माधव घिमिरेको निबन्धकारिता
डा. खगेन्द्र घोडासैनी
(लेखसार : राष्ट्रकवि माधवप्रसाद घिमिरे नेपाली कविता, खण्डकाव्य, गीत, गीतिनाटक र निबन्ध विधामा महत्त्वपूर्ण योगदान दिने प्रतिभा हुन् । उनका दुई ओटा निबन्ध सङ्ग्रह प्रकाशित छन् । पद्यमा कविता लेख्ने घिमिरेका बारेमा धेरै लेखिएको पाइन्छ । उनको पद्य शैली नेपाली कविता र गीतको पर्यायसमेत बनेको देखिन्छ । यस्तो पद्य लेख्ने घिमिरेको गद्य भाषा पनि अन्त्यन्त सरल, सुबोध, प्रभावकारी र आकर्षक छ । यो लेख उनको ‘आफ्नो बाँसुरी आफ्नै गीत’ निबन्ध सङ्ग्रहको समीक्षा गर्नमा केन्द्रित छ । यसमा माधव घिमिरेको निबन्ध लेखन र त्यसमा पाइने जीवनवादी सकारात्मक सन्देश के कसरी समेटिएको छ भन्ने कुराको खोजी गरी त्यसको समीक्षात्मक अध्ययन गरिएको छ । यसमा माधव घिमिरे पद्य लेखनमा सिद्धहस्त भए झैँ उनको गद्य लेखन पनि त्यतिकै सिद्धहस्त र प्रभावकारी छ भन्ने निष्कर्ष निकालिएको छ ।) शब्दकुञ्जी : शैली, बिम्ब, निबन्ध, प्रकृति, मानवता ।
विषय परिचय
राष्ट्रकवि माधवप्रसाद घिमिरेको जन्म वि.सं. १९७६ असोज ७ गते लमजुङ जिल्लाको पुस्तुन गाउँमा भएको थियो । वि.सं. २०७७ भादौ २ गते मङ्गलबार साँझ ५ बजेर ५५ मिनेटमा १०१ वर्षको उमेरमा उनको निधन भयो । स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली भएका घिमिरे कुशल कवि, नाटककार र गीतकार हुन् । उनका नाटक पनि गीति शैलीका छन् । उनी बाल्यावस्थादेखि निरन्तर रुपमा नेपाली साहित्यका कविता, खण्डकाव्य, गीतिनाटक, कथा, अनुवाद लेख, प्रबन्धजस्ता अनेकौं विधा उपविधाहरुमा निरन्तर कलम चलाउँदै आएका बहुमुखी प्रतिभा हुन् । यी सबैबाट उनको कवि व्यक्तित्व मात्रै झल्किन्छ । माधव घिमिरेले कविता लेख्दा वर्ण मात्रिक, मात्रिक, लोक तथा गीति लयको मात्रै प्रयोग गरेका छन् । घिमिरेको कवि व्यक्तित्वको जति चर्चा छ निबन्धकार व्यक्तित्व त्यति नै ओझेलमा परेको देखिन्छ । उनलाई विशुद्ध कवि भनेर चिनाउने काम धेरै समीक्षकहरूले गरेका छन् । उनलाई कविता बाहेकका विषयमा कलम चलाएको देखेकै छैनन् (लुइटेल, २०६०, २४८–२४९) । उनलाई गीतिकथा, गीति नाटक र काव्य सिद्धान्तकार ठान्ने समीक्षकहरू पनि छन् (भट्टराई, २०५१, २६५–२७४) । नेपाली साहित्यमा माधव घिमिरेको नाम निबन्धकारको सूचीमा पनि छ (श्रेष्ठ, २०६१, १२८) । त्यसैले यस लेखमा ‘घिमिरे प्रभावकारी निबन्धकार हुन्’ भन्ने विषयलाई प्रमुख प्राक्कपल्ना बनाइएको छ । यो प्राक्कल्पना पुष्टि गर्न घिमिरेको ‘आफ्नो बाँसुरी आफ्नै गीत’ निबन्ध सङ्ग्रहको समीक्षा गरी त्यसका आधारमा उनको निबन्धकारिता पहिल्याउने प्रयास गरिएको छ । घिमिरेले आफ्ना निबन्धमा दर्शनको प्रयोग गरेका छन् । दर्शनविनाको मान्छे अपुरो हुन्छ । त्यो दर्शन चाहे अरुबाट प्रभाव लिएर होस्, परिभाषित होस् वा अपरिभाषित । दर्शन नभई मानिस कता जाने ? के गर्ने ? भन्ने कुरामै अलमलिन्छ । माधव घिमिरेका कविता होऊन् वा निबन्ध ; तिनमा विचारको स्पष्टता देख्न सकिन्छ । त्यो दर्शन वा विचार जीवनवादी छ । उनी कहिल्यै पलायनको पक्षमा बोल्दैनन्, लेख्दैनन्, पलायनतिर जान प्रेरणा दिँदैनन् । जीवनवादी बन्नु र त्यसका लागि सधैँ सङ्घर्ष गर्नु नै उनको जीवन दर्शन देखिन्छ, जुन आजका युवापुस्ताका लागि अनुकरणीय बन्न सक्छ । आजका युवा युवतीहरू पलायनतिर छन्, लक्ष्य निश्चित छैन, न त अभिभावकप्रति पूर्ण विश्वास छ, न कर्म गर्ने आँट छ । यो अवस्थालाई घिमिरेको जीवनवादी र कर्मवादी दर्शनले मलम लगाउन सक्ने देखिन्छ । घिमिरेको ‘आफ्नो बाँसुरी आफ्नै गीत’ निबन्ध सङ्ग्रहमा यिनै विचार व्यक्त गरिएको छ । घिमिरेको निबन्ध लेखनको पाटो समीक्षकहरूका नजरमा परेको देखिएन । त्यसैले उनको ‘निबन्धकारिता के कति प्रभावकारी छ’ भन्ने कुरालाई प्रमुख समस्या मानी प्रस्तुत लेख तयार पारिएको छ ।
अध्ययन विधि
यस अध्ययनमा निम्नानुसारको अध्ययन विधि अवलम्बन गरिएको छ :
अध्ययनको ढाँचा : यो गुणात्मक ढाँचाको अध्ययन हो । यसमा कृतिबाट प्राप्त तथ्यको विश्लेषण गरी निष्कर्षमा पुग्ने काम गरिएको छ ।
सहाभागी र नमुना छनोट : नेपाली निबन्धका फाँटमा अनेकौँ आत्मपरक निबन्धकारहरू छन् । ती सबै निबन्धकारहरूलाई प्रस्तुत लेखमा जनसङ्ख्याका रूपमा परिभाषित गरिएको छ । यसका लागि सम्भावना रहित नमुना छनोट पद्धति अन्तर्गतको उद्देश्यमूलक नमुना छनोट पद्धतिका आधारमा नेपालीका आत्मपरक निबन्धकारहरूमध्ये माधव घिमिरेको ‘आफ्नो बाँसुरी आफ्नै गीत’ शीर्षकको निबन्ध सङ्ग्रह छनोट गरिएको छ ।
तथ्य सङ्कलन : प्रस्तुत अध्ययनमा माधव घिमिरेलाई निबन्धकारका रुपमा चिनाउने कृति र त्यससँग सम्बन्धित विभिन्न कृति र लेखहरूलाई आधार बनाएर तथ्य सङ्कलन गरिएको छ ।
तथ्य सङ्कलनका साधन : यस अध्ययनमा प्राथमिक र द्वितीय स्रोतका विभिन्न प्रकाशित पुस्तक, पत्रिका र लेखजस्ता दस्तावेजको उपयोग गरिएको छ । त्यसैले यसमा प्रकाशित दस्तावेजमा प्राप्त तथ्यको विश्लेषण गरी निष्कर्ष निल्काने प्रयास गरिएको छ ।
तथ्य विश्लेषण प्रक्रिया : प्राप्त तथ्यको वर्णन, तुलना र विषयको गहनता, भावात्मकता र तार्किकतालाई हेरी कुनै निबन्धमा खोज विधि, कुनै निबन्धमा समीक्षात्मक विधि अपनाइएको छ । यसकारण प्रस्तुत लेखमा मिश्रित विधिबाट व्याख्या र विश्लषेण गरी निष्कर्ष निकालिएको छ ।
सैद्धान्तिक पर्याधार
माधव घिमिरेले गद्य भाषामा कविता लेखेको पाइँदैन । यो लेखकलाई राजेश्वरी खण्डकाव्यका श्लोकभन्दा त्यसको भूमिकाका वाक्यहरूले बढी आकर्षित गरेको अनुभव हुन्थ्यो । ती नमुनाहरू यस्ता छन् : “राजेश्वरीको जीवन जटिल भैकन पनि सरल, सरल भैकन पनि मार्मिक छ, संसारका सबै महान् व्यक्तिको जीवन यस्तै हुन्छ । ...त्यो लोकगीत सुन्दा मेरो मनमा लागेको एउटै कुरा यो हो– राजेश्वरीलाई हेलम्बुमै एकाकी जीवन बिताउन किन दिएनन् ? इतिहासबाट ती तीन दिन झिकिदिन पाए कस्तो हुन्थ्यो ! ...जीवन कर्मको निम्ति हो, प्रेमको निम्ति हो र आखिर जीवनकै निम्ति हो । ....जब राजेश्वरी कैलाशको शीतल छायाबाट ओर्लिएर वैशाखको टन्टलापुर घाममा बागमतीको चितातिर जान्छिन् अनि त्यो बेला कताकतातिर मेरो मनमा आजको मानवता पनि आफ्ना हाड–मासु आफैँले बोकेर निरीह भै ज्वालामुखीतिर बढिरहे जस्तो लाग्छ ।” यस्तै राजेश्वरी खण्डकाव्यका प्रत्येक छालअघि लेखिएको गद्यले पद्यलाई अझ बढी सिँगारेको छ । ‘चारुचर्चा’ र ‘आफ्नो बाँसुरी आफ्नै गीत’मा पाइने रचनाहरू उनका प्रतिनिधि गद्यका नमुना हुन् । उनको गद्यभाषा मार्मिक, हृदयस्पर्शी र प्रभावयुक्त देखिन्छ । कवि कविताका लागि भने गद्यभाषाप्रति त्यति सकारात्मक देखिँदैनन् । उनका विचारमा “कविताको व्याख्या गद्यमा खोल्नु बजाइ रहेको बाँसुरीलाई भुईँमा राखेर त्यसमा के बजाएको थियो भनेर मुखले व्याख्या गर्नु जस्तै हो” (घिमिरे, २०४९, २६) । यस्तै छन्द जुनसुकै विषयवस्तुलाई व्यक्त गर्न प्रयोग गर्नु हुँदैन, यो त साहित्य अभिव्यक्तिको माध्यम हो भन्ने उनको धारणा देखिन्छ । उनी भन्छन्– “अमरकोशमा छन्दलाई प्रयोग गर्नेहरू सरस्वतीलाई जाँतो पिँध्न लगाउँछन्” (घिमिरे, २०४९, २५) । “काव्यतत्त्व गद्यमा पनि रहन्छ तर कविता तत्त्व छन्दोमय कवितामा मात्र रहन्छ” (घिमिरे, २०४९, २६) भन्ने कुरामा उनी बढी विश्वस्त देखिन्छन् । यसका बाबजुद उनको गद्य लेखन कविता सरह देखिन्छ । त्यसैले उनको गद्य लेखन प्रखर छ । त्यो गद्य निबन्धमय बनेको छ । उनका हालसम्म ‘आफ्नो बाँसुरी आफ्नै गीत’ (२०४९) र चारु चर्चा (२०५८) जस्ता दुई ओटा निबन्ध सङ्ग्रह प्रकाशित छन् । ‘आफ्नो बाँसुरी आफ्नै गीत’ निबन्ध सङ्ग्रहको सर्वप्रथम प्रकाशन २०३० मा प्रकाशन भएको देखिन्छ । यसपछि २०५७ सालसम्मका निबन्धहरू चारु चर्चा (२०५८) मा सङ्कलित छन् । चारु चर्चा (२०५८) मा भाषा, सङ्गीत, कला, दर्शन, संस्कृति जस्ता विषयका निबन्धहरू सङ्कलित छन् । निबन्धकारले लेखेका विभिन्न कृतिका भूमिका, सम्पादकीय, अन्तर्वार्ता तथा साहित्यिक र शैक्षिक संस्था तथा सांस्कृतिक अवसरमा व्यक्त गरिएका मन्तव्यहरू पनि सङ्कलन गरिएको कुरा सङ्कलनकर्ताले यसको भूमिकामा उल्लेख गरेका छन् । यस बाहेक उनका २०५७ देखि यता लेखिएका निबन्ध पनि छन्, जुन यिनमा सङ्कलित छैनन् । उनका यी दुई ओटा निबन्ध सङ्ग्रहहरू पढ्दा निम्न लिखित प्रवृत्तिहरू देखिएका छन् :
आत्मपरकता उनका निबन्धको मुख्य प्रवृत्ति हो । उनका निबन्धमा तथ्य र तर्क गर्नु पर्दा धेरै जसो पूर्वीय साहित्य शास्त्र, वेद, रामायण, महाभारत, संस्कृत लौकिक र नेपाली लोक साहित्य तथा पाश्चात्य साहित्यकारका उदाहरण दिइएको पाइन्छ । प्रथम पुरुषको ‘हामी’ बहु वचनको प्रयोग गरिएको हुनाले केन्द्रिय दृष्टिविन्दु पाइन्छ । निबन्धकारले साहित्य, साहित्यकार, कवि, कविता, काव्य, आफ्नो देश, यहाँका भाषा, संस्कृतिप्रति अगाध श्रद्धा राखेका छन् । यसमा सकारात्मक चिन्तन, मानव मनको सर्वोपरि स्थान, प्रकृतिको महत्त्व देखाई त्यसको चित्रण गरिएका विचारभन्दा भावना, काल्पनिक सत्य र सरलतालाई जोड दिइएको देखिन्छ । निबन्धको भाषा गद्य भएपनि गद्य कविता पढे जस्तो शैली र शिल्पको प्रयोग, शब्द, बिम्ब र प्रतीक चयनको कौशल घिमिरेका निबन्धमा देखिन्छ । उनी नेपाली निबन्ध जगत्का भावात्मक र सरल गद्यका प्रयोक्ता हुन् । उनले सर्जक र तिनका सिर्जनालाई महत्त्व दिएका छन् । वेद, साहित्य, लोक साहित्य र विश्व साहित्यका राम्रापक्ष र तिनका सकारात्मक सन्देशहरू निबन्धमा सरल तरिकाले व्यक्त गर्दै मौलिक विचार दिने निबन्धकार हुन् ।
समग्रमा घिमिरेका निबन्धमा विषयवस्तु, भाषाशैली र विचारका दृष्टिले मौलिकता र सरलता पाइन्छ । निबन्ध पढ्दा पाठक अलमलमा पर्दैन, निबन्धले नै पाठकलाई खुरुखुरु तानेर लैजान्छन् । उनका निबन्धमा पाठकलाई आकर्षण गर्ने शक्ति वा प्रभाव रहेको औँल्याउन सकिन्छ । यसैलाई सैद्धान्तिक पर्याधार मानी घिमिरेको ‘आफ्नो बाँसुरी आफ्नै गीत’ निबन्ध सङ्ग्रहको समीक्षा गर्ने प्रयास गरिएको छ ।
छलफल र विश्लेषण
‘आफ्नो बाँसुरी आफ्नै गीत’ निबन्ध सङ्ग्रह सर्व प्रथम (२०३०) सालमा प्रकाशन भएको देखिन्छ । हालसम्म यसका चार ओटा संस्करण निस्केका छन् । यी सबै निबन्धहरू ‘इन्द्रेनी’ र ‘कविता’ पत्रिकामा सम्पादकीयका रूपमा प्रकाशित भएका थिए भन्ने निबन्धकारको आत्मस्वीकृति छ । यसमा जम्मा एघार ओटा निबन्धहरू सङ्कलित छन् । निबन्धहरू छोटा छन् । सबै निबन्धहरू जम्मा ६३ पृष्ठमा समेटिएका छन् । यी प्रत्येक निबन्धबारे अलगअलग शीर्षकमा समीक्षात्मक टिप्पणी तलका शीर्षकहरूमा क्रमैले गरिएको छ ।
शैली
साहित्यमा शैली शब्द चयनले गर्छ । व्याकरण र कोशकारका शब्द साझा हुन् । साहित्यकारले शब्दमा विशिष्टता ल्याउँछ । निबन्धकार भन्छन्– “सफल साहित्यकारले ठिक ठाउँमा प्रयोग गरेका शब्द र वाक्यहरू जुनेली रातमा टल्कने पात जस्तै, निर्मल पानीमा तैरने माछा जस्तै भावमा बहिरहेका हुन्छन् । ...साहित्यको समाधि बिलाउनको निम्ति हैन, पलाउनको निम्ति हो” (घिमिरे, २०४९, १) । यसरी शैलीको निर्माता साहित्यकार हो भन्ने धारणा उनको देखिन्छ । उनले “शैलीको भावविना मूर्त हुँदैन, भावविनाको शैली निर्जीव हुन्छ” (घिमिरे, २०४९, २) भनेका छन् । साहित्यमा केही कुरा कृत्रिम हुन्छन् तर त्यही कृत्रिमताले पाठकलाई आकर्षित गर्छ र त्यसले एउटा यथार्थको प्रकटीकरण गर्दछ । निबन्धकार भाव र शैली दुबैको समन्वय गर्ने पूर्वीय साहित्य समीक्षकहरूका देहवादी (अलङ्कार, रीति, औचित्य आदि) र आत्मवादी (रस, ध्वनि, गुण आदि) विचारको समन्वय चाहन्छन् भन्ने कुरा ‘शैली’ शीर्षकको निबन्धबाट बुझ्न सकिन्छ ।
साहित्यमा स्वदेशको ध्यान
यो निबन्ध साहित्यकारले आफ्नो देश र त्यहाँको संस्कृति अनुकूलको साहित्य लेख्नुपर्छ भन्ने विषयमा केन्द्रित छ । साहित्यकारले आफ्नो देश अनुकूलको साहित्य रचना गर्छ । स्वदेशका वस्तुको आफ्नै प्रतीक र बिम्ब निर्माण गरी नयाँ शैलीमा प्रस्तुत गर्नुपर्छ । यस्तो साहित्य नै वास्तवमा राष्ट्रका लागि उपयोगी हुन्छ भन्ने विचार निबन्धकारको देखिन्छ । खासगरी नेपाली साहित्यमा नेपालीपन, नेपाली माटो, यहाँको प्रकृति, वातावरण, चरा, पशु, किरा, हिमाल, संस्कृति जस्ता कुराहरू आउनुपर्छ भन्ने विषयलाई यस निबन्धमा स्पष्ट पारिएको छ । आफ्ना वरिपरि छरिएर रहेका वस्तुलाई टिपेर नयाँ प्रतीक बनाउने खुबी कविमा हुनुपर्छ । नेपाली लोक साहित्यमा यसको प्रयोग भएको छ । लेख्य साहित्यमा हामी आफ्ना वरिपरिका विषयवस्तु र संस्कृतिलाई छोडेर विदेशी लेखक वा अरु लेखकका अनुभवमा वस्तु जे जस्तो देखिन्छ र उनीहरूले संस्कृति, वातावरण र पशु, चरा आदिलाई जुन प्रतीकको अर्थमा लिए हामी पनि त्यसमै लाग्नुहुँदैन । हामी हाम्रो भोगाइअनुसार साहित्य लेखनमा लाग्नुपर्दछ । विशेष गरी स्वदेशी वस्तु, खाना, संस्कृति र वातावरणको चित्रण गरेर नयाँ प्रतीक बनाउन सक्नुपर्दछ । जसरी फुलको रसलाई मौरीले मह बनाएपछि मिठो हुन्छ त्यस्तै वस्तुको साहित्यमा प्रयोग भएपछि त्यसमा सुन्दरता झन थपिन्छ । त्यसैले देशका हरेक वस्तुलाई साहित्यमा प्रयोग गरी अझ सुन्दर बनाउनतिर लाग्नुपर्छ भन्ने कुरामा निबन्धकारको जोड देखिन्छ ।
साहित्य र विज्ञान
यस निबन्धमा साहित्य र विज्ञानका बारेमा प्राप्त धारणाहरूबिच तुलना गरिएको छ । यी दुबै मानवको बुद्धि र भावनाका उपज हुन् अनि यिनले जीवनलाई गति दिन मद्दत गरेका छन् भन्ने निष्कर्ष निकालिएको छ । वैज्ञानिक उन्नतिले साहित्यको महत्त्व घट्छ कि ? भन्ने प्रश्नको समाधान गर्दै निबन्धकार वैज्ञानिक युगमा पनि साहित्यकार र साहित्यको महत्त्व नघट्ने बताउँछन् । विज्ञानले प्रकृतिका हरेक पक्षलाई परिभाषित गर्यो, नजानेको विषयलाई समस्या मान्यो तर साहित्यले यसको विचित्रताबाट आनन्द लियो, यसको कौतुहल र विस्मयलाई सत्य ठान्यो । मानिसमा बुद्धि र भावना पछि विकसित भएका होइनन् । यी दुबै गुण र तिनको खोजले विज्ञान र साहित्य जन्मिएको हो । यीमध्ये कुनै एउटालाई हामी फाल्न सक्दैनौँ । वैज्ञानिक उपज आज आएर भएको होइन बरु पहिले यसको विकास थोरै भएको थियो, अहिले यसको विस्तार भयो । विज्ञानले प्रगति गर्नुमा पनि कलाको योगदान रहेको कुरामा निबन्धकारले जोड दिएका छन् । विज्ञानको उपजले विश्व बुझ्न मद्दत मिलेको छ । अबको साहित्य र कलाले विषयलाई संश्लेषण गर्छ भने विज्ञानले विश्लेषण गर्छ । कला साहित्यले नयाँ सृष्टि पनि गरेको छ तर त्यसरी कल्पना गर्न विज्ञानलाई छुट छैन । विज्ञानको चरम अनुभवले निरस बनाएपछि त्यही मान्छेलाई आनन्द दिने काम कला वा साहित्यले गर्छ । कलाबाट थाकेर विज्ञानमा मानिस आकर्षित हुँदैन । विज्ञानको सुख क्षणिक हुन्छ भनेका छन् । यसरी निबन्धकारले कला वा साहित्य र विज्ञानका बिच तुलना गरी जीवनमा ती दुबैको आवश्यकता रहेको कुरा औँल्याउने काम यस निबन्धमा गरेका छन् ।
साहित्यमा शब्दशिल्प
कोश र व्याकरणले दिने शब्दको अर्थभन्दा कवि वा साहित्यकारले साहित्यिक कृति मार्फत् दिने अर्थ र त्यसको अभिप्राय निकै फरक हुन्छ भन्ने कुरामा यो निबन्ध केन्द्रित रहेको छ । निबन्धकार भन्छन्, असल कविको काम भिन्न शैलीबाट शब्दको संयोजन गर्नु हो । समर्थ कविले एउटै शब्दबाट शैलीगत संयोजनका कारण फरकफरक अर्थ निकाल्न सक्छ । यस्तो प्रयोगले भाषा धनी बन्छ । आफ्नै भाषाका शब्दमा अर्थ विस्तार गर्न सक्नु नै कविको कुशलता हो । निबन्धकार अन्तरिक्ष यात्रीहरूले जे देखे त्यो वर्णन गर्न हामीसँग शब्द छैन भनेको उदाहरण दिँदै भन्छन् “त्यसको निम्ति कवि चाहिन्छ” (घिमिरे, २०४९, १५) किनकि कविले अरुले नदेखेको कुरा पनि शब्दद्वारा देखाउन सक्छ । त्यसैले सच्चा कविले आफ्नै भाषाका शब्दहरूबाट कविताको सिर्जना गर्छ । आफ्ना भाषाका शब्दको यस्तो प्रयोगबाट मात्रै भाषा समृद्ध हुन सक्छ । त्यसैले भाषाको संरक्षण, विकास र प्रयोग विस्तारमा कविको मुख्य भूमिका हुन्छ भन्ने कुरा यस निबन्धले व्यक्त गरेको छ ।
साहित्यको सत्य
साहित्यले पनि सत्य व्यक्त गर्न सक्छ तर त्यो कलात्मक हुन्छ, भावात्मक हुन्छ, सत्य भएर पनि कतिपय अवस्थामा असत्य अनि असत्य भएर पनि सत्यको भाव साहित्यले व्यक्त गर्छ भन्ने विषयमा यो निबन्ध केन्द्रित छ । साहित्यले दिने सत्य कल्याणयुक्त, भावात्मक र परिवर्तनशील हुन्छ भन्ने कुरालाई निबन्धकारले जोड दिएका छन् । आखिर साहित्यको सत्य के हो ? त भन्ने कुरामा निबन्धकार भन्छन्, साहित्यको सत्य आनन्द हो । यो जीवनका फरकफरक अवस्थामा सत्य एउटै हुँदैन । व्यक्तिपिच्छे सत्य र त्यसलाई हेर्ने, अनुभव गर्ने र आनन्द लिने काम भिन्न प्रकृतिको हुन्छ । साहित्यको सत्य अभिव्यक्तिको कला हो, जसमा पूर्णता हुन्छ भन्ने विचार निबन्धकारको देखिन्छ ।
अमर कवि
यो निबन्ध कविशिरोमणि लेखनाथ पौड्यालको काव्य साधना र तिनका काव्यगत विशेषता केलाउनमा केन्द्रित छ । लेखनाथ पौड्यालले संसार छोडेपछि यो निबन्ध लेखिएको देखिन्छ । पौड्याललाई आफ्नो पारामा छन्द नचाउने सिपालु कवि, नेपाली साहित्यमा बैँस ल्याउने तरुण, नैतिकता र आध्यात्मिक ज्योति फैल्याउने तपसीका रूपमा चिनाइएको छ । निबन्धकारले उनलाई नेपाली साहित्यका एकमात्र पहिला सच्चा कवि भनेका छन् । उनीपछिका अरु कविले पनि उनैबाट प्रेरणा पाएको हुनाले उनी कविशिरोमणि भएको निबन्धकारको मूल्याङ्कन छ । कविको भौतिक शरीर अब संसारमा नभए पनि उनका कृतिले उनी अमर छन् भन्ने विचार यस निबन्धमा पाइन्छ ।
कविता तत्त्व
यस निबन्धमा निबन्धकारले कविताका तत्त्वहरूलाई मौलिक उदाहरण दिएर सरल भाषामा चिनाउने काम गरेका छन् । उनका विचारमा शब्द, छन्द, शैली, विषय, उद्देश्य आदि कविताका तत्त्व हुन् । तर यी कुराहरूको परिचय दिँदा निबन्धकारले प्राकृतिक, स्वाभाविक, भावात्मक तरिकाले हाम्रो जीवन वरपरका विषयवस्तुलाई उदाहरण दिएर चिनाएका छन् । विषयवस्तुको संयोजन, वाक्यगठन, शब्दचयन र प्रस्तुतिको शैली हेर्दा यो निबन्ध नभई गद्य कविता पढे जस्तो अनुभूति पाठकलाई हुन्छ । केही वाक्यहरूलाई नमुनाका रूपमा अघि सार्न सकिन्छ । प्रेमका बारेमा कवि भन्छन्, “सुहागरातमा नवबधूका विरल बोलीमा प्रथम प्रीतिको संगीत बोल्छ । बिरानु देशमा विदेशी भाषा सुन्दासुन्दा विरक्त भएको मानिस आफ्नो भाषा सुन्न एकान्त कोठामा आफैँ बोल्छ” (घिमिरे, २०४९, २४) । यस्तै प्रतिभा र कवि सामर्थ्यका बारेमा कवि भन्छन्–
“शब्द नपाएका अनुभूतिहरू लाटा हुन्छन्, अनुभूति नपाएका शब्दहरू वैशाखी बाँसका सुसेली मात्र हुन्छन् । प्रत्येक हृदयमा एक अव्यक्त भाषा हुन्छ, त्यसलाई ब्युँझाउन सक्नुमा कविको सफलता छ । जहाँ साधारण वाणी पुग्दैनन् त्यहाँबाट पनि वाणीको आविष्कार गर्नु कविको शक्ति हो, त्यही नै प्रतिभा हो” (घिमिरे, २०४९, २४) ।
यसरी कविता, कवि र कवि प्रतिभालाई निबन्धकारले चिनाएका छन् । छन्दलाई स्वतन्त्र रूपमा कवितामा प्रयोग गर्दा कस्तो प्राकृतिक कुरा आउँछ भन्ने कुरालाई निबन्धकारले यसरी लेखेका छन्–
“पराइका घरमा काम गर्ने दासीका मनमा जुन छन्द छ त्यसमा बन्धन छ, त्यही दासी आफ्नो घर बसाएपछि जसरी काम गर्छे त्यस छन्दमा स्वतन्त्रता छ, त्यहाँ उत्साहको लय, जाँगरको सुर छ । मनमा जस्तो सुर बस्यो, जस्तो लय बस्यो, त्यही छन्द हो” (घिमिरे, २०४९, २५) ।
लेखकहरूले लेखेका विषयवस्तु केलाउँदै निबन्धकार लेख्छन्– “कहिले काहीँ यस्तो लाग्छ, संसारमा जे जति छ त्यो सब अरुले भनिसके त्यसलाई हामी खाली आफ्नै शैलीमा भन्छौँ (घिमिरे, २०४९, २६) । मानवको मनमा सम्बन्ध भएका वस्तुप्रति हुने मोहबारे निबन्धकार यसरी भन्छन्– “एक रात बास बसेर छोडेका ओडारलाई पनि हामी के बिर्सियौँ झैँ गरी हेर्छौँ” (घिमिरे, २०४९, २८) तर प्रेम नभएपछि यी सबै कुरा कसरी निरर्थक हुन्छन् त्यसको पनि सङ्केत निबन्धकार गर्छन्– “जब हृदयमा प्यार रित्तिन्छ, बाँच्नुको सार हराउँछ अनि हिमाल पनि हुँदैन, हिमालमुनिको छाया पनि हुँदैन ....यो केही नहुनु पनि कविका निम्ति केही हुनु हो” (घिमिरे, २०४९, २८) । जीवनको सौन्दर्य बाँच्नुमा छ । निबन्धकार भन्छन् कविता पूर्णतामा गएपछि हामीलाई त्यसले जीवनको प्रेरणा दिन्छ । “संसार जस्तो सुकै होस्, त्यसलाई हामी आफ्नो किसिमले सिर्जन्छौँ, यिनै अनित्य फुललाई हामी काव्य कलाको अमरावतीमा संचित गरेर राख्छौँ कामधेनु गाईलाई दुहे जस्तै” (घिमिरे, २०४९, २९–३०) । यसरी प्रकृति कविका निम्ति प्रेरणाको स्रोत भइरहन्छ । कवि सबै कुराको सिर्जना गर्न सक्छ । कविताले युद्धको अभिप्राय भएको ठाउँमा शान्ति अनि हिंसा भएको ठाउँमा बुद्धको करुणा ल्याउन सक्छ । यस्तो सामर्थ्य कविको कवितामा हुन्छ । कविताका तत्त्वहरूबाट जति चिनाए पनि कविता बुझिँदैन भन्ने निबन्धकारको धारणा देखिन्छ । उनी भन्छन्– “कुमारीको मनमा जुन प्रथम प्रीति हुन्छ, त्यो के हो ? स्वयं कुमारी नै भन्न सक्दिन, आफ्ना रूप र लावण्य, संकल्प र संगीत, मुस्कान र मधुरता, आत्मा र अभिप्रायमा त्यो व्याप्त हुन्छ” (घिमिरे, २०४९, ३०) । त्यसैले कविताका तत्त्वहरू ठोस, मूर्त वा तरल वस्तु नभई भाव र हृदयका कुरा हुन् भन्ने विचार निबन्धकारले यस निबन्ध मार्फत् दिएको देखिन्छ ।
काव्य र कविता
निबन्धकारले यस निबन्धमा काव्य र कविताको परिचय दिएका छन् । उनी भन्छन्, कविताले हामीमा विशेष प्रभाव छोड्छ, अनेक चिन्तनको सार दिन्छ अनि आफू रित्तो भएका बेला पनि जीवनमा आनन्दका मूल फुटाउँछ । कवितामा शुद्धभाव हुन्छ । अर्कातिर काव्यमा यस्तै कविता भएर पनि कथावस्तु र पात्रको व्यक्तित्व थपिन्छ । यो कथा र व्यक्तित्वलाई चिनाउने कला हो । काव्य लेख्न अनुभवले मात्रै सकिँदैन, जीवन नै त्यसका लागि लगाउनुपर्छ । यसरी सिर्जना गरेका कारणले नै रामायण र महाभारतका कथा र तिनका पात्रहरूले आजसम्म हामीलाई प्रभावित पार्दैछन् । त्यसैले कविता क्षणिक अनुभवको उजप हो भने काव्य दीर्घ साधना र अभ्यासका साथै कवि व्यक्तित्व र कल्पना शक्तिको उपज हो भन्ने विचार निबन्धकारको देखिन्छ ।
संगति, सामञ्जस्य र सहृदयता
यो निबन्ध जीवनमा संगति ल्याउने, त्यसमा सामञ्जस्य खोज्ने र सहृदयता भएको वस्तु केही छ भने त्यो साहित्य हो, कला हो भन्ने विषयमा केन्द्रित छ । यसमा संस्कृत साहित्य, उपनिषद्, वेद र रामायणका प्रसङ्ग र उदाहरणका आधारमा जीवनमा संगति र सामञ्जस्य खोज्ने र सहृदयता देखाउने काम गरिएको छ । निबन्धकारले जीवनका अलगअलग पाटाहरूलाई जीवन भनेका छैनन् । उनी सबै अनुभवलाई मिलाएर जीवन जिउनु पर्ने जीवनलाई पूर्ण जीवन ठान्दछन् । त्यसैले साहित्य, संगीत र कलाका माध्यमबाट जीवनमा संगति खोज्न सकिन्छ । कलाले इन्द्रियभन्दा परका कुराको पनि अनुभव गराउँछ, जुन दर्शनले सक्दैन । मानिसमा शील र भावनाको आवरण हुन्छ तर देवतामा दिव्यत्व मात्रै हुन्छ । संसारका सबै कुराबाट प्रेम सकिएपछि पनि मनुष्यले प्रकृतिबाट प्रेम पाउन सक्छ । त्यसैले प्रकृति निष्कपट, निष्पाप र सुन्दर छ, यही सौन्दर्यले मानिसलाई जीवनप्रति आशावादी बनाउँछ । साहित्यले विनाश होइन सिर्जना गरेर जीवनमा सामञ्जस्य खोज्छ । तर्क र विश्लेषणमा भावना हुँदैन । एउटा पुतली भत्कियो भने अर्को बनाउने बालक जस्तै साहित्यकार एउटा आशा मरेपछि प्रकृतिबाट अर्को आशा लिएर जीवनमा सामञ्जस्य खोज्छन् । साहित्यको अनुभव वैयक्तिक हुन्छ । एउटै नाटक हेरेर आएका दर्शकले फरकफरक अनुभव गर्छन् । यो वैयक्तिक भाव ‘स्व’ नै साहित्यको मूल हो । मानिस यही ‘स्व’बाट आफ्ना पितृहरूलाई ‘स्वधा’ भनेर पुकार्छ । यो ‘स्व’ अहं वा अस्तित्वले एक्लै हुँदा नरमाइलो मान्दा अर्काको खोजी गर्छ । यस तत्त्वलाई आनन्द भनिन्छ । यस्तो आनन्द गोपिनीले कृष्णमा खोजे । यस्तो आनन्द आफ्नो सुख गुमाएर अर्काको दुखमा सहयोग गर्नुमा पनि हुन्छ । निबन्धकार भन्छन्– “हामी मिठो फल खाएर तृप्त हुन्छौँ, यो तृप्तिले आत्मालाई पूर्ण गर्छ । हामी सबभन्दा मिठो फल आफ्ना सन्तानलाई दिन्छौँ अनि सन्तानको तृप्तिबाट जुन तृप्त हुन्छौँ त्यो आत्माको तृप्ति हो” (घिमिरे, २०४९, ४३) । अन्ततः मानिसले सुख, आनन्द र तृप्तिको अनुभव यही प्रकृतिका विषयको चित्रण गरिएको साहित्यमा पाउँछ । साहित्यले दिने यो आनन्द मानव भावनाबाट व्यक्त हुन्छ । यो नै सहृदयता हो । “सबै मानिस चारैतिरबाट मेलामा रमिता हेर्न आए जस्तै त्यसैलाई हेर्न आइरहेछन्, त्यो एकले अर्कालाई हेरेर देख्ने रमिता हो, यो सबैको प्रसन्नता हो” (घिमिरे, २०४९, ४६) । यो सहृदयता दिने काम साहित्यले गर्छ । यसरी निबन्धकारले जीवनमा संगति, सामञ्जस्य र सहृदयता ल्याएर आनन्द दिने काम साहित्यले गर्छ भन्ने विचार यस निबन्धमा व्यक्त गरेका छन् ।
कवि द्रष्टा हुन्छ
यस निबन्धमा निबन्धकारले कविलाई एउटा द्रष्टाको रूपमा चिनाउने काम गरेका छन् । उनी भन्छन्– “कविले विश्वलाई कविताको रूपमा देख्छन्” (घिमिरे, २०४९, ४७) । कवि तर्कद्वारा नभई हृदय र भावनाले सत्यको चिनारी गराउँछन् । निबन्धकार भन्छन् “केवल वर्णन कविता हैन, वस्तुलाई कविको आन्तरिक रङ्गले मुछ्नु कविको मनमा जस्तो लाग्छ त्यस्तै देख्नु कविता हो, यसरी देखिनु नै वस्तुको काव्यमय रूप हो” (घिमिरे, २०४९, ४७) । त्यसैले कविले विश्वलाई काव्यमय दृष्टिले हेर्छ । कुनै वस्तुलाई हेरेपछि पहिले भाव बन्छ, त्यसपछि त्यसले शब्दका माध्यमबाट कुनै स्वरूप प्राप्त गर्छ र कविता बन्छ । कविसँग कल्पना हुन्छ त्यसलाई कविताले विशाल बनाउँछ । वाल्मीकिको रामायण कल्पना र भावनाको उपज हो भन्ने निबन्धकारको धारणा देखिन्छ । निबन्धकारले यसको पुष्टिका लागि ग्रिसेली वीरहरूका कथा, मनु र सतरूपाको प्रेम प्रसङ्ग, दुष्यन्त र शकुन्तालको प्रेम, वाणासुरकी छोरी उषा र अनिरुद्धको प्रेम कथाका सन्दर्भहरूको उल्लेख गरेका छन् । हाम्रो अनुभव कस्तो हुन्छ भन्नेबारे निबन्धकार लेख्छन्– “स्वयं हामी नै पनि आफूलाई जस्तो लाग्छ त्यस्तै मात्र जान्दछौँ । हामी अज्ञात अनन्त भावका पुञ्ज मात्र हौँ, ती सब भाव झिकिदिने हो भने हामी केही पनि रहँदैनौँ । हामी नाटकका पात्र जस्तै अरुसँग प्रयुक्त हुन्छौँ । रावणसँग वीर र सुग्रिवसँग मित्र हुन्छौँ अनि यसका बिचमा हाम्रा मूलरूप रामको निर्माण हुन्छ । हामीभित्र अनन्त सम्भावना छन्, हामी जे पनि बन्न सक्छौँ तर हामी आफ्नो अन्तर्मनले जे बन्न खोज्छ त्यही बन्छौँ” (घिमिरे, २०४९, ५१) । कविको अनुभवले नयाँ नयाँ सत्य स्थापित गर्छ । उनीहरू अनुभव, धारणा र भावनाका कारण तरल हुन्छन् । धमिला भावनाका आवरण हटेपछि मानिस पवित्र भावनाले भरिन्छ, यो कार्य साहित्यको द्रष्टा कविले गर्छ भन्ने विचार निबन्धकारले राखेको पाइन्छ ।
कवि स्रष्टा हुन्छ
यस निबन्धमा निबन्धकारले कवि कविता मार्फत् नयाँ सन्देश, विचार र भावनाको सिर्जना गर्छ भनेका छन् । त्यसले पाठकको मन तृप्त पार्ने हुँदा कविलाई स्रष्टा भनी त्यसको पुष्टि गर्ने काम निबन्धकारले गरेका छन् । निबन्धकार भन्छन् भन्नै नसक्ने कुरा पनि कविले एकै पङ्तिमा भन्न सक्छ किनभने “कलाको तृतीय नेत्रले अर्कै रूप र अर्कै अभिप्राय देख्छ” (घिमिरे, २०४९, ५३) । कालिदासले शाकुन्तलमा र वाल्मीकिले रामायणमा यस्तै कलाको प्रयोग गरेका छन् । काव्यको भाषा र भाव भिन्नै हुन्छ । यसको अनुभूति निश्वार्थरूपले कला सिर्जनामा हुन्छ । निबन्धकार भमराले स्वार्थका लागि रस लिन्छ तर मौरीले त्यही रस लिएर महको सिर्जना गर्ने गरेको बताउँछन् । यस्तै कवि पनि सिर्जनाका लागि बाँच्छ, यसले सर्वसुन्दर मावनको सृष्टि गर्छ । यस निबन्धमा पनि निबन्धकारले वेद, उपनिषद्, रामायण, महाभारत र लौकिक साहित्य र लोक जीवनका विभिन्न कथा, घटना, प्रसङ्ग र वस्तुहरूको उदाहरण दिएर कविलाई सुन्दर भाव र भाषाको सिर्जना गर्ने स्रष्टाको रूपमा सिद्ध गर्ने प्रयास गरेका छन् । यस्तै अनेकौँ सम्राट्ले शोक गरे होलान् तर शाहजहाँको शोक ताज महलको सिर्जनामा देखियो । यो कलाले शोक कति थियो भन्ने मापन गर्छ । “शिल्पको कुनै पूर्व निश्चित नियम छैन, हामी आफ्नो सत्यलाई जुन पाराले प्रकट गर्छौँ त्यही नै शिल्प हो । एक सत्य जो भन्न हुँदैन तर नभनीकन पनि रहिँदैन” (घिमिरे, २०४९, ५६) । त्यसैले त “सखीको उपदेश एकान्त खोपीमा नवबधूलाई काम लाग्छन् भन्न सकिँदैन” (घिमिरे, २०४९, ५६) । यस कारण सत्य समय सापेक्ष हुन्छ र त्यो सिर्जनामा झल्किन्छ । सत्य कस्तो हुन्छ भन्दा निबन्धकार भन्छन्– “एक दिन त्यसै नरमाइलो लागेर भेटेको मानिस आजीवन संगी हुन सक्छ” (घिमिरे, २०४९, ५७) । कविताको कुनै मूल्य हुँदैन । यसबाट जति चाह्यो त्यति आनन्द लिन सकिन्छ । उत्कृष्ट कविता कृत्रिम हुँदैन । प्रत्येक सफल कविको आफ्नै बाटो हुन्छ । “कविले आफ्नो काव्यको निम्ति आफैँभित्र पालेका प्रत्येक व्यक्तित्वका विभूतिबाट आफ्नै महिमामय कृतित्वको सृष्टि गर्छ” (घिमिरे, २०४९, ६१) । कविले परिस्थिति अनुसार सिर्जना गर्छ । यिनै कारणले गर्दा कविलाई स्रष्टाको रूपमा लिनुपर्ने धारणा निबन्धकारले राखेको देखिन्छ ।
निष्कर्ष
राष्ट्रकवि माधव घिमिरे प्रखर कवि, गीतकार, गीतिनाटककार मात्रै होइनन् उनी कुशल आत्मपरक निबन्धकार पनि हुन् । उनको पद्य लेखन जस्तै गद्य लेखन पनि खँदिलो, स्वादिलो र प्रभावकारी छ । यो कुरा उनको ‘आफ्नो बाँसुरी आफ्नै गीत’ निबन्ध सङ्ग्रह पढ्दा पुष्टि हुन्छ । उनका निबन्धहरू विविध विषयका भए पनि ती सबैको उद्देश्य आनन्द प्राप्ति हो । उनले आफ्ना निबन्ध माफत् सकारात्मक सोच र जीवनवादी सन्देश दिएका छन् । ‘आफ्नो बाँसुरी’को तात्पर्य साहित्य लेखनको कच्चा पदार्थ हाम्रो आफ्नो देश र वातावरणको, हाम्रो भोगाइसँग सम्बन्धित हुनुपर्छ भन्ने देखिन्छ । ‘आफ्नै गीत’को तात्पर्य साहित्य लेखनको कच्चा पदार्थ आफ्नै देशको परिवेश अनुरूपको शैली अपनाउनुपर्दछ । भावना, माया र भोगाइ वस्तु अनुकूल हुनुपर्छ । यस्तो साहित्य मात्रै नेपाली साहित्य हुन सक्ने निबन्धकारको विचार देखिन्छ । विचार र विषयवस्तु जस्तै भाषाको प्रयोगमा पनि कवि वा सर्जक सचेत हुनुपर्छ । आफ्नो भाषाका शब्द छैनन्, बिम्व र प्रतीक छैनन् भने विदेशी लेखकले प्रयोग गरेका शब्द, बिम्व र प्रतीक प्रयोग गरेमा तिनले दिने प्रसिद्ध अर्थ र आफूले प्रयोग गरेको अर्थका बिच मेल हुँदैन । त्यसैले शब्द, बिम्व र प्रतीकको प्रयोग गर्दा आफैँले निर्माण गरेका, आफ्नो भाषाका र आफ्नो वरिवरिका विषयवस्तुलाई समेटेर नयाँ बिम्व र प्रतीक सिर्जना गर्न सक्नुमा नै कवि वा सर्जकका सिर्जनाले महत्त्व राख्छ । यस अर्थमा कवि स्रष्टा र द्रष्टा दुबै हुन्छ भन्ने विचार निबन्धकारले अघि सारेका छन् । उनका निबन्ध पूर्वीय दर्शन, चिन्तन, साहित्य तथा नेपाली लोक साहित्य, संस्कृति र भाषासँग सम्बन्धित विषयमा केन्द्रित छन् । यी निबन्ध मार्फत् उनले जीवनवादी सकारात्मक सदेश दिएका छन् । त्यसैले उनी कुशल गद्य भाषाका प्रयोगक्ता र नेपाली भाषाका प्रभावकारी निबन्धकार हुन् भन्ने निष्कर्ष निकालिएको छ ।
सन्दर्भ सामग्रीसूची
घिमिरे, माधव (२०४९). आफ्नो बाँसुरी आफ्नै गीत, काठमाडौँ : साझा प्रकाशन ।
घिमिरे, माधव (२०४९). राजेश्वरी पापिनी आमा सहित, काठमाडौँ : साझा प्रकाशन ।
घिमिरे, माधव (२०५८). चारु चर्चा, काठमाडौँ : साझा प्रकाशन ।
भट्टराई, घटराज (२०५१). प्रतिभै प्रतिभा र नेपाली साहित्य, काठमाडौँ : नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान ।
लुइटेल, खगेन्द्र प्रसाद (२०६०). कविता सिद्धान्त र नेपाली कविताको इतिहास, काठमाठौँ : नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान ।
श्रेष्ठ दयाराम र मोहन राज शर्मा (२०६१). नेपाली साहित्यको सङ्क्षिप्त इतिहास, काठमाडौँ : नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान ।
(नोट : यो लेख लेखकसंघ दाङद्वारा प्रकाशित प्रवाह राष्ट्रकवि माधव घिमिरे विशेषाङ्क २०७४ मा प्रकाशित भएको र सामान्य परिमार्जन गरी प्रकाशित गरिएको छ- लेखक)