Evaluation process of research article (अनुसन्धानात्मक लेखको मूल्याङ्कन प्रक्रिया)

Dr.Khagendra Ghodasaini
0

अनुसन्धानात्मक लेखको मूल्याङ्कन प्रक्रिया



डा. खगेन्द्र घोडासैनी

(सारसङ्क्षेप : प्रस्तुत लेखमा अनुसन्धात्मक लेखको मूल्याङ्कन कसरी गर्ने भन्ने कुरा स्पष्ट पारिएको छ । अनुसन्धाताले तयार गरेको अनुसन्धानमूलक लेखको उचित पठन गरी प्राविधिक र विषयगत रूपमा विज्ञद्वारा गरिने समीक्षा नै मूल्याङ्कन हो । यस्तो मूल्याङ्कनमा अनुसन्धान विधि र अनुसन्धाताले आफ्नो अनुसन्धानमा ज्ञानको उचित तरिकाले सङ्गठन गरे÷नगरेको हेर्ने काम हुन्छ । कुलश विज्ञद्वारा गरिएको उचित मूल्याङ्कनबाट लेखको गरिमा बढ्ने र त्यसले पाठकप्रति अनुसन्धानमा विश्वास बढ्ने र अनुसन्धानलाई त्रुटिरहित बनाउन मद्दत पुग्ने देखिन्छ । अनुसन्धानात्मक लेख मूल्याङ्कनको उद्देश्य अनुसन्धातालाई उसको अनुसन्धान परिमार्जन र संशोधन गर्न सहयोग गर्नु हो । त्यसैले विज्ञले अनुसन्धाताद्वारा तयार गरिएका कामको उचित मूल्याङ्कन गरी परिमार्जन गर्नुपर्ने पक्ष समेटी लिखित रूपमा आवश्यक सुझावहरू दिएर मूल्याङ्कन गर्दा उपयुक्त हुन्छ भन्ने निष्कर्ष निकालिएको छ ।)
शब्दकुञ्जी : अनुसन्धान, लेख, मूल्याङ्कन, लेखक, विज्ञसमीक्षा ।
विषयपरिचय
कुनै लेखकका लेखको पठन गरी विज्ञद्वारा गरिने मूल्याङ्कनलाई विज्ञसमीक्षा भनिन्छ । यसलाई अङ्ग्रेजीमा Article Review वा Peer-Reviewed भनिन्छ । अनुसन्धान गर्ने काम सकिएपछि त्यसको मूल्याङ्कन गराउने कार्यलाई नै यहाँ मूल्याङ्कन शब्दबाट बुझाउन खोजिएको छ । मूल्याङ्कन विषय विशेषज्ञले गर्ने हुँदा ऊ अनुसन्धान प्रविधिसँग पनि परिचित हुन्छ । त्यस्ता विज्ञद्वारा गरिने समीक्षा नै विज्ञसमीक्षा वा मूल्याङ्कन हो । विज्ञले विषयगत र प्रविधिगत दुबै आधारमा अनुसन्धाताले गरेका कार्यको समीक्षा वा मूल्याङ्कन गर्ने काम गर्दछ । त्यस्तो समीक्षा लिखितरूपमा प्रस्तुत गर्नुपर्ने हुन्छ । अनुसन्धानात्मक लेखको मूल्याङ्कन गर्दा अपनाउनु पर्ने चरणहरूलाई समेत बुझाउन ‘अनुसन्धानात्मक लेखको मूल्याङ्कन प्रक्रिया’ शीर्षकको चयन गरिएको छ । कुनै अनुसन्धानकर्ताले पहिले अनुसन्धानमूलक लेख तयार पार्दछ । त्यस्तो लेख सम्बन्धित विषयका विज्ञलाई समीक्षा गर्न दिइन्छ । त्यस्ता विज्ञले उक्त लेख पढेर त्यसमा भएका कुराको समीक्षा गरी प्रकाशक÷सम्पादकलाई फिर्ता गर्छन् । त्यस्तो समीक्षा प्रकाशक सम्पादकले मूल लेखकलाई उपलब्ध गराई विज्ञद्वारा गरिएको समीक्षाअनुसार परिमार्जन गरी सुधार गर्न सुझाउँछन् । यसको उद्देश्य अनुसन्धानमा सुधार र परिमार्जन ल्याउनु रहेको हुन्छ । अनुसन्धानको विज्ञसमीक्षा नगराएमा त्यसमा भएका त्रुटिहरू यथावत् रहन सक्छन् । त्यसैले अनुसन्धानात्मक लेखसँग अनुसन्धाता र विज्ञ दुबै राम्ररी परिचित हुनु आवश्यक ठानिन्छ । अनुसन्धानात्मक लेख मूल्याङ्कन ‘यस आधारमा हुन्छ’ भन्ने कुरा बुझेर अनुसन्धाताले आफ्नो अनुसन्धानलाई दोषरहित बनाउन सक्छ । त्यसैले अनुसन्धाता पनि मूल्याङ्कन प्रक्रियासँग परिचित हुनु आवश्यक ठानिन्छ । अनुसन्धानमा अनुसन्धान विधिको आवश्यकता हुन्छ । मूल्याङ्कन गर्दा अनुसन्धाताको शैक्षिक स्तर, तह, पृष्ठभूमि, समय, लगानी आदि केही आधारहरूलाई ख्याल गरेर मूल्याङ्कन गर्नुपर्दछ ।
अनुसन्धानात्मक लेख, लघु अनुसन्धान, शोधपत्र, शोधप्रबन्ध आदि सबै प्रकारका अनुसन्धानको समीक्षा गराउने कार्य अनुसन्धानका क्षेत्रमा लागेकाहरूलाई नयाँ विषयवस्तु होइन । प्राज्ञिक अनुसन्धानमा यसको प्रचलन व्यापकरूपमा चलेको देखिन्छ । समीक्षा जस्तो वा जुन कोटिको हुन्छ अनुसन्धानको गुणस्तर पनि त्यति नै उच्चकोटिको हुन्छ । समीक्षा नै उपयुक्त भएन भने लेखकले कुन आधारमा आफ्नो अनुसन्धानलाई परिमार्जन गर्ने भन्ने अन्योल हुन्छ । समीक्षा यसैगरी गर्नुपर्छ भन्ने कुनै निश्चित अवधारणा बनेको पनि पाइँदैन । विश्वविद्यालयका कार्यविधिहरूले अनुसन्धानात्मक लेखको मूल्याङ्कनका केही अवधारणा बनाएका छन् । केही अनुसन्धान ग्रन्थमा शोधपत्र र शोत्रप्रबन्धको मूल्याङ्कनका आधारहरू भनी उल्लेख गरिएको पाइन्छ । त्यसबाहेक मूल्याङ्कनका साझा अवधारणा कतै फेला पर्दैनन् । मूल्याङ्कनका आधार प्रस्तुत गर्ने व्यक्तिका अनुसन्धानमै त्यस्ता आधारहरूको प्रस्तुति फितलो भेटिन्छ । त्यसैले पनि मूल्याङ्कनकर्ता वा समीक्षक अन्योलमा रहनु स्वाभाविक कुरा हो । फेरि जसले जसरी समीक्षा गरे पनि त्यो चलेकै छ, त्यसैले पनि समीक्षकहरू त्यति सचेत देखिँदैनन् । कुनै लेखको तर्कसङ्गत मूल्याङ्कनबाट नै अनुसन्धानले दिएको परिणाम र त्यसले भविष्यमा गरिने अरू अनुसन्धानका लागि मार्गदर्शन गर्न मद्दत पुर्‍याउँछ भन्ने कुरा सबै विज्ञसमीक्षकले बुझ्नु जरुरी छ । त्यसैले समीक्षात्मक लेखनमा एकरूपता ल्याउन मद्दत पुर्‍याउने मूल उद्देश्यले प्रस्तुत लेख तयार पारिएको हो । यस्तो समीक्षा गर्नका लागि केही आधारभूत पक्षमा ध्यान दिनुपर्दछ । यस्तो समीक्षाले लेखकलाई आफ्नो अनुसन्धानमा थप सुधार र परिमार्जन गर्न सहयोग पुग्दछ । सबै समीक्षकले एउटै आधारमा समीक्षा गर्दैनन् । समीक्षा कसरी गर्ने ? समीक्षा गर्दा के के कुरामा ध्यान दिने ? समीक्षा लेखन कसका लागि उपयोगी सिद्ध हुन्छ ? समीक्षा लेखन कति जोखिमपूर्ण छ ? समीक्षात्मक लेखन कस्तो कार्य हो ? भन्नेजस्ता मूलभूत कुरालाई समस्या मानी प्रस्तुत लेख तयार पारिएको छ ।
अध्ययन विधि
यस अध्ययनमा निम्नानुसारको अध्ययन विधि अवलम्बन गरिएको छ :
अनुसन्धानको ढाँचा : यो गुणात्मक ढाँचाको अध्ययन हो । यसमा विभिन्न अनुसन्धानमूलक लेख, लघु अनुसन्धान, शोधपत्र र शोधप्रबन्धको मूल्याङ्कनसम्बन्धी कृतिमा प्राप्त तथ्य र तिनको समीक्षा गर्ने परिपाटीको सूक्ष्म अवलोकन र विश्लेषण गरी निष्कर्षमा पुग्ने काम गरिएको छ ।
जनसङ्ख्या र नमुना छनोट : प्रस्तुत लेखमा अनुसन्धानको समीक्षा वा मूल्याङ्कनका सबै पक्षलाई जनसङ्ख्याका रूपमा परिभाषित गरिएको छ । यसका लागि सम्भावनारहित नमुना छनोट पद्धतिअन्तर्गतको उद्देश्यमूलक नमुना छनोट पद्धतिका आधारमा अनुसन्धानात्मक लेख मूल्याङ्कन प्रक्रिया छनोट गरिएको छ ।
तथ्याङ्क सङ्कलन : प्रस्तुत अध्ययनमा विज्ञसमीक्षा वा मूल्याङ्कनसँग सम्बन्धित विषयवस्तुमा आधारित विभिन्न कृति, लेखहरू र व्यवहारलाई समेत आधार बनाएर तथ्य सङ्कलन गरिएको छ ।
तथ्याङ्क सङ्कलनका साधन : यस अध्ययनमा प्राथमिक र द्वितीय स्रोतका विभिन्न प्रकाशित पुस्तक, पत्रिका र लेखजस्ता दस्तावेजको उपयोग गरिएको छ । त्यसैले यसमा प्रकाशित दस्तावेजमा प्राप्त तथ्यको विश्लेषण गरी निष्कर्ष निकाल्ने प्रयास गरिएको छ ।
तथ्याङ्क विश्लेषण प्रक्रिया : प्राप्त तथ्यको वर्णन, व्याख्या र विश्लेषण गरेर निष्कर्षमा पुग्ने काम गरिएको छ । यस लेखमा आगमन विधिबाट विश्लेषण गरी निष्कर्ष निकालिएको छ ।
सैद्धान्तिक पर्याधार
ज्ञानका प्रत्येक शाखाका बारेमा गहन अध्ययन गर्न प्रयोग गरिने उपाय नै अनुसन्धान हो । यसबाट सबै प्रकारका प्राज्ञिक समस्याको समाधान गर्ने प्रयास गरिन्छ । यसको विधि व्यवस्थित र वैज्ञानिक हुन्छ । यसलाई मुख्यगरी अनुसन्धान, गवेषण, अन्वेषण, शोध र खोजजस्ता शब्दबाट बुझ्ने गरिन्छ । आधुनिक युगमा गरिने वैज्ञानिक खोजलाई अनुसन्धानबाटै बुझ्ने गरिन्छ जसका लागि Research शब्द प्रचलित छ । यसको अर्थ तर्कसङ्गत प्रक्रियाको अवलम्बन गरी नयाँ तथ्य पत्ता लगाउनु वा पुरानै तथ्यको परीक्षण गर्नु वा पुनव्र्याख्या गर्नु पनि हो (बन्धु, २०५६, पृ.१) ज्ञान आर्जनका अनेक उपायहरू छन् जसका लागि अनुसन्धान नै गर्नु पर्दैन । ज्ञान आर्जनको वैज्ञानिक विधि भने अनुसन्धान नै देखिन्छ । यसका वस्तुनिष्ठ, व्यवस्थित, प्राक्कल्पना परीक्षण वा सत्यापनीय र सिद्धान्त निर्माण गर्न सकिने गरी पाँच ओटा विशेषता देखिन्छन् । त्यसैले अनुसन्धान नै ज्ञान प्राप्तिको उल्लेख्य साधन हो (सिंह र शर्मा, सन् २०१२, पृ.५–७) । सामान्यतया अनुसन्धान औपचारिक र अनौपचारिक गरी दुई किसिमको हुन्छ । औपचारिक अनुसन्धान आयामका दृष्टिले लघु, मध्यम र बृहत् गरी तिन किसिमका हुन्छन् । लघु अनुसन्धानअन्तर्गत अनुसन्धानमूलक लेख, लघु अनुसन्धानलाई समावेश गर्ने गरिन्छ भने मध्यमअन्तर्गत शोधपत्र र बृहत्अन्तर्गत शोधप्रबन्धलाई राखिन्छ । लघु अनुसन्धान उपाधिरहित अनुसन्धान हो भने मध्यमचाहिँ स्नातक, स्नातकोत्तर र एम्.फिल्. तहमा गरिने अनुसन्धान हो । अनुसन्धानको बृहत् रूपलाई शोधप्रबन्ध भनिन्छ जुन विद्यावारिधि उपाधिका लागि गरिन्छ । यी तिनै आयामका अनुसन्धानकर्ताले अनुसन्धान सम्पन्न गर्नुअघि विज्ञद्वारा मूल्याङ्कन वा समीक्षा गराउने व्यवस्था हुन्छ । विज्ञले अनुसन्धानको मूल्याङ्कन गरी समीक्षा लेख्ने कार्य गर्छ । यस्तो समीक्षा अनुसन्धाताले आफ्नो अनुसन्धानसँग सम्बन्धित कृति, लेख, शोधग्रन्थको पठन गरी आफ्नो अनुसन्धानमा पूर्वकार्य वा पुनरवलोकनका रूपमा पनि समावेश गरेको हुन्छ । त्यो पनि एक प्रकारको समीक्षात्मक लेखन हो । अनुसन्धानकर्ताले गरे पनि विज्ञले गरे पनि समीक्षात्मक लेखन यिनै दुईबाट सम्पन्न हुने भएकाले यस्तो लेखन सामान्य पाठकका लागि होइन । यो प्रबुद्ध पाठक र लेखकका लागि लेखिन्छ । विज्ञसमीक्षा वा मूल्याङ्कन गर्दा मुख्य रूपमा अनुसन्धानको आयामलाई ध्यान दिनुपर्दछ । त्यसपछि अनुसन्धानको शीर्षक लगायत अनुसन्धानका अङ्गहरूको समुचित प्रयोग, अनुसन्धान विधि, सैद्धान्तिक पर्याधार, वर्णन, विश्लेषण प्रक्रिया, निष्कर्ष र सन्दर्भग्रन्थको उचित प्रयोग भए/नभएको ख्याल गर्नुपर्दछ । समग्रमा विज्ञ अनुसन्धान विधि र प्रक्रियासँग पूर्ण रूपमा परिचित हुनु आवश्यक ठानिन्छ । त्यसैले अनुसन्धानका मूलभूत पक्षहरू अनुसन्धानकर्ताले प्रयोग गरेको छ कि छैन भन्ने कुराको खोजी गरी उचित प्रयोग नभएका ठाउँमा आवश्यक सल्लाह दिने जस्तो प्राविधिक कार्यका साथै विषयवस्तुगत गहिराइ र त्यसले पार्ने प्रभावका विषयमा समेत कसरमसर लागेका ठाउँमा उचित सुझाव दिनु विज्ञको दायित्व पर्न आउँछ । यही प्राविधिक र विषयगत कुरामा उचित सल्लाह दिने कार्य विज्ञको हो । एउटै विज्ञले यी दुई कार्य गर्न नसक्ने देखिएको खण्डमा प्रकाशक÷सम्पादक वा अनुसन्धानको संयोजकले प्रविधि विज्ञसँग प्राविधिक र विषयविज्ञसँग विषयगत समीक्षा लेखन पनि लेखाउने चलन पाइन्छ ।
यसरी विज्ञले अनुसन्धानसँग सम्बन्धित प्राविधिक पक्षको पूर्ण पालना भए/नभएको औंल्याउनुका साथै विषयगत गहिराई र त्यस्तो अध्ययनले सम्बन्धित विषयमा पुग्ने योगदान वा प्रभावको औचित्य रहे/नरहेको स्पष्ट किटान गरी आफ्नो समीक्षा लयार पार्नुपर्दछ । यस्तो समीक्षा औपचारिक प्रकृतिको हुनुपर्दछ । त्यसैले प्रस्तुत लेखमा अनुसन्धान विधि र प्रविधिसँग सम्बन्धित कृतिमा पाइने अनुसन्धानका प्राविधिक पक्षलाई सैद्धान्तिक आधारका रूपमा लिई अनुसन्धान विधि र विषयगत पक्षसँग सम्बन्धित अवधारणालाई आधार मानी अनुसन्धानात्मक लेखको मूल्याङ्कन प्रक्रिया पहिल्याउने प्रयास गरिएको छ । यसका लागि बन्धु (२०६५), खनाल (२०६७), चालिसे (२०७०) र घोडासैनी (२०७६) का अवधारणाहरूलाई सन्दर्भका रूपमा उपयोग गरिएको छ ।
छलफल र विश्लेषण
अनुसन्धानको मूल्याङ्कन, त्रिपक्षीय सम्बन्ध, लेख मूल्याङ्कनका चरणहरू, मूल्याङ्कनका आधारहरू, असल मूल्याङ्कनकर्ताका गुणहरू आदि उपशीर्षक राखी अनुसन्धानात्मक लेखको मूल्याङ्कन प्रक्रिया पहिल्याउने कार्य निम्नलिखित रूपमा गरिएको छ :
अनुसन्धानको मूल्याङ्कन
संरचनाका दृष्टिले अनुसन्धानका प्रकार भएजस्तै मूल्याङ्कनका पनि भिन्न भिन्न ढाँचा उपलब्ध छन् । कस्तो संरचनाको अनुसन्धान हो, त्यसको पहिचान गरी सोहीअनुसार मूल्याङ्कन गर्नुपर्दछ । लघु, मध्यम र बृहत् अनुसन्धानको एउटै प्रकृतिको मूल्याङ्कन हुँदैन । जुनसुकै संरचनाको अनुसन्धान भए पनि अनुसन्धातालाई विज्ञले सबै कुरा स्पष्ट हुने गरी लिखित रूपमा सुझाव दिनु राम्रो मानिन्छ (बन्धु, २०६५, पृ.१४७) । अनुसन्धानका मुख्य संरचनालाई आधार बनाएर तिनको मूल्याङ्कनबारे अलग अलग रूपमा स्पष्ट पार्ने प्रयास गरिएको छ :
शोधपत्र र शोधप्रबन्धको समीक्षा
स्नातक, स्नातकोत्तर र एम्.फिल्. तह उत्तीर्ण गर्ने प्रयोजनका लागि तयार पारिने अनुसन्धानपत्रलाई शोधपत्र भनिन्छ । विद्यावारिधि र विद्यावाचस्पति उपाधिका लागि तयार पारिने अनुसन्धानपत्रलाई शोधप्रबन्ध भन्ने गरिन्छ । शोधपत्र र शोधप्रबन्ध सम्पन्न गराउने संस्थाको नियमानुसार तयार पारिएको छ वा छैन भनी मूल्याङ्कन गर्नुपर्दछ । यस्तो समीक्षा शोधनिर्देशक वा विषयविज्ञसँग गराउनु पर्दछ । “अनुसन्धान प्रतिवेदनलाई अन्तिम मूल्याङ्कनका निम्ति प्रस्तुत गर्नुभन्दा अघि त्यसको समीक्षा सम्बन्धित निर्देशकबाट हुन आवश्यक ठानिन्छ” (बन्धु, २०६५, पृ.१४८) । शोधपत्र वा शोधप्रबन्धको आवरण, जिल्दबन्दी, छपाइ शुद्धि, प्रारम्भिक भागमा राखिने विवरण, पृष्ठाङ्कन, फन्ट वा लिपि, तालिका, आरेखजस्ता पक्षहरू उपयुक्त छन् वा छैनन् ? अनुसन्धानको सार, विषय, क्षेत्र, पद्धति र अनुसन्धान विधिको उचित प्रयोग भएको छ वा छैन ? भन्नेजस्ता अनुसन्धान र भाषिकपक्षसँग सम्बन्धित कुरा व्यवस्थित भए नभएको हेरी मूल्याङ्कन गर्नुपर्दछ । समीक्षाका लागि मुख्यपृष्ठ, स्वीकृतिपत्र, कृतज्ञताज्ञापन, विषयसूची, आरेख र नक्साको सूची, समस्याकथन, उद्देश्य, प्राक्कल्पना, मुख्य शब्दको परिभाषा, पूर्वकार्यको समीक्षा, सैद्धान्तिक आधार, शोधविधि वर्णन, सिद्धान्तको प्रयोग, अनुसन्धान विधिको प्रयोग, सिद्धान्त र विधिको मेल, सामान्यीकरण प्रक्रिया, अनुसन्धानका निम्ति सुझाव, ज्ञानका क्षेत्रमा नयाँ योगदान, पादटिप्पणीको एकरूपता, सन्दर्भसूचीको पूर्णता, भाषाको शुद्धता र स्पष्टता, प्रतिवेदनको सङ्गठन, वर्णविन्यासको शुद्धता, टङ्कण वा छपाइको स्तर, सामग्री र जिल्दबन्दीजस्ता विभिन्न आधारहरू दिई तिनी स्वीकार्य छन् वा संशोधन आवश्यक छ भन्ने कुरा खुलाई यिनका आधारमा शोधपत्र र शोधप्रबन्धको समीक्षा लेख्नुपर्दछ (बन्धु, २०६५, पृ.१५३) ।
अनुसन्धानमूलक लेखको मूल्याङ्कन
नेपाली भाषामा अनुसन्धानमूल लेखका ढाँचामा एकरूपता नदेखिने हुँदा यसको मूल्याङ्कन वा समीक्षा लेखनमा पनि विविधता देखिन्छ । अनुसन्धानात्मक लेख मूल्याङ्कनका विषयगत र प्राविधिक गरी दुई आधार उल्लेख गरिएका पाइन्छन् । यसमा “क्षेत्र, विषय, शीर्षक, समस्या, उद्देश्य, पूर्वकार्य, सीमाङ्कन, सामग्री सङ्कलन, सत्यापन, विश्लेषण, आदि केही आधारभूत कुराहरू अनुसन्धानात्मक लेखमा समावेश भएको हुनुपर्दछ” भनिएको पाइन्छ (चालिसे, २०७०, पृ.२४८) तर लेखक स्वयंले आफ्नो लेखमा अनुसन्धानका यी सबै अङ्गहरूको उचित ढङ्गले प्रयोग भने गरेको पाइँदैन । नेपाली भाषामा पाइने अनुसन्धानमूलक लेखका विभिन्न ढाँचाहरूमध्ये एपिए (२०१०) को ढाँचा बढी प्रचलित छन् । त्यस्ता ढाँचामा आधारित अनुसन्धानमूलक लेखहरूलाई विज्ञसमीक्षित बनाउँदा विज्ञबाट आएका सुझावका आधारमा एपिएका अनुसन्धानमूलक लेखका ढाँचामा सामान्य परिवर्तन गरेर पनि लेख तयार गरिएका देखिन्छन् । अनुसन्धानमूलक लेखको ढाँचामा निम्नलिखित कुराहरू हुनुपर्ने कुरा उल्लेख छ : (क) सारसङ्क्षेप, (ख) शब्दकुञ्जी, (ग) विषय परिचय (घ) विधि (अ) अनुसन्धानको ढाँचा, (आ) जसङ्ख्या र नमुना छनोट, (इ) तथ्याङ्क सङ्कलन, (ई) तथ्याङ्क सङ्कलनका साधन, (उ) तथ्याङ्क विश्लेषण प्रक्रिया, (च) सैद्धान्तिक पर्याधार, (छ) छलफल र विश्लेषण, (ज) निष्कर्ष, (झ) कृतज्ञताज्ञापन, (ञ) सन्दर्भकृति सूची र आवश्यक भएमा परिशिष्ट खण्ड पनि राख्न सकिन्छ (घोडासैनी, २०७६, पृ.१२) ।
अनुसन्धान प्रतिवेदनको औपचारिक तरिकाले जिल्दबन्दी गरी प्रारम्भिक भागको सङ्गठन र साजसज्जा गरिएको हुन्छ जुन कुरा अनुसन्धानमूलक लेखका लागि आवश्यक ठानिँदैन । अनुसन्धानमूलक लेखको आवश्यक ढाँचाका अतिरिक्त अनुसन्धान विधि र सिद्धान्तको उचित प्रयोग, भाषिक शुद्धता, स्पष्टता, अन्तराल, लिपिको आकार, पादटिप्पणीको एकरूपता, सन्दर्भ ग्रन्थसूचीको उचित प्रयोग, लेखको संगठनजस्ता कुराहरू अनुसन्धानमूलक लेखका लागि पनि अपेक्षित हुन्छन् ।
अनुसन्धानको प्राविधिक पक्षका अतिरिक्त विषयगत सान्दर्भिकता पनि आवश्यक ठानिन्छ । अनुसन्धान जुनसुकै विषयमा गरे पनि त्यसले समकालीन समाजको आवश्यकता र औचित्य पुष्टि गर्न सक्ने प्रकृतिको हुनुपर्दछ । जुनसुकै अनुसन्धानले सधैँ उही रूपमा महत्त्व राख्दैन । त्यसको तत्कालीन समयमा महत्त्व, स्तर र उपलब्धि कस्तो छ भन्ने कुराका आधारमा मूल्याङ्कन गरिनुपर्दछ (बन्धु, २०६५, पृ.१४७) । अनुसन्धानमूलक लेखको मूल्याङ्कन गर्दा विज्ञले उपर्युक्त पक्षहरूमा विशेष ध्यान दिनुपर्दछ ।
त्रिपक्षीय सम्बन्ध
अनुसन्धानात्मक लेख मूल्याङ्कन प्रक्रियामा लेखक, प्रकाशक/सम्पादक र विज्ञको संलग्नता रहेको हुन्छ । सर्वप्रथम अनुसन्धाताले अनुसन्धानात्मक लेख तयार गर्दछ । त्यसरी तयार गरेको लेख प्रकाशक/सम्पादकलाई बुझाउँछ । प्रकाशक/सम्पादकले लेखकद्वारा तयार पारिएको उक्त लेख सम्बन्धित विषयका विज्ञलाई मूल्याङ्कन गर्ने प्रयोजनका लागि उपलब्ध गराउँछ । विज्ञले लेखको प्राविधिक र विषयतग मूल्याङ्कन गरी प्रकाशक÷सम्पादकलाई फिर्ता पठाउँछ । प्रकाशक/सम्पादकले विज्ञबाट प्राप्त लेखको विज्ञसमीक्षा अनुसन्धातालाई उपलब्ध गराउँछ । अनुसन्धाताले विज्ञबाट प्राप्त समीक्षाअनुसार आफ्नो अनुसन्धान परिमार्जन गरेको विवरण खुलाई सम्बन्धित संस्था वा प्रकाशक/सम्पादकलाई प्रतिवेदन बुझाउनुपर्दछ । विज्ञले बुझाएको समीक्षा र अनुसन्धाताले बुझाएको विज्ञसमीक्षाको आवश्यक सुधारको प्रतिवेदन हेरेर मात्रै अनुसन्धान गराउने संस्था वा प्रकाशकले त्यसलाई स्वीकृत गर्ने वा नगर्ने निर्णय गर्नुपर्दछ । अनुसन्धानका बारेमा अधिक जानकारी राख्नेवाला जहिले पनि अनुसन्धाता नै हुन्छ । अनुसन्धानको शीर्षक चयनदेखि यावत् पक्षका बारेमा जति अनुसन्धातालाई जानकारी हुन्छ त्यति कहिलेकाहीँ विशेषज्ञलाई पनि हुँदैन । कहिले काहीँ विशेषज्ञले आफ्नो समीक्षामा उल्लेख गरेको कुरा अनुसन्धाताले कार्यान्वयन नगर्न सक्छ । यसो गरेको खण्डमा अनुसन्धाताले आफ्नो सुधारको प्रतिवेदनमा खुलस्त पारेर उल्लेख गर्नुपर्दछ । यसरी अनुसन्धानात्मक लेखको मूल्याङ्कन विज्ञ, अनुसन्धाता र अनुसन्धान गराउने संस्था वा प्रकाशक/सम्पादक गरी त्रिपक्षीय सम्बन्धबाट सम्पन्न हुन्छ । त्यसैले अनुसन्धानात्मक लेखको मूल्याङ्कन प्रक्रियामा यी तिनै पक्षको उल्लेख्य भूमिका रहने हुँदा यो त्रिपक्षीय सम्बन्धका रूपमा देखिन्छ । यसमा एउटा पक्ष फितलो भएमा उचित मूल्याङ्कन सम्भव देखिँदैन ।
लेख मूल्याङ्कनका चरणहरू
विज्ञसमीक्षा लेख्दाखेरि लेखमा व्यक्त गरिएका मुख्य विचारहरू के के छन् ? तर्कहरू के कस्ता छन् ? विचार वा धारणाहरूको व्यवस्थापन कसरी गरिएको छ ? अध्ययन पद्धति कस्तो छ ? अध्ययनको परिणाम कस्तो छ ? यिनैको सार लेखिन्छ । अध्ययन जुन क्षेत्रसँग सम्बन्धित छ त्यसमा यसले पार्ने प्रभाव र योगदानका बारेमा समीक्षात्मक लेखन गर्दा विचार पुर्‍याउनुपर्दछ । अनुसन्धानात्मक लेखका मुख्य तिन चरण छन् :
पहिलो चरण
अनुसन्धानात्मक लेख मूल्याङ्कन गर्दा मूलपाठको अध्ययन पहिलो सर्त हो । त्यसैले सबैभन्दा पहिले लेखलाई राम्रोसँग पढ्नुपर्दछ । लेखकको विचार, सिद्धान्त र अनुसन्धान विधिका बारेमा प्रतिक्रिया लेख्नका लागि विज्ञले प्राप्त प्रमाण र विचारपूर्ण तर्कलाई मुख्य आधार बनाउनुपर्दछ । समीक्षा लेखनले केवल लेखकका अनुसन्धानको समीक्षा गर्दछ । यसले कुनै नयाँ अनुसन्धान प्रस्तुत गर्दैन । यसले लेखको सार र मूल्याङ्कन दुबै प्रस्तुत गर्दछ । त्यसैले लेखको समीक्षा गर्नुअघि त्यसलाई पढ्नुपर्दछ । कसरी पढ्ने त्यसबारे निश्चित अवधारणा तयार पार्नुपर्दछ जसबाट प्रभावकारी समीक्षा लेख्न सकियोस् । सर्वप्रथम लेखको सार के हो ? अनुसन्धानको मुख्यबिन्दु, लेखकले लेखबाट दिएको उपलब्धि, सूचनाको प्राप्तिमा राम्ररी ध्यान दिनुपर्दछ । लेखमा भएका राम्रा पक्षको चर्चा गरी लेखकले के राम्रो गरेको छ त्यसमा विशेष विचार गरी तिनको उठान गर्नुपर्दछ । मूलपाठमा विरोधाभास कुन कुन कुरामा छ ? आफ्नै पूर्वस्थापित तर्क कतै आफैँ काटिएको त छैन ? अभाव वा कमजोरी कुन ठाउँमा छ ? नमिल्दा र मिलाउन सकिने पक्षहरू के कस्ता छन् ? लेखकले खोजेको निष्कर्षलाई प्रमाणित गर्नका लागि उसले खोजेका तथ्यहरू पर्याप्त छन् ? अनुसन्धान विधि उपयुक्त छ ? भन्नेजस्ता कुराहरू पहिल्याएर लेखकले खोज्न नसकेका तर खोज्न सकिने केही पक्षहरू छन् भने तिनको खोजी गर्न पनि औँल्याउनुपर्दछ । लेख नबुझिएसम्म ध्यानपूर्वक दोस्रो तेस्रोपटक पनि पढ्नुपर्दछ । यसरी पढ्दा महत्त्वपूर्ण पक्षलाई रेखाङ्कन गर्ने, भिन्न मसीका साइन पेनले चिह्नित (हाइ लाइट) गर्ने, मुख्य र सहायक पक्षलाई सङ्केत गर्ने, आफ्नो पूर्वज्ञान र लेखमा पढेको ज्ञानलाई जोड्ने, आफ्नो पूर्वज्ञान र लेखमा व्यक्त विचारप्रति सहमति वा असहमति के छ त्यसबारे स्पष्ट हुने, आफूले समीक्षा गर्दै गरेको लेखको विषय नयाँ, पूर्वज्ञानमा आधारित वा कोरा के छ ? पहिल्याउने, लेखकद्वारा प्रस्तुत गर्न खोजिएको कुरा सोही सन्दर्भअनुसार स्पष्ट बुझिने गरी प्रस्तुत गरिएको छ वा कतै स्पष्ट पार्नु पर्ने के कस्तो छ, त्यसको किटानी गर्ने लगायतका प्रक्रिया अपनाइएको अवस्थामा लेख बुझिन्छ र त्यसको समीक्षा हुन सक्छ ।
दोस्रो चरण
दोस्रो चरणमा पठन गर्दा औंल्याइएका मुख्य बिन्दुहरूको टिपोट गरिन्छ । पहिलो चरणमा सतही पठन हुन्छ । दोस्रो चरणको पठनमा लेखको मोटामोटी धारणा बनिसकेको हुन्छ । लेखमा के छ ? कुन कुरा कहाँ छ ? लेखले दिन खोजेको सार र त्यसमा रहेको कमी समीक्षकलाई पूर्ण जानकारी हुन्छ । यस चरणमा शीर्षक, सार, विषय परिचय आदिका प्रत्येक अनुच्छेदका सुरुका वाक्य र निष्कर्ष पढ्नुपर्दछ । त्यसपछि अरू अनुच्छेद र निष्कर्ष पढ्दै आवश्यक कुराको टिपोट गर्दै जानुपर्दछ । यसबाट लेखकका मुख्य तर्क र त्यसमा प्रस्तुत गर्न खोजिएको कुरा के रहेछ भन्ने कुरा खोज्न मद्दत मिल्छ । यस चरणमा लेखको गहन पठन र आफूलाई लागेका धारणाहरूको टिपोट सँगसँगै गर्नुपर्दछ । पढ्दै टिपोट पनि गरेको अवस्थामा उक्त लेखको वस्तुगत, वैज्ञानिक र व्यावहारिक समीक्षा हुन सक्छ । यस्तो समीक्षाले अनुसन्धातालाई लेख परिमार्जन गर्न सहयोग पुग्दछ । त्यसैले लेखमा मुख्य मुख्य के के विषय उठान गरिएका छन् तिनका बारेमा वर्णन गर्ने तरिकाले पढ्नुपर्दछ । त्यसमा आफूले नबुझेका र स्पष्ट हुन नसकिएका शब्द, वाक्य र अनुच्छेदहरूको टिपोट गर्नुपर्दछ जुन विषय प्रष्ट पार्नु पर्ने आवश्यकता छ । समीक्षकले आफू अनभिज्ञ रहेका पक्षलाई बुझ्ने कोसिस गरी नबुझेका पक्षहरूको सूची तयार गर्नुपर्दछ ।
तेस्रो चरण
अनुसन्धानमूलक लेखको पठन र टिपोटपछि यदि पूर्वकार्यका लागि पठन गरिएको हो भने त्यसको समीक्षात्मक रूपरेखा तयार पार्नुपर्दछ । अनुसन्धाताका लागि समीक्षा गर्न लागिएको हो भने त्यसलाई औपचारिक प्रतिवेदनका रूपमा प्रस्तुत गर्नुपर्दछ । औपचारिक प्रतिवेदन लेख्दा संस्था प्रमुखलाई सम्बोधन गरी विषय खुलाई विषयवस्तुको सिलसिला मिलाएर लेखन गर्नुपर्दछ । यसरी तयार पारिएको प्रतिवेदन संस्था, प्रकाशक/सम्पादकसमक्ष बुझाउनुपर्दछ । उच्चस्तरका प्राज्ञिक अनुसन्धानमा यसको प्रयोग पहिलेदेखि नै भइरहेको पाइन्छ । यसमा अनुसन्धान गराउने संस्था, त्यसका प्रमुखहरूको क्रियाशीलता, योग्यता र क्षमताले अझ प्रभावकारी भूमिका निर्वाह गरेको पाइन्छ । जाँगर कम भएका विज्ञहरूले ‘सबै ठिक छ’, वा ‘राम्रो छ’ वा ‘उपयुक्त छ’ भनी एकै वाक्यांशमा समीक्षा टुङ्ग्याउने गरेका उदाहरणहरू पनि फेला नपर्ने होइनन् । यसबाट समीक्षकको पनि योग्यता, क्षमता जाँचिन्छ । जाँच औपचारिक रूपमा नभए पनि स्वयं लेखक, प्रकाशक, सम्पादक, अनुसन्धान गराउने निकायले आआफ्नै तरिकाले समीक्षकको आन्तरिक मूल्याङ्कन गरिरहेका हुन्छन् । औपचारिक रूपमा गरिएको समीक्षाले अनुसन्धानलाई स्पष्ट, वस्तुगत, व्यवस्थित र मर्यादित बनाउन मद्दत गर्ने काम गर्दछ । समीक्षकले दिएका सुझाबहरू अनुसन्धानकर्ताले पालन गरे नगरेको पहिल्याउन पनि औपचारिक समीक्षाले मार्गदर्शन गर्ने काम गर्दछ ।
मूल्याङ्कनका आधारहरू
अनुसन्धानात्मक लेख तयार गरिसकेपछि त्यसको विज्ञद्वारा उचित मूल्याङ्कन गराउनु पर्दछ । त्यसरी मूल्याङ्कन गराउँदा निम्नलिखित पक्षलाई आधार बनाउँदा उपयुक्त हुने देखिन्छ :
(क) अनुसन्धानात्मक लेखको शीर्षकको उपयुक्तता
· शीर्षक र विषयवस्तुका बिच तालमेल, स्पष्टता, समस्यामूलकता, अध्ययनको सारलाई आत्मसात् गर्ने प्रकृतिको छ, छैन ।
(ख) सारसङ्क्षेप
· सार स्पष्ट, सामान्यीकरणयुक्त, नयाँ सिद्धान्त प्रतिपादन वा पुरानो सिद्धान्तको परीक्षण वा सुधार के गरिएको छ, अध्ययनको योगदान व्यावहारिक वा सैद्धान्तिक के कस्तो छ ?
(ग) शब्दकुञ्जी
· प्रमुख पाँच शब्दको उपयुक्त चयन, तिनबाट लेखमा प्रयोग भएका उचित शब्दको प्रतिनिधित्व छ, छैन ।
(घ) विषयपरिचय
· शीर्षक परिचय, स्पष्टीकरण, उद्देश्य, सम्बद्ध अध्ययनको पुनरवलोकन, समस्याको पहिचान, समस्याको स्पष्टीकरण, व्याख्या र सीमा उल्लेख छ, छैन ।
(ङ) अध्ययन विधि
· अनुसन्धानको ढाँचा, प्रकार, नमुना छनोट, तथ्याङ्क सङ्कलनका साधन र विश्लेषणका तरिकाहरूको किटानी, तथ्याङ्कको स्रोत, प्राप्तिका उपायहरूको वर्णन आवश्यक मात्रामा गरिएको छ, छैन ।
(च) सैद्धान्तिक पर्याधार
· सैद्धान्तिक पर्याधार कस्तो छ ? पूर्वस्थापित, नयाँ वा सिद्धान्तको परिमार्जन, आगमन विधिमा आधारित अनुसन्धानमा पूर्वस्थापित सिद्धान्त नभएर अध्ययन गर्दै जाँदा सिद्धान्तको निर्माण हुन्छ । सैद्धान्तिक पर्याधार कसरी निर्माण गरिएको छ ? त्यसले अध्ययनलाई व्यावहारिक रूप दिएको छ, छैन ।
(छ) छलफल र विश्लेषण
· छलफल र विश्लेषण विभिन्न उपशीर्षक, प्रशीर्षकमा आधारित छ, छैन, तालिका, आरेख, उदाहरण दिएर विश्लेषण गरिएको छ, छैन ।
(ज) निष्कर्ष
· शीर्षक, उद्देश्य, समस्या, अध्ययन विधि, सैद्धान्तिक पर्याधारको सङ्क्षिप्त विवरण उल्लेख गरी छलफल र विश्लेषणबाट प्राप्त परिणामको सङ्क्षिप्त रूपमा निष्कर्षको प्रस्तुति छ, छैन ।
(झ) लेखको प्रस्तुति
अनुसन्धानात्मक लेख मूल्याङ्कन गर्दा त्यसको प्रस्तुतिलाई समेत ध्यान दिइन्छ । यसका लागि निम्नलिखित पक्षहरू अघि सार्न सकिन्छ :
समग्र लेखको टाइप गराइ, किनारा छोडाइ, शब्दहरूका बिचको अन्तराल, फन्ट वा लिपि, अनुच्छेद रचना, लेखको शब्दसङ्ख्या, तोकिएको ढाँचा, शीर्षक, उपशीर्षक र प्रशीर्षक रखाइ र तिनको क्रम, विषयवस्तुको प्रस्तुति, वस्तुपरक शुद्ध मानक भाषाशैली, क्रमबद्धता, स्पष्टता, वाक्यगठन, उद्धरण, पादटिप्पणी, सन्दर्भसूचीको उचित ढङ्गले प्रयोग छ, छैन ।
अनुसन्धानात्मक लेखको उपर्युक्त आधारमा मूल्याङ्कन गर्नुपर्दछ । यी आधारहरूमा सुधार गर्नुपर्ने पक्षहरू औँल्याई विज्ञले लिखितरूपमा सुझाव दिनुपर्दछ ।
असल मूल्याङ्कनकर्ताका गुणहरू
अनुसन्धानात्मक लेखमा जहिले पनि विज्ञद्वारा अनुसन्धाताले गरेका राम्रा पक्षहरू उजागर गरिनुपर्दछ । एउटा अनुसन्धानमूलक लेख वा लघु अनुसन्धान तयार गर्न अनुसन्धाताले कति समय लगाएर गरेको हुन्छ । उसको लामो समयको साधनाको प्रतिफललाई केही घण्टाको सामान्य पठनले त्यसमा भएका नकारात्मक पक्षहरू मात्रै केलाउने काम विज्ञको होइन । विज्ञले सबैभन्दा पहिले अनुसन्धानका सकारात्मक वा उपलब्धिहरूका बारेमा बुँदागत रूपमा उल्लेख गर्नुपर्दछ । त्यस्ता बुँदामा अनुसन्धानमा पाइने राम्रा पक्षले सम्बन्धित विषयक्षेत्रमा गर्न सक्ने योगदानका विषयमा चर्चा गर्नुपर्दछ । सकारात्मक चर्चासँगै अनुसन्धानलाई अझ बढी राम्रो, व्यवस्थित पार्न के कस्ता सुधारात्मक पक्षहरू हुन सक्दछन् तिनलाई पनि औंल्याउनुपर्दछ । उपशीर्षक, पृष्ठसङ्ख्या तोकेर सुझाव दिनुपर्दछ । अरू कुनै सन्दर्भकृति पढ्न सुझाव दिनुपर्ने भए कृति, लेखक र प्रकाशक तथा संस्करण भए सो पनि उल्लेख गर्दा उपयुक्त मानिन्छ । विज्ञले हचुवाका भरमा आफूले पनि पूर्ण जानकारी नराखीकन सुझाव दिइहाल्नु हुँदैन । आफूलाई आंशिक जानकारी भएको विषयमा विज्ञले बढी जान्ने भएर भ्रमात्मक सूचना वा गलत सूचना दिनु सर्वथा अनुपयुक्त हुन्छ । यसका साथै अनुसन्धानको तह, विषय, समय आदि पक्षलाई ख्याल गरेर सुझाव दिनु उपयुक्त ठानिन्छ । यसका अतिरिक्त अनुसन्धानमूलक लेखको ढाँचा र सम्पादक÷प्रकाशकले पूर्वनिर्धारित गरेको खाकालाई आधार बनाएर अनुसन्धानात्मक लेखको मूल्याङ्कन गर्नु राम्रो मानिन्छ ।
निष्कर्ष
प्रस्तुत लेख ‘अनुसन्धानात्मक लेखको मूल्याङ्कन प्रक्रिया’ पहिल्याउनमा केन्द्रित छ । यसमा विषय परिचय, अध्ययन विधि, सैद्धान्तिक पर्याधार, छलफल र विश्लेषणजस्ता प्रमुख शीर्षक छन् । छलफल र विश्लेषणअन्तर्गत अनुसन्धानको मूल्याङ्कन, शोधपत्र र शोधप्रबन्धको समीक्षा, अनुसन्धानमूलक लेखको मूल्याङ्कन, त्रिपक्षीय सम्बन्ध, अनुसन्धानमूलक लेख मूल्याङ्कनका चरणहरू, पहिलो चरण, दोस्रो चरण, तेस्रो चरण, मूल्याङ्कनका आधारहरू, असल मूल्याङ्कनकर्ताका गुणहरूजस्ता मुख्य शीर्षकमा अनुसन्धानात्मक लेखको मूल्याङ्कन के हो ? र यसलाई कति चरणगत रूपमा कसरी पढ्ने र स्पष्ट धारणा बनाई उपयुक्त तरिकाले मूल्याङ्कन गर्न सकिन्छ भन्ने विषयमा छलफल र विश्लेषण गरिएको छ ।
विज्ञद्वारा गरिने समीक्षालाई विज्ञसमीक्षा भनिन्छ । विज्ञसमीक्षा कसरी, के के कुरामा ध्यान दिएर गर्ने ? यस्तो लेखन कसका लागि उपयोगी सिद्ध हुन्छ ? भन्ने मुख्य समस्या र समीक्षात्मक लेखनमा एकरूपता ल्याई सबै विज्ञबाट प्राज्ञिक मूल्याङ्कनको परिपाटी बसाल्ने उद्देश्यले प्रस्तुत लेख तयार गरिएको हो । दस्तावेजहरूको अध्ययन र विश्लेषणबाट निष्कर्ष निकालिएको प्रस्तुत अध्ययन गुणात्मक ढाँचामा आधारित छ । यसमा तथ्यको वर्णन र व्याख्या गरी आगमनात्मक विधिबाट विश्लेषण गरेर निष्कर्ष निकालिएको छ । अनुसन्धानात्मक लेखमा अनुसन्धान विधि र प्रविधिको पालना भए/नभएको खोजी गरेर ज्ञानको उचित तरिकाले सङ्गठन भए नभएको हेर्ने काम गरिन्छ । यस्तो मूल्याङ्कन अनुसन्धाता, विज्ञ र सम्पादक वा प्रकाशक गरी त्रिपक्षीय सम्बन्धले पूर्ण हुने विषयका रूपमा देखिन्छ । अनुसन्धानका आयाम, तह, स्तर, समय र लगानी आदि विभिन्न पक्षहरू अनुसन्धानात्मक लेखको मूल्याङ्कनका प्रभावक तत्त्वका रूपमा देखिन्छन् । यस्तो लेखन जहिले पनि सुधार र परिमार्जनको उद्देश्यले लेखिने हुँदा विज्ञले अनुसन्धाताका कार्यप्रतिको प्रसंशा, प्रोत्साहन र सुधारका लागि स्पष्ट तरिकाले लिखित रूपमा उपयुक्त सुझावहरू दिएर सुधार गराउनसके अनुसन्धानात्मक लेखको औचित्य हुने देखिन्छ ।
सन्दर्भ सामग्रीसूची
खनाल, पेशल. (२०६७). शैक्षिक अनुसन्धान पद्धति, (चौ.सं.). कीर्तिपुर. सनलाइट पब्लिकेसन ।
घोडासैनी, खगेन्द्र. (२०७८,चैत ९). विज्ञसमीक्षित लेखको आधारभूत ढाँचा. नेपाली रिसर्च आर्टिकल ।
चालिसे, नारायण. (२०७०). अनुसन्धानात्मक लेख मूल्याङ्कनका आधारहरू. ऋतम्भरा, १३/१७, पृ. २४७–२५४ ।
त्रिभुवन विश्वविद्यालय शिक्षक नियुक्तिको सिफारिस सम्बन्धी विनियम २०७५. त्रिवि ।
नेसंवि शिक्षक नियुक्तिका आधार कार्यसम्पादन मूल्याङ्कन तथा कार्यक्षमता अङ्क विभाजन एवं सिफारिस सम्बन्धी निर्देशिका २०६७. नेसंवि ।
बन्धु, चूडामणि. (२०६५). अनुसन्धान तथा प्रतिवेदन लेखन. (दो.सं.). एकता बुक्स ।
शर्मा, मोहनराज र लुइटेल, खगेन्द्रप्रसाद. (२०६२). शोधविधि. (ते.सं.). साझा प्रकाशन ।
सरिन, शशीकला र सरिन, अन्जनी. (सन् २०१२). शैक्षिक अनुसन्धान विधियाँ. (चौ.सं.). विनोद पुस्तक मन्दिर ।
सिंह, रामपाल र शर्मा, ओ.पी. (सन् २०१२). शैक्षिक अनुसन्धान एवं साङ्ख्यिकी. (चौ.सं.). विनोद पुस्तक मन्दिर ।
American Psychological Association (Seventh Edition). (2020). Publication Manual : APA.
APA Quick Reference Guide (Revised). (2010). University of North Carolina School of Social Work.

(नोट : यो लेख हैमप्रभा १९ को पृ. ९-१९ मा २०७७ सालमा प्रकाशित भएको थयो । सोही लेख साभार गरी यसमा प्रकाशन गरिएको छ । यसलाई कसैले हुबहु प्रकाशन वा कपी गरेर प्रयोग नगर्नुहोला गरेमा सन्दर्भ उल्लेख गर्नुहोला । लेखक)

Post a Comment

0 Comments
Post a Comment (0)

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top