निर्गुण ब्रह्मका उपासक सन्तकवि ज्ञानदिल दास (Santkavi Jnandil Das, a worshiper of Nirguna Brahma)

Dr.Khagendra Ghodasaini
18 minute read
0

डा. खगेन्द्र घोडासैनी

(सारसङ्क्षेप: प्रस्तुत लेख निर्गुण ब्रह्मको उपासना गर्ने जोसमनी सन्तपरम्पराका कवि ज्ञानदिल दासको ‘उदय लहरी’ खण्डकाव्यको विवेचनामा केन्द्रित छ । यस परम्पराका कविहरू निर्गुण ब्रह्मको उपासनामा जोड दिन्छन् जुन कुरा उपनिषद्सँग नजिक देखिन्छ । उपनिषद् र जोसमनी सन्तमतले ईश्वरको निर्गुण, निराकार अस्तित्व स्वीकार गरेका छन् । यिनमा ईश्वरको खोजी बाह्य संसारमा नभई आफैंभित्र गर्न प्रेरित गरिएको छ । ईश्वर भौतिक रूपमा प्राप्त हुने वस्तु नभई अनुभूतिजन्य विषय हो । यस्तो अनुभूति गुरुको आज्ञानुसार साधना र अभ्यास गर्नाले हुन्छ तर पण्डितहरू ईश्वरलाई बाहिरतिर खोज्न प्रेरित गर्छन्, हिंसा गर्छन्, पैसा लिएर उपदेश दिन्छन् । उनीहरू ईश्वरको नभई पैसाको खोजी गर्ने लोभी र लालची गुरु हुन् । तिनले सत्यलाई लुकाएर वा नबुझेर असत्यको उपदेश दिई सबैलाई भ्रममा पारेका छन् । त्यसैले ईश्वरको प्राप्ति तीर्थ, व्रत, पूजा, पाठ, हिंसा आदि गर्नाले नभई सतगुरुको उपदेशअनुसार योग वा साधना गर्नाले आफैंभित्र हुन्छ भन्ने निष्कर्ष यस लेखमा निकालिएको छ ।)
शब्दकुञ्जी : जोसमनी, गुरु, ब्रह्म, परमात्मा, नाम ।
विषय परिचय
प्राथमिक कालीन नेपाली कवितामा मुख्यतः वीर र भक्तिभावनाको चित्रण गरिएको छ । भक्तिधारा सगुण र निर्गुणमा विभाजित छ । निर्गुण भक्तिधाराका कविहरू जोसमनी सन्तपरम्परामा आबद्ध छन् । यो नेपाली कविताका प्राथमिक कालको मौलिक धारा हो । यस धाराका कवितामा गुरु महिमा, जीवन र जगत् तथा सामाजिक पक्षको चित्रण गरिएको छ । यस लेखमा ‘जोसमनी सन्तमत र उपदिषद्का आध्यात्मिक चिन्तनमा समानता छ’ भन्ने विषयलाई प्रमुख प्राक्कल्पना बनाइएको छ । यसका लागि श्वेताश्वरोपनिषद्, ईशावास्योपनिषद् र मुण्डकोपनिषद्‍मा प्रतिपादित निर्गुण, निराकार ईश्वरका विषयमा उल्लेख गरिएका विचारहरूको खोजी गर्ने प्रयास गरिएको छ । उपनिषद्‍मा ईश्वरको अस्तित्व स्वीकार गरिएको छ तर त्यो इन्द्रिय गोचर छैन, अगोचर, अजन्मा, निर्गुण र निराकार रहेको उल्लेख छ । जोसमनी सन्तमतले पनि ईश्वरलाई निर्गुण ब्रह्म मानेको छ । ईश्वरसँग साक्षात्कार गर्न गुरुको शरणमा जानुपर्छ । गुरुले बताएअनुसार आफैंभित्र अभ्यास गरेमा ईश्वरको अनुभूति हुन्छ भन्ने कुरालाई उपनिषद् र जोसमनी सन्तमतमा उल्लेख गरिएको छ । उपनिषद् र जोसमनी सन्तका रचनाहरूमा पाइने समानताहरूको खोजी भएको पाइँदैन । त्यसैले ईश्वरका विषयमा उपनिषद् र जोसमनी सन्तमतमा के कस्ता समानता छन् भन्ने कुरालाई समस्या मानी प्रस्तुत लेख तयार पारिएको छ ।
अध्ययन विधि
यस अध्ययनमा निम्नानुसारको अध्ययन विधि अवलम्बन गरिएको छ :
अध्ययनको ढाँचा : यो गुणात्मक ढाँचाको अध्ययन हो । यसमा विषयवस्तुको विश्लेषण गरी निष्कर्षमा पुग्ने काम गरिएको छ ।
सहभागी र नमुना छनोट : जोसमनी सन्तपरम्परामा हालसम्म उन्नाइस जना सन्तकविको उल्लेख पाइन्छ । ती सबै सन्तकविहरूलाई प्रस्तुत अध्ययनमा सहभागीका रूपमा परिभाषित गरिएको छ । यसका लागि सम्भावनारहित नमुना छनोट पद्धतिअन्तर्गतको उद्देश्यमूलक नमुना छनोटपद्धतिका आधारमा जोसमनी सन्तपरम्पराका कवि ज्ञानदिल दासका रचनाहरूमध्ये उनको ‘उदय लहरी’ खण्डकाव्यको छनोट गरिएको छ ।
तथ्य सङ्कलन : प्रस्तुत अध्ययनमा जोसमनी सन्तका कविता र यसको विषयवस्तुसँग सम्बन्धित विभिन्न कृति र लेखहरूलाई आधार बनाएर तथ्य सङ्कलन गरिएको छ ।
तथ्य सङ्कलनका साधन : यस अध्ययनमा प्राथमिक र द्वितीय स्रोतका विभिन्न प्रकाशित पुस्तक, पत्रिका र लेखजस्ता दस्तावेजको उपयोग गरिएको छ । त्यसैले यसमा प्रकाशित दस्तावेजमा प्राप्त तथ्यको विश्लेषण गरी निष्कर्ष निल्काने प्रयास गरिएको छ ।
तथ्य विश्लेषण प्रक्रिया : प्राप्त तथ्यको वर्णन, तुलना र त्यसको पुष्टिका लागि उदाहरणसमेत दिई विश्लेषण गरेर निष्कर्षमा पुग्ने काम गरिएको छ ।
जोसमनी मतको सैद्धान्तिक आधार
जोसमनी मत मूलतः उपनिषद्बाट प्रभावित छ । उपनिषद्को अर्थ गुरुको समीपमा बसेर ईश्वर प्राप्त गर्ने उपाय र साधनको अभ्यास गर्नु हो, यसबाट अध्यात्मविद्या वा पराविद्याको प्राप्ति हुन्छ (शर्मा, २०५६, पृ.४२) । जुन कुरा जोसमनी मतमा पनि लागु हुन्छ । श्वेताश्वरोपनिषद्‍मा भनिएको छ- ईश्वर सर्वज्ञ, अजन्मा, अनादि, अनन्त र सर्वशक्तिमान् छन् (गोयन्दका, २०६८, पृ.११५) । उनी एउटै छन् । सम्पूर्ण प्राणीहरूको अन्तर्हृदयमा छन्, सर्वव्यापक र सम्पूर्ण प्राणीहरूका भित्र छन् । उनी सबैलाई चेतना दिने निर्गुण छन् (गोयन्दका, २०६८, पृ.४८४) । परमेश्वर र गुरुप्रति जसको समान रूपले अनन्य विश्वास र भक्ति छ उसैको हृदयमा परमेश्वर प्रकट हुन्छन् (गोयन्दका, २०६८, पृ.४९५) । यस्ता परमात्मालाई कसैले पनि न माथि, न वरपर, न बिचमा पक्डिन सक्छ किनभने उनी सर्वथा अग्राह्य र प्रतिमा रहित छन् (गोयन्दका, २०६८, पृ.४६१) । परमेश्वर शरीररहित, जगत्‌को उत्पत्ति र विनाश गर्नेवाला हुन् । यति हुँदाहुँदै पनि आनन्दमय परमेश्वरलाई श्रद्धा, भक्ति र प्रेमबाट प्राप्त गर्न सकिन्छ (गोयन्दका, २०६८, पृ.४७६) ।
ईशावास्योपनिषद्‌मा भनिएको छ- सम्पूर्ण संसारमा जेजति वस्तु हामी देख्छौं यी सबैलाई ईश्वरले ढाकिएको वा व्याप्त छ । यहाँका वस्तुहरूको भोग गर्दा परमात्मालाई सम्झेर अरू वस्तुहरू बिर्सिनुपर्छ, तिनमा आशक्ति देखाउनुहुँदैन किनभने तिनले अन्तः कालमा कसैलाई पनि साथ दिँदैनन् (गोयन्दका, २०६८, पृ.२) । मुण्डकोपनिषद्‌मा परमात्माको स्वरूप पनि बताइएको छ । परमेश्वर सर्वशक्तिमान्, सर्वज्ञ, सर्वव्यापी तथा प्रकाश स्वरूप छन् । उनी सम्पूर्ण प्राणीहरूका अन्तर्हृदयमा बस्दछन् । उनी सबैका आश्रय हुन् । उनी प्राणीहरूको बुद्धिले जान्न नसकिने तर सबैद्वारा वरण गर्न योग्य र श्रेष्ठ छन् (गोयन्दका, २०६८, पृ.२३१) । परब्रह्म परमेश्वर सर्वज्ञ, सबैका आत्मा हुन्, उनी परमेव्योमन् नामले प्रसिद्ध छन् । उनी दिव्य आकाश, मन र प्रत्येक प्राणीहरूको अन्तर्हृदयमा प्रतिष्ठित छन् । बुद्धिमान् मनुष्य विशेष ज्ञानद्वारा उनलाई सजिलो तरिकाले आफ्नाभित्र प्रत्यक्ष गर्दछन् । उनी आनन्दमय अविनाशी रूपले सर्वत्र प्रकाशित छन् (गोयन्दका, २०६८, पृ.२३६) ।
उपनिषद्का यी मान्यतासँग जोसमनी मत पनि सहमत देखिन्छ । जोसमनी मतले पनि ईश्वरलाई निगुर्ण निराकार र ज्योतिस्वरूप मान्दछ । यसमा गुरुलाई ईश्वरको प्रतीकस्वरूप मानिएको छ । गुरु र ईश्वरमा अन्तर छैन, साकार र निराकारको भेद मात्रै हो । त्यसैले जोसमनी मतको सैद्धान्तिक आधार उपनिषद्द्वारा प्रतिपादित ईश्वरको स्वरूप र ईश्वर प्राप्तिको साधनका बिच समानता देखिन्छ ।
जोसमनी सन्तमत
‘जोस्मणी’ शब्दको सर्वप्रथम प्रयोग सन्त शशिधरका रचनामा पाइन्छ । यसको व्युत्पत्ति ‘ज्योतिर्मनी ~ ज्योतिष्मनी~ जोस्मनी ~ जोसमनी गरिएको छ । त्यसैले यो ‘ज्योतिर्मनी’ को अपभ्रंश भई जोसमनी भएको हुन सक्ने अनुमान गरिएको छ (पाण्डे, १९७०, पृ.६) । यस परम्पराका सन्तहरूले ज्योतिलाई महत्त्व दिई ईश्वरलाई ज्योति वा प्रकाशस्वरूप मान्ने हुँदा यो व्युत्पित्ति उपयुक्त पनि देखिन्छ (शर्मा, २०६०, पृ.२१३) । जोसमनी नामक कुनै सन्तको अस्तित्व फेला पर्दैन । शशिधर पूर्व यस मतका हरिश्चच्द्र (प्रथम), हरिभक्त (प्रथम), हरिश्चन्द्र (द्वितीय), धिर्जेदिल दास र हरिश्चन्द्र (द्वितीय) गरी पाँचजना सन्तको नाम उल्लेख छ (शर्मा, २०५२, पृ.३९२) । यस मतका आदि प्रवर्तकको नाम ‘जोसमनी’ हुन सक्ने (शर्मा, २०५२, पृ.५) भनिए पनि ‘जोसमनी’ शब्दको सर्व प्रथम प्रयोग शशिधर स्वयंले “आदिगुरु नाम शशिधर भेष नाम जोस्मणी” (शर्मा, २०५२, पृ.१५३) भनी उल्लेख गरेका छन् । शशिधरको यसै भनाइलाई लिएर जोसमनीका अनुयायीहरू उनलाई आदिगुरु मान्दछन् । अरू प्रमाणको अभाव र शशिधरको भनाइलाई आधार बनाएर जोसमनी मतको आरम्भ शशिधरबाटै भएको हो भन्ने मत पनि पाइन्छ (पाण्डे, १९७०, पृ.९३) । पहिला रचनाकारको रूपमा भने जोसमनी सम्प्रदायका चौथा गुरु धिर्जेदिल दास देखिन्छन् । उनको एउटा मात्रै ‘निर्गुण भजन’ पाइन्छ । उनी पूर्व अरूका रचना उपलब्ध छैनन् ।
शशिधरले आफ्नो जीवन कालमा केही समय बिहारका सन्त दरियाको पनि संगत गरेका थिए । शशिधरका रचनामा कबिर, दरिया र महाप्रभु चैतन्यको पनि प्रभाव पाइन्छ (शर्मा, २०५२, पृ.१४) । “दरिया साहेबको जन्मस्थान हुनाका कारण बिहार दरियापन्थी साधुहरूको प्रमुख केन्द्र थियो । बिहार, उत्तर प्रदेश र नेपालमा सबै गरी १५० दरियापन्थी मठ छन्” (उपाध्याय, सन् २०१०, पृ.२६-२७) भनी उल्लेख गरिएको छ । यसबाट शशिधरको सम्बन्ध दरिया साहेबसँग पनि भएको देखिन्छ । दरियापन्थी साहित्यमा सन्त दरियालाई सत् पुरुषका पुत्र (अंश) ‘जोगजीत’ भनिएको छ (उपाध्याय, २०१०, पृ.२६-२७) । जोसमनी मतका अनुयायीहरूको भिक्षा माग्ने मूलमन्त्रमा ‘जागोनाम’ पद प्रयोग भएको पाइन्छ (शर्मा, २०५२, पृ.१६) । यो ‘जोगजीत’ शब्दकै अनुकरणका रूपमा पनि शशिधरले ‘जागोनाम’ र ‘जोस्मणी’ शब्दको प्रयोग गरेका हुन सक्ने देखिन्छ । दरिया साहेबलाई कबिरपछिका ठुला हठयोगी, रहस्यवादी कवि र समाज सुधारक भनिएको छ । यसैले शशिधर पनि उनको संगतबाट जातपात, कर्मकाण्ड तथा बाह्य आडम्बरका विरोधि देखिए (शर्मा, २०५२, पृ.७) ।
यस सम्प्रदायमा पुरुष सन्तको नामका पछाडि दिल वा दिलदास र नारी सन्तको नामका पछाडि दिलमाई जोड्ने परम्परा पाइन्छ (शर्मा, २०६१, पृ.३८) । ‘दिल’को समानार्थक शब्द ‘मन’ हो । निर्गुण भक्तिमा ईश्वरलाई मन वा हृदयभित्र खोज्ने हुनाले नामबाटै यसको सङ्केत गर्न खोजिएको हुन सक्छ । जोसमनी सन्तका रचनाहरूमा जातिप्रथा, कर्मकाण्ड, अवतारवाद तथा धार्मिक रूपमा गरिने बाह्य आडम्बर र पाखण्डको विरोध गरी निर्गुण निराकार ईश्वरको उपासना गर्नु जीवनको मुख्य उद्देश्य हो भन्ने कुरा व्यक्त गरिएको पाइन्छ । हिन्दी, व्रज र मैथिली भाषाको समिश्रणबाट एक प्रकारको ‘सधुक्कडी’ बनेको छ (भण्डारी, २०५३, पृ.२३३) । नेपाली सन्तकविहरूले विशुद्ध नेपाली भाषामा नलेखी यही ‘सधुक्कडी’ भाषाको प्रयोग गरेका छन् । विशुद्ध नेपालीमा कविता लेख्ने सन्तकविहरू थोरै छन् । ‘सधुक्कडी’ भाषा त्यति आकर्षक छैन तर यिनमा व्यक्त विचार र भाव महत्त्वपूर्ण छ । भाषा जस्तो भए पनि अभिव्यक्ति सरल, सहज र स्वाभाविक छ (शर्मा, २०६०, पृ.२१५) । जोसमनी सन्तकविताको विपुलराशि ‘सधुक्कडी’ भाषामा छ, त्यसका विपरीत नेपाली भाषामा थोरै सन्तहरूले कविता रचेका छन् । शशिधर, अगम दिल दास, अखड्दिल दास र ज्ञानदिल दासले नेपाली भाषामा कविता रचेका छन् (शर्मा, २०६०, पृ.२१५) । यीमध्ये प्रभावशाली सन्तकविता लेख्ने व्यक्ति हुन् ज्ञानदिल दास । यिनका कवितामा शुद्ध नेपाली भाषा र काव्यत्वको मनोरम छठा पनि देख्न पाइन्छ ।
सन्त कविताका प्रवृत्तिहरू
जोसमनी सन्तकविका रचनाहरू भजन, उपदेश, नीति, मार्ग दर्शन र दार्शनिक विचारसँग सम्बन्धित छन् । उनीहरूले आफ्ना रचनामा गुरुलाई ठुलो महत्त्व दिएका छन् । गुरुबिना ज्ञान नहुने हुँदा उनीहरूका लागि गुरु सर्वोच्च पद हो । उनीहरू “गुरुको सेवा नै ईश्वरको सेवा हो” भन्ने ठान्दछन् । गुरुको कृपास्वरूप अनुभूतिका रूपमा ईश्वर प्राप्ति हुन्छ । उनीहरू अन्धविश्वास र बाहिरी आडम्बरलाई मान्दैनन् । उनीहरू गृहस्थ र त्यागी जेसुकै भए पनि समाजबाट निरपेक्ष भएर बस्दैनन् । समाजलाई अन्धविश्वास, रुढी र जडताबाट मुक्त राखी अन्यायको निर्भिकतापूर्वक विरोध गर्न प्रेरित गर्दछन् (लामिछाने, २०६२, पृ.३५) । परम्परागत आडम्बर र त्यस्ता पुराना मान्यता र अन्धविश्वासप्रति जोसमनी सन्तहरू ठुलो वैरभाव राख्दछन् । उनीहरूलाई धन सञ्चय र सत्ताको लोभ हुँदैन, त्यसैले उनीहरू चित्त नबुझेको कुरामा विरोध गर्न तत्पर देखिन्छन् (भण्डारी, २०५३, पृ.२३२) ।
जोसमनी सन्तकविहरूका दृष्टिमा शासक र शासित एउटै हो । गुरु र परमात्मा ठुला हुन् । उनका अगाडि झुक्नुपर्छ तर अरू सबै समान छन्, तिनका अगाडि झुक्नु आवश्यक छैन । आफूलाई चित्त नबुझेको कुरा भन्ने गर्छन् । उनीहरूलाई ऐन, कानुन, शक्तिको धम्की र परम्पराले तर्साउन सक्दैन र तिनका प्रभाव र बहकाउमा नबहकिने प्रकृतिका हुन्छन् । उनीहरू तार्किक, सत्य, सङ्गतियुक्त र यथार्थ पक्षको खोजी गर्छन् (भण्डारी, २०५३, पृ.२३२) । घर परिवारमै सन्तोष र संयमपूर्वक जीवन व्यतित गर्दै सम्पूर्ण प्राणीमा समभाव राख्नुपर्छ । अहङ्कारको परित्याग गरी गुरुको उपदेशअनुसार भक्ति साधना गर्नुपर्छ भन्ने कुरा जोसमनी सन्तकविका रचनामा पाइने मुख्य प्रवृत्ति हुन् (लामिछाने, २०६२, पृ.३५-३६) । यिनै मुख्य विशेषताका आधार जोसमनी सन्तकविका कवितामा पाइने साझा प्रवृत्ति रहेको निष्कर्ष निकाल्न सकिन्छ ।
सन्तकवि ज्ञानदिल दास
सन्तकवि ज्ञानदिल दासको जन्म विक्रम संवत् १८७८ तिर इलाम जिल्लाको पिक्कलमा भएको थियो । उनी लामिछाने थरका उपाध्याय ब्राह्मण परिवारमा जन्मेका थिए । अर्को मतानुसार उनी धनकुटा जिल्लामा जन्मेका थिए । जे होस् उनी पूर्वी नेपालमा जन्मेका थिए भन्ने कुरा निर्विवाद छ (शर्मा, २०५२, पृ.६०) । उनले संस्कृतको साधारण शिक्षा प्राप्त गरेका थिए । उनका रचनाले उनी अध्ययनशील, मननशील र तीक्ष्ण बुद्धि भएका व्यक्ति भएको पुष्टि गरेका छन् । ज्ञानदिल दासले श्यामदिल दाससँग जोसमनी मतको दीक्षा लिएका थिए । उनले गुरुको आज्ञानुसार जोसमनी मतको पहिलो प्रचार केन्द्र ओखल्ढुङ्गा जिल्लाको रुम्जाटारलाई बनाए । उनले विवाह गरेका थिए । उनकी धर्मपत्नीको नाम शीतला माई थियो (शर्मा, २०५२, पृ.६२) । ज्ञानदिल दासले पूर्वी नेपालमा जोसमनी मतको प्रचार प्रसार र यसको विस्तार गर्ने काम गरे । सुधारवादी व्यक्तित्व भएकाले यी छिट्टै प्रसिद्ध भए ।
गोरखाबाट लखन थापा (दोस्रा) प्रक्राउ पर्दा यिनको धर्म प्रचार पनि राजनैतिक हो कि भन्ने शङ्कामा ज्ञानदिल समातिए । राणा प्रधानमन्त्री जङ्गबहादुरले छ महिना जमलको जेलमा राखेर यिनी विशुद्ध धर्म प्रचारक भएको प्रमाणित भएपछि ससम्मान छाडे । यसै समयमा रणोद्दीप सिंह र दरबारका अरू भारदारहरू पनि यिनका चेला भएका थिए । पोलाहाहरूको कुरा सुनेर इलामका बडा हाकिम गजराज थापाले पनि यिनलाई दुई महिना जेलमा राखेका थिए पछि रणोद्दीप सिंहको आदेशबाट मुक्त भए । केही समयपछि उनी चतरा, इलाम, दार्जिलिङ, सिक्किमसम्म जोसमनी मतको प्रचार गर्दै हिँडे । दार्जिलिङमा पादरी टर्नबुलसँगको शास्त्रार्थ भयो । हार्नेको धर्मग्रन्थ जलाउने पादरीको सर्तअनुसार शास्त्रार्थमा जितेर बाइबल जलाई खागी र त्यागी साधुहरूको परम्परा समेत बसालेका थिए (शर्मा, २०५२, पृ.६९-७२) । उनको मृत्यु विक्रम संवत् १९४० सिक्किमको गेलिंङ धाममा भएको थियो ।
ज्ञानदिल भानुभक्तका समकालीन सन्तकवि हुन् । सन्तकविहरूमध्ये उनका रचना सर्वोच्च छन् । नेपाली भाषामा यिनले ‘उदय लहरी, झ्याउरे भजन, टुङ्ना भजन र नीति भजन’ लेखेका छन् । सुधुक्कडी भाषामा ५७ ओटा भजन लेखेका छन् ।
‘उदय लहरी’ खण्ड काव्यको सन्देश
यो सबाई छन्दमा लेखिएको खण्डकाव्य हो । यसमा १०९ श्लोक छन् । चार हरफ बराबर एक श्लोक मानिएको छ । यस दृष्टिले खण्डकाव्यमा चार सय छत्तिस ओटा हरफ रहेका छन् । यस खण्डकाव्यलाई ‘सूक्ष्म लहरी’ पनि भनिएको छ । यसको रचना विक्रम संवत् १९३४ सिक्किममा भएको कुरा “श्रीशुभ लगनमा उदय भयाको चौतिस् साल् वैशाखमा सब् लेखि कह्याको” उनकै कथनबाटै पुष्टि हुन्छ । उनका अरू रचना २०२० मा मात्रै प्रकाशित हुन सके तर उदय लहरी सर्व हितैषी कम्पनी काशीबाट सबाई पच्चिसामा छापिएको कुरा शर्मा (२०५२) ले उल्लेख गरेका छन् । यसको मिति भने शर्माले पनि उल्लेख गरेका छैनन् । यसमा मूलतः गुरु र ईश्वरको महिमा, ईश्वरको वासस्थान र प्राप्त गर्ने साधन, हिंसाको विरोध, पण्डित, बाह्मण तथा ढोंगी गुरुहरूले ईश्वरको गलत व्याख्या गरी समाजलाई दिग्भ्रमित पारेको अनि पैसाका लागि ज्ञान बाँडेको जस्ता विषयवस्तुलाई आधार बनाएर तिनको वर्णन गरिएको छ । यसलाई निम्नलिखित उपशीर्षकहरूमा प्रष्ट्याउने प्रयास गरिएको छ :
मनुष्य जन्मको उद्देय
मनुष्य जन्म सधैं टिक्दैन, आज हो कि भोलि । त्यसैले यो जन्म दुर्लभ छ । पछि पाइन्छ वा पाइँदैन त्यसको कुनै ठेगान छैन । थोरै दिनलाई किन अहंकार गर्नु । यसको महत्त्वलाई बुझौं :
अ‍ैले छ कि भरे छ भोलि छ मर्नु
कच्चा माटोको छाला क्यान छ तर्नु
पाउनु छ दुर्लभ मनुष्यको चोला
यो जन्म बित्या पछि फिरि कसो होला
पलकमा जन्मन्छ पकमा मर्छ
थोडा दिन जीय पनि अहंकार गर्छ
अहंकार गरने मनुषेको बानी
अहंकार गरनेको धर्म हुन्छ हानी (उदय लहरी, श्लोक, पृ.४६-४७)
मनुष्य जुनी चौरासी लाख प्रकारका जुनीहरूमध्येको महत्त्वपूर्ण छ । यसलाई गुमाएपछि एकपछि अर्को हुँदै सबै जुनी बिताएर फेरि मनुष्य जुनी प्राप्त हुन्छ । त्यसैले यो फेरो काट्न ज्ञानदिल दास अनुरोध गछन् :
तेस्वो हाइन मुनि हो विन्ती लागोस् मेरो
मिलि जुलि काटौं चौरासीको फेरो (उल, श्लोक, पृ.५४)
मनुष्य जुनी छोटो छ । यस जुनीमा विभिन्न थरीका पाप गरेर किन बस्छौ ?
अ‍ैले छ कि भरेछ भोलि छ मर्नु
जानि जानि पाप व्यर्थे किन गर्नु (उल, श्लोक, पृ.८६)
आफूले बाल्यकालदेखि भोगेको कुरा सत्यको पछि लाग्नु हो । त्यसैले आफ्नो अनुभवबाट अरूले पनि फाइदा लिन उनी यसरी अनुरोध गर्छन् :
सुरनर मुनि सब सुरथ लगाउ
जबर्जस्ती होइन हासी षे(खे)ली जाउ
सार झिकी कह्याको जानि न जानी
दया धर्म नछोड्या मुक्ति होला तानी
नलेषु(खु) भन्या उदयाको वानी
सब मिली भक्ति गरौँ जानि न जानी
अझ पनि मुनि हो चैतन्ने राष(ख)
अन्तेकाल भया पनि भक्ति रस चाष(ख)
बालक पन देषि(खि) फकिरी भयाको
सत्संगको मत लेषी(खी) कह्याको
भय भर्म चञ्चल सबै पर भाग्यो
सतको निशान सन्सारमा जाग्यो
सबै भन्नु नहुन्या सुष्म(सूक्ष्म) कह्याकै
उदय लहरी सिद्धान्त भयाको (उल, श्लोक, पृ.१०४-१०७)
संसारको अवस्था
हामी सबैको जीवन चक्र एउटै तरिकाले अघि बढेको देखिन्छ । विभिन्न उमेरमा हामीलाई छुट्टाछुट्टै समस्या आउँछन् । यस्ता समस्याले हाम्रो एउटै अवस्था देखाउँछ :
बाल अवस्थामा षे(खे)ली गुमाउँछ
जमान भयापछि धेरै बाधा लाउँछ
जमान जोधाहमा बिष रस खान्छ
बृद्ध भयापछि को निको मान्छ (उल, श्लोक, पृ.३८)
यहाँ सबै मानिसहरू धनका पछाडि दौडिएको देखेर सचेत गराउँदै सन्तकवि लेख्छन् :
धनीका धन छ गति न पती
धेरै तुल्याउँ भन्छ जतिको तती
धेरै कमाउँ भनी रात दिन धाउँछ
कर्ममा नभया को काहाँ पाउँछ (उल, श्लोक, पृ.३५)
सत्यको पहिचान
सत्यको पहिचान गर्ने साधकले शरीरभित्रै खोजी गर्नु पर्छ, शरीर बाहिर होइन । यसका लागि मायाको धनु लिई गुरुले दिएका शब्द र शील स्वभावको वाण तथा धर्मको ढालले तम र रजगुणलाई रोकेर सत्वगुणमा प्रवेश गर्न सकिन्छ । त्यसपछि गुरुको आज्ञा अनुसार आसनमा बसेर अभ्यास गर्नाले आत्मालाई जगाएर सहज आनन्दको अनुभूति गर्न सकिन्छ । यस्तो अनुभूति मनमानी ढङ्गले गरेर हुँदैन गुरुको आज्ञा अनुसार गर्नु पर्छ :
मायाको धनु छ शब्दको बान
अगाडि दिँदैन तमोगुनले जाँन
धर्मको ढाल बाँधि शब्दको सेली
सिलको बानले तमोगुन ठेली
रज तम मारी सतगुन् जगाउ
सहज आनन्दमा सुरथ लगाउ
कमल आसन् बाँधी सुरथ रह्याको
मनासिप्ले होइन गुरुले कह्याको (उल, श्लोक, पृ.१५-१६)
ब्रह्म ज्ञान नभई पाप पखालिँदैन । यसका लागि साधु (गुरु) को सेवा गर्नु पर्छ । ब्रह्म ज्ञान सूक्ष्म हुन्छ, जसबाट ऋषि, मुनि, ज्ञानी सबै तरेर गए :
बिना ब्रह्मज्ञानले पाप धुँदैन
साधुको सेवाले चाँडै तरौला
दयाधर्म छाडिदिया नर्कमा परौला
ब्रह्मज्ञान तत्त्व सुष्ममा रह्याको
ब्रह्म आदि रिषि मुनि सब तरि गयाको (उल, श्लोक, पृ.४-५)
ईश्वरको वासस्थान
गुरु कृपाले ईश्वरको अनुभूति आफैंभित्र हुन्छ । ईश्वरलाई शरीरभन्दा बाहिर कहीं खोज्न जानु पर्दैन, शरीरमा गरिने योग र साधनाबाट यसको प्राप्ति हुन्छ :
मन प्राण खैची धुनि जगाया
मुक्ति पदारथ तँहिनेर पाया (उल, श्लोक, पृ.१८)
मानिसहरू ईश्वरलाई खोज्न तीर्थतिर धाउँछन् तर उनीहरू रित्तो हात फर्किन्छन् । शरीररूपी घरमा खोज्नेहरूले त्यसको अनुभूति गर्न सक्छन् :
परम्पद भन्याको अगम अपार
कथन भनौला सुस्मनाको सार
छोटाबडा जति छन् तिर्थैमात्र धाउँछन्
घरैबसी जोगीजन तिनै लोक पाउँछन् (उल, श्लोक, पृ.२२)
किताबमा ईश्वर भेटिँदैनन् । किताब पढेर किताबी ज्ञान हुन्छ, ईश्वरको ज्ञान हुँदैन । किताब पढ्ने वा पाठ गर्ने, पाठ गराउने, प्रवचन दिने ज्ञानीहरू अनुभवका दृष्टिले रित्ता हुन्छन् र ईश्वरको प्राप्ति तिनलाई हुँदैन । ईश्वरको अनुभूति हृदयमा हुन्छ :
ज्ञानीजति जो जो छन् परैमात्र धाउँछन्
हृदयका राम वाँहाँ काँहाँ पाउँछन् (उल, श्लोक, पृ.४३)
ईश्वर अनुभवगम्य
परमात्मालाई कसैले देखेका छैनौं । उपदिषद्मा पनि ईश्वरलाई कतै समात्न सकिँदैन तर अनुभव गर्न सकिन्छ भनिएको छ । ईश्वर देखिने वस्तु नभई अनुभवगम्य वस्तु हो । ईश्वर यहीं छ भनेर बताउन सकिँदैन तर अनुभव गर्नेले जहाँसुकै देख्न सक्छ । आफ्नै हृदयका बिच पनि देख्छ :
हृदयका बिचमा परम्पद षे(खे)ल्छ
तोडि नसक्नु मायाको झेल्छ
परम्पद भनेको पाउनु छ काँहाँ
खोलनु नहुने बुझ जाँहाँ ताँहाँ (उल, श्लोक, पृ.२६)
गुरु महिमा
काम, क्रोध, लोभ आदि सबैलाई जितेका गुरु गुणका खानी हुन् । उनको संगतबाट दस इन्द्रियलाई जितेर अनहदको सूक्ष्म डोरी पाउन सकिन्छ :
श्रीगुरु भन्याका गुनका भारी
काम क्रोध लोभ सबै दिया जारी(जलाइ)
दस ओटा लकडी धुनि जगाया
अनहदको ष(ख)लाती सुस्मडोरी पाया (उल, श्लोक, पृ.१७-१८)
सुख खोज्ने भए सतगुरुलाई पुकार । उनी सबैका साझा हुन् । अलमलमा परेका शिष्यलाई गुरुले मात्रै सही बाटोमा हिँडाउन सक्छन् :
सुष्ष(सुख) षो(खो)जन्या भया सतगुरु भाष(ख)
सतगुरु भन्याका सबैका साजे
सेवा गर्न दिँदैन सधैं गाजेमाजे (उल, श्लोक, पृ.३९)
सतगुरुको कृपाबाट मैले आफैंभित्र अमृत पिएँ । मलाई गुरुको कृपा भयो । मेरा सतगुरु धन्य छन्, जसका कारण मैले आफैंभित्र अमृत प्राप्त गरें भनी ज्ञानदिल दास आफ्नो अनुभव बताउँछन् :
सतगुरु कृपाले अम्रित पियाको
 
धन्ने दया गुरुको कृपाभनी जान
अम्रितै हो भन्या निश्चय मान (उल, श्लोक, पृ.५६-५५)
मलाई गुरुको कृपा भएको छ । गुरुको कृपाबाट परम्पद प्राप्त गर्ने इच्छा जागृत हुन्छ । सतगुरु हामी सबैभन्दा उच्च छन्, ठुला छन्, उनका अगाडि हामी केटाकेटी वा अन्जान नै छौं । सतगुरुबाट यो संसार कहिल्यै खाली भएन । हरेक युगमा सतगुरु आएका छन् । उनको संगत र उनका वचनमा विश्वास गर्ने भाग्यमानीहरूले मात्रै सतगुरुरूपी हिरा प्राप्त गर्छन् :
गङ्गा र जमुना अगम अपार
चारवेद गीता वेदान्तको सार
सतगुरु स्वामी शशिधर जाँहाँ
सतको निसान् फिर्‍यो जगमाँहाँ (उल, श्लोक, पृ.८८)
गुरुकृपा नाउँछ ज्ञानदिल दास
सबैले गर्नु परम्पदको आस
सिरमा धनी छन् सतगुरु स्वामी
धनीका सामुन्ने लडिकै छौं हामी
चारैजुग शशिधरले भक्ति गरि आया
भाग्येमानी जतिले हिरारत्न पाया (उल, श्लोक, पृ.९७-९८)
चारै युगमा सतगुरुका माध्यमबाट परम्पद प्राप्त गर्न लोभ र पाप छोडी सत्यमा विश्वास गर्नु पर्छ । सत्यमा विश्वास गर्नेहरूले मात्रै सतगुरुको संगत प्राप्त गर्दछन् :
चारजुगदेषि(खि) फकिर भयाको
लोभपाप छोडि सतम रह्याको
संगत जति छन् साथमा रहन्छन्
सतगुरु स्वामी परम्पद कहिन्छन् (उल, श्लोक, पृ.९०-९१)
लालची गुरु
परमात्माका नामको कुनै मूल्य हुँदैन । चेला बनाएर पैसा लिने तल्लो स्तरका गुरु हुन् । यस्ता गुरुले सत्वगुण छोडी तमोगुण बटुल्छन् । कन्ठी धारण गराएर अनमोलका वस्तुको मूल्य तोकी परमात्माका नामको व्यापार गर्छन् । गुरुको भेष धारण गर्ने धनका लोभी व्यक्तिलाई ज्ञानदिलले लालची र लोभी गुरुका रूपमा चित्रण गरेका छन् :
सुद्र साधु जति छन् धेरै धन भन्छन्
कन्ठी धारण गर्दा पचास् रूपिञाँ गन्छन्
अमोलको चीजको मोल गर्ने कस्तो
मोल नगर्नु अमोलको चीज
बेपार गर्न्या होइन परम्पदको बीज
कन्ठी धारी धाम बनाई रुपिञाँ कमाउँछन्
सत्त्वगुण छोडी तमोगुण समाउँछन्
तमोगुण भन्याको निन्दा धेरै गर्न्या
तस्स्तैकन भन्दछन् चौरासीमा पन्र्या (उल, श्लोक, पृ.६६-६८)
हिंसाको विरोध
निमुखा गरिब पशुहरूको घात गर्नेहरू सजिलै गएर नरकमा पर्छन् । तिनलाई नरकको भासबाट कसैले बचाउन सक्दैन :
गरिप् मारा पशुघात जो कोही गर्छन्
नर्क तलाउ भासमा सहज गै पर्छन् (उल, श्लोक, पृ.११)
यसरी हिंसा गर्नेहरू प्रायः देवीका नाममा गर्छन् । हिंसा आफूले गर्छन् नाम भने देवीको राख्छन् । त्यस्ता मानिसहरू सतलोक जाँदैनन् अर्थात् तिनले धर्म होइन पाप कमाइ रहेका छन् :
देवीमाई पत्थर जो पूजि षा(खा)न्छन्
सतलोक धाममा ती काँहाँ जान्छन् (उल, श्लोक, पृ.१२)
आफूलाई ब्राह्मण, वेदपाठी भनी अहंकार गर्नेहरू नै पशुहत्या गरेर बस्छन् । उनीहरूले वेदपाठ गरे पनि संसार सागरबाट पार तर्न सक्दैनन् । पशुको बलि दिने राक्षसी कर्म हो । बलि दिएर धर्म हुँदैन । आफू शुद्ध र चोखो खान्छु भनी धोतीपाटा फेर्छन् तर भान्सामा बाख्री मारेर लैजान्छन् । यस्ता व्यक्तिको सुझबुझ हुँदैन, केवल बकवास मात्रै गर्छन् :
हिंसाहारी ब्रह्मा जो छन् षो(खो)ज गरदैनन्
चारवेद परे पनी पार तरदैनन्
छेदन्ने हिंसाहारी राक्षेसी कर्म
छेदन्ने भयो भन्या क्या रह्यो धर्म
 
ब्रह्मा हुँ भन्या ब्रह्म नचिन्या
बैलि बाख्री कता छन् ष(ख)सि षो(खो)जी किन्या
 
प्रातै उठी समाधी पसुघात पूजा
वैकुन्ठ जान लाग्या आधाबाटो कूजा
भान्सामा बाष्री(ख्री) छन् धोतीपाटा फेर्छन्
सुझ न बुझ उसै बकवात गर्छन् (उल, श्लोक, पृ.५१-५४)
ब्राह्मण र वेदपाठी नै भए पनि हिंसा गर्छ भने त्यो सुझबुझ नभएको व्यक्ति हो । उसको भनाइ उपदेश नभई बकवास हो । त्यसैले जातले होइन कर्मले मानिस शुद्ध र पवित्र हुन्छ भन्ने कुरामा ज्ञानदिलले जोड दिएको देखिन्छ ।
निष्कर्ष
नेपाली सन्तकविहरूले काव्य सौन्दर्यको वर्णन गर्ने उद्देश्य राखेका छैनन् र वर्णन पनि गरेका छैनन् । उनीहरू विशुद्ध आध्यात्मिक विषयको चिन्तन र मननमा लागेका देखिन्छन् । सन्तकाव्यको मूल दर्शन उपनिषद्मा आधारित छ । उपनिषद् दर्शनको वर्तमान समाज अनुकूलको आध्यात्मिक व्याख्या सन्तकविहरूले गरेका छन् । त्यसैले आध्यात्मिक विषय वस्तुको चित्रण गर्दा देश, समाज, प्रकृति, वातावरण र मानव सभ्यताका कुराहरू प्रसङ्गवश आएका छन् । सन्तकवि ज्ञानदिल दासले उदय लहरीमा सांसारिक विषय वासना, धन, मान प्रतिष्ठा आदिलाई तुच्छ ठानी गुरुका माध्यमबाट आफैंभित्र निर्गुण निराकार ईश्वरको अनुभूति गर्न सकिन्छ भन्ने कुरालाई बढी महत्त्व दिएका छन् । यसमा मनुष्य जन्मको उद्देश्य ईश्वरको भजन गरी परम्पद प्राप्त गर्नु हो । यो संसार नाशवान् छ । यहाँका सबै वस्तु असत्य छन् । सत्यको खोजी तीर्थ, व्रत, मूर्ति आदिमा होइन आफैंभित्र गर्नु पर्छ । पण्डितहरूले आफ्नाभित्र भएको वस्तुलाई टाढा छ भनी झुक्याइ रहेका छन् । ईश्वर बाहिरी आँखाले देखिने वस्तु नभई अनुभवगम्य वस्तु हो । यस्तो अनुभव गुरुका माध्यमबाट मात्रै सम्भव हुन्छ । गुरु पनि सबै एकनासका हुँदैनन् । संसारमा लोभी, लालची गुरुहरू पैसा लिएर चेल बनाउने अनि हिंसा गर्न प्रेरित गर्छन् ती नरकबासी हुन्छन् भन्ने जस्ता पक्षलाई लिएर उदय लहरी काव्यको रचना गरिएको निष्कर्ष निकाल्न सकिन्छ ।
सन्दर्भसामग्री सूची
उपाध्याय, काशीनाथ (सन् २०१०). सन्त दरिया (बिहार वाले). (छैटौं संस्करण). जे.सी.सेठी, सेक्रेटरी राधास्वामी सत्संग व्यास ।
गोयन्दका, हरिकृष्ण दास (२०६८). ईशादि नौ उपनिषद्. (तिसौं संस्करण). गीता प्रेस ।
पाण्डे, मथुरादत्त (सन् १९७०). नेपाली और हिन्दी भक्ति काव्य का तुलनात्मक अध्ययन. भारतीय ग्रन्थ निकेतन ।
भण्डारी, गोपालप्रसाद (२०५३). प्राग् भानुभक्तीय नेपाली काव्य, नेपाल राजकीय प्रज्ञाप्रतिष्ठान ।
लामिछाने, माधवप्रसाद (२०६२). प्राथमिक कालीन नेपाली भक्ति काव्यको अध्ययन. विश्व शान्ति, प्रज्ञा तथा बाल विकास समाज ।
शर्मा, गोपीकृष्ण (२०५६). संस्कृत साहित्यको रूपरेखा. अभिनव प्रकाशन ।
शर्मा, जनकलाल (२०५२). जोसमनी सन्तपरम्परा र साहित्य. साझा प्रकाशन।
शर्मा, मोहनराज (२०६०). ‘प्राथमिक कालको नेपाली पद्य’, नेपाली साहित्यको इतिहास (प्रथम खण्ड). (सम्पा.) चूडामणि बन्धु. नेपाल राजकीय प्रज्ञाप्रतिष्ठान ।
शर्मा, मोहनराज र दयाराम श्रेष्ठ (२०६१). नेपाली साहित्यको सङ्क्षिप्त इतिहास. (सातौं संस्करण). साझा प्रकाशन ।

(साभार : हैमप्रभा अङ्क १५, जनता विद्यापीठ, बिजौरी दाङ, २०७३, (पृ.५५-६५) बाट ।)

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top