Ghodasaini surname: a glimpse (घोडासैनी थर : एक झलक)

Dr.Khagendra Ghodasaini
6
घोडासैनी थर : एक झलक
डा. खगेन्द्र घोडासैनी
परिचय
प्रत्येक मानिसको आफ्नो पहिचान गराउने एउटा साझा पुर्खा हुन्छ । सिङ्गो व्यक्ति कसैसँग नगासिएर अर्थात् पुर्खाको परिचय नदिएर आफ्नो अस्तित्व कायम गर्न सक्दैन । कसैको छोरा, भाइ, बहिनी इत्यादि केही न केही नाता जोड्नै पर्छ । म कसैसँग नाता नजोडेर बस्दछु भन्दा पनि स्वाभाविक रूपले नाता गासिन पुग्दछ । आफ्नो थर, गोत्र, उत्पत्ति, वंशावली, फैलावट र त्यससँग जोडिएका विभिन्न ऐतिहासिक र धार्मिक मान्यता एवं त्यस सम्बन्धी भनाइहरूको प्रामाणिकता पत्ता लगाउनु र जानकारी हुनु वर्तमान युगमा पनि नितान्त आवश्यक देखिन्छ । मानिसले आज आफ्नो आदिमताप्रतिको खोजका लागि मानव विकासका विभिन्न चरणहरूको अध्ययन गर्दै आएको छ । डार्विनद्वारा विकासवादी सिद्धान्तको प्रतिपादन र कार्ल युङको आदिमतापरक खोजले यसै कुराको पुष्टि गरेका छन् ।
नेपालको वर्तमान परिप्रेक्ष्यमा जातीय पहिचान र एउटै परिवारका आफ्ना कबिलाको वंशावली निर्माण गर्ने परम्परा बसेको देखिन्छ । यहाँ घोडासैनी थरी कबिलाका बारेमा हालसम्म यस लेखकले प्राप्त गरेका तथ्यपूर्ण विवरणहरूको विभिन्न शीर्षकमा प्रस्तुति गर्ने प्रयास गरेको छ । यसमा थरका रूपमा घोडासैनी शब्दको प्रयोग, घोडासैनीको गोत्र, तिनको परिवेश, बसाइ क्षेत्र वंशावली इत्यादिको यथार्थता झल्काउने काम गरिएको छ ।
थरको परिचय
नेपाली भाषामा प्रयोग हुँदै आएको ‘थर’ शब्द संस्कृत भाषाको ‘स्थल’ शब्दको अपभ्रंश रूप मानिन्छ । थरले मानिसका कबिलाका किसिम वा प्रकार भन्ने अर्थ पनि दिन्छ । मानिसको सामान्य परिचय दिने उद्देश्यले प्रयोग गरिने भाषिक व्यवहारलाई धेरैभन्दा धेरै बोधगम्य, सुनिश्चित वा स्पष्ट बनाउनका लागि मानिसको नामका पछाडि राखिने विशेष फुर्कोलाई ‘थर’ भन्दा उपयुक्त हुने देखिन्छ (रेग्मी, २०६२, पृ.२६) । नेपाली बृहत् शब्दकोशमा थरलाई मूल कुल परम्पराबाट सन्तान दर सन्तान हुँदै आएको उपनाम वा वंशानुगत उपपद भनिएको पाइन्छ ।
थरको सन्दर्भमा कुरा गर्दा थरहरूको निर्माण कसरी भयो होला ? भन्ने प्रश्न उठ्नु स्वाभाविक पनि हो । खास गरी ‘थर’ शब्द संस्कृत रूप ‘स्थल’ भएकोले थर निर्माणमा स्थल वा ठाउँकै मुख्य भूमिका रहने प्रचलनको विकास भएको मान्नु पर्दछ । (रेग्मी, २०६२, पृ.२६) यति हुँदा हुँदै पनि ठाउँबाहेक अन्य कुराहरूले पनि थर निर्माणको आधार प्रदान गरेका छन् । तिनलाई रेग्मी (२०६२, पृ.२६) ले निम्न अनुसारको तालिकाद्वारा अझ स्पष्ट पारेका छन् ।
थरहरू स्थान विशेष, राम्रा नराम्रा कर्म, पेसा आदिका आधारमा बनेका देखिन्छन् । त्यस्तै काम, ठाउँ, देश र स्वभाव आदिका आधारमा पनि विभिन्न थरहरू बनेका पाइन्छन् । एकै थरका मान्छे विभिन्न जातमा पाइन पनि सक्छन्, नपाइन पनि सक्दछन् यसमा कुनै ठेगान हुँदैन । पूर्वी नेपालमा भएको थर पश्चिमका मान्छेलाई र पश्चिम नेपालमा भएको थर पूर्वका मान्छेलाई थाह नहुन पनि सक्दछ हुन पनि सक्दछ, यो कुनै असम्भव कुरा पनि होइन । नेपालमा माथिको तालिका अनुसारका चारै प्रकारका थरहरू पाइन्छन् । तीमध्ये घोडासैनी थर ठाउँका आधारमा बनेको देखिन्छ ।
अछाम जिल्लाका विभिन्न गाउँका नाम र अन्य आधारमा बनेका थरहरूको लामो सूची पाइन्छ । (उपाध्याय, २०६४, पृ.१४९) त्यसमा उल्लिखित थरहरू यस प्रकार छन्–
क) अछाम जिल्लाका गाउ“का नामबाट बनेका थरहरू

गाउँका नाम

यिनबाट बनेका थर

गाउँका नाम

यिनबाट बनेका थर

ओलीगाउँ

ओली वा वली

कुइका

कुइक्याल/ कुइकेल

घोडासैन

घोडासैनी

चापागाउँ

चापागाइँ

जनाली

जनाला/जनाल

जयगढ

जयगढी

ठिगालगाउँ

ठिगाल

ढाकु

ढकाल

तिमल्सैन

तिमल्सिना

देवकोट

देवकोटा

धमाली

धमाला

बजगाउँ

बजगाई

बसौटी

बसुट्याल/बस्टेल

बारला

बराल

रिमा

रिमाल

सोगट

सोगट्याल

ख) अछाम जिल्लामा प्रचलित केही अन्य थरहरू

अधिकारी

आहुजी

उखेडा

उपाध्याय

ओड/वड

कठायत

कडारा

कामी

कार्की

कुँवर

कटुवाल

कुमाल

कोली

खड्गा

खतेडा/खतिवडा

खनाल

गिरी

चलाउने

चमार

जंगडी

जैसी

जोशी

टमट्टा

ढुङ्गाना

ढोली

तिरुवा

दमाई

धामी

नगर्ची

नेपाली

बडुवाल

बयक

बलायर

बिस्ट

बुढा

बुढाक्षेत्री

बुढाथापा

बोगटी

बोहोरा

भण्डारी

भाट

भुल

मगर

मल्ल

वादी

रावत

रावल

रेग्मी

रोकाय

लोहार/ल्वार

शर्मा

शाही

साउँद

सार्की

सिंह

सुजी

सुनार

सुवेदी

स्वार (क्षेत्री )

 (स्वारबाहुन

घोडासैनीको थर जोशी होइन
घोडासैनीहरूको थर घोडासैनी हो वा जोशी हो यस विषयमा खासै छलपल गर्नेु पर्ने ठुलो आवश्यकता देखिँदैन । तर पनि बेला बेलामा यस्तो प्रश्न उठि नै रहन्छ । त्यसैले घोडासैनी थरको नामकरण कसरी भयो भन्नुभन्दा अघि घोडासैनीहरूको थर जोशी होइन भन्ने कुरामा थप स्पष्ट पार्नु पर्ने आवश्यकता देखिन्छ ।
घोडासैनी भनी चिनिने बाहुनहरूले थरका रूपमा यसको प्रयोग गरेको कमै पाइन्छ । थरका रूपमा घोडासैनी, घोरासैनी, घोरसाइने, घोरसाइ, उपाध्याय, जैसी, जोशी, शर्मा आदि लेखि रहेकाले थर लेखाइमा एक रूपता देखिएको छैन । अछाम जिल्लाको घोडासैन गाविस वडा नं. ८ माजीका शुभनाथ उपाध्यायको घरमा प्राप्त सम्पत्ति पाध्याले लेखेको वंशावलीमा ...“उप्रान्त कन्नौजबाट आएका जेठा महादेव जोइसी र कान्छा नलभोग जोइसी...” भनी लेखिएको छ । त्यसैले केही घोडासैनीहरूले यो ‘जोइसी’ शब्दलाई ‘जोशी’ भनेर लेखि रहेका छन् । सम्पत्ति पाध्याले ‘जोइसी’ लेख्नुको तात्पर्य ज्योतिषीको काम गर्ने वा ज्योतिष पेसा भएकाले लेखिएको देखिन्छ वा उहाँ स्वयंले लेखेको नभई सारेको देखिन्छ । अन्यथा आफ्ना पुर्खाहरूको थर जोइसी लेखे पनि आफ्नो थरका रूपमा पाध्या लेख्ने शुद्धता र थरको किटान गर्नेभन्दा पनि जनमानसमा प्रचलित शब्द नै लेख्ने गरिएको र सम्पत्तिले पनि सोही अनुसार लेखेको ठहरिन्छ । आजभन्दा करिब सात सय वर्ष अगाडि लेखिएको मनुस्मृतिको दोस्रो अध्यायमा उपाध्याय शब्दको प्रयोग भएको पाइन्छ । जस्तै-
एक देशं तु योऽधिते वेदाङ्गान्यऽपि वा पुनः ।
योऽध्यापयति वृत्यर्थं उपाध्याय स उच्यते ।।
(अर्थ - यदि कसैले वेदको कुनै एउटा शाखा वा वेदका अन्य शाखाहरू आफ्नो जीवन वृत्तिका लागि अध्यापन गराउँछ भने त्यसलाई उपाध्याय भनिन्छ) । सम्पत्तिले आफ्नो नामका पछाडि उपाध्याय नलेखी पाध्या लेख्नुले तत्कालीन अवस्थामा घोडासैनीका पुर्खाहरूलाई पुकार्दा ‘जोशी’ होइन ‘जोइसी’ भनिने गरिएको ठहर्छ । त्यस्तै सम्पत्तिका आफ्नै छोरा नातिले पनि अहिलेसम्म उपाध्याय नै लेखि रहेकाले सम्पत्ति पूर्वका पूर्वजहरूका पछाडि जोडिएको जोइसी शब्द घोडासैनीको थर ठहर्दैन । फेरि घोडासैनी भनेर चिनिनेहरूले मान्दै आएको जैमिनि गोत्रका जोशीका बारेमा पनि कतै उल्लेख भएको पाइँदैन । थर गोत्र प्रवरावलीमा तीन प्रकारका जोशीहरूको उल्लेख भएको पाइन्छ ।
१. लाटौला जोशी भारद्वाज
२. झिझार जोशी गर्ग
३. सिलाई जोशी अंगीरस
त्यस्तै भाषाविद् बालकृष्ण पोखरेलले खस जातिको इतिहासमा आठ प्रकारका जोशी र तिनका गोत्र दिएका छन् भनी रंग नाथ जोशीले लेखेका छन् :
थर गोत्र
१. जोशी गर्ग झिझार
२. जोशी शाण्डिल्य तम्तोला
३. जोशी भारद्वाज निरौला
४. जोशी कौशिक रेग्मी
५. जोशी माण्डव्य बजगाईं
६. जोशी भारद्वाज लाटौला
७. जोशी काश्यप सत्याल
८. जोशी अंगिरस सिलाई/सेढाई माथिका जोशी थरमा जैमिनि गोत्र कसैको देखिँदैनन् ।
नेपालका अरु बाउनहरूका वंशावली हेर्दा पनि उनीहरूका पुर्खाका नामका पछाडि भट्ट वा जोइसी थर पाइएका छन् । त्योभन्दा पनि अगाडि हेर्दा संस्कृत साहित्यका लेखकहरूमध्ये कसैका पनि थर पाइँदैनन्, नाम मात्रै छन्, जस्तै, कालिदास, भारवि, हर्ष, दण्डि, भामह, कुन्तक, विश्वनाथ आदि । त्यस्तै कुनै व्यक्ति पहिले निरक्षर हुँदा त्यसको कुनै उपाधि हुँदैन उसले प्राप्त गरेको शिक्षा र त्यसबाट निर्माण हुने पेसाले उपाधि प्रदान गर्दछ, जस्तै- शिक्षक, वकिल, डाक्टर आदि । अव यदि कसैले कुनै डाक्टरलाई त्यो डाक्टर हुनुभन्दा पहिले के थियो भन्ने पश्न जति निरर्थक हुन्छ घोडासैनी थर हुनुभन्दा अघि हाम्रो थर के थियो भन्नु पनि निरर्थक प्रश्न जस्तै हो । त्योभन्दा अघि थर लेख्ने चलन नै थिएन, बरु उसको पेसा अनुसार उपाधि दिइन्थ्यो । त्यस्तै उपाधिको रुढ भएर नै थरको निर्माण भएको पाइन्छ । एउटा फितलो प्रश्न धेरैजसो घोडासैनी नलेखेका घोडासैनीहरूले यस पङ्तिकारसँग सोध्ने गरेका छन्, घोडासैनीहरू पहिले के लेख्थे र उनीहरू कहाँबाट घोडासैनमा आएका हुन् ? यसको सोझो उत्तर ऋषि मुनिहरूको परम्परा अनुसार पहिले थर लेख्ने चलन नभएकोले घोडासैनी लेख्नुपूर्व उनीहरूको थरै थिएन । त्यस्तै विकासवादी वैज्ञानिक डार्विनका अनुसार सबै मानवको विकास एक किसिमको बाँदरबाट भएको हुनाले घोडासैनीहरूको पनि अरु मानव सरह त्यही नै मान्नु पर्ने हुन्छ । रह्यो घोडासैनमा कहाँबाट आए ? त्यो कुरा त थरले नै प्रमाणित गरेको छ । घोडासैन गाउँमा बसेर वा घोडासैनीका कबिला बसेका घटनासँग घोडासैनी थर भएकोले घोडासैनीका मूल पुर्खा घोडासैनमै बसेको पुष्टि हुन्छ, कहीँबाट आएको होइन । घोडासैनी थर भएदेखि घोडासैनीहरू घोडासैनका मूल बासिन्दा र त्यहाँका आदिवासी हुन् भन्न सकिन्छ ।
माथिको विवरणबाट घोडासैनीको थर जोशी होइन भन्ने कुरा स्पष्ट हुन सकिन्छ । फेरि उपाध्यायबाट जैसी भएकाहरूले जोशी वा शर्मा लेखिरहेका हुनाले पनि ‘जैसी’ जात बोधक शब्दको परिष्कारका रूपमा घोडासैनीहरूले ‘जोशी’ लेखेको पाइनाले यो थर होइन जातबोधक शब्दको परिष्कृत रूप मात्रै हो थर होइन । त्यसैले घोडासैनीहरूको थर जोशी होइन, घोडासैनी हो ।
घोडासैनी थरको नामकरण
घोडासैनी थरका मान्छेहरू बाउन, खस बाउन र छेत्री जातमा पाइन्छन् । यसको मुख्य थलो सुदूर पश्चिमाञ्चल विकास क्षेत्रको अछाम जिल्ला हो । यसको नामकरण ठाउँका आधारमा भएको हो । अछाम जिल्लाको सदरमुकाम मङ्गलसैनदेखि दक्षिण पूर्वमा पर्ने एउटा गाविस नै घोडासैनका नामले चिनिन्छ । उक्त गाविसमा बसोवास गर्ने बाहुनहरूको थरका रूपमा घोडासैनी शब्द प्रयोग गरिएको पाइन्छ । घोडासैनी थरका विषयमा कुनै एउटा अर्थले मात्र पुष्टि गर्नुभन्दा पनि त्यससँग सम्बन्धित विभिन्न पक्षलाई केलाउन आवश्यक देखिएकोले सोही अनुसारको निम्न लिखित विवरण प्रस्तुत गर्न सकिन्छ ।
कथात्मक किम्बदन्ती
घोडासैनी थरको उत्पत्ति सम्बन्धी एउटा पसिद्ध कथात्मक किम्बदन्ती भन्ने गरिएको पाइन्छ । उक्त किम्बदन्ती यस प्रकार छ; उहिल्यै बाइसे चौबिसे राजाका पालाको कुरा हो । भारतका मुगल शासकको उत्पीडनबाट नेपाल प्रवेश गरेका मानिसहरूमा एक किसिमको भय र त्रास थियो । समाजमा नयाँ नयाँ ठाउँका मान्छेहरू आएर बसेपछि सामाजिक विकृति हुने सम्भावना थियो । त्यसैलाई रोक्न त्यतिखेरका अछामी (क्वाल्लेखे) राजाले आफ्नो राज्यमा एउटा नियम बनाए । “यदि कुनै पर पुरुषले छेत्रीका श्रीमतीलाई छोयो भने पाप लाग्ने छ भने बाहुनका श्रीमतीलाई देखेपछि पाप लाग्ने छ” भन्ने नियम बनाए । राजाले बनाएको यस्तो नियम समाजले पालन गर्न थाल्यो । बाउन परिवारका महिलाहरू घरबाट बाहिर ननिस्कने अवस्था आयो । यस नियमको पूर्ण रूपले पालना घोडासैनमा बस्ने बाहुनका परिवारका महिलाहरूले गरेको कुरा राजा कहाँ पुगेछ । महिलाहरू घरभित्रको काम गर्ने र पुरुषहरू घर बाहिरको काम गर्ने गर्दथे । यस्तै एक पटक पुरुषहरू घर बाहिर टाढा खेतमा काम गर्न गएको मौका छोपी राजाले ती महिलाहरू घर बाहिर आउँछन् कि आउँदैनन् परीक्षा लिनु पर्यो भनी घोडा सहित सिपाही पठाएछ । सिपाहीहरू आई खलामा सुकाएको बिस्कुनमा घोडा छोडेर आफू केही पर लुकेर बसे । घोडाले बिस्कुन खाएको थाहा पाएर पनि बैकिनी मान्छेहरू घरबाट बाहिर निस्किएनन् । घोडा अघाएर आफैं बिस्कुनबाट हटे । यिनीहरू बाहिर आउँदैनन् भन्ने कुरा बुझेर सिपाहीहरूले घोडा लगी राजालाई अवगत गराए । त्यत्रो बिस्कुन खाँदा पनि सहेरै बस्दा ‘घोडालाई सहनेको परिवार’ भन्दै गए । घोडालाई सहनेको समास र परिस्कृत रूप घोडासैन भयो भने त्यसैको विशेषण बोधक शब्द घोडासैनी भएको हो (घोडासैनी, २०५६,२) ।
पेसागत किम्बदन्ती
अछाम जिल्लाको घोडासैन गाविस ९ माजीका महानन्द उपाध्यायका अनुसार घोडासैनीहरूले स्वयं घोडा पाल्दथे रे ! तिनै घोडा फुकाएर अशोक मल्लका सिपाहीहरूले बिस्कुन खुवाएका थिए । त्यही सही दिए वापत् घोडासैनी भनिएको हो भन्ने पेसागत किम्बदन्ती पनि पाइन्छ ।
शाब्दिक अर्थ
‘सैन’ शब्दको अर्थ भिरालो, करालो हुन्छ । (त्रिपाठी, २०५५) यहाँ ‘घोडा’ शब्दमा ‘सैन’ जोडिएर आएको छ । घोडासैनमा गएर ठाउँको प्रकृतिलाई हेर्दा घोडासैनको थलो र अर्थका बिच निकटता देखिन्छ अनि यस्तो अर्थ बन्दछ– घोडा भएका नजिकको भिरालो वा कराले ठाउँ, त्यहाँ बसेको घोडासैनी ।
ऐतिहासिक सन्दर्भ
“अशोक मल्लका पालामा अछामका सम्पूर्ण जनजातिको नयाँ नाम राखियो । अधिकांश त जुन गाउँमा बस्दथे उसै गाउँका नामबाट राखिए । केही कामसित सम्बन्धित, केही पेसासित सम्बन्धित थरहरू ...घोडासैनी...इत्यादि थरहरूका उद्गम स्रोत गाउँहरू ठहरिए । (यात्री, २०४०, पृ.२३५)” अशोक मल्ल अछामी राजा देवचन्द्र समालका सत्रौं पुस्ताका राजा देखिन्छन् भने यिनका “पालाको राजधानी कैलाश खोलाको पश्चिमी किनारा वामन गाउँका ठेकमा सारेर कोटको नाम सुजौली कोट राखे । (यात्री, २०४०, पृ.३३४)” देवचन्द्र समालका उनन्तिसौं पुस्ताका राजा “मेदिनी ब्रह्मको समयका केही ताम्रपत्रहरू प्राप्त भएका छन् । ताम्रपत्र अनुसार संवत् १३५० देखि १४०० का बिच उनको राज्यकाल थियो भन्ने अनुमान हुन्छ ।” (यात्री, २०४०, पृ.२३६)
उपर्युक्त तथ्यको अध्ययनबाट के निष्कर्ष निस्किन्छ भने मेदिनी ब्रह्मको समय संवत् १४०० थियो भने यिनीभन्दा एघार पुस्ताअधिका अशोक मल्लको समय मम्तिमा पनि २०० वर्ष अधिको मान्नु पर्ने हुन्छ ।
“सेरा बुढीथर्पुमा देवचन्द्र समाल प्रथम राजा भए भने एघारौं पुस्ताका राजा होम चन्द्रले ‘समाल’ छोडी ‘राय’ लेखे र क्वाल्लेखमा राज्य सारे ।” (यात्री, २०४०, पृ.३३४) यसरी हेर्दा क्वाल्लेख घोडासैनको नजिक र घोडासैनीसँग किम्बदन्तीमा पनि उनी नै जोडिएकाले संवत् ११०० देखि १३०० का बिचको समयमा घोडासैनी थरको नामकरण भइ सकेको बुझिन्छ । यसलाई थप पुष्टि गर्न तत्कालीन समयका अन्य सामग्रीलाई पनि हेर्न सकिन्छ । “चौधौं पन्ध्रौं शताब्दीतिर कर्णाली फाँटका राजाहरू पुण्य मल्ल, पृथ्वी मल्ल, मेदिनी ब्रह्म राउत, कल्याण नेराबली, राजा उदय वर्मा, सुर्ती शाही आदिका ताम्रपत्र, कनक पत्र, र ताम्र ग्रन्थहरूमा केही थरहरू पाइन्छन्” (कोई, २०३५, पृ.२०-२१) । घोडासैन र क्वाल्लेख नजिक हुँदा आफ्नो राज्य बढाउन घोडासैनमा सैनिक क्याम्प राखेको र पछिसम्म पनि “यशो ब्रह्मको शिलालेख त्यहाँ पाइनु” (यात्री, २०४०, पृ.२३६) ले घोडासैन ठाउँको नाम रहनु सम्भव नै देखिन्छ ।
यसै आधारमा ‘कोई’ले उल्लेख गरेका छन्– “घोडामा चढेका सैनिक बसेको ठाउँ–घोडासैन, घोडासैनमा बस्ने घोडासैनी” (कोई, २०३५, पृ.२२)
घोडासैनी थरको नामकरणसँग सम्बन्धित माथि उल्लेख गरिएका विवरणहरूले जे सुकै तथ्य अघि सारे पनि अछाम जिल्लामा घोडासैन गाविस छ र उक्त गाविसमा सुरुमा बस्ने कबिलाहरूको थर, उपाधि, पहिचान वा उपनाम घोडासैनी हो भन्ने कुरामा दुई मत देखिँदैन ।
घोडासैनी थर र वर्तमान सन्दर्भ
घोडासैनी थरको ऐतिहासिक सन्दर्भमा प्रयोग विक्रमको एघारौं शताब्दीदेखि तेह्रौं शताब्दीका बिच भएको पाइन्छ । नेपाली भाषामा छापा खानाको विकास भएपछि राणा कालमा छापिएका थर गोत्रावलीमा यसको समावेश हुन बाहेक केही भएन । त्यसपछिका समयमा संस्कृति र समाज सम्बन्धी अध्ययन गर्ने व्यक्तिहरूका लेखहरूमा छिटपुट रूपमा घोडासैनी थरको नामसम्म उल्लेख भएको पाइन्छ । रङ्ग नाथ जोशीले ‘घोडासैनी जोशीको वंशावलीको अपुरो अध्ययन’ शीर्षमा थर, गोत्र र वंशावलीसम्बन्धी कुरा समेटेका छन् । उनी निष्कर्षमा नपुगेकाले अझै प्रकाशित गरेका छैनन् । पङ्क्तिकारले (२०५६) सालमा एउटा लेख लेखेर आफ्नो धारणा स्पष्ट रूपमा राखी सार्वजनिक गरिसकेको छ । यो लेख त्यसैको परिमार्जित वर्तमा अवस्थासम्मको खोजको परिणाम हो ।
घोडासैनी थरका आञ्चलिक वा क्षेत्रीय प्रयोगहरू
(क) घोडासैन अछाम जिल्लाको एउटा गाविसको नाम हो । यहाँ बसोवास गर्ने पहिला कबिलालाई घोडासैनी भनिन्छ । यस कारण घोडासैनी यसको शुद्ध रूप हो । यसबाहेक जुम्ला जिल्लाको पटमारा गाविसमा घोडासैन र बिरगन्जदेखि दक्षिणतिर भारतको बिहार राज्य अन्तर्गत पर्ने (प्राचीन सिम्रोनगढ राज्य, पहिले नेपालमै पर्दथ्यो) रक्सोल जिल्लामा घोडासहन तहसिल (गाविस) रहेको पाइन्छ । सुदूरपश्चिम र मध्यपश्चिममा ‘घोडासैनी’ शब्द नै प्रचलित रहेको छ ।
(ख) मध्यमाञ्चलका पहाडी जिल्ला सिन्धुपाल्चोक र काभ्रेपलान्चोकमा घोरासैनी पाइएको छ भने तराई क्षेत्रको पर्सा जिल्लामा घोरासैनी वा घोरसाइने पाएको छ । जनकपुरको सर्लाहीमा भने घोरासैनी नै भएको जानकारी पाइन्छ भने भक्तपुरकाले घोरसाइने लेख्ने गरेको पाइन्छ ।
(ग) पूर्व मेचीको झापा जिल्लामा घोरसार्इं पाइन्छ । भारतको असमका उपन्यासकार लील बहादुर छेत्रीको उपन्यास ‘ब्रह्म पुत्रका छेउछाउ’मा एउटा गौण पात्र घोरसाइन उल्लेख भएकोले त्यतातिर ‘घोरसाइन’ भनिंदो रहेछ भन्ने बुझिन्छ । फेसबुकबाट केही साथीहरुसँगको च्याट गर्दा आसामको तिनसुकिया जिल्लामा घोरसाइँ (क्षेत्री) रहेको जानकारी पाइएको छ ।
उपर्युक्त क्षेत्रीय रूप प्रयोग गर्ने व्यक्तिहरूमध्ये सुदूर, मध्य, भक्तपुर, काभ्रेपलान्चोक र सिन्धुपाल्चोकका घोडासैनी बाहेक अरुका बारेमा पत्रिकाहरूमा कतै समाचार बनेका, कतै समाचार दाता भएका कतै प्रसङ्गवश परिचित साथीहरूबाट जानकारी मात्र भएको छ । थप जानकारीका लागि यो शोध्य विषय रहेको छ ।
घोडासैनी परिवारको बसोवास भएका जिल्ला र ठाउँहरू
अछाम - घोडासैन, माजी, पैंयासैन, ढाङ्टा, कोटबाडा, सेप्टे र धमाली ।
सुर्खेत बिजौरा, भुडेभावर, झाला, तोस्रा, गुटु, चिउरी, खोप्डी, घाटगाउँ, विद्यापुर, तातापानी,
पोखरीकाँडा र अवलचिङ, वीरेन्द्र नगर नगर पालिका ।
दैलेख - बडलम्जी, जैभाने ।
बाँके - कोहलपुर, रजेना, नौवस्ता ।
बर्दिया - पाताभार, गुलरिया, बगनाहा ।
कैलाली - सोल्टा, अजिगरे, बडिगाउँ, बलिया, टीकापुर, प्रतापपुर ।
मकवारपुर -
काभ्रेपलान्चोक -
सिन्धुपाल्चोक-
भक्तपुर-
तनहुँ-
नवलपरासी-
पर्सा-
झापा-
भुटानी शरणार्थी शिविर- हुँदै अमेररिकासम्म पनि पुगेको स्थिति
भारतको आसाम प्रान्तको- तिनसुकिया
गोत्र
एउटै वंश परम्पराका साझा पुर्खा बुझाउने व्यक्तिको नामबाट गोत्र परम्परा चलेको पाइन्छ । नेपाली बृहत् शब्दकोशमा गोत्र शब्दलाई वंश प्रवर्तक ऋषि मुनिहरूका नामबाट चलि आएको पुख्र्यौली चिनाउने उपनाम, वंश, कुल, पुख्र्यौली भनेर चिनाइएको पाइन्छ । थर लेखनमा घोडासैनीहरूमा एक रूपता नभए पनि गोत्र सम्बन्धी कुनै विवाद देखिंदैन ।
घोडासैनीको गोत्र
घोडासैनी थरका मानिसहरूको गोत्र जैमिनि हो । घोडासैनीहरूका पुरोहितहरू पनि जैमिनि गोत्र नै बताउँछन् । जैमिनि को थिए त ? जैमिनिका पुर्खाहरूको बारेमा त्यति जानकारी नभए पनि उनी गोत्र चलाउने पुर्खाको क्षमता राख्न सक्षम ऋषि थिए भन्ने कुरा उनका कृतिहरूले जनाएका छन् । सर्व प्रथम सामवेदका विभिन्न शाखाहरूमध्ये जैमिनि, कौथुमी र राणायणी गरी तीन वटा मुख्य शाखाका प्रणेताका रूपमा जैमिनिको परिचय पाइन्छ । मीमांसाका प्रणेता र प्रख्यात दार्शनिकका रूपमा पनि जैमिनिको परिचय पाइन्छ । उनले जैमिनि ब्राह्मण, जैमिनि श्रोतगृह्य सूत्र, जैमिनीय भारत, उत्तर मीमांसा सूत्र इत्यादिको रचना गरेका छन् । (शास्त्री, १८५८, ३–४) थर गोत्र प्रवरालीमा भने जैमिनि गोत्र उल्लेख भएको पाइँदैन । घोडासैनीहरूले जैमिनि गोत्रको प्रयोग गरि रहेको कुरा उल्लेख गरेका छन् (घोडासैनी, २०५६, पृ.४) । घोडासैनमा बस्ने जैमिनि गोत्रीय ब्राह्मणहरू हुन् भनी उल्लेख गरिएको पाइन्छ । (रेग्मी, २०६२, पृ.२७) घोडासैनीहरू आफूलाई कुमाई ब्रह्मण नभई कान्यकुब्जी ब्राह्मण बताउँछन् । कुमाउ प्रदेश भारतको पश्चिमोत्तर राज्य गढवालमा पर्दछ भने कान्यकुब्जी ब्राह्मणहरूको मूल थलो भारतको उत्तर प्रदेशमा अवस्थित कानपुर जिल्लामा पर्दछ । जसलाई आज भोलि कन्नौज भनिन्छ । कन्नौजका कान्यकुब्ज ब्राह्मणहरू शाकाहारी र कट्टर थिए भन्ने कुरा बुन्देलखण्डका राजा बाजि राव बेस्वाका सेवककी छोरी मन्नु बाई अर्थात् मणिकर्णिका (जो पछि झासीकी महारानी हुन्छे) र कान्युकुब्ज ब्राह्मणहरू बिच भएको जातीय विवादलाई पनि लिन सकिन्छ । कान्यकुब्ज ब्राह्मणहरूमा देखिएको शाकहारी एवं कट्टरता र अछामी राजाले बनाएको नियम (माथि नामकरणमा उल्लिखित) को प्रसङ्गबाट पनि घोडासैनीहरू कान्यकुब्जी हुन् भनी बुझ्न सकिन्छ । घोडासैनीका पुर्खाहरू शाकाहारी भएका कारण उनीहरूले आफ्ना इष्ट देवतालाई र आफूले पूजा गर्ने मन्दिरमा बलिप्रथाको चलन चलाएको पाइँदैन । घोडासैनीहरूको कुल देवतालाई बलि चढाइँदैन, दुध चढाइन्छ । त्यस्तै घोडासैनीहरू पुजारी रहेको तितौडाको त्रिपुरा सुन्दरी भगवती (तितौडा) को मन्दिरमा पनि बलि चढाइँदैन ।
घोडासैनीहरूको वंशावली लिपिबद्ध गर्ने सम्पत्ति पाध्या (उपाध्याय) ले पनि कन्नौज गढबाट आएका भनेर उल्लेख गरेका हुनाले घोडासैनीहरू कान्यकुब्जी ठहरिन्छन् । कान्यकुब्जी भएपछि कुमाउ ब्राह्मण हुने कुरा भएन । कुमाई ब्राह्मण नभएपछि घोडासैनीहरूको गोत्र पनि जैमिनि नै हो भन्ने कुरा स्पष्ट हुन्छ । सम्पत्ति पाध्याले लेखेको वंशावलीमा पनि जैमिनि गोत्र उल्लेख गरिएको छ । त्यस कारण घोडासैनीहरू जैमिनि गोत्रीय नै हुन् ।
प्रवर
गोत्र जस्तै प्रवर शब्दले पनि पुख्र्यौली नै बुझाउँछ । प्रवरका बारेमा नेपाली बृहत् शब्दकोशमा भनिएको छ– सबैभन्दा मुख्य, प्रधान वा श्रेष्ठ । सबैभन्दा माथिल्ला तहको मुली । गोत्र चलाउने ऋषिपछिका नाउ चलेका ऋषि ।
घोडासैनीहरू आफ्ना तीन वटा प्रवर बताउँछन् । जैमिनि, उग्र र साङ्कृति । सम्पत्ति पाध्याले पनि जैमिनि, उग्र, साङ्कृति गरी तीन वटा प्रवरहरू लेखेका छन् । परम्परा र घोडासैनीका पूर्वजले लेखेको गरी दुई वटा आधारलाई स्वीकार गर्दा जैमिनि गोत्र र जैमिनि, उग्र, साङ्कृति गरी तीन वटा प्रवर छन् भन्नु पर्ने हुन्छ ।
शाखा
चार वेदका अनेका शाखाहरू छन् । उत्तर भारतमा शुक्ल यजुर्वेदका र दक्षिण भारतमा कृष्ण यजुर्वेदका र शुक्ल यजुर्वेदका कण्व शाखा प्रचलित छन् । जैमिनि गोत्रीय घोडासैनीहरूले आफ्नो शुक्ल यजुर्वेदको माध्यन्दिनीय शाखा मान्दै आएका छन् । जैमिनि ऋषि सामवेदका शाखाका प्रणेता पनि हुन् तर घोडासैनीहरू सामवेदीय शाखाका नभई यजुर्वेदीय शाखाका किन भए त्यो भने विचारणीय पक्ष छ ।
कुल देवता
घोडासैनीहरू परम्परागत रूपमा सनातनी हुन् । सनातन परम्परा अनुुसारका ब्राह्मणहरू वेदलाई मान्दछन् । घोडासैनीहरू शुक्ल यजुर्वेदको माध्यन्दिनीय शाखाका अध्ययता भएकाले वैदिक सनातन धर्मलाई मान्ने कबिलाका सन्तति हुन् । सनातन परम्परा अनुसार शिवलाई कुल देवता मान्ने भएकाले प्राचीन शैव धर्मीका रूपमा घोडासैनी कविलालाई चिनाउन सकिन्छ । यस कुराका दुईवटा प्रमाण हाम्रो परिवेशमा अझै झल्किन्छन् । पहिलो कुरा प्राचीन वैदिक जातिमा मानिसहरूलाई पहिचान गर्न निदार र भुजामा चन्दनका चिन्हहरू लगाउँथे, चिन्हबाट यो व्यक्ति फलानो गोत्र र जातिको हो भनी ठम्याइन्थ्यो । त्यसै अनुसार परम्परागत संस्कारमा रहेका घोडासैनीका कबिलाहरूले शैव धर्मी चिन्हयुक्त चन्दन लगाउने गर्दछन् । यस्तो चिन्ह नेपालका अधिकांश अरु कबिलाका व्यक्तिहरूले पनि लगाउने गरेको पाइन्छ । दोस्रो कुरा कुनै गल्ती गरेमा, पाप गरेमा, छोरी, बहिनी, भन्जा वा भान्जी अथवा मान्य÷पूज्य अरु नाता गोतालाई झुक्किएर खुट्टाले छोइएमा “शिव ! शिव !” भनी दुई पटक उच्चारण गर्न सिकाउने परम्परा गाउँ घरमा अझै पनि विद्यमान छ । यी दुईवटा परम्परागत संस्कारले घोडासैनीहरू शैव हुन् र उनीहरूका कुल देवता शिव हुन् भन्ने पुष्टि हुन्छ ।
कालान्तरमा बसाइको क्रमसँगै जङ्गल र पहाडमा एक्लै बस्नु पर्ने अवस्था, पशु पालन र कृषि आत्मनिर्भरको मुख्य पेसा बन्न पुगेपछि परम्परागत कुल देवताका अतिरिक्त मस्टो वा त्यस्तै प्रेत शक्तिलाई कुल देवता मान्ने चलन नेपालका अन्य कबिलामा पाइए जस्तै घोडासैनीका कबिलामा पनि त्यसको प्रभाव स्वरूप फरक कुल देवता भनी स्वीकार गरेको पाइन्छ । पहाड र जङ्गलको बसाइ, पशु पालनको पेसाले मान्छेलाई स्वार्थी बनायो अनि परम्परागत बलि दिन नमिल्ने देवताका ठाउँमा नयाँ मस्टो वा प्रेतलाई कुल देवता मानी बलि चढाएर मांसाहारी प्रवृत्तिको विकास भयो । यसैले मांसाहारी प्रवृत्ति अनुकूलको कुल देवता स्विकारेर घोडासैनीका कबिलाले पनि छुट्टै कुल देवता मानेको पाइन्छ । घोडासैनीको कुल देवता र त्यसको पूजाका सम्बन्धमा कुनै लिखित प्रमाण फेला परेको छैन । कथा, किम्बदन्ती र चलनलाई आधार बनाएर अन्धाले हात्ती छामेझैं कुल देवता ठम्याउनु पर्ने अवस्था छ । घोडासैनीहरूले आफ्नो कुल देवतालाई कुनै एउटा साझा नाम दिएको पाइँदैन । कसैले बन्डाली, कसैले गल्वाल, कसैले जैपाल÷मैपाल, कसैले त्रिपुरा सुन्दरी (तितौडा), भन्ने गरेको पाइन्छ । सामान्य मान्छेले यस्ता फरक नाम बताए पनि घोडासैनीहरूले मानी आएको कुल देवता गल्वाल हो भन्ने कुरामा धेरैको सहमति देखिन्छ ।
घोडासैनीहरूको कुल देवता गल्वाल वा गल्भाल कसरी भयो भन्ने प्रसङ्गका फरक फरक किम्बदन्तीहरू भन्ने गरिएको पाइन्छ । यसका विषयमा खास सार प्राप्त नभएकोले त्यता लेखानी दौडाउने प्रयास गरिएन । घोडासैनीहरूले दही, मोही, खिर चढाएर अनन्ते चतुदर्शीका दिन सामुहिक रूपमा थानमा र व्यक्तिगत रूपमा परिवारका जेठाको घरमा गाईको किलो र दाम्लो (गल्यौँ)मा पूजा गर्दछन् । घोडासैनीको कुल देवताको पूजा गर्न चाहिने सामग्री र देवताको नामका बारेमा विचार गर्दा यो गल्वाल वा गल्भाल भनेको ग्वाल वा गौ पालक भन्ने सन्दर्भबाट विकसित गोठालो अर्थमा प्रयोग भएको शब्द हो । यस शब्दले ‘गाई पाल्ने वा गोठालो’ भन्ने अर्थ दिन्छ । त्यसैले सहर पसेका घोडासैनीहरूमा गाई वा पशुपालन र कृषि पेसाको अन्त्यसँगै क्रमशः कुल देवाता अर्थात् गल्वालको पूजामा पनि कमै सहभागिता हुने गरेको पाइन्छ । यो गोठाले युगमा गाईको सुरक्षा गर्ने देवता भएकोले यसको पूजाको सार्थकता पनि त्यति मात्रै देखिन्छ ।
निष्कर्ष
यसरी घोडासैनी थरका सम्बन्धमा रहेका विभिन्न पक्षहरू केलाएर घोडासैनी थरको नामकरणदेखि गोत्र, प्रवर, शाखा, कुलदेवताका बारेमा प्रकाश पार्ने काम गरिएको छ । यसमा अछाम जिल्लाका ठाउँका आधारबाट बनेका थरहरु र अन्य थरहरुको विवरण समेत प्रस्तुत गरिएको छ । यसै शीर्षकमा २०५६ सालमा लेखिएको फुटकर रूपमै प्रकाशित लेखलाई वंशावली खण्डसमेत थपी प्रकाशित गर्ने उद्देश्य पुरा नभएकोले त्यसैको सारांश स्वरूप प्रस्तुत लेख जन्मिएको हो । वंशावली खण्ड यतिखेर पाठकले नपाउने कुरा भने निश्चित भयो । यस लेखबाट थर, गोत्र, प्रवर, शाखा, कुलदेवता आदिका बारेमा रहेका अन्योलहरूबाट स्पष्ट हुन सकिने अपेक्षा गरिएको छ ।
सन्दर्भ कृतिसूची
१ अनिवार्य नेपाली विषय स्थायी समिति (२०६६). अनिवार्य नेपाली शिक्षण निर्देशिका, ललित पुर : साझा प्रकाशन, ।       (उक्त कृतिका आधारमा वर्ण विन्यास गरिएको)
२ उपाध्याय, खगेन्द्रप्रसाद (२०६४). अछामी भाषिकाको शब्दकोश निर्माण, अप्र. स्नातकोत्तर एम.एड.शोधपत्र,             त्रिवि. कीर्तिपुर ।
३ ‘कोई’, विश्वनाथ (२०२५). ‘हाम्रा थरहरू’, मथुपर्क, १०, ७, पृ.२०–२१ ।
४ घोडासैनी, खगेन्द्र (२०५६). ‘घोडासैनी थर : एक झकल’, फुटकर लेख, कार्तिक, पृ. १–५ ।
५ त्रिपाठी, वासुदेव र अन्य (२०५५). नेपाली बृहत् शब्दकोश, (दो.सं.) काठमाडौं : नेराप्रप्र ।
६ नेपाल, पूर्णप्रकाश, ‘यात्री’ (२०४०). सेती अञ्चल दिग्दर्शन, विराट नगर : हिमाली सौगात् प्रकाशन ।
७ पाण्डेय, शास्त्री, जनार्दन (२०३७). कर्मकाण्ड प्रदीप, (सम्पा.) गिरिजेश कुमार पाण्डेय, २२-३९, पञ्चगंगा घाट,         वाराणसी, चतुर्थ संस्करण ।
८ रेग्मी, फणिन्द्रराज (२०६२). ‘थरहरू निर्माणमा गाउँहरूको भूमिका’, प्रज्ञाचक्षु, टीकापुर : प्राज्ञिक समाजको             मुखपत्र, पृ. २६–२७ ।
९ शास्त्री, वासुदेव (१८५८). ‘भूमिका’, मीमांसान्याय प्रकाश, बम्बई : लक्ष्मी वाई नारायाण ।
    अप्रकाशित सन्दर्भ विवरण
१० उपाध्याय (पाध्या). सम्पत्ति, ‘घोडासैनीहरूको वंशावली’ शुभनाथ उपाध्यायसँग सुरक्षित ।
११ घोडासैनी, खगेन्द्र (२०५९). ‘घोडासैनी थरको अतीत र वर्तमान’, कार्यपत्र, लेखकसँग सुरक्षित ।
१२ जोशी, रंगनाथ. ‘घोडासैनी जोशीको वंशालीको अपुरो अध्ययन’ निज लेखकसँग सुरक्षित ।
१३ परम्परा, मान्यता, जनश्रुति, किम्बदन्ती एवं सम्बन्धित विषय र थरका मानिसहरूसँग गरिएको छलफल, प्रश्नोत्तर     आदिका निष्कर्षहरू, फेसबुकका घोडासैनी वा घोरासैनी बन्धुहरुबाट जानकारी ।

(साभार साहित्य कोसेली (२०६७) काठमाडौं र अछाम दर्पण (२०७९) मङ्गलसैन, अछामबाट)
(कृपया लेख पढिसकेपछि आवश्यक सल्लाह र सुझाव दिनुहोला भन्ने अपेक्षा गरेको छु– लेखक)

Post a Comment

6 Comments
  1. धेरै धेरै धन्यबाद लेखक लाई !! निकै ज्ञान बर्दक !!
    जैमानी गोत्र सम्बन्धि अरु पनि आर्टिकलको अपेक्षा सहित हार्दिक अनुरोध !!

    ReplyDelete
    Replies
    1. जैमिनि गोत्र सम्बन्धी लेख पनि पोस्ट गरेको छु । हेर्नुहोला । धन्यवाद ।

      Delete
  2. थप परिमार्जन गरेको छु ।

    ReplyDelete
  3. Dherai kura samatnu bhayako raxa tara ky kura trutipurna xa tapai ly bhanako jasto hamro kuldeuta shiva bhanu bhayoo yo kura kasari bujni hami sindhupalchok ma basobas garni karib 1200 ghar dhuri hamro kuldeuta bindabasini ra deuti bajai bhanera puja garxau yo k ho esprasta parnu ta??

    ReplyDelete
  4. हार्दिक धन्यवाद प्रतिक्रियाका लाग ! यहाले आफ्नो नाम उल्लेख गरॐनुभएन तर सिन्धुपाल्चोकको बन्धु हुनुहुन्छ भन्ने जानकारी भयो । यहाँले घोडासैनीको कुलदेवता देउती बज्यै र विन्ध्यावासिनी भन्नुभएकाले सिन्धुपाल्चोकका बन्धुहरू अछाम वा दैलेखबाट सुरुमा सुर्खेत उपत्यका र त्यसपछि पोखरा उपत्यका हुँदै सिन्धुपाल्चोकतिर गएको लख काट्न सकिन्छ ।

    ReplyDelete

  5. अत्यन्तै ज्ञानबर्धक लेखको लागी हार्दिक आभार दाजु!

    ReplyDelete
Post a Comment

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top