Biography Personality and Works of Maharishi Jaimini (महर्षि जैमिनिको जीवनी व्यक्तित्व र कृतित्व)

Dr.Khagendra Ghodasaini
0
महर्षि जैमिनिको जीवनी व्यक्तित्व र कृतित्व
डा. खगेन्द्र घोडासैनी
(सारसङ्क्षेपः जैमिनि कृष्ण द्वैपायन (वेदव्यास) का शिष्य थिए । उनले व्यासबाट सामवेद र महाभारतको शिक्षा प्राप्त गरेका थिए । संस्कृत भाषामा लेखिएका साङ्ख्य, योग, न्याय, वैशेषिक, पूर्वमीमांसा र उत्तर मीमांसाजस्ता मुख्य छ ओटा दर्शनमध्ये जैमिनि पूर्वमीमांसा दर्शनका प्रणेता हुन् । उनको मीमांसा सूत्र यसको साक्षी छ । तिनै पूर्वमीमांसाकार तथा सामवेदको जैमिनीय शाखाका अध्येता महर्षि जैमिनिको जीवनी, कृतित्व र व्यक्तित्वबारे प्रकाश पार्ने काम प्रस्तुत लेखमा गरिएको छ । महर्षि जैमिनिका माता, पिता, जन्मस्थान, जन्मसमय, तथा उनका सन्तानका बारेमा विश्वासलाग्दो प्रमाण फेला पर्दैन । यसबाट उनको जीवनीको पाटो अपूर्ण नै देखिन्छ तर उनको कृतित्व भने संस्कृत वाङ्मयका लागि कहिल्यै बिर्सिन नसक्ने गरी उज्यालो रहेको निष्कर्ष निकालिएको छ ।)
शब्दकुञ्जीः महर्षि जैमिनि, पूर्वमीमांसा, दर्शन, सूत्रकार, व्यास शिष्य आदि ।
विषय परिचय
महर्षि जैमिनिको व्यक्तित्व र कृतित्वबारे जति चर्चा गरिएको छ त्यति उनको जीवनीबारे कतै कुनै विवरण पाइँदैन । नेपाली बृहत् शब्दकोशअनुसार जैमिनि मीमांसा दर्शनका प्रणेता हुन् । यसमा उनलाई मीमांसाकार भनिएको छ । संस्कृत हिन्दी कोशमा यिनलाई प्रख्यात ऋषि र दार्शनिकका रूपमा चिनाइएको छ । उनी दर्शन सम्प्रदायमध्ये पूर्वमीमांसा दर्शनका सूत्रकार हुन् । सामवेदको जैमिनीय शाखाका प्रवर्तक तथा ज्योतिषविद् हुन् । महर्षि जैमिनिको जीवनीका बारेमा खासै उल्लेख भएको पाइँदैन । त्यसबारे प्राप्त तथ्यलाई आधार बनाएर अभिलेख तयार गर्नु प्रस्तुत अध्ययनको प्रमुख उद्देश्य हो । महर्षि जैमिनि कहाँ जन्मेका हुन् ? उनका मातापिता को थिए ? विद्वान्का यस विषयमा के कस्ता अवधारणा छन् ? जैमिनिका सन्तान र कृति के कस्ता छन् ? भन्नेजस्ता प्रश्नको समाधान खोज्ने काम प्रस्तुत लेखमा गर्ने प्रयास गरिएको छ । त्यसैले ‘महर्षि जैमिनिको जीवनी, व्यक्तित्व र कृतित्व कस्तो छ ?’ भन्ने प्रमुख समस्याको समाधान गर्ने काम प्रस्तुत लेखमा गरिएको छ ।
अध्ययन विधि
यस अध्ययनमा निम्नानुसारको अध्ययन विधि अवलम्बन गरिएको छः
अनुसन्धानको ढाँचा : यो गुणात्मक ढाँचाको अध्ययन हो । यसमा कृतिबाट प्राप्त तथ्यको विश्लेषण गरी निष्कर्षमा पुग्ने काम गरिएको छ ।
सहभागी र नमुना छनोट : प्रस्तुत अध्ययनमा पौराणिक ऋषिका विभिन्न पक्षसँग सम्बन्धित अध्ययन गर्न सकिने पक्षलाई सम्पूर्ण जनसङ्ख्या मानी सोद्देश्यमूलक नमुना छनोट पद्धतिका आधारमा महर्षि जैमिनिको जीवनी, व्यक्तित्व र कृतित्वलाई चयन गरिएको छ ।
तथ्य सङ्कलन : प्रस्तुत अध्ययनमा महर्षि जैमिनिसँग सम्बन्धित विभिन्न कृति, लेख, वेवसाइड र तिनमा प्राप्त विवरणलाई आधार बनाई तथ्य सङ्कलन गरिएको छ ।
तथ्य सङ्कलनका साधन : यस अध्ययनमा प्राथमिक र द्वितीय स्रोतका दस्तावेजको विश्लेषण गरिएको छ । यसका लागि विभिन्न प्रकाशित पुस्तक, पत्रिका, लेख र वेवसाइडको उपयोग गरिएको छ । त्यसैले यसमा प्रकाशित दस्तावेज र बेबसाइडमा प्राप्त तथ्यको विश्लेषण गरी निष्कर्ष निकाल्ने प्रयास गरिएको छ ।
तथ्य विश्लेषण प्रक्रिया : प्राप्त तथ्यको वर्णन, तुलना र त्यसको पुष्टिका लागि उदाहरणसमेत दिई विश्लेषण गरेर निष्कर्षमा पुग्ने काम गरिएको छ । अवलोकन, उदाहरण र प्रयोगबाट निष्कर्ष निकाल्ने प्रयास गरिएको यस लेखमा आगमन विधिबाट विश्लेषण गरी निष्कर्ष निकालिएको छ ।
सैद्धान्तिक पर्याधार
जीवनी लेखनका विभिन्न सिद्धान्त छन् । खास गरी जीवनी तयार पार्दा व्यक्तिवृत्त तयार गर्ने, प्रश्नावलीका माध्यमबाट खोज गर्ने विधि र सिद्धान्त बढी प्रचलित छन् । तर यस्ता सिद्धान्तको प्रयोग समकालीन व्यक्तित्वका बारेमा अनुसन्धान गर्दा उपयुक्त हुन्छन् । महर्षि जैमिनिका बारेमा खासै तथ्य कुरा फेला पर्दैनन् । त्यसैले यसमा खोज विधि, तुलना र विश्लेषण विधिको उपयोग गरिएको छ । महर्षि जैमिनिका बारेमा पुराणमा चर्चा छ । उनका कृतिको व्याख्या र विवेचना गर्ने विद्वत्वर्गबाट यस विषयमा केही कुरा उल्लेख भएको पाइन्छ । स्वयं महर्षि जैमिनिले आफ्नाबारेमा केही लेखेका छैनन् । महापुरुषले अरूका बारेमा लेखेका छन् तर आफ्नाबारेमा खासै उल्लेख गरेको भेटिँदैन । त्यसैले प्रस्तुत अध्ययनमा खोजविधिलाई नै सैद्धान्तिक पर्याधार बनाइएको छ ।
जैमिनिको जीवनी
महर्षि जैमिनिको जीवन कालका विषयमा कुनै निश्चित विवरण र मत प्राप्त छैन । “महर्षि जैमिनि कदा कां वा भुवं स्वजनुषालंकारेत्येतद्विषये न किञ्चित्स्पष्टं प्रमाणमुपलभ्यते । नापि वा तद्विचारेणैतर्हि किञ्चित्प्रत्ययोजनम् । यतोहीश्वरवत्स मुनिवरः प्रमाणत्वेन मान्यइति कथितं सर्वत्र” (शास्त्री, १९७६, ३) । अर्थात् महर्षि जैमिनि कहिले, कहाँ जन्मिए ? उनका आफन्त को थिए भन्ने बारेमा कुनै स्पष्ट प्रमाण भेटिँदैन । न त उनका भनाइबाट यसबारे केही जानकारी हासिल हुन्छ । त्यसैले मुनिवर ईश्वर जस्तै हुन् भन्ने कुरा सर्वत्र मान्य छ । केही विचारक उनको जीवनकाल इसा पूर्व ३०० वर्ष मान्दछन् भने केही इसाको दोस्रो शताब्दी मान्दछन् । श्रीमद्भागवत् महापुराणअनुसार साम श्रुतिको छन्दोग संहिता कृष्ण द्वैपायन (व्यास)ले आफ्ना शिष्य जैमिनिलाई अथर्वाङ्गिरस संहिता आफ्ना शिष्य सुबन्तुलाई अध्यापन गराएका थिए । (“साम्नां जैमिनये प्राह तथा छन्दोगसंहिताम् । अथर्वाङ्गिरसीं नाम स्व शिष्याय सुबन्तये”, श्रीमद्भागवत्, २०४०, ९३८) । यस अनुसार जैमिनि बादरायण (व्यास) का समकालीन देखिन्छन् ।
बादरायण (कृष्ण द्वैपायन व्यास) का पिता पराशर मुनिको जन्म कलि संवत्‌देखि लगभग ३०० वर्ष पहिले भएको थियो । जैमिनि पराशर्य व्यासका शिष्य थिए । कृष्ण द्वैपायनले वेदका शाखाको प्रवचन महाभारतको युद्धदेखि कम्तीमा १०० वर्ष पहिले गरेका थिए । त्यसैले जैमिनिको समय महाभारतको युद्ध भएको १५० वर्ष पहिलेदेखि १०० वर्ष पछिसम्म निश्चित गर्न सकिने धारणा उल्लेख पाइन्छ (युधिष्ठिर मीमांसक, २०३४, २२) । वि.सं.पूर्व ३०० वर्ष जैमिनिको समय हो भन्ने मत पनि पाइन्छ (उपाध्याय, १९७६, ३१०) । यी दुबै मतले जैमिनिको एउटै समयलाई सङ्केत गरेका छन् । जैमिनिका पिता, माता र पत्नीका बारेमा कतै केही उल्लेख पाइँदैन । जैमिनि शब्दको प्रयोगअनुसार उनका पिताको नाम जिमिन् अथवा जेमिन् हुनु पर्ने दृष्टिकोण अघि सारिएको छ । जैमिनिद्वारा प्रवचन गरिएको मीमांसालाई जैमिनीया भनिन्छ । काशकृस्निाना प्रोक्त काशकृस्नी तथा पाणिनीयाको सम्बन्ध ‘पाणिन’सँग भएजस्तै जैमिन्बाट जैमिनि भएको हुन सक्छ । जैमिनीय प्रयोगका दृष्टिले जैमन जन्मान्तर थियो कि भन्ने अनुमान हुन्छ भने जैमिनीया प्रयोगको व्युत्पादन जैमिन्बाट भएको हुन सक्छ भन्ने धारणा व्यक्त गरिएको पाइन्छ (युधिष्ठिर मीमांसक, २०३४, २१–२२) यो सादृश्य कथन र शाब्दिक व्युत्पत्तिका आधारमा निकालिएको निष्कर्ष हो । त्यसैले जैमिनिका पिताको नाम जिमिन् वा जैमिन् नै हो भनी ठोकुवा गर्न सकिँदैन ।
जैमिनि कृष्ण द्वैपायन (व्यास) का शिष्य भएको कुरा धेरै ठाउँमा उल्लेख छ । जैमिनिलाई व्यासले वेद र महाभारतको अध्यापन गराएका थिए (वेदानुध्यापयामास महाभारत पञ्चनाम्, सुमन्तु जैमिनि पैल सुकं चैव स्वआत्मजम् (महाभारत, १९७९, ११८) । अर्थात् सुमन्तु, जैमिनि, पैल सुक र छोरालाई वेद र महाभारत अध्यापन गराएका थिए । यस्तै जैमिनिबाट वेद अध्यापनको परम्परा कसरी अघि बढ्यो भन्ने कुरा लेखिएको छ :
“पुत्रमध्यापयामास सुमन्तुमथ जैमिनिः । २६, सुमन्तुश्चापि सुत्वानं पुत्रमध्यापत्पुनः । सुकर्माणं सुतं सुत्वा पुत्रमध्यापत्यत्प्रभुः ।२७, ससहस्त्रमधीत्याशु सुकर्माप्यथ संहिताः । प्रोवाचाथसहसस्थ सुकर्मा सूर्यवर्चसः । २८, अनध्यायेष्वधीयानांस्ताञ्जधानशतक्रतुः । प्रायोपवेशमकरोत्ततोसौ शिष्यकारणात् ।२९, तस्य शिष्यो भवेद्धीमान्पौष्पन्जि द्विजसत्तमाः । हिरण्यनाभकौशिल्यो द्वितीयो भून्नराधिपः ।३३, अध्यापयत्तु पौष्पञ्जीसहस्त्रार्थं तु संहिता । तेनाम्नोदीच्यसामान्याः शिष्यापौष्पञ्जिनः शुभा ।३४, शतानि पञ्चकौशिल्यः संहितानां च वीर्यवान् । शिष्या हिरण्यनाभस्य स्मृतास्तेप्राच्यसामगाः ।३५” (वायु पुराण, २०१६, २८२–२८३) । अर्थात् जैमिनिले आफ्ना पुत्र सुमन्तुलाई अध्यापन गराएका थिए । सुमन्तुले फेरि आफ्ना पुत्र सुत्वानलाई अध्यापन गराएका थिए । सुत्वानले आफ्ना पुत्र सुकर्मालाई अध्यापन गराएका थिए । सुकर्माले तिनका हजार संहिता बनाए । उनका पौष्पञ्जि र कोशल देशीय हिरण्यनाभ नाम गरेका दुई शिष्य थिए । सुकर्माले ती दुई शिष्यलाई पाँच पाँच सय ओटा शाखाको अध्यापन गराए । पौष्पञ्जिले पढेका संहिता उदीच्य नामले प्रसिद्ध भए भने हिरण्यनाभले पढेका संहिता प्राच्यका नामले प्रसिद्ध भए । पतञ्जलिकृत व्याकरण महाभाष्यमा पनि ‘सहस्त्रवत्र्मा सामवेदाः’ अर्थात् सामवेदका हजार ओटा शाखा छन् भनिएको छ ।
पुराणमा जैमिनिको शिष्य परम्परा उल्लेख छ । कतिपय पुराण समीक्षक ऋषि मुनिका पालामा पुत्रलाई कतै शिष्य र शिष्यलाई कतै पुत्रका भनिएको कुरा स्वीकार गर्दछन् । शिक्षा दिने गुरुलाई पनि एक प्रकारका पिताका रूपमा नीतिशास्त्रले पनि उल्लेख गरेको पाइन्छ । श्रीमद् भागवत् महापुराणमा जैमिनिको वंश वा शिष्य परम्परा उल्लेख गरिएको छ ।
“जैमिनेः सामगस्यासीत् सुमन्तुस्तनयोमुनिः । सुत्वानं तत्सुतस्ताभ्यामेकैकां प्राहसंहिताम् । ७५, सुकर्म चापि तच्छिस्यः सामवेदतरोर्महान् । सहस्त्र संहिता भेदं चक्रे साम्नां ततोद्विजः । ७६, हिरण्यनाभ कौशल्यः पौष्पञ्जिश्च सुकर्मणः । शिष्यौ जगृहतुश्चान्य आवन्त्यो ब्रह्मवित्तमः । ७७, उदीच्याः सामगाः शिष्या आसन् पञ्चशतानिवै । पौष्पञ्ज्यावन्त्ययोश्चापि तांश्च प्राच्यान् प्रचक्षते । ७८, लौगाक्षिमाङ्गलिः कुल्यः कुसीदः कुक्षिरेवच । पौष्पञ्जिशिष्या जगृहुः संहितास्ते शतंशतम् । ७९, कृतो हिरण्यनाभस्य चतुर्विंशति संहिताः । शिष्य ऊचे स्वशिष्येभ्यः शेषा आवन्त्य आत्मवान् । ८०” (श्रीमद्भागवत्, २०४०, ९३७–९३८) । अर्थात् कृष्ण द्वैपायन (व्यास) ले महर्षि जैमिनिलाई सामवेदको अध्यापन गराए । उनका पुत्र सुमन्तु अनि नाति सुत्वान थिए । जैमिनिले आफ्ना पुत्र र नातिलाई एक एक संहिता पढाए । जैमिनिका एक शिष्य सुकर्मा पनि थिए । उनी महापुरुष थिए । एकवृक्षका अनेक शाखा भएजस्तै उनले सामवेदका हजार शाखा बनाए । सुकर्माका शिष्य कोसल देश निवासी हिरण्यनाभ, पौष्पञ्जि तथा ब्रह्मवेत्तामा श्रेष्ठ आवन्त्यले ती शाखाको अध्ययन गरे । पौष्पञ्जि र आवन्त्यका पाँचसय शिष्य थिए । तिनीहरुले एक एक संहिताको अध्ययन गरे । तिनी उत्तर देशका बासिन्दा भएकाले उदीच्य सामवेदी भनी पुकारिए । तिनैलाई पाच्य सामवेदी पनि भनिन्छ । पौष्पञ्जिका अरू पनि शिष्य थिए । जस्तै : लौगाक्षि, माङ्गलि, कुल्य, कुसीद र कुक्षि । हिरण्यनाभका शिष्य कृत हुन् । उनले आफ्ना शिष्यलाई चौबिस ओटा संहिता पढाए । बाँकी संहिता आवन्त्यले आफ्ना शिष्यलाई पढाए । यसरी सामवेदको विस्तार भयो ।
“ऋग्वेदश्रावकं पैलमग्रहीद्विविधिवद्विजा । यजुर्वेद प्रवक्तारं वैशम्पायनमेव च । १४, जैमिनिं सामवेदार्थश्रावकं सोन्वपद्यत् । तथैवाथर्ववेदस्य सुमन्तुमृषिसत्तमम् । १५” (ब्रह्माण्ड पुराण, १९७३, ५२) । अर्थात् कृष्ण द्वैपायन (व्यास) ले वेदलाई चार भागमा विभाजन गरी आफ्ना प्रमुख चार ओटा शिष्यलाई पढाएका थिए । ती शिष्य र वेदका नाम यसरी उल्लेख गर्न सकिन्छ :

ऋग्वेद    

यजुर्वेद सामवेद अथर्ववेद
पैल वैशम्पायन जैमिनि सुमन्तु
व्यास शिष्य सुमन्तु वा सुबन्तु पाठभेद देखिन्छ । जैमिनि पुत्र सुमन्तु हुन् । यी दुबै एउटै नभई संयोगवश नाम मात्र भिन्न हुन सक्ने देखिन्छ । दुबै सुमन्तु एउटै भए पनि एउटा वेद अध्ययन गर्नेले अर्को वेद अध्ययन गर्न नहुने त्यस्तो कुनै विशेष कारण पनि छैन । भागवत् पुराणअनुसार जैमिनिले आफ्ना पुत्र सुमन्तु र नाति सत्वानलाई पढाए र यी तिनले एक एक संहिता बनाए भन्ने कुरा सामवेदका तिन ओटा शाखा अहिले पनि प्रसिद्ध भएबाट सत्यको नजिक देखिन्छ । सामवेदका जैमिनि, कौथुमी र राणायणी गरी तिन ओटा शाखा प्रसिद्ध छन् । यी शाखाका बारेमा पनि पुराणमा चर्चा पाइन्छ । ब्रह्माण्ड पुराणमा जैमिनिका शिष्य र तिनले अघि बढाएका सामवेदका शाखाको विस्तृत विवरण पाइन्छ । यसमा पाइने भाषालाई हेर्दा माथिका अरू पुराणभन्दा त्यति भिन्न देखिँदैन :
पुत्रमध्यापयामास सुमन्तुमथ जैमिनिः । सुमन्तुश्चापि सत्वानं पुत्रमध्यापत्पुनः ।३१, सुकर्माणं ततः अनध्यायेष्वधीयानासुन्वान्पुत्रमध्यापयत्पुनः । सहसहस्रमधीत्याशु सुकर्माप्यर्थ संहिताः ।३२, तस्य शिष्योभवद्धीमान् पौष्पञ्जिद्विजसत्तमाः । ३७, हिरण्यनाम कौशल्यो द्वितीयोभून्नराधिपः । अध्यापयत पौष्पञ्जि सहस्राद्र्धं तु संहिताः । ३८, ते नाम्नोदीच्या सामानः शिष्याः पौष्पञ्जिनः शुभाः । सत्वानि पञ्चकौशिल्यः संहितानामधीतवान् । ३९, शिष्या हिरण्यनाभस्य स्मृतास्तु प्राच्यसामगाः । लौगाक्षिः कुशुमिश्चैव कुशीदिर्लांगलिस्तथा । पौपष्पञ्जि शिष्याश्चत्वारस्तेषां भेद निबोधतः । ४० (ब्रह्माण्ड पुराण, १९७३, ५३–५४) । अर्थात् जैमिनिले पुत्र सुमन्तुलाई सामवेदको अध्यापन गराए । सुमन्तुले पनि आफ्ना पुत्र सत्वानलाई अध्यापन गराए । सत्वानले पुनः आफ्ना पुत्र सुकर्मालाई अध्यापन गराए । सुकर्माले सामवेदका हजारौं संहिता बनाए । उनका पौष्पञ्जि र हिरण्यनाभ नाम गरेका दुई शिष्य थिए । ती दुबैलाई सुकर्माले पाँच पाँच सय संहिताको अध्यापन गराए । पौष्पञ्जिले पढेका संहिता उदीच्य र हिरण्यनाभले पढेका संहिता प्राच्य नामले चिनिए । हिरण्यनाभले आफ्ना चार ओटा शिष्य लौगाक्षि, कुसुमि, कुसीद र लांगालिलाई अध्यापन गराए भन्ने कुरा उल्लेख गरिएको छ ।
सामवेदका अध्येताअनुसार यी तिन शाखामध्ये जैमिनि शाखा भारतको केरला राज्यको चिन्नेवल्ली जिल्लामा पढाइ हुन्छ । यस्तै मद्रासको विजयपुरम् र वाराणसीमा पनि भर्खरै पठन पाठन सुरु गरिएको छ । नेपालमा र उत्तर भारतमा सामवेदको कौथुमी शाखा मात्र पठन पाठन भइ रहेको छ (अधिकारी, २०७२, मौखिक जानकारी) ।
जैमिनिको मृत्युका विषयमा पञ्चतन्त्र मित्र सम्प्राप्तिको ३५औं श्लोकमा उल्लेख भएको पाइन्छ :
सिंहो व्याकरणस्य कर्तुरहत् प्राणान् प्रियान् पाणिनेः, मीमांसाकृत मुन्ममाथ सहस हस्ती मुनिं जैमिनिम् । छन्दोज्ञाननिधिं जघान मकरो वेलातटे पिङ्गलम्, अज्ञानावृतचेतसामतिरुषां कोर्थस्तिरश्चां गुणैः ।।
अर्थात् अष्टाध्यायीका रचनाकार पाणिनिको प्राण सिंहले हरण गर्यो, मीमांसा दर्शनका प्रणेता जैमिनिलाई हातीले कुल्चिएर मारिदियो अनि छन्दशास्त्रका आचार्य पिङ्गललाई समुद्रको किनारमा गोहीले निलिदियो । त्यसैले मूर्खताबाट जसको अन्तःकरण भरिएको छ, अत्यन्त क्रोधी, पशुपक्षी (दुष्ट पुरुष) लाई मनुष्यका गुणसँग के प्रयोजन ? उनी कसैका गुणको विचार गर्दैनन् ।
जैमिनिको मृत्युका विषयमा कोशकार र शास्त्रकारले यसैलाई उद्धृत गरेका छन् । अन्य प्रमाण नभेटिएसम्म यसैलाई आधार मान्नुबाहेक अर्को विकल्प देखिँदैन ।
जैमिनिका सन्तान
जैमिनिका विषयमा उल्लेख गरिएका विभिन्न विवरण माथि उल्लेख गरियो । यसबाट उनका गुरु कृष्ण द्वैपायन (व्यास) हुन् । उनले व्यासबाट सामवेदको अध्ययन गरी यसका उपनिषद्, आरण्यक, ब्राह्मणग्रन्थ तथा श्रोत मीमांसा सूत्रको रचना गरेका हुन् भन्ने कुरामा एउटै मत देखिन्छ । जैमिनिको जन्म, उनका पिता, माता र पत्नीको नाम कतै उल्लेख पाइँदैन । नेपालको तनहु जिल्लामा व्यास नगर पालिका छ । अर्घाखाँचीमा पणेना गाविस छ । बाग्लुङ्ग जिल्लमा कालिगण्डकीको किनारमा ज्यामिर घाट रहेको छ । त्यहाँ जैमिनि नगरपालिका पनि स्थानीय तहको पुनर्संरचना हुँदा कायम गरिएको छ । ज्यामिर घाटमा जैमिनि ऋषिको मन्दिर पनि छ । कोसीनदीको छेउछाउ कुसिक वा प्राचीन कौसिक नगर थियो । यी तथ्यका आधारमा जैमिनिको जन्मस्थल पनि नेपालकै कुनै स्थानमा भएको हुन सक्ने अनुमान गर्न सकिन्छ । जैमिनिलाई सेती अञ्चलको स्थानीय भाषामा जयमनि भनिन्छ । यससँग मिल्दाजुल्दा अरू तथ्यको खोजी गर्न आवश्यक देखिन्छ । जैमिनि घाट वा सुदूरपश्चिम वा मानसखण्डकै सेरोफेरोमा जैमिनिको जन्म भएको हुनसक्छ तर ठोस प्रमाण नभेटिएसम्म यसै भन्न सकिँदैन । यो खोजीकै विषय रहेको छ । अहिले नै निष्कर्षमा पुग्न हतारो नगर्दा उपयुक्त देखिन्छ ।
जैमिनिका पुत्र वा शिष्यको उल्लेख भए पनि सबैतिर एउटै नाम नभई भिन्न भिन्न नाम पाइन्छन् । एउटैलाई कतै पुत्र त कतै शिष्य भनिएको छ । शिष्य र पुत्र शब्द पौराणिक कालअघि समान अर्थमा अर्थिन्छन् भन्ने मतका आधारमा जैमिनिको वंशक्रम निम्नलिखित रूपमा देखाउन सकिन्छ :
 
भारत ज्ञानकोशमा स्कन्द पुराणको नागर खण्डको सन्दर्भ दिई भगवान विश्वकर्माका पाँच ओटा छोरा थिए भनिएको छ । ती हुन् मनु, मय, त्वष्टा, शिल्पी र दैवज्ञ । यी पाँचै वन्दनीय ब्राह्मण हुन् । यी यज्ञकर्म गर्ने व्यक्ति हुन् । यीबिना कुनै पनि यज्ञ हुन सक्दैन । यी पाँचजनाको विवाह निम्नलिखित ऋषिकन्यासँग भएको उल्लेख छ :

जेठा छोरा

मनु अंगिरा ऋषिकी छोरी कञ्चना
माहिला मय पराशरकी छोरी सौम्या
साहिँला त्वष्टा कौषिक ऋषिकी छोरी जयन्ती
काहिँला शिल्पी भृगु ऋषिकी छोरी करुणा
कान्छा दैवज्ञ जैमिनि ऋषिकी छोरी चन्द्रिका
दैवज्ञ र चन्द्रिकाको कुलमा सहस्त्रातु, हिरण्मय, सूर्यगोविन्द, लोकबान्धव र अर्कषली इत्यादि ऋषि भएको कुरा उल्लेख छ तर यिनी छोरा र नाति पनाति के हुन् त्यो कुरा भने लेखिएको पाइँदैन ।
जैमिनि गोत्रीय घोडासैनीले आफ्ना तिन प्रवर भएको कुरा स्वीकार गरेका छन् । प्रवरका नाममा भने घोडासैनको माजीका बासिन्दामै मत भिन्नता छ । यसो हुनाको कारण जैमिनि गोत्र न थर गोत्र प्रवरावलीमा उल्लेख छ न त तिनका प्रवर नै उल्लेख छन् । पङ्तिकारको खोज अनुसार हालसम्म घोडासैनीले मान्दै आएका तिन प्रवर निम्नलिखित छन् :
१.जैमिनि, कृति र साङ्कृति २. जैमिनि, उग्र वा और्व्य र साङ्कृति तथा ३. जैमिनि, उर्वा र दधिचि । भारत ज्ञानकोशअनुसार : जैमिनि, उतथ्व र सांकृतय ।
‘उर्वा’ को अपत्य अर्थमा और्व्य हुन्छ । त्यसैले उर्वा, और्व्य वा उग्र उच्चारण र पाठभेद मात्र हो । व्यास शिष्य सुमन्तुले पिप्पलादलाई अथर्ववेद पढाएका थिए । उनी दधिचिका छोरा हुन् । अथर्ववेदको पिप्पलाद शाखा प्रसिद्ध छ । दधिचि र पिप्पलाद जैमिनिका शिष्य वा पुत्रको रूपमा देखिँदैनन् । साङ्कृति पनि जैमिनिका पुत्र वा शिष्यमा देखिँदैनन् तर कृत चाहिँ छन् । यिनै ‘कृत’लाई कृति भनिएको हुनुपर्छ । “एको हिरण्यनाभस्य कृतः शिष्योनृपात्मजः” (ब्रह्माण्ड पुराण, १९७३, ५४) । अर्थात् हिरण्यनाभका एउटा शिष्य कृत पनि थिए । कृतका सन्तान साङ्कृति हुन सक्छन् । भारत ज्ञान कोशमा विभिन्न गोत्र प्रवर्तक ऋषिको सूची दिइएको छ । यसमा जैमिनि गोत्रका तिन प्रवर यस प्रकार लेखिएको छ : जैमिन्युतथ्वसांकृतयः । यसले जैमिनि, उतथ्व र साङ्कृतय गरी तिन प्रवर रहेको देखाएको छ । यहाँ उतथ्व नयाँ प्रवर थपिएको छ । नेपालमा यो प्रवर प्रचलित छैन । यसैले जैमिनिसँग कुनै न कुनै रूपले जोडिएका ऋषि कृति र साङ्कृति देखिएकाले जैमिनि, कृति र साङ्कृतिलाई नै जैमिनि गोत्र भएकाले आफ्ना प्रवर मान्नु पर्ने देखिन्छ ।
जैमिनिको कृतित्व
जैमिनि सामवेदका अध्येता हुन् । उनका सामवेद सम्बन्धी जैमिनीय संहिता, ब्राह्मण, उपनिषद्, श्रोत र गृहसूत्र अहिले पनि उपलब्ध छन् । उनका नामबाट प्रचलित सामवेदको जैमिनीय शाखा अहिले पनि पठन पाठनमा छ । यी ग्रन्थका अतिरिक्त जैमिनिले शोडषाध्यायी (संघर्ष काण्डसहित) पूर्वमीमांसा सूत्रको पनि रचना गरेका छन् । उनलाई ज्योतिष शास्त्रका १८ ओटा प्रणेता ऋषिमा समावेश गरिएको छैन तर उनलाई फलित ज्योतिषका रत्न भनिएको छ । उनको फलित ज्योतिष सम्बन्धी जैमिनि सूत्रम् र उपदेश सूत्रका दुई अध्याय उपलब्ध छन् । यसमा फलित ज्योतिषलाई सूत्रबद्ध रूपमा प्रस्तुत गरिएको छ (झा, २०२७, ५) । यसबाहेक जैमिनिले भारत संहिता पनि रचना गरेका थिए । जुन जैमिनीय भारतका नामले पसिद्ध छ । यसको नेपाली भाषामा अनुवाद गर्ने काम पतञ्जलि गजुर्यालले गरेको उल्लेख छ तर त्यो कृति फेला परेको छैन (शर्मा, २०६०, १९३) । यसरी जैमिनिका कृतित्वको विवरण दिन सकिन्छ ।
जैमिनिको व्यक्तित्व
महर्षि नैमिनि मूलतः धर्मका व्याख्याकार हुन् । उनले समवेद र यससँग सम्बन्धित संहिता, ब्राह्मण, उपनिषद्, श्रोत र गृहसूत्र तथा फलित ज्योतिष र जैमिनीय भारतको रचना गरेका छन् । जैमिनिको परिचय उनको पूर्वमीमांसा दर्शनका सापेक्षतामा हेर्नुपर्ने हुन्छ । मीमांसा दर्शनको आरम्भ ब्रह्माबाट भएको हो । यसका अरू प्रवक्ता हुन् : महेश्वर, प्रजापति, इन्द्र, आदित्य र वशिष्ठ । यी मीमांसाकारका कुनै ग्रन्थ फेला पर्दैनन् । मीमांसाशास्त्रका प्रणेतामा पराशर, बादरायण र जैमिनिको नाम आउँछ । मीमांसाशास्त्रका दश प्रवक्ताको पूर्वापरक्रम निश्चित उल्लेख पाइँदैन । तिनका नाम यज्ञीय ब्राह्मण र श्रोत, गृह आदि ग्रन्थमा मात्रै उल्लेख भएको पाइन्छ । यसबाट तिनी यज्ञशास्त्रमा पारङ्गत भएको कुरा खुल्छ । ती दश मीमांसाकारको वर्णानुक्रम सूची यस प्रकार छ : आत्रेय, आलेखन, ऐतिशायन, औडुलोमि, कामुकायन, काशकृस्न, कृष्णाजिनि, जैमिनि, पराशर, बादरायण, बादरि, र लाबुकायन (युधिष्ठिर मीमांसक, २०३४, १९–२१) । यतिखेर जैमिनिकृत मीमांसा सूत्र मात्रै मीमांसा दर्शनको आधार ग्रन्थ देखिन्छ । यसमा पनि अनेक मतको उल्लेख छ, त्यसैले यो मीमांसा दर्शनका धेरै शाखामध्येको एउटा शाखा हुन सक्छ । यी ग्रन्थ अहिले उपलब्ध छैनन् । महर्षि जैमिनिका मौलिक सूत्र कति हुन् अनि यी शाखाबाट लिइएका सूत्र कति हुन् भन्न कठिन छ । तर प्राप्त मीमांसा सूत्र विद्वता र प्रभावशाली छन् । मीमांसा दर्शनका यी जैमिनीय सूत्र बितेको २००० वर्षदेखि प्रमाणित मानिन्छन् । यी सूत्र सम्भवतः इसवीय संवत् पूर्व २०० वर्ष पहिले लेखिएका थिए (शास्त्री र कुमार सन् १९७८, ३७८) । जैमिनि सूत्रको सङ्ख्या २६४४ छ । जैमिनि सूत्रका अनेक व्याख्यातामध्ये शबर भाष्य प्रसिद्ध छ । शबर स्वामीको समय इसाको २०० वर्ष उल्लेख छ (उपाध्याय, १९७६, १०–११) । यज्ञमा गरिने कर्मकाण्डमा अनेक मत मतान्तर थिए । वेदका शाखा र ब्रह्मण ग्रन्थका कर्मकाण्डसँग सम्बन्धित भनाइको तात्पर्य ज्ञानमा पनि मत भिन्नता थियो । यी सबै विषयका मत भिन्नता हटाउन वेदका शाखा र ब्रह्मण ग्रन्थका भनाइलाई तर्कसङ्गत बनाउन जैमिनिले मीमांसा दर्शनको प्रवचन गरेको पाइन्छ (युधिष्ठिर मीमांसक, २०३४, २१) ।
‘जिज्ञासा’ अर्थ बुझाउने ‘मान्’ धातुमा ‘सन्’ प्रत्यय लागेर मीमांसा शब्दको व्युत्पादन हुन्छ । यसको अर्थ हुन्छ–जिज्ञासा, अर्थात् जान्ने इच्छा । जैमिनिले ‘अथातो धर्म जिज्ञासा’ र बादरायण (कृष्ण द्वैपायन)ले ‘अथातो ब्रह्म जिज्ञासा’ सूत्रमा जिज्ञासा शब्दको प्रयोग गरेका छन् । पाणिनिले जिज्ञासा शब्दको प्रयोग गरेका छैनन् तर मीमांसाकारले पहिलो सूत्रमै जिज्ञासा शब्दको प्रयोग गरेका छन् । त्यसैले जिज्ञासा शब्द र मीमांसा शब्द पर्यायवाची भएका देखिन्छन् । कुनै पनि विषयमा जिज्ञासा वा जान्ने इच्छा भएपछि मानिसले त्यस विषयमा प्रयत्न गर्छ । यसरी जिज्ञासापूर्ण तरिकाले धर्म र ब्रह्मका विषयको साङ्गोपाङ्ग खोजी गरिएको शास्त्र नै मीमांसा शास्त्र हो । यसका दुई शाखा छन्, पूर्वमीमांसा र उत्तरमीमांसा । ‘पूर्व’ शब्दले पहिले र ‘उत्तर’ शब्दले पछि बुझाउँछ । जैमिनिले पूर्वाचार्यमा बादरायणको पनि नाम लिएका छन् । अर्कातिर बादरायणले पनि आफ्ना ब्रह्म सूत्रमा जैमिनिको मत र जैमिनिका सूत्रमा बादरायणको मत उल्लेख छ । बादरायणले जैमिनिको मत यसरी उल्लेख गरेका छन् : “परं जैमिनिमुख्यत्वात्, धर्म जैमिनिरत एव” (शास्त्री, १९७६, १) । यसले बादरायण र जैमिनिमध्ये कसले पहिले मीमांसा दर्शनको प्रतिपादन गरेका थिए भन्ने कुरालाई अन्योल बनाएको छ । पूर्वमीमांसाका १६ अध्याय छन् । यसका सूत्रकार जैमिनि हुन् । यसमा वैदिक धर्मको विषय प्रतिपादन गरिएको छ । उत्तरमीमांसाका ४ अध्याय छन् । यसका सूत्रकार बादरायण (व्यास) हुन् । यसमा ब्रह्मको विषय प्रतिपादन गरिएको छ । उत्तरमीमांसाका द्वैत, अद्वैत, द्वैताद्वैतजस्ता शङ्कराचार्य, रामानुजाचार्य, वल्लभाचार्यका भाष्य र व्याख्याका कारण यसलाई आजभोलि वेदान्त दर्शन भन्ने गरिन्छ । पूर्वमीमांसालाई मात्रै अब मीमांसा मात्रै पनि भन्ने गरिएको छ (युधिष्ठिर मीमांसक, २०३४, १९–३) । पूर्वमीमांसा दर्शनको प्रतिपाद्य विषय धर्म हो । यसको उद्देश्य धर्मको प्रतिपादन हो भनिएको छः
“अस्य च शास्त्रस्य मुख्यतया मीमांस्यो धर्मः । अत एव ‘अथातो धर्मजिज्ञासा’ इति सूत्रेण प्रथमतो धर्मजिज्ञासोपदेशः श्रूयते । सनातने वैदिके धर्मेमन्ये तत्संरक्षणार्थं भगवानेन जैमिनिमुनि रूपेणावतारलोकहितकारी” (शास्त्री, १९७६, २) । अर्थात् यस शास्त्रमा मुख्यतया धर्मका बारेमा विवेचना गरिएको छ । यसको आरम्भमा धर्म सम्बन्धी जिज्ञासा राखेर त्यसको उपदेश गरिएको छ । सनातन वैदिक धर्मको संरक्षणका लागि भगवान् जैमिनि मुनिको रूपमा लोकहित गर्न अवतरित भए ।
भारत ज्ञानकोशअनुसार मीमांसा दर्शन मुख्य रूपमा धर्मका विषयमा केन्द्रित छ । यसमा “वेदले जे आदेश दिन्छ त्यो धर्म वा कर्म हो, त्यसलाई अपनाउनाले इच्छित फल प्राप्ति हुन्छ” भनिएको छ । मीमांसा दर्शनमा ‘धर्म’ शब्दको प्रयोग न कुनै सम्प्रदायको अर्थमा भएको छ, न त पाप र पुण्यको अर्थमा गरिएको छ । यसमा धर्म प्राप्तिको साधान के हो भन्ने कुराको पनि निर्देश गरिएको छ । वेदको विधि वाक्यबाट मात्रै धर्मको ज्ञान र प्राप्ति सम्भव हुन्छ । यसबाहेक अरू प्रत्यक्ष आदि प्रमाणद्वारा धर्मको ज्ञान कुनै प्रकारले सम्भव छैन भनी मीमांसाकारको अभिमत देखिन्छ ।
निष्कर्ष
महर्षि जैमिनि कृष्ण द्वैपायन (वेदव्यास) का शिष्य र सामवेदका संहिता, उपनिषद्, आरण्यक, श्रौत, गृह र ब्राह्मण ग्रन्थका रचनाकार हुन् । उनका ‘जैमिनीय मीमांसा मूत्रम्’ पूर्वमीमांसा दर्शन र ‘जैमिनि सूत्रम्’ फलित ज्योतिष सम्बन्धी सूत्रग्रन्थ उपलब्ध छन् । उनले जैमिनीय भारत पनि लेखेका छन् । उनका शिष्य वा पुत्र सुमन्तु र नाति सत्वान हुन् । जैमिनि शब्दको व्युत्पत्तिबाट उनका पिता जिमिन् अथवा जेमिन् हुन सक्छ भन्ने अनुमान गरिएको छ । उनलाई हातीले कुल्चेर मारेको कुरा पञ्चतन्त्रको मित्र सम्प्राप्तिमा उल्लेख छ । यसबाहेक उनको जन्म, मृत्यु, पिता, माता, जन्मस्थान र सन्तानका विषयमा केही उल्लेख पाइँद्रैन । नेपालको सुदूरपश्चिम प्रदेशअन्तर्गत अछाम जिल्लाको ढकारी गाउँपालिका वडा नं ८ घोडासैनमा बस्ने घोडासैनीहरुका जैमिनि गोत्र प्रवर्तक ऋषि हुन् । बाग्लुङ जिल्लामा जैमिनि नगरपालिका र उनका नामबाट कालीगण्डकीको किनारमा ज्यामिर घाट रहेको छ । यी दुईको स्थानगत दुरीले गर्दा पनि यिनका बिच कुनै तारतम्य छैन । पुराणमा पाइने चर्चा र मानसखण्ड सुदूरपश्चिम प्रदेशको अछाम भएकाले जैमिनि ऋषिको जन्मस्थानबारे थप खोजी गर्नुपर्ने देखिन्छ । उनका नामबाट सामवेदको शाखा नै चलेको भए पनि व्यक्तिगत विषय गोप्य नै रहनुले महर्षि जैमिनि सांसारिक मान प्रतिष्ठा, पद, विषय वासनाबाट टाढै थिए भन्ने देखिन्छ । उनका कृतिले नै जैमिनिलाई आजसम्म पनि जीवन्त बनाइ राखेका छन् ।
सन्दर्भ ग्रन्थसूची
आप्टे, शिवराम (सम्पा.). (सन् १८९०), संस्कृत हिन्दी कोश (छात्र संस्करण), दिल्लीः नाग प्रकाशक ।
उपाध्याय, बलदेव (सन् १९७६). भारतीय दर्शन, वाराणसीः चौखम्बा ओरियन्टालिया ।
घोडासैनी, खगेन्द्र (२०६७). ‘घोडासैनी थरः एक झलक’ साहित्य कोसेली, काठमाडौः सुर्खेती कल्याण समाज ।
झा, सीताराम (२०२७). जैमिनि सूत्रम्, तत्वादर्श संस्कृत हिन्दी टीका समलङ्कृता, कचौडी कली, वाराणसीः मास्टर खेलाडीलाल एन्ड सन्स ।
पोखरेल, बालकृष्ण (सम्पा.). (२०५५), नेपाली बृहत् शब्दकोश, काठमाडौः नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान ।
ब्रह्माण्ड पुराण (सन् १९७३). वाराणसीः मोतीलाल बनारसी दास ।
मीमांसक युधिष्ठिर (२०३४). जैमिनीय मीमांसा भाष्यम्, आर्षमत विमर्शिन्या हिन्दी व्याख्यया सहितम्, (प्रथम भाग) बहालगढः हरियाणा, युधिष्ठिर मीमांसक ।
वायु पुराण (२०१६), कलकत्ताः गोपाल प्रिन्टङ् वर्कस ।
शर्मा, मोहन राज (२०६०). ‘प्राथमिक कालको नेपाली पद्य’ नेपाली साहित्यको इतिहास, प्रथम खण्ड (सम्पा.) चूडामाणि बन्धु, काठमाडौः नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान ।
शर्मा, विष्णु (२०२५). पञ्चतन्त्र मित्रसम्प्राप्ति, द्वितीय तन्त्रम्, वाराणसीः चौखम्बा प्रकाशन ।
शास्त्री, कलाधर र सुधीर कुमार (सन् १९७८). भारतीय दर्शनका इतिहास भाग १, जयपुरः राजस्थान हिन्दी ग्रन्थ अकादमी ।
शास्त्री, विरूपाक्ष (व्याख्याकार) (सन् १९७६). श्रीमज्जैमिनि प्रणीतं मीमांसादर्शनम्, भारतः आनन्दाश्रम ग्रन्थावली ।
शास्त्री, रामचन्द्र (अनु), (१९७९). महाभारत, (आदि र सभा पर्व), नयाँ दिल्लीः ओरियन्टल बुक्स, रिन्प्रन्टेल बुक्स, रिप्रिन्ट कारपोरेसन ।
श्रीमद्भावगवत् महापुराण, द्वितीय खण्ड, स्कन्ध ९–१२ (२०४०). गोरखपुरः गीताप्रेस ।
http://bharat discvery.org/india/jaimini/htm बाट अप्रिल ३, २०१६ मा प्राप्त ।

(साभारः जैमिनीय प्रकाशन समूह, टीकापुर, कैलालीले प्रकाशन गरेको ‘जैमिनीय मञ्च’को प्रथम अङ्क– २०७३ मा प्रकाशित भएको थियो– लेखक)

Post a Comment

0 Comments
Post a Comment (0)

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top