Different ways of writing quizzes (प्रश्नोत्तर लेखनका विभिन्न तरिकाहरू)

Dr.Khagendra Ghodasaini
3
प्रश्नोत्तर लेखनका विभिन्न तरिकाहरू
डा. खगेन्द्र घोडासैनी

यो लेख खोज वा अनुसन्धानमा आधारित नभई अनुभव र प्रयोगमा आधारित भएर तयार पारिएको हो । विद्यालय तहका विभिन्न समयका पाठ्यक्रम, पाठ्यपुस्तक, परीक्षा प्रणाली, विद्यार्थीहरुले प्रश्नको उत्तर लेख्ने तरिका र त्यस्ता उत्तरमध्ये शिक्षकलाई सर्वाधिक आकर्षण गर्ने उत्तर र विभिन्न तहका विद्यार्थीहरुसँगको शिक्षण सिकाइ क्रियाकलापमा संलग्न हुँदाको अनुभवसमेतका आधारमा यो निष्कर्ष निकालिएको हो । विद्यालय तहका आधारभूत ६–८ र माध्यमिक तह कक्षा ९–१२ मा अध्यापन गराउने शिक्षकहरूको पेसागत तालिमका क्रममा विद्यालय तहका शिक्षक साथीहरुसँगको छलफलमा पनि धेरैपटक यस्ता सामग्री प्रस्तुत गर्दा सकारात्मक प्रतिक्रिया प्राप्त गरेको मेरो अनुभव छ । यस्तो सामग्री सिकारु विद्यार्थीहरुलाई पनि सघाउ पुग्ने देखेर प्रस्तुत गरेको छु ।
प्रश्न र उत्तर यी दुई शब्द मिलेर प्रश्नोत्तर शब्द बनेको देखिन्छ । कुनै पनि प्रश्नको उत्तर लेख्दा त्यसको अङ्भार, प्रश्नको प्रकृति, अवस्था आदिबारे राम्रोसँग विचार विमर्श गरेर मात्रै उत्तर लेख्नुपर्छ । मौखिक प्रश्नोत्तरका क्रममा त कुनै बखत आफूलाई उचित उत्तर थाहा छैन भने ‘मैले जानेको छैन’ भन्ने उत्तर पनि सर्वाधिक उचित उत्तर हुन्छ । त्यसैले प्रश्नको उत्तर परिस्थितिजन्य पनि हुन्छ । हरेक प्रश्नको उत्तर लेखन गर्दा प्रश्नले मागेको अपेक्षित जवाफलाई लेखेर प्रस्तुत गर्ने कार्य नै उत्तर भनिन्छ । प्रश्नको अङ्कअनुसार पनि उत्तर कति लेख्ने भन्ने कुराको निर्धारण हुने गर्दछ । सबैखाले प्रश्नको उत्तर लेख्दा प्रश्नको सुरुमा रहेका शब्दहरू दोहोर्‍याउनुुहँदैन । बरु उत्तरको अन्तमा प्रश्नमा आएका शब्दहरू सापटी लिएर त्यसलाई पुष्टि गर्ने काम गर्‍यो भने ज्यादा सान्दर्भिक हुन जान्छ । यहाँ प्रश्न लेखनको विषय ज्यादा चर्चा गरिएको छैन बरु उत्तर लेखनलाई बढी चर्चाको विषय बनाउन खोजिएको छ । यो छोटो लेख यस्तै उत्तरलाई कसरी व्यवस्थापन गर्ने र आफ्नो अङ्क कसरी बढाउने भन्ने विषयमा केन्द्रित भएर तयार पारिएको छ । यसबाट विद्यार्थी वर्गलाई उचित लाभ प्राप्त होला भन्ने अपेक्षा गरिएको छ ।
प्रश्नहरु विभिन्न प्रकारका हुन्छन् । यसका मुख्य दुईओटा प्रकार छन् : वस्तुगत र विषयगत । वस्तुगतका चार प्रकार छन् : बहुवैकल्पिक, जोडा मिलाउने, ठिक÷बेठिक र खाली ठाउँ भर्ने । विषयगत प्रश्नहरु मुख्यरुपमा : अतिसङ्क्षिप्त उत्तरात्मक, सङ्क्षिप्त उत्तरात्मक र लामो उत्तरात्मक गरी तीन प्रकारका देखिन्छन् । लामो उत्तरात्मक प्रश्नका विवेचना÷समीक्षात्मक, व्याख्यात्मक र तार्किक उत्तरात्मक गरी तीन प्रकारका देखिन्छन् । यीमध्ये विषयगत प्रश्नको उत्तर लेखन गर्दा के कस्ता कुरामा ध्यान दिन आवश्यक ठानिन्छ भन्ने कुरालाई क्रमशः चर्चा गरिन्छ ।
अतिसङ्क्षिप्त उत्तर लेखन
– छोट्करी रूपमा लेख्ने,
– भाषात्त्वसँग सम्बन्धित भए न्यूनतम एक वाक्यमा लेख्ने,
– विषयवस्तुसँग सम्बन्धित भएमा अधिकतम दुई÷तीन वाक्यमा उत्तर लेख्ने ।
सङ्क्षिप्त उत्तर लेखन
– दुई अनुच्छेदको ढाँचामा लेख्ने,
– पहिलो अनुच्छेद लामो र दोस्रो छोटो लेख्ने,
– पहिलो अनुच्छेद न्यूनतम ३–५ वाक्यमा लेख्ने,
– दोस्रो अनुच्छेदमा सार लेख्न लगाउने,
– पहिलो अनुच्छेदमा उत्तर र दोस्रो अनुच्छेदमा सम्पूर्ण उत्तरको सार लेख्न लगाउने,
बुँदा टिपोट र सङ्क्षेपीकरण प्रक्रिया
‘बुँदा’ भनेको पूर्णकालीन क्रियाको प्रयोग नभएको वा असमापिका क्रियायुक्त वाक्यांश हो जुन कथनमा सबैभन्दा बढी महत्त्वपूर्ण हुन्छ । जुन ज्यादै मुख्य हुन्छ त्यसलाई छानेर टिप्नुलाई नै बुँदा टिपोट भनिन्छ । बुँदा टिपोट गरेपछि त्यसरी टिपिएका बुँदालाई अनुच्छेदमा ढालेर पूरा क्रियाको प्रयोग गर्दा त्यसले सङ्क्षेपीकरणको स्वरुप प्राप्त गर्छ । बुँदा टिपोट र सङ्क्षेपीकरणको प्रक्रियालाई क्रमशः वर्णन गर्ने प्रयास गरिएको छ :
बुँदा टिपोट
– दिइएको गद्यांशलाई मौन पठन गरी मुख्य मुख्य कुरा कहाँ छन् भनी पहिल्याउने,
– आफूलाई मुख्य लागेका शब्द, पदावली र वाक्यलाई रेखाङ्कन गर्ने,
– रेखाङ्कन गरिएका मुख्य अंशलाई असमापिका क्रियाको ढाँचामा खेस्रा टिपोट गर्ने,
–मूल अनुच्छेद र आफूले टिपेका बुँदामा विषयवस्तु छुटेको भए थप्ने र पुनरावृत्ति भए हटाउने,
–तोकिएको सङ्खयामा बुँदाको साफी लेखन गर्ने ।
सङ्क्षेपीकरण प्रक्रिया
– बुँदा टिपोट गर्न दिइएको अनुदच्छेद भएका शब्दसङ्खया हेर्ने र त्यसको एक तृतीयांश कति हुन्छ पहिल्याउने,
– टिपिएका बुँदालाई एक तृतीयांशमा छोट्याएर अनुच्छेद लेखन गर्ने,
– त्यस्ता अनुच्छेदको उपयुक्त शीर्षक दिने,
– अन्तमा कुल शब्दसङ्ख्या, एक तृतीयांश शब्दसङ्ख्या र सङ्क्षेपीकृत अनुच्छेदका शब्दसङ्ख्या उल्लेख गर्ने ।
लामो वा समीक्षात्मक÷विवेचनात्मक उत्तर लेखन
यो निबन्धात्मक शैलीको प्रश्न हो । यसमा वस्तुपरक निबन्धको शैली अपनाउनुपर्छ । निबन्धका लागि चाहिने विषयवस्तुझैँ यसमा पनि प्रश्नले मागेको उचित उत्तरलाई विषयवस्तु मानी त्यसलाई तीन अनुच्छेदको ढाँचामा सङ्गठन गर्नुपर्छ । त्यसैले यस्तो प्रश्नलाई तीन अनुच्छेदको ढाँचा र निबन्धात्मक शैलीमा तयार पार्नुपर्छ, जस्तै :
पहिलो अनुच्छेद
– परिचय वा भूमिका लेख्ने,
– पाठ र विधासँग सम्बन्धित विषयबाट सुरु गर्ने,
– लेखक वा सम्पादकसँग जोडेर पाठको शीर्षक विधाको उल्लेख गर्ने,
– प्रश्नको केन्द्रीय कथ्य वा विषयवस्तुलाई सङ्क्षिप्त रूपमा उल्लेख गर्ने,
– दुई तीन वाक्यमा समेट्ने ।
दोस्रो अनुच्छेद
– समीक्षा गर्न दिइएको मुख्य विषयवस्तुलाई पाठको पृष्ठभूमि केलाएर जोड्ने,
– रचनाको सङ्क्षिप्त वर्णन, पात्र वा चरित्रको परिचय, उसका कमी कमजोरी वा विशेषता केलाउने, निबन्ध भए विषयवस्तु र विचारको वर्णन गर्ने, जीवनी भए जीवनका आरोह, अवरोह, कठिनाइ, सङ्र्ष र उपलब्धिको वर्णन गर्ने, कविता भए त्यसलाई गद्यमा रुपान्तरण गर्ने, व्याकरणात्मक पदक्रम मिलाउने, त्यसको आशय, अर्थ, भाव र त्यसलाई भन्न खोजेको तात्पर्य पहिल्याएर लेख्ने,
– प्रश्नले खोजेअनुसारको विषयलाई पुष्टि गर्न पाठलाई सन्दर्भ बनाएर उदाहरण, विवरण, वर्णन, तर्क दिएर पुष्टि गर्ने, – पाठमा दिइएका सन्दर्भसँग जोडेर विस्तार र विवेचना गर्ने,
– पाठको सारलाई प्रश्नसँग गाँसेर त्यसप्रति आफ्नो समर्थन वा विरोध के छ त्यसलाई स्पष्ट पार्ने,
– पाठका बारेमा आफूलाई लागेको वा आफ्नो विचार वा धारणालाई पनि समावेश गर्ने,
– अपेक्षित शब्द वा आकारलाई ख्याल गर्ने,
– कक्षाको तह, अङ्क र प्रश्नको प्रकृति हेरी १५० देखि २५० शब्दसङ्ख्यामा संरचित हुनुपर्ने,
– प्रश्नको प्रकृतिअनुसार निष्कर्षात्मक वाक्य लेखेर टुङ्ग्याउने ।
तेस्रो अनुच्छेद
– पहिलो र दोस्रो अनुच्छेदका विषयवस्तुलाई २–३ वाक्यमा सारका रूपमा प्रस्तुत गर्ने ।
यसरी लामो वा विवेचनात्मक प्रश्नको उत्तर लेख्दा कक्षाको तह, प्रश्नमा उल्लेख भएको अङ्क आदिलाई पनि ख्याल गरेर लेख्नुपर्छ तर तीन अनुच्छेदको ढाँचालाई भने अनिवार्य रुपमा लेख्नुपर्छ । यसो गर्दा अनुच्छेद कसरी, कति लेखेर परिवर्तन गर्नुपर्छ भन्ने कुराको आधार तयार हुन्छ । अनुच्छेद रचनाको बोध हुुन्छ । अनुच्छेद रचना गर्दा एउटा प्रसङ्ग वा विषयलाई एउटा अनुच्छेदमा लेख्नुपर्छ भन्ने दृष्टिकोणको विकास गर्न पनि प्रश्नको तीन अनुच्छेदको ढाँचालाई प्रयोगमा ल्याउनु आवश्यक ठानिन्छ ।
तार्किक उत्तर लेखन
सिकारुमा तर्क गर्न सक्ने क्षमता के कतिको छ भन्ने कुराको मापन गर्न यस्तो प्रश्न पनि सोधिन्छ । कुनै कुरा कसैलाई बुझ्न बुझाउनका लागि गरिने युक्तिपूर्ण कुरालाई तार्किकता भनिन्छ । यसमा अरूको मत वा विचारको खण्डन गर्न प्रस्तुत गरिने तथ्य प्रमाणसहितको भनाइ समावेश गरिनुपर्छ । कुनै विषयमा आफ्नो धारणा, विचार, आशय, मत आदि के छ भन्ने कुरालाई आफ्नै मौलिक शब्द र तर्कले पुष्टि गर्दै यस्ता प्रश्नको समाधान गर्नुपर्छ । यसमा लेखकलाई स्वतन्त्र तरिकाले उत्तर दिने छुट हुन्छ तर त्यस्तो उत्तरमा पर्याप्त तार्किता हुनुपर्छ । यस्तो उत्तर लेख्दाखेरि दुई अनुच्छेदको संरचनामा लेख्नुपर्छ, जस्तै :
पहिलो अनुच्छेद
– लेखक, पाठ र विधाको उल्लेख गरेर प्रश्नको मूल समस्या वा आशयको पहिचान गर्ने,
– उदाहरण कथन वा भनाइबाट पुष्टि गर्ने काम गर्ने,
– खण्डन र मण्डन गर्ने,
– विषयको तर्कपूर्ण प्रस्तुति र समाधानमुखी विचारको प्रस्तुति गर्ने,
– वस्तुपरक शैली अपनाएर लेख्ने,
– प्रश्नको अङ्क र कक्षा हेरेर शब्द सङ्ख्या निर्धारण गर्ने,
दोस्रो अनुच्छेद
– आफूलाई मूल पात्रका रूपमा प्रस्तुत गरी आत्मपरक शैलीमा आफ्नो विचार वा धारणालाई समाधान दिने प्रकृतिको निष्कर्ष दिने,
– दुई–चार वाक्यमा आधारित संरचना बनाउने ।
प्रचलित व्याख्यात्मक अभ्यास
व्याख्या गर्दाखेरि प्रमुखरुपमा विधागत भिन्नता, संरचनागत भिन्नता र शैलीगत भिन्नतालाई ख्याल गर्नुपर्छ । व्याख्या भनेको ‘अर्थ स्पष्ट नभएको कुनै पद, वाक्य, कविता आदिको अर्थ र भाव स्पष्ट खुलाउने विवरण वा टीका’ हो । जुन शब्द, वाक्य, वाक्यांश आदिको अर्थ सहजै स्पष्ट हुँदैन त्यसको व्याख्या गर्नुपर्ने हुन्छ । कुनै पनि कथन वा अभिव्यक्तिको व्याख्या गर्दा तार्किक व्याख्या, अभिप्रायमूलक व्याख्या र विश्लेषणात्मक व्याख्यामध्ये कुन गर्ने हो त्यसमा स्पष्ट हुनुपर्छ । यो कुरा विधागत भिन्नताका आधारमा छुट्टिन्छ । कथाको व्याख्या हो भने त्यो विश्लेषणात्मक हुन्छ, कविता वा निबन्धको हो भने अभिप्रायमूलक व्याख्या हुन्छ । वादविवाद भएको अंश छ भने त्यो जुनसुकै विधाको छ भने पनि तार्किक व्याख्या हुन जान्छ । त्यसैले आफूले व्याख्या गर्दा कुन प्रकृतिको व्याख्या गर्न लागेको हो भनी किटान गर्नुपर्छ । यस्तो किटानी गर्न प्रश्नको प्रकृतिले पनि हामीलाई मद्दत गर्छ । व्याख्या गर्दाखेरि पम्परागतरुपमा गरिँदै आएको सप्रसङ्ग व्याख्याको कुरा अनिवार्य पाठ्यक्रमबाट हटाइएको छ । त्यसैले अब त्यसको अभ्यास गर्नुपर्ने देखिँदैन । सोझै व्याख्या गर्नुपर्छ । त्यसका लागि तीन अनुच्छेदको ढाँचामा लेख्नुपर्छ, जस्तै :
पहिलो अनुच्छेद : परिचय
– मूल पङ्तिमा रहेको भाव स्पष्ट पार्ने,
– दिइएको उद्धरण वा भनाइको मुख्य आशय वा त्यसमा व्यक्त विचारको सार प्रस्तुत गर्ने,
– त्यसमा व्यक्त कथनलाई निम्नलिखित रूपमा व्याख्या र वर्णन गरिएको छ भन्ने वाक्यांश थप्ने ।
दोस्रो अनुच्छेद : व्याख्या र भनाइको विस्तार
– वर्णन, विस्तृतीकरण, तर्कद्वारा भनाइको पुष्टि, तुलना, आफ्नो दृष्टिकोण राखी समीक्षा गर्ने,
– व्याख्या गर्न दिइएका पङ्तिमा रहेका शब्द, वाक्यांश, पदावली र वाक्यहरुलाई फुकाएर एकएक अर्थ पहिल्याएर विस्तृतीकरण गर्ने,
– व्याख्या गर्दा पनि मूल पाठसँग सन्बन्धित भएर गर्ने ।
तेस्रो अनुच्छेद : समापन/निष्कर्ष
– माथिका दुई अनुच्छेदमा भनिएका कुराको सारांश दिने,
– आफ्नो समीक्षात्मक विचार व्यक्त गर्ने,
– दुई/चार वाक्यमा लेख्ने,
यसरी व्याख्या गर्दा परम्परागतरुपता गरिँदै आएको लेखकको परिचय, उसका कृति, कृतिमा पाइने लेखकीय प्रवृत्ति, पाठ्यपुस्तक, पाठ, विधा आदिबाट उद्धरण गरिएको भन्ने जस्ता भनाइ उल्लेख गर्नु आवश्यक ठानिँदैन । त्यस्तो लेखाइमा निश्चित वाक्यांशहरु विद्यार्थीहरुले हुबहु घोकेर लेख्ने हुँदा घोकन्ते प्रश्नलाई नयाँ पाठ्यक्रमले पूर्णतः निषेध गरेको देखिन्छ ।
‘प्रश्नोत्तर’ यो शिक्षण सिकाइ कार्यकलापको एउटा प्रमुख कार्यकलाप र शिक्षण विधि पनि हो । भाषाको मूल्याङ्कन गर्दा भाषाका सुनाइ, बोलाइ, पढाइ र लेखाइजस्ता चारओटै सिपमा आधारित हुनुपर्छ । वर्तमान विद्यालय तहको पाठ्यक्रमले सुनाइ र बोलाइको मूल्याङ्कका लागि २५ पूर्णाङ्कको व्यवस्था गरेको देखिन्छ । पढाइका लागि खासै अङ्क छुट्याइएको छैन । सबैको केन्द्रमा लेखाइ सिप रहेको छ । लेखाइबाटै अरु भाषिक सिपको पनि मूल्याङ्कन हुने गरेको देखिन्छ । प्रश्नोत्तर मौखिक पनि हुन्छ तर प्रश्नोत्तर लेखन भनेपछि यो विशुद्ध लेखाइ सिपसँग सम्बन्धित रहेको देखिन्छ । अब लेखाइ जसको राम्रो हुन्छ उसैले ज्यादा अङ्क पाउने कुरा व्यवहार सिद्ध छ । लेखाइ शुद्ध, स्पष्ट हुनका लागि सुनाइ, बोलाइ र पढाइ पनि सबल हुनुपर्छ तर यी सबैको मूल्याङ्कन लेखाइबाट हुने भएकाले प्रश्नोत्तर लेखनमा विद्यार्थीहरुले विशेष ध्यान दिनुपर्ने देखिन्छ । राम्रो प्रश्नोत्तर लेखन गर्नका लागि यस लेखले किञ्चित मात्रामा पनि सहयोग पु¥याएछ भने मैले मेरो लेखनको सार्थकता भएको अनुभूति अवश्य गर्ने छु ।

(नोट : माध्यमिक तह कक्षा ११ र १२ मा अध्यापन गराउने शिक्षकहरूको पेसागत तालिमका क्रममा तयार पारिएको सामग्री अरूलाई पनि सघाउ पुग्ने देखेर यहाँ हुबहु राखेको छु । अरू केही थप्नुपर्ने भए यहाँहरूका उपयुक्त सुझावहरू ग्राह्य हुने विश्वास लिएको छु । कृपया उचित प्रतिक्रिया दिनुहोला । -लेखक)

Post a Comment

3 Comments
Post a Comment

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top