मेरो अनुसन्धान तथा खोज गर्ने तरिका
डा. खगेन्द्र घोडासैनी
कुनै पनि विषयका बारेमा खोजी गर्नु, अरूले भनेका कुरालाई फरक शैलीका माध्यमबाट व्यक्त गर्नु, कुनै विषय वा सिद्धान्तका बारेमा अध्ययन गरेर नयाँ अवधारणा वा सिद्धान्त निर्माण गर्नुलाई अनुसन्धान भनिन्छ । कुनै पनि विषयमा अनुसन्धान गर्नुअघि त्यसबारे पूर्व धारणा वा विचार स्थापित भएको हुन्छ । अनुसन्धाताले त्यो विचार वा धारणालाई परिवर्तन गर्न विचार, तर्क, तुलना, प्रमाण, विश्लेषण र उदाहरणका माध्यमबाट जुन कोसिस गरेर एउटा निष्कर्ष दिन्छ त्यही नै अनुसन्धान हो । अरूले गरेका कामलाई एकै ठाउँमा व्यवस्थित तरिकाले कालक्रम वा सिलसिला मिलाएर पुनर्लेखन गर्नुलाई पनि अनुसन्धानभित्र समेट्न सकिन्छ ।
सबैभन्दा पहिले अनुसन्धान के विषयमा गर्ने भन्ने कुरा महत्त्वपूर्ण हुन्छ । विषय छनोट गरेपछि त्यसको उपयुक्त शीर्षक चयन गर्नुपर्दछ । अनुसन्धानको शीर्षक चयन गर्ने कार्य सम्पन्न भयो भने अनुसन्धानको आधा काम सम्पन्न भएको ठान्ने विद्वान्हरू पनि देखिन्छन् । मचाहिँ सधैं पहिले विषय छानेर त्यसपछि शीर्षक चयन गर्छु भन्ने कुरामा एकरूपता भएको देख्दिँनँ । कुनै बेला पहिले विषय छान्ने काम हुन्छ, कुनै बेला पहिले शीर्षक छान्ने काम हुन्छ । कुनै बेला लेख लेखिसकेपछि त्यसको शीर्षक चयन गर्छु । त्यस्तो हुँदा विषयचाहिँ चयन भएको हुन्छ । विषय वा शीर्षक चयन भएको कति समयमा लेख सम्पन्न हुन्छ त्यसको पनि कुनै निश्चित समयावधि तोक्न सकिँदैन । कुनै बेला विषय र शीर्षक छानेको एक दुई हप्ताभित्रै लेख तयार हुन्छ कुनै बेला महिना छ महिना वा वर्ष अथवा बर्सौं पनि लाग्ने गरेको हुन्छ । मैले २०५५ सालमा नेपाली बृहत् शब्दकोशमा अछामी जनजीवनमा पाइने शब्द फेला नपारेपछि अछामीका शब्द सङ्कलन सुरु गरेको थिएँ । त्यो बेला म शास्त्री दोस्रो वर्षको विद्यार्थी थिएँ । मेरो शब्दकोश तयार पार्ने काम एमए सकेर एमएड गर्दा ५० पूर्णाङ्कको शोधपत्र तयार पार्न सुर गरेपछि किन यही शीर्षकमा अनुसन्धान गरुँ न त भन्ने लागेर प्रस्तावना तयार पारेँ र त्यही विषयमा २०६४ सालमा शोधकार्य सम्पन्न गरेँ । यसरी हेर्दा यसमा जम्मा ९ वर्ष लाग्यो । त्यही शोत्रपत्रको अन्तमा अछामी भाषामा अनुसन्धान गर्नेहरूका लागि तोकिएका सम्भावित शोधशीर्षक मध्येको एक शीर्षकमा २०६६ सालमा शोधप्रस्ताव तयार पारेर विद्यावारिधिका लागि दर्ता प्रक्रियामा लगेँ । पछि २०७२ सालमा सोही शीर्षकमा विद्यावारिधि सम्पन्न गरेँ ।
आजसम्म मैले अरूले विषय दिएर १ तथा अरूले शीर्षक दिएर १ गरी जम्मा २ ओटा मात्रै अनुसन्धान गरेको छु बाँकी सबै मेरा आफैँले विषय र शीर्षक चयन गरेका अनुसन्धान हुन् । अरूले दिएको विषयवस्तु र शीर्षकमा अध्ययन गर्न लाग्दा त्यसको स्रोत र सन्दर्भ तथा पहुँचमा आफू हुन नसक्ने स्थिति उत्पन्न हुन्छ । त्यो आफूलाई मन नपर्न पनि सक्छ तर त्यसबाट आफूमा आत्मसन्तोष र एक किसिमको सुखानुभूति हुन्छ र यसबाट मैले दिइएको विषयमा लेख्नसक्ने रहेछ भन्ने आत्मविश्वास पनि पलाउँछ । आफैँले शीर्षक र विषयवस्तु चयन गर्दा यदि अनुसन्धान नै गरिएको छ भने त्यस विषयबारेको सर्वाधिक जानकार व्यक्ति आफू स्वयम् भएको अनुभूति हुन्छ । त्यो पनि एक किसिमको रमाइलोपना हो ।
आफूलाई जानकारीमा भएको तर अरूले खासै महत्त्व नदिएको विषयवस्तुमा अनुसन्धान गर्न मन पराउँछु । अरूले खोजेको र लेखेको विषय छ भने त्यसमा गम्भीर समस्या नदेखेसम्म मैले कलम चलाएको छैन । आफूलाई यो नयाँ विषय हो भन्ने लाग्यो भने म सर्वप्रथम त्यसको विषयवस्तु वा शीर्षक टिपोट गर्छु । यसरी टिपोट गर्ने कार्यबाट मेरो अनुसन्धानको थालनी हुन्छ ।
त्यस्तो टिपोट गरेको विषय वा शीर्षकमा तुरुन्तै लेखे मात्रै लेख हुन्छ अन्यथा त्यो टिपोटकै रूपमा पनि रहने गरेको छ । अर्थात् मेरा सबै लेख्छु भनेर टिपोट गरिएका कुरामा लेख नै बनिहाल्दैनन् । लेख तयार भएपछि कुनै पत्रिकाले तुरुन्तै मागेको अवस्थामा मात्रै म लेख पठाउँछु अन्यथा केही दिन त्यसले आराम गर्ने अवसर पाउँछ । महिना छ महिना वा वर्ष दिनपछि म त्यसलाई फेरि परिमार्जन गर्नतिर लाग्छु । यसरी कहिलेकाहीँ मेरो १ लेख तयार हुन एक वा दुई वर्ष पनि लाग्ने गरेको हुन्छ ।
प्रायः अनुसन्धानात्मक लेख लेख्नुका उद्देश्यहरू १. पदोन्नति, २. व्यक्तिवृत्त, ३. अरूलाई प्रभावमा पार्न र ४. ज्ञानको वृद्धि गरी चारओटा बताइएका छन् । यीमध्ये अहिलेसम्म पदोन्नति भएको छैन । व्यक्तिवृत्तमा लामो सूची भए पनि त्यसबाट कतै व्यक्तिवृत्त बुझाउनुपर्दा प्रिन्ट खर्च १ पृष्ठ भए पनि बढी नै बुझाउनु परेर उल्टै आर्थिक घाटामात्रै भएको छ । अरूलाई प्रभावमा पारेर के गर्नु ? आफूलाई त्यसबाट भएको फाइदा भनेको त्यही ५ ओटा जति लेख छापिएबापत्को पारिश्रमिक र क्षेत्रीय प्रतिभा पुरस्कार २०७२ मात्रै पाएको छु । ज्ञानको वृद्धिका लागि त अनुसन्धान होइन ध्यान गर्नुपर्छ भन्ने चुरो कुरो पनि नबुझेको होइन । समग्रमा अनुसन्धानमूलक लेख लेख्नुका अधिकांश तोकिएका निर्दिष्ट उद्देश्यहरू अहिलेसम्म त काम लागेका छैनन् भविष्यमा कुनै भएछन् भने त्यो पनि लेखुँला । अहिलेलाई कला कलाका लागि भन्ने सिद्धान्तकै अनुयायी बनेर लेखिमात्रै रहेको छु । कला जीवनका लागि नभएपछि कला कलाकै लागि भए पनि सन्तुष्टि हुने आधार पर्याप्त नै देख्छु । त्यसैले सन्तुष्टि नै मेरो लेखाइको उद्देश्य हो भन्नु उचित देख्छु ।
रचना मितिः २०७८/४/५