The basic format of a peer-reviewed article (विज्ञसमीक्षित लेखको आधारभूत ढाँचा)

Dr.Khagendra Ghodasaini
6
विज्ञसमीक्षित लेखको आधारभूत ढाँचा


डा. खगेन्द्र घोडासैनी


(सारसङ्क्षेप : यस लेखमा अनुसन्धानात्मक लेखका विभिन्न ढाँचाहरू औंल्याई त्यस्ता लेखहरू विज्ञद्वारा समीक्षा गराएर तयार गर्ने प्रक्रिया र त्यस्ता लेखको आधारभूत ढाँचा प्रस्तुत गरिएको छ । विज्ञसमीक्षित लेख तयार पार्ने एपिएका प्रावधानहरू रोमन लिपिसँग सम्बन्धित छन् । विश्वविद्यालय अनुदान आयोगले पनि आफ्नो कार्यविधि सोहीअनुसनार बनाएको छ । एपिए ढाँचाका सबै प्रावधान देवनागरी लिपिमा प्रयोग गर्न नमिल्ने हुँदा देवनागरी लिपिमा प्रयोग गर्न मिल्ने उपयुक्त प्रावधानहरू प्रस्तुत गरिएको छ । विज्ञसमीक्षित लेख लेखन, प्रकाशन, यसको संरचना र यसका प्राविधिक पक्षलाई सोदाहरण तालिकामा प्रस्तुत गरिएको छ । यसरी रोमन लिपिका प्रावधानहरूलाई हुबहु नेपालीमा प्रयोग गर्न नमिल्ने ठाउँमा नेपालीमा देखिएका प्रयोगहरूलाई ख्याल गरेर एपिए ढाँचा अवलम्बन गर्नु पर्ने निष्कर्ष निकालिएको छ ।)
शब्दकुञ्जी : विज्ञ, समीक्षित, अनुसन्धान, ढाँचा, संरचना आदि ।
विषय परिचय
विज्ञसमीक्षित लेख शब्द अङ्ग्रेजी भाषाको Peer–Reviewed Article को नेपाली रूपान्तर हो । यस्तो लेखको अवधारणा एपिए म्यानुअलले अघि सारेको पाइन्छ । आजभोलि उच्चस्तरका अनुसन्धानमूलक लेख र तिनको प्रकाशन गर्ने संस्था वा प्रकाशनगृहहरूले यिनको उपयोग गर्न थालेका छन् । यसको उद्देश्य आफ्ना प्रकाशनलाई गरिमामय बनाई तिनमा एकरूपता ल्याउनु हो । कुनै लेखकले आफ्नो अनुसन्धानमा के कति मौलिकता, वस्तुपरकता, वैज्ञानिकता र अनुसन्धान विधिको उचित उपयोग गरेको छ त्यसको निश्चित मानदण्डका आधारमा सम्बन्धित विषयका विज्ञद्वारा मूल्याङ्कन गराई प्रकाशन गर्न थालेपछि यसको विश्वव्यापी प्रभाव बढ्दै गरेको देखिन्छ । फलस्वरूप प्रकाशन संस्थाले विज्ञसमीक्षित लेख छाप्न थाले । विज्ञसमीक्षित लेख छापिएका पत्रिकालाई नै Peer-Reviewed Journal भनिन्छ । यस्ता पत्रिका प्रकाशन गर्न सुरु गरेपछि यसमा प्रकाशित लेखहरूमा पनि एकरूपता कायम होओस् भनी लेखमा समान ढाँचा अवलम्बन गर्न थालिएको छ । अङ्ग्रेजी भाषामा लेखिँदै आएका अन्तर्राष्ट्रिय स्तरका लेखमा वैज्ञानिक अनुसन्धाताहरूले आधारभूत ढाँचाको प्रयोग गर्न थालेपछि यसले विश्वव्यापी मान्यता पाएको देखिन्छ । अनुसन्धानात्मक लेखका ढाँचामा समानता ल्याउन एपिएको योगदान देखिन्छ । एपिएको स्थापना सन् १९२९ मा मनोवैज्ञानिकहरूको समूहबाट अमेरिकाको वासिङ्टन डिसीमा भएको थियो । त्यस यता यसका विभिन्न संस्करण प्रकाशित छन् । अहिले २०१० को संस्करण प्रचलित छ । एपिएमै आधारित भएर बनाइएका अनुसन्धानात्मक लेखको स्तरीय ढाँचा (Standard Format of Research Article) बाट यसको पुष्टि हुन्छ । नेपाली र संस्कृत भाषामा लेखिएका अधिकांश लेखहरूमा भने न त ढाँचागत एकरूपता भेटिन्छ र न त अनुसन्धानको प्राक्कल्पना, समस्या र विधिको उचित प्रयोग भएको भेटिन्छ । आफ्ना अनुसन्धानमूलक लेखहरूमा कस्तो ढाँचाको प्रयोग गर्ने भन्ने विषयमा खोजी गर्नेहरूका लागि विज्ञसमीक्षित लेखको आधारभूत ढाँचासँग सम्बन्धित उपलब्ध सामग्रीहरूको संयोजन गरी प्रस्तुत लेख तयार पार्ने जमर्को गरिएको छ । ‘नेपाली भाषामा विज्ञसमीक्षित लेख लेख्दा अपनाउन सकिने आधारभूत ढाँचामा समानता ल्याउन सकिन्छ’ भन्ने कुरालाई प्रस्तुत लेखमा प्रमुख प्राक्कल्पना बनाइएको छ । त्यसका लागि अनुसन्धानात्मक लेखका विभिन्न ढाँचा र तिनमा प्रयोग गरिने विधि तथा नेपालीमा तिनको प्रयोग के कसरी सम्भव छ भन्ने विषयलाई यस लेखले उचित समाधान दिने अपेक्षा गरिएको छ । यस लेखमा ‘नेपाली भाषामा विज्ञसमीक्षित लेख लेख्दा कस्तो ढाँचा अवलम्बन गर्ने’ भन्ने कुरालाई नै प्रमुख समस्या मानिएको छ । यस्तो समस्याको समाधान गर्नु नै यस लेखको प्रमुख उद्देश्य हो । विज्ञसमीक्षित लेख कस्तो हुने भन्ने कुराको स्पष्ट रूपरेखा दिन सक्ने लेखको नेपालीमा अभाव रहेकाले उक्त उद्देश्यको पूर्ति यस लेखले गर्ने अपेक्षा गरिएको छ ।
अध्ययन विधि
यस अध्ययनमा निम्नानुसारको अध्ययन विधि अवलम्बन गरिएको छ :
अनुसन्धानको ढाँचा : यो गुणात्मक ढाँचाको अध्ययन हो । यसमा कृतिबाट प्राप्त तथ्यको विश्लेषण गरी निष्कर्षमा पुग्ने काम गरिएको छ ।
तथ्य र नमुना छनोट : प्रस्तुत अध्ययनमा अनुसन्धानका विभिन्न पक्षसँग सम्बन्धित अध्ययन गर्न सकिने पक्षलाई सम्पूर्ण तथ्य मानी सोद्देश्यमूलक नमुना छनोट पद्धतिका आधारमा विज्ञसमीक्षित लेखमा प्रयोग गर्न मिल्ने आधारभूत ढाँचाको चयन गरिएको छ ।
तथ्य सङ्कलन : प्रस्तुत अध्ययनमा विज्ञसमीक्षित लेखसँग सम्बन्धित विभिन्न कृति, लेख र तिनमा प्रयोग गरिएका ढाँचा र खासगरी देवनागरी लिपिलाई एपिएले समावेश नगरेको अवस्थामा कस्तो ढाँचा तयार गर्न उपयुक्त हुन्छ भनी सूक्ष्म अवलोकन र लेखमा गरिएको प्रयोगलाई आधार बनाएर तथ्य सङ्कलन गरिएको छ ।
तथ्य सङ्कलनका साधन : यस अध्ययनमा प्राथमिक र द्वितीय स्रोतका दस्तावेजको विश्लेषण गरिएको छ । यसका लागि विभिन्न प्रकाशित पुस्तक, पत्रिका, लेख र बेबसाइडको उपयोग गरिएको छ । त्यसैले यसमा प्रकाशित दस्तावेज र बेबसाइडमा प्राप्त तथ्यको विश्लेषण गरी निष्कर्ष निकाल्ने प्रयास गरिएको छ ।
तथ्य विश्लेषण प्रक्रिया : प्राप्त तथ्यको वर्णन, तुलना र त्यसको पुष्टिका लागि उदाहरणसमेत दिई विश्लेषण गरेर निष्कर्षमा पुग्ने काम गरिएको छ । अवलोकन, उदाहरण र प्रयोगबाट निष्कर्ष निकाल्ने प्रयास गरिएको यस लेखमा आगमन विधिबाट विश्लेषण गरी निष्कर्ष निकालिएको छ ।
सैद्धान्तिक पर्याधार
प्रस्तुत लेखमा ‘पब्लिकेसन म्यानुअल अफ अमेरिकन साइकोलोजिकल असोसिएसन’लाई मुख्य आधार बनाइएको छ । यसलाई सङ्क्षिप्तमा एपिए म्यानुअल वा एपिए मात्रै पनि भनेर चिनिन्छ । यसमा अनुसन्धान र प्रकाशनसँग सम्बन्धित सबै पक्षका बारेमा प्रकाश पारिएको छ तर प्रस्तुत लेखमा उक्त कृतिमा भएका विज्ञसमीक्षित अनुसन्धानमूलक लेख र त्यसलाई आधार बनाएर तयार गरिएका अन्य कृति र लेखहरूमा भएका प्रावधानहरूलाई पनि आधार बनाइएको छ । यसमा भएका प्रावधानहरू रोमन लिपिसँग सम्बन्धित भएकाले नेपाली र भाषामा यिनको हुबहु प्रयोग गर्न सम्भव देखिँदैन । यस्तो स्थितिमा नेपालका प्राज्ञिक संस्था र प्रकाशनगृहहरूले यसतर्फ विशेष चासो दिएको देखिँदैन । देवनागरी लिपिमा न एपिएको पूर्ण प्रयोग हुन सक्छ न यसको आफ्नै ढाँचा कसैले निर्माण गरेको छ । यस्तो अन्योलपूर्ण अवस्थालाई ख्याल गरी देवनागरी लिपिको प्रयोग र व्यवहारका प्रावधानहरूलाई पनि अँगाली प्रस्तुत लेखको सैद्धान्तिक आधार पहिल्याउने कोसिस गरिएको छ । त्यसैले यसको मुख्य सैद्धान्तिक पक्ष एपिए म्यानुअल भए पनि देवनागरी लिपिको प्रयोगमा आएका पक्षलाई सैद्धान्तिक आधार मानिएको छ ।
छलफल र विश्लेषण
अनुसन्धानात्मक लेखलाई नै विज्ञद्वारा समीक्षा गराएर विज्ञसमीक्षित लेख तयार गरिन्छ । विज्ञसमीक्षित लेखको आधारभूत ढाँचा पहिल्याउन अनुसन्धानका प्रकार, अनुसन्धानात्मक लेखका ढाँचाहरू, विज्ञसमीक्षित लेख लेखन प्रक्रिया, विज्ञसमीक्षित लेख प्रकाशन प्रक्रिया, विज्ञसमीक्षित लेखको संरचना, विज्ञसमीक्षित लेखका प्राविधिक पक्षजस्ता शीर्षकमा आधारित भई छलफल र विश्लेषण गरिएको छ ।
अनुसन्धानका प्रकार
शर्मा र लुइटेल (२०६२) ले परम्परित र वैज्ञानिक गरी शोधका दुई प्रकार देखाएका छन् । परम्परितअन्तर्गत निगमनात्मक र आगमनात्मक उल्लेख छन् भने वैज्ञानिकअन्तर्गत ऐतिहासिक, वर्णनात्मक, प्रयोगात्मक, तुलनात्मक, विश्लेषणात्मक र अन्तर्विषयक समावेश छन् (९–१६) । यो वर्गीकरण अनुसन्धान पद्धतिका आधारमा गरिएको देखिन्छ । सिंह र शर्मा (सन् २०१२) ले मुख्य चार र तिनका प्रकारसमेत उल्लेख गरी अनुसन्धानको वर्गीकरण गरेका छन् :
(क) ऐतिहासिक : ऐतिहासिक अथवा लेख्य दस्तावेजको प्रमाण, आदर्शमूलक सर्वेक्षण वा वर्णनात्मक र प्रयोगात्मक ।
(ख) वर्णनात्मक : सर्वेक्षण अध्ययन, अन्तरसम्बन्धहरूको अध्ययन, विकासात्मक अध्ययन र समस्या अध्ययन ।
(ग) प्रयोगात्मक
(घ) क्रियात्मक : सैद्धान्तिक, तथ्यात्मक र व्यवहारपरक (कार्यमूलक) (२४५–३४९) ।
यसैगरी रेग्मी (२०६९) ले अनुसन्धानका मुख्य तीन प्रकारहरू उल्लेख गरेका छन् :
(क) प्रयोजन : विशुद्ध र प्रायोगिक ।
(ख) उद्देश्य : वर्णनात्मक, सहसम्बन्धात्मक, व्याख्यात्मक र अन्वेषणात्मक ।
(ग) तथ्याङ्क : गुणात्मक र वर्णनात्मक (७६–७७) ।
उपर्युक्त वर्गीकरणका आधार हेर्दा तथ्य सङ्कलनका आधारमा अनुसन्धान मुख्य दुई प्रकारका देखिन्छन् : गुणात्मक अनुसन्धान (Qualitive Research) र मात्र वा परिमाणात्मक अनुसन्धान (Quantitative Research)।
मात्र वा परिमाणात्मक अनुसन्धान : अनुसन्धानका क्रममा प्राप्त तथ्य शाब्दिक नभई अङ्कमा आउने र त्यसैका आधारमा निष्कर्षमा पुगिने अनुसन्धानलाई परिमाणात्मक अनुसन्धान भनिन्छ । यसमा निगमन विधिको प्रयोग हुन्छ । यसमा सावधानीपूर्वक तयार गरिएका परीक्षण प्रश्नावली संरचित बन्द अन्तर्वार्ता आदि मापनका साधनहरूको प्रयोग गरिन्छ । यसको निष्कर्षलाई वैधता, विश्वसनीयता र वस्तुपरकजस्ता उपायहरू अपनाएर विश्वसनीयताको परीक्षण गरिन्छ (खनाल, २०६७, ५३–५४) ।
गुणात्मक अनुसन्धान : अभिलेख र अवलोकनबाट प्राप्त शाब्दिक तथ्याङ्कका आधारमा गरिने अनुसन्धान नै गुणात्मक अनुसन्धान हो । यसका तथ्यहरू अनौपचारिक र अतार्किक हुन्छन् । यिनलाई वैज्ञानिक र व्यवस्थित गर्न कठिन हुन्छ । गुणात्मक अनुन्धानका लागि प्राप्त तथ्याङ्कलाई उही रूपमा प्रयोग गर्न मिल्दैन । तिनलाई अध्ययनमा समेट्न व्यापक कठिनाइ हुन्छ (सिंह र शर्मा, सन् २०१२, ३८४–३८५) । शाब्दिक रूपमा सङ्कलन गरिएका असाङ्खिक तथ्यहरूलाई तार्किक विधिद्वारा विश्लेषण गरी निष्कर्षमा पुगिन्छ । यसमा व्यक्तिगत निर्णय, समस्या र घटनाहरूको प्राकृतिक खोज गरिन्छ । यसमा तथ्य सङ्कलन गर्दा गहिरो र खुला अन्तर्वार्ता, प्रत्यक्ष अवलोकन, लिखित दस्तावेजको विश्लेषण विधिको प्रयोग गरिन्छ । गुणात्मक अनुसन्धानमा वैधानिकता, विश्वसनीयता र वस्तुपरकता मापन गर्न कठिन हुन्छ । यसमा उद्देश्यमूलक नमुना छनोट विधि र तथ्याङ्क विश्लेषण गर्न आगमन विधिको प्रयोग गरिन्छ । प्राकृतिक खोज आगमनात्मक विश्लेषण, विहङ्गम दृष्टिकोण गुणात्मक तथ्याङ्क, प्रत्यक्ष खुला र गहिरो अन्तर्वार्ता, खुला प्रश्नावली, प्रत्यक्ष अवलोकन, दस्तावेज विश्लेषण, विवरणात्मक तथ्याङ्क, व्यक्तिगत सम्पर्क र अन्तर्दृष्टि, गतिशील पद्धति, प्रत्येक घटनाको भिन्नता, परिवेशको संवेदनशीलता, निष्पक्ष भावना र क्षमता, लचकदार ढाँचा (खनाल, २०६७, ५५–५६) यसका मुख्य विशेषता हुन् ।
अनुसन्धानमूलक लेखका ढाँचाहरू
अनुसन्धानमूलक लेख विभिन्न ढाँचामा लेखिएका देखिन्छन् तर यसको आधिकारिक ढाँचाबारे अनुसन्धानका कृतिमा त्यति धेरै उल्लेख भएको पाइँदैन । यस्ता लेखमा शीर्षक, सारङ्क्षेप, उपशीर्षक, पूर्वकार्यको समीक्षा, सन्दर्भग्रन्थसूची आदि हुनुपर्ने, अनुसन्धानमूलक लेखको प्रकृति शोधप्रबन्ध झैँ भए पनि सङ्क्षिप्त हुनुपर्ने र यसको ढाँचामा विषयप्रवेश, उद्देश्य, समस्याकथन, पूर्वकार्यको समीक्षा, औचित्य, प्राक्कल्पना, अनुसन्धानको प्रकृतिअनुसार तथ्य सङ्कलन गरी व्याख्या, विवेचना र निष्कर्ष समावेश गरिनुपर्दछ (बन्धु, २०६५, १३८) भनिएको पाइन्छ । चालिसे (२०७०) ले लेख साधारण र अनुसन्धानात्मक गरी दुई प्रकारका हुन्छन् भनेका छन् । अनुसन्धानमूलक लेखको मूल्याङ्कन गर्दा विषयगत र प्रविधिगत आधारमा गर्नुपर्ने कुरा उल्लेख गरेका छन् । एउटा अनुसन्धानात्मक लेखमा “क्षेत्र, विषय, शीर्षक समस्या, उद्देश्य, पूर्वकार्य, सीमाङ्कन, सामग्री सङ्कलन, सत्यापन, विश्लेषण आदि केही आधारभूत कुराहरू” समावेश भएको हुनुपर्ने भनिएको छ (चालिसे, २०७०, २४७–२४८) । स्वयं लेखकले भने आफ्नो अनुसन्धानमूलक लेखमा यी सबै अङ्गहरूको उचित ढङ्गले प्रयोग गरेको देखिँदैन । यसबाहेक नेपाली भाषामा अनुसन्धानात्मक लेखको सैद्धान्तिक पक्षबारे स्पष्ट पारिएको पाइँदैन । एपिए (२०१०) ले अनुसन्धानात्मक लेखका प्रमुख पाँच प्रकार हुने कुरा उल्लेख गरेको छ : (क) खोजपूर्ण लेख, (ख) समीक्षात्मक लेख, (ग) सैद्धान्तिक लेख, (घ) प्रयोगात्मक लेख र (ङ) घटनामूलक लेख । यस्ता लेखमा समेटिएको विषय पूर्व प्रकाशित भएको हुनु हुँदैन । पत्रिकाले लेख प्रकाशनअघि सम्बन्धित विषयविज्ञद्वारा समीक्षा गरी स्वीकृत गरेको हुनुपर्छ । लेखको ढाँचा पत्रिकाले मागेअनुसार हुनुपर्छ । यिनको परिचय एपिए (२०१०) मा यसरी उल्लेख गरिएको पाइन्छ :
(क) खोजपूर्ण लेख : खोजपूर्ण लेख मौलिक अध्ययन हो । यसमा प्राक्कल्पना परीक्षण गर्न सकिन्छ । पहिले अध्ययन नभएको नयाँ कुरा नै खोज हो । यसका अङ्गहरूमा परिचय (समस्याको ऐतिहासिक विकास र खोजपूर्ण उद्देश्य राखिने), विधि (वर्णनात्मक), परिणाम (तथ्यको विश्लेषण), छलफल (निष्कर्षको प्रयोग र परिणामका अन्तरसम्बन्धको खोजी), र सारांश समावेश गरिन्छ ।
(ख) समीक्षात्मक लेख : यस्तो लेख पूर्व प्रकाशित भएका अध्ययनहरूको समीक्षा गरेर तयार पारिन्छ । यसमा कृति वा लेखको समीक्षात्मक विश्लेषणबाट समस्याको पहिचान गरी अवधारणा निर्माण गरिन्छ । पूर्व अध्ययनसँग आफ्नो अध्ययनको सम्बन्ध, समानता र भिन्नता, पूर्व अध्ययनको कमजोरी र त्यसको सारांश र त्यस समास्याको समाधानको खोजी गर्ने काम हुन्छ । पूर्व अध्ययनका अङ्गहरूको विभिन्न दृष्टिले समीक्षा गरी अध्ययनमा एकरूपता कायम गरी उपयुक्त सैद्धान्तिक विधिको प्रयोग गरी सम्बन्धित विषयको ऐतिहासिक पक्षसँग समीक्षा गरी निष्कर्ष निकाल्नु पर्दछ ।
(ग) सैद्धान्तिक लेख : सैद्धान्तिक लेख पूर्व स्थापित सिद्धान्तमा आधारित हुन्छ । समीक्षात्मक अध्ययनबाट सिद्धान्त निर्माण हुन्छ भने सैद्धान्तिक अध्ययनबाट समीक्षा गर्ने आधार तयार हुन्छ । यसबाट परम्परागत रूपमा स्थापित सिद्धान्तको परीक्षण गर्न, परम्पराका बिचको समाञ्जस्यता खोज्न र वैधता निर्माण गर्न मद्दत मिल्दछ । यो पूर्व अध्ययनसँग सम्बन्धित हुन्छ ।
(घ) प्रयोगात्मक लेख : प्रयोगात्मक लेखमा नयाँ विधिको निर्माण वा पूर्व स्थापित विधिको परिमार्जन गर्ने परिमाणात्मक तथ्य सङ्कलन र विश्लेषण गर्ने प्रक्रिया अपनाइन्छ । तथ्यको सङ्कलन र विश्लेषणमा जोड दिएर खोजपूर्ण उदाहरणद्वारा पुष्टि गरिन्छ । यसका तथ्यले समस्याको पहिचान गर्न मद्दत पुग्छ । आगमनात्मक विधिको प्रयोग गरिने हुँदा विधि निर्माणमा मद्दत मिल्दछ । यसमा प्रविधिको प्रयोग हुने भएकाले अनुसन्धातालाई निष्कर्ष निकाल्न सहज हुन्छ ।
(ङ) घटनामूलक लेख : घटनामूलक लेख कुनै व्यक्ति, समूह, समाज र संस्थामा काम गर्दा वा तिनमा देखिएका कुनै विशेष समस्यालाई मध्यनजर गरी अध्ययन गरिने भएकाले यस्ता लेखलाई समस्यामूलक लेख पनि भनिन्छ । यसमा समस्याको समाधान गर्न पूर्व स्थापित वा नयाँ सिद्धान्तका आधारमा निदानको खोजी गरिन्छ । यसमा अनुसन्धाताले प्राप्त गरेका सूचना, सूचक र तथ्यहरूको गोपनीयता कायम राख्नुपर्दछ । अनुसन्धाताले सूक्ष्म रूपमा प्राप्त गरेका नमुना र समस्याका बिचको अन्तरसम्बन्ध खोजी गरेर निष्कर्ष निकाल्ने गरिन्छ (एपिए, २०१०, ९–११) ।
उपर्युक्त पाँच ओटा अनुसन्धानमूलक लेखका प्रकारमध्ये जुन ढाँचामा लेखे पनि यदि त्यसको विज्ञद्वारा समीक्षा गराइएको छैन भने त्यस्ता लेखलाई विज्ञसमीक्षित लेख भन्न नमिल्ने देखिन्छ । त्यसैले कुनै ढाँचा विशेषलाई प्रयोग गरेर विज्ञसमीक्षित लेख हुने नभई त्यसका लागि सम्पादक वा प्रकाशक र विज्ञको संलग्नताबाट मात्रै विज्ञसमीक्षित लेख हुन सक्ने देखिन्छ ।
विज्ञसमीक्षित लेख लेखन प्रक्रिया
विज्ञसमीक्षित लेख तयार गर्ने दुई ओटा तरिका छन् : पहिलो प्रकाशक सम्पादकले शीर्षक तोकेर लेख्न लगाउने । दोस्रो प्रकाशक सम्पादकले लेखकलाई आफू खुसी शीर्षकमा लेखेको लेख माग्ने । यी दुईमध्ये पहिलो प्रकृतिको लेख सबैले तयार पार्न सक्दैनन् । यसका लागि सम्बन्धित व्यक्ति आफैँमा विज्ञ हुनुपर्दछ । दोस्रो प्रकृतिको लेख धेरैले तयार पार्न सक्दछन् । प्रकाशकले कसरी लेख माग्ने हो ? विज्ञ, लेखकहरूको अवस्था आदि मूल्याङ्कन गरेर लेख माग्नुपर्दछ । यी दुईमध्ये जुनसुकै तरिकाले लेख मागे पनि प्रकाशक सम्पादकले मागेको ढाँचामा लेख बुझाउनु पर्दछ । यस्तो लेख निम्नलिखित प्रकृतिको हुनुपर्दछ :
१. लेख आफ्नो विषय क्षेत्रसँग सम्बन्धित अनुसन्धानात्मक हुनुपर्ने,
२. सम्बन्धित विषय क्षेत्रको समसामयिक सन्दर्भसँग जोडिएको विषय वा समस्यासँग सम्बन्धित प्राज्ञिक उन्नयन गर्ने प्रकृतिको बौद्धिक एवं मौलिक हुनुपर्ने ।
३. पूर्व प्रकाशित सामग्रीका पूर्ण वा आंशिक रूपलाई प्रकाशन गर्न नसकिने तर सन्दर्भका रूपमा उल्लेख गर्न सकिने ।
४. ‘आफ्नो लेख अप्रकाशित र पूर्ण रूपमा मौलिक हो । यससँग सम्बन्धित कुनै विवरण दिनु परे सम्पादकले चाहेका बेला त्यसको पुष्टि गर्ने छु’ भनी प्रतिपबद्धता व्यक्त गरेको सम्झौता गर्नुपर्ने ।
४. लेख तोकिएको ढाँचामा आधारित हुनुपर्ने ।
५. प्राप्त लेखहरू समीक्षार्थ विज्ञसमक्ष पठाउँदा विज्ञद्वारा अस्वीकृत भएमा त्यस्ता लेख प्रकाशनका लागि स्वतः अयोग्य मानिने र ती पुनः लेखकलाई फिर्ता पनि नगरिने । स्वीकृत भएका लेखहरूमा विज्ञद्वारा दिइएका सुझाबअनुसार परिष्कार र परिमार्जन गरी तोकिएको समयभित्र सम्पादक मण्डललाई बुझाउनु पर्ने । (एपिए, २०१०, २२५–२४३) ।
विज्ञसमीक्षित लेख प्रकाशन प्रक्रिया
विश्वविद्यालय अनुदान आयोग (२०१८) ले विज्ञसमीक्षित लेखका लागि निश्चित सीमा निर्धारण गरेको छ । यसको उद्देश्य नेपालका विश्वविद्यालयमा गरिने अनुसन्धान, पढाउने प्राध्यापक र विद्यार्थीहरूका प्राज्ञिक लेखन र प्रकाशनलाई स्तरीय बनाउने हो । अनुसन्धानमूलक लेखलाई सम्बन्धित विषयका विज्ञद्वारा मूल्याङ्कन गरी त्यसमा भएका कमी कमजोरीहरू सच्याएर मात्र प्रकाशन गरिने लेखलाई विज्ञसमीक्षित (लेख) भनिन्छ (युजिसी, २०१८, २) । विज्ञसमीक्षित लेखको संरचनात्मक ढाँचाका विभिन्न उदाहरण फेला पर्दछन् । कुनै एउटा पत्रिकामा प्रकाशित भएका सबै लेखहरूमा कम्तीमा एउटा साझा ढाँचाको प्रयोग गरिनुलाई उक्त संस्थाको चिनारीसँग लगेर जोड्ने गरिन्छ । विज्ञसमीक्षित लेखमा लेखक, विज्ञ, प्रकाशक र सम्पादक चारै पक्षको उत्तिकै महत्त्व हुन्छ । लेखकले एउटा धारणा बनाएर कुनै ढाँचाको प्रयोग गरेको छ भने उक्त ढाँचा प्रकाशक सम्पादकले अपेक्षा गरेको हो वा होइन भन्ने कुरा विज्ञले बुझेन भने त्यस्तो अवस्थामा विज्ञसमीक्षित लेख भएर पनि काम लाग्दैन । अर्कातिर प्रकाशक सम्पादक नै यसबारे अनभिज्ञ भएको अवस्थामा लेखहरूमा एकरूपता नहुन सक्छ । लेखकले त अझ जान्नु नै प¥यो । कहिले काहीँ प्रकाशक सम्पादकको बौद्धिक जानकारी र अतिरिक्त सुझाबलाई लेखक र विज्ञले स्वीकार गर्नुपर्ने हुन्छ । त्यसैले विज्ञसमीक्षित लेख हुन, त्यसलाई मूल्याङ्कन गर्न, सम्पादन र प्रकाशन गर्न त्यत्तिकै सावधानी र सचेतताको आवश्यकता पर्दछ । यसकारण कुनै एउटा लेख विज्ञसमीक्षित लेख हुन यी चार ओटै पक्षले उल्लेख्य भूमिका निर्वाह गरेका हुन्छन् ।
यसरी विज्ञसमीक्षित लेखको लेखनपछि समीक्षा, सम्पादन र प्रकाशनको चरणलाई एपिएमा प्रकाशन प्रक्रिया भनिएको छ । यो प्रक्रिया अपनाएर मात्रै कुनै पनि ढाँचामा लेखिएको अनुसन्धानात्मक लेखले विज्ञसमीक्षित लेखको मान्यता प्राप्त गर्न सक्ने देखिन्छ ।
विज्ञसमीक्षित लेखको संरचना
एपिए ढाँचाअनुसार विज्ञसमीक्षित लेखलाई मुख्य चार भागमा विभाजन गरेर प्रस्तुत गर्न सकिन्छ :
भाग १ : लेखको शीर्षक, लेखकको नाम, उपाधि, संस्थागत ठेगाना, इमेलजस्ता सूचना राख्नुपर्दछ । यसले लेखका बारेमा प्रारम्भिक जानकारी दिन्छ । यसले सम्पादक, प्रकाशक र पाठकलाई सूचित गर्ने काम गर्दछ ।
भाग २ : यसमा सारसङ्क्षेप र शब्दकुञ्जी राखिन्छ । यसले लेखको सार के हो ? र लेखमा प्रयोग गरिएका प्रमुख शब्दहरू के रहेछन् जसबाट उक्त लेख बेबसाइडमा राखिएमा त्यसमा प्रयोग गरिएका कुनै शब्दबाट खोजी गर्दा उक्त लेख फेला परोस् र पाठकहरू लाभान्वित होऊन् । दस्तावेजको रूपमा छापिने लेखमा यसले त्यतिधेरै महत्त्व राख्दैन । यसले ढाँचागत एकरूपता कायम गर्न मात्रै मद्दत गर्दछ ।
भाग ३ : विषय परिचय, विधि (अनुसन्धानको ढाँचा, जसङ्ख्या र नमुना छनोट, तथ्याङ्क सङ्कलन, तथ्याङ्क सङ्कलनका साधन, तथ्याङ्क विश्लेषण प्रक्रिया), सैद्धान्तिक पर्याधार, छलफल र विश्लेषण र निष्कर्ष राख्नु पर्दछ । यो विज्ञसमीक्षित लेखको खास भाग हो । यसबाट लेखकले कहाँ खोजेको हो ? कुन समस्या र उद्देश्य राखिएको रहेछ ? कसरी खोज्यो ? र के खोज्यो ? भन्ने कुराको लेखाजोखा हुन्छ ।
भाग ४ : अन्त्यमा लेखकले लेख तयार गर्दा प्रयोग गरेका कृतिको सूची, तथ्य उपलब्ध गराउने व्यक्ति वा अन्तार्वार्ता लिइएको छ भने तिनको सूची समावेश गर्ने गरिन्छ । यसबाट लेखकले के के पढेर वा को कोसँग अन्तर्वार्ता लिएर लेख तयार गरेको रहेछ भन्ने कुरा पाठकलाई जानकारी हुन्छ ।
यी चार ओटै भागमा समावेश गरिने अङ्गहरूको समष्टि योगबाट एउटा अनुसन्धानात्मक लेख तयार हुन्छ । यदि त्यस्तो लेख प्रकाशन गर्नुअघि विज्ञबाट समीक्षा गराइएको अवस्थामा विज्ञसमीक्षित लेख बन्न पुग्छ ।
विज्ञसमीक्षित लेखका प्राविधिक पक्ष
एपिए (२०१०) मा विज्ञसमीक्षित लेखसँग सम्बन्धित जति पनि प्रावधानहरू छन् ती सबै रोमन लिपिसँग सम्बन्धित छन् । नेपालका विश्वविद्यालय र अनुसन्धान केन्द्रको यसतर्फ ध्यान गएको पाइँदैन । विश्वविद्यालय अनुदान आयोगले तयार पारेको ‘नेपालमा विज्ञसमीक्षित पत्रिकाका लागि विश्वविद्यालय अनुदान आयोगद्वारा तयार पारिएको न्यूनतम आधार २०१८’ मा यस्ता लेखको भाषा अङ्ग्रेजी हुनुपर्दछ भनिएको पाइन्छ :
In order to fulfill the aforementioned condition, journals in a language other than English are encouraged to require article abstract in English as well and other bibliographic information in the Roman script (8) ।
यसबाट नेपालको विश्वविद्यालय अनुदान आयोग नेपाली भाषाप्रति कतिको उदासीन रहेछ भन्ने कुरा बुझ्न सकिन्छ । विश्वविद्यालय, तिनका अनुसन्धान केन्द्र र अनुदान आयोगले केही गरेनन् भनेर देवनागरी लिपिमा लेख्नेहरूले आफ्नो दृष्टिकोण आफैँ तयार नगरी सुखै छैन । त्यस अभावको परिपूर्तिका लागि प्रस्तुत शीर्षकमा एपिएका प्रावधानहरूको देवनागरी लिपिमा कसरी प्रयोग भएको पाइन्छ र प्रयोगमा नआएका ठाउँमा के गर्न उपयुक्त हुन्छ भन्ने कुरालाई निम्नलिखित तालिकामा प्रस्तुत गर्ने प्रयास गरिएको छ :


उद्धरण : उद्धरण गर्दा ४० शब्दभन्दा तलको अनुच्छेदलाई उद्धरण चिह्न दिएर राख्नु पर्दछ, जस्तै :
शाह (२०६६) ले ‘छापमारको छोरो’ कथामा “हामीले विद्रोही बनेर जङ्गल पसेको छापामारको छोरालाई भविष्यको छापामार हुनबाट रोक्न सकेको भए कति जाती हुन्त्यो” (५४) भनी कथाको सन्देश वाक्यको कथन आफैँ गरेका छन् ।
४० शब्दभन्दा माथि भएमा १ ट्याव छोडेर छुट्टै अनुच्छेदमा राख्नु पर्दछ, जस्तै : शाह (२०६६) ले मानिसहरू कति सानो निहुँमा छापामार हुन गएका थिए भन्ने घटनाको वर्णन यसरी गरेका छन् :
म भर्खरै आफूले तन्द्रमा अनुभूत गरेको आफू र छापामारका बिचको युद्धको स्मरण गर्दै बिपनामा दुई बालकबिच साइकलका लागि भइरहेको द्वन्द्वले साइकलको नै क्षति हुने सम्भावनाप्रति गम्भीर बन्न थाल्छु । म आफ्नो छोरालाई सम्बोधन गर्दै जोडले भन्छु– “साथीलाई पनि साइकल चलाउन देऊ बाबू ! तिमीहरू झगडा नगर, दुवै जना मिलेर खेल” (५३) ।
तालिका ३, एपिएअनुसार शीर्षक-उपशीर्ष-प्रशीर्ष राख्ने ढाँचा
तह (Level) ढाँचा (Format)
१ केन्द्रमा, बोल्ड, दोहोरो स्पेसमा राख्ने
२ बायाँतिर, बोल्ड, फरक अनुच्छेदमा राख्ने
३ अनुच्छेदसँग जोडेर राख्ने, बोल्ड गर्ने
४ अनुच्देदसँग जोडेर राख्ने, इटालिक र बोल्ड गर्ने
५ अनुच्छेदसँग जोडेर राख्ने, इटालिक गर्ने ।
तालिका निर्माण गर्दा माथिको उदाहरण जस्तै गरी गर्नुपर्दछ । माथिको तालिकामा दिइएको तह र ढाँचाअनुसार नै यो लेख तयार पारिएको छ । उदाहरणका रूपमा यसकै सेटिङ हेर्न सकिन्छ ।
विज्ञसमीक्षित अनुसन्धानमूलक लेखमा प्रयोग गरिएको ढाँचा अनुसन्धानमूलक लेख, अनुसन्धान प्रतिवेदन र कार्यपत्र वा गोष्ठीपत्रमा पनि अवलम्बन गर्न सकिन्छ ।
निष्कर्ष
विज्ञसमीक्षित पत्रिका (Peer-Reviewed Journal) मा प्रकाशित भएको लेखलाई विज्ञसमीक्षित लेख (Peer–Reviewed Article) भनिन्छ । एपिए ढाँचाअनुसार अनुसन्धानमूलक लेखका पाँच ओटा प्रकार हुन्छन् । त्यस्ता अनुसन्धानमूलक लेखहरू विज्ञद्वारा समीक्षा गरी प्रकाशनको अनुमति पाएर प्रकाशित भएमा तिनलाई विज्ञसमीक्षित लेख भनिन्छ । एपिएका यस्ता प्रावधानहरूलाई समेटेर नेपालीमा लेखिने लेखहरूका आधारभूत ढाँचामा समानता ल्याउन सकिन्छ भन्ने कुरालाई प्रमुख प्राक्कल्पना बनाई यो लेख तयार पारिएको छ । विज्ञसमीक्षित लेखमा कस्तो ढाँचा आपनाउने भन्ने समस्याको समाधान गर्न यो लेख तयार पारिएको हो । यसमा गुणात्मक ढाँचा अवलम्बन गरिएको छ । एपिएका प्रावधानहरू रोमन लिपिसँग सम्बन्धित छन् । देवनागरी लिपिमा तिनको प्रयोग कसरी गर्ने भन्ने कुरामा समस्या देखिन्छ । त्यसैले नेपालीका विज्ञसमीक्षित लेखमा पाइने ढाँचागत भिन्नताको समस्या र एपिएका प्रावधानहरूको देवनागरी लिपिमा प्रयोग गर्दा हुने समस्याको समाधानार्थ यस लेखमा विज्ञसमीक्षित लेख लेखन, प्रकाशन, यसको संरचना, आधारभूत प्रावधान, पृष्ट संरचना र शीर्षक, उपशीर्षक र प्रशीर्षक राख्ने ढाँचालाई उदाहरणसहित प्रस्तुत गरिएको छ । समग्रमा एपिए ढाँचाअनुसार अनुसन्धानात्मक लेख कस्ता हुन्छन् र तिनलाई कसरी विज्ञसमीक्षित लेख बनाउने, यसको लेखन, प्रकाशन, ढाँचा र यसका प्राविधिक पक्ष के रहेछन्, नेपाली भाषामा विज्ञसमीक्षित लेख तयार पार्दा हुने समस्याका ठाउँमा नेपालीकरण कसरी गर्ने भन्ने समस्याको निराकरण गर्ने प्रयास यस लेखमा गरिएको छ । एपिएका प्रावधाहरू नेपालीमा हुबहु लागु गर्न कठिन हुने ठाउँमा नेपालीमा देखिएका प्रयोगहरूलाई ख्याल गरेर एपिए ढाँचा अवलम्बन गर्नु पर्छ भन्ने निष्कर्ष निकालिएको छ ।
सन्दर्भ सामग्रीसूची
अधिकारी, हेमाङ्गराज (२०६७). प्रयोगात्मक नेपाली व्याकरण, ललितपुर : साझा प्रकाशन ।
खनाल, पेशल (२०६७). शैक्षिक अनुसन्धान पद्धति, (चौ.सं.), कीर्तिपुर, काठमाडौँ : सनलाइट पब्लिकेसन ।
घोडासैनी, खगेन्द्र (२०७६, पुस १३-१४). विज्ञसमीक्षित लेखको संरचना र ढाँचा (कार्यपत्रको प्रस्तुतीकरण). जनता विद्यापीठ अनुसन्धान व्यवस्थापन एकाइद्वारा आयोजित विज्ञसमीक्षित लेख लेखनसम्बन्धी दुई दिने कार्यशाला, दाङ, जनता विद्यापीठ ।
चालिसे, नारायण (२०७०). ‘अनुसन्धानात्मक लेख मूल्याङ्कनका आधारहरू’, ऋतम्भरा, १३-१७, (पृ. २४७–२५४), अनुसन्धान केन्द्र : नेपाल संस्कृत विश्वविद्यालय ।
बन्धु, चूडामणि (२०६५). अनुसन्धान तथा प्रतिवेदन लेखन, (दो.सं.), थापाथली, काठमाडौँ : एकता बुक्स ।
शर्मा, मोहनराज (२०६९). प्रज्ञा सन्दर्भ नेपाली व्याकरण, काठमाडौं : नेपाल प्रज्ञाप्रतिष्ठान ।
शर्मा, मोहनराज र लुइटेल, खगेन्द्रप्रसाद (२०६२). शोधविधि, (ते.सं.), ललितपुर : साझा प्रकाशन ।
सरिन, शशीकला र सरिन, अन्जनी (सन् २०१२). शैक्षिक अनुसन्धान विधियाँ, अगरा : विनोद पुस्तक मन्दिर ।
सिंह, रामपाल र शर्मा, ओ.पी. (सन् २०१२). शैक्षिक अधुसन्धान एवं साङ्ख्यिकी, (चौ.सं.), अगरा : विनोद पुस्तक मन्दिर ।
American Psychological Association (Sixth Edition). (2009). Publication Manual. Washington D C : APA.
APA Quick Reference Guide (Revised). (2010). University of North Carolina School of Social Work.
University Grants Commission (2018) Guidelines for the Minimum Standards and Classification of Peer-Reviewed Journals Published in Nepal, 2018 : DOI
परिशिष्ट खण्ड
(विज्ञसमीक्षित अनुसन्धानात्मक लेखको आधारभूत ढाँचामा प्रयोग गरिएका नेपाली शब्दको अङ्ग्रेजी रूपान्तरसहित एकै ठाउँमा राखी परिशिष्ट खण्डको व्यवस्था गरिएको छ ।)
(क) सारसङ्क्षेप (Abstract)
(ख) शब्दकुञ्जी (Key Words)
(ग) विषय परिचय (Introduction)
(घ) विधि (Methodology)
(अ) अनुसन्धानको ढाँचा (Research Desigen)
(आ) जसङ्ख्या र नमुना छनोट (Population and Sample)
(इ) तथ्याङ्क सङ्कलन (Data Collection)
(ई) तथ्याङ्क सङ्कलनका साधन (Data Collection Tool)
(उ) तथ्याङ्क विश्लेषण प्रक्रिया (Data Collection Process)
(च) सैद्धान्तिक पर्याधार (Theoretical Framework)
(छ) छलफल र विश्लेषण (Discussion/Analysis)
(ज) निष्कर्ष (Conclusion)
(झ) कृतज्ञताज्ञापन (Acknowledgment)
(ञ) सन्दर्भकृति सूची (Reference)
परिशिष्ट खण्ड (Appendix) (आवश्यक भएमा मात्र)

(साभार : याे लेख नेसंवि प्राध्यापक संघ एकाइ समिति, जनता विद्यापीठ बिजौरीद्वारा प्रकाशित सारस्वतप्रभा विज्ञसमीक्षित जर्नल अङ्क तीन पृष्ठ १८-३० मा प्रकाशित छ । यस लेखलाई कसैले पनि कपी गर्न वा हुबहु सार्न पाइने छैन तर सन्दर्भका रुपमा प्रयोग गर्न भने बन्देज नरहेको जानकारी गराइन्छ ।)



Post a Comment

6 Comments
  1. कृपया लेख पढेर आफूलाई लागेको प्रतिक्रिया व्यक्त गरिदिनुहोला ।

    ReplyDelete
  2. शब्दकुञ्जीमा आदि शब्दको प्रयोग भएछ । अरु ठीक छ ्यो एपिए सातौ संस्करण हो कि जस्तो लाग्यो यहाँ उल्लेख छैन ।

    ReplyDelete
  3. प्रतिक्रियाका लागि धन्यवाद । आदि शब्दबाट अरु पनि बुझाउन खाेजिएको हो । एपिएको नेपाली करण गरेर प्रयोग गरिएको छ हजुर ।

    ReplyDelete
  4. विषयवस्तुको सही छनोट/उठान भयो। तालिका पढ्न सकिनेगरीको प्रष्ट भएन।४० शब्दभन्दा माथिको उद्धृतांशमा पहिलो पंक्ति मात्र नभएर सबै पंक्तिमा ट्याब हान्नु पर्छ- नत्र अरू अनुच्छेदभन्दा फरक देखिँदेन। यस्तो अनुच्छेदलाई बन्दोद्धरण (block quotation) भनिन्छ। Thank you.

    ReplyDelete
    Replies
    1. हार्दिक धन्यवाद प्रतिक्रियाका लागि । यसमा सेटिङ नमिलेर हो । लेखमा अलग अनुच्छेदमा छ हजुर ।

      Delete
  5. उपयोगी लेखका लागि अनुसन्धानशील विद्वान् लेखकलाई धन्यवाद !

    ReplyDelete
Post a Comment

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top