नमुना बोध, तार्किक, व्याख्या वा भावविस्तार, समीक्षात्मक, जीवनी लेखन र कथारचना (Sample Comprehension, Logical, Expository, Critical, Biographical Writing and Narrative)

Dr.Khagendra Ghodasaini
0

नमुना बोध, तार्किक, व्याख्या वा भावविस्तार, समीक्षात्मक, जीवनी लेखन र कथारचना
डा. खगेन्द्र घोडासैनी

१. नमुना बोध प्रश्न
दिइएको अनुच्छेद पढी सोधिएका प्रश्नको उत्तर दिनुहोस् :

भोलिपल्ट बिहान गाडी चढेर कञ्चनजङ्घा आधार शिविरलाई गन्तव्य बनाई झापाको बिर्तामोडबाट चारआलीतर्फ लाग्यौँ । हामी पूर्वपश्चिम राजमार्गलाई चारआलीनिरै छोडेर मेची राजमार्गतर्फ उकालियौँ । सात घण्टाको पहाडी बाटामा कैयौँ पहाडको फन्को मार्दै साँझ ताप्लेजुङ पुग्यौँ । मेची राजमार्गमा गुड्दै गर्दा पहाडका मायालु काखमा बसेका मानव बस्ती, मनोरम थुम्काथुम्की र तरेली परेका खेतबारी विपरीत दिशातिर बगिइरहेको भान हुन्थ्यो । मान्छे आफ्नै खाले दिनचर्यामा देखिन्थे । कोही खेतबारीमा पसिना चुहाउँदै गरेका, कोही कोही सडकछेउ बसेर फलफूल बेचिरहेका, कोही घाँसको भारी त कोही दाउरा बोकेर घर फर्किरहेका । यी दृश्य हेर्दा मैले गाउँमा छँदा ठुलीवनबाट आफैँले घाँस दाउरा गरेको झलझली सम्झेँ ।
प्रश्नहरू
(क) माथिको अनुच्छेदमा कस्तो भौगोलिक परिवेश वर्णन गरिएको छ ?

नेपालको तराईमा समथर फाँटहरू छन् । पहाडमा डाँडाकाँडा भएकाले बाटाहरू उकाला र ओराला छन् । बाटामा विभिन्न घुम्तीहरू पनि पर्छन् । ती घुम्तीहरूमध्ये कुनैलाई त पुरै परिक्रमा गरेर मात्रै एउटा थुम्को पार गर्न सकिन्छ । तराईबाट पहाड र हिमालतर्फ यात्रा गर्दा यस्ता अनेकौँ थुम्का र डाँडाहरू पार गर्दा अनेकौँ डाँडा, उकाला र ओरालाहरू पार गर्नुपर्छ । नेपालको जुनसुकै भूभागको तराईबाट पहाडतर्फ लाग्दा यस्ता दृश्यहरू सहजै देख्न पाइन्छ ।
नेपाल भौगोलिक विविधताले युक्त छ । त्यसको एउटा नमुनाका रूपमा नेपालको पूर्वी तराई र पहाडको भौगोलिक परिवेशको यस अनुच्छेदमा बयान गरिएको छ ।
(ख) अनुच्छेदका आधारमा त्यहाँका मानिसको पेसा व्यवसायबारे अनुमान गर्नुहोस् :
यात्रामा सवारी साधनको वेगका कारण आफ्ना अगाडिका वस्तु, गाउँ, वृक्ष आदि पछाडि दौडिएको भान हुन्छ । त्यस क्रममा देखिने खेतबारी, खेतमा पसिना चुहाँदै गरेका मानिसहरू देखिन्छन् । ती सबै किसान हुन्छन् । कोही किसानहरू आफूले उत्पादन गरेका फलफूल सडकछेउ बेच्छन् । पशुपालन गर्ने किसानहरू घाँसका भारी बोकेर फर्किँदै गरेका देखिन्छन् । यी दृश्यले यात्रीलाई पनि आफूले बाल्यकालमा खेती किसानी गरेको स्मृति हुन्छ ।
यस्ता क्रियाकलाप गर्नेहरू सबै किसान हुन् । नेपालका अधिकांश गाउँका मानिसहरू यही कृषि पेसा र कृषिउपज बेच्ने व्यवसायमा आवद्ध रहेको कुरा यस अनुच्छेदमा उल्लेख गरिएको छ ।
२. नमुना तार्किक उत्तर
राजेन्द्रलक्ष्मी र बहादुर शाहमध्ये तपाईं कसलाई घरझगडाको दोषी देख्नुहुन्छ ? कारणसहित आफ्नो विचार लेख्नुहोस् :

बहादुर शाह र राजेन्द्रलक्ष्मी दुवैले पृथ्वीनारायण शाहका उत्तराधिकारी भएर शासन गरे । दुवैले नायवी चलाए । दुवैले नेपालको एकीकरणमा महत्त्वपूर्ण भूमिका निर्वाह गरे । उनीहरूमा एकले अर्कालाई सत्ता हत्याउने र आफूलाई सत्ताच्युत पार्ने भय भने रहिरह्यो । दुवैले नेपालको हित चाहेर एकीकरण प्रक्रियालाई निरन्तरता दिने काम गरेका छन् । यति हुँदा हुँदै पनि एकअर्काप्रतिको अविश्वासका कारण उनीहरू सशङ्कित छन् र आफू शक्तिशाली हुने बित्तिकै अर्कालाई नजरबन्दमा राख्न तम्सिन्छन् । यो अविश्वास गराउने काम दरबारका भारदारहरूले गरिरहेको देखिन्छ । उनीहरूले समयमै देश र उनीहरूको भलो चाहने भारदारको पहिचान गर्न नसकेको देखिन्छ । भारदारहरूको कुरा सुनेका भरमा उनीहरूले एकअर्कालाई शङ्काका दृष्टिले हेर्ने गरेका छन् ।
त्यसकारण मेरा विचारमा घरझगडाको दोषी राजेन्द्रलक्ष्मी हो । उसले सत्ता सञ्चालन गर्दा भारदारहरूका कुरा सुनेकै भरमा बहादुर शाहलाई नजरबन्दमा राखेकी थिई । बहादुर शाहले शासनसत्ता आफूले लगेर आफ्ना सन्तानलाई सत्ताच्युत बनाउँछन् कि भन्ने उसलाई भित्री शङ्का थियो । यसै शङ्काका कारण उसले बहादुर शाहलाई नजरबन्दमा राखी जसका कारण घरझगडा अँझ बढ्यो । त्यसैले घरझगडाको मुख्य दोषी राजेन्द्रलक्ष्मी नै हो भन्ने देखिन्छ ।
३. नमुना व्याख्या वा भावविस्तार
तल दिइएका कवितांशको व्याख्या वा भावविस्तार गर्नुहोस् :

भइन् पृथ्वी तन्ना, चउर गलैँचा मखमली
दुलाहाको रातो झलल पगरी भो हिमचुली ।
यो प्रकृतिको चित्रण गरिएको कविता हो । यसमा वर्षा हुने प्रक्रियालाई ‘मेघ बिजुलीको विवाह’ भनिएको छ । मानिसलाई झैँ दुलाहारूपी मेघ र बिजुलीरूपी दुलहीलाई आवश्यक पर्ने भौतिक वस्तु के के बने भन्ने कुराको यस पङ्तिमा बयान गरिएको छ । प्रकृतिको मानवीकरण गरिएको यस पङ्तिको निम्नलिखित रूपमा व्याख्या गरिँदै छ ।
मावन जीवनमा विवाहलाई एउटा खुसी र आनन्दको समयका रूपमा लिने गरिन्छ । कविले यहाँ मेघ र बिजुलीलाई दुलाहा र दुलहीका रूपमा प्रस्तुत गरेका छन् । जसरी मानवलाई विवाहको अवसरमा विभिन्न वस्तु, साधन, बाजा, सजावटका सामग्रीहरू आवश्यक पर्छन् त्यसरी नै मेघ र बिजुलीको मिलनमा पनि यस्ता भौतिक कुराको आवश्यकता पर्छन् भनी प्रकृतिको मानवीकरण गरेका छन् । यसमा दुलाहारूपी मेघ र बिजुलीरूपी दुलहीलाई स्वागत गर्न सम्पूर्ण पृथ्वी नै तन्ना भइन् । चउर मखमली गलैँचा भयो । दुलाहाको रातो झलल गर्ने पगरी थियो । सूर्यास्त हुनै लागेकाले हिमचुली रातो देखियो । यसरी दुलाहारूपी मेघ र बिजुलीरूपी दुलहीलाई स्वागत गर्न प्रकृतिका वस्तुले सहयोग गरेका छन् । समाजमा कुनै एउटा परिवारका सदस्यको विवाह हुँदा जसरी मानिसहरूले सहयोग गर्छन् त्यसरी नै यहाँ पृथ्वी, चउर, हिमचुली जस्ता प्राकृतिक पक्षले पनि सहयोग गरेका छन् भनी कविले यस पङ्तिमा जोड दिएका छन् ।
यसरी प्रस्तुत पङ्तिमा मेघ र बिजुलीको विवाह प्रसङ्गलाई आधार बनाई प्रकृतिको चित्रण गरिएको छ । यसमा वर्षा हुने प्राकृतिक कुरालाई मेघ र बिजुलीको विवाह भनिएको छ । यसमा मेघ र बिजुलीरूपी दुलाहा र दुलहीको स्वागतका लागि पृथ्वी, चउर र हिमालले विभिन्न भूमिकामा आफूलाई सरिक बनाएको कुरा बयान गरिएको छ ।
४. नमुना समीक्षात्मक/विवेचनात्मक उत्तर
‘करेसाबारी’ निबन्धमा आफू स्वरोजगार बन्ने के कस्ता उपायहरू औँल्याएको छ ? विवेचना गर्नुहोस् :

हाम्रो समाजमा मानिसहरूले विभिन्न पेसा अपनाएका छन् । गाउँघरमा अधिकांश मानिसहरू कृषि पेसा गरेर बसेका छन् । जोसँग थोरै जग्गा छ उनीहरूले पनि कृषि गरेर मद्दत गर्न सक्छन् । उनीहरूले कुनै काम वा पेसा छैन भनेर त्यतिकै बस्नुभन्दा करोसाबारीमा खेती गरेर स्वरोजगार हुन सकिने विभिन्न उपायहरू छन् । त्यस्ता उपायहरू के के छन् तिनको यसमा विवेचना गरिएको छ ।
नेपालमा रोजगारी छैन, उद्योग र कलकारखाना छैनन् । दक्ष जनशक्ति विदेश पलायन हुँदै छ । प्रायः समाजमा रोजगारीका सन्दर्भमा उठ्ने समस्यामूलक प्रसङ्ग यस्तै यस्तै हुन् । जाँगर भए यहाँ सुन फलाउन सकिन्छ । त्यसका लागि धेरै ठुलो लगानी आवश्यक नपर्ने, थोरैमा जीवन निर्वाहका अरु उपायसँगै करेसाबारीमा तरकारी खेती गरेर पनि आर्थिक उन्नति गर्न सकिन्छ । प्रशस्त खेतीबारी भएका वा थोरै जग्गा भएका सबैले करेसाबारीमा आफूलाई दैनिकरूपमा आवश्यक पर्ने तरकारी लगाउन सक्छन् । यसमा धेरै समयको आवश्यकता पर्दैन । साँझबिहान घुम्न निस्कनुभन्दा करेसाबारी मुसार्न जानु राम्रो हो । यसले सानोतिनो गर्जो टार्नुका साथै मानिसलाई व्यस्त पनि बनाउँछ । अरु पेसा वा व्यवसाय गर्ने मानिसहरूले पनि करेसाबारीमा तरकारी लगाएको अवस्थामा घर परिवारका अरु सदस्यहरूलाई पनि यसमा सहभागी गराउन सकिन्छ । यसबाट खाली जमिनको सदुपयोग हुने, पानीको सदुपयोग, भान्साबाट निस्कने फोहर व्यवस्थापन हुने, विषादीयुक्त तरकारी खानबाट बच्न सकिने, थोरै ठाउँमा धेरै उत्पादन दिन सकिने, धेरै भएको तरकारी बेचेर आम्दानी गर्न सकिने, विषादीमुक्त तरकारी र दैनिक केही समय काम गर्नाले स्वाथ्य पनि राम्रो हुने आम्दानी पनि हुने उपायहरू देखिन्छन् । यी उपायहरू गरेर स्वरोजगार बन्न सकिने देखिन्छ ।
यसरी करेसाबारीमा तरकारी लगाउनाले धेरै फाइदा हुन्छ । त्यसका लागि कृषिजन्य बिउ बेर्नासम्बन्धी आवश्यक प्राविधिक जानकारी प्राप्त गरेर तरकारी लगाउनु राम्रो हुन्छ । यसबाट स्वरोजगार बन्नुका साथै स्वास्थ्य र समयको सदुपयोग हुने देखिन्छ ।
नमुना जीवनी
तल दिइएका बुँदाका आधारमा भैरव अर्यालको जीवनी लेख्नुहोस् :
जीवनीगत बुँदाहरू
नाम : भैरव अर्याल
जन्म : वि.सं.१९९३, असोज-५, कुपन्डोल, ललितपुर
शिक्षा : एम.ए. नेपाली
सेवा : वि.सं. २०१८ सालदेखि २०३३ सालसम्म गोरखापत्रमा जागिरे
प्रथम प्रकाशित रचना : वि.सं.१३ सालको ‘हालखबर’ पत्रिकामा ‘खोलापारिका पुरेतबाजे’ प्रकाशित
प्रकाशित कृति : निबन्ध सङ्ग्रह : काउकुती (२०१९), जयभुँडी (२०२२), गलबन्दी (२०२६), प्रवेशिका निबन्ध (२०२७), इतिश्री (२०२८) र दश औतार (२०३३) ।
सम्पादन : साझा कथा (२०२५), छायाङ्कन (२०२५), साझा निबन्ध (२०३३)
समीक्षा : नेपाली साहित्यको प्रकृति (२०२८)
केही फुटकर कविता
नेपाली हास्य व्यङ्ग्य निबन्धका राम्रा प्रयोक्ता,
सामाजिक विषयवस्तुमा आधारित निबन्ध लेख्ने व्यक्तित्व,
सामाजिक कुरीति, खरबीको चित्रण,
कवितामा प्यारोडी शैलीको प्रयोग गरेर निबन्ध लेख्नु,
राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय विषयवस्तुमा आधारित भएर निबन्ध लेख्नु ।
मृत्यु : २०३३ असोज १९ बाग्मती, गोकर्ण ।
५. भैरव अर्यालको जीवनी
संसारमा धेरै मानिस जन्मन्छन् र मर्छन् । आफ्नो मृत्युपछि पनि सम्झना गराइराख्ने काम भने सबै मानिसहरूले गर्न सक्दैनन् । सिर्जनशीलता, कर्मशीलता, साहित्य र कला भएका मानिसहरू मात्र सबैका मन मस्तिष्कमा बस्न सफल भएका हुन्छन् । आफूले गरेको काम वा आफ्नो कलाले मात्रै यस संसारमा मानिसहरू चिनिन सक्छन् । यस विश्वमा त्यस्ता काम गरेर चिनिने मानिसहरूमध्ये भैरव अर्याल पनि एक हुन् ।
भैरव अर्यालको जन्म वि.सं.१९९३, असोज-५, कुपन्डोल, ललितपुर जिल्लामा भएको थियो । उनले औपचारिक रूपमा नेपाली विषयमा एम.ए.सम्मको अध्ययन गरेका थिए । उनी वि.सं. २०१८ सालदेखि २०३३ सालसम्म गोरखापत्रमा जागिरे थिए । उनको प्रथम प्रकाशित रचना वि.सं.१३ सालको ‘हालखबर’ पत्रिकामा ‘खोलापारिका पुरेतबाजे’ प्रकाशित शीर्षकको निबन्ध थियो । त्यसपछि उनले निरन्तर निबन्ध, कविता लेखेर साहित्य सिर्जना गरिरहे । उनका प्रकाशित कृतिहरूमध्ये धेरै जसो निबन्ध सङ्ग्रह छन् । उनका निबन्ध सङ्ग्रहहरू काउकुती (२०१९), जयभुँडी (२०२२), गलबन्दी (२०२६), प्रवेशिका निबन्ध (२०२७), इतिश्री (२०२८) र दश औतार (२०३३) हुन् । उनले साझा कथा (२०२५), छायाङ्कन (२०२५) र साझा निबन्ध (२०३३) को सम्पादन पनि गरेका छन् । उनको समीक्षात्मक कृति नेपाली साहित्यको प्रकृति (२०२८) हो । यसबाहेक उनका केही फुटकर कविताहरू पनि छन् । उनी हास्य व्यङ्ग्य निबन्धका राम्रा प्रयोक्ता हुन् । उनी सामाजिक विषयवस्तुमा आधारित निबन्ध लेख्ने व्यक्तित्व हुन् । उनले सामाजिक कुरीति, खरबीको चित्रण गरेका छन् । उनले कवितामा प्यारोडी शैलीको प्रयोग गरेर निबन्ध लेख्ने काम पनि गरेका छन् । उनले राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय विषयवस्तुमा आधारित भएर निबन्ध लेखेका छन् । उनको निधन २०३३ असोज १९ बाग्मती, गोकर्णमा भएको थियो ।
यसरी भैरव अर्यालको जीवनीबाट जीवनलाई सङ्घर्ष र सिर्जनशीलतामा लगाउनुपर्छ भन्ने शिक्षा पाइन्छ । अर्यालको साहित्यिक योगदानका कारण उनी हामीमाझ नरहे पनि नेपाली साहित्यको आकाशमा सधैँ अमर रहने छन् ।
बुँदामा आधारित कथा लेखनको अभ्यास
भारद्वाज ऋषिका छोरा यवव्रिmतलाई नपढी विद्या आर्ज गर्ने विचार आउनु, ......नदी किनारमा गएर तपस्या गर्न थाल्नु, ..... तपस्याको कारण बुझ्न इन्द्र देवता आउनु........इन्द्रले उनको कुरा सुन्नु.........इन्द्रले तपस्याबाट विद्या हुँदैन, पढेर विद्या आर्जन गर्नुपर्छ भन्ने सल्लाह दिनु.........इन्द्रको सल्लाह यवव्रिmतले नमान्नु.......तपस्यालाई निरन्तरता दिनु .......ब्राह्मणको भेष लिएर इन्द्र फेरि यवव्रिmतले नपस्या गरेको नदीको किनारमा आउनु.......ब्राह्मण भेषधारी इन्द्रले किनारको बालुवा खन्दै नदीमा बगाउँदै गर्नु.......यवव्रिmत बाह्मणको छेउमा जानु......बालुवा नदीमा बगाउनुको कारण सोध्नु....नदीमा पुल बनाउनलाई त्यसो गरेको भन्ने जवाफ पाउनु.....त्यसरी पुल चाहिँ किन पुल बन्न सक्दैन भनेर जवाफ पाउनु.....यवव्रिmतका आँखा खुल्नु.....यवव्रिmत पढ्न थाल्नु......छिट्टै विद्वान् बन्नु ।
६. बुँदामा आधारित नमुना कथारचना
ऋषिमुनिहरू आश्रममा बस्थे । धेरै ऋषिकुमारहरू सँगै खेल्ने र पढ्ने गर्थे । भारद्वाज ऋषिका पनि सन्तान जन्मिए । उनको नाम यवक्रित राखियो । भारद्वाज ऋषि सन्तान जन्मिएकामा खुसी भए । उनका अरू कुनै सन्तान थिएनन् । उनका छोरा ठुला हुँदै गए । भारद्वाज ऋषिले पनि आफ्ना सन्तानलाई राम्रो शिक्षा दिने सोच बनाएका थिए तर उनका छोरालाई पढ्न मन लाग्दैनथ्यो ।
यवक्रित फरक तर जिद्दी स्वभावका थिए । उनका मनमा नपढी विद्या आर्जन गर्ने विचार आयो । उनी यसका लागि नदीको किनारमा गएर तपस्या गर्न थाले । उनले किन तपस्या गरेका हुन् भन्ने बुझ्न स्वयं देवराज इन्द्र आए । इन्द्रले उनको कुरा सुने । उनले यवक्रितलाई पढेर विद्या आर्जन गर्नुपर्छ भन्ने सल्लाह दिए तर यवक्रितले उनको सल्लाह नमानेर तपस्यालाई नै निरन्तरता दिए । एक दिन ब्राह्मणको भेष लिएर फेरि इन्द्र यवक्रितले तपस्या गरेको नदी किनारमा गए । ब्राह्मण भेषधारी इन्द्रले किनारको बालुवा खन्दै नदीमा बगाउँदै गरे । यवक्रितले यो देखेर छक्क परे । उनी ब्राह्मणको छेउमा गए । उनले बालुवा नदीमा बगाउनुको कारण सोधे । ब्राह्मणले नदीमा पुल बनाउनका लागि त्यसो गरेको हुँ भने । यवक्रितले त्यसरी पुल बन्दैन भने । यदि ’तपाईंले तपस्याबाट विद्या आर्जन गर्न सक्नुहुन्छ भने यसरी किन पुल बन्न सक्दैन’ ब्राह्मण भेषधारी इन्द्रले भने । यवक्रितका आँखा खुले । उनी तपस्या गर्ज छोडेर राम्ररी पढ्न थाले ।
त्यसपछि यवक्रित मिहिनेत गरी पढ्न थाले । उनलाई वास्तविकताको बोध भयो । आफूले जिद्दी गरेकामा पछुतो माने । यसरी पढेर उनी विद्वान् बने । तसर्थ विद्या पढेर मात्र प्राप्त गर्न सकिन्छ भन्ने शिक्षा यस कथाले दिन्छ ।

Post a Comment

0 Comments
Post a Comment (0)

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top