What is the definition of standard Nepali ? (मानक नेपालीको परिभाषा के हो ?)

Dr.Khagendra Ghodasaini
4
मानक नेपालीको परिभाषा के हो ?
डा. खगेन्द्र घोडासैनी
नेपाली भाषा अधिकांश नेपालीहरूको मातृभाषा र धेरै दोस्रो भाषीहरूको नेपालीहरूको माध्यम भाषा पनि हो । नेपालबाहिर पनि यसका अनेक वक्ताहरू रहेका छन् । नेपाली भाषाका अधिकांश भाषिकाहरू नेपालको पश्चिममा रहेका छन् । तीमध्ये धेरैलाई राष्ट्रिय जनगणना २०६८ ले भाषाको दर्जा दिएको छ । अहिले नेपाली भाषाका यी भाषिकाहरू भाषा हु्न् भन्ने एकथरी र भाषिका नै हुन् भन्ने अर्काथरी छन् । गहिराइमा गएर विचार गर्दा भाषा र भाषिकाबिचको त्यति अन्तर देखिँदैन तर भाषिक अपनत्वको कुरा ठुलो हो ।
नेपाली भाषा अधिकांश नेपालीहरूको मातृभाषा भए पनि मातृभाषाका रूपमा सिकेको र मानक नेपाली भाषाका बिचमा ठुलो खाडल रहेको कुरा धेरै भाषाविद्हरुलाई मात्रै होइन सामान्य भाषाका वक्ताहरूलाई पनि जानकारी छ । नेपाली भाषाको मानक निर्धारण गर्दा अधिकाशं पुर्बेली भाषिकाका वक्तालाई ख्याल गरिएको छ । नेपालीका कुनै पुर्बेली साहित्यकारले पश्चिमका शब्द प्रयोग गरे भने त्यो मानक हुने गरेको पाइन्छ तर पश्चिमकाले प्रयोग गरेमा त्यसलाई भाषिकाको संज्ञा दिइन्छ । यसको उदाहरणस्वरूप केही सन्दर्भहरू पेस गर्छु । डा. तारानाथ शर्माले 'घनघस्याको उकालो काट्दा' र 'बैकिनीका आँखामा डुब्छ बयालपाटा' शीर्षकका निबन्ध लेखे । ती निबन्धमा प्रयोग भएका 'गाड', 'बैकिनी' जस्ता शब्द नेपाली शब्दकोशले स्वीकार गर्‍यो । यस्ता अरू कति पश्चिमका लेखक, कलाकार र साहित्यकारहरूले गरे होलान् त्यसको लेखाजोखा शब्दकोशका सम्पादक र परिमार्जनकर्ताहरूले राखेको पाइँदैन ।
नेपाली भाषाको मानक शब्दकोशका रूपमा प्रज्ञाप्रतिष्ठानको 'बृहत् नेपाली शब्दकोश'लाई लिने गरिन्छ तर यो पुर्बेली भाषाको बृहत् नेपाली शब्दकोश हो किनभने यसका आजसम्मका सबै सम्पादक र परिमार्जनकर्ता पुर्बेली भाषिकासम्बन्ध व्यक्तिहरू रहेका छन् । पश्चिमका भाषाको प्रतिनिधित्व गरेर सर्वप्रथम जयपृथ्वी बहादुर सिंहले वि.सं. १९६९ सालमा व्याकरण लेखेका थिए तर पछिल्ला व्याकरणकारहरूले त्यसको बेवास्ता गरे पनि यहाँका भाषिक विशेषतालाई लिएर कुनै आधिकारिक शब्दकोश र व्याकरण लेख्ने काम भएन । अहिले जिल्लैपिच्छेका भाषिका, भाषा, शब्दकोश र व्याकरण प्रकाशित भएका छन् । ती सबैले सामूहिक कुनै पक्षलाई अँगाल्न सकेका छैनन् । सामूहिक जोड नभएकाले तिनले मानकरूप पाउन सकेका छैनन् ।
आमाको काखदेखि घर परिवारमा सिकेका पश्चिमका अधिकांश बालबालिकाको पहिलो भाषा के हो ? नेपाली हो भने नेपाली अर्कै छ, नेपाली होइन भने नेपाली भाषाको उद्गम क्षेत्र यही हो, अझ नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको रामायणसँग धेरै मात्रामा मिल्दोजुल्दो पनि छ तर विद्यालयलमा पढाइने नेपालीसँग मिल्दैन, किन ? विद्यालयमा किन पुर्बेली भाषा पढाइन्छ ? व्यवहारमा जुनसुकै काम गर्दा पुर्बेली भाषाको आवश्यकता हुँदैन, यहाँसम्म कि सामाजिक सञ्जालमा त देवनागरी लिपि पनि आवश्यक देखिँदैन धेरैले रोमन लिपिबाट काम चलाएका छन् । यी प्रश्नहरू मेरा होइनन्, अहिले विद्यालय तहमा शिक्षा आर्जन गर्दै गरेका अधिकांश बालबालिकाका हुन् । उनीहरूले यिनको उचित उत्तर पाउन सकेका छैनन् । नेपालीमा 'यस्तो हुन्छ' भन्यो भने आजसम्म बोलेको यही हो भन्ने उनीहरूको जवाफ हुन्छ । सिकारु विद्यार्थी मात्रै होइन अधिकांश शिक्षकहरूले पनि नेपाली भाषा होइन आफ्नो स्थानीय भाषा नै पढाइरहेका हुन्छन् । यसको मतलब पुर्बेली शिक्षकहरूले मानक नेपाली पढाउँछन् भन्ने होइन उनीहरू पनि आफ्नो पुर्बेली भाषिका नै पढाउँछन् । सामान्य भाषा शिक्षकको कुरा होइन नेपाली भाषाका प्राध्यापक भएका पुर्बेलीहरूले 'उनीहरू, हामीहरू, तिनीहरू, पर्‍यो, गर्‍यो, माथिल्लो, चाहिँ', भन्नु पर्‍यो भने 'उँदरु, परो, गरो, माथ्लिो, चिँ' नै भन्छन् । उनीहरूले पढाउँदा छुट्टै भन्दा हुन् भनेर कसरी विश्वास गर्ने ?
नेपाली व्याकरण र वर्णविन्यासका क्षेत्रमा अनेक विकल्प छन् । के हामीले व्याकरण निर्माण गर्दा पश्चिमका भाषिक विशेषतालाई अँगालेर विकल्प दिन सक्दैनौँ ? यदि विकल्प दिन सकिँदैन भने पश्चिमका बालबालिकाहरूका लागि छुट्टै पाठ्यपुस्तकको विकास गर्नुपर्छ । व्याकरणको विकास गर्नुपर्छ । बालबालिकाका जिब्रामा रहेको भाषिक अवस्थालाई व्याकरण, कोश र पाठ्यपुस्तकले अँगाल्नुपर्छ । गतिशील भाषाको मानकीकरण गर्ने उपाय भनेको यही हो । भाषा लादिएको वस्तु कदापि बन्नु हुँदैन । आफूले आमाको काखमा सिकेको भाषालाई बिर्सिएर नयाँ व्याकरण र शब्द सिक्नुपर्दा उसलाई 'मेरो पनि नेपाली भाषा नै हो' भन्ने भावना र नेपाली भाषाप्रतिको अपनत्व कायम हुँदैन । उसले 'मैले अर्को कुनै भाषा सिक्दै छु' भन्ने अनुभव गर्छ । यस्तो अनुभव मातृभाषाका सन्दर्भमा भयो भने विचार गरौँ मातृभाषा नेपाली र मानक नेपालीका बिच कति अन्तर रहेछ । यस्तो स्थितिलाई समयमै ख्याल गरिएन भने नेपाली भाषाको अस्तित्व सङ्कटमा पर्न जान्छ ।
अहिले नेपाली समाजमा नेपाली भाषाप्रतिको एउटा धारणा विकसित भएको छ त्यो के भने नेपाली भाषा परीक्षामा मात्रै मानक लेखे पुग्छ । परीक्षा उत्तीर्ण गरेपछि नेपाली जसरी जे लेखे पनि हुन्छ । मानक लेखे पनि त्यो नेपाली पढाउने शिक्षकले लेखे भयो, त्यो पनि सबैका आफ्नै डम्फु छन् । अरूलाई किन मानक लेख्न जान्नु पर्‍यो र ? यस्तो स्थिति हुनाको मुख्य कारण विद्यालयमा सिकेको नेपाली भाषा उसको मातृभाषा होइन । मातृमाषाअनुसार विद्यालयमा सिकाइँदैन । मातृमाषालाई उपेक्षा गरेर अधिकांश तत्सम, आगन्तुक र पुर्बेली शब्द विद्यालयमा पढ्नुपर्‍यो । उसको बोलीले '‘य' भन्नु पर्ने ठाउँमा 'ए' सिकाइन्छ । त्यो उसको दिमागमा घुस्दैन । उसले 'आफु, उ' लेख्छ, बोल्छ काम चलेकै छ । विद्यालयमा 'आफू, ऊ' लेख्न प्रेरित गरिन्छ । कथ्य नेपालीमा २९ व्यञ्जन र ६ स्वर हुन्छन् भन्ने पढेको छ उसले प्रयोग पनि तिनै गर्छ तर अरू लेख्न लगाइन्छ किन ? यो कुराले दोधारमा पार्छ उसलाई । के मानक नेपालीको परिभाषा आमाको काखमा सिकेको भाषालाई चटक्कै बिर्सिएर नयाँ भाषा सिक्नु हो ? होइन भने मानक नेपालीको परिभाषा के हो ? सोचौं ती बालबालिकाका लागि जसले नेपालीभन्दा भिन्न भाषा आमाको काखमा सिकेका छन् ।

Post a Comment

4 Comments
  1. सरकाे कुरासँग सहमत छु तर पनि "उनीहरू, हामीहरू, तिनीहरू, पर्‍यो, गर्‍यो, माथिल्लो, चाहिँ', भन्नु पर्‍यो भने 'उँदरु, परो, गरो, माथ्लिो, चिँ' नै भन्छन्" मा चाहिँ मानक र पूर्वेलीबिच पनि भिन्नता रहेछ नि !

    ReplyDelete
  2. प्रतिक्रियाका लागि धन्यवाद सर ! आजसम्म त बहस नै भएन । अब गर्नुपर्छ कि यो विषयमा भनेर उठान गरेको हुँ ।

    ReplyDelete
  3. प्रतिक्रियाका लागि धन्यवाद सर ! आजसम्म त बहस नै भएन । अब गर्नुपर्छ कि यो विषयमा भनेर उठान गरेको हुँ ।

    ReplyDelete
  4. भाषाको बहस आवश्यक देखियो।उदँरु शब्द ता भाषिका नै होला मानक हैन कि। मुकुन्द शरण गुरुको नेपाली भाषासम्बन्धि विचार एटा छ, यी सबैलाई समेटेर मानकरूप तयार गर्दा राम्रो जुन सर्वस्वीकार्य हुन सकोस्। पूर्वेली र पश्चिमाको विभेद र विवाद नगरौँ।सर्वस्वीकार्य के गर्दा सम्भव छ त्यो कार्य गरौँ।

    ReplyDelete
Post a Comment

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top