I am not a 'Hindu' but a Sanatani (म ‘हिन्दु’ होइन सनातनी हुँ)

Dr.Khagendra Ghodasaini
4
म ‘हिन्दु’ होइन सनातनी हुँ

डा. खगेन्द्र घोडासैनी

नेपाली बृहत् शब्दकोशअनुसार ‘हिन्द, हिन्दु र हिन्दी’ यी तीन ओटै फारसी स्रोतका शब्द हुन् । यसमा हिन्दु शब्दको अर्थ ‘वेद, धर्मशास्त्र, नीतिशास्त्र र पुराण आदिलाई आफ्नो धर्मग्रन्थ मान्ने जाति वा धर्म’ भनी उल्लेख गरिएको पाइन्छ । यही कोशमा हिन्द शब्दको अर्थ ‘हिन्दुस्तान, भारत देश’ उल्लेख गरिएको छ । यसमा हिन्दी शब्दको अर्थ ‘हिन्दुस्तानको, भारतसम्बन्धी, भारतीय, हिन्दुस्तानका निवासी, भारतीय व्यक्ति, हिन्दुस्थानको प्रमुख भाषा, स्वतन्त्र भारतको राष्ट्रभाषा’ उल्लेख गरिएको छ । यो शब्दले दिने खास अर्थ के हो भन्नेबारे भाषावैज्ञानिक र यस शब्दको उद्भवका वा स्रोतका दृष्टिले हेर्दा यो अर्थ त्रुटिपूर्ण देखिन्छ ।
हिन्दुस्तान भारत हुने, हिन्दमहासागर भारतकै नजिक हुने, सिन्दुघाटी भारतको राजस्थानको नजिक पर्ने अनि ‘हिन्दु’ धर्म नेपालीको हुने अझ पहिले त हिन्दुराष्ट्र नै नेपाल रे ! कतिपयले अझै यही हुनुपर्छ पनि भन्दै छन् । ऐतिहासिक भाषाविज्ञानअनुसार ‘सिन्ध वा सिन्धु वा सिन्धी’ शब्दमा रहेको ‘स्’ ध्वनिको ‘ह्’ उच्चारण भएर ‘हिन्द, हिन्दु र हिन्दी’ शब्दको निर्माण भएको देखिन्छ ।
नेपाली बृहत् शब्दकोशअनुसार सनातन शब्दको अर्थ हेर्दा ‘१.आर्यहरूमा प्राचीन समयदेखि चलिआएको मानवीय धर्म, २. वेद, पुराण, तन्त्र, मूर्तिपूजा आदिद्वारा समर्थित अचेल चलेको हिन्दु धर्म’ उल्लेख हुनुले माथिको हिन्दु शब्द नयाँ हो, पहिले थिएन भन्ने कुराको पुष्टि शब्दकोशले नै गरेको देखिन्छ ।
यो स्वतन्त्रताको जमानमा तपाईँ स्वतन्त्रपूर्वक आफ्नो धर्म उल्लेख गर्नुपर्ने कोलममा ‘हिन्दु’ लेख्न सक्नुहुन्छ तर म यस शब्दको प्रयोगप्रति आपत्ति जनाउँछु । मैले विश्वविद्यालयका विभिन्न तहमा पढ्दा वा कतै व्यक्तिगत विवरण भर्दा धर्मको कोलममा कहिल्यै हिन्दु शब्दको प्रयोग गरेको छैन । म यो शब्द लेख्न सधैँ अनकनाइरहेँ । मैले आफू नेपाली भएकाले हिन्दु धर्मको ठान्न सकिँनँ । यसको प्रमुख कारण हो म हिन्दु होइन सनातनी हुँ । खस भाषा वा नेपाली भाषाका मूल वक्ताहरू नेपाल प्रवेशबारे विभिन्न अध्ययन भएका छन् । जुनबेला खसजाति हिमाली र पहाडी भूभागमा आए त्यो बेला कुनै आधुनिक राष्ट्रहरूको उदय भएको थिएन । जुनबेला कुनै स्वतन्त्र राष्ट्र थिएन र राष्ट्रहरू बन्ने र बलिया शासकद्वारा भत्काइने स्थिति थियो त्यो बेला भारत पनि थिएन । हिन्दमहासारगदेखि हिमालयसम्मको भूभागलाई आर्यावर्त भनिएको छ ।
आसमुद्रात् वै पूर्वादसमुद्रात्तु पश्चिमात् ।
तयोरेवान्तरं गिर्योरार्यावर्त्तं विदुर्बधाः ।। (मनुस्मृति, २.२२)
अर्थात् पूर्वमा समुद्रदेखि लिएर पश्चिममा समुद्रसम्म रहेको भूभाग, उत्तरमा हिमालय र दक्षिणमा रहेको विध्याचलको मध्यमा रहेको देशलाई नै विद्वान्‌हरूले 'आर्यावर्त' भनेका छन् ।
यो भूभाग आर्यावर्त थियो तर कुनै पनि स्वतन्त्र राष्ट्रको अस्तित्व थिएन । त्यतिखेर कर्णाली प्रदेशमा खस आर्यहरू प्रवेश गर्दा हिन्दुस्तान बनेको कुनै प्राग्ऐतिहासिक प्रमाण छैन । खस आर्यहरू यस क्षेत्रमा प्रवेश गर्दा पनि उनीहरूको धर्म सनातन थियो र आज पनि त्यही स्थिति हो किन भने तिम्रो धर्म र जाति परिवर्तन गर भनेर कुनै शासकको अधिन नभएको मुलुकको बासिन्द भएका नाताले मैले आफूलाई सनातनी ठान्नु उचित नै देख्छु ।
यस विषयमा मेरो अध्ययन कालमा व्यक्तिगत छलफल धेरैसँग भयो । २०६१ सालतिरको सानो टिपोट पनि बन्दाबन्दीमा पुराना फाइल पन्टाउँदा फेला पर्‍यो । आज त्यसलाई पनि जोड्दै छु । भारतमा ‘संस्कृत भारती’ भन्ने एउटा संस्था छ । यस संस्थाले बाह्यरूपमा संस्कृत भाषा सिकाउने उद्देश्य राखेको भनी प्रचार गर्ने गर्दछ । यो भारतीय जनता पार्टीको भातृ संगठन भएको कुरा मैले प्रत्यक्ष अनुवभ गरेको छु । म पनि भारतको वाराणसीमा पढ्दाखेरि एकपटक संस्कृत भारतीको कार्यक्रममा पुगेको थिएँ । नाम, ठेगाना र अध्ययनको विवरण भरेपछि मलाई पनि बोल्ने मौका दिइयो । मैले संस्कृतमै आफ्नो कुरा राखेँ । मलाई त्यसै दिन ’सम्पूर्णानन्द संस्कृत विश्वविद्यालयका छात्रहरुको संस्कृत भारती समूह’ बनाई मलाई उपाध्यक्ष बनाइयो । त्यसपछि सन् १९९७ को जनवरी महिनाको १५ तिरको समय थियो । त्यसै संस्थाको सात दिने विशेष संस्कृत भाषा प्रशिक्षणमा सहभागी बन्न पुगेको थिएँ । उक्त कार्यक्रम वारणसी सहरबाट करिब तिस चालिस किलोमिटर टाढा म त्यसअघि कहिल्यै नगएको कुनै गाउँको बिचमा रहेको एउटा गौशाला र भव्य सभाहल भएको ठाउँमा आयोजना गरिएको थियो । त्यसका लागि लाग्ने न्यूनतम शुल्क मात्रै लिइएको थियो । त्यहाँ खाने, बस्ने र सुत्ने सबै सुविधा थियो । उक्त कार्यक्रममा सम्पूर्णानन्द र काशीहिन्दु विश्वविद्यालयका करिब पचासजना जति छात्रहरूको सहभागिता रहको थियो । सुरुका दुई दिन विशुद्ध संस्कृत भाषाको प्रशिक्षण भयो । त्यहाँ एउटा नियम बनाइएको थियो– 'सबैले संस्कृत भाषाको प्रयोग गर्नु पर्ने, कसैले पनि संस्कृत बाहेक अरु भाषाको प्रयोग गर्न नपाइने' ।
तेस्रो दिनदेखि आर्यावर्त र हिन्दुका बारेमा व्याख्यान सुरु भयो । माथि उल्लेख गरिएको मनुस्मृतिको श्लोकलाई आधार बनाएर हिन्दमहासागरदेखि हिमालयसम्मको भूभागलाई समेटेर अखण्ड भारत बनाउने लक्ष्य बताइयो । यस कार्यक्रममा अरू पनि नेपाली छात्रहरूको सहभागिता थियो । कसैले आपत्ति गरेको पाइएन । म अलि अगाडि बसेको थिएँ । म एकाएक कार्यक्रम हुँदै गरेका बेला जुरुक्क उठेर हिन्दीमा त्यसको प्रतिवाद गरेँ । एक त कार्यक्रममा हिन्दीको प्रयोग भयो, अर्को बिचमै उठेर बोलेको हुनाले ठुलै मुद्दा भयो । एकजना जैन विद्यार्थी रहेछन् विद्यावारिधिका । उनले मेरो पूर्ण साथ थिए । हामीले भन्यौँ हामीलाई सहरसम्म पुर्‍याउनुपर्‍यो । हामी फिर्ता हुन्छौँ । संस्कृत सिक्न आएको हिन्दु र भारतीय जनता पार्टीको प्रशिक्षण र नेपाललाई समेत भारतमा मिसाउने कुराप्रति आपत्ति रहेको भनेपछि अबदेखि संस्कृत मात्रै सिकाउने कुरा भयो र सात दिनको प्रशिक्षण सकेर फर्किएँ । म यसरी भुक्तभोगी भएकाले हिन्दु र सनातन शब्दको अर्थबारे भारतीयहरूले कसरी अर्थ्याउने रहेछन् भनी त्यसदिनदेखि स्पष्ट भएको हुँ ।
पछिल्लो पटक हिमालयबाट हिन्दु शब्दको उत्पत्ति भएको हो भन्ने एकजना किराँत धर्म गुरुको व्याख्या पनि सुनेँ । यस्तो व्याख्याले मौलिकता ग्रहण गरे पनि मलाई पूर्णतः सन्तुष्ट बनाउन सकेन । कुनै पनि व्याख्या त्यसको ऐतिहासिक र तथ्यगत आधारमा गरिनुपर्दछ । यी दुई आधारमा नगरिएका व्याख्याहरूलाई सर्वमान्य बनाउन सकिँदैन । अर्कातिर हिन्दु शब्दको स्रोत फारसी भाषा भएकाले यसलाई हिमालयसँग जोड्न पनि त्यति सान्दर्भिक लागेन । यसैले आफूलाई सनातनी र आफूले मानेको धर्म सनातन भन्नु नै बढी उचित देख्छु ।
नेपालको वर्तमान संविधानले पनि यसैलाई आधार मानेर सनातन भनेर पहिलेदेखि चलिआएकाको अर्थमा अर्थ्याएको देखिन्छ । केही मानिसहरूमा अझै पुरानाको होइन बिचमा भएका केही शब्दले प्रभावित पारेको देखिन्छ । त्यो भनेको हिन्दु नै हाम्रा धर्मको नाम हो भन्ने भ्रम हो । त्यस्तो भ्रम नपार्न र सनातनीहरूलाई बुझाउन हिन्दु शब्दको प्रयोग गरिनुलाई मैले आपत्तिका रूपमा लिएको छु ।
रचना : २०७७-५-२१

(राप्ती साहित्य परिषद्, दाङको साहित्यिक पत्रिका 'अन्तर्ध्वनि' त्रैमासिक २०७७ बाट साभार, त्यसमा यसको शीर्षक फरक थियो यसमा परिमार्जन गरिएको छ । -लेखक)

Post a Comment

4 Comments
  1. सनातन/ पहिलेदेखी चली आयको भन्ने शब्द को नभै धर्मनिरपेक्ष भन्ने शब्द प्रती मेरो गम्भीर आपत्ति हो।

    ReplyDelete
  2. मैले त पहिलेदेखि चलिआएको भन्ने अर्थमै प्रयोग गर्छु है !

    ReplyDelete
  3. अति उपयोगी लेख

    ReplyDelete
Post a Comment

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top