Composition of novels Mulukbahira मुलुकबाहिर उपन्यासको रचनाविधान

Dr.Khagendra Ghodasaini
0

मुलुकबाहिर उपन्यासको रचनाविधान

डा. खगेन्द्र घोडासैनी
सारसङ्क्षेप
प्रस्तुत लेखमा ‘मुलुकबाहिर’ उपन्यासको रचनाविधान पहिल्याउने प्रयास गरिएको छ । गुणात्मक ढाँचामा संरचित यस लेखमा सोद्देश्यमूलक नमुना छनोट विधि र कृतिबाट तथ्याङ्क सङ्कलन गरी रचनाविधानलाई सैद्धान्तिक आधार बनाइएको छ । रचनाविधान मूलतः साहित्यका विधाको संरचना र रूपविन्याससँग सम्बन्धित छ । कृतिले विधागत मूल्य पाउन यसका कथानक, चरित्र, परिवेश, दृष्टिविन्दु र सारवस्तुजस्ता पाँचओटा घटकहरूको गुम्फन भएको हुन्छ । उपन्यासको निर्माणमा भूमिका खेल्ने सूक्ष्म तत्त्वहरूको पारस्परिक मेल नै रूपविन्यास हो । ‘मुलुकबाहिर’ उपन्यासमा सामाजिक यथार्थवादी विचारका माध्यमबाट निम्न आर्थिक अवस्थाले प्रवासिएका नेपालीहरूले भोगेका पीडा, कष्ट, हन्डर र कारुणिकताको वर्णन गरिएको पाइन्छ । यसमा रैखिक र केही ठाउँमा पूर्वदीप्ति शैलीको कथानक छ भने बोधगम्य बिम्ब र प्रतीकको प्रयोग, सङ्क्षेप र दृश्यात्मक पद्धतिको प्रयोग र कुतूहलताको सिर्जनाले उपन्यास चित्ताकर्षक भएको छ । यसको भाषा चित्रात्मक, कारुणिक र मार्मिक प्रकृतिको छ । संवृत्त रूपविन्यासयुक्त यो कृति सामान्य पाठकलाई समेत पठनीय रहेको निष्कर्ष निकालिएको छ ।
शब्दकुञ्जी : आञ्चलिक, यथार्थवादी, रूपविन्यास, संरचना, संवृत ।
विषय परिचय
‘मुलुकबाहिर’ (२००४) लैनसिंह वाङ्देलद्वारा लिखित सामाजिक यथार्थवादी उपन्यास हो । वाङ्देलले माइतघर (२००७), लङ्गडाको साथी (२००८) र रेम्ब्रान्ट (२०२३) जस्ता अतियथार्थवादी र जीवनीपरक उपन्यास पनि लेखेका छन् । उनलाई उपन्यासकारका रूपमा चिनाउने कृति ‘मुलुकबाहिर’ हो । यसबाट उनी सामाजिक यथार्थवादी धाराको आरम्भ गर्ने पहिला उपन्यासकारको रूपमा देखिन्छन् । लैनसिंह वाङ्देल मूलतः सामाजिक विषयवस्तुमा उपन्यास लेख्न रुचि राख्ने सामाजिक उपन्यासकार हुन् । ‘मुलुकबाहिर’ उपन्यासमा प्रवासी नेपाली समाजको भोगाइलाई प्रस्तुत गरिएको हुनाले समाजका यथार्थपक्षलाई आफ्नो रुचिक्षेत्र बनाइएको देखिन्छ । उपन्यासकार वाङ्देल यथार्थवादी उपन्यासकार हुन् । यसमा उनले नेपालबाट कामको खोजीमा प्रवासिएका निम्नवर्गका पात्र र तिनीहरूका आफ्नै व्यक्तिगत र पारिवारिक समस्या तथा परिवेशअन्तर्गत राखेर तिनीहरूको पहिचान गराएका छन् । ‘मुलुकबाहिर’ उपन्यासका पात्रहरू निम्नवर्गका, मजदुरी वा पशुपालन गरेर जीवन निर्वाह गर्ने पात्रहरू हुन् । यी सबै गरिबीका कारण कामको खोजीमा मुगलान गएका र उतै बसेका चरित्रहरू हुन् । यसरी समाजका एकदम साधारण पात्रहरू, तिनीहरूको कष्टपूर्ण जीवन भोगाइजस्ता कुराहरूलाई यथार्थवादी शैलीमा प्रस्तुत गरिएको छ ।
वाङ्देलले ‘मुलुकबाहिर’ उपन्यासमा अँगालेको विषयवस्तु सामाजिक भएर पनि त्यसलाई यथार्थवादी रीतिअनुसार प्रस्तुत गरेका छन् । यथार्थवादीहरू नगण्य विषयवस्तुलाई अँगालेर त्यसको सूक्ष्म निरीक्षण र विश्लेषण गर्दछन् । यस उपन्यासमा अँगालिएको मुगलान जाने विषय नेपालीहरूको सामान्य जीवन प्रक्रिया हो । अहिले पनि कुनै न कुनै रूपमा नेपालीहरूको मुगलान पस्ने क्रम निरन्तररूपमा चलेकै छ तर आम नेपालीहरूको जीवन कथाभन्दा ‘मुलुकबाहिर’मा गरिएको प्रस्तुति जीवन्त र निकै मार्मिक एवम् कारुणिक बन्न पुगेको छ । यसमा प्रस्तुत गरिएको विषयवस्तुले यथार्थ जीवनसँग नजिकको साइनो गाँसेको पाइन्छ । यसरी यस उपन्यासका पात्र र यसका लागि उपन्यासकारले चयन गरेको विषयवस्तु तथा त्यस विषयवस्तुको प्रस्तुतीकरणलाई हेर्दा यस उपन्यासको रीतिक्षेत्र पूर्णरूपले यथार्थवाद रहेको पुष्टि हुन्छ । ‘मुलुकबाहिर’ उपन्यासमा आधारित भएर विभिन्न समीक्षकहरूले कलाम चलाए पनि रचनाविधानका आधारमा अध्ययन गरिएको पाइँदैन । त्यसैले यस लेखमा ‘मुलुकबाहिर’ उपन्यासको रचनाविधानरपरक अध्ययन गर्ने उद्देश्य राखिएको छ । त्यसका लागि ‘मुलुकबाहिर’’ उपन्यासको रचनाविधान के कसरी भएको छ ? भन्ने प्रमुख समस्यामा केन्द्रित भएर यो लेख तयार पारिएको छ । रचनाविधान सिद्धान्तमात्रको प्रयोग गर्नु यस लेखको सीमा रहेको छ ।
अध्ययन विधि
यस अध्ययनमा निम्नानुसारको अध्ययन विधि अवलम्बन गरिएको छ :
अध्ययनको ढाँचा : यो गुणात्मक ढाँचाको अध्ययन हो । यसमा कृतिबाट प्राप्त तथ्यको विश्लेषण गरी निष्कर्षमा पुग्ने काम गरिएको छ ।
सहभागी र नमुना छनोट : नेपाली साहित्यमा विभिन्न विधाहरू छन् । ती सबै विधाहरूलाई प्रस्तुत अध्ययनमा सहभागीका रूपमा परिभाषित गरिएको छ । यसका लागि सम्भावनारहित नमुना छनोट पद्धतिअन्तर्गतको उद्देश्यमूलक नमुना छनोटपद्धतिका आधारमा नेपालीका विभिन्न उपन्यासमध्ये लैनसिंह वाङ्देलले लेखेको ‘मुलुकबाहिर’ उपन्यास छनोट गरिएको छ ।
तथ्य सङ्कलन : प्रस्तुत अध्ययनमा ‘मुलुकबाहिर’ उपन्याससँग सम्बन्धित विभिन्न कृति र लेखहरूलाई आधार बनाएर तथ्य सङ्कलन गरिएको छ ।
तथ्य सङ्कलनका साधन : यस अध्ययनमा प्राथमिक र द्वितीय स्रोतका विभिन्न प्रकाशित पुस्तक र पत्रिकामा प्रकाशित लेखहरूको उपयोग गरिएको छ । त्यसैले यसमा प्रकाशित दस्तावेजमा प्राप्त तथ्यको विश्लेषण गरी निष्कर्ष निकाल्ने प्रयास गरिएको छ ।
तथ्य विश्लेषण प्रक्रिया : प्राप्त तथ्यको वर्णनात्मक र समीक्षात्मक अध्ययन गरिएको छ । तथ्यको पुष्टि गर्न विश्लेषणसमेत गरेर निष्कर्षमा पुग्ने काम गरिएको छ ।
सैद्धान्तिक पर्याधार
आख्यानका उपकरणहरूमा कथानक, चरित्र, परिवेश, दृष्टिविन्दु, सारवस्तु र भाषाशैलीलाई लिइएको पाइन्छ । उपन्यासका समीक्षकहरूले यसको रचनाविधानबारे चर्चा गरेको पाइँदैन तर कथाका सन्दर्भमा भने श्रेष्ठ (२०५७), श्रेष्ठ (२०६६), पौड्याल (२०६५) र घोडासैनी (२०७७) ले कथाको रचनाविधान र रूपविन्यासजस्ता पक्षका बारेमा चर्चा गरेको पाइन्छ । साहित्यशास्त्रमा समीक्षकहरूले साहित्यका विधालाई शरीररचनाका रूपमा र आत्माका रूपमा धेरै पहिलेदेखि हेर्दै र पर्गेल्दै आएका हुन् । उपन्यासका तत्त्वहरूलाई पनि शरीररचना र आत्मतत्त्वका रूपमा हेर्दा मात्र यसको रचनाप्रक्रियाका बारेमा स्पष्ट हुन सकिन्छ । समीक्षकहरू उपन्यासमा अन्तर्सङ्गठन हुन्छ भन्ने मान्यता राख्दछन् । त्यसैले साहित्यिक शब्दावलीमा सिर्जना भनेको जन्ममात्र नभई रचनाविधान पनि हो । यसका निश्चित व्यवस्थाअन्तर्गत समग्र कृतिको निर्माणका लागि स्वेच्छाले स्वीकार गरिएको कलानुशासन हो । उपन्यास विधासँगको अनुबन्धपश्चात् उपन्यासकारले अभिव्यक्तिका निमित्त अँगालेको सौन्दर्यमूलक मूल्य नै रचनाविधान हो (श्रेष्ठ, २०६६, पृ.२१) । यसअन्तर्गत औपन्यासिक कृतिको आत्मा र भौतिक शरीर दुवै खोज्ने काम हुन्छ । रचनाविधानका संरचना पक्ष र रूपविन्यास पक्षजस्ता दुईओटा एकाइ हुन्छन् ।
संरचना पक्षअन्तर्गत कथानक, चरित्र, परिवेश, दृष्टिविन्दु र सारवस्तुजस्ता तत्त्वहरू रहेका हुन्छन् । त्यसैले उपन्यासको कथ्यको विन्यासलाई नै संरचना भनिन्छ (श्रेष्ठ, २०६६, पृ.२१) । खासगरी उपन्यासमा कथ्य अनिवार्य हुन्छ । पाठकलाई यसै कथ्यको सौन्दर्यले नै आकर्षित गरेको पाइन्छ । एउटा स्तरीय उपन्यास हुनका लागि तर्कसङ्गत र युक्तिपूर्ण कथ्य आवश्यक ठानिन्छ । साहित्यिक कृतिको संरचना नै रूप हो । साहित्यिक संरचनाका विभिन्न घटकहरूको पारस्परिक मेललाई नै रूपविन्यास भनिन्छ । उपन्यासको रूपविन्यास भाषाशैलीबाट निःसृत हुन्छ । यी दुवै कथ्यका संवाहक हुन् । त्यसैले यी दुई आधारहरू जति सशक्त हुन्छन्, उपन्यासको रचनाविधानगत रूप त्यतिकै प्रभावकारी हुन्छ (श्रेष्ठ, २०६६, पृ.४१) । साहित्यिक अभिव्यक्तिको शक्ति नै भाषा हुने भएकाले उपन्यासमा भाषाले शक्तिको काम गरेको हुन्छ । उपन्यासको रचनाविधानका दृष्टिबाट हेर्दा शैलीलाई एकभन्दा बढी भाषिक एकाइहरूको सौन्दर्यबोधक समुच्चयका रूपमा परिभाषित गरिएको पाइन्छ (शर्मा, २०६३, पृ.४०३) । त्यसैले शैली रचनाकारको त्यस्तो विशिष्ट अभिव्यक्ति हो, जसमा भाषिक एकाइहरूको सौन्दर्यबोधक समुच्चय हुन्छ र भाषा एवम् विषयका दृष्टिबाट विचलन हुन्छ । यसकारण शैली अभिव्यक्तिको प्रकार हो । उपन्यासको स्वरूपका आधारमा संवृत रूपविन्यास र विवृत रूपविन्यास गरी रूपविन्यास दुई प्रकारका हुन्छन् । सरल र सामान्य भाषाशैलीको अभिव्यक्ति गरिएका उपन्यासमा संवृत रूपविन्यास हुन्छ । यसमा भाषिक विचलन हुँदैन, भाषिक नियमहरूको पालना गरिएको हुन्छ । कथ्यलाई बढी महत्त्व दिएर शास्त्रीय शैलीप्रतिको इमान्दारिता बन्ने प्रवृत्ति संवृत रूपविन्यासमा हुन्छ । विवृत रूपविन्यासमा संचनात्मक विशिष्टता, अभिव्यक्तिगत विलक्षणता र शैलीगत चमत्कार देखाइएको हुन्छ । यसमा सरल र सामान्य भाषा नभई विशिष्ट, कवितात्मक, आलङ्कारिक वा चमत्कृत भाषाशैलीको प्रयोग गरिएको हुन्छ । विवृत शैलीका उपन्यासमा प्रयोगशीलता र विशिष्ट प्रयोगमै बढी जोड दिइएको हुन्छ । आधुनिक उपन्यासमा संरचना र रूपविन्यासबिच अन्योन्याश्रित सम्बन्ध रहेको देखिन्छ (श्रेष्ठ, २०६६, पृ.४२) । उपन्यासमा प्रभावकारिता ल्याउन र निश्चित आकार प्रदान गर्न रूपविन्यास र संरचना दुवैको उत्तिकै आवश्यकता हुन्छ । उपन्यासको संरचनामा रूपविन्यास अन्तर्घुलन भएर बसेको हुन्छ । यसअन्तर्गत पदविन्यास, वाक्यविन्यास, बिम्ब, प्रतीक आदि पर्दछन् । यस लेखमा मुख्यतः उपन्यासको संरचना पक्ष र रूपविन्यासजस्ता प्रमुख दुईओटा कुरालाई सैद्धान्तिक पर्याधार मानी सोहीअनुसार ‘मुलुकबाहिर’ उपन्यासको रचनाविधान पहिल्याउने प्रयास गरिएको छ ।
छलफल र विश्लेषण/परिणाम
उपन्यासको संरचना पक्षअन्तर्गत कथानक, चरित्र, परिवेश, दृष्टिविन्दु र सारवस्तु तथा रूपविन्यास पक्षअन्तर्गत संवृत रूपविन्यासजस्ता शीर्षकमा ‘मुलुकबाहिर’ उपन्यासको रचनाविधानपरक अध्ययन गर्ने प्रयास तलका विभिन्न उपशीर्षकमा गरिएको छ ।
उपन्यासको संरचनापक्ष
‘मुलुकबाहिर’ उपन्यास १५२ पृष्ठ र चार खण्डमा विभाजन गरिएको छ । यो दुःखान्त कथावस्तुमा आधारित छ । पहिलो खण्डमा रनेले म्याउचीको हत्या र दोस्रो खण्डमा रनेले आत्महत्या गरेको छ । यी दुई खण्डमा रने र म्याउचीसँग सम्बन्धित कथानकको अन्त्य भएको छ । तेस्रो खण्डमा माहिला भुजेलले मसिनीलाई कुटेर घरबाट भाग्नाले मसिनीको जीवनमा अझ दुःख थपिएको छ भने चौथो खण्डमा माहिला भुजेलको आफ्नी छोरी रूपालाई भेटे पनि आफ्नी श्रीमती मसिनीसँग भेटै नभई मृत्यु भएको छ । पछिल्ला दुई खण्डको कथानक मसिनी र माहिला भुजेलसँग सम्बन्धित भई अघि बढेको छ । यी दुवैको संयोजन दलबहादुरले गरेको छ । यसमा आर्थिक विपन्नताले बिदेसिएका प्रवासी नेपालीहरूको मार्मिक कथालाई यथार्थपरक ढङ्गले चित्रण गरिएको छ । उपन्यासको संरचनापक्षलाई निम्नलिखित उपशीर्षकमा केन्द्रित भएर अध्ययन गरिएको छ :
कथानक
‘मुलुकबाहिर’ उपन्यास चार खण्डे भए पनि कथानकका दृष्टिबाट दुई खण्डमा राख्न सकिन्छ । यसको पहिलो खण्डको कथानक रने र म्याउचीसँग सम्बन्धित रहेको छ भने दोस्रो खण्ड माहिला भुजेल र मसिनीसँग सम्बन्धित रहेको छ । यसको आरम्भ, मध्य र अन्त्य भागका शृङ्खलाहरू पनि उक्त दुवै कथानकसँग छुट्टाछुट्टै राखेर हेर्न सकिन्छ । ‘मुलुकबाहिर’ उपन्याको पहिलो कथानकको क्रमिक विकास निम्नानुसार भएको छ :
आदि भाग
म्याउची साथीहरूको लहैलहैमा लागेर गोठबाट भागी मुगलान पस्छे । मुगलानमा गएपछि खाइलाग्दो रनेसँग हिमचिम हुन्छ । रने पनि त्यसैगरी पहाडबाट कामको खोजीमा प्रत्येक वर्ष मुगलान जाने गरेको हुन्छ । उनीहरूका बिच मायाप्रेम भएको कुरा थाहा पाएपछि खालिङ बुढाले बिहे गरिदिन्छ । बिहेपछि उनीहरू छुट्टै डेरामा बस्न थाल्दछन् ।
मध्य भाग
रने र म्याउचीबिच झगडा भई रनेसँग म्याउची नबोल्दा उसले पिट्छ । रनेसँग झगडा गरेर म्याउची साथीहरू बसेको टिस्टा पुलको डेरामा पुग्छे । रने राती नै म्याउचीलाई लिन त्यहीं पुग्छ । रनेले म्याउची र माहिला भुजेल एकै ठाउँ बसेको देख्छ । खालिङ बुढाले जति सम्झाए पनि रनेले राती नै म्याउचीलाई घर लैजाने जिद्दी गर्छ । उनीहरू दुवैका बिच निकै परसम्म कुराकानी हुँदैन । रनेले म्याउचीलाई माहिला भुजेलसँग लहसिएको आरोप लगाउँछ । रनेको शङ्का सुनेर म्याउचीले त्यसको विरोध गरी रनेसँग जान मान्दिन । रनेले उठाएर हिँडाउने प्रयत्न गर्दा असफल हुन्छ । रनेको क्रोध बढ्दै जान्छ । उसले म्याउचीलाई उचालेर टिस्टामा फालिदिन्छ ।
अन्त्य भाग
म्याउचीको हत्यापछि रनेले पश्चात्ताप गरी चारैतिर शून्य देख्छ । रातभर रुँदै टिस्टामा बगिरहेको म्याउचीको लासलाई हेरिरहन्छ । त्यसपछि ऊ प्रथम विश्वयुद्धमा होमिन्छ । क्वेटा छाउनीमा रनेको दलबहादुरसँग भेट हुन्छ । एउटै पल्टन भए पनि फरकफरक ठाउँमा खटाइनाले रने र दलबहादुरको बिछोड हुन्छ । दलबहादुर घाइते हुँदा रनेले अस्पतालमा फेला पार्छ । रने र दलबहादुरसँगै घर फर्किन्छन् अनि दलबहादुरले रनेलाई कतै जान नदिई आफ्नैै घरमा राख्छ । मसिनी र माहिला भुजेलसँग रनेको दार्जिलिङ चोक बजारमा भेट हुन्छ । मसिनी र माहिला भुजेललाई दलबहादुरले आफ्नै घरमा राख्छ । मसिनी म्याउचीकी बहिनी भएकाले उसले दिदीबारे जिज्ञासा राख्दा रनेले एकै दिनको मुटु दुःख्ने रोगले मरेकी र त्यही पिरले आफू मुगलान पसेको बताउँछ । मसिनीसँग भेटेपछि म्याउचीको सम्झना हुँदा रनेका विस्मृतिका घटनाहरू ताजा हुन्छन् । बाँच्ने रहर मरेपछि पश्चात्ताप, निराशा, शून्यता र विच्छिप्त मानसिकताका कारण म्याउचीले बुनेको खाँडीको पटुकीले पासो लगाई रनेले आत्महत्या गर्छ । रनेको मृत्युको सन्त्राससँगै उपन्यासको पहिलो खण्डको कथानक टुङ्गिन्छ ।
दोस्रो खण्डको आदि भाग
रनेका नाताले दलबहादुरकहाँ बसेका माहिला भुजेल र मसिनी रनेको मृत्युपछि पहाड फर्किन खोज्छन् । दलबहादुरले रनेको गुनका कारण उनीहरूलाई कतै जान नदिई गाई किनेर इलमको व्यवस्था गरिदिन्छ । ऊ गाई पालेर पैसा कमाई गोठालासमेत राख्न थाल्छ । उसकी छोरी रूपा जन्मिन्छे । दलबहादुरलाई देशविदेश भ्रमण गर्ने इच्छा हुन्छ । माहिला भुजेलले सिलिगुडीसम्मको टिकट काटेर बिदाइ गर्छ । जीविका गरिखाने गोरु जाडाले मरेपछि सेर्बा बुढालाई आपत् पर्छ । ऊ कुलतमा लागेको हुन्छ । उसलाई गाईको स्याहार गर्न गोठालो राखेर माहिला भुजेल आफू मधेसतिर व्यापार गर्न जान्छ । पहाडबाट आएको कान्छो राई पनि भुजेलकै घरमा बसेको एक वर्ष बित्छ ।
मध्य भाग
सेर्बा बुढाले मसिनी र कान्छो राईबिच अनैतिक सम्बन्ध भएको झुटो हल्ला गाउँमा फिँजाई यो कुरा माहिला भुजेललाई पनि बताउँछ । यसका बारेमा भुजेललाई पनि शङ्का लाग्छ । उनीहरूको चियो गर्दा एक दिन बिहान एकान्तमा कुरा गरेको देख्छ । उसलाई अरूको टिप्पणी सही लाग्नुका साथै रिस उठ्छ । मसिनीले सफाइ दिन नपाउँदै उसलाई बेसरी पिटी घरबाट निस्केर बेपत्ता हुन्छ । भुजेल घरबाट हिँडेर सिलिगुडी, आसाम हुँदै बर्मासम्म पुगेर तेल कम्पनीका काम गर्छ । रक्सी र जुवाको लतमा लागेर कालज्वरले थलिन्छ । मसिनी शारीरिक चोट र मानसिक पीडाले केही दिन थलिन्छे । बुढी आमाको स्याहार र छोरीको स्नेहले बाँच्ने आशा पलाउँछ । दलबहादुर फर्किएर माहिला भुजेललाई खोज्न कलकत्तासम्म पुग्दा पनि भेटाउँदैन । दलबहादुरले बिहे गरी छोरो जन्माउँछ । सेर्बा बुढा र बुढी आमा मर्छन् । द्वितीय विश्वयुद्धका कारण मानिसहरू डिपोमा भर्ती हुन्छन् । बर्मासम्म लडाइँको प्रभाव परेपछि त्यहाँबाट मानिसहरू घुम स्टेसनतिर फर्किन्छन् । मसिनीकी छोरीले स्टेसनमा चिया पसल खोल्छे । बर्माबाट फर्किने मानिसहरूको हुलसँगै माहिला भुजेल पनि फर्किन्छ । भुजेल वृद्ध र कालाज्वरले नचिनिने भएको हुन्छ । रूपाले दिएको खाने कुरा खाई भुजेल त्यहीं पसलमा राती बास बस्छ । भुजेलले रूपाको परिचय सोधेपछि आमासँग कान्छा राईले पसलकी केटी फकाइदिन भनेको तर बाबुले गलत अर्थ बुझी आमालाई पिटेर भागेको रहस्य खोल्छे । माहिला भुजेलले छोरीलाई चिनेर आफ्नो परिचय दिन्छ ।
अन्त्य भाग
बाबुको परिचय पाएपछि राती नै रूपाले आमासँग भेट गराउन खोज्छे । माहिला भुजेलले भोलि बिहान जाउली भनी रोक्छ । उसका मनको व्यथा सहने क्षमता घट्दै जान्छ । आफ्नो बाबुलाई चिनेर रूपामा दुःख तर मायाभाव बढ्दै जान्छ । बिहान रूपाले आमा र दलबहादुरलाई बोलाएर ल्याउँछे । माहिला भुजेल पुरानो रातो गलबन्दीले मुख छोपी मरेका घटनाबाट उपन्यासको तेस्रो र चौथो खण्ड संरचित भएका छन् ।
चरित्र र चरित्रचित्रण
भूमिकाका आधारमा ‘मुलुकबाहिर’ उपन्यासका रने, म्याउची, माहिला भुजेल र मसिनी प्रमुख भूमिका भएका पात्र हुन् । यिनीहरूले प्रवासी जीवनमा भोगेको दुःख, पीडा र हन्डरको कथा नै ‘मुलुकबाहिर’ उपन्यासको प्रमुख प्रस्तुति हो । प्रमुख पात्रहरूको चरित्रलाई अघि बढाउन सकारात्मक वा नकारात्मक भूमिका निर्वाह गर्ने दलबहादुर र सेर्बा बुढा यस उपन्यासका सहायक पात्र हुन् । यीबाहेक कान्छा राई, रूपा, खालिङ बुढा, बुढी आमाजस्ता गौण पात्रहरू पनि देखिन्छन् । यी सबै पात्रहरूले उपन्यासको मञ्चमै आएर कार्य गरेका छन् भने आफिसर कमान्डर, कर्ण बहादुर, कुलवीर थापा आदि पात्रहरू नेपथ्यमा आएका छन् । उपन्यासका प्रमुख पात्रहरू निम्नलिखित छन् :
रनबहादुर
रनबहादुरलाई यस उपन्यासमा ‘रने’ पनि भएको पाइन्छ । रने यस उपन्यासको अघिल्लो कथानकको केन्द्रीय पात्र र नायक हो । आर्थिक अवस्था कमजोर हुनाले साथीहरूसँगै हिउँदका दिन भारतमा श्रमिकको काम गर्न जाने ऊ सम्पूर्ण नेपाली युवाहरूको प्रतिनिधि पात्र हो । ऊ गहुँगोरो रङ, मझौला कद, गँठिलो शरीर र हँसिलो स्वभावको देखिन्छ । बोलीचालीमा ठट्यौलो, फरासिलो र तुरुन्त सबैसँग घुलमिल हुने हुँदा प्रत्येक वर्ष उसका पछि लागी मानिसहरू मुगलान झर्ने गर्छन् । त्यसैले ऊ यिनको अगुवा देखिन्छ । यिनै गुणहरूले गर्दा युवती म्याउचीसँग उसको मायाप्रीति सुरु हुन्छ । म्याउचीलाई मुगलानमा साथ दिने, प्रेमलाई विवाहमा बदल्ने र सुखद् जीवनको कल्पना गर्ने सत् चरित्रका रूपमा यसको पूर्वाद्र्ध देखिन्छ । श्रमिक जीवनका पीडालाई प्रेममा बदली आनन्दसँग बाँच्ने चाहना उसको छ । ऊ गीत गाउन सिपालु भएर पनि उसमा क्रोध र घमण्ड बढी छ । म्याउची रिसाएको बेला सम्झाएर, धैर्य गरेर तथा अभिमानलाई दबाएर रनेले आफूलाई नियन्त्रणमा राख्न सकेको छैन । ऊ माहिला भुजेलसँग हाँसेर कुरा गरेकी म्याउचीमाथि शङ्का गर्छ । राती डेरा फर्कंदा लोग्नेले आफूमाथि लगाएको दोषले मर्माहत म्याउचीले जिद्धी गर्दा रनेले रिसको आवेगमा स्वास्नीलाई नै टिस्टामा फाल्छ । यसबाट उसको खलनायक चरित्र देखिए पनि उसमा त्रास, पश्चात्ताप र हीनताबोध छ । अपराधबोधले उसमा विरक्ति र विदीर्ण भाव उत्पन्न भएबाट उसको गतिशील चरित्र स्पष्ट हुन्छ । प्रथम विश्वयुद्धमा गोर्खाली सिपाही बनेर रणभूमिमा वीरता देखाउने रनेले विदेशी भूमिमा लड्न पुगेका नेपालीको प्रतिनिधित्व गरेको छ । घाइते दलबहादुरलाई सहयोग गरी दार्जिलिङ फर्किएको घटनाले ऊ उदार मित्र र सहयोगी देखिएको छ । अन्त्यमा साली मसिनीको अनुहारबाट म्याउचीको विस्मृति अतीत बल्झिन पुगेपछि ऊ अधैर्य बनी आत्महत्या गर्न पुग्दछ । यसबाट ऊ कायर मानसिकता भएको दुर्वल चरित्रका रूपमा देखापर्छ ।
म्याउची
म्याउची यस उपन्यासको पहिलो खण्डको कथानककी नायिका र प्रमुख नारी पात्र हो । गोठाले जीवन बिताउने यो पात्र साथीहरूको लहैलहैमा लागेर प्रवासमा पुगेकी छे । रनेहरूको हुलसँग मिलेर पहाडबाट झरेकी म्याउची जवान, कोमल र आकर्षक देखिन्छे । ऊ रनेको व्यवहारबाट प्रभावित भई ऊसँग चोखो प्रेम सम्बन्ध राख्न पुग्छे । ऊ सरल नारीसुलभ र लजालु स्वभावकी छ । घर छाडेर पुरुषसरह मुगलान पुग्ने साहसी र आर्थिक अभावमा बिदेसिने समस्त नारीहरूको प्रतिनिधित्व गरेकी छ । ऊ अबोध, निश्छल र पवित्र भावना भएका नारीको प्रतिनिधि पात्र हो । यति भएर पनि उसमा अहम्, रिस, मुखाले स्वभाव र जिद्दीपन पाइन्छ । लोग्नेको मनोविज्ञान बुझ्न नसक्दा ऊसँग झगडा भई मृत्यु वरण गर्नु पर्ने जस्तो सामान्य मानवीय कमजोरी र अज्ञानता देखिन्छ । यस पात्रका माध्यमबाट कारुणिकता प्रस्तुत गरिएको छ । पुरुषप्रधान समाजमा नारीहरूप्रतिको अविश्वास भई परपुरुषसँग बोलेको शङ्काकै भरमा लोग्नेबाट मृत्यु सजाय भोग्न बाध्य यस पात्रले पाठकलाई पुरै शोकमा पारेकी छ । यसले नारीमाथि पुरुषले हेर्ने दृष्टिकोण र लैङ्गिक शोषण यथार्थरूपमा उद्घाटित भएको छ ।
माहिला भुजेल
महिला भुजेल यस उपन्यासको सुरुमा सहायक र अन्तमा नायकको भूमिकामा देखिन्छ । रने र भ्याउचीका बिच विवादको विषय बनेर म्याउचीको मृत्यु भई रनेले म्याउचीलाई बिर्सिसकेको अवस्थामा ऊ मसिनीलाई बिहा गरेर रनेको साढुका रूपमा पुनः देखापरेको चरित्र हो । उसले पनि बर्सेनि काम र मामको खोजीमा मुगलान पस्ने समस्त नेपाली युवाहरूको प्रतिनिधित्व गरेको छ । सुगठित शरीर, परिश्रमी, उत्साही एवम् आत्मविश्वासी विचार भएको माहिला भुजेल रनेको परिचयले दलबहादुरको दार्जिलिङको घरमा गाई पालेरै प्रशस्त धन कमाउँछ । अशिक्षित यस पात्रमा दया, सेवा र सहयोगी भावना पाइन्छ । यसैकारण उसले कान्छा राई र सेर्बा बुढालाई सहयोग गरेको छ । दलबहादुरलाई देशाटनका लागि खर्च मिलाई बिदाइ गर्ने यो पात्र सबैको भलाइ चाहने सत्पात्रका रूपमा उपन्यासमा देखापरेको छ । यति हुँदाहुँदै पनि उसमा केही चारित्रिक कमजोरीहरू देखिन्छन् । अरूका कुरा सुन्ने र सत्यतथ्य नबुझी स्वास्नीलाई कान्छा राईसँगको अनुचित सम्बन्धको आरोप लगाई मरणासन्न हुने गरी कुटेर घरबाट भाग्ने कार्यले उसलाई प्रतिकूलतामा रूपान्तरित गरेको छ । त्यहाँबाट भौंतारिंदै बर्मासम्म पुगेर कुलतमा फँस्नु र गम्भीर रोगले पीडित भई अत्यन्त दयनीय अवस्थामा बाँच्न बाध्य हुनुजस्ता परिणति उसले भोग्नु परेको छ । अन्त्यतिर उसको चरित्रमा सुधार आएको छ । आफूले गरेको अत्याचारप्रति लज्जा महसुस गरी आफ्नै छोरी रूपाको उदार प्रेम र मसिनीको बेकसुर चरित्रले मर्माहत भई स्वास्नीले दिएको गलबन्दीले मुख छोपी मर्ने यस पात्रले उपन्यासको अन्त्यमा पापको प्रायश्चित्त गरेको छ ।
मसिनी
मसिनी यस उपन्यासको पछिल्लो कथानककी नायिका एवम् प्रमुख पात्र हो । ऊ आफ्नी दिदी म्याउचीझैं घरको आर्थिक अवस्था सुधार्न माहिला भुजेलसँग विवाह गरी मुगलान पसेकी छ । सोझो, सरल र स्वच्छ हृदय भएकी यस पात्रमा दिदीको जस्तो अहम् र मुखालेपन रत्तिभर छैन । दिदीको मृत्युले उसमा गम्भीर पीडाको अनुभव भएको छ । त्यसैगरी छोरीप्रतिको स्नेह र दलबहादुरकी आमाप्रतिको सद्भावले ऊ भावुक र नैतिक चरित्रकी थिई भन्ने कुरालाई पुष्टि गर्दछ । रनेकै साइनोका आधारमा दलबहादुरको घरमा बस्न थालेकी मसिनीले परिवारमा कहिल्यै झगडा र मनमुटावको सिर्जना गरेकी छैन । निष्कपट हृदय भएर पनि उसमा अर्काको भावना बुझ्न नसक्नु, लोग्नेले पिट्दा एक वचन पनि प्रतिकारमा नबोल्नु र पछि लोग्नेलाई खोज्ने चाहना नराख्नु उसका ससाना मानवीय कमजोरीहरू हुन् । मसिनी एक जिम्मेवार अभिभावक भएर देखा परेकी छ । छोरीलाई उद्यमशील बनाउनु, घरव्यवहार धान्नु, बुढी आमाको सेवा गर्नुजस्ता कार्यमा ऊ अनवरत लागि रहेकी देखिन्छे । लोग्नेको अज्ञानताबाट दुःखित भए पनि उसमा संयम र सङ्घर्षशील सुझबुझ छ । यसैकारण कर्तव्यपरायण बनी पछिसम्म बाँचिरहन्छे । उपन्यासकारले कारुणिकता सिर्जना गर्न पनि यस पात्रको उपस्थिति गराएको देखिन्छ ।
दलबहादुर
दलबहादुर यस उपन्यासमा संयोजनकारी पात्रका रूपमा देखापरेको छ । दार्जिलिङमा घर भएको निम्नमध्यम वर्गीय सहयोगी दलबहादुर प्रथम विश्वयुद्धमा गोर्खाली सेनाका तर्फबाट लड्छ । लडाइँमा घाइते अवस्थामा उसको पूर्व परिचित मित्र रनबहादुरले अस्पतालमा भेटी सन्चो भएपछि सँगै घरसम्म पुर्‍याउने काम गरेको हुन्छ । यसपछि दार्जिलिङमा बस्ने क्रममा माहिला भुजेल र मसिनीसँग भेट भएपछि उसले उनीहरूलाई पनि रनेकै चिनजानका आधारमा आफ्नै घरलाई आश्रयस्थल बनाइदिन्छ । यसरी दलबहादुरले उपन्यासमा अघिल्लो र पछिल्लो कथानकलाई जोड्ने सेतुको काम गरेको छ । यसको चरित्रमा उदारता र आदर्शले भरिएको छ । सामान्य चिनजानमै घर सुम्पनु, पछिसम्म बिहे नगर्नु, घरपरिवार नै छाडेर विभिन्न स्थानमा भ्रमण गर्दै हिंड्नुजस्ता क्रियाकलापले उसको महान् सत्चरित्रलाई स्पष्ट पारेको देखिन्छ । ऊ कुलतमा फँसेको छैन । रनबहादुरले गरेको मद्दतलाई बारम्बार सम्झिरहनु, उसको आत्महत्यामा दुखी हुनु, घर व्यवहार धानेर आमालाई छोराको अभाव हुन नदिनु, माहिला भुजेल हराउँदा ठाउँठाउँमा खोज्न जानु र मसिनीलाई स्वार्थी नजरले कहिल्यै नहेर्नु उसका सकारात्मक चारित्रिक विशेषताहरू हुन् । यसलाई प्रवासमा बसेर प्रवासिएका नेपालीहरूलाई सहयोग गर्ने र प्रवासको यथार्थ चित्रण गर्ने उद्देश्यले मात्र चयन गरिएको देखिन्छ । यसरी उपन्यासको विकास भागदेखि अन्त्यसम्म उपस्थित भएर पनि यसले सहनायकको भूमिका निर्वाह गरेको देखिन्छ ।
सेर्बा बुढा
सेर्बा बुढा उपान्यासको सहायक र खल पात्र हो । अरूप्रति डाह गर्ने, अरूलाई खसाल्न बल गर्ने र अनावश्यक कुरा लगाएर अरूको घर भाँड्नेजस्ता छुसी प्रवृत्ति उसमा पाइन्छन् । बुढो भए पनि आफ्नो पारिवारिक जीवनप्रति त्यति वास्ता नगर्ने, जाँड रक्सी खाने र जुवा तासमा व्यस्त रहने हुनाले उसको आर्थिक स्थिति खस्किएर ऊ माहिला भुजेलकहाँ गोठालो बस्न बाध्य हुन्छ । मसिनी र कान्छा राईका बिच अनैतिक सम्बन्ध छ भन्ने कुरा लगाएर माहिला भुजेललाई उत्तेजित पारी उनीहरूको घर व्यवहार नष्ट गर्ने कारक नै सेर्बा बुढा हो । अर्काको दुःखमा रमाएर गाला बजाउने परपीडक चरित्र हो । उसको यस्तो व्यवहारका कारण ऊ बिरामी भएर मर्न लाग्दा पनि उसलाई हेर्न कोही आउँदैनन् । ऊ कामको खोजीमा ‘मुलुकबाहिर’ दुःख कष्ट गरेर विवश जीवन गुजारा गर्ने नेपालीको प्रतिनिधित्व गर्ने खल चरित्र हो ।
परिवेश
यस उपन्यासमा प्रथम र दोस्रो विश्वयुद्ध (सन् १९१४–१९३९) को समयावधि समेटिएको छ । रनबहादुर र दलबहादुरले प्रथम विश्वयुद्धमा भाग लिएका तथा माहिला भुजेल दोस्रोयुद्धको प्रभावमा परेर बर्माबाट फर्किनुपरेको घटना पाइन्छ । नेपालीहरू गोर्खाली सेनामा भर्ती भएर जर्मनको धावामा वीरता देखाएको, तक्मा तथा वीरगति प्राप्त गरेको अनि कतिपय घाइते भएको प्रसङ्ग यस उपन्यासमा वर्णित छन् । यस उपन्यासले जीवनका व्यापक परिवेशलाई समेटेको छ । नेपालको अरूण खोला र आसपासको जनजीवनको सङ्केत मात्र गरेर भारतको दार्जिलिङ, आसाम, सिक्किम, कलकत्ता आदि प्रवासी नेपालीहरू बसोबास भएका ठाउँहरूको वर्णन यसमा गरिएको छ । यसका अतिरिक्त बर्मा, इराक, अफगानिस्तान आदि नेपालीहरू युद्ध लड्न र कामको खोजीमा पुगेका स्थलहरूको समेत वर्णन पाइन्छ । नेपालीहरू गएको ठाउँ र त्यहाँका मानिसहरूको दिनचर्यालाई यथार्थमूलक तरिकाले वर्णन गरिएको छ । प्रायः नेपालीहरू हिउँदमा काम खोज्न मुलुकबाहिर जाने कुरालाई उपन्यासको केन्द्रीय परिवेश बनाइएको छ । दार्जिलिङ, घुमपहाड र टिस्टामा कामको सिलसिलामा पुगेका नेपालीहरूको जीवनशैली, उनीहरूको भाषा, संस्कृति, अन्धविश्वास, अशिक्षा, गरिबी, त्यहाँको प्रकृति र प्राकृतिक विपत्ति आदिकै चर्चामा केन्द्रित देखिन्छ । चित्रकारी आँखाले शब्दहरूको चित्र उतार्ने शैली उपन्यासकारमा स्पष्ट देखिन्छ । प्रकृतिलाई मानिसको भावसँग साक्षात्कार गराउनमा पनि उपन्यासकार सक्षम छन् ।
‘मुलुकबाहिर’ उपन्यासको वातावरण कारुणिक र दुःखान्त रहेको छ । यसमा निम्नवर्गीय नेपाली जीवनको कष्टप्रद करुण जिन्दगीको यथार्थलाई उद्घाटन गरिएकाले त्रासद र निराश वातावरण छाएको पाइन्छ । काम र मामका लागि प्रवासमा आजीवन सङ्घर्ष गर्दागर्दै पनि नेपालीहरूले सफलता हासिल गर्न सकेका छैनन् । बिरानो मुलुकमा गएर केही आशा सँगालेका भए पनि आफ्नै ईष्र्या, अहङ्कार र आवेशले गर्दा उनीहरूले जीवनलाई बरबाद पारेका छन् । यसरी दार्जिलिङको प्राकृतिक वर्णन, टिस्टाको चित्रण, प्रवासी नेपालीको जीवनपद्धति, अहम्, क्रोधका स्वरूपहरू, विश्वयुद्धहरू आदिको सहज, यथार्थ र वस्तुगत वर्णनले यस उपन्यासको परिवेशलाई जीवन्त, प्रभावकारी एवम् सजीव बनाएको छ ।
दृष्टिविन्दु
‘मुलुकबाहिर’ उपन्यासका सम्पूर्ण घटना, क्रिया र द्वन्द्वलाई बाहिरै बसेर उपन्यासकार स्वयंले वर्णन गरेका छन् । कुनै पात्रमा केन्द्रित नभई सबै घटना, प्रकृतिको चित्रण, चरित्रका क्रियाकलाप, संवाद तथा पात्रका मानसिक ऊहापोहसमेत उपन्यासभन्दा बाहिरै बसी कथयिताले वर्णन गरेका हुनाले यसमा तृतीय पुरुषअन्तर्गतको सर्वदर्शी दृष्टिविन्दु रहेको छ । यसमा समाख्याताले जे देखेको छ त्यसको वर्णन गरिएको छ र त्यसलाई रोक्ने अन्य कुनै कारक तत्त्व पाइँदैन । पात्र र घटनाको टिप्पणी गर्दा पाठकमा प्रभाव पार्ने पद्धति यसमा अपनाइएको छ जसले गर्दा कथयिताका लागि कुनै छेकबार रहेको देखिंदैन । यही छेकबार नहुनाले नै यसमा सर्वदर्शी वा सर्वज्ञ दृष्टिविन्दु प्रयोग भएको देखिन्छ ।
सारवस्तु
सुखको लालसामा आफ्नो जन्मथलो छाडेर मुगलान पसेका नेपालीहरूले भोगेको दुःखद र कारुणिक पक्षको उद्घाटन गर्नु नै ‘मुलुकबाहिर’ उपन्यासको सारवस्तु हो । मुगलानमा सित्तैमा पैसा फल्ने होइन, त्यहाँ पनि श्रम, सिप, जाँगर र युद्धमा लडाइँ गरेर पनि गुजारा चलाउन मुस्किल पर्छ । नेपालीहरूले आफ्ना पुर्खाको रगत पसिना बगेको जन्मथलो छोडे पनि यथार्थमा तिनीहरूको जीवन झन अस्तव्यस्त र भताभुङ्ग हुन्छ भन्ने देखाउनुका साथै आफ्नै मातृभूमिमा दश नङ्ग्रा खियाएर आफ्नै देशलाई उज्यालो पारेर बाँच्नुपर्छ भन्ने कुरा नै यस उपन्यासको सारवस्तु हो । यो सारवस्तु अभिधार्थमै प्रकटित भएको छ । यस उपन्यासमा सारवस्तु विचार वाक्यमा प्रत्यक्षरूपमा व्यक्त नभई प्रसङ्ग विषयक घटनाक्रमबाट अभिव्यक्त भएको छ । मुगलानमा आर्थिकरूपले सम्पन्न हुन सकिएला तर मानसिकरूपले पीडा र अभाव खेप्नुपर्दछ । त्यस्ता पीडा र अभाव केवल देशप्रतिको मायाले मात्र होइन आफ्नै व्यक्तिगत चरित्र र आवेशको प्रतिफल पनि भएको कुरा यस उपन्यासमा व्यक्त गरिएको छ । मुगलानमा सहयोगी र मानवतावादी दलबहादुर र खालिङ बुढाजस्ता दुष्ट चरित्रहरू पनि छन् । त्यस्तै सुरुमा असल प्रवृत्ति भएका रने र माहिला भुजेलजस्ता चरित्रहरूले नै पछि आफ्नै पत्नीलाई मारेर वा पिटेर उनीहरूको जिन्दगी सखाप पार्ने र अन्तमा आफैं पनि सिद्धिने प्रकृतिका नेपालीहरू पनि मुगलानमा पाइने कटु यथार्थलाई उपन्यासले उजागर गरेको छ । मानिसको व्यवहारमा देखिने मानवीय मनका माया, प्रेम, स्नेह र सहयोगी भावनाहरू हुनुका साथै रिस, अवेग, क्रोध, हिंसा, शङ्का र अमानवीय प्रवृत्तिहरू पनि रहेका हुन्छन् भन्ने शास्वत सत्यको यथार्थ चित्रण पनि यसमा गरिएको छ । रने र माहिला भुजेलमा म्याउची र मसिनीप्रति देखिएको शङ्कालु प्रवृत्ति, अनिर्णयका क्षमता, अवेशमा गलत निर्णय गरेर पछि पश्चात्ताप गर्ने प्रवृत्तिले नै आत्मग्लानी र मृत्युवरण गर्नुपर्ने अवस्था यस उपन्यासका दुःखद र मार्मिक पक्ष हुन् । यसैगरी विकृत चालचलनमा रल्लिएका बर्माका नेपालीहरू र सेर्बा बुढाको कुटिल चाल र हरिबिजोग भोग्ने नेपालीहरूले प्रवासमा गएर सुख होइन दुःखद अवस्थामात्र भोगिरहेका छन् । यसरी प्रवासिएका नेपालीहरूको दुर्दशा, विचल्ली, दुःखान्त मृत्युवरणको प्रस्तुति गरेर ‘मुलुकबाहिर’ सुख, सन्तोष, आत्मीयता र आर्थिक उन्नति गर्न नसकिने सारवस्तुको प्रस्तुति यस उपन्यासले गरेको छ ।
रूपविन्यास पक्ष
‘मुलुकबाहिर’ यथार्थवादी शैलीमा लेखिएको सामाजिक उपन्यास भएकाले यसमा संवृत रूपविन्यासको प्रयोग भएको पाइन्छ । यथार्थवादीहरू सोझो र सरल भाषालाई मन पराउने हुनाले यस उपन्यासमा पनि विषयवस्तु सुहाउँदो पूर्वी नेपालको ग्रामीण क्षेत्र र त्यहाँबाट भारतको दार्जिलिङ हुँदै अन्य क्षेत्रमा कामको सिलसिलामा बसोबास गर्ने प्रवासी नेपालीहरूको बोलीचालीमा प्रयोग हुने पद पदावलीको प्रयोग भएको पाइन्छ । भाषा शैलीको चमत्कार देखाएर अभिव्यक्तिलाई धेरै आलङ्कारिक बनाउने काम नभए पनि प्रकृतिको सुन्दर र कुरूप चित्रण, त्यसको मानवीकरण गरेर भाषाका माध्यमबाट परिवेश नै कारुणिक बनाउने कला यसमा देखिन्छ । छोटा तर पात्रको स्तर अनुकूलका संवाद, थेगो, अनुकरणात्मक शब्द, निपात आदि भाषिक उपकरणको प्रयोगले यसको रूपविन्यास संवृत बन्न पुगेको छ ।
पद र वाक्य विन्यास
यस उपन्यासमा वाक्यहरू सरल र जटिल दुवै भए तापनि तिनले बोधमा कुनै बाधा पारेका छैनन् । छोटा अनुच्छेद, बोलीचालीको सामान्य कथ्य भाषा, स्वाभाविक विषयवस्तुको सरल ढङ्गबाट प्रस्तुति गरिएको हुनाले सामान्य पाठकका लागि पनि यो उपन्यास पाठ्य र बोधगम्य देखिन्छ । यस उपन्यासमा संवादात्मक, समाख्यानात्मक वा प्रत्यक्ष कथन शैलीको प्रयोग गरिएको छ । यसमा दार्जिलिङमा बोलिने नेपाली भाषाको प्रभाव परेको पाइन्छ ।
बिम्ब र प्रतीक
‘मुलुकबाहिर’ प्रतीकात्मक उपन्यास नभए तापनि केही घटनाले प्रतीकको काम गरेका छन् । अपराधबोधले बिच्छिप्त रनेले म्याउचीको कुरा गर्दा मसिनीलाई अँगालो हाली म्वाइँ खानु, अतृप्त यौनेच्छा तथा म्याउची र मसिनीमा सादृश्यको भावारोपणका प्रतीकात्मक अभिव्यक्ति हुन् । रनेले आत्महत्या गर्दा म्याउचीले दिएको सेतो खाँडीको पटुका प्रयोग गर्नु उसको अपराधबोधबाट गरिएको प्रायश्चित्तको प्रतीक हो । रनेले आत्महत्या गर्नुभन्दा अगाडि मसिनीले दिदीको लास बोकेर हिंडिरहेको रनेलाई देख्नु, सुकेका पातहरू कोठामा छरपस्ट हुनु, प्रबल आँधी आउनु मृत्यु वा अनिष्टका प्रतीक हुन् । त्यस्तै माहिला भुजेल मर्दा मसिनीले दिएको रातो गलबन्दीले मुख छोपेर मर्नु आफ्नो गल्तीको प्रायश्चित्त हो । यस्ता प्रतीकहरूले उपन्यासलाई नवीन अर्थ र गहिराइ प्रदान गरेका छन् ।
गति र लय
कथानकको केन्द्रीय पक्ष उद्घाटनका क्रममा दृश्यात्मक पद्धतिको प्रयोग हुँदा उपन्यासको गति मन्द प्रकृतिको भएको छ । रनेले म्याउचीको हत्या गर्दाको प्रसङ्गमा विस्तारपूर्वक पात्रको मानसिकता र घटनाको दृश्य प्रदर्शन गर्ने प्रवृत्ति देखापरेको छ । समयको क्रममा सामान्य जीवन व्यतीत भएको अवस्थामा भने बितेको समयलाई घटाउने काम गरिएको पाइन्छ । यसरी हेर्दा यस उपन्यासको गति कतै छिटोछिटो हिंडेको देखिन्छ भने कतै मन्द गतिमा अघि बढेको देखिन्छ । यस उपन्यासमा दृश्यात्मक र सङ्क्षेपात्मक पद्धतिको प्रयोग छिटोछिटो परिवर्तन भएको पाइन्छ । उपन्यासमा बिम्बको प्रयोगले आन्तरिक लयको सिर्जना गरेको छ भने भाषागत मिठासले पनि ध्वनिगत लय सिर्जना भएको छ ।
शीर्षक
‘मुलुकबाहिर’ उपन्यासको शीर्षक अभिधात्मक देखिन्छ । यस उपन्यासको सारवस्तु र शीर्षकले एउटै कुरालाई व्यक्त गर्ने काम गरेको छ । शाब्दिक अर्थबाट हेर्दा ‘मुलुक’ शब्दले आफ्नो देश र ‘बाहिर’ शब्दले स्वदेशभन्दा अन्य ठाउँ अर्थात् विदेश भन्ने बुझिन्छ । यसबाट आफ्नो देश र समाजभन्दा बाहिर विदेशी भूमिमा गएर जीवन व्यतीत गर्ने मान्छे र समाजको चित्रण गरिएको साहित्यिक कृति भन्न सकिन्छ । आफ्नो देश छोडेर विदेशी भूमिमा जीवन गुजारा गर्ने गरिब नेपालीहरूको यथार्थ पक्षको चित्रण गरिएको हुनाले यसको शीर्षक उपयुक्त देखिन्छ ।
निष्कर्ष
‘मुलुकबाहिर’ उपन्यासको रचनाविधानरपरक अध्ययन गर्ने उद्देश्य र यसको रचनाविधान के कसरी भएको छ ? भन्ने प्रमुख समस्यामा केन्द्रित भई यो लेख तयार पारिएको हो । यस लेखमा रचनाविधान सिद्धान्तका आधारमा कृतिमा प्राप्त तथ्यको अध्ययन गरेर निष्कर्ष निकालिएको छ । यो सामाजिक यथार्थवादी उपन्यास हो । यसमा नेपालको अरूण खोला वारिपारिका निम्न आर्थिक अवस्था भएका नेपालीहरू कामको खोजीमा प्रवासमा गएर उनीहरूले भोगेको पीडा, कष्ट, हन्डर र कारुणिक जीवन कथाको वर्णन गरिएको छ । यस उपन्यासका पात्रहरू सोझा र निश्छल भएर पनि आफ्नै अहम्, आवेश र शङ्काको भुमरीमा परेर कष्टपूर्ण जीवन भोग्न बाध्य भएका छन् । विदेशी भूमिमा पनि आफ्नो भेष, भाषा, संस्कृतिलाई संरक्षण गर्दै आफ्नो आर्थिक उन्नति गर्न काठ चिर्ने, काठ बोक्ने, पशु पाल्ने, युद्ध लड्ने, कोइला खानीमा मजदुरी गर्नेजस्ता काममा घोटिइरहेका छन् । जसोतसो जीवन गुजारा चलाएर सुखको मुखमा पुग्दा उनीहरू आफ्नै अहम् र शङ्काको सिकार भई दुःख निम्त्याउन पुगेको अवस्था उपन्यासमा देखिन्छ । यस उपन्यासकी नायिका म्याउची र नायक रनेको मृत्यु तथा माहिला भुजेलले मसिनीलाई कुटेर उसको बिचल्ली पारी उसले खाएका हन्डरको कथाले कारुणिकता, मार्मिकता र सुखको घडीमा दुःखलाई आफैं अँगालेको देखिन्छ । सरल सहज भाषाका माध्यमबाट वर्णनात्मक वा समाख्यानात्मक शैलीको प्रयोग गरी संवृत रूपविन्यासको संरचनामा उपन्यास संरचित भएको छ । यसमा विभिन्न बिम्ब र प्रतीकको प्रयोग गरिए पनि ती सरल र सहज बोध्य छन् । उपन्यासकारले सङ्क्षेप र दृश्यात्मक पद्धतिको प्रयोग गरेर घटनालाई कुतूहलता प्रदान गरी गति र लयको सिर्जना गरेका छन् । यसरी उपन्यासको रचनाविधानका प्रमुख दुईपक्ष संरचना र रूपविन्यासको ढाँचामा आधारित भई ‘मुलुकबाहिर’ उपन्यासको समीक्षात्मक अध्ययन गरिएको छ ।
सन्दर्भ सामग्रीसूची
घोडासैनी, खगेन्द्र (२०६८). उपन्यासको रचनाविधान, सगुन, १, ८६–९६ ।
घोडासैनी, खगेन्द्र (२०७७). कथाको रचनाविधान, सनलाइट प्रकाशन ।
पौड्याल, परशुराम (२०६५). कथाको रूपविन्यास : सिद्धान्त र विवेचना, बुद्ध एकेडेमिक पब्लिसर्स एन्ड डिस्ट्रिब्युटर्स प्रालि.।
प्रधान, कृष्णचन्द्रसिंह (२०४३). उपन्यास र उपन्यासकार, (दो.सं.), साझा प्रकाशन ।
बराल, कृष्णहरि र नेत्र एटम (२०५८). उपन्यास सिद्धान्त र नेपाली उपन्यास (दो.सं.), साझा प्रकाशन
वाङ्देल, लैनसिंह (२०६०) मुलुकबाहिर, (एघारौं संस्क), रत्नपुस्तक भण्डार ।
शर्मा, मोहनराज (२०६३). समकालीन समालोचना सिद्धान्त र प्रयोग (दो.सं.), अक्सफोर्ड इन्टर नेसनल पब्लिकेसन ।
श्रेष्ठ, दयाराम र मोहनराज शर्मा (२०५६). नेपाली साहित्यको सङ्क्षिप्त इतिहास, (पाँचौँ सं.), साझा प्रकाशन ।
श्रेष्ठ, दयाराम (२०५७). नेपाली कथा (भाग ४), साझा प्रकाशन ।
श्रेष्ठ, दयाराम (२०६६). अभिनव कथाशास्त्र, पालुवा प्रकाशन प्रालि. ।

(यो लेख नेसंवि प्राध्यापक सङ्घ एकाइ समिति जनता विद्यापीठ एकाइ समितिद्वारा प्रकाशित 'सारस्वतप्रभा' विज्ञसमीक्षित जर्नल, अङ्क-४, २०७८ पृ.१-१३ बाट साभार गरिएको हो । -लेखक)

Post a Comment

0 Comments
Post a Comment (0)

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top