शब्दकुञ्जी : बाल, बालबालिका, भाषाभूगोल, सुदूरपश्चिम, मुलामुली ।
विषय परिचय
संसारमा दश ओटा भाषा परिवारमध्ये प्रमुख पाँच ओटा भाषा परिवारका भाषा नेपालमा बोलिन्छन् । राष्ट्रिय जनगणना २०६८ ले नेपालमा बोलिने १२३ भाषाको सूची प्रस्तुत गरेको छ । त्यसैले नेपाल बहुभाषिक देश हो । यहाँको बहुभाषिक समाजमा भारोपेली भाषा परिवारका भाषा बोल्नेहरू बढी छन् । त्यसमा पनि नेपाली र राष्ट्रिय जनगणना २०६८ ले भाषा भनेका यसका भाषिकाका वक्ताहरूको सङ्ख्या बढी छ । नेपाली भाषा र यसका भाषिकाहरूमा पाइने बालबोधक ‘बाल’ र ‘बालिका’ शब्द तत्सम शब्द हुन् । मानक नेपाली भाषामा यिनको प्रयोग यही रूपमा हुन्छ । क्षेत्रीय वा भौगोलिक रूपमा भने यिनका अनेक भेद छन् । नेपाली भाषामा ‘बालबोधक’ शब्दावलीका अनेक पर्याय उपलब्ध छन् तर तिनको खोजी गरी व्यवस्थित तरिकाले अध्ययन अनुसन्धान भई प्रयोगमा ल्याएको पाइँदैन । केही भाषिकाका वक्ताहरूले सन्दर्भका रूपमा यिनको अध्ययन गरेका भए पनि समग्र नेपालको भौगोलिक अध्ययन गरिएको पाइँदैन ।
‘बाल’ शब्दले लिङ्गभेद बुझाउँदैन । 'बाल' शब्दमा 'क’ प्रत्यय लाग्दा पुलिङ्गी र बाला शब्दमा 'क+आ+इत्व' प्रत्यय लाग्दा स्त्रीलिङ्गी रूप 'बालिका' बन्न जान्छ । दुवै लिङ्गलाई बुझाउन बालक र बालिका शब्दको प्रयोग भएको पाइन्छ । यी दुई तत्सम स्रोतका शब्द हुन् । नेपाली बृहत् शब्दकोशमा‘ 'बाल'लाई १. ‘सानै उमेरको व्यक्ति ; केटाकेटी ; नानी ; बालक र २. उमेर नपुगेको वा कम उमेरको’ भनी चिनाइएको छ । यस्तै बालक शब्दलाई १. ‘केटाकेटी ; बच्चा, नानी, शिशु, २ छोरो, पुत्र’ भनी चिनाइएको छ । बालिका शब्दलाई १. ‘कलिलो उमेरकी स्त्री ; सानी केटी ; बच्ची । २. कुमारी ; कन्या ; पुत्री, छोरी’ भनेर चिनाइएको छ । यी शब्दका अर्थको अध्ययनबाट ‘बाल’ शब्दले ‘केटाकेटी’ दुवैलाई र बालक र बालिका शब्दले कम उमेरका साना केटाकेटीलाई जनाएको देखिन्छ । संस्कृत हिन्दी कोशमा 'बाल' शब्दको अर्थ बच्चा र शिशु उल्लेख छ । ‘बालक’ शब्दको अर्थ बालक जस्तो, सानो, अवयस्क र अन्जान उल्लेख छ भने ‘बालिका’ शब्दको अर्थ केटी उल्लेख छ । प्रज्ञा नेपाली अङ्ग्रेजी शब्दकोशअनुसार बालबालिका बुझाउन Children शब्दको प्रयोग गरिएको छ । यसमा बालकका लागि Boy, Youngester तथा बालिकाका लागि Girl, Daughter जस्ता शब्द उल्लेखित छन् ।
विभिन्न कोशले उल्लेख गरेअनुसार ‘बाल’ शब्दले सानो उमेरका सबै केटाकेटी भन्ने अर्थ बुझाएको देखिन्छ । कति उमेर पुगेकालाई ‘बालबालिका’ मान्ने भन्ने कुरा देश, विषय, क्षेत्र, परिवेश र कानुनी प्रक्रिया हो । नेपालको शिक्षाक्षेत्रमा विद्यालय शिक्षा प्राप्त गर्दै गरेकालाई सामान्यतया बालबालिका भन्ने गरिन्छ । वर्तमान समयमा विद्यालय संरचना १–१२ कक्षा भएकाले यो उत्तीर्ण गर्न १६ वर्ष लाग्छ । नागरिकता लिने हकमा १६ वर्ष र मताधिकारको उमेर १८ वर्ष तथा विवाहयोग्य उमेर २० वर्ष कायम गरिएको छ । त्यसैले २० वर्ष उमेर नपुगेका सबै केटाकेटीहरूलाई बालबालिका भन्नुपर्ने देखिन्छ । यसकारण जन्मदेखि २० वर्ष नपुगेका सबै उमेर समूहका बालबालिकाहरूलाई प्रस्तुत लेखमा ‘बाल’ शब्दबाट बुझाउन खोजिएको छ । यही ‘बाल’ शब्दसँग सम्बन्धित नेपालका विभिन्न क्षेत्रमा प्रयोग भएका शब्दहरूलाई सङ्कलन गरी तिनमा पाइने क्षेत्रगत विविधताका आधारमा वर्गीकरण गरेर अध्ययन गर्ने प्रयास गरिएको छ । ‘नेपाली भाषामा ‘बालबोधक’ शब्दावलीका अनेक पर्याय छन्’ भन्ने कुरालाई यस लेखमा प्रमुख प्राक्कल्पना मानिएको छ । यसमा ‘बालबोधक’ शब्दावलीलाई शीर्ष वा प्रमुख मानेर तिनलाई बुझाउने अरू शब्द ठाउँअनुसार के कति फरक छन् ? भन्ने कुराको खोजी गरेर भौगोलिक रूपमा मानचित्रमा देखाएर विश्लेषण गर्ने कार्य नेपाली भाषामा भएको पाइँदैन । त्यसैले तिनको खोजी गर्नु प्रस्तुत लेखको प्रमुख उद्देश्य हो । यो उद्देश्य पूरा गर्न ‘नेपाली भाषामा ‘बालबोधक’ शब्दावलीका के कस्ता क्षेत्रीय भेद छन्’ भन्ने कुरालाई प्रमुख समस्या मानी प्रस्तुत लेख तयार पारिएको छ । यसबाट नेपाली भाषामा प्रयोग हुने विभिन्न भौगोलिक भेद पहिल्याउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
अध्ययन विधि
यस अध्ययनमा निम्नानुसारको अध्ययन विधि अवलम्बन गरिएको छ :
अनुसन्धानको ढाँचा : यो गुणात्मक ढाँचाको अध्ययन हो । यसमा कृति, अवलोकन तथा सोधनीबाट प्राप्त तथ्यकोे विश्लेषण गरी निष्कर्षमा पुग्ने काम गरिएको छ ।
सहभागी र नमुना छनोट : प्रस्तुत अध्ययनमा नेपाली भाषाका क्षेत्रीय भेद र तिनका विभिन्न विशेषतासँग सम्बन्धित पक्षलाई सम्पूर्ण सहभागी मानी सोद्देश्यमूलक नमुना छनोट पद्धतिका आधारमा ‘बाल’ बुझाउने नेपाली भाषाका क्षेत्रीय शब्दहरू चयन गरिएको छ ।
तथ्य सङ्कलन : प्रस्तुत अध्ययनमा ‘बाल’ बुझाउने नेपाली भाषाका क्षेत्रीय भेदसँग सम्बन्धित शब्दावलीको कृतिमा प्राप्त तथ्य, सूक्ष्म अवलोकन र सोधनीका आधारमा तथ्य सङ्कलन गरिएको छ ।
तथ्य सङ्कलनका साधन : यस अध्ययनमा प्राथमिक स्रोतका रूपमा क्षेत्रीय भाषिकाका वक्ताहरूसँग सोधनी तथा अवलोकन विधिको उपयोग गरिएको छ । सोधनीका लागि सामाजिक सञ्जाल फेसबुकमा जोडिएका साथीहरूसँग सम्बन्धित जिल्ला र पालिकाको नाम उल्लेख गरी ‘बालबालिका वा छोराछोरी’ बुझाउने शब्द उल्लेख गरिदिन अनुरोध गरेर प्राप्त गरिएको छ । द्वितीय स्रोतका लागि विभिन्न प्रकाशित पुस्तक, पत्रिका र लेखको उपयोग गरिएको छ । त्यसैले यसमा सोधनी, अवलोकन र प्रकाशित दस्तावेजमा प्राप्त तथ्यको विश्लेषण गरी निष्कर्ष निकाल्ने प्रयास गरिएको छ ।
तथ्य विश्लेषण प्रक्रिया : प्राप्त तथ्यको वर्णन, तुलना र त्यसको पुष्टिका लागि उदाहरण र मानचित्रावलीसमेत दिई विश्लेषण गरेर निष्कर्षमा पुग्ने काम गरिएको छ । सोधनी, अवलोकन, उदाहरण र प्रयोगबाट निष्कर्ष निकाल्ने प्रयास गरिएको यस लेखमा आगमन विधिबाट विश्लेषण गरी निष्कर्ष निकालिएको छ ।
सैद्धान्तिक पर्याधार
भौगोलिक भाषामा विविधता हुन्छ । विविधता कुनै निश्चित समयमा निश्चित क्षेत्रमा देखिन्छ । यस्तो भाषिक भिन्नता र भाषिक अन्तरसम्बन्धको अध्ययन भाषिक भूगोल हो । यसले क्षेत्रगत भाषिक विशेषता पहिचान गरी भाषिक क्षेत्रको समभाषिक रेखा वा सीमा तयार पार्दछ । भाषिक भूगोलका दृष्टिले भाषाका विभिन्न एकाइहरूको अध्ययन गर्न सकिन्छ । यसमा ध्वनि, रूप, वर्ण, शब्द, वाक्य, अर्थ आदिको अध्ययन गरी दुई भाषिक क्षेत्रका बिचको अन्तर पहिल्याउने गरिन्छ । यस्तो अध्ययन तुलनात्मक हुने भएकाले यसबाट दुई क्षेत्रका भाषिक पक्षका बिचको भिन्नता र समानता पहिल्याउन पनि मद्दत मिल्छ । भाषिक अध्ययनका मुख्य तीन रूप हुन्छन्, (क) कोशीय रूप, (ख) सुव्यवस्थित वर्णन÷व्याकरण र (ग) वितरणको मानचित्र (ब्लुमफिल्ड, सन् १९३३, १३४) । वितरणको मानचित्र भाषिक भूगोलसँग सम्बन्धित छ । कुनै विशेष भौगोलिक क्षेत्रमा कुनै भाषाको अवस्था कस्तो छ अथवा कुनै शब्दावलीको विभिन्न भाषिक भूगोलमा कसरी प्रयोग भइरहेको छ अथवा कुनै एउटा शब्दको विभिन्न भाषिक भूगोलमा के कस्ता अर्थमा प्रयोग भएको पाइन्छ भन्ने कुरासँग सम्बन्धित अध्ययनलाई भाषिक भूगोल भनिन्छ । भाषिका विज्ञानले भौगोलिक भाषिकाको वर्णनात्मक, तुलनात्मक र ऐतिहासिक पद्धतिका आधारमा भाषिकाका वर्ण, रूप, वाक्य र शब्दतत्त्वको अध्ययन गर्दछ (निरौला, २०७७, ९१) ।
भौगोलिक भाषिकाको अध्ययन गर्दा आफूले समस्या देखेको भाषिक एकाइलाई आधार बनाएर प्रश्नावली तयार पारिन्छ । त्यसरी तयार पारिएको प्रश्नावलीको प्रयोग सम्बन्धित भाषिक वक्ताकहाँ पुगेर वा प्रश्नावली पठाएर सङ्कलन र रुजु गरी तिनको विभिन्न आधारमा तुलना र वर्णन गरिन्छ । यसरी तयार पारिएका भाषिक एकाइलाई मानचित्रमा राखेर तिनका समानता र भिन्नता पहिल्याउने काम गरिन्छ । अन्तमा क्षेत्रगत भाषिक भिन्नताका आधारमा भाषिक भेद निर्धारण गरिन्छ । भाषिक भूगोललाई आधार बनाएर मानचित्र तयार गर्ने काम नौलो होइन । पूर्व र पश्चिमका साहित्यमा पनि भाषिक भूगोलको वर्णन पाइन्छ । मानचित्रका आधारमा भाषिक भूगोलको अध्ययन गर्ने क्रममा सबैभन्दा बढी शब्दावलीको अध्ययन भएको पाइन्छ । शब्द भूगोलको विस्तृत अध्ययन गर्ने काम भाटिया (सन् १९७३) र शुक्ला (सन् १९७३) ले गरेका छन् । नेपाली भाषामा केही मात्रामा मानचित्र तयार पार्ने कार्य निरौला (२०७२) बाट भएको देखिन्छ । भाषिक मानचित्रावली निर्माण गर्दा सबैभन्दा पहिला सम्बन्धित क्षेत्रको भाषिक सर्वेक्षण गर्नुपर्दछ । यसरी भाषिक सर्वेक्षण गर्दा उक्त भूगोलको भौगोलिक, राजनैतिक, सांस्कृतिक र सामाजिक स्थितिका बारेमा पर्याप्त जानकारी लिनुपर्दछ । भाषिक सर्वेक्षण गर्दा पहिले भएका सर्वेक्षणलाई आधार बनाएर अघि बढ्ने वा सुरुदेखि सर्वेक्षण गर्ने हो त्यसको निक्र्योल गर्नुपर्दछ (भाटिया, सन् १९७३, १०६) । बालबोधक शब्दावलीको सर्वेक्षण यसअघि यस पङ्तिकारले गरेको भाषिक अध्ययनलाई समेत आधार बनाई त्यसको पुनः रुजु गर्ने प्रयोजनका लागि सर्वेक्षणसमेत गरेर आफ्नो पूर्वधारणामा परिमार्जन गरिएको छ । भाषिक तथ्यलाई मानचित्रमा प्रस्तुत गर्दा भाषिक सूचना दिने वा चिह्न दिएर तल स्पष्टीकरण दिने गरी दुई तरिका अपनाइएका पाइन्छन् । भाषिक तथ्य दिँदा ध्वनि, शब्द, रूप आदिमध्ये कुन कुरालाई सङ्केत गर्न खोजिएको हो भन्ने दृष्टिले मानचित्र मुख्य तीन प्रकारका उल्लेख गरिएका छन् (भाटिया, सन् १९७३, १११–१३) । (क) ध्वन्यात्मक मानचित्र, (ख) शब्दपरक मानचित्र र (ग) रूपप्रक्रियात्मक मानचित्र । प्रस्तुत अध्ययनमा बालबोधक शब्दलाई शीर्ष मानिएकाले सुरुका दुईको मिश्रित प्रयोग गरिएको छ । यही भाषिक भूगोललाई सैद्धान्तिक आधार मानेर यस लेखमा रूप र शब्द भूगोलका आधारमा भाषिक भेद पहिल्याउने कोसिस गरिएको छ । त्यसका लागि ‘बाल’ एउटामात्र शब्द चयन गरिएको छ ।
छलफल र विश्लेषण
सर्वप्रथम 'बाल'बोधक शब्दको भौगोलिक वितरणको अवस्थालाई देखाइएको छ । क्षेत्रीय भाषिक शब्दावलीको वर्गीकरण गर्दा क्रमशः सुदूरपश्चिम प्रदेशका जिल्लाहरूबाट आरम्भ गरिएको छ । त्यसपछि क्रमशः पूर्वतर्फका प्रदेशका जिल्लामा पाइने शब्दावली समावेश गर्ने प्रयास गरिएको छ । यसरी वर्गीकृत गरिएका बालबोधक शब्दको वर्णन, मानचित्रमा प्रस्तुति र विश्लेषण तलका शीर्षकहरूमा गरिएको छ ।
बालबोधक शब्दको भौगोलिक वितरण
नेपाली भाषामा पाइने बालबोधक शब्दावलीको जिल्लागत आधारमा पाइने भिन्नतालाई स्पष्ट पार्नका लागि त्यसलाई निम्नलिखित तरिकाले गरिएको छ :
क्रसं. जिल्ला बालबोधक शब्दको स्थिति
१ दार्चुला चेला–चेली, गेदा–मेदा (दक्षिण पूर्वी दार्चुला), मुले–मुली, मुले–मुलाई (पुर्चौडी), मुल्यान, नान–तिना, गेदा–नन्तिना (लेकम), नन्दिना–मन्दिना-नन्दिनी (तल्लो सोराड), आफ्खाइरने–परघरी ।
२ बैतडी गेदा–मेदा, गेदा–गेदी (उत्तर पश्चिम), चेला–चेली (पुर्चौडी), मुले–मुली वा मुले–मुलाई, घ्याउरा–घ्याउरी र च्या–चेली (पाटन), नन्दिना–नन्दिनी, अप्खाइरन्या–परघरि ।
३ डँडेलधुरा गेदा–मेदा (उत्तरतिर), चेला–चेली (दक्षिण पूर्वतिर), मुला–मुली ।
४ डोटी जात्का–जात्की, चेला–चेली, मुला–मुली, छोर्याट्टा–छोर्याट्टी ।
५ बझाङ-बाजुरा चेला–चेली, मुला–मुली, छोर्याट्टा–छोर्याट्टी ।
६ अछाम छोर्याट्टा–छोर्याट्टी, गान्टा–गान्टी (पश्चिमी भेक), गाना–गानी (कुन्तीबण्डाली), फुचना–फाचनी (जयगढ), फलेउटा–फलेउटी (पूर्वी भेक), मुला–मुली वा मुल्या–मुल्याई, लाटा–लाटी
(मायाको अर्थमा) ।
७ मुगु-हुम्ला-डोल्पा गेल–मेल, मुला–मुली,
८ जुम्ला-कालिकोट ट्वाटुका–ट्वाटुकी, टोक्या–टोक्यानी, मुला–मुली ।
९ दैलेख फल्यौटा–फल्यौटी (पश्चिम दैलेखमात्रै) टोकरा–टोकरी वा टोका–टोकी (महाबु), ट्वाटोका–ट्वाटोकी (दुल्लु), मुला–मुली (गाली अर्थमा), जायन– जायनी, लाउरा–लाउरी (सिगाउडी) ।
१० जजरकोट ट्वाटोका–ट्वाटोकी, लखे–लखेनी, छा–छोरी (छेलागाड), जा–जम्र्या, छोट्या–छोट्टी (बाल अर्थमा कतैकतै मात्रै, नभए युवा–युवती), जायन–जायनी ।
११ सुर्खेत टोके–टोकेनी (चिनगाड), जायन–जायनी (पूर्वी सुर्खेत), मुला–मुली, चेला–चेली (पश्चिम सुर्खेत)
भेरी क्षेत्रीय लख्यालखी (जाजरकोट र सुर्खेतको भेक भेरी क्षेत्रीयमा पर्दछ ।
१२ रुकुम-रोल्पा लख्या–लखेनी-लखी, जाइन–जाइनी ।
१३ सल्यान-दाङ लख्या–लखेनी, जाइन–जाइनी, टोके–टोकेनी (दाङको पश्चिमी भेक)
१४ राप्तीदेखि पूर्व भन्टाङ–भुन्टुङ (धवलागिरी ।
१५ काठमाडौँ वरिवरि भुरा–भुरी, भन्टाङ–भुन्टुङ, भुन्टे–भुन्टी ।
१६ काठमाडौँदेखि पूर्व भुरा–भुरी ।
१७ प्रायःसबैतिर छोरा–छोरी, केटा–केटी-केट–केटी-केरा–केटी÷केटाटि, नानी–बाबु, बच्चा–बच्ची, फुच्चा–फुच्ची, भुन्टा–भान्टी, लाला–बाला ।
१८ उभय लिङ्गी बालबच्चा, बालख, सन्तान, जाइनहरू ।
बालबोधक शब्दको वर्णन
माथिको तालिकामा प्रस्तुत गरिएका नेपाली भाषाका विभिन्न बालबोधक शब्दावलीको तलका विभिन्न प्रशीर्षकमा वर्णन गरिएको छ :
(क) मुला–मुली : यस शब्दका पनि भिन्नभिन्न उच्चार्य रूपहरू फेला परेका छन् । यो मूलबाट बनेको शब्द हो । यसको अर्थ हो जसका आमाबाबु अहिले संसारमा छैनन् अर्थात् जो अनाथ छ । आमाबाबु नभएपछि अरूले त्यस्ता बालबालिकालाई सम्बोधन गर्न थालेर यस शब्दको विकाश भएको देखिन्छ । यसै कारण अछामको पूर्वीभेक र दैलेखतिर अझै पनि गाली अर्थमा यसको प्रयोग भएको देखिन्छ । यो शब्द सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा प्रयोग हुँदै आएको छ । यसका मुल्या मुल्याई, मुला–मुली जस्ता भिन्न रूप फेला पर्दछन् ।
(ख) चेला–चेली : यो शिष्य र शिष्याको अर्थमा सन्तानलाई पनि सम्बोधन गरिएको शब्द हो । एक अर्थमा सन्तानहरू आमाबाबुका चेला–चेली पनि हुन्छन् । यस शब्दले पनि सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा आफ्नो स्थान सुरक्षित राखेको पाइन्छ ।
(ग) छोर्याट्टा–छोर्याट्टी : यो शब्द डोटी र अछामको पश्चिमी भेकमा बाल अर्थमा प्रयोग भएको पाइन्छ । अछामको पूर्वी भेकदेखि यता युवायुवती वा जोडी अर्थ बुझाउँछ । छोराछोरी एउटै आमाबाबुका दुई सन्तान हुन् भने छोर्याट्टा–छोर्याट्टी छोराबुहारी पनि हुन सक्छन् तर कुनै स्थान विशेषमा विशेष सन्दर्भमा यी शब्दबाट सन्तान अर्थ बुझाएको देखिन्छ ।
(घ) फल्यौटा–फल्यौटी : यो शब्द काठको ‘फक्ल्याँटो’ वा चिरोबाट विकसित भएको देखिन्छ । यसको अर्थ साना बच्चाहरू हुन्छ । आफ्नो मूलसँग भर्खर छुट्टिएको, सानो अर्थमा यो शब्द प्रयोग भएको देखिन्छ । यसको प्रयोगक्षेत्र अछामको पूर्वी भेक र दैलेखको पश्चिमी भेक रहेको देखिन्छ ।
(ङ) गेदा–मेदा वा गेदा–गेदी वा गेदा–नन्दिता : यी शब्द दार्चुला, डँडेलधुरा, बैतडी र बझाङ जिल्लामा प्रयोग भएका पाइन्छन् । यिनका पुलिङ्गी शब्दका बिचमा समानता देखिन्छ तर स्त्रीलिङ्गी शब्दहरू विपरीतार्थी शब्द झैँ भिन्न भिन्न रूप प्रयोगमा आएका देखिन्छन् । यस दृष्टिले स्त्रीलिङ्गी शब्दको चयनमा विविधता देखिन्छ ।
(च) ट्वाटुका–ट्वाटुकी : यस शब्दको विकाशका विभिन्न चरण देखिन्छन् । ट्वाटुका ट्वाटुकी -टोक्या टोक्यानी -टोकरा टोकरी वा टोका टोकी - टोके टोकेनी । यो शब्द जुम्ला र कालिकोट हुँदै दैलेख र जाजरकोट एवम् सुर्खेतको पूर्वी भेक वा भेरी हुँदै सल्यान र दाङको पश्चिम क्षेत्रसम्म आउँदा विभिन्न रूप फेरिएर आएको छ । यसरी आउँदा भिन्नभिन्न उच्चारण भएको देखिन्छ तर यी सबैको मूलरूप यही हो भन्ने आधार फेला परेको छैन । विश्लेषणगत सरलताका लागि र सामान्यीकरण गर्न यहाँ यो एउटा शब्द चयन गरेर अरूलाई पछाडि राख्ने काम गरिएको छ ।
(छ) जाइन–जाइनी : यो शब्द दैलेख, जाजरकोट, सुर्खेतको पूर्वी भेक, सल्यान, रुकुम, रोल्पा र दाङको पश्चिमी भेकमा प्रयोग भएको देखिन्छ । यसको मूल र उत्पत्तिको पर्याप्त आधारबारे थप खोजी गर्नुपर्ने देखिन्छ । ‘जेई’बाट जन्मिएको भन्ने तात्पर्यमा जाइन भई सन्तानको अर्थ बुझाएको हुनसक्ने देखिन्छ ।
(ज) भन्टाङ–भुन्टुङ : भन्टाङको अर्थ पनि साना वा बढ्न नसकेका भन्ने नै हुन्छ । भन्टाङ–भुन्टुङ वा भुन्टे–भुन्टी शब्द एउटैका दुई उच्चार्य रूप हुन् । काठमाडौँदेखि पश्चिम गण्डकी र लुम्बिनी प्रदेशमा यी शब्द प्रयोग भएका देखिन्छन् ।
(ज) भुरा–भुरी : भुरा शब्दले माछाका बच्चालाई बुझाउँछ । यसको अर्थ पनि साना बच्चा भन्ने हुन्छ । यही भुरा शब्दमा ‘ई’ प्रत्यय लागेर भुरी शब्द बनेर स्त्रीलिङ्गी रूप बनेको छ । यसरी माछा बुझाउने शब्द कालान्तरमा मानववाची हुन पुगेको देखिन्छ । यो शब्द काठमाडौँ वरपर र पूर्वी नेपालका विभिन्न ठाउँमा प्रयोग भएको पाइन्छ ।
(झ) प्राय सबैतिर केही फरक उच्चारण देखिने शब्दहरू : छोरा–छोरी, केटा–केटी-केट–केटी-केरा–केटी-केटाटि, नानी–बाबु, बच्चा–बच्ची, फुच्चा–फुच्ची, भुन्टा–भान्टी, लाला–बाला आदि रहेका छन् । यी सबैको कुनै एक ठाउँ वा क्षेत्रमा प्रयोग नभई विभिन्न ठाउँमा प्रयोग भएका पाइन्छन् ।
(ञ) उभय लिङ्गी शब्दहरू : बालबच्चा, सन्तान, जाइनहरू आदि शब्दहरू उभयलिङ्गी हुन् । जाइनमा वचनबोधक प्रत्यय ‘हरू’ नलाग्दा पुलिङ्ग बुझाउँछ भने ‘ई’ प्रत्यय लाग्दा स्त्रीलिङ्ग बुझाउँछ तर वचनबोधक प्रत्ययले उभय लिङ्ग बुझाएको देखिन्छ ।
(ट) सामाजिक भाषिका : यीबाहेक केही सामाजिक भाषिकाका शब्द पनि छन्, जस्तै– रौतेला रौतेली, पैकेलो पैकैली । यी शब्द खासगरी सुदूर र कर्णाली प्रदेशमा प्रचलित भारत (लोकगाथा) का राजकुमार र राजकुमारी पात्रका लागि प्रचलित छन् । यिनले एकातिर युवा अवस्थाका व्यक्तिलाई बुझाएका देखिन्छन् भने अर्कातिर निश्चित समुदायले प्रयोग गर्ने भाषिक समाजमा प्रचलित भएकाले सामाजिक भाषिकाको प्रतिनिधित्व गर्ने शब्द हुन् । यस्तै केही व्यक्तिहरूले आफ्ना सन्तानलाई बुझाउन फरकफरक नामले सम्बोधन गर्न सक्छन् । यस्ता शब्दको सङ्ख्या असीमित हुन्छ । कुनै पनि प्राणी वा तिनका बच्चाबच्चीलाई प्रयोग गरिने शब्दलाई सन्तानका अर्थमा पनि प्रयोग गर्न सक्छन् । त्यसरी प्रयोगमा आउने शब्दलाई क्षेत्रीय भाषिकाभित्र नराखी व्यक्ति बोलीभित्र समेट्नुपर्ने देखिन्छ ।
बालबोधक शब्दको मानचित्र
भाषाको क्षेत्रीय भेदलाई भाषिका भनिन्छ । क्षेत्रीय भाषिकाका शब्दहरूलाई सम्बन्धित भूगोलकै स्तरमा गएर बुझ्नका लागि त्यहाँको मानचित्र तयार पारी ती शब्द प्रयोग हुने ठाउँको सङ्केत गर्नुपर्ने हुन्छ । त्यसका लागि नयाँ प्रकृतिका चित्र तयार गर्नुपर्ने हुन्छ । यसरी चित्र तयार गर्न भूगोलको ज्ञान पनि हुनुपर्दछ । भूगोलको ज्ञानबिनाको क्षेत्रीय अध्ययन सम्भव हुँदैन । त्यसैले आफैँ चित्र तयार नगरी ‘म्याप अफ नेपाल’बाट चित्रहरू साभार गरी तिनमा भाषाको प्रयोग हुने स्थानको सङ्केत गर्ने काम गरिएको छ, जसलाई मानचित्रावलीमा निम्नानुसार तरिकाले प्रस्तुत गरिएको छ : नेपालको सुदूरपश्चिम र कर्णाली प्रदेशका दार्चुला, बैतडी, डँडेलधुरा, डोटी, अछाम, बझाङ, बाजुरा, मुगु, कालिकोट, जुम्ला र दैलेख जिल्लामा मुला–मुली शब्दको प्रयोग भएको देखिन्छ । यस अध्ययनमा हुम्ला र डोल्पा जिल्लाका भाषिक सूचकबाट पर्याप्त तथ्याङ्क पाउन सकिएन । दैलेखदेखि पूर्वतिर जाँदा मुली शब्द सकिएर मुलामात्रै बाँकी रहेको छ र यसको अर्थ काम नलाग्ने, सानो, पाजी भनी गाली गर्दाको सन्दर्भमा मात्रै सीमित रहेको पाइन्छ ।
नेपालको सुदूरपश्चिम प्रदेशका दार्चुला, बैतडी, डँडेलधुरा, डोटी, अछाम, बझाङ, बाजुरा, र र कर्णाली प्रदेशका कालिकोट, जुम्ला र दैलेख जिल्लामा चेला–चेली शब्दको प्रयोग भएको देखिन्छ ।
यो शब्द सुदूरपश्चिम प्रदेशका दार्चुला, डँडेलधुरा, बैतडी र बझाङ जिल्लामा प्रयोग भएको देखिन्छ ।
नेपालको सुदूरपश्चिम प्रदेशका डोटी, अछाम, बझाङ, र बाजुरा जिल्ला अर्थात् सेती नदीको छेउछाउतिर यस शब्दको प्रयोग भएको देखिन्छ । अछामको पश्चिमी भेकमा यसले बालबालिका बुझाउँछ तर पूर्वतिर युवायुवती बुझाउन थालिसकेको देखिन्छ । यसै शब्दलाई लिएर नेपालीमा ‘छोट्टी बस्नु’ टुक्काको निर्माण भएको देखिन्छ । अघिपछि केटी वा युवतीलाई छोट्टी भनिएको पनि पाइन्छ ।
फल्यौटा फल्यौटी शब्द अछामको पूर्वी भेक, दैलेखको पश्चिमी भेक र सुर्खेतको पश्चिमी भेकमा प्रयोग हुने गरेको पाइन्छ । यीबाहेक अरू कहीँ कतैबाट प्रयोग भएको सूचना नआएकाले यस शब्दले व्यापकता नलिएको देखिन्छ ।ट्वाटुका ट्वाटुकी-टोक्या टोक्यानी जुम्ला र कालिकोट तथा दैलेखको उत्तरी भेकमा बोलिने गरिन्छ ।
टोकरा टोकरी वा टोका टोकी दैलेख जाजरकोटमा बोलिन्छ ।
टोके टोकेनी भेरीक्षेत्रीय (सुर्खेत, जाजरकोट र सल्यानमा प्रयोग हुने गरेको पाइन्छ ।
यसरी ट्वाटुका ट्वाटुकी शब्दले धेरै रूप फेरेको र सुदूरपश्चिम र पूर्वतिर भने प्रयोगमा नआएको देखिन्छ ।
जायन–जायनी– दैलेख, सुर्खेतको पूर्वी भेक र जाजरकोटको दक्षिणी भेकमा बोलिने गरिन्छ ।
जाइन-जाइनी-सल्यान, रुकुम, रोल्पा (पश्चिमी भेक) दाङ (पश्चिमी भेक)मा प्रयोग हुने गरेको देखिन्छ ।यसरी बालबोधक शब्दावलीमध्ये प्रमुख शब्दले लिएको भौगोलिक वितरणलाई मानचित्रमा देखाइएको छ । यसमा मुख्य सात ओटा शब्द चयन गरेर तिनलाई मानचित्रमा देखाउने काम गरिएको छ ।
बालबोधक शब्दावलीको उपयोगिता
नेपाली भाषामा बालबोधक शब्दावलीका अनेक पर्याय प्राप्त भएका छन् । यो कुरा माथि उल्लेख गरिएका विभिन्न तालिका र मानचित्रका माध्यमबाट स्पष्ट भएको छ । यस्ता बालबोधक शब्दावली सिकेर विद्यालयमा आएका बालबालिकाहरूलाई मानक नेपाली भाषाका शब्दहरू सिकाउँदा उनीहरूलाई दोस्रो भाषा सिकेसरहको अनुभूति हुने गरेको देखिन्छ । आमाको काखमा सिकेका शब्दलाई चटक्कै छोडेर नयाँ शब्द सिक्ने स्थिति हरेक बालबालिका लागि कठिन र जटिल प्रक्रिया हुन जान्छ । यस्तो अवस्थामा विद्यालयको प्रारम्भिक कक्षामा आएका बालबालिकाहरूलाई नेपाली भाषा शिक्षण गर्दा यस्ता बाल शब्दको उपयोग गरेर शिक्षण गर्नु उचित देखिन्छ । कक्षाकोठामा बाल शब्दको प्रयोग गरेर शिक्षकले बालबालिकाको मन जित्न सक्छन् । स्थानीय भाषाको प्रयोगले उनीहरूको मानसिक भारलाई कम गर्न र आफूले सिकेको तथा आफ्नै कुरा विद्यालयमा पनि पढाइ हुने रहेछ भनी विद्यालय, शिक्षक र शिक्षण प्रक्रियाप्रति आत्मीयता जागृत हुने देखिन्छ । यसले सिकाइ सहजीकरणका साथै शैक्षणिक र मनौवैज्ञानिक कुरामा पनि प्रभाव पार्ने देखिन्छ । त्यसैले बालबोधक शब्दावलीको उपयोग भाषाको अध्ययन गर्ने अरूहरूलाई आवश्यकता भए झैँ शैक्षणिक क्षेत्रसँग सम्बन्धित व्यक्तिहरूलाई पनि विशेष उपयोगी देखिन्छ । यसबाहेक स्वतन्त्र अनुसन्धाता, व्यवसायी, समाजसेवी, कर्मचारी आदि अन्य पेसा गर्नेहरूले पनि बालबोधक शब्दावलीका स्थानीय रूपहरू पहिचान गरेमा उनीहरूलाई पनि ती ठाउँमा गएर काम गर्न सहज हुने देखिन्छ । यस दृष्टिले उनीहरूले पनि यिनको उपयोग गर्न सक्छन् ।
नेपाली भाषामा पाइने बालबोधक शब्दावलीका अधिकांश रूपहरू सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा फेला परेका छन् भने एकाध शब्द मात्रै त्यसबाहेक अरू प्रदेशमा देखा परेका छन् । बालबोधक शब्दावलीका अधिकांश रूपहरू फेरिएर गाली वा अन्य अर्थमा परिवर्तन भएका देखिन्छन् । यसबाट यी बालबोधक शब्दावलीको विकास युगौँ लागेर भएको रहेछ भनी लख काट्न सकिन्छ ।
निष्कर्ष
'बाल' शब्दले सानो उमेरका सबै केटाकेटीलाई बुझाउँछ । नेपालका सन्दर्भमा जन्मेदेखि २० वर्ष उमेर नपुगेका सबै केटाकेटीहरूलाई बालबालिका भन्नुपर्ने देखिन्छ । ‘नेपाली भाषामा ‘बालबोधक’ शब्दावलीका अनेक पर्याय छन्’ भन्ने कुरालाई प्रमुख प्राक्कल्पना मानिएको यस लेखमा नेपालका विभिन्न ठाउँमा प्रयोग हुने ‘बालबोधक’ शब्दावलीको खोजी गर्ने प्रमुख उद्देश्य राखिएको छ । ‘नेपाली भाषामा ‘बालबोधक’ शब्दावलीका के कस्ता क्षेत्रीय भेद छन्’ भन्ने कुरालाई प्रमुख समस्या मानी प्रस्तुत लेख तयार पारिएको हो । गुणात्मक ढाँचामा संरचित प्रस्तुत लेख सोद्देश्यमूलक नमुना छनोट विधिमा आधारित छ । यसमा कृति, अवलोकन र सोधनीबाट तथ्य सङ्कलन गरिएको छ । अवलोकन र सामाजिक सञ्जालबाट सोधनीजस्ता तथ्य सङ्कलनका साधन अपनाइएको छ । यसरी सङ्कलित तथ्यको वर्णन र तुलना गरी आगमन विधिबाट निष्कर्षमा पुग्ने काम गरिएको छ । नेपाली भाषाका विभिन्न क्षेत्रीय भाषिकामा पाइने ‘बालबोधक’ शब्दावलीको सर्वेक्षणको आधार भाषाभूगोललाई बनाइएको छ । नेपाली भाषामा पाइने ‘बालबोधक’ शब्दावलीका अनेक रूप फेला परेका छन् । यस्ता अधिकांश रूपहरू सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा फेला परेका छन् भने केही रूपहरू कर्णालीसँग सीमा जोडिएका लुम्बिनी प्रदेशका पहाडी जिल्लाहरूमा पनि फेला परेका छन् । नेपाली भाषाका क्षेत्रीय भाषिकाको विविधता भएको क्षेत्र भएकाले पनि यो क्षेत्र ‘बालबोधक’ शब्दावलीका लागि उर्वरा क्षेत्र बनेको देखिन्छ । कुनै शब्दहरू सेती नदीको वरिपरि विकसित भई सोही क्षेत्रमै सीमित भएका छन् भने कुनै शब्दहरू जुम्ला र दैलेखका सीमानामा विकसित भई भेरी नदी वरिपरिका सीमामा सीमित भएका छन् । यसरी ‘बालबोधक’ शब्दावलीका दृष्टिले सुदूरपश्चिमदेखि दैलेखसम्म विकसित भएका शब्दहरू ‘मुला–मुली र चेला चेली’ मात्रै देखिन्छन् । यी धेरै भौगोलिक क्षेत्रमा प्रयोग भएका देखिन्छन् । ‘मुला–मुली’ शब्द पनि दैलेखसम्म आइपुग्दा गाली अर्थमा सीमित हुन पुगेको छ भने ‘चेला चेली’ शब्द दैलेखसम्म आइपुगेको छैन । ट्वाटुका–ट्वाटुकी र जाइन–जाइनी शब्दले जुम्ला र सल्यानको सेरोफेरोलाई मुख्य केन्द्र र त्यस वरपरका जिल्लामा आफ्नो प्रभाव छोडेको देखिन्छ । बाँकी कुनै पनि शब्द साझा बन्न सकेका देखिँदैनन् । ठाउँपिच्छे विविध शब्द प्रयोगमा आएकाले साझा शब्दको चयन हुन नसकेको देखिन्छ । यी कुनै शब्दले व्यापकता नपाएका कारण पनि नेपाली भाषामा प्रचलित शब्दबाटै साझा सम्पर्कको काम भइरहेको देखिन्छ । प्राथमिक तहका शिक्षार्थीहरूलाई भाषा शिक्षण गर्दा यिनको उपयोग गरिएमा सिकाइ सहज हुने र नेपाली भाषाप्रति बालबालिकाहरूको अपनत्व हुने तथा भाषाको संरक्षण पनि हुने निष्कर्ष निकालिएको छ ।
कृतज्ञताज्ञापन : प्रस्तुतका लागि बालबोधक शब्द टिपाउनुका साथै तिनलाई रुजु गरिदिनुहुने सम्बन्धित क्षेत्रका भाषिक वक्ताहरू तथा लेख पढी सारगर्भित सुझाव एवं टिप्पणी गरेर लेख परिमार्जन गर्न सहयोग पु¥याउनुहुने विज्ञज्यूप्रति हार्दिक आभार तथा कृतज्ञता प्रकट गर्दछु ।
आप्टे, वामन शिवराम (सम्पा) (१९९५). संस्कृत हिन्दी कोश, दिल्ली : नाग प्रकाशक ।
घोडासैनी, खगेन्द्र (२०६१), ‘अछामी भाषिका र यसका स्थानीय उपभेदहरू’, ‘गरिमा’, २३÷२६६, पृ. ९८–१०२ ।
घोडासैनी, खगेन्द्र (प्रसाद उपाध्याय) (२०६४). ‘अछामी भाषिकाको शब्दकोश निर्माण’, त्रिवि, अप्रकाशित स्नातकोत्तर शोत्रपत्र ।
घोडासैनी खगेन्द्र (प्रसाद उपाध्याय) (२०६६). ‘अछामी भाषिका र जुम्ली भाषिकाका क्रियामूल शब्दको तुलनात्मक अध्ययन’, शब्द संयोजन– ६५, २४–३५) ।
घोडासैनी, खगेन्द्र (२०७७). अछामी गालीको अध्ययन, कीर्तिपुर, काठमाडौ : सनलाइट प्रकाशन ।
घोडासैनी, खगेन्द्र (प्रसाद उपाध्याय) (२०७२). ‘अछामी भाषिका र नेपाली भाषाको व्यतिरेकी अध्ययन’, त्रिवि, शिक्षाशास्त्र सङ्काय, अप्रकाशित विद्यावारिधि शोधप्रबन्ध ।
घोडासैनी, खगेन्द्र (२०७३). ‘सुदूर र मध्यपश्चिमका भाषिकाहरूको नेपाली भाषामा योगदान’ नेपाल प्रज्ञाप्रतिष्ठानको हिरक जयन्ती २०७३ को उपलक्ष्यमा २०७३ चैत २५ र २६ गते आयोजित मध्य तथा सुदूर पश्चिमाञ्चल क्षेत्रीय वाङ्मय गोष्ठीमा प्रस्तुत कार्यपत्र ।
त्रिपाठी, वासुदेव र अन्य (२०५५). (सम्पा.) नेपाली बृहत् शब्दकोश, काठमाडौँ : नेपाल प्रज्ञाप्रतिष्ठान ।
निरौला, यज्ञेश्वर (२०७२). ‘नेपालीका भाषिकाहरूको अध्ययन’, त्रिवि, मानविकी तथा सामाजिक शास्त्र सङ्काय, अप्रकाशित विद्यावारिधि शोधप्रबन्ध ।
ब्लुमफिल्ड, एल. (सन् १९३३). भाषाविज्ञान, अल्यान्ड एन्ड युनियन ।
भाटिया, कैलाशचन्द्र (सन् १९७३). भाषा भूगोल, महात्मागान्धी मार्ग, लखनाऊ : राजर्षि पुरुषोत्तमदास टन्डन ।
शुक्ल, हीरालाल (सन् १९७३). शब्द भूगोल (सिद्धान्त और प्रयोग), इलाहाबाद : रचना प्रकाशन ।
https://www.facebook.com/khagendra.ghodasaini/posts/3549573578426163?__cft__[0]=AZVnEeUeRrkXfMdZCh8nSCg0yU01z-s7qhGtvrvEW8L3mevAldQRhj8KUoLbDeLGL-milwDcO7Zx-Q3Dw6s7LcX6y-fDNRy7pMp1frVshnwbnzg3oat8A0xybt A5A3RqSzk&__tn__=%2CO%2CP-R
https://www.google.com/search?q=map+of+nepal&oq=Ma&aqs=chrome.2.69i57j35i39l2j0i131i433j46i131i199i291i433j0i131i433l2j46i433j0i131i433l2.6462j0j15&sourceid=chrome&ie=UTF-8
(नोटः प्रस्तुत लेख जनता विद्यापीठबाट प्रकाशित हैमप्रभाको २० औं अङ्क पृष्ठ १-१२ मा प्रकाशित छ । यो त्यसैबाट साभार गरिएको हो । कृपया लेख पढेर अन्यथा भएको ठाउँमा सच्याउन आवश्यक सुझाव दिनुहोला । यसलाई कसैले पनि हुबहु कपी पेस्ट गरी अन्यत्र प्रयोग गर्न पाइने छैन सन्दर्भका रुपमा भने प्रयोग गर्न बन्देज हुने छैन- लेखक)
गहनतम लेखकाे लागि धन्यवाद मित्र ।
ReplyDeleteधन्यवाद मित्र
ReplyDeleteखोज गहन हुने कुरा सामान्य भयो । खुशी लाग्छ यहाॅको जाॅगर सम्झी ।
ReplyDeleteधन्यवाद मित्र । पहिलो स्पष्ट बुझिनँ
ReplyDelete