प्रश्न गर्न सिकौँ (निबन्ध)
डा. खगेन्द्र घोडासैनी
प्लेटो ग्रिसका प्रसिद्ध दार्शनिक हुन् । उनको समय इसापूर्व 300 वर्ष मानिन्छ । उनी सुकरातका शिष्य र अरिस्टोटलका गुरु हुन् । यी तीन जनाको समष्टिगत योगदानलाई ग्रिसेली कला र साहित्यको स्वर्णयुग मानिन्छ । प्लेटो प्रसिद्ध दार्शनिकका रूपमा चिनिन्छन् । वाङ्मयका जति पनि आयामहरू छन् ती सबैको मूल परिभाषा वा मूल उत्पति खोज्न आज हामी ग्रिसेली दार्शनिक प्लेटोका कृतिसम्म पुग्ने गर्दछौं । उनले विज्ञानका विभिन्न फाँटमा योगदान दिएका छन् । वास्तवमा भन्ने हो भने ज्ञानको आविष्कार, ज्ञानको विस्फोट कसरी हुन्छ ? ज्ञान कसरी सिकिन्छ ? अथवा कुनै पनि सिकाइको आरम्भ केबाट हुन्छ भन्ने विषयमा उनले एउटा सरल उपाय हामी सबैका अगाडि राखेका छन् । उनी भन्छन् यदि तपाईंलाई ज्ञानको आवश्यकता छ, तपाईंका भित्र कुनै विषयवस्तु कुनै आकार कुनै प्रकृति वा कुनै पनि विषयमा जान्नु वा खोज्नु वा त्यस बारेमा बुझ्नु छ भने के गर्ने ? उनी भन्छन् यसका लागि सबैभन्दा पहिले प्रश्न गर्नुपर्छ । यदि हामीले कुनै पनि विषयमा प्रश्न गर्न आरम्भ गर्यौँ, हाम्राभित्र जिज्ञासा उत्पन्न भयो, उत्सुकता उत्पन्न भयो, हामी कुनै कुरा जान्न चाहन्छौं भने त्यसले हाम्राभित्रको जान्ने इच्छाको भोकलाई सङ्केत गर्दछ ।
जबसम्म कुनै व्यक्तिलाई भोक लाग्दैन तबसम्म भोजन र पानीको कुनै अर्थ हुँदैन वा त्यसको महत्त्व हुँदैन । हाम्राभित्र ज्ञानको भोक जाग्यो, कुनै विषयवस्तु वा सन्दर्भमा जिज्ञासा राख्यौं र अन्तरमा जिज्ञासा उत्पन्न भयो भने अवश्य पनि हामी यस विषयमा जान्न चाहन्छौं भन्ने बुझिन्छ । अब अहिले कुनै कुरा खोजी गर्यौँ भने अवश्य पनि त्यसको उत्तर हामीले फेला पार्न सक्छौं । उत्तर खोज्न समय लाग्न सक्छ, त्यस्तै व्यक्ति फेला पार्ने अवस्था आउन समय लाग्नसक्छ तर हाम्रो खोजी निरन्तर निरन्तर लागिरह्यो भने हामी एकदिन अवश्य पनि त्यो समस्याको समाधान वा प्रश्नको उत्तर पहिल्याउन सक्ने छौं ।
अब प्रश्न गर्ने भन्ने बित्तिकै हामीले कस्तो प्रश्न गर्ने ? कोसँग प्रश्न गर्ने ? के विषयमा प्रश्न गर्ने ? पहिले त हामीले यसका बारेमा राम्रोसँग सोचविचार गर्नुपर्छ, चिन्तन मनन गर्नुपर्छ । प्रश्न जे पायो उही, जहाँ पायो उही, जो कसैसँग गर्नाले अपेक्षित उत्तर पाउन सकिँदैन, प्राप्त गरिहाले पनि त्यसको उत्तर सही भयो वा भएको छैन भन्ने कुरा राम्ररी पहिल्याउनुपर्छ । हामीले प्रश्न गर्नुपर्छ भन्ने बितिकै प्रश्न त्यस्ता व्यक्तिसँग गर्नुपर्छ अथवा आफ्नो ज्ञानको भोक जसले मेटाउने सामर्थ्य राख्छ त्यससँग गर्नुपर्छ । प्लेटो र सुकरातका बिचमा तथा प्लेटो र अरिस्टोटलका बिच पनि थुप्रै यस्ता संवाद भएका थिए जुन संवादमा प्रश्न र उत्तरको लामो शृङ्खला देखिन्छ । यसैबाट उनीहरूले ज्ञानको तृप्ति हासिल गरे । आफ्ना समस्याको समाधान पहिल्याउने काम गरे र वाङ्मयका विभिन्न क्षेत्रमा योगदान दिन सक्षम भए ।
यो प्रश्न र उत्तर खोज्ने सन्दर्भ छ । यो केवल ग्रिसका दार्शनिकहरूमा मात्र सीमित छैन । यो ग्रिसेली दार्शनिकहरूले उपयोग गरे र त्यसैबाट निरन्तर आजसम्म चलिरहेको छ भन्ने मात्रै पनि होइन यसको सन्दर्भ त प्राचीन र अझ पुरानो छ । पूर्वमा खासगरी संस्कृत साहित्यमा वैदिक युगपछि वैदिक साहित्यको उत्तरोत्तर विकास हुने क्रममा उपनिषद् ग्रन्थहरूको रचना भएको पाइन्छ । उपनिषद्लाई वेदको अङ्ग मानिन्छ अनि उपनिषद्कै सार गीता मानिन्छ । जसलाई श्रीमद्भगवद्गीता भनिन्छ । सिंगो उपनिषद् र गीता केवलको प्रश्न र उत्तरमा निहित छ । प्रश्न र उत्तरको शैलीमा विभिन्न ग्रन्थ रचिएका छन् । त्यस्ता ग्रन्थहरूमा पनि गुरुसँग शिष्यले आफ्ना मनमा लागेका जिज्ञासाको समाधानका लागि सर्वप्रथम प्रश्न गर्ने काम गरेका छन् । जहाँ जस्तो प्रश्न गर्यो यस्तै प्रश्नको समाधानका लागि गुरुले उत्तर दिएर उचित समाधानका रूपमा उपनिषद् र गीता जस्ता महत्वपूर्ण दार्शनिक ग्रन्थहरू वा वैचारिक ग्रन्थहरूको रचना भएको छ जुन हामीले आज पढ्दाखेरि पनि त्यतिकै गहन त्यतिकै सारगर्भित, त्यत्तिकै गहन र चिन्तनशील पाउँछौँ । यसको अर्थ हो शिष्य उचित छ अर्थात् जिज्ञासु छ र प्रश्न पनि उचित छ भने ज्ञानको तृप्ति अवश्य हुन्छ र त्यसरी जन्मिने ज्ञान पनि अरुका लागि अनुकरणीय हुने छ । यदि ती शिष्यले उचित प्रश्न नगरेका भए ती ग्रन्थहरू प्रकाशनमा आउने थिएनन्, तिनको रचना सम्भव थिएन । यी लेखिने थिएनन् । यसैले आज पनि यदि हामीले उचित प्रश्न गर्यौँ र त्यस्ता प्रश्नको उचित समाधान दिनसक्ने व्यक्ति फेला परे भने हाम्रो ज्ञानको भोक अवश्य मर्ने छ । त्यस्ता सक्षम व्यक्तित्वको खाजी गरेर उचित प्रश्न गर्नु नै ज्ञान प्राप्तिको सजिलो उपाय हो । यदि हाम्राभित्र त्यस्तो सोच आयो यदि हाम्रो त्यस्तो बानी वा स्वभाव छ भने हामी पनि आफ्नो ज्ञानको क्षेत्रलाई फराकिलो पार्न सक्छौं र त्यो प्रश्न र उत्तरलाई समेटेर हामी आफ्नो ज्ञानको फैलावटलाई अझ बढाउन सक्छौं वा विस्तारित गर्नसक्छौं ।
यदि हामी प्रश्न गर्ने मान्छे छैनौँ भने हामी त्यो ज्ञानको गङ्गामा डुबुल्की मार्न सक्दैनौँ । त्यो ज्ञान, सिप र क्षमता भएका व्यक्तित्वका कारण यो प्रश्न र उत्तरको क्रम आजपर्यन्त हाम्रा शिक्षा प्रणालीमा निरन्तर जारी छ । हामीले आज पनि शैक्षिक क्षेत्रमा कक्षाकोठा होस् वा कक्षाकोठा बाहिर परीक्षा कोठा प्रणालीमा समेत विद्यार्थी र शिक्षकका बिचमा अन्तरक्रिया प्रश्न र उत्तरकै माध्यमबाट समाधान खोज्ने गरेका छौं । यसरी शिक्षा प्रणालीलाई अगाडि बढाउने काम गरेका छौं । प्रश्न मौखिक र लिखित दुवै प्रकारका हुन्छन् । कक्षाकोठामा पनि अन्तरक्रिया हुँदाखेरि मौखिक र लिखित प्रकृतिका प्रश्न र उत्तरको क्रम चल्छ । परीक्षामा पनि मौखिक वा लिखित हुँदाखेरी प्रश्न र उत्तर क्रमशः अघि बढ्छ । यो प्रश्न र उत्तर एकातिर शिक्षण विधिका रूपमा अझ विस्तारित भएको छ भने अर्कातिर मूल्याङ्कन प्रणालीको रूपमा पनि विकसित भएको छ । यो नयाँ होइन यो मानव सभ्यता र मानव जातिको विकास र यसको आरम्भ हुँदादेखि आजपर्यन्त ज्ञान प्राप्ति गर्ने महत्त्वपूर्ण साधन वा उपायका रूपमा हुँदै आएको कुरा हामीले पस्चिमा दार्शनिक र उपनिषद् तथा श्रीमद्भागवत गीतामा कृष्ण र अर्जुनको प्रश्न उत्तरको संवादका क्रमबाट ग्रन्थहरूको रचना भएको सन्दर्भलाई समेत बुझेर यिनको प्राचीनताको पुष्टि गर्न सक्छौँ । त्यसैले आज पनि यदि हाम्राभित्र ज्ञानको तिर्खा छ ज्ञानको भोक छ हामी कुनै कुरा जान्न चाहन्छौँ, सिप चाहान्छौँ भने ग्रिसेली दार्शनिक प्लेटोले अघिसारे जस्तै सर्वप्रथम प्रश्न गर्न सिकौँ । त्यो प्रश्नकै क्रमबाट ग्रिसेली साहित्य र ग्रिसेली दर्शनले सम्पन्नता हासिल गर्यो । हाम्रा उपनिषद्का मन्त्रद्रष्टा ऋषि र शिष्यहरूले प्रश्न र उत्तरकै क्रमबाट ज्ञान आर्जन गरे र आजपर्यन्त हामीले ज्ञानलाई अघि बढाउने मौका पाएका छौं । कृष्ण र अर्जुनको संवादबाट नै गीता जस्तो सारगर्भित कर्मयोग ज्ञानयोग र भक्तियोगको दर्शन हाम्रा अगाडि आयो । यी सबैको प्रकाशन हुनका लागि प्रश्न र उत्तरले महत्त्वपूर्ण काम गरेको हामीले देख्न सक्छौं । त्यसैले पनि उचित व्यक्तिसँग उचित प्रश्न गर्ने बानी बसालौँ र त्यसबाट आफ्नो ज्ञान सिपलाई बढाऔँ । यसरी हामीले प्रश्न र उत्तरलाई निरन्तरता दिन सक्छौं ।
हजुरहरुलाई कस्तो लाग्यो ? पढेर प्रतिक्रिया दिनुहोला है ।
ReplyDeleteप्रश्न जगतका यावत् ज्ञानको आधार र भण्डार हो भन्ने यथार्थलाई सोदाहरण राख्नुभएछ । सान्दर्भिक छ।
ReplyDelete