स्वसिकाइको अवधारणा
डा. खगेन्द्र घोडासैनी
'स्व' अर्थात् आफैँ सिक्ने विधि स्वसिकाइ हो । स्वसिकाइका विभिन्न प्रक्रिया
हुन सक्छन् । यसका लागि शिक्षकको प्रत्यक्ष आवश्यकता हुँदैन । यसमा शिक्षकको
उपस्थिति भए पनि उसले पढाउनुपर्दैन केवल उचित वातावरण र परिस्थितिको निर्माण
गरिदिने काम मात्रै गर्नुपर्छ । मैले विगत केही वर्षदेखि कक्षाको औपचारिक
शिक्षणपछि पुनरावृत्तिमूलक शिक्षणमा यस विधिको उपयोग गरेको छु । यो विधि पढाइमा
खासै रुचि नभएका विद्यार्थीहरूका लागि पनि उपयोगी हुने गरेको देखिन्छ ।
स्वसिकाइका
लागि सबैभन्दा चाहिने कुरा उत्प्रेरणा हो । उत्प्रेरणा भएमा यो अत्यन्त प्रभावकारी
हुन्छ । यसको सर्वप्रथम अभ्यास गर्ने विद्यार्थी महाभारतको पात्र एकलव्य हो । महाभारतको
कथानुसार गुरु द्रोणाचार्यले शिक्षा दिन अस्वीकार गरेपछि उसले लगनशीलतापूर्वक स्वसिकाइका
माध्यमबाट प्रवीण गुरुको संगत पाएका चेलाहरूलाई पनि चकित पार्ने गरी धनुर्विद्या
सिकेको थियो । यो प्रयोगात्मक सिपको सन्दर्भमा भएको स्वसिकाइ हो । अन्य ज्ञानमा
यस्तै अभ्यासले पूर्णता पाउन भने कठिन हुन्छ । यस्तो स्वसिकाइ अभ्यासात्मक छ भने
एक्लै नभए समूहमा पनि प्रभावकारी हुन्छ । आफ्ना सहपाठीहरूसँग आफूले जानेको तर सहपाठीले
नजानेको सम्भावित विषयमा प्रश्न निर्माण गर्ने र त्यसको उत्तर माग्ने प्रकृतिको
अभ्यासमूलक कार्य गराउँदा स्वसिकाइले स्थिरता प्राप्त गर्ने, विद्यार्थीहरूले आफूले
कति मात्रामा के के जानेको छु र साथीले के कति जानेका छन् भन्ने कुरामा विचार गर्न
थाल्छ । यसबाट सिकारुले आफ्नो ज्ञान मापन गर्छ । सहपाठीलाई प्रश्न सोध्न र
अपेक्षित उत्तर माग्न उत्तरको तयारी गर्नुपर्छ । यसले स्वसिकाइमा उत्प्रेरणाको काम
गर्छ । यसैमा अझ अङ्क दिने व्यवस्था गर्ने हो भने यसले पनि पुरस्कारको काम गर्छ र स्वसिकाइमा
उत्प्रेरणा थप्ने काम गर्छ ।
स्वसिकाइ
भाषा र अन्य विषयमा पनि गराउन सकिन्छ । यसमा मौखिक र लिखित प्रश्नोत्तर दुवै विधिको
प्रयोग गर्न सकिन्छ । यसको उत्तर भने वस्तुगत वा सङ्क्षिप्त उत्तरात्मक हुनुपर्छ ।
लामो उत्तरले तत्काल परिणाम नदिने हुँदा त्यो प्रभावकारी हुँदैन । यस्तो सिकाइले
प्रतिस्पर्धाको भावना सिर्जना गर्छ । तत्काल अङ्क प्राप्त हुने हुँदा जानेमा
तुरुन्त अङ्क पाइने छ भन्ने धारणाले ज्यादा उत्प्रेरणा दिन्छ ।
यस्तो
स्वसिकाइ व्यक्ति व्यक्ति वा समाना समूह निर्माण गरेर तिनीहरूका बिच गराउनुपर्छ । यो
अत्यन्त प्राचीन शिक्षण विधि हो । हाम्रा ऋषिमुनिहरूले सम्पूर्ण ज्ञानलाई चार भागमा
विभाजन गरेका छन् । त्यस्ता चार भागमध्ये एक भाग ज्ञान आफ्ना बलबुताले हासिल
गर्नुपर्छ भन्ने मान्यता राखेका छन् :
आचार्यात्
पाद मादत्ते पादं शिष्य: स्वमेधया । पादं
सब्रह्मचारिभ्य: पादं कालक्रमेण च ।।
अर्थात्
सिकारुले ज्ञानका चार भागमध्ये एक चौथाइ ज्ञान आचार्य वा शिक्षकबाट प्राप्त गर्छ,
एक चौथाइ ज्ञान वा शिक्षा स्वयं आफ्नो बुद्धिका माध्यमबाट प्राप्त गर्छ । एक चौथाइ
ज्ञान आफ्ना सहपाठीहरूसँग छलफल गरेर प्राप्त गर्छ भने बाँकी एक चौथाइ ज्ञान वा
शिक्षा समयसँगै भोगेर जीवनभर सिक्दै गर्छ ।
यस सुभाषितले
शिष्यले आफ्नो बुद्धिका सहायताबाट र सहपाठीहरूबाट एक एक चौथाइ ज्ञान वा शिक्षा
आर्जन गर्छ भनेको हुँदा पचास प्रतिशत ज्ञान वा शिक्षा त स्वसिकाइका माध्यमबाट हुने
गरेको देखिन्छ । नियमित कक्षामा जाने, शिक्षकका कुरा सुन्ने विद्यार्थीको ज्ञान वा
शिक्षा एक चौथाइ मात्रै हुन्छ । व्यवहारलाई पनि आफ्नो सिकाइसँग जोड्नेहरूको
सिकाइले पूर्णता प्राप्त गर्छ । यस्तो अनुभव पनि हिजोभन्दा आजको अनुभव र आजभन्दा
भोलिको अनुभव फरक हुने भएकाले ज्ञान वा शिक्षा जीवनपर्यन्त सिकिरहने कुरा हो भन्ने
शिक्षाविद्हरुका धारणा यस्तै अनुभवबाट जन्मिएका देखिन्छन् ।
स्वसिकाइको
यस्तो अवधारणा विद्यार्थीहरूमाझ पुर्याएर उनीहरूलाई यसमा उत्प्रेरित गराउने काम
शिक्षकको हो । तर कुनै बेला शिक्षकको उत्प्रेरणा मात्रैले काम गर्दैन त्यसमा परिवार,
समाज र उसको जीवन निर्माणको पृष्ठभूमिले जरा गाडेको हुन्छ । त्यति हुँदा हुँदै पनि
उत्प्रेरणाको कारक शिक्षक बनिरहनुपर्छ । उत्प्रेरित नभए पनि उत्प्रेरणा दिइरहनु
शिक्षकको पेसागत धर्म हो । यही उत्प्रेरणाबाट सिकारुहरू स्वसिकाइमा संलग्न हुन्छन्
र आफ्नो पचास प्रतिशत शिक्षा वा ज्ञानको परिपूर्ति गर्छन् । यो नयाँ ज्ञान वा
भर्खर जन्मिएको ज्ञान नभएर परम्परित अवधारणा हो । यसको प्रयोग निकै कम मात्रामा
हुने गरेको भए पनि यो अत्यन्त प्रभावकारी पद्धति हो । सिकाइ क्षमता कमजोर भएकाहरूलाई
पनि यसले उत्प्रेरणा जगाउने काम गर्छ । कोही उत्प्रेरित भएनन् भने पनि शिक्षकले
अर्को वर्षका सिकारुहरू उत्प्रेरित होलान् भन्ने आशाले शिक्षण गर्नुपर्छ निराश हुनु
शिक्षकको पेसागत धर्म होइन । विद्यार्थीलाई धेरै सिकाउनुभन्दा उत्प्रेरणा जगाउनमा
समय खर्चिनु राम्रो हुन्छ । उत्प्रेरित भएमा पढाउन पर्दैन उसले स्वयं पढ्ने बाटो
पहिल्याउँछ । अब कुन विद्यार्थी कति दिनमा उत्प्रेरित हुन्छ प्रतीक्षा यसैको गर्नु
छ ।