नेपाली भाषा र साहित्यका पोषक : पृथ्वीनारायण शाह
डा. खगेन्द्र घोडासैनी
गोरखा दरबारमा वि.सं. १७७९ मा जन्मेका श्री ५ पृथ्वीनारायण शाह नेपाल एकीकरणका नायक हुन् । उनले नेपालका ससाना राज्यहरूको एकीकरण गरे । नेपालको एकीकरणसँगसँगै उनले जातीय र भाषिक एकीकरणको पनि जग बसालेको देखिन्छ । वि.सं. १८२६ मा काठमाडौँ उपत्यका विजय गरी नेपाल अधिराज्यको शासनभार हातमा लिएपछि उनी र उनका दरबारिया पण्डित शक्तिवल्लभ अर्यालले भाषा र साहित्यका क्षेत्रमा उल्लेखनीय कार्य गरे । शक्तिवल्लभको ‘महाभारत विराटपर्व’ (१८२६) र ‘तनहुँ भकुन्डो’ (१८२९) कविता तथा पृथ्वीनारायण शाहको ‘दिव्योपदेश’ (१८३१) यस कालखण्डका महत्त्वपूर्ण कृति देखिन्छन् ।
नेपाली भाषालाई सरकारी भाषाका रूपमा मान्यता दिने शाहले आफ्नो जीवनको अन्तिम घडीमा भाइभारदारहरूसमक्ष आफूले अनुभव गरेका महत्त्वपूर्ण कुराहरू जुन प्रस्तुत गरे त्यही नै ‘दिव्योपदेश’ हो । यसका दुई भाग छन् : पहिलो भाग नेपाल एकीकरण गर्दाको विषयलाई संस्मरणमा राखिएको छ भने दोस्रो भागमा राजनीतिक, आर्थिक, सांस्कृतिक र सामाजिक कुराहरू रहेका छन् । प्रस्तुतिका ढङ्गले सूत्रात्मक, थोरैमा धेरै वा गागरमा सागर भने झैँ यसमा राष्ट्रले अँगाल्नुपर्ने सम्पूर्ण कुराहरू समाविष्ट भएका छन् ।
सन्देशका रूपमा प्रस्तुत भएको ‘दिव्योपदेश’ नेपाली साहित्यको प्राथमिककालीन उत्कृष्ट गद्य सामग्री हो । यसलाई साहित्यको विधागत संरचनाका दृष्टिले हेर्दा आत्मपरक निबन्धभित्र राख्नुपर्ने हुन्छ । ‘दिव्योपदेश’मा नेपालको जाति, धर्म, संस्कृति र समाजबारे पृथ्वीनारायण शाहको धारणा पाइन्छ । राष्ट्रिय, अन्तर्राष्ट्रिय नीति, सीमाव्यवस्था, उद्योग, अर्थव्यवस्था, गृह र परराष्ट्र चेतना, भूपरिवेष्टित राष्ट्र हुनाको पीडा र यसका समस्यालाई पृथ्वीनारायण शाहले राम्ररी आत्मसात गरेका छन् । यो दृष्टिकोण आज पनि सान्दर्भिक देखिन्छ । धर्म र संस्कृतिका सम्बन्धमा मुलुकलाई सुदृढ बनाइराख्नुपर्ने, मुद्रा निष्कासन, सेना परिचालन राष्ट्रको सर्वोच्च शासकको नियन्त्रणमा रहनुपर्छ भन्ने कुरा ‘दिव्योपदेश’मा रहेको छ । त्यसैले पनि पृथ्वीनारायण शाहले ‘भारतीय ठेट्टर प्रणालीका सस्ता नाटकहरूलाई बन्द गराई ज्यापू नाच दखाउनू’ भन्ने भनाइ व्यावहारिक र राष्ट्रवादी देखिन्छ । ‘दिव्योपदेश’मा सोझो वा सामान्य भाषा मात्रै नभई कलात्मक भाषा पनि पाइन्छ । त्यसैले यो प्राथमिककालीन नेपाली गद्य साहित्यको उत्कृष्ट नमुनाका रूपमा देखिन्छ । यसको भाव र भाषाले गहन निबन्धको स्वरूप प्राप्त गरेको छ । कलात्मक शैलीशिल्पका साथै लाक्षणिक र व्यञ्जनाका तहमा कतिपय उक्तिहरू महत्त्वपूर्ण छन्, जस्तै स् “यो राज्य दुई ढुङ्गाको तरुल हो, जाइ कटक गर्नु झिकि कटक नगर्नु, प्रजा मोटा भया दरबार बलियो हुन्छ ।”
पृथ्वीनारायण शाहका दृष्टिमा ‘नेपाल सबै जातको साझा फूलबारी’ हो । उच्च राजनीतिक दूरदर्शिता र साहित्यिक गुणका माली पृथ्वीनारायण आफ्नो धर्म, संस्कृति, भाषा, कला तथा साहित्यप्रतिको भावनामा उत्सर्ग दिँदै राष्ट्रको विकास र सीमा विस्तार गर्ने कुरामा निकै महत्त्वाकाङ्क्षी थिए । उनले तत्कालीन समाजलाई भाषा र साहित्यका माध्यमबाट जुन सन्देश दिएर गए ती आज पनि उत्तिकै महत्त्वपूर्ण र मननीय छन् । त्यसमा व्यक्त गरिएको राष्ट्रिय चिन्तन आज प्रत्येक नेपालीले आत्मसात गर्नु प्रत्येक नेपालीको स्वाभिमानी र राष्ट्रवादी कर्तव्य हो । आजको समाजमा देखापरेका भ्रष्टाचार र घुसखोरीको तथा देशको शासनसत्ता समालेर विदेशको गुणगान गर्ने र आफ्नै देशको सीमा विदेशीले अतिक्रमण गर्दा त्यसलाई राजनैतिक मुद्दा बनाएर बर्सौंसम्म सत्तामा जाने तर त्यसरी गुमेको भूमि फिर्ता लाउन नसक्नेहरूलाई दिव्योपदेशमा पृथ्वीनारायण भन्छन् स् “मेरा साना दुखले आर्ज्याको मुलुक होइन, सबैलाई चेतना भया, प्रजा मोटाभया दरबार बलियो हुन्या छ, घुस लिन्या र दिन्या दुवै राष्ट्रका शत्रु हुन् ....” यसैगरी “बुढा मरै भाषा सरै” भन्ने उक्तिले भाषाको गति र परिवर्तनशीलतातर्फ सङ्केत गरेको छ । यस्तै सूक्तिमय अभिव्यक्तिले ‘दिव्योपदेश’ कसिलो, खँदिलो र मार्मिक बनेको छ । यसमा पृथ्वीनारायण शाहको अनुभवको गहिराइ, प्रतिभा, प्रशासनिक तथा न्यायिक दक्षता र नेतृत्वको गुण स्पष्ट हुन्छ जुन आजका शासकवर्गले सिक्नुपर्ने देखिन्छ । ‘दिव्योपदेश’मा नैतिक भावनाको प्रचूरता छ । साहित्यमा नैतिक प्रबलता वर्जित हुन्छ तर यहाँको आलङ्कारिकताले त्यसलाई साहित्यमा परिणत गर्न सफल भएको छ ।
पृथ्वीनारायण शाहले जुन राज्यमाथि विजय हासिल गरे त्यहाँका जनताको संस्कृति, परम्परा र सम्पदालाई नष्ट नगरी त्यसको संरक्षण गरेर ती जनताको विश्वास जिती लोकप्रिय बने । उनका विचारमा काठमाडौँ उपत्यमा के के न होला भन्ने थियो, उपत्यकाका तिनै सहर विजयपछि उनी भन्छन् स् “यो तीन सहर भन्याको चिसो ढुङ्गो हो ।” उनी जनताका मतको निकै कदर गर्दथे भन्ने कुरा “दुनियाँ जसदेखि राजी हुन्छन् त्यसैलाई कजाइँ दिनू” भन्ने भनाइबाट प्रष्ट हुन्छ ।
समग्रमा पृथ्वीनारायण शाहले नेपाली भाषा र साहित्यलाई विकास गर्न मद्दत गर्नुका साथै ससाना राज्यलाई एकीकरण गरेर नेपाल (काठमाडौँ) लाई विशाल नेपालको स्वरूप दिए । उनको र उनका उत्तराधिकारी बहादुर शाह र राजेन्द्रलक्ष्मीका पालामा एकीकरण भई विस्तारित भएको नेपाल बरु खुम्चियो तर थप विस्तारित हुन सकेन । उनको राष्ट्रिय चिन्तनलाई सम्झने, सभागोष्ठी र लेखन कार्यमै सीमित नराखी प्रत्येक नेपालीले अनुसरण गर्नुपर्ने बेला भएको छ । आज राष्ट्रिय अस्मितामा राष्ट्रकै सन्तानद्वारा दाग लगाइँदै छ यस्तो परिप्रेक्ष्यमा पृथ्वीनारायण शाहको दिव्योपदेशले हामी सबैलाई एकताको सूत्रमा बाँधी राष्ट्रियतालाई बलियो बनाओस् ।