Editing of 'Ohori' song (‘ओहोरी’ गीतको सम्पादन)

Dr.Khagendra Ghodasaini
1
'ओहोरी' गीतको सम्पादन
डा. खगेन्द्र घोडासैनी
सारसङ्क्षेप : प्रस्तुत लेख ‘ओहोरी गीतको सम्पादन सिद्धान्तका आधारमा अध्ययन गर्ने’ उद्देश्य र यो कसरी सम्पादन गरिएको हुन्छ’ भन्ने प्रमुख समस्यालाई लिएर तयार पारिएको हो । गुणात्मक ढाँचामा संरचित यस लेखमा सोद्देश्यमूलक नमुना छनोट विधि र अवलोकन तथा सोधनी गरेर तथ्य सङ्कलन गरिएको छ । यस अध्ययनमा सैद्धान्तिक आधार सम्पादन सिद्धान्तलाई बनाइएको छ । सुदूरपश्चिम प्रदेशको अछाम जिल्लाबाट सङ्कलन गरिएको यस अध्ययनमा ‘ओहोरी’को शीर्षक, परिचय, मूलपाठ, सारसङ्क्षेप र यसका भाषिका विशेषताहरू स्पष्ट पारिएको छ । यस रोपाइँ गीतका प्रत्येक पङ्तिका पछाडि ‘ओहोरी ओहो’ भन्ने थेँगोको प्रयोग हुने भएकाले यसलाई ‘ओहोरी’ गीत भनिएको हो । सबै प्रकारका ‘ओहोरी’ गीत असारको महिनामा रोपाइँको अवसर पारेर रोपाइँ गरामै गई दमाईं जातिले हुड्को बजाएर गाउने प्रचलन रहेको हुँदा प्रसङ्ग एउटै हुन्छ तर त्यसमा प्रयोग गरिने विषयवस्तु, त्यसको भाषा र संरचनामा भिन्नता हुन्छ । सम्पादनकर्ताको स्मरण क्षमता, ओहोरी गीत गाउँदाको अवस्था, उसका सहयोगीहरू, गीत गाएबापत् प्राप्त हुने उपहारबाट विषयवस्तु र संरचनामा भिन्नता देखिन्छ । ‘ओहोरी’ गीतमा रोप्न्यारी र बाउसेहरूलाई उत्साह र मनोरञ्जन प्रदान गर्ने उद्देश्यले रोपाइँ आरम्भ भएदेखि रोपाइँ समापन नहोउन्जेलसम्मको अवस्थाका बारेमा वर्णन गरी अन्तमा आशीष दिने गरिएको छ । यस्तो अवस्थामा रोप्न्यारी र बाउसेका आलस्यको अन्त्य गरी उनीहरूलाई कर्मशील बनिरहने उत्साह र मनोरञ्जन प्रदान गर्ने काम गर्छ भन्ने निष्कर्ष निकालिएको छ ।
शब्दकुञ्जी : लोकगीत, ऋतुगीत, असारे, रोपाइँ, हुड्को ।
विषय परिचय
लोकसाहित्य लोकजीवनको अभिव्यक्ति हो । नेपाली लोकसाहित्यमा लोकजीवनका मौलिक बान्कीहरू फेला परेका छन् जसको अध्ययन र अनुसन्धान हुन बाँकी छ । नेपाली लोककविता, लोकगीत, बालगीत, लोककथा, लोकोक्ति, लोकनाटक र भारत जस्ता विधाहरूले नेपाली जनजीवन र मानवीय मनका भावनाहरू समेटेका छन् । लोकगीतका पनि ठाउँअनुसार अनेक भेद एवम् उपभेदहरू पाइन्छन् । प्रमुखरूपमा मृत्युगीत, ओहोरीगीत, रोपाइँगीत, दाईगीत, मागलगीत, होरीगीत, देउडा गीत जस्ता थुप्रै भेद छन् तर ती सबैको अध्ययन र अनुसन्धान भएको देखिँदैन । ‘ओहोरी’ गीतको अध्ययन त अझ दुर्लभ नै देखिन्छ । यस लेखमा लोकसाहित्यका प्रयोक्ताहरूका बिचमा गएर अध्ययन गरिने सम्पादन सिद्धान्तको प्रयोग गरी यही ‘ओहोरी’ गीतको सम्पादन सिद्धान्तका आधारमा अध्ययन गर्ने उद्देश्य राखिएको छ । त्यसैले यस लेखको प्रमुख उद्देश्य ‘ओहोरी’ गीतको सम्पादन सिद्धान्तका आधारमा अध्ययन गर्नु’ रहेको छ । यस उद्देश्यको परिपूर्तिका लागि ‘ओहोरी’ कस्तो गीत हो ? यो कसरी गाइन्छ ? यसको गायन हुँदाको अवस्था वा परिवेश गस्तो हुन्छ ? ‘ओहोरी’ गीत गाउनुको प्रमुख उद्देश्य के हो ? ‘ओहोरी’ गीत कसरी सम्पादन हुन्छ र यसको रचनाकार को हुन्छ भन्ने जस्ता मूलभूत समस्यालाई आधार बनाएर प्रस्तुत लेख तयार पारिएको हो । त्यसैले ‘ओहोरी’ गीत कसरी सम्पादन गरिएको हुन्छ’ भन्ने कुरालाई प्रमुख समस्या मानी प्रस्तुत लेख तयार पारिएको छ ।
अध्ययन विधि
यस अध्ययनमा निम्नानुसारको अध्ययन विधि अवलम्बन गरिएको छ :
अनुसन्धानको ढाँचा : यो गुणात्मक ढाँचाको अध्ययन हो । यसमा अवलोकन तथा कृतिबाट प्राप्त तथ्यकोे विश्लेषण गरी निष्कर्षमा पुग्ने काम गरिएको छ ।
सहभागी र नमुना छनोट : नेपाली लोकसाहित्यका विभिन्न विधा छन् । त्यस्ता विधाहरू क्षेत्र र ठाउँअनुसार भिन्नभिन्न देखिन्छन् । नेपालमा लोकसाहित्यका लोकगीत, लोकनाटक, लोककथा, लोकोक्ति, लोककविता जस्ता मुख्य विधाहरूको सङ्कलन र अध्ययन भएको पाइन्छ । नेपाली लोकगीतका पनि विभिन्न भेदहरू छन् । ती सबै भेदलाई प्रस्तुत अध्ययनमा जनसङ्ख्या मानी सोद्देश्यमूलक नमुना छनोट पद्धतिका आधारमा अछाम जिल्लामा पाइने ‘ओहोरी’ लोकगीत चयन गरिएको छ ।
तथ्य सङ्कलन : प्रस्तुत अध्ययनमा ‘ओहोरी’ लोकगीत र सम्पादन सिद्धान्तसँग सम्बन्धित तथ्य प्राप्त गर्न सूक्ष्म अवलोकन र दस्तावेजमा प्राप्त तथ्यका आधारमा तथ्य सङ्कलन गरिएको छ ।
तथ्य सङ्कलनका साधन : यस अध्ययनमा प्राथमिक स्रोतका रूपमा लोकगीतको प्रयोग क्षेत्रका सम्पादनकर्तासँग सोधनी तथा अवलोकन विधिको उपयोग गरिएको छ । द्वितीय स्रोतका लागि विभिन्न प्रकाशित पुस्तक र लेखको उपयोग गरिएको छ । त्यसैले यसमा सोधनी, अवलोकन र दस्तावेजमा प्राप्त तथ्यको विश्लेषण गरी निष्कर्ष निकाल्ने प्रयास गरिएको छ ।
तथ्य विश्लेषण प्रक्रिया : प्राप्त ‘ओहोरी’ गीतको पाठलाई मुख्य तथ्य मानिएको छ । सम्पादन सिद्धान्तका आधारमा यसको वर्णन, तुलना र त्यसको पुष्टिका लागि उदाहरण दिई विश्लेषण गरेर निष्कर्षमा पुग्ने काम गरिएको छ । सोधनी, अवलोकन र उदाहरणबाट निष्कर्ष निकाल्ने प्रयास गरिएको यस लेखको निष्कर्ष आगमन विधिमा आधारित छ ।
सैद्धान्तिक पर्याधार
लोकसाहित्यलाई पाठका रूपमा होइन सन्दर्भका रूपमा हेर्नुपर्दछ भन्ने मान्यता सम्पादन सिद्धान्तको रहेको पाइन्छ । लोकसाहित्यको सम्पादनमूलक अधययनमा प्रासङ्गिक कुराहरू बढी मात्रामा सङ्कलन गरी तिनको प्रसङ्ग केन्द्रित अध्ययनमा जोड दिइन्छ । लोकसाहित्यको अध्ययनमा सम्पादन सिद्धान्तको विकासले गर्दा यसका विधालाई तिनका प्रयोक्ताहरूका बिचमा राखेर प्रसङ्गमा हेर्ने चलन चलेको पाइन्छ (बन्धु, २०५९, १७) । सम्पादन सिद्धान्तको पुरानो पृष्ठभूमि रहे तापनि यसको नामकरण सन् १९७० को दशकमा भएको हो । सम्पादन सिद्धान्तअन्तर्गत सन्दर्भ वा प्रसङ्गका आधारमा लोकसाहित्यको विश्लेषण गर्ने विभिन्न पद्धतिहरू विकसित भएका पाइन्छन् । वाक्क्रिया, कथनको जातितत्त्व र सम्पादनमूलक सिद्धान्त लोकसाहित्यको अध्ययन गर्ने प्रमुख प्रसङ्ग केन्द्रित सिद्धान्त हुन् (बन्धु, २०५९, १८–२१) । सम्पादनमूलक सिद्धान्त र डेल हाइम्सको कथनको जातितत्त्वका आधारमा अछामी गालीको अध्ययन गरिएको पाइन्छ (घोडासैनी, २०७७, ४७–६३) । यसैगरी लोकसाहित्यका अन्य विधाहरू लोकमन्त्र, धरम्पुबाडो, मृत्युगीत, पडेली गीत आदिको अध्ययन पनि घोडासैनीले गरेका छन् ।
रिचार्ड बाउमनले लोकसाहित्यको अध्ययन गर्ने क्रममा भाषिक कलाको सम्पादनका रूपमा (क) अभिव्यक्तिको संहिता, (ख) आलङ्कारिक भाषा, (ग) समानान्तरता, (घ) विशिष्ट पराभाषिक अभिलक्षण, (ङ) विशिष्ट ढाँचा, (च) परम्परा पालन र (छ) सम्पादनको स्वीकारोक्ति जस्ता कुरामा ध्यान दिनुपर्छ भनेका छन् (बन्धु, २०५९, २१) । प्रस्तुत लेखमा यिनलाई प्रमुख आधार मानी ऋतुकालीन गीतअन्तर्गत पर्ने ‘ओहोरी’ गीतको सम्पादनमूलक अध्ययन गर्न गीतको शीर्षक, परिचय, मूलपाठ, सारसङ्क्षेप, भाषिक विशेषतामा आधारित भएर विश्लेषण गर्ने सैद्धन्तिक पर्याधार निर्माण गरिएको छ । यसको सैद्धान्तिक आधार सम्पादन सिद्धान्त भए पनि त्यसबाट विश्लेषणको नयाँ ढाँचा प्रस्तुत गरी त्यसैलाई सैद्धान्तिक पर्याधार बनाइएको छ ।
विमर्श/विश्लेषण र नतिजा
ससमा ऋतुकालीन गीतअन्तर्गत पर्ने ‘ओहोरी’ गीतको सम्पादनमूलक अधययन गरिएको छ । त्यसका लागि यसको सम्पादनमूलक अध्ययन गर्न पनि सर्वप्रथम ‘ओहोरी’ गीतको शीर्षक, उपशीर्षक राखेर लेख विश्लेषणको आरम्भ गरिएको छ । त्यसपछि परिचय, मूलपाठ, सारसङ्क्षेप, भाषिक विशेषता शीर्षकमा छलफल र विश्लेषण गरी लेखको निष्कर्ष निकालिएको छ ।
'ओहोरी' गीतको शीर्षक
रोपाइँ गर्दा गाइने गीतलाई रोपाइँ गीत भनिन्छ । ‘ओहोरी’ रोपाइँ गीतको एउटा भेद हो । यसमा ‘ओहोरी’ भनिने हुँदा यसको नाम पनि ‘ओहोरी’ राखिएको देखिन्छ । यो श्रमका बखत गाइने गीत हो । यसलाई कर्मगीत पनि भनिएको पाइन्छ । अछाम जिल्लामा रोपाइँ गर्दा मुख्य रूपमा ओहोरी, चाँचडी, ठाडी भाका जस्ता गीत गाइन्छन् । ओहोरी र चाँचडी हुड्केले बाजाको तालमा लय हालेर चाच्दै गाइने गीत हुन् भने ठाडी भाका रोप्न्यारीहरूले रोप्दै गर्दा गाउने गीत हो । रोपाइँ गीत पनि बिउ गाड्दा (उखेल्दा), रोपाइँ पइट्याउँदा (सुरु गर्दा), कोठो पुर्दा (समापन गर्दा) गाउने गीत र भाका तथा तिनका लयमा विविधता हुन्छ । यस्तै प्रातः काल, मध्यान्ह, र सन्ध्या कालमा गाइने गीतका लयमा पनि भिन्नता हुन्छ । रोपाइँ गीत समूह र संवादात्मक दुवै प्रकृतिका हुन्छन् । कतै छुट्टा छुट्टै समूहका रूपमा गाउने गरिन्छ भने कतै संवादात्मक प्रकृतिका हुन्छन् । पाठ भेदले अछाम जिल्लाका विभिन्न ठाउँमा भिन्न भिन्न गीत प्रचलित देखिन्छन् । रोपाइँ गीतमा ख्याल ठट्टा, हास्यव्यङ्ग्य एवम् मार्मिक भावना पोखिएको पाइन्छ । आफ्ना प्रेमीलाई प्रेमिकाले गरेको अभिव्यक्ति रोपाइँ गीतमा यसरी व्यक्त भएको पाइन्छ :
रोप रोप रोप्नेरि औ हातको बिउ छन्ति,
काइँ न जाया केइ न खाया यो मेरो जिउ छन्ति ।
यहाँ पहिलो पङ्तिमा रोप्न्यारीहरूलाई हातको बिउ छउन्जेल रोप अल्छी नगर भनिएको छ भने दोस्रो पङ्तिमा मेरो जिउ हुँदा कहीँ नगए केही नखाए (अरूतिर आँखा नलगाए) भनिएको छ । यहाँ कर्मशीलता, मार्मिकता र सजगता व्यक्त भएको छ । रोप्न्यारीहरू अल्छी मानिरहेका हुन्छन्, रोप्न धेरै गरा बाँकी छन्, सूर्य अस्ताउन थालिसक्यो । यस्तो अवस्थालाई निम्नलिखित गीतले मार्मिक रूपमा वर्णन गरेको छ :
न बुडेइ बान्नीका बेल सकिजायेइ जिउला
यहाँ बान्नी गढीको चुचुरोसम्म पुगेर सूर्य अस्ताउनै लागेको भए पनि मेरो जिउलो रोपेर नसकिउन्जेल न अस्ताउनु भनिएको छ । यसरी रोपाइँ गीतमा मार्मिकता र कर्मशीलता व्यक्त भएको देखिन्छ ।
यसबाहेक हुड्केहरूले रोपाइँको गरामा पहिले ‘ओहोरी’ अनि चाँचडी गीत गाउने गर्दछन् । ‘ओहोरी’ गीत देउसी भैलोको शैलीमा भट्याइन्छ । यसमा एउटाले गीत भन्छ भने समूहका मान्छेहरूले ‘ओहोरी ओहो’ मात्रै भनेर साथ दिने गर्दछन् । बृहत् नेपाली शब्दकोश (२०५५) मा ‘ओहोरी’ शब्द प्रविष्टि दिइएको पाइँदैन । यस कोशमा ‘ओहाली’ भनी उल्लेख गरिएको पाइन्छ । यसको अर्थ ‘असारे जस्तै खेत रोप्दा गाइने तर असारेभन्दा बेग्लै खालको कुनै कथामा आधारित एक किसिमको गीत’ भनी उल्लेख गरिएको छ । यात्री (२०४१) ले रोपाइँ गीतको चर्चाका सन्दर्भमा यसै ‘ओहोरी’ गीतलाई पश्चिमाञ्चलमा ‘अवाली’ र पूर्वाञ्चलमा असारे भनिन्छ भनेका छन् । बन्धु (२०५८) ले असारे गीतका सन्दर्भमा ‘ओहाली’ पनि गाइन्छ भनेका छन् । यसरी ‘ओहोरी’ गीतलाई ‘ओहाली वा अवाली’ भनिए पनि यो रोपाइँ गीतको एउटा भेद भने अवश्य देखिन्छ । यो भेद ‘ओहोरी’ गीतको शैली, लय र यसको ढाँचाका आधारमा निर्मित भएको देखिन्छ ।
‘ओहोरी’ गीत रोप्न्यारी र बाउसेहरूको उत्साह बढाउने र उनीहरूलाई कर्मशील भइरहने प्रेरणा प्रदान गर्ने गीत हो । यसमा असारको महिना बित्नै लाग्यो छिटो गर, ढिला सुस्ति नगर भनिएको पाइन्छ । असारको महिनामा रोपाइँ गर्दा रोपाइँ गरामा हुड्केले बाजाको तालमा गाइने गीत नै ‘ओहोरी’ गीत हो । त्यसैले यस लेखमा अछामी लोकगीतअन्तर्गत पर्ने रोपाइँ गीतको एउटा भेद ‘ओहोरी’लाई नै शीर्षक मानिएको छ ।
परिचय
‘ओहोरी’ शीर्षकमा समेटिएको रोपाइँ गीत अछाम जिल्लाको पञ्चदेवल नगरपालिका वडा नं. १, विनायक, गैरीगाउँका ७५ वर्षीय गोपाल सिंह आहुजी र ५८ वर्षका पद्मे आहुजीको अभिव्यक्तिबाट सम्पादन गरिएको हो । उनीहरू स्वयम्ले यसको निर्माण (रचना) गरेको नभई यो श्रुति परम्पराबाट संरक्षित हुँदै आएको देखिन्छ । यसमा असारको महिना जानै लाग्यो त्यसैले छिटो छिटो खेत रोपेर सक्नुपर्छ भन्ने कुरालाई मुख्य विषयवस्तु बनाइएको छ । यो कृषि जीवन प्रक्रियाको मुख्य आधार मानिएको धान रोपाइँको वर्णन गरिएको संवादात्मक गीत हो । यो गीत गाउँदा रोप्न्यारी र बाउसे खेतको गरामा व्यस्त हुन्छन् भने उनीहरूका कर्मको वर्णन र उनीहरूलाई उत्साह र मनोरञ्जन प्रदान गर्ने हुड्के र उसका सहयोगीहरूले गराको छेउमा उभिएर ‘ओहोरी’ गीत गाउँछन् । रोप्न्यारी, बाउसे, हुड्केका सहयोगी तथा खेतको मालिकबाट दिइने पारिश्रमिकको मात्रा अनुसार हुड्केलाई थप ऊर्जा प्राप्त हुन्छ । यसमा कर्मशीलता, जागरिलोपन, आशीष, कमना, वैयक्तिकता, उत्साह जस्ता भावनाहरू समेटिएका हुन्छन् । हुड्केद्वारा रोप्न्यारी र बाउसेलाई पूर्ण आयु बाँचुन्, गोरु बाँचिरहुन्, रोपिएको खेत फलदायी होओस् भन्ने जस्ता आशीष र कामना व्यक्त गरिएको पाइन्छ । हुड्केको उत्साह, आशीष र कमनाले प्रतिफल दिन्छ भन्ने भावना आम मान्छेहरूमा रहेको र यसबाट मनोरञ्जन पनि प्राप्त हुने हुँदा समाजिक र सांस्कृतिक दुवै दृष्टिले ‘ओहोरी’ रोपाइँ गीतप्रति श्रद्धा र विश्वास बढेको देखिन्छ । ‘ओहोरी’ गीत समाजिक प्रचलन, रोपाइँ गरामा श्रम गर्दा हुने थकान वा अल्छीपना हटाउने र मनोरञ्जन प्रदान गर्ने उद्देश्यले रोपाइँ गर्न सुरु गरेदेखि रोपाइँ समापन नहुँदासम्मका घटनाहरू समेटिएका हुन्छन् । त्यसैले रोपाइँ गर्दा हुड्केलाई बोलाएर ‘ओहोरी’ गीत गाउन लगाउनु कार्यको आरम्भ हो भने रोपाइँ समापन गरी हुड्केले गाउन छोड्नु कार्यको अन्त्य वा गीत समापनको अवस्था हो ।
मूलपाठ
१. हुड्के– ए ! राजाको सेरो, एक माना मेरो
ए ! सेरो रोपाइँ छ
समूह– ए ! ओहोरि ओहो !
हुड्के– ए ! सेरो रोपाइँ छ
समूह– ए ! ओहोरि ओहो !
हुड्के– ए ! असाडको मइना
समूह– ए ! ओहोरि ओहो !
हुड्के– ए ! असाडको मइना
समूह– ए ! ओहोरि ओहो !
हुड्के– ए ! बाइजान लाग्यो
समूह– ए ! ओहोरि ओहो !
हुड्के– ए ! फर्काओ बौजु
समूह– ए ! ओहोरि ओहो !
हुड्के– ए ! कसरि फर्काउँ ?
समूह– ए ! ओहोरि ओहो !
हुड्के– ए ! फिनरि हाल
समूह– ए ! ओहोरि ओहो !
हुड्के– ए ! गोजिया हाल
समूह– ए ! ओहोरि ओहो !
हुड्के– ए ! राजाको सेरो, एक माना मेरो
समूह– ए ! ओहोरि ओहो !
हुड्के– ए ! सेरो रोपाइँ छ
समूह– ए ! ओहोरि ओहो !

२. हुड्के– ए ! बाड् बस्यो बाउन्ने
समूह– ए ! ओहोरि ओहो !
हुड्के– ए ! गाड बस्यो गडुवाले
समूह– ए ! ओहोरि ओहो !
हुड्के– ए ! बियाँ बास्यो बियाँ
हुड्के– ए ! आजका रोप्न्यारि बाउसे
समूह– ए ! ओहोरि ओहो !
हुड्के– ए ! लाख बर्ख जिया
समूह– ए ! ओहोरि ओहो !
हुड्के– ए ! धानकि रोपाइँ असाडकि
समूह– ए ! ओहोरि ओहो !
हुड्के– ए ! धानकि बिउ रखाइ जेठ
समूह– ए ! ओहोरि ओहो !
हुड्के– ए ! बाँचिरह्या बल्ल बाबा
समूह– ए ! ओहोरि ओहो !
हुड्के– ए ! दाइनि भयेइ खेत
दुवै– ओहोरि !!!
सारसङ्क्षेप
यस मूलपाठअन्तर्गत समेटिएको ‘ओहोरी’ शीर्षकको रोपाइँ गीतमा सेरो खेत रोप्ने चटारो रहेको कुरा वर्णन गरिएको छ । यस मूलपाठलाई जम्मा दुई अनुच्छेदमा विभाजन गरिएको छ । पहिलो अनुच्छेदमा असार महिनामा सेरो रोपाइँ गर्न व्यस्त रहेका कुराको वर्णन गरिएको छ । असार बित्नै लाग्यो, यो मौका छोपेर सेरो खेत रोप्नुपर्छ भन्ने कुरालाई यसमा समेटिएको छ । दोस्रो अनुच्छेदमा यस्तो हतारको समयलाई छोपेर खेत रोप्ने रोप्न्यारी र बाउसेहरू धेरै वर्ष बाँचुन् । यो सेरो रोप्न सहयोग गर्ने गोरुहरू अर्को अर्को वर्षसम्म बाँचिरहुन्, रोपेको खेत हाम्रो अनुकूल होओस् भन्ने जस्ता आशीष दिएर ‘ओहोरी’ गीतको समापन गरिएको छ । प्रत्येक पङ्तिका पछाडि ‘ओहोरी ओहो’ भन्ने थेँगो गाँसिएर आएको हुनाले यसबाट मनोरञ्जन थपिएको छ । यस गीतमा हुड्के र उसका सहयोगीहरूबाट रोप्न्यारी तथा बाउसेका कामको वर्णन गर्नुका साथै उनीहरूलाई आशीष प्रदान गरेर उत्साह बढाउने काम भएको छ । रोप्न्यारी र बाउसेहरूले पनि हुड्के र उसका सहयोगीहरूलाई गीत गाउँदा उत्साहित पार्दछन् । लय र बाजाको तालमा श्रम गर्दा थकान कम हुन्छ भने काम गर्न थप जाँगर र जोस पैदा हुन्छ । यसरी खेतका मालिकले रोपाइँका बेला हुड्केलाई बोलाएको अवस्थामा हुड्के र उसका सहयोगीहरूले रोप्न्यारी र बाउसेलाई उत्साहित पार्नुका साथै मनोरञ्जन गर्ने उद्देश्यले ‘ओहोरी’ रोपाइँ गीत गाएर लोक जीवनमा मनोरञ्जन प्रदान गर्ने हुनाले लोक जीवनमा यसको महत्त्वपूर्ण स्थान रहेको मान्न सकिन्छ ।
भाषिक विशेषता
यस मूलपाठमा सङ्कलित ‘ओहोरी’ रोपाइँ गीत दुई अनुच्छेदमा संरचित छ । यसका केही पङ्तिहरूमा अन्त्यानुप्रासको आयोजना गरिएको पाइन्छ भने प्रत्येक पङ्तिका पछाडि ‘ओहोरी ओहो’ पदावलीको पुनरावृत्ति गरिएको पाइन्छ । यसमा आउने ‘ओहोरी ओहो’लाई अन्तराका रूपमा स्वीकार गर्न सकिन्छ । त्यसैले यो संवादात्मक शैलीको गीत बनेको छ । यस गीतमा भाउजूलाई सम्बोधन गरिएको छ । भाउजूलाई असार महिना बित्नै लाग्यो, यसलाई रोक्नुहोस् भनिएको छ । असार महिना कसरी फर्काऊँ भन्दा त्यसको उत्तरमा आएका ‘गोजिया हाल, फिनरि हाल’ जस्ता पदावलीमा प्रयोग भएका ‘गोजिया’ र ‘फिनरि’ पदको सार्थकता देखिँदैन । यस्तै दोस्रो अनुच्छेदमा आएका ‘बाड बस्यो बाउन्ने, गाड बस्यो गडुवाले’ जस्ता पदको रोपाइँसँग कुनै सम्बन्ध देखिँदैन भने ‘बियाँ बास्यो बियाँ’ पलावली केवल अन्त्यानुप्रास मिलाउन मात्रै आएको देखिन्छ । यीबाहेक अरू पद र पदावलीहरू अछाम जिल्लामा बोलिने नेपाली भाषाबाट प्रभावित देखिन्छन् । यसमा आएका सेरो (गैरी खेत), असाड (असार), मइना (मइना), बाइजान (जानै÷बित्नै लाग्यो), बौजु (भाउजू), गाड (गडगडाएर बग्ने ठुलो खोलो), रोप्न्यारी÷ रोप्नेरी (रोपार्नी), बाउसे (खेताला), जिया (बाँचे), धानकी (धानकी), रह्या (रहे), बल्ल (गोरु), दाइनी (अनुकूल), भयेइ (भएस्) जस्ता शब्दहरू नेपाली भाषाभन्दा भिन्न अछामी जनजीवन अनुरूपका देखिन्छन् । यस गीतले रोपाइँ गराका अवस्थाको वर्णन र त्यसमा संलग्नहरूलाई आशीष प्रदान गर्ने काम गरेको छ । यसबाट अछाम जिल्लामा प्रचलित रोपाइँ गीतहरूमध्ये ‘ओहोरी’ गीत पनि एउटा महत्त्वपूर्ण भेद भएको प्रमाणित हुन्छ । हुड्केले पर्व, उत्सव र समारोहहरूको अन्तमा आसिकी (आशीर्वादात्मक गीत) गाउने परम्परा जस्तै ‘ओहोरी’ रोपाइँ गीतको अन्तमा पनि त्यस्तै शैली पाइनाले यसमा आसिकीको प्रभाव परेको देखिन्छ । आशीर्वाद आफूभन्दा ठुला मान्यजनले दिने वचन र व्यवहार हो भने ‘आसिकी’ दमाई जातिले हुड्को बजाएर व्यक्त गर्ने गरिन्छ । सोही आसिकी गीतको प्रभाव प्रस्तुत ‘ओहोरी’ रोपाइँ गीतमा पनि परेको देखिन्छ ।
निष्कर्ष
‘ओहोरी’ गीतको सम्पादन शीर्षकको प्रस्तुत लेखमा ‘ओहोरी’ गीतको सम्पादन सिद्धान्तका आधारमा अध्ययन गर्नु’ प्रमुख उद्देश्य लिई ‘ओहोरी’ गीत कसरी सम्पादन गरिएको हुन्छ’ भन्ने समस्यालाई लिएर अध्ययन गरिएको छ । यसमा गुणात्मक ढाँचा अवलम्बन गरी अवलोकन तथा कृतिबाट प्राप्त तथ्यकोे विश्लेषण गरी निष्कर्ष निकालिएको छ । सोद्देश्यमूलक नमुना छनोट पद्धतिका आधारमा अछाम जिल्लामा पाइने ‘ओहोरी’ लोकगीत चयन गरी सम्पादन सिद्धान्तका आधारमा यसको वर्णन, तुलना र त्यसको पुष्टिका लागि उदाहरण दिई विश्लेषण गरेर निष्कर्षमा पुग्ने काम गरिएको छ । ‘ओहोरी’ रोपाइँ गीतको सम्पादनमूलक अध्ययनले यसको शीर्षक, परिचय, मूलपाठ, सारसङ्क्षेप र भाषिक विशेषताहरू के कस्ता छन् भन्ने कुरा देखाइएको छ । लोकगीतको प्रकृति र स्वरूपअनुसार कुनै शब्दलाई नै शीर्षक बनाएर राख्ने गरिएको पाइन्छ । यसमा ‘ओहोरी’ गीतलाई नै शीर्षक मानेर अध्ययन गरिएको छ । सबै प्रकारका ‘ओहोरी’ गीत असारको महिनामा रोपाइँको अवसर पारेर रोपाइँ गरामै गई दमाइँ जातिले हुड्को बजाएर गाउने प्रचलन रहेको हुँदा प्रसङ्ग एउटै हुन्छ तर त्यसमा प्रयोग गरिने विषयवस्तु, त्यसको भाषा र संरचनामा भिन्नता हुन्छ । सम्पादनकर्ताको स्मरण क्षमता, ओहोरी गीत गाउँदाको अवस्था, उसका सहयोगीहरू, गीत गाएबापत् प्राप्त हुने उपहारका वस्तुहरू, सम्पादनकर्ताको सिर्जनशीलताले विषयवस्तु र संरचनामा भिन्नता देखिन्छ । सामान्यतया सबै ‘ओहोरी’ गीतमा रोप्न्यारी र बाउसेहरूलाई उत्साह र मनोरञ्जन प्रदान गर्ने उद्देश्यले रोपाइँ आरम्भ भएदेखि रोपाइँ समापन नहोउन्जेलसम्मको अवस्थाका बारेमा वर्णन गरी अन्तमा आशीष दिने गरिएको छ । यस्तो अवस्थामा रोप्न्यारी र बाउसेका आलस्यको अन्त्य गरी उनीहरूलाई कर्मशील बनिरहने उत्साह र मनोरञ्जन प्रदान गर्ने हुँदा श्रमबाट हुने थकानको कमी हुनसक्ने कुरा प्रस्तुत अध्ययनले देखाएको छ । यसबाट सम्पादन सिद्धान्तको उपयोग गरी श्रम गीतअन्तर्गतका ‘ओहोरी’ रोपाइँ गीतको विश्लेषण गर्न सकिने कुरा प्रस्तुत अध्ययनबाट स्पष्ट भएको छ ।
सन्दर्भ सामग्रीसूची
घोडासैनी, खगेन्द्र (२०६८). ‘धरम्पुवाडोको सम्पादनमूलक अध्ययन’, प्रज्ञाचक्षु, अङ्क– ९, पृ. ६–९ ।
घोडासैनी, खगेन्द्र (२०६९). ‘मृत्युगीतको सम्पादनमूलक अध्ययन’, हैमप्रभा, अङ्क– १४, पृ. ९९–१०४ ।
घोडासैनी, खगेन्द्र (२०७०). ‘हवाइ’ लोकमन्त्रको सम्पदानमूलक अध्ययन’, लोक संस्कृति ९, १÷१५, पृ. ५७–६४ ।
घोडासैनी, खगेन्द्र (२०७७). अछामी गालीको अध्ययन, (दो.सं.), सनलाइट प्रकाशन ।
घोडासैनी, खगेन्द्र (२०७७). ‘दमाईं जातिले गाउने अछामी लोकगीत’ जैमिनीय मञ्च, लम्की, कैलालीको
अनुसन्धान समितिसमक्ष प्रस्तुत लघु अनुसन्धान प्रतिवेदन ।
त्रिपाठी, वासुदेव र अन्य (२०५५). (सम्पा.) नेपाली बृहत् शब्दकोश, (चौ.सं.).  नेपाल प्रज्ञा प्रतिष्ठान ।
बन्धु, चूडामणि (२०५८). नेपाली लोकसाहित्य, थापाथली. एकता बुक्स ।
बन्धु, चूडामणि (२०५९). ‘क्षेत्रकार्य र सम्पदान सिद्धान्त’, नेपालीसंस्कृति, विशेषाङ्क, पृ. १६–२४ ।
बन्धु, चूडामणि (२०६५). अनुसन्धान तथा प्रतिवेदन लेखन. एकता बुक्स ।
‘ओहोरी’ लोक गीतका स्रोत व्यक्ति : गोपालसिंह आहुजी र पद्मे आहुजी– पञ्चदेवल नगरपालिका वडा नं. १, विनायक, गैरीगाउँ, अछाम, सुदूरपश्चिम प्रदेश ।

(नोट : प्रस्तुत लेख टीकापुर प्राज्ञिक समाजको मुखपत्र 'प्रज्ञाचक्षु', अङ्क– १२, पृ. २५–२९, २०७१ सालमा प्रकाशित भएको छ । यसमा त्यसको परिमार्जन गरेर प्रस्तुत गरिएको छ ।)

Post a Comment

1 Comments
  1. राम्राे र गहन अनुसन्धानमूलक लेख । बधाई छ सर !

    ReplyDelete
Post a Comment

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top