Sashidhar Das, a devotee of Nirguna Brahma (निर्गुण बह्मका उपासक सन्तकवि शशिधर)

Dr.Khagendra Ghodasaini
0


डा. खगेन्द्र घोडासैनी
सारसङ्क्षेप : प्रस्तुत लेख निर्गुण ब्रह्मको उपासना गर्ने जोसमनी सन्तपरम्पराका कवि शशिधरको ‘सच्चिदानन्द लहरी’ खण्डकाव्यको विवेचनामा केन्द्रित छ । यस परम्पराका कविहरू निर्गुण ब्रह्मको उपासनामा जोड दिन्छन् जुन कुरा उपनिषद्सँग नजिक देखिन्छ । उपनिषद् र जोसमनी सन्तमतले ईश्वरको निर्गुण, निराकार अस्तित्व स्वीकार गरेका छन् । यिनमा ईश्वरको खोजी बाह्य संसारमा नभई आफैंभित्र गर्न प्रेरित गरिएको छ । ईश्वर भौतिक रूपमा प्राप्त हुने वस्तु नभई अनुभूतिजन्य विषय हो । यस्तो अनुभूति गुरुको आज्ञानुसार साधना र अभ्यास गर्नाले हुन्छ तर अन्धागुरु र पण्डितहरू ईश्वरलाई बाहिरतिर खोज्न र आफ्नो पूजा गराउनमै व्यस्त छन् । उनीहरू आफैँले त केही पाएका छैनन् भने अरूलाई के देलान् ? संसारमा अनेक मत छन् ती मतका पछि नलागेर ईश्वरको मतमा लाग्नुपर्छ त्यो नै अन्तिम मत हो । मतहरूले सत्यलाई लुकाएर असत्यमा अल्झाइदिन्छन् । त्यसैले ईश्वरको प्राप्ति तीर्थ, व्रत, पूजा, पाठ जस्ता बाहिरी कर्म गरेर तथा पुराण र कुरानको अध्ययनबाट नभई सतगुरुको उपदेशअनुसार योग वा साधना गर्नाले आफैंभित्र हुन्छ भन्ने निष्कर्ष यस लेखमा निकालिएको छ ।
शब्दकुञ्जी : जोसमनी, गुरु, ब्रह्मज्ञान, ईश्वर, भक्ति ।
विषय परिचय
प्राथमिक कालीन नेपाली कवितामा मुख्यतः वीर र भक्ति भावनाको चित्रण गरिएको छ । भक्तिधारा सगुण र निर्गुणमा विभाजित छ । निर्गुण भक्तिधाराका कविहरू जोसमनी सन्तपरम्परामा आबद्ध छन् । यो नेपाली कविताका प्राथमिक कालको मौलिक धारा हो । यस धाराका कवितामा गुरु महिमा, जीवन र जगत् तथा सामाजिक पक्षको चित्रण गरिएको छ । यस लेखमा ‘जोसमनी सन्तमत र उपदिषद्का आध्यात्मिक चिन्तनमा समानता छ’ भन्ने विषयलाई प्रमुख प्राक्कल्पना बनाइएको छ । यसका लागि श्वेताश्वरोपनिषद्, ईशावास्योपनिषद् र मुण्डकोपनिषद्‍मा प्रतिपादित निर्गुण, निराकार ईश्वरका विषयमा उल्लेख गरिएका विचारहरूको खोजी गर्ने प्रयास गरिएको छ । उपनिषद्‍मा ईश्वरको अस्तित्व स्वीकार गरिएको छ तर त्यो इन्द्रिय गोचर छैन, अगोचर, अजन्मा, निर्गुण र निराकार रहेको उल्लेख छ । जोसमनी सन्तमतले पनि ईश्वरलाई निर्गुण ब्रह्म मानेको छ । ईश्वरसँग साक्षात्कार गर्न गुरुको शरणमा जानुपर्छ । गुरुले बताएअनुसार आफैंभित्र अभ्यास गरेमा ईश्वरको अनुभूति हुन्छ भन्ने कुरालाई उपनिषद् र जोसमनी सन्तमतमा उल्लेख गरिएको छ । उपनिषद् र जोसमनी सन्तका रचनाहरूमा पाइने समानताहरूको खोजी भएको पाइँदैन । त्यसैले ईश्वरका विषयमा उपनिषद् र जोसमनी सन्तमतमा के कस्ता समानता छन् भन्ने कुरालाई समस्या मानी प्रस्तुत लेख तयार पारिएको छ ।
अध्ययन विधि
यस अध्ययनमा निम्नानुसारको अध्ययन विधि अवलम्बन गरिएको छ :
अध्ययनको ढाँचा : यो गुणात्मक ढाँचाको अध्ययन हो । यसमा विषयवस्तुको विश्लेषण गरी निष्कर्षमा पुग्ने काम गरिएको छ ।
सहभागी र नमुना छनोट : जोसमनी सन्तपरम्परामा हालसम्म उन्नाइस जना सन्तकविको उल्लेख पाइन्छ । ती सबै सन्तकविहरूलाई प्रस्तुत अध्ययनमा सहभागीका रूपमा परिभाषित गरिएको छ । यसका लागि सम्भावनारहित नमुना छनोट पद्धतिअन्तर्गतको उद्देश्यमूलक नमुना छनोटपद्धतिका आधारमा जोसमनी सन्तपरम्पराका प्रवर्तक कवि शशिधरका रचनाहरूमध्ये उनको ‘सच्चिदानन्द लहरी’ खण्डकाव्यको छनोट गरिएको छ ।
तथ्य सङ्कलन : प्रस्तुत अध्ययनमा जोसमनी सन्तका कविता र यसको विषयवस्तुसँग सम्बन्धित विभिन्न कृति र लेखहरूलाई आधार बनाएर तथ्य सङ्कलन गरिएको छ ।
तथ्य सङ्कलनका साधन : यस अध्ययनमा प्राथमिक र द्वितीय स्रोतका विभिन्न प्रकाशित पुस्तक, पत्रिका र लेखजस्ता दस्तावेजको उपयोग गरिएको छ । त्यसैले यसमा प्रकाशित दस्तावेजमा प्राप्त तथ्यको विश्लेषण गरी निष्कर्ष निल्काने प्रयास गरिएको छ ।
तथ्य विश्लेषण प्रक्रिया : प्राप्त तथ्यको वर्णन, तुलना र त्यसको पुष्टिका लागि उदाहरणसमेत दिई विश्लेषण गरेर निष्कर्षमा पुग्ने काम गरिएको छ ।
जोसमनी मतको सैद्धान्तिक आधार
जोसमनी मत मूलतः उपनिषद्‍बाट प्रभावित छ । उपनिषद्को अर्थ गुरुको समीपमा बसेर ईश्वर प्राप्त गर्ने उपाय र साधनको अभ्यास गर्नु हो, यसबाट अध्यात्मविद्या वा पराविद्याको प्राप्ति हुन्छ (शर्मा, २०५६, पृ.४२) । जुन कुरा जोसमनी मतमा पनि लागु हुन्छ । श्वेताश्वरोपनिषद्‍मा भनिएको छ- ईश्वर सर्वज्ञ, अजन्मा, अनादि, अनन्त र सर्वशक्तिमान् छन् (गोयन्दका, २०६८, पृ.११५) । उनी एउटै छन् । सम्पूर्ण प्राणीहरूको अन्तर्हृदयमा छन्, सर्वव्यापक र सम्पूर्ण प्राणीहरूका भित्र छन् । उनी सबैलाई चेतना दिने निर्गुण छन् (गोयन्दका, २०६८, पृ.४८४) । परमेश्वर र गुरुप्रति जसको समान रूपले अनन्य विश्वास र भक्ति छ उसैको हृदयमा परमेश्वर प्रकट हुन्छन् (गोयन्दका, २०६८, पृ.४९५) । यस्ता परमात्मालाई कसैले पनि न माथि, न वरपर, न बिचमा पक्डिन सक्छ किनभने उनी सर्वथा अग्राह्य र प्रतिमारहित छन् (गोयन्दका, २०६८, पृ.४६१) । परमेश्वर शरीररहित, जगत्‌को उत्पत्ति र विनाश गर्नेवाला हुन् । यति हुँदाहुँदै पनि आनन्दमय परमेश्वरलाई श्रद्धा, भक्ति र प्रेमबाट प्राप्त गर्न सकिन्छ (गोयन्दका, २०६८, पृ.४७६) ।
ईशावास्योपनिषद्‍मा भनिएको छ- सम्पूर्ण संसारमा जेजति वस्तु हामी देख्छौं यी सबैलाई ईश्वरले ढाकिएको वा व्याप्त छ । यहाँका वस्तुहरूको भोग गर्दा परमात्मालाई सम्झेर अरू वस्तुहरू बिर्सिनुपर्छ, तिनमा आशक्ति देखाउनुहुँदैन किनभने तिनले अन्तः कालमा कसैलाई पनि साथ दिँदैनन् (गोयन्दका, २०६८, पृ.२) । मुण्डकोपनिषद्‌मा परमात्माको स्वरूप पनि बताइएको छ । परमेश्वर सर्वशक्तिमान्, सर्वज्ञ, सर्वव्यापी तथा प्रकाश स्वरूप छन् । उनी सम्पूर्ण प्राणीहरूका अन्तर्हृदयमा बस्दछन् । उनी सबैका आश्रय हुन् । उनी प्राणीहरूको बुद्धिले जान्न नसकिने तर सबैद्वारा वरण गर्न योग्य र श्रेष्ठ छन् (गोयन्दका, २०६८, पृ.२३१) । परब्रह्म परमेश्वर सर्वज्ञ, सबैका आत्मा हुन्, उनी परमेव्योमन् नामले प्रसिद्ध छन् । उनी दिव्य आकाश, मन र प्रत्येक प्राणीहरूको अन्तर्हृदयमा प्रतिष्ठित छन् । बुद्धिमान् मनुष्य विशेष ज्ञानद्वारा उनलाई सजिलो तरिकाले आफ्नाभित्र प्रत्यक्ष गर्दछन् । उनी आनन्दमय अविनाशी रूपले सर्वत्र प्रकाशित छन् (गोयन्दका, २०६८, पृ.२३६) ।
उपनिषद्का यी मान्यतासँग जोसमनी मत पनि सहमत देखिन्छ । जोसमनी मतले पनि ईश्वरलाई निगुर्ण निराकार र ज्योतिस्वरूप मान्दछ । यसमा गुरुलाई ईश्वरको प्रतीकस्वरूप मानिएको छ । गुरु र ईश्वरमा अन्तर छैन, साकार र निराकारको भेद मात्रै हो । त्यसैले जोसमनी मतको सैद्धान्तिक आधार उपनिषद्द्वारा प्रतिपादित ईश्वरको स्वरूप र ईश्वर प्राप्तिको साधनका बिच समानता देखिन्छ ।
‘जोस्मणी’ शब्दको सर्वप्रथम प्रयोग सन्त शशिधरका रचनामा पाइन्छ । यसको व्युत्पत्ति ‘ज्योतिर्मनी, ज्योतिष्मनी हुँदै जोस्मनीबाट जोसमनी गरिएको छ । त्यसैले यो ‘ज्योतिर्मनी’ को अपभ्रंश भई जोसमनी भएको हुन सक्ने अनुमान गरिएको छ (पाण्डे, १९७०, पृ.६) । यस परम्पराका सन्तहरूले ज्योतिलाई महत्त्व दिई ईश्वरलाई ज्योति वा प्रकाश स्वरूप मान्ने हुँदा यो व्युत्पित्ति उपयुक्त पनि देखिन्छ (शर्मा, २०६०, पृ.२१३) । जोसमनी नामक कुनै सन्तको अस्तित्व फेला पर्दैन । शशिधर पूर्व यस मतका हरिश्चच्द्र (प्रथम), हरिभक्त (प्रथम), हरिश्चन्द्र (द्वितीय), धिर्जेदिल दास र हरिश्चन्द्र (द्वितीय) गरी पाँचजना सन्तको नाम उल्लेख छ (शर्मा, २०५२, पृ.३९२) । यस मतका आदि प्रवर्तकको नाम ‘जोसमनी’ हुन सक्ने (शर्मा, २०५२, पृ.५) भनिए पनि ‘जोसमनी’ शब्दको सर्व प्रथम प्रयोग शशिधर स्वयंले “आदिगुरु नाम शशिधर भेष नाम जोस्मणी” (शर्मा, २०५२, पृ.१५३) भनी उल्लेख गरेका छन् । शशिधरको यसै भनाइलाई लिएर जोसमनीका अनुयायीहरू उनलाई आदिगुरु मान्दछन् । अरू प्रमाणको अभाव र शशिधरको भनाइलाई आधार बनाएर जोसमनी मतको आरम्भ शशिधरबाटै भएको हो भन्ने मत पनि पाइन्छ (पाण्डे, १९७०, पृ.९३) । पहिला रचनाकारको रूपमा भने जोसमनी सम्प्रदायका चौथा गुरु धिर्जेदिल दास देखिन्छन् । उनको एउटा मात्रै ‘निर्गुण भजन’ पाइन्छ । उनी पूर्व अरूका रचना उपलब्ध छैनन् ।
शशिधरले आफ्नो जीवन कालमा केही समय बिहारका सन्त दरियाको पनि संगत गरेका थिए । शशिधरका रचनामा कबिर, दरिया र महाप्रभु चैतन्यको पनि प्रभाव पाइन्छ (शर्मा, २०५२, पृ.१४) । “दरिया साहेबको जन्मस्थान हुनाका कारण बिहार दरियापन्थी साधुहरूको प्रमुख केन्द्र थियो । बिहार, उत्तर प्रदेश र नेपालमा सबै गरी १५० दरियापन्थी मठ छन्” (उपाध्याय, २०१०, पृ.२६-२७) । यसबाट शशिधरको सम्बन्ध दरिया साहेबसँग पनि भएको देखिन्छ । दरियापन्थी साहित्यमा सन्त दरियालाई सत् पुरुषका पुत्र (अंश) ‘जोगजीत’ भनिएको छ (उपाध्याय, २०१०, पृ.२६-२७) । जोसमनी मतका अनुयायीहरूको भिक्षा माग्ने मूलमन्त्रमा ‘जागोनाम’ पद प्रयोग भएको पाइन्छ (शर्मा, २०५२, पृ.१६) । यो ‘जोगजीत’ शब्दकै अनुकरणका रूपमा पनि शशिधरले ‘जागोनाम’ र ‘जोस्मणी’ शब्दको प्रयोग गरेका हुन सक्छन् । दरिया साहेबलाई कबिरपछिका ठुला हठयोगी, रहस्यवादी कवि र समाज सुधारक भनिएको छ । यसैले शशिधर पनि उनको संगतबाट जातपात, कर्मकाण्ड तथा बाह्य आडम्बरका विरोधि देखिए (शर्मा, २०५२, पृ.७) ।
यस सम्प्रदायमा पुरुष सन्तको नामका पछाडि दिल वा दिलदास र नारी सन्तको नामका पछाडि दिलमाई जोड्ने परम्परा पाइन्छ (शर्मा, २०६१, पृ.३८) । ‘दिल’को समानार्थक शब्द ‘मन’ हो । निर्गुण भक्तिमा ईश्वरलाई मन वा हृदयभित्र खोज्ने हुनाले नामबाटै यसको सङ्केत गर्न खोजिएको हुन सक्छ । जोसमनी सन्तका रचनाहरूमा जातिप्रथा, कर्मकाण्ड, अवतारवाद तथा धार्मिक रूपमा गरिने बाह्य आडम्बर र पाखण्डको विरोध गरी निर्गुण निराकार ईश्वरको उपासना गर्नु जीवनको मुख्य उद्देश्य हो भन्ने कुरा व्यक्त गरिएको पाइन्छ । हिन्दी, व्रज र मैथिली भाषाको समिश्रणबाट एक प्रकारको ‘सधुक्कडी’ बनेको छ (भण्डारी, २०५३, पृ.२३३) । नेपाली सन्तकविहरूले विशुद्ध नेपाली भाषामा नलेखी यही ‘सधुक्कडी’ भाषाको प्रयोग गरेका छन् । विशुद्ध नेपालीमा कविता लेख्ने सन्तकविहरू थोरै छन् । ‘सधुक्कडी’ भाषा त्यति आकर्षक छैन तर यिनमा व्यक्त विचार र भाव महत्त्वपूर्ण छ । भाषा जस्तो भए पनि अभिव्यक्ति सरल, सहज र स्वाभाविक छ (शर्मा, २०६०, पृ.२१५) । जोसमनी सन्त कविताको विपुलराशि ‘सधुक्कडी’ भाषामा छ, त्यसका विपरीत नेपाली भाषामा थोरै सन्तहरूले कविता रचेका छन् । शशिधर, अगम दिल दास, अखड्दिल दास र ज्ञानदिल दासले नेपाली भाषामा कविता रचेका छन् (शर्मा, २०६०, पृ.२१५) । यीमध्ये शशिधरले नेपाली, संस्कृत र सधुक्कडी भाषामा सन्त कविता लेखेका छन् । यिनका कवितामा काव्यतत्त्वका साथै आध्यात्मिक चिन्तन र दार्शनिकता पाइन्छ ।
छलफल र विश्लेषण
जोसमनी सन्तकवि शशिधर निर्गुण बह्मको उपासना गर्दछन् । उनले कस्तो विषयवस्तुलाई आफ्ना रचनामा बढी जोड दिएका छन् भन्ने कुराका लागि सन्त कविताका प्रवृत्तिहरू औंल्याएर त्यसमा आधारित विषयवस्तुको छलफल र विश्लेषण गर्ने कार्य निम्नलिखित रूपमा गरिएको छ :
सन्त कविताका प्रवृत्तिहरू
जोसमनी सन्तकविका रचनाहरू भजन, उपदेश, नीति, मार्ग दर्शन र दार्शनिक विचारसँग सम्बन्धित छन् । उनीहरूले आफ्ना रचनामा गुरुलाई ठुलो महत्त्व दिएका छन् । गुरुबिना ज्ञान नहुने हुँदा उनीहरूका लागि गुरु सर्वोच्च पद हो । उनीहरू “गुरुको सेवा नै ईश्वरको सेवा हो” भन्ने ठान्दछन् । गुरुको कृपास्वरूप अनुभूतिका रूपमा ईश्वर प्राप्ति हुन्छ । उनीहरू अन्धविश्वास र बाहिरी आडम्बरलाई मान्दैनन् । उनीहरू गृहस्थ र त्यागी जेसुकै भए पनि समाजबाट निरपेक्ष भएर बस्दैनन् । समाजलाई अन्धविश्वास, रुढी र जडताबाट मुक्त राखी अन्यायको निर्भिकतापूर्वक विरोध गर्न प्रेरित गर्दछन् (लामिछाने, २०६२, पृ.३५) । परम्परागत आडम्बर र त्यस्ता पुराना मान्यता र अन्धविश्वासप्रति जोसमनी सन्तहरू ठुलो वैरभाव राख्दछन् । उनीहरूलाई धन सञ्चय र सत्ताको लोभ हुँदैन, त्यसैले उनीहरू चित्त नबुझेको कुरामा विरोध गर्न तत्पर देखिन्छन् (भण्डारी, २०५३, पृ.२३२) । जोसमनी सन्तकविहरूका दृष्टिमा शासक र शासित एउटै हो । गुरु र परमात्मा ठुला हुन् । उनका अगाडि झुक्नुपर्छ तर अरू सबै समान छन्, तिनका अगाडि झुक्नु आवश्यक छैन । आफूलाई चित्त नबुझेको कुरा भन्ने गर्छन् । उनीहरूलाई ऐन, कानुन, शक्तिको धम्की र परम्पराले तर्साउन सक्दैन र तिनका प्रभाव र बहकाउमा नबहकिने प्रकृतिका हुन्छन् । उनीहरू तार्किक, सत्य, सङ्गतियुक्त र यथार्थ पक्षको खोजी गर्छन् (भण्डारी, २०५३, पृ.२३२) । घर परिवारमै सन्तोष र संयमपूर्वक जीवन व्यतित गर्दै सम्पूर्ण प्राणीमा समभाव राख्नुपर्छ । अहंकारको परित्याग गरी गुरुको उपदेशअनुसार भक्ति साधना गर्नुपर्छ भन्ने कुरा जोसमनी सन्तकविका रचनामा पाइने मुख्य प्रवृत्ति हुन् (लामिछाने, २०६२, पृ.३५-३६) । यिनै मुख्य विशेषताका आधार जोसमनी सन्तकविका कवितामा पाइने साझा प्रवृत्तिका आधारमा यिनका कविताको अध्ययन गर्न सकिन्छ ।
सन्तकवि शशिधर
शशिधरको जन्म नेपालको अर्घाखाँची जिल्लामा पर्ने अर्घा गाउँमा वि.सं. १८०४ मा भएको थियो । उनी मरासिनी बाहुन परिवारमा जन्मेका थिए । उनको परलोक गमन वि.सं. १९०६ मा भएको थियो । उनी १२/१३ वर्षको उमेरमा गाउँले तीर्थालुहरूसँग भारतको उडिसास्थित जगन्नाथ गएका थिए । उनले ११ वर्षसम्म त्यहीँ बसी चौरासी सिद्ध, चैतन्य महाप्रभुको वैष्णव सम्प्रदायको अध्ययन गरे । उनले केही समय बिहारका सन्त दरियाको पनि संगत गरे । यो कुरा उनका रचनाबाट पनि जानकारी हुन्छ (शर्मा, २०५२, पृ.६-७) । शशिधर सानैदेखि तीक्ष्ण बुद्धिका र साहसी थिए । उनमा भारतीय अरू सन्तको पनि प्रभाव देखिन्छ । भारतबाट फर्किएपछि उनले काठमाडौंको विष्णुमती र शिवपुरीमा आएर बसेपछि उनको प्रभावबारे जनतादेखि शासकसम्म खबर पुग्यो । पृथ्वीनारायण शाह पनि उनका चेला भए । उनले आफ्ना मगर, गुरुङ, सुनुवार र बाहुन जातिका चार चेलालाई शिष्य बनाएर जोसमनी मतको प्रचारका लागि चारै दिशातिर पठाए । वि.सं. १८३१ मा पृथ्वीनारायण शाहको निधन भएपछि उनी पश्चिम नेपालको गुल्मी जिल्लामा पर्ने रेसुङ्गामा आएर बस्न थाले । उनले आफ्नो जीवन कालमा शिष्यलाई सम्झाउन विभिन्न सन्त कविताको रचना गरेका छन् । उनका अधिकांश रचनाहरू ‘जोसमनी सन्तपरम्परा र साहित्य’मा छापिएका छन् भने बाणोपदिषद् छुट्टै प्रकाशित छ । उनका सम्पूर्ण रचनाहरू शुद्ध नेपाली, सधुक्कडी नेपाली र संस्कृत भाषामा लेखिएका छन् । उनको वैराग्यांवर शुद्ध नेपालीमा छ भने (क) सच्चिदानन्द लहरी, (ख) पाखण्डखण्ड अखण्ड, (ग) गुरुपन्जा (घ) र भनज संग्रह सधुक्कडीमा छन् । (क) तत्त्वगीता, (ख) अजपगीता र (ग) बाणोपदिषद् संस्कृत भाषामा छन् ।
शशिधरको युवावस्था उडिसा र बिहारमा बित्यो जहाँ उनले ज्ञान र योग हासिल गरे । उनी विवाहित थिए । उनका छोराको नाम लक्ष्मीनारायण हो । शशिधर जोसमनी मतमा कहिले, कहाँ कसरी दीक्षित भए भन्नेबारे कुनै जानकारी पाइँदैन । जोसमनी सन्तपरम्पराको तालिकाबाट उनका गुरु सन्त हरिभक्त दिल (द्वितीय) रहेको बुझिन्छ । अर्कातिर उनी पूर्व सन्त धिर्जेदिल दासको एउटा रचना पनि फेला परेकाले उनी नै जोसमनी मतका प्रवर्तक हुन् भन्न मिल्दैन तर यसलाई संस्थागत गरेर प्रचार गर्ने काम भने उनैले गरेको देखिन्छ ।
‘सच्चिदानन्द लहरी’ खण्ड काव्यको सन्देश
यो काव्य जम्मा १८ ओटा खण्डमा लेखिएको छ । यसमा सधुक्कडी भाषाको प्रयोग गरिए पनि कतै कतै विभक्ति, क्रिया र केही शब्द नेपाली भाषाका पनि छन् । सधुक्कडी भाषालाई जोसमनी सन्तपरम्पराका कविहरूले कविता लेखनको माध्यम भाषा बनाएका छन् । ‘सच्चिदानन्द लहरी’ काव्यमा नेपाली भाषामा अप्रचलित तुक बन्दीयुक्त लयको प्रयोग गरिएको छ । दसौँ शब्दमा भने ‘राग बेलहरा’ लेखिएको पाइन्छ । प्रत्येक खण्डलाई यसमा शब्द भनिएको छ । धेरै जसो शब्दका अन्तमा ‘दोहा’ लयको प्रयोग गरिएको छ । पहिलो खण्ड गुरु शब्दबाट आरम्भ गरिएको छ । प्रत्येक खण्डका शीर्षक, श्लोक सङ्ख्या र दोहा सङ्ख्यालाई यसरी उल्लेख गर्न सकिन्छ :

यसरी प्रस्तुत काव्य १८ ओटा खण्ड तथा ३९५ श्लोक र ४१ ओटा दोहा गरी जम्मा ४३६ श्लोक तथा ३४ पृष्ठमा संरचित छ । शशिधरले आफैँ काव्यमा ‘सच्चिदानन्द लहरी याको नाउँ, जो चेति समावै पहुँचै वहि ठाउँ’ (सच्चिदानन्द लहरी, पृ.१३९) भनेका हुनाले यो उनैले लेखेको स्पष्ट हुन्छ । तर यसको लेखन कहिले भयो त्यसको जानकारी पाइँदैन । यसको प्रकाशन भने २०२० सालमा मात्रै भएको देखिन्छ । यस काव्यलाई गुरु महिमा, गुरु ज्ञानका दाता, गुरुको ध्यानबाट ईश्वरको अनुभव, सतगुरु नै परमात्मा, आत्मा, परमात्माको धाम, आनन्दको साधन, ईश्वर सर्व व्यापक, ईश्वर एक, ईश्वरको वासस्थान, ईश्वर अखण्डित, ईश्वरको प्राप्ति कठिन, शब्दको महिमा, असली शब्द, नामको महिमा, मन र माया, मनको सफाइ, भेष धारण, अन्धा गुरु, अन्धा शिष्य, मानिस मतको सिकार, रीतिथिति नै धर्म होइन र सन्तकविको नम्रता जस्ता शीर्षकहरूमा निम्नलिखित रूपमा समीक्षा गरिएको छ :
गुरु महिमा
सच्चिदानन्द लहरी काव्यको पहिलो खण्ड ‘गुरु शब्द’ शीर्षकमा छ । यसबाहेक अरू खण्डमा पनि गुरु महिमा, गुरुको आवश्यकता र महत्त्वबारे प्रकाश पारिएको छ । काव्यारम्भ यसरी गरिएको छ :
ॐ आदिगुरु सत् । ॐ अनादिगुरु सत् । ॐ आपे भगवान् सच्चिदानन्द सत् ।
जेतो राम भगत हो गए सत् । उनके कृपासैं रहवल सत् (सच्चिदानन्द लहरी, पृष्ट १०५) ।
यसमा आदि, अनादि, भगनान्, सच्चिदानन्द, रामका भक्तका रूपमा गुरुको महिमा गरेर उनकै कृपा र सत्‌द्वारा हामी सबैको अस्तित्व रहेको कुरा बताइएको छ । गुरु शब्द सच्चिदानन्द लहरी काव्यको आत्मा हो । आफूले त्यसको वर्णन गरी यसबाट वैराग्य धारण गरेको अनि परमात्माका नामको गायन गर्न लागेको कुरा शशिधरले यसरी बताएका छन् :
गुरु शब्द सच्चिदानन्द लहरी आत्मामै कहि जाऊँ, वैराग विवेक गोविन्द फेरिफेरि गाऊँ (सल, पृ.१०५) ।
आफ्ना ११ ओटा गुरुमध्ये आमाबुबालाई उनले पहिलो गुरु मानेका छन् भने नवौँ गुरुलाई झुसिल्किरासँग तुलना गरेका छन् । जसले कठिन तपस्या गरेर धैर्यपूर्वक शरीर बदल्छन् । झुसिल्किरा संसारतर्फ फैलिएको मैलो आत्माको प्रतीक हो जुन विषय विकारमा फसेको छ । यस्तो शरीर बदलेर पुतली जस्तो सफा भई संसारको मैलो छोड्न सक्ने गुरुदेखेपछि आफ्नो मनमा दृढ विश्वास पलाएको कुरा यसमा बताइएको छ :
पहिले गुरु मेरे मातापिता
 
नमहुँ गुरु मेरे झुसिल् किरा, दृढ तप करि तन बदले अतिधीरा
ओहितन बदलि पुतली होई उडी जाई, यहि चरित्र देषि(खि) मेरे परतीत आई (सल, पृ.१०५) ।
गुरुभक्ति चानचुने तरिकाले हुँदैन र असली गुरुसँग सजिलै भेट पनि हुँदैन । गुरु धारण गर्दा छलकपट परित्याग गर्नुपर्छ । गुरु आदिरूप, ब्रह्मका अवतार, ब्रह्म जस्तै हुन् । १२ वर्षसम्म पैदल हिँड्न सजिलो छ तर जन्मभरि घुमेर खोजे पनि गुरुलाई पाउन सकिँदैन । मनलाई स्थिर बनाएर एउटै आसनमा बसेर कसैकसैले मात्रै गुरुलाई प्राप्त गर्न सक्दछन् :
छलकपट छोडि गुरु करे गुरु है वहि आदिरूप
गुरु ब्रह्म औतार है गुण गुरु ब्रह्म अनूप
बाह्र वरस पंथा चलन सहज है जनमभर फिरे कोई
ईतो दृढासन वैठि अगमपन्थ गमकरी जावै विरला कोई (सल, पृ.१०६) ।
सतगुरु साहेब नै आमाबुबा र परमानन्द दिने दयाल हुन् । उनी एकमात्र यो संसार सागरबाट पार लगाउने समर्थ व्यक्ति हुन् । त्यसैले हे सतगुरु साहेब तिमी दीनका दयाल हौ । तिमी परमानन्द दिने कृपालु हौ । तिमी मेरा मातापिता र म तिम्रो बालक हुँ । तिमीले दिनदिनै लेखपढ गराएर निर्मल बनायौ । मेरो एउटै बिनती छ म हात जोडेर तिम्राअघि उभिएर भन्दै छु यो गहिरो र गम्भीर सागररूपी संसार म कसरी पार गरूँ । जसरी आमाबुबाले आफ्ना बालबच्चालाई सघाएर उनीहरू ठुला र समर्थ हुन्छन् त्यही उपाय गरेर मलाई सघाऊ र आफैँ संसार सागर तर्न सक्ने बनाइ देऊ भनी सन्तकविले सतगुरुसँग अनुरोध गरेका छन् :
तुमहि साहेब सतगुरु परमानन्द कृपाला, तुमहि साहेब सतगुरु मेरे मातपिता हम तुमरे बालकु
तुमहि पढाउ चिह्नाउ निरमल होइ दिनदिन झलकुँ, येकु बिनती मेरे स्वामी कर जोरी ठाडरहु तुम्हरे आगु
जे विधि मातापिता आफ्नु बाला सघाई, तब बाला समरथ होवै वही चाल चलाई
ते विधि चेताउ सघाउ समरथ कराइ देउ, जब समरथ होइउँ नित्त करिहुँउ सेउ (सल, पृ.१०७) ।
परमात्मालाई प्राप्त गर्न पक्का गुरुको मार्ग दर्शन आवश्यक हुन्छ :
मेरे साहेब पूल बधावा जाउँ आउँ खुसी राजी
ख्याउनिहारा कच्चा होई नैया टुटि कवहुँ डुबिजाई
मेरे पूल पक्का है आपे मालिक पार वार समाई (सल, पृ.१२५) ।
गुरु ज्ञानका दाता
अक्षरको केही मूल्य छैन तर तिनै अक्षरबाट वेद बनेका छन् । यस्तैगरी अमूल्य अर्थ जसले बुझ्दछ, उसले अण्ड र पिण्डको भेद पाउँछ । पारखीबिना हिरा कसैले चिन्दैनन्, नचिनेपछि हिरा पनि मूल्यहीन हुन्छ । अक्षर र हिराको महत्त्व बुझाउने पारखी भए जस्तै अण्ड र पिण्डको ज्ञान सज्जन अर्थात् गुरुबिना कसैले प्राप्त गर्न सक्दैन । यो कुरा जसले बुझ्दैन उसको बुद्धि हराएको छ । उसले बाटो बिराएको छ भनिएको छ । त्यसैले गुरु ज्ञानका दाता हुन् :
कौडीसरी अक्षर है लाख करोड जहाँ सें आए वेद
अमोल अर्थ जो बुझी समावै पावै अण्डपिण्डको भेद
पारखीबिना हीरा को पैचानै कौडीसरी तौन बिकाई
सज्जनबिना ज्ञान को बुझ मागर छोडी वहै मती हराई (सल, पृ. १०७) ।
गुरुको ध्यानबाट ईश्वरको अनुभव
शशिधरले गुरुको ध्यान गर्न जोड दिएका छन् । उनी भन्छन् यो संसारका सबै वस्तु पाँचतत्वले बनेका छन् । यी ध्यान र भक्तिका योग्य छैनन् । गुरुको शरणमा गएर उनको ध्यान गर्नाले आफैँभित्र परमात्माको अनुभूति हुन्छ :
पानी पीता धरती माता गुरु पवन अवनी साथी, सूर्यचन्द्र खेल खेलावै सिंचे पोखै दिनराती
इनु पाँचैके गुरु एकै ध्यान्, तनमन एक मिलावै आपे समावै परमान् (सल, पृ. १११) ।
ईश्वरसँग साक्षात्कार बच्चा जन्मे जस्तै र बिरुवा उमे्र जस्तै गरी समय आएपछि आफैँ हुन्छ । यसका लागि धैर्य धारण र एकाग्रता हुनु पर्छ :
जैसे नारि ऋतु राख गरभताई, बाला सिद्ध होवै आपे निकरि आई
 
जैसे अंबादि दल बोवै भाई,
आपे तेजसै जाला तोरै जैसे केते से बिरवा बनी आई
तैसे मति सांत राखै घटबिच अवर न चिताई (सल, पृ. १३३)
हाम्राभित्र शब्द छ, त्यो शब्द अक्षरातीत छ । गुरुको असली रूप पनि शब्द हो । त्यही शब्दले परमात्माको भेद बताउँछ :
अक्षर बोलै अक्षरै बुझि निअक्षर अक्षर गाई, शब्दै ताला शब्दै कुची शब्दै खोलि भेदपाई (सल, पृ. १३४) ।
वर्णात्मक नाममात्रै जप्नाले प्रभुप्राप्ति हुँदैन :
अक्षर जपि ओंकार नहि आई, दास शशिधर एक ओंकार गाउँ (सल, पृ. १३५) ।
जन्म र मृत्यु, पाप र पुन्यको पछि नलागि एउटै नामरूपी चाभी÷साधनबाट सम्पूर्ण ताला अर्थात् बन्धन फुकाउन सकिन्छ :
जनम मरन जीवन जीव समाउँ, पापन पुन्ये सुन्ने सुन्ने खेलाउँ
 
भेदको भेदी एकै कुचि, अनेक ताला खोलि जाउँ (सल, पृ. १३६) ।
संसारमा अनेकता छ । गुरुको नाममा एकता छ त्यसले सही बाटो दिन्छ । शब्द गुरुका माध्यमबाट भित्री मनमा चित्त जोड्नाले हरिसँग भेट हुन्छ :
आफै ब्रह्म बोलै बालिको बताउँ, जेता कहै तेता नाउँ
 
सब्द मध्य स्वरंकार गुरु है भाई, ताहेसै हरि मिलै हद्दधुनि गगनमै चित्तलाई (सल, पृ. १३६) ।
शशिधरले आफूले महापुरुषका विचारहरूलाई गाएको बताएका छन् । आफ्नो भनाइको डाली, पात, जरा, मूल केही नभएको हुँदा कसले बुझ्ला र ? जो ईश्वरको प्यारो छ, त्यस्तो बिरलाले बुझ्ने छ । जसले बुझेर त्यसको अभ्यास गर्ने छ त्यसलाई कालले खाँदैन भनेका छन् :
महापुरुषके भाषा आदि योग शशिधर गाई, डार पात जर मूलै नाहीं को बुझला भाई
बुझैं बिरला कोई वहि साहेबके लाल, जिन बिुझि समावै ताको खावै नहि काल (सल, पृ. १३७) ।
सतगुरु नै परमात्मा
शधिधरले सतगुरु परमात्माका रूप भएका हुनाले सतगुरु र परमात्मामा भिन्नता छैन भनेका छन् । उनी भन्छन्, हे सतगुरु ! तिमी पूर्ण ब्रह्म हौ र पूर्ण रूपमा सबै ठाउँमा छौ । तिमी मेरा अन्तर्मनमा बसेर आफैँ बोल्छौ । अरूले गाएर तिमी चित्तमा आउँदैनौ । तिमी आफैँ अन्तरयामी छौ । तिमीले संसार सागर तरि सकेका छौ त्यसैले तार्न सक्छौ । हे निरंकार तिमी आजमात्र संसारमा आएका होइनौ, तिमी त सधैँ, सनातनदेखि नै आएका छौ :
तुमही साहेब पूर्ण ब्रह्म पूरण छाई, तुमही साहेब मेरे घट बोले आपे समाई
केतने गाया मेरे चित्त नही आए स्वामी, तुमही आपे आफ अन्तरज्यामी
तुमही तरी हो गोसाईं तुमही तार, तँु सदा सनातन निरंकार (सल, पृ. १०७) ।
आत्मा
आत्मा थोपा हो परमात्मारूपी समुद्रमा थोपा मिसिएपछि उसको कुनै चिनारी रहँदैन भन्ने कुरा शशिधर यसरी व्यक्त गर्दछन् :
बुँदमा समुद्र समाए को काँहा बताउँ, आपे आफ समाये को कहै नाउँ (सल, पृ. १२४) ।
परमात्मा खोजेर भेटिँदैनन्, जसमा चेतना आयो उनैले पाउँछन् :
जिन खोजी ढोंडै तिन काहाँ पाई, जिन चेति बुझै तिन आपे समाई (सल, पृ. १२४) ।
परमात्माको धाम
परमात्माको धाम अनौठो छ । त्यहाँ आँखाबिना हेर्ने, फलबिनै रस खाने, बिनाकान सुन्ने, बिनाशब्द बाजा बजाउने, बिनाखुट्टाले हिँड्ने, बिनाहात समाउने, बिनाभण्डारकै दान गर्ने, रूपबिना रूप देखाउने काम हुन्छ । आफू जस्तो देखियो दाता त्यस्तै देखिन्छन्, विधाता आफैँ दिने र माग्ने, जति ठुला बनाउन चाह्यो त्यति ठुला अनि जति साना बनाउन चाह्यो त्यति साना बन्दछन् । शशिधर उहाँको गति अवर्णनीय रहेको भन्छन् :
बिना आँखै देखै बिना फल रस खाई, बिना कान सूनै बिना मुहू नाद बजाई
बिना पग चलै बिना कर समाई, बिना भन्डार दान देबै बिनारूप रूप देखाई
जेते बड आफू तेते बडो दाता, आफै मंगै आफै देई आपे विधाता
जेते बडा मती करै तेते बडा बनाई, जेते छोटा मती करै तेते छोटा कराई
ताको गती कहीया न जाई (सल, पृ. १२५) ।
परमात्माको धाममा चित्रगुप्तको लेखाले काम गर्न सक्दैन :
सुनिए चित्रगुप्त महाविवेकी करम लेखनिहारा, बाँहाँ तो विरूप अक्षरै पार न वारा (सल, पृ. १२६) ।
आनन्दको साधन
परमात्माको भक्ति गर्न राग, ताल र छन्द चाहिँदैन । जसरी रामका चरणमा प्रेम बढ्छ त्यसरी गाए हुन्छ । हृदयदेखि नै एकचित्त लगाएर गाउनाले योगको युक्तिबारे जानकारी हुन्छ अनि आफैँभित्र आनन्दको अनुभूति हुन्छ । यस आनन्दमा काव्य, व्याकरण, भाषाका अक्षर आफैँ आउँछन्, निकाल्नै पर्दैन । कतिले यस्ता श्लोक कण्ठ गरेका छन् तर तिनलाई आनन्दको अनुभव हुँदैन । त्यसैले आनन्द बाहिरबाट पढेर हुँदैन त्यो भित्रै छ । योगयुक्तिबाट त्यसको प्राप्ति हुने भनिएका छ :
यही निरगुन अनुराग ताल छन्द नाहीं भाई, जे विधि राम चरण प्रेम बाढै ते विधि गाई
बिना गायो योग जुगती नहिं आई, गगननाद फेरो यक चित्तलाई
काव्य व्याकर्ण भाषा स्थानी अक्षर निकरी आई, केते श्लोकपद कंठ भाखैं हरिगत नहि पाई (सल, पृ. १०६) ।
ईश्वर सर्व व्यापक
शशिधरले यो संसार सबैतिर एउटै ब्रह्मले ढाकिएको भनेका छन् । ईश्वर बैकुण्ठ, पाताल, नरक जस्ता कुनै क्षेत्रमा सीमित छैन । सम्पूर्ण मायाको देश ईश्वरमय छ :
ये मन वैकुंठ ना पाताल है नाहि है नरक देस
यकै ब्रह्म पूरण छाई रहै संसय परवत माया मल के देस (सल, पृ. १११) ।
शशिधर भन्छन् पुराण र कुरानमा ईश्वरका बारेमा अनेक तरिकाले वर्णन गरिएको छ । मुसलमानले कुरानलाई पुराणभन्दा बढी महत्त्व दिन्छन् । आआफ्नो कीर्ति चलाउन एउटै ईश्वरका बारेमा यी भाषा र किताबमा व्याख्या गरिएको छ । दुबैको उद्देश्य परमात्माका चरणसम्म पुग्नु हो । मतमतान्तरमा अल्झिने तर तिनको सार ननिकालेपछि के उपलब्धि भयो र ! ईश्वर एउटै छन् । तिनको प्राप्ति गुरुका शरणमा शिष्य भएर गएपछि हुन्छ । सार कुरा यत्ति हो भनेका छन् :
महिमा सृंगार लाई जेता कहो तेता पुरान्, हिन्दु सै क्या बढ्ता ठहराए मुसलवान्
यहिमा भाषा फेरिफेरी आफनि कीरतिचलाई बढाए मान्
क्या सम्स्कृत क्या भाषा साँचा वहि तिन राम चरण पाई
मत बिच रतन जवाहर् बिनकरनी क्या मिलेलाई, मालिक एकै तरै तारै तराई
गुरु शिष्य खेल खेलाई, मतबिच रतनजवाहर (सल, पृ. १११) ।
ईश्वर एक
ईश्वर एक छन्, ती निरंकार छन् । उनले पृथ्वी, जल, तेज, वायु र आकाश जस्ता पाँचतत्त्वका माध्यमबाट जीवको शरीर रचना गरेका छन् । ती पाँचतत्त्व केही समयपछि यो शरीर छोडि दिन्छन्, ईश्वर साँचा छन् । उनी परिवर्तन हुँदैनन् । त्यस कारण शशिधर ईश्वर एक छन् भन्दछन् :
मालिक एकै निरंकार यही खेल रच्यो पाँच
रंग धोई पाँचै खोई वही साहेब एकै पाँच (सल, पृ. ११२) ।
जसरी एउटा वृक्षको बिरुवाबाट हजारौँ बिरुवा हुन सक्छन् त्यसैगरी परमब्रह्म परमेश्वर सबैमा एउटै व्याप्त छन् :
एहि जानिए एकवृक्ष सहस्त्र अनेक बिरुवा होई, एकै ब्रह्म पूरण छाईरहे दोसर न कोई (सल, पृ. १३२) ।
शशिधर ईश्वरलाई भन्छन् म त तिम्रो सुगा हुँ जे तिमी बोलाउँछौ म त्यही बोल्छु :
मै क्या कहुँ है कछुनाहि जो जेताकहै तेता होई, साँचा एकै रूप बढता कहै तोता के द्विगुण हमुहोई (सल, पृ. १३२) ।
ईश्वरको वासस्थान
शशिधरले मनुष्यको शरीरलाई नै परमात्माको घर बताएका छन् । उनी लेख्छन् रगत र मासुको भवन बनेको छ । मलमूत्रको यो देश हो । त्यसमा एउटा चैतन्यरूपी आत्मा सुतेको छ । जुन दिन त्यसले मनलाई जित्ने छ त्यो दिन महेश अर्थात् परमात्मालाई प्राप्त गर्न सक्ने छ :
रुधिर मांसके भव (भवन) बने है यही मलमुत्रके देस
एकै चैतन्य रूप सोए है भनजिती पकरै सो महेस (सल, पृ. ११२) ।
ईश्वर अखण्डित
पण्डितहरूले वेद र पुराण सुनेर ईश्वरलाई विभाजन गरेका छन् । ईश्वर अखण्डित छन् । त्यहाँ तन्त्र, जालझेल र टुनाको काम छैन, केवल भक्तको काम छ भनी शशिधर भन्छन् :
सुनिए वेद सास्त्र पुराण पण्डित, उतो पूर्णानन्द रूप सदा अखण्डित
 
सुनिए कलकाल भेद महामन्त्रजाला, ताहाँ काहुको गमै नाहिं सुनिए हरी भगत रसाला (सल, पृ. १२६) ।
ईश्वरको प्राप्ति कठिन
ईश्वर पाउन त्यति सजिलो छैन :
शशिधर भाषा करडा अहारा कोई न सकै खाई
जिन खाई पचावै ते घट अलख निरञ्जन मिलन आई (सल, पृ. १२७) ।
परमात्माको प्राप्ति केवल सतगुरुको कृपाद्वारा सम्भव हुन्छ :
जाहाँ मालिक ताँहाँ माया खडि रवि ससी तपै छाया छाई, सबसे नेरा हामु गाए कंचन रूपके छाया नहि आई
आस्तिक नास्तिक नाहिं है किताब पुस्तक लिखि नजाई, अब सतगुरु कृपा करै नेरा अभिगत पाई (सल, पृ. १२७) ।
शब्दको महिमा
कविले शब्दको महिमा वर्णन गरेका छन् । भन्छन् शब्दको अधिनमा सबै कुरा छ, म त्यसको कति वर्णन गरूँ । नारद आदि योगवृन्द, मुनि, मानव, इन्द्रादि दिकपाल, देव, दानव, शारदादि वाणीले शब्दको वर्णन गरेका छन् । महावीर, वेदशास्त्र, भक्त र भागवतले पनि शब्दका गुण गाएन गरेका छन् । परमात्माको शब्दरूप चिश्चल छ, त्यो प्रत्येक व्यक्तिका अन्तर्हृदयमा छ । त्यो परमपद दिनेवाला, नित्य, अन्तरगति दिनेवाला, सबै तीर्थमा बसेको छ । यो सबै परमात्माले गरेर भएको हो । परमात्माबिना गर्ने र गराउने संसारमा कोही छैन अर्थात् शब्द नै सबै हो, यसको महिमा अवर्णनीय रहेको उल्लेख छ :
अधीन शब्द कही जाउँ, मै गरिब काँहाँलै बताउँ
 
नारदादि योग व्रिन्द गाए गाए तेरे मुनी मानवा, इन्द्रादि दृकपाला गाए गाए तेरे देव दानवा
सारदादि वाणी रूप गाए गाए तेरे लीला छाई, महावीर जोधा गाए गाए तेरे प्रेम धारा बहाई
 
वेदादि शास्त्र गाए गाए तेरे गहाँ मन्त्रजाला, भगतादि भागवत गाए गाए तेरे भगत् रसाला
 
निश्चलरूप घट विराजो अन्तरज्यामी
परमपदका क्षेत्र नित्य नहाँउ, अन्तरज्यामी तीरथ निरमल नाउँ
तुमारे कीये का न होई, तुमुबिना करनहारा न कोई (सल, पृ. १०८) ।
असली शब्द
जसको हृदयमा शब्द वा नाद प्रकट भएको छ, जसको हृदयमा नादको गति उल्टो अर्थात् बाहिरी संसारबाट ध्यान अन्तर्मुख भएको छ, तिनको सेवा देवी देवताले गर्छन् । तिनको आत्मा परमात्मामा मिल्दछ । तिनका सबै पाप नासिन्छन् । ती कहिल्यै नाश नहुने स्वामीको देशमा पुग्दछन् । ईश्वरका अनेक कला र लीला छन् । शशिधरले यिनै कलाबाट ब्रह्मा, विष्णु र महेशको उत्पत्ति भएको बताएका छन् :
उधोमुखि जीव है वहि वहि आई, ब्रह्म अगनि जोर उलटै ब्रह्म ब्रह्म समाई
 
नाद विन्द जाको हृदय धरै, ताको सेवा देवी पार्वती करै
 
यहिमा ब्रह्मा विष्णु एहिमा शेष महेस्, यहिमा अनेक ब्रह्माण्ड अनन्दलीला एहिमा अक्षय देस् (सल, पृ. ११९) ।
तल काम, क्रोध, लोभ, मोह र अहंकार छन् माथि असली शब्द छ । अन्तर्मुख गति भएपछि पाँचतत्त्व जल्दछन्, शब्दसँग मिलाप हुन्छ । यस्ता जीवहरू आवागमन अर्थात् जन्म र मृत्युको चक्रबाट सधैँभरिका लागि मुक्त हुन्छन् :
उभोमुखि ब्रह्म अगनी है, उधोमुखि ब्रह्मपाँचके बने गोल
पाँचै जारि ब्रह्म उलटै आवागमना रहित होवै अमोल (सल, पृ. ११९) ।
शरीरका इन्द्रियहरूले त्यो परम शब्दको गायन गर्न सक्दैनन् । त्यो शब्दलाई गाउने बनाउने होइन, त्यो त आफैँ बज्छ अनि आफैँ गाइन्छ :
मिलै परमानन्द अधम (अमर) पुरजाए, काँनके काँनले सुनो आँखहि आँख पाई
तहिके नाम निरंजन होई आप सबद गाए (सल, पृ. ११९) ।
शब्द शब्दमा भेद छ । सही शब्द नचिन्नेहरू संसारमै अल्भिएका छन् :
सबदै अन्दर सबको बाहा उँचानिचा सबद होई, सबद सबदै अटकिरहे पार गये न कोई (सल, पृ. १२०) ।
मुक्ति दिने शब्दले आनन्द दिन्छ, त्यहाँ लाखौं तारा छन् अन्धकार शून्य छ :
मुकत शब्द कहिजाउँ, तहाँके आनन्द कैसे बरनाउँ ।
 
नव नव लक्ष तारा के के गगन छाई, नैना न सुझै अन्धकार नहि आई (सल, पृ. १३७) ।
नामको महिमा
शशिधरले परमात्माको नामलाई पनि अवर्णनीय भनेका छन् । परमात्माको नाम आदिमा थियो । यसले सत्य र असत्यको विचार गरेर आफैँ आदि र अनन्तलीला गाउँछ । यो जन्म र मृत्युभन्दा पर छ र सम्पूर्ण संसारमा फैलिएको छ । यसैले सबै काम गर्न आदेश दिन्छ, त्यसैले नाम सत्य हो अरू सबै नाशवान् छन् :
नामै आदि सत असत विचारै आफै आदि अनन्तलीला गाई
आफू अज्योनि आफै आदि सकल विस्तार फैलाये यही से आदेश (सल, पृ. ११०)
यो संसारमा जो जो आए तिनले परमात्माको नाम र उहाँको धामलाई बिर्सेका छन् । शशिधरले आफू नामको रङ्गमा नुहाएर निर्मल भई कहिल्यै नाश नहुने साहेब (परमेश्वर)को देशमा गएको बताएका छन् :
जिन आये रंग लाये रंगदेखि भूलिए भूलिगए साहेबको देस्
शशिधर आइ नामको रंग धोई पुलिक लाउँलाउँ तावेस्
निरमल होइ अक्षर पुरमै चलिजाउँ साहेबको देस् (सल, पृ. ११०) ।
परमात्माको नाम वर्णात्मक र अक्षरात्मक होइन । त्यो अक्षरातीत हो । त्यसलाई हेर्न हेराउन, पढ्न पढाउन, रच्न रचाउन, तौलन तौलाउन, मूल्य लिन सितैमा लिन सकिँदैन । त्यो खण्ड वा विभाज्य छैन अखण्ड छ :
नबोलनु नडोलनु नकल्पनु नभुलनु, नखोलनु नतोलनु न मोल लिनु न उसै लिनु
नदेखनु नदेखाउनु नगाउँनु नगुननु, नखेलनु नमेटनु नसोधनु नसाधनु
नआउनु नजानु जीती मिलै आई, हटै हटी जाई, बडा न होवै घटि न जाई, रचे नकोई रचिनजाई
येकै नाउँ जगदिस छाई, पूरण ब्रह्म पूरण गाई, खण्ड खण्ड नाहि भाई, ऐसा नाउँ निरंजन होई (सल, पृ. १२०) ।
संसारमा परमात्माको नाम साँचो छ अरू सबै नाशवान् र असत्य छन् । साँचो नामको जानकारी साँचा भेदीबाट प्राप्त हुन्छ । त्यो नाम, नामी र नाम दिनेवाला साँचा हुन् अनि कुनै साँचाले नै साँचो युक्तिरूपी ध्यान लगाएर त्यसलाई प्राप्त गर्न सक्छ :
शशिधर जानै साँचा सोई साँच उपर सोचन होई, जी कस धोई सो निर्मल होई कस न छुटै द्विविधा आवै सोई
साँचा साहेब साँचा नाउँ, निरंकार बसै सच्चा ठाउँ, साँचे चित्त सच्चा मन सोई, साँचि भगती साँचा कान होई
साँचे जुगती सच्चा ध्यान, सत्य भेद भेदी निसाँन (सल, पृ. १२१) ।
यस्तो नाम पाएका शशिधर सुखी छन्, अरू मानिसहरू दुखी छन् :
सुनिए जगदुख पापका नाश, शशिधर भगता सदा विकास (सल, पृ. १२१) ।
परमात्माको नाम सबै प्रकारका भय र सन्त्रास मेटाउनेवाला हो :
चैतन्य रूपपर सुरति जोरै सत्य खण्डमै निरंकारके बास
नितमिली एक समाध होवै ताहा निरभय अवर नाही त्रास (सल, पृ. १२१) ।
मन र माया
मन र मायाको खेल ठुलो छ । यिनबाट मुक्त हुन कठिन छ । परमात्माले अफैँ मन भएर यसलाई चञ्चल बनाएका छन् । आफैँले मनलाई चिश्चल बनाएर माया फैलाएका छन् :
आपे मन सोयंब्रह्म आपे मन चंचल चाली
आपे मन निश्चय रूप मनै भुली भूलावै माहाँजाली
मनै मायामै स्वए मनैकि स्वपना भुलीभुली माहाँ विस्तार फैलाई
मनै जीती मनै जानै आदिरूप निरंकार आये आफ समाई (सल, पृ. ११५) ।
जीवले मन र मायाको यस खेलमा भुलेर परमात्मालाई बिर्सिएको छ । यो मनलाई जितेर आदिरूप निरंकार ईश्वरसँग मिलाउनेवाला पनि उनी स्वयम् नै हुन् । मन जितेपछि परमात्माको अनुभूति हुन्छ :
अरे अनारी मनके हारे हार मनके जीतेजीत्, परब्रह्म परमानन्द मिलै मनके परतीत् (सल, पृ. ११६) ।
मनको सफाइ
शशिधरले मनको सफाइ गर्ने उत्तम उपाय नामको अभ्यास बताएका छन् । फोहोर लुगालाई साबुनले धोएर सफा गरे जस्तै मनमा लागेका पापकर्म नामरूपी साबुनले धोएर सफा गर्न सकिन्छ :
पानी धोवै सुकै वोही
मतपलीकी कपरु होई, देही साबुंलाई एउँ हुँ धोई
भरिए मत पापके सँग, उँ हुँ धोवै नामैको रंग (सल, पृ. १११) ।
भेष धारण
यो संसारमा परमात्मालाई पाउन मानिसहरूले नानाथरि भेष धारण गर्छन् । शशिधरले आफू यस प्रकारको भेष धारण गर्ने गरेको बताउँछन् :
ज्ञानके गुदरि सीयाउँ सर्म पतीके झोरि बनाउँ, वाणिरूपके कमन्डलु भराउँ हरिरस प्याला घोरि खाउँ
निरासाके निसाँना लगाउँ आसा बाँधी ताहेमा छाडुँ, दृढको धूनी जगाउँ जारि करम खाक लगाउँ
निश्चय खाल बिछाउँ बैठी जुगती धन्दा खेलाउँ
 
परतीत के डण्डा कर धारुँ , जो सत्य योगी आए होई मन जीतै जगजीत्
घटघट राम बोलै रामनाम समाई मन राखो परतीत् (सल, पृ. ११७) ।
ज्ञानको गद्दा र सरमको झोली सिलाऊँ, वाणीको कमण्डलु, हरिरसको प्याला, संसारप्रतिको निराशाको निसाना लगाई आशामाथि राखूँ । दृढताको धुनी जगाएर त्यसमा कर्म जलाई खरानी पारूँ अनि निश्चयको छाला ओछ्याई त्यसमा युक्तिको धन्दा खेलाऊँ । विश्वासको डन्डा हातमा लिऊँ । यस्तो धारण गर्ने जोगी हुन्छन् तिनले मनलाई जित्न सक्छन् । उनीहरूका अन्तर्हृदयमा रामनाम प्रकट हुन्छ । त्यस कारण उनीहरूका मनमा पूर्ण विश्वास हुन्छ ।
बाहिरी भेष धारण गरेर थरिथरिका माला मात्रै लगाएर घुम्नाले र आफ्नै मात्र अनेक प्रकारका चतु¥याईंले ब्रह्मज्ञान प्राप्ति हुँदैन :
केतेकेते वाणाधारि फिरै बहुभाँती माला लाई, बिनाब्रह्म ज्ञान पार न मिलै केते करो चतुराई (सल, पृ. ११७) ।
अन्धा गुरु
शशिधर भन्छन्, ज्ञानको आँखा नभएकाहरूले ईश्वर प्राप्तिलाई साधन बनाएर नयाँ पन्थ चलाएका छन् । परमात्मालाई ती आफैँले पाएका छैनन् अरूलाई के देखाउन सक्लान् ?
सुनिए अन्धे क्या जुगतलाई रोके हरिको नाउँ
 
सुनिए अन्धे सर्मकती भले भुलाई, धन कलेस्वर खलक येकै पंथ चलाई
 
दुरै दुर बतावै कहते कहते जनम जाई, आपु पहुँचेन अवरको पहुँचाई
बडियाँई उनके बडे उँची, साहेब काहाँ पावै कुदरत क्या खोलै कुची
लिउ लाग्याका आँखाले काँहा देखिपाई (सल, पृ. १३०) ।
परमात्माको पूजा छोडी आफ्नै पूजा गराउने र आफ्नो महिमा बताउनेहरू पाखण्डी हुन् :
साहेब छोडि आफै पूजावै महिमा चलाई, सत्य सांख्या छोडि असंख्य जाल बताई (सल, पृ. १३०) ।
पाँच विकारलाई जितेपछि साहेबलाई आफ्नै हृदयमा प्राप्त गर्न सकिन्छ । यिनलाई नजित्नेहरू यिनै पाँच विकारमा हराउँछन् :
पाँच जो जितै वहि साहेब घटबिच पाई, पाँच नजिति रहै पाँचौ बिच हराई (सल, पृ. १३१) ।
शास्त्र पढेर ईश्वर प्राप्ति हुँदैन । शास्त्र र सन्तले बताए अनुसार अभ्यास गर्नाले ईश्वर प्राति हुन्छ :
जो कहे सन्त सत्यै कहे शास्त्र विचारै विरला कोई, कहनि बा सहज है करनि करी जावै साँचा सोई
कहि कहि केते शास्त्र बने है कहनि बात अनंत, बुझ बुझै तो बुझ एक है रामको बुझै चेतो संत (सल, पृ. १३१) ।
बाहिर देवताका मूर्ति राखेर पुज्नाले मनको भ्रम जाँदैन । ईश्वरको अनुभूति कपट छोडेर हृदयमै खोज्नाले हुन्छ । ब्रह्मको अंश ब्रह्ममै समाहित हुन्छ :
तैसे अवर देवा केते पूजै भरम जहि जाई, ब्रह्म ज्ञान ब्रह्म ब्रह्म बुझै सब खेल घटहिमा पाई
कपट छोडि अधिक जोरै एहि जुगत गाई, तबजिब फिरै अलख जागै ब्रह्म ब्रह्म समाई (सल, पृ. १३८) ।
अन्धा शिष्य
मानिसहरू अन्धा छन्, उनका अघि दियो बालेर के गर्नु ? योगको साधन बताए पनि लंगडा हिँड्न सक्दैनन्, बाटोमात्रै राम्रो भएर के गर्नु ? यो साँचो कुरा कुनै बिरलाले मात्र बुझ्दछ । चौरासी लाख जुनिको जाल सजिलै खोलिँदैन :
मेरे मुखसै केते छुटे उज्यारे नाले, अन्धाके आगे केते दिपक बाले
महाँमत, योग जगती सत्यराहा खुलाई, पंगुला चलि न सकै केतने राहा बनाई
राहामै चलै जिनके पग साबित होई, शशिधर भाषा सत्य भगत बुझै बिरला कोई
लख चौरासि योनिको काँहाँ है जाल बिने जाल नखोलि (सल, पृ. १३८) ।
मानिस मतको सिकार
शशिधरले यो संसारका मानिसहरू मतको सिकार भएको बताएका छन् । सबैका बिचमा मत छ :
मतबिच अनेक मतबिच एक, मतबिच दुर मतबिच नेरा
मतबिच शास्त्र मतबिच पुराण, मतबिच नाद मतबिच वेद
मतबिच भेद मतबिच छेद, मतबिच जाल मतबिच काल (सल, पृ. ११२) ।
यो संसार मतैमतले भरिएको छ । यी मतले अनेकतामा एकता एकतामा अनेकता भरेका छन् । मत बुझेपछि नजिक छन् नभए ती टाढा हुन्छन् । शास्त्र र पुराणहरू, वेद र नादहरू पनि अनेकथरि छन् । मतका जालमा अल्झिएर जीव कालको मुखमा पर्छ । यी मतमा अल्झिनु हुँदैन । यी मतका सागर परमात्मा हुन् उनको मतमा लागेपछि अरू कुनै मतलाई मान्नु पर्दैन । अरू कुनै विद्या पढ्नु पर्दैन, सबै मतको मैला पखालेर सफा बनाउने उनैको मत छ भनेका छन् :
मतके मालीक साहेब निरंकार वई, येते संकामल धोई मत विमल बनाई
ते बिच चिदानन्द अलख स्वरूप आये समाई, ऐसे महामत छोडि कौन विद्या पढाउँ भाई (सल, पृ. ११४)
सबै मतका बिच आत्मतत्त्वको खेल छ । अरू मत छोडेर पूर्ण परमानन्द मिलेपछि कुनै मत बाँकी रहँदैन । सत गुरुबिना कुनै मतले पार लाउन सक्दैन चाहे जतिसुकै चलाखी गरौँ । उक्त कुरालाई शशिधरले यसरी व्यक्त गरेका छन् :
सब खेल मतबिच है एक आत्मतत्त्व ताँहाँ नाहिं, सभ छोडि सात होवै मिलै परमानन्द पूरण ताहिं
 
सब सतगुरु कृपा करै मत पाई, सतगुरुबिना कोटी करै चतुराई (सल, पृ. ११४) ।
रीतिथिति नै धर्म होइन
कर्मको मैलो धोएपछि शरीरभित्रै ईश्वरलाई पाउन सकिन्छ :
सुनिए अन्धे करमै धोई निरमल नाउँ पाई, मालिक एकै वस्तु दुनु पिण्ड परगट कराई (सल, पृ. १३१) ।
कर्मको नाश कुल परम्परा, रीतिथितिको पालन, कुल धर्म आदिले हुँदैन, रामनामले गर्छ :
सुनिए अन्धे कौन परतीत पाये निश्चय आई सत्य ठहराए कुल नीती
तेहि करम करते तेरे कुल डुबिगये अब हुँ रामनाम नहि चेती (सल, पृ. १३१) ।
पञ्च महाभूतबाट शरीर बन्ने र नाश हुने क्रम जारी छ । मानिसहरू यिनैको पूजामा सीमित छन् अनि मुक्ति कसरी पाउँछन् ? मुक्ति त यिनबाट मुक्त भएपछि पाइन्छ :
सब जोनि पाँचके गोला अनेक रंगलाई, पाच ज्ञान सब भूले मानुख अधीक करम बधाई
मृतु होवै पाँचमा मिलिजाई, जनम होवै पाँचके गोल बनिआई
पाँचै गोला पाँचै पूजि जीव भूलाई, पाँचन जीती करम न जारि को मुकता पाई (सल, पृ. १३२) ।
संसारका रीतिथिति बाँध्नु ठुलो कुरा होइन, साहेब मिल्नु ठुलो, कठिन र गम्भीर कुरा हो :
साहेब मिलन कठिन गहिर गंभिरा अगमपन्थ, रितिनिति बाधन क्या बडि बात (सल, पृ. १३२) ।
सामाजिक चालचलन, कुल परम्परा आदि बन्धनका कारक हुन् । यिनलाई जलाउनु पर्छ । यिनलाई नछोडेसम्म प्रभुप्राप्ति हुँदैन :
पाँच बेरि ब्रह्म अगनि जराउँ, जग रितिनीति भुजि खाउँ
वनिखेल पेलि तेज लाउँ, नबनिखेल साजिराजि जमाउँ
हद्द सैं अनहद्द योग समाउँ (सल, पृ. १३५) ।
सन्तकविको नम्रता
सन्तकवि शधिधरले आफूलाई दास भनेर नम्रता, दीनता प्रकट गरेका छन् :
केते केते तेरे भगता अन्ते न पाई, दास शशिधर काँहाँलै गाई (सल, पृ. १०८) ।
कवि भन्छन् तिम्रा कस्ताकस्ता भक्तले पार पाउन सकेनन् । यो शशिधर दासले त्यसको कति वर्णन गरूँ । यो पिण्ड अर्थात् शरीरलाई सुस्तसुस्त आफूमा मिलाएर दुःखको घर (संसार) छोडी सुखको घर (परमात्मा) मा लैजाऊ । शशिधर दासलाई आनन्दपुर लैजाऊ यही चाहना गर्दछु भनेका छन् :
यहि पिण्ड सनै सनै आफुमा मिलाउँ, दुख घर छोडि सुख घर लैजाउँ
यही भवखला तपताउँ, दास शशिधरको आनन्दपुर लैजाउ (सल, पृ. १०९) ।
कवि भन्छन् म हरि रसको प्याला पिएर मग्न भएको छु । उनका विचारमा उच्च र निच कोही छैन । कुनै ठाउँ पनि उच्च र निच छैन । जसले अन्तर्मनदेखि पुकार गर्दछन् त्यही परमात्माको नाम हो । यस्तो परमानन्द दिने लहरी जुन साधुभाइहरूले गाउने छन् तिनले अन्धकारबाट मुक्त भई उज्यालोबाटो पाउने छन् भनेका छन् :
हरिरस प्याला खाए हामु मगन होई, शशिधर उत्तम निचा नाही कोई
जो जेता कहै स्व मेरै नाउँ, परमानन्द लहरि जीन गावै साधुभाइ
घोरमल अन्ध छुटै उज्यारा मारग पाई (सल, पृ. १३८) ।
निष्कर्ष
नेपाली सन्तकविहरूले काव्य सौन्दर्यको वर्णन गर्ने उद्देश्य राखेका छैनन् र वर्णन पनि गरेका छैनन् । उनीहरू विशुद्ध आध्यात्मिक विषयको चिन्तन र मननमा लागेका देखिन्छन् । सन्तकाव्यको मूल दर्शन उपनिषद्मा आधारित छ । उपनिषद् दर्शनको वर्तमान समाज अनुकूलको आध्यात्मिक व्याख्या सन्तकविहरूले गरेका छन् । त्यसैले आध्यात्मिक विषयवस्तुको चित्रण गर्दा देश, समाज, प्रकृति, वातावरण र मानव सभ्यताका कुराहरू प्रसङ्गवश
आएका छन् । सन्तकवि शशिधरले सच्चिदानन्द लहरीमा गुरु र ईश्वरप्रति अटल विश्वास हुनु पर्ने कुरा व्यक्त गरेका छन् । शरीरभन्दा बाहिर गरिने धर्म, कर्म, वेद पुराण, कुरान आदिको पठनले ईश्वर प्राप्ति हुँदैन न त बाहिरी भेषधारण र मूर्तिपूजाले हुन्छ । बरु गुरुको सहयताबाट आफैंभित्र निर्गुण निराकार ईश्वरको अनुभूति गर्न सकिन्छ भन्ने कुरालाई बढी महत्त्व दिएका छन् । शशिधरका अनुसार गुरु ब्रह्मका अवतार हुन् । मुक्तिको निमित्त निर्गुण परमात्माको भक्ति गर्नु पर्छ अनि आफ्नाभित्र शब्दको खोजी गर्नु पर्छ जुन सबैका भित्र विराजमान छ । यो संसार नाशवान् छ । यहाँका सबै वस्तु असत्य छन् । सत्यको खोजी तीर्थ, व्रत, मूर्ति आदिमा होइन आफैंभित्र गर्नु पर्छ । अन्धागुरु र पण्डितहरू ईश्वरलाई बाहिरतिर खोज्न, ईश्वरलाई खण्डित गर्न र आफ्नो पूजा गराउनु व्यस्त रहेका छन् । उनीहरूका कारण संसारमा अनेक मत छन् ती मतका पछि नलागेर ईश्वरको मतमा लाग्नु पर्छ त्यो नै अन्तिम मत हो । मतहरूले सत्यलाई लुकाएर असत्यमा अल्झाएका छन् । ईश्वर बाहिरी आँखाले देखिने वस्तु नभई अनुभवगम्य वस्तु हो । यस्तो अनुभव गुरुका माध्यमबाट मात्रै सम्भव हुन्छ भन्ने कुरालाई लिएर सच्चिदानन्द लहरी काव्यको रचना गरिएको निष्कर्ष निकाल्न सकिन्छ ।
सन्दर्भसामग्री सूची
उपाध्याय, काशीनाथ (सन् २०१०). सन्त दरिया (बिहार वाले), (छैटौं संस्करण), जे.सी.सेठी. सेक्रेटरी राधास्वामी सत्संग व्यास ।
गोयन्दका, हरिकृष्ण दास (२०६८). ईशादि नौ उपनिषद्, (तिसौं संस्करण). गीता प्रेस ।
घोडासैनी, खगेन्द्र (२०७३). ‘निगुर्ण ब्रह्मका उपासक सन्तकवि ज्ञानदिल दास’, हैमप्रभा, जनता विद्यापीठको वार्षिक प्रकाशन ।
पाण्डे, मथुरा दत्त (सन् १९७०). नेपाली और हिन्दी भक्ति काव्य का तुलनात्मक अध्ययन. भारतीय ग्रन्थ निकेतन ।
भण्डारी, गोपालप्रसाद (२०५३). प्राग् भानुभक्तीय नेपाली काव्य. नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान ।
लामिछाने, माधवप्रसाद (२०६२). प्राथमिक कालीन नेपाली भक्ति काव्यको अध्ययन. विश्व शान्ति, प्रज्ञा तथा बाल विकास समाज ।
शर्मा, गोपीकृष्ण (२०५६). संस्कृत साहित्यको रूपरेखा. अभिनव प्रकाशन ।
शर्मा, जनकलाल (२०५२). जोसमनी सन्तपरम्परा र साहित्य. साझा प्रकाशन ।
शर्मा, मोहनराज (२०६०). ‘प्राथमिक कालको नेपाली पद्य’, नेपाली साहित्यको इतिहास (प्रथम खण्ड). सम्पा.चूडामणि बन्धु. नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान ।
शर्मा, मोहनराज र दयाराम श्रेष्ठ (२०६१). नेपाली साहित्यको संक्षिप्त इतिहास (सातौं संस्करण). साझा प्रकाशन ।
सन्त शशिधर (२०३३). बाणोपनिषद्. किरण पुस्तकालय ।
(साभार : यो लेख सगुन वर्ष-६, अङ्क-५, लम्की बहुमुखी क्याम्पस, लम्कीबाट २०७३ साल पृ. १८-३१मा प्रकाशित)

Post a Comment

0 Comments
Post a Comment (0)

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top