुपर्दैन । एक पृष्ठकै परियोजना पर्याप्त हुन्छ ।
कक्षा ९-१० का लागि पनि नयाँ पाठ्यक्रमले परियोजनाका सम्पूर्ण अङ्गहरुको समुचित प्रयोग गर्न सबै विद्यार्थीहरुको क्षमताले नसक्ने हुँदा तिनलाई समूहगत रूपमा परियोजना कार्य दिनुपर्छ ।
माध्यमिक तह कक्षा ११-१२ मा सामुहिक वा व्यक्तिगत रूपमा परियोजना गर्न दिए पनि परियोजनाका ढाँचालाई पूर्णरूपमा पालना गरिनुपर्दछ ।
स्नातक तहका लागि परियोजना अनुसन्धानको आधार हो । त्यसैले पूर्णरूपमा अनुसन्धानका ढाँचाको परिपालना गर्नुपर्छ ।
यसरी तहगत रूपमा परियोजनाको खाका वा ढाँचामा देखिने अन्तरका कारण पनि परियोजनाको एउटै साझा ढाँचा बन्न नसकेको निष्कर्ष निकाल्न सकिन्छ
अनुसूची-३ : परियोजना कार्यको नमुना
वर्षा कविताको गद्यमा रूपान्तरण
विषयरिचय
वर्षा कविता लक्ष्मीप्रसाद देवकोटाले लेखेका हुन् । यो कविता मन्दाक्रान्ता छन्दमा लेखिएको छ । कविताहरू वार्णिक, मात्रिक, लोक र मुक्तगद्य लय ढाँचामा रचना गरिन्छन् । यस दृष्टिले कविता गद्य र पद्य गरी दुई शैलीका हुन जान्छन् । पद्य शैलीका कवितामा छन्द वा लयलाई ध्यानमा राखिने हुँदा आलङ्कारिक पदक्रम बन्न जान्छ । यसलाई व्याकरणात्मक पदक्रममा परिवर्तन गरेर मात्रै अर्थबोध हुन्छ । त्यसका लागि गद्यमा रूपान्तरण गर्नुपर्ने हुन्छ । रूपान्तरण भनेको भाषाको पद्यरूपलाई गद्यमा परिवर्तन गर्नु हो । यस परियोजना कार्यमा मन्दाक्रान्ता छन्दको यही वर्षा कवितालाई व्याकरणात्मक वाक्य ढाँचामा मिलाएर पुनर्लेखन गर्ने प्रयास गरिएको छ ।
परियोजना कार्यको समस्या
छन्दमा रचना गरिएका कवितामा पदहरू यताउता सरेका हुन्छन् । त्यसरी पदहरू सरेपछि लय त आउँछ तर भावबोधमा समस्या हुन्छ । पद्य कवितालाई बुझ्न गद्यमा परिवर्तन गर्नुपर्ने हुन्छ । यस परियोजनामा गद्यमा रूपान्तरण गर्नुपर्ने कुरालाई नै मुख्य समस्या मानिएको छ । यस समस्यालाई सङ्क्षिप्त रूपता निम्नलिखित तरिकाले उल्लेख गर्नु उपयुक्त हुन्छ :
(क) वर्षा कवितालाई कसरी गद्यमा रूपान्तरण गर्न सकिन्छ ?
(ख) गद्यमा रूपान्तरण गर्दा कवितामा उल्लेख भएका पदहरू कसरी परिवर्तन हुन्छन् ?
परियोजना कार्यको उद्देश्य
पद्य कवितालाई गद्यमा रूपान्तरण गर्दा पदहरू अघिपछि सारेर मिलाउनुपर्ने हुन्छ । त्यसरी पदहरू मिलाउँदा वर्षा कविताको अवस्था कस्तो हुन्छ भन्ने कुरा पहिल्याउनु नै यस परियोजना कार्यको प्रमुख उद्देश्य हो । यस उद्देश्यलाई बुँदागत रूपमा निम्नलिखित तरिकाले प्रस्तुत गरिएको छ स्
(क) वर्षा कवितालाई गद्यमा रूपान्तरण गर्नु,
(ख) गद्यमा रूपान्तरण गर्दा कवितामा उल्लेख भएका पदहरू कसरी परिवर्तन हुन्छन् तिनलाई स्पष्ट पार्नु ।
सम्बद्ध साहित्यको पुनरवलोकन
वर्षा कविताको समीक्षा गर्ने सन्दर्भमा केही पद्यहरू गद्यमा रूपान्तरण गर्ने प्रयास गरिएका देखिन्छन् । समीक्षकहरूले समीक्षा गर्ने दृष्टिकोण र त्यसमा अँगालिएका पद्धतिहरू भिन्न भिन्न छन् । त्यस्ता सामग्रीहरूलाई समीक्षा गरेर समेट्ने प्रयास गरिएको छ ।
पौडेल (२०२०) ले वर्षा कवितामा पाइने स्वच्छन्दतावादको खोजी गरेका छन् । यसमा कुनै कुनै पङ्तिको गद्यमा रूपान्तरण पनि गरिएको छ तर सबै पङ्तिको गद्यमा रूपान्तरण भने गरिएको पाइँदैन ।
शैक्षिक जनशक्ति विकास केन्द्र (२०७४) ले वर्षा कविता शिक्षण गरेको युटुव भिडियो बनाएको छ जसमा वर्षा कविताको अर्थबोध गर्न सिकाइएको छ । यसमा अर्थबोध भने पनि व्याख्या विधिबाट कवितालाई अर्थ्याउने प्रयास गरिएको छ । यसरी अर्थ्याउँदा केही मात्रामा गद्यमा रूपान्तरण भएको छ तर गद्यमा रूपान्तरण नै भने भनिएको पाइँदैन ।
यिनै सामग्रीहरूलाई सन्दर्भका रूपमा प्रयोग गरेर कक्षा १० को पाठ्यपुस्तकमा समावेश भएको वर्षा कवितालाई गद्यमा रूपान्तरण गर्ने प्रयास यस परियोजनामा गरिएको छ ।
परियोजना कार्यको योजना निर्माण
यो एकल परियोजना कार्य हो । यसमा वर्षा कविताको गद्यमा रूपान्तरण गरिएको छ । यो सिकाइका लागि नभई सिकारुलाई परियोजना कार्यको ढाँचालाई व्यवहारमा उतार्न सहयोग पुगोस् भन्ने उद्देश्यले निर्मित परियोजना हो । विद्यार्थीहरूले पनि यसैगरी गद्यमा रूपान्तरण गरुन् भन्ने अपेक्षा गरिएको छ । अरू शीर्षकका परियोजनामा यस्तै ढाँचा प्रयोग गरेर परियोजनाको लेखन गर्न सक्छन् ।
परियोजना लेखन विधि र प्रविधि
यो पद्य कवितालाई गद्यमा रूपान्तरण गरिएको परियोजना कार्य हो । त्यसैले यसमा कविताको समीक्षा र विश्लेषण गरिएको छैन । यसमा व्याकरणात्मक वाक्य ढाँचामा कसरी पद्यांशहरूलाई परिवर्तन गरिन्छ भन्ने कुरामा मात्रै ध्यान पुर्‌याइएको छ । यसमा मुख्यतस् कवितालाई व्याकरणिक पदक्रममा कसरी गरिवर्तन गर्ने भन्ने कुरालाई आधार बनाएर तयार पारिएको छ । कवितामा व्याकरणिक पदहरू कसरी व्यवस्थित भएर बस्छन् भन्ने कुरा खोज, विश्लेषण र वर्णन गरेर तयार पारिएको छ । त्यसैले यो पाठ विश्लेषण विधि र व्याकरणात्मक पदक्रमलाई मुख्य आधार बनाएर तयार पारिएको परियोजना कार्य हो भन्ने टुङ्गोमा पुग्न सकिन्छ ।
परियोजनाको परिणाम/छलफल/प्रतिफल/प्राप्ति
वर्षा कविता मन्दाक्रान्त छन्दमा लेखिएको छ । छन्दको कवितालाई गद्यमा रूपान्तरण गर्दा वर्षा कविताका प्रत्येक श्लोकहरूको अर्थ र आशय के हुन्छ भन्ने कुरालाई अभिलेख गरी तिनलाई श्लोकअनुसार निम्नलिखित रूपमा प्रस्तुत गरिएको छ :
१. वर्षा वायुपङ्खी विमानमा चढी हररर गर्दै आइन् । यसरी आउँदा विमानका पाङ्ग्राको घर्षणले शिखर गर्जिए र आकाश थर्कियो । बादलको गर्जनले झिल्काहरू झिल्किए । प्रकृतिको मुख अचल भयो । डरले मुख निलो र गाढा भयो । वर्षाले चुली नाघिन् । वर्षाले गर्दा प्रकृति कलिली भइन् ।
२. मेघ लत्रिएर हलुका चदर फरर पार्छिन् । मेघसँग आउने बिजुलीका झिल्कारूपी लाखौँ मोती नपहिरिएर उनको चित्त बुझ्दैन । समुद्रले दिएका रत्नलाई आफ्नो झोलीमा राखेर स्नेहले मुस्कुराइन् । उनको मोतीरूपी बिजुलीको एउटा झिल्कालाई उनले पहाडमा गएर फहराइन् ।
३. वर्षाका कारण चराले आफ्ना गुँडमा प्वाँख नलागेका बचेरालाई बिजुली गर्जिँदा नतर्सिए भनी सम्झाए । यही मौका छोपेर चिलले तिमीहरूलाई खान आउला भनी सावधानी गराए । कमिलाहरू हो १ पानीले तिमीहरूलाई भिजाउला त्यसैले गोलोमा जान ढिलो नगर्नू । छिट्टै गइहाल्नू ।
४. अघिपछि धुलो उड्ने खोलामा पनि पानी भरिएर उसको सान बढेको हुन्छ । प्राणीहरूले पानीरूपी अमृत पाएरका छन् । यसले वृक्षका जरा फस्टाउने छन् । समुद्रकी छोरी वर्षा अहिले यात्रामा छिन् । यो यात्रामा उनले सबैलाई समान व्यवहार गरेकी छन् । धर्तीको मुख जति फैलिएर पानी आफ्नाभित्र राखेर आनन्द लिन सक्छ त्यो बेला यही हो ।
५. वर्षाको पानी पाएर पृथ्वीमा जताततै धानै धान होला । बिजुलीजस्ता चञ्चल आँखा भएका युवतीहरू गीत गाएर धान रोप्लान् । बाली राम्रो होला । घाँसले पनि पानी पाएर हराभरा होला । आशा गरेअनुसारको वर्ष होला । वर्षा आएर कतिखेर भेट्न पाइएला भनी समुद्ररूपी युवक पर्खिरहेको होला ।
६. लाखौँ प्रकारका अनेकौँ मिठा मिठा फलका बिजुलाहरू रसिला होलान् अनि वृक्षहरूले आओ हाम्रा फल चाख भनी बोलाउलान् । वृक्षका शाखाहरू फलले भरिपूर्ण होलान् । तिनका हाँगाहरू शरद ऋतुमा तलतिर नुहेका होलान् । पानी पारेर सबैलाई यसरी खुसी दिने मेरो यही इच्छा छ भनी वर्षाले सबैलाई आफ्नो सन्देश दिन्छिन् ।
७. वर्षाका कारण सबैले आनन्द पाए । हे वृक्ष हो तिम्रा शाखालाई हल्लाएर नाच । पातलाई फरफराएर गाओ । वर्षाको पानी आआफ्नो घैँटामा सञ्चय गरेर राख । यो स्वर्गको अमृत हो । यही वर्षाको पानीले वर्षभरि बाँच्नुपर्ने भएकाले यो हाम्रा लागि अमृत हो । पानी दरदर पर्न थाल्यो । अनेकौँ पानीका थोपा परेर धराले पिउँदै छिन् । हाँगाहरू उफ्र, नाच किन भने तिम्रा जराले आज पानी पाउँदै छन् ।
८. यो रस मिलन र पृथ्वीले पानी सञ्चय गर्ने बेला हो । आकाश गर्जिएर सङ्गीत निकाल्ने र आजको वर्षाले बर्सभरि राम्रो खेती फलेर खान पाइएला भनी बहाड गर्ने बेला हो । यसैले समुद्रमा पानीको मात्रा बढाउँछ । असारे फूल फुलेर सबैलाई रमाइलो पनि पानी परेरै हुन्छ । यस्तो रङ्गीविरङ्गी मौसम देखेर हाम्रो अर्थात् किसानको मन आनन्दले मयुर नाचे झैँ नाच्द थाल्दछ ।
निष्कर्ष
यो परियोजना कार्य वर्षा कविताको गद्यमा रूपान्तरणु सँग सम्बन्धित मुख्य समस्यालाई आधार बनाएर तयार पारिएको हो । यसमा मन्दाक्रान्त नामक वार्णिक छन्दमा रचना गरिएको आलङ्कारिक पदक्रमयुक्त कविताका पङ्तिहरूलाई व्याकरणात्मक पदक्रममा ढालेर कविताको गद्यमा रूपान्तरण गर्ने प्रयास गरिएको छ । यसबाट कविताको मुख्य भाव र विषयवस्तु बोध गर्न सघाउ पुर्‍याउनुका साथै कविताको अर्थबोध गर्न पनि मद्दत पुग्ने अपेक्षा गरिएको छ ।
कक्षा १० का लागि परियोजना कार्य
- आवरण पृष्ठ यथावत्,
- दोस्रो पृष्ठ यथावत्,
- विषयसूची
- विषयपरिचय
- समस्या
- उद्देश्य
- परियोजनाको प्राप्ति र परिणाम
- निष्कर्ष
- सन्दर्भसूची
परियोजना कार्यका केही शीर्षकहरू
१... कथामा प्रयोग भएका शिरविन्दु, चन्द्रविन्दु र पञ्चम वर्ण प्रयोग भएका शब्दको सूची कसरी बनाउन सकिन्छ ?
२... पाठमा संयुक्त व्यञ्जन प्रयोग भएका शब्द कुन कुन हुन् ?
३... पाठमा य, ए, व, ब, श, ष, स, क्ष र ज्ञ वर्णको प्रयोग भएका शब्दहरू कुन कुन हुन् ?
४... पाठमा ह्रस्व र दीर्घ मात्रा प्रयोग भएका के कति शब्दहरू छन् ?
५. ...पाठमा प्रयोग भएका उपसर्ग र प्रत्यय व्युत्पन्न शब्दहरू कुन कुन हुन् ?
६. .. पाठमा प्रयोग भएका शब्दलाई तिनको वर्गका आधारमा कसरी वर्गीकरण गर्न सकिन्छ ?

सन्दर्भ सामग्रीसूची

पौडेल, नवराज (सन् २०२०, सेप्टेम्बर ७) वर्षा कवितामा स्वच्दन्छतावादी चिन्तन, समकालीन साहित्य https://www.samakalinsahitya.com/sahitya/details/7014
शैक्षिक जनशक्ति विकास केन्द्र (२०७४ साउन ४०) वर्षा कविताको अर्थबोध। https://www.youtube.com/watch?v=mxfK6waljHM

(परियोजना कार्यका व्यक्तिगत र सामुहिक विभिन्न प्रकारका ढाँचा उपलब्ध छन् । ढाँचागत एक रूपताका लागि यहाँ एउटा ढाँचा प्रस्ताव गरिएको छ । यसलाई परिमार्जन वा संशोधन गरेर अझ व्यवस्थित बनाउन यहाँहरू सबैको सुझाव मननीय हुने छ । -लेखक) 

Post a Comment

0 Comments
Post a Comment (0)

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top