What is Doctorate? (PhD), Why and How to do it? विद्यावारिधि के हो ? किन र कसरी गर्ने ?

Dr.Khagendra Ghodasaini
3
विद्यावारिधि के हो ? किन र कसरी गर्ने ?
डा. खगेन्द्र घोडासैनी


विद्यावारिधि के हो ? किन गर्ने ? कसरी गर्ने ? मुख्यत: यी तीनओटा प्रश्नमा केन्द्रित भएर यहाँ छलफल हुँदै छ । यहाँको सहभागिता कुन प्रश्नका लागि हो सोहीअनुसारको विचार ग्रहण गर्न सक्नुहुन्छ ।
सर्वप्रथम विद्यावारिधि भनेको के हो ?
विद्यावारिधि स्नातकोत्तर वा एमफिलभन्दा माथिल्लो तहको अनुसन्धानपूर्ण शोधग्रन्थ तयार गरेर स्वीकृत भएमा दिइने विशेष उपाधि हो । यसको शाब्दिक अर्थलाई हेर्दा 'विद्या र वारिधि' यी दुई शब्द मिलेर विद्यावारिधि हुन्छ । 'विद्या' भनेको ज्ञान, सिप वा कलासम्बन्धी जानकारी हो भने 'वारिधि' भनेको समुद्र, सागर वा जलधि हो । यस दृष्टिले विद्यावारिधि शब्दको शाब्दिक अर्थ विद्याको खानी वा विद्याको सागर वा भण्डार भन्ने हुन जान्छ । यसलाई अङ्ग्रेजीमा पिएचडी भन्छन् । पिएचडीको पूर्णरूप Doctor of Philosophy हुन्छ भने यसलाई सङ्क्षिप्त रूपमा PhD पनि भनिन्छ । विद्यावारिधि मात्रै बुझाउन अङ्ग्रेजीमा Doctorate शब्द प्रचलित छ ।
विद्यालय तहदेखि विश्वविद्यालय तहसम्मको अन्तिम कक्षाका रूपमा विद्यावारिधिलाई लिने गरिन्छ । कक्षा १२ पछि जुनसुकै विषय पढे पनि त्यसलाई स्नातक तह भनिन्छ । त्यसपछि स्नातकोत्तर तह र दर्शनाचार्य वा एपफिल अध्ययन गरिसकेपछि विद्यावारिधिमा प्रवेशको योग्यता हुन्छ । केही विश्वविद्यालयका अनुसन्धान केन्द्रहरूमा स्नातक तहपछि पनि विद्यावारिधि गर्न पाउने व्यवस्था भएको देखिन्छ । यो व्यवस्था कृषि विषयमा दक्षिण कोरियामा र धेरै पहिले बेलायतको अक्सफोर्ड विश्वविद्यालयमा पनि थियो । अन्यथा सबै ठाउँमा स्नातकोत्तर तहपछि नै विद्यावारिधि अनुसन्धान गर्न पाइने व्यवस्था छ । कुनै विश्वविद्यालयका अनुसन्धान केन्द्रहरूले भने एपफिल अनिवार्य बनाएका छन् । ती विश्वविद्यालयबाट विद्यावारिधि गर्न एमफिल गर्नै पर्छ । एमफिल गरेकाहरूले तीन वर्षमा र नगरेकाहरूले पाँच वर्षमा विद्यावारिधि शोधप्रबन्ध बुझाउन सक्ने प्रावधान बनाएका हुन्छन् । यसमा अनुसन्धान केन्द्रअनुसार सामान्य फेरबदल हुन सक्छ ।
'विद्यावारिधि गरेको मान्छे' भनेर केही मानिसहरूले विद्यावारिधि गरेकाहरूका साना साना कुरामा उपहास पनि गरेको देखिन्छ । यस्ता मान्छेहरूको दिमागमा विद्यावारिधि गर्नेहरूले सबै कुरा जान्दछन् भन्ने भ्रम हुन्छ । विद्यावारिधि गर्नेहरूले सबै कुरा जान्दैनन् । पहिलो कुरा त संसारका कुनै पनि मान्छेले सबै कुरा जान्दैनन् । सत्य र असत्यको यो दोसाँध पहिल्याउन नसकेर वा विद्यावारिधि गरेकाहरूप्रतिको उपहासवश उनीहरू विद्यावारिधि गरेको मान्छेले त्रुटि गर्‍यो भने गिज्याउँछन् । कुनै विषय, स्थान, प्रसङ्ग र सन्दर्भ आदिका बारेमा थोरै थोरै सबैले जान्दछन् । सत्य यस्तो बनाएर व्यवहार गर्नुपर्छ । मेरा विचारमा विद्यावारिधि गर्नेहरूले निम्नलिखित तीनओटा कुराहरू जान्नुपर्छ :
१. अनुसन्धानमा उद्धरण र सन्दर्भ दिन,
२. सम्बद्ध साहित्यको समीक्षा गर्न,
३. आफूले लिएको विषयलाई अनुसन्धानको शैलीमा व्यक्त गरेर त्यसको उचित व्यवस्थापन गर्न ।
यीबाहेक विद्यावारिधि गरेको मान्छेले 'यो जान्दछ, ऊ जान्दछ, यो जानेन वा त्यो जानेन' भन्नेहरूले विद्यावारिधिका बारेमा बुझेका छैनन् भनी अघि बढ्नुपर्छ । विद्यावारिधि गर्नेहरूले अनुसन्धानका सबै कुराहरू जान्दैनन् बरु अनुसन्धानमा प्रवेश कसरी गर्नुपर्छ भन्नेबारे जानकारी र अनुभव हासिल गर्छन् । केही विद्यावारिधि गरेकाहरूले माथि बताइएका तीनओटा कुरा नजानेरै पनि विद्यावारिधिको उपाधि पाएका उदाहरणहरू छन् । सबै कुरा विद्यावारिधिले होइन व्यक्तिको परिश्रममा भर पर्छ । एउटै विद्यालयका सबै विद्यार्थी समान अङ्क ल्याएर उत्तीर्ण हुँदैनन् । फेरि विद्यावारिधि उपाधि दिँदा कुनै श्रेणी निर्धारण गरिएको हुँदैन । बाँकी त विद्यावारिधि सम्पन्न गरेपछि गर्ने कुरा हो । मेरा विद्यावारिधि शोधनिर्देशक श्रद्धेय गुरु प्राडा केदारप्रसाद शर्माले मेरो विद्यावारिधिको वाक् परीक्षा सम्पन्न भई एकप्रति शोधप्रबन्ध बुझाउन गएका बखत 'बाबु अब तिम्रो अनुसन्धान सुरु भयो' भन्नुभएको थियो । विद्यावारिधि के हो भन्ने कुरा बुझ्नेहरूका विचार यस्ता हुन्छन् । त्यसैले अनुभवबिना बनाइएको धारणा हो वा अनुभवीको हो भन्ने कुरा बुझ्न आवश्यक हुन्छ ।
विद्यावारिधि किन गर्ने ?
यो निकै गम्भीर प्रश्न हो । विश्वविद्यालयहरूमा प्राध्यापन गर्ने व्यक्तिका लागि सेवा प्रवेश र आन्तरिक बढुवा प्रयोजनमा निश्चित अङ्क तोकिएको हुन्छ जुन अङ्क विद्यावारिधि गर्नेहरूले पाउँछन् । विद्यावारिधिको श्रेणी हुँदैन त्यसैले उपाधि पाएपछि अङ्क दिइने प्रावधान छ । यदि विद्यावारिधि गरेपछिको अनुसन्धान कार्य हेरेर अङ्क दिने व्यवस्था गरेको भए वास्तविक मूल्याङ्कन हुने थियो । अहिले अधिकांशले यही प्रयोजन परिपूर्तिका लागि विद्यावारिधि गरिरहेको देखिन्छ । केही विद्यालय तहका शिक्षक, कर्मचारी, स्वतन्त्र अनुसन्धाता र राजनीतिकर्मी तथा पत्रकारहरूले पनि विद्यावारिधि अनुसन्धान गरेको देखिन्छ । समाजमा सामाजिक प्रभाव पार्न र आफ्नो पेसामा थप दक्षता वृद्धि गर्न विद्यावारिधि नै गर्नुपर्छ भन्ने त छैन तर विद्यावारिधि गर्दा समाजको हेर्ने दृष्टिकोण फरक पर्छ त्यसकारण पनि विद्यावारिधि गर्नेहरूको सङ्ख्या बढ्दो क्रममा देखिन्छ । विद्यावारिधि अरूले गरेको देखेर रहरमै गर्न खोज्नेहरू पनि हुन्छन् । ज्ञान, सिप र दक्षता भएका तर विद्यावारिधि नगरेका धेरै बौद्धिक व्यक्तित्त्वहरू पनि हामीले देखेका छौँ । जुन कारणले गरे पनि आफूले विद्यावारिधि किन गर्ने भन्ने कुरामा भने स्पष्ट हुनुपर्छ ।
विद्यावारिधि त्यसै भने हुँदैन । अर्कासँग लेखाएर, अर्काको सारसुर पारेर विद्यावारिधि गर्ने रहर भएका र त्यसो गरेका मानिसहरू पनि हामीले देखेकै छौँ । एउटा पनि अनुसन्धानात्मक लेख तयार नगरेको व्यक्तिले विदेशी विश्वविद्यालयबाट विद्यावारिधिको उपाधि प्राप्त गरेको हामीले नदेखेको होइन । स्वदेशी विश्वविद्यालयबाट विद्यावारिधि गरेका व्यक्तिलाई सन्दर्भसूची एपिएअनुसार मिलाएर दिनुहोस् भन्दा 'के यो एपिए भनेको फेरि ?' भन्ने प्रतिप्रश्न त मैले पनि पाएको छु । विद्यावारिधि गर्न आर्थिक स्रोत, कम्प्युटर सञ्चानलको सिप, प्रशस्त समय, श्रमशील, लगनशील र धैर्य हुनुपर्छ । विद्यावारिधि एक्लै अनुसन्धाताले गर्ने काम होइन । यसमा अनुसन्धाता, शोधनिर्देशक, सहशोध निर्देशक वा विषयविज्ञ तथा अनुसन्धान केन्द्र र अनुसन्धान समितिका सदस्यहरूलगायत सबै पक्षको कुनै न कुनै भूमिका हुन्छ । मुख्य भूमिका अनुसन्धाताको हुन्छ भन्ने कुरामा भने द्विविधा छैन तर अरू सरोकारवाला पक्षलाई वेवास्ता गरेर विद्यावारिधि अनुसन्धान सम्भव हुँदैन । त्यसैले यो बहुपक्षीय कार्यको परिणाम हो तर यसको उत्तरदायित्व मुख्य रूपमा अनुसन्धाताले लिनुपर्छ । आंशिक रूपमा त कुन विश्वविद्यालयको कुन अनुसन्धान केन्द्रले गरायो, कसले निर्देशन गर्‍यो भन्ने पक्ष पनि रहन्छ नै ।
विद्यावारिधि कसरी गर्ने ?
यदि तपाईं विद्यावारिधि गर्न इच्छुक हुनुहुन्छ भने आउनुहोस् केही क्षण सँगै बसौँ है त ! तपाईंले माथिका दुईओटा शीर्षक अवश्य पढ्नुभयो होला । त्यसो हो भने अब विद्यावारिधि अनुसन्धान गर्ने चरणहरूलाई क्रमश: हेरौँ -
१. आफूले अनुसन्धान गर्नुअघि अनुसन्धानको तोकिएको ढाँचामा दुईओटा अनुसन्धानात्मक लेख तयार पार्नुपर्छ । सामान्यतया तोकिएको अनुसन्धानात्मक लेखको ढाँचाबारे जानकारी लिन छ भने https://ghodasainik.blogspot.com/2020/07/blog-post_22.html साइटमा भएको यो लेख हेर्नुहोला ।
२. यस्ता लेख जति भए पनि कम्तीमा दुईओटा लेख अनुसन्धानमूलक जर्नलमा प्रकाशित भएको हुनुपर्छ । दैनिक पत्रिका, समाचारमूलक पत्रिका, issn नम्बर उल्लेख नभएका पत्रिकामा प्रकाशित लेख मान्य हुँदैन । सकेसम्म विज्ञसमीक्षित जर्नलमा प्रकाशित हुनुपर्छ । अनुसन्धानात्मक लेखमा उद्धरण र सन्दर्भ कसरी दिने भन्नेबारे जानकारी लिन चाहनुहुन्छ भने https://ghodasainik.blogspot.com/2022/06/email-ghodasaini2017gmail.html हेर्नुहोला । एउटा लेख आफूले अनुसन्धान गर्ने विषयसँग सम्बन्धित हुनुपर्छ । यस्तो लेख प्रकाशित भए राम्रो नभए अप्रकाशित भए पनि हुन्छ । अनुसन्धानमूलक लेख र शोधप्रस्तावको मूल्याङ्कन भई पचास प्रतिशत् अङ्क ल्याएपछि विद्यावारिधि अनुसन्धानका लागि छनोटमा पर्ने सम्भावना हुन्छ । मूल्याङ्कन कसरी हुन्छ भन्ने कुरा जान्ने चाहना छ भने https://ghodasainik.blogspot.com/2022/06/blog-post.html साइटमा भएको यो लेख हेर्नुहोला ।
३. आफूले विद्यावारिधि हासिल गर्न चाहेको विषयमा शोधप्रस्ताव तयार पारेर विश्वविद्यालयका अनुसन्धान केन्द्र वा डिन कार्यालयमा शोधप्रस्ताव आह्वान गरेका बेला बुझाउनुपर्छ । शोधप्रस्तावको आह्वान सामान्यतया वर्षको दुईपटक गरेर साउन र मङ्सिरमा खोल्ने गर्छन् । आवश्यकता हेरेर कुनै अनुसन्धान केन्द्रले एकपटक मात्रै पनि खोलेको देखिन्छ । अनुसन्धान गर्दा शोधप्रस्ताव कस्तो बनाउने भन्ने कुरामा अलमल छ भने तल उल्लेख गरिएको साइटमा https://www.researchgate.net/publication/369360986_anusandhana_tatha_laghu_anusandhana_prastavana_dhamca हेर्नुहोला ।
४. अनुसन्धाताले स्नातकोत्तर तह प्रथम श्रेणीमा उत्तीर्ण गरेको भए उत्तीर्ण गरेको एक वर्षभित्र द्वितीय श्रेणीमा उत्तीर्ण गरेको भए दुई वर्षभित्र विद्यावारिधि अनुसन्धान गर्न पाइने प्रावधान हुन्छ । तृतीत श्रेणीमा उत्तीर्ण हुनेलाई विश्वविद्यालयी सेवामा प्रवेश गर्न नपाइने हुँदा उनीहरूलाई विद्यावारिधि अनुसान्धानमा सहभागी गराइँदैन । एमफिल गरेको भए शोधपत्र बुझाएको मितिपछि प्रस्ताव आह्वान गरेमा गर्न मिल्छ ।
५. नेपाल संस्कृत विश्वविद्यालय, बेलझुन्डी दाङमा रहेको नेसंवि अनुसन्धान केन्द्रमार्फत् विद्यावारिधि गर्दा पनि सामान्यत: यिनै कुराहरू लागू हुन्छन् तर यसका केही आफ्नै सीमा छन् । यस अनुसन्धान केन्द्रले आफ्नो सूचनामा विद्यावारिधि कार्यक्रमसम्बन्धी केही जानकारी उल्लेख गर्ने गरेको पाइन्छ । जसलाई क्रमश: उल्लेख गर्नु वाञ्छनीय देखिन्छ :
क. नेपाल संस्कृत विश्वविद्यालयको अनुसन्धान केन्द्रबाट अनुसन्धान गर्न विश्वविद्यालय अनुदान आयोगको विद्यावारिधिसम्बन्धी २०७४ को कार्यविधिअनुसार १८ क्रेडिट आवर्सको दर्शन एवम् प्रविधिसम्बन्धी आवासीय कक्षा अनिवार्य लिनुपर्ने छ ।
ख. अनुसन्धानको समय न्यूनतम तीन वर्ष र अधिकतम पाँच वर्षको हुने छ ।
ग. विद्यावारिधिका लागि नेपाल संस्कृत विश्वविद्यालयमा अध्ययन र अध्यापनमा रहेका वेद, वेदाङ्ग, धर्मशास्त्र, इतिहासपुराण र दर्शनलगायत १७ ओटा विषयहरूसँग सम्बन्धित आवेदन मात्रै स्वीकृत हुने छन् ।
घ. नेपाल संस्कृत विश्वविद्यालयमा अध्ययन र अध्यापनमा रहेका संस्कृतबाहेकका सबै विषयहरूका हकमा भने संस्कृत वाङ्मयसँग सम्बद्ध विषयगत शीर्षक बनाउनुपर्ने छ ।
ङ. एमफिल गरिसकेका शोधार्थीका हकमा भने आवासीय १८ क्रेडिट आवर्सको कक्षा अनिवार्य हुने छैन ।
जुनसुकै विश्वविद्यालयबाट जुनसुकै विषय र शीर्षकमा विद्यावारिधि अनुसन्धान गर्न चाहनेले माथिका यी प्रक्रिया पूरा गर्नै पर्छ । एमफिल गरेकाहरूले विद्यावारिधि शोधप्रस्तावसँगै आफ्नो एमफिलको शोधपत्र अनिवार्य रूपमा बुझाउनुपर्छ । शोधार्थीलाई छिटो आफ्नो शोध शीर्षक दर्ता गराउने हतारो हुन्छ तर म के सुझाव दिन्छु भने सबैभन्दा पहिला आफूले अनुसन्धान गर्न चाहेको विषयमा प्रशस्त अध्ययन र त्यससँग सम्बन्धित साहित्यको सङ्ग्रह गर्नुहोस् । यसरी गरेको अध्ययन सबै प्रकाशन नगर्नुहोस् तर प्रशस्तै खोजेर आफू पूर्णरूपमा जानकार भएर मात्रै शोधप्रस्ताव दर्ता गर्नतिर लाग्नुहोस् । यसैगरी अनुसन्धान विधि र पद्धतिसँग सम्बन्धित कृतिहरूको अध्ययन गर्नुहोस् । अनुसन्धानमूलक लेख लेखेर आफूलाई अनुसन्धान विधिमा सिद्धहस्त बनाउनुहोस् । त्यसपछि विद्यावारिधि त कार्यलयीय प्रक्रिया मात्रै गरे पुग्छ । सुरुमा दर्ता गरेर कुहिराको काग हुनुभन्दा शुल्क पनि थोरै दिनको लाग्ने अनि आफू पनि अलमलमा नहुने तरिका यही हो तर धेरैलाई यो सुझाव उपयुक्त लाग्दैन । केही छैन मेरो सुझाव नमाने पनि । जानुहोस् धेरै कमाउनुभएको छ शुल्क बुझाउनुहोस् । विश्वविद्यालयको आम्दानी बढ्छ । मसँग सुझाव माग्नेहरूले मेरो समय खर्च गर्नुभएकाले यो लेख तयार पारेको हुँ । अब सुझाव दिन नपर्ने परे पनि थोरै समय मात्र दिए होला भन्ने ठानेको छु । यसबाट यहाँहरूलाई केही फाइदा भयो भने मेरो यो निबन्ध लेखनको समय सार्थक बनेको ठान्ने छु ।

(कृपया लेख पढेर मेरा लेखको कमजोरी तथा आफूलाई यसबाट भएको फाइदाबारे अवश्य लेख्नुहोला । यहाँको प्रतिक्रियाबाट मेरो लेखनमा थप सुधार भयो भने यहाँहरू जस्तै अरू पाठकहरू पनि लाभान्वित हुनुहुने छ । -लेखक)

Post a Comment

3 Comments
  1. Very effective source

    ReplyDelete
  2. सही विश्लेषण साथै उपयुक्त सुझाव ।

    ReplyDelete
Post a Comment

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top