(सारसङ्क्षेप : ‘आयाम’ कथाको सांस्कृतिक चेतनाका दृष्टिले समीक्षा गरी यो लेख तयार पारिएको हो। यस लेखमा ‘आयाम’ कथामा पाइने सांस्कृतिक चेतनाको खोजी गर्ने उद्देश्य र यस कथामा सांस्कृतिक चेतना के कस्तो छ? भन्ने समस्यालाई आधार बनाइएको छ। यस लेखमा सांस्कृतिक चेतनाका आधारमा कृतिमा प्राप्त तथ्यको अध्ययन गरेर निष्कर्ष निकालिएको छ। यसमा विधवा नारीका समस्याको वर्णन गरिएको छ। यसमा सांस्कृतिक परिवर्तनको विचारलाई स्थान दिइएको छ। गुणात्मक ढाँचामा संरचित यस लेखमा सोद्देश्यमूलक नमुना छनोट विधि र कृतिबाट तथ्य सङ्कलन गरिएको छ। यसमा विवाहसम्बन्धी संस्कारलाई सैद्धान्तिक अवधारणा बनाइएको छ। मूलतः साहित्य समाज र संस्कृतिका विभिन्न पक्षमा केन्द्रित हुन्छ। यस कथामा सामाजिक तथा सांस्कृतिक समस्यालाई उठान गरी त्यसको समाधान दिइएको छ। त्यसैले यसमा विवाहसम्बन्धी सांस्कृतिक चेतनालाई विश्लेषणको आधार बनाइएको छ। 'आयाम' कथामा सांस्कृतिक चेतनाअन्तर्गत याङ्जी, शन्तमाया, आमा, सुरज र सानु तामाङको सांस्कृतिक चेतनालाई विश्लेषण गर्दा उनीहरूको चेतना परम्पराभन्दा भिन्न देखिएको छ। उनीहरू विधवा र विधुरका समस्यालाई बुझ्ने र परम्परागत संस्कृतिमा भएका मानवीय संवेदना, भावना र कुण्ठालाई दबाउने प्रकृतिका संस्कारलाई परिवर्तन गर्नुपर्छ भन्ने पक्षमा खुलेर लागेका देखाइएको छ। नेपाली समाजमा विधवा विवाह स्वीकार्य विषय नबनिसकेको अवस्थामा याङ्जी, आमा र शन्तमाया जस्तै सुरज पनि यसका पक्षमा देखिन्छ। चेतना व्यवहारबाट सिद्ध हुने भएकाले आयाम कथाका पात्रमा देखिएको परिवर्तनकारी व्यवहार सांस्कृतिक चेतनाकै प्रतिफल हो। यसबाट विधवा नारीका २५, ३० र ४९ उमेर समूहका भिन्न समस्या, भोगाइ, विधवाका जीवनका छटपटीलाई चित्रण गरी परम्परागत सामाजिक तथा सांस्कृतिक मान्यताभन्दा भिन्न चेतनाको प्रयोग ‘आयाम’ कथामा गरिएको निष्कर्ष निकालिएको छ।
शब्दकुञ्जी : त्रिआयाम, विधवा, विधुर, विवाह, संस्कृति।
विषय परिच
नेपाली समाजमा विधुर विवाह हुन्छ। त्यसलाई समाजले सहज ढङ्गले स्विकार्छ तर विधवा विवाहलाई त्यति सहजताका साथ स्विकारिँदैन। विधवाको पुनर्विवाह नेपाली समाजमा पाच्य देखिँदैन। नेपाली साहित्यमा विधवा विवाहका पक्षमा कलम चलाएर विधवा विवाह सहज स्वीकार्य विषय बनाउने काम 'आयाम' कथामा गरिएको छ। यस कथाको रचना कथाकार बिना थिङ तामाङबाट भएको हो। उनको 'आयाम' कथामा विधवा नारीका पीडा, व्यथा, एक्लोपना, निस्सारता जस्ता पक्षको चित्रण गरेर विधवा विवाहका पक्षमा वकालत गरिएको पाइन्छ। उनले 'आयाम' कथामा विधवा नारीलाई गुराँसका थुप्रै प्रजातिहरूमध्ये सेतो फूल फुल्ने गुराँस वा चिमालसँग विधवा नारीका जीवनलाई तुलना गरेकी छन्। 'आयाम' कथामा घर, बजार, चोक, कार्यालय कक्षा, घरको बैठक कक्ष जस्ता ठाउँमा देखिने सुन्दर सजावटका कुराहरू पनि विधवाका जीवनमा रङ उडेका वस्तु जस्ता देखिन्छन्। सानै उमेर पति गुमाएर एकल जीवन बिताउन विवश महिलाहरूका कारुणिक र मार्मिक भोगाइ, असुरक्षित जीवन र नारी समस्या तथा तिनको मनोविज्ञान, एकल महिलाप्रति अबलम्वन गरिनुपर्ने प्रगतिशील दृष्टिकोणलाई कथामा स्थान दिइएको छ । यसमा नारी समस्यालाई उजागर गरेर एकल महिलाले निरस जीवन बिताउन बाध्य हुनुपर्ने यथार्थलाई मार्मिक ढङ्गले उजागर गरिएको छ । विधवा विवाहका पक्षमा वकालत गरेर त्यसलाई समाजले मान्यता प्रदान गर्नुपर्ने धारणा यसमा राखिएको छ । नेपाली समाजमा लैङ्गिक विभेद छ । विधुर विवाह सहजै स्विकार्ने समाजले विधवा विवाहलाई स्वीकार नगरेका अवस्थामा विधवा नारीप्रतिको यस दृष्टिकोणमा परिवर्तन आउनुपर्ने कुरालाई यस कथाले जोडदार रूपमा उठान गरेको छ।
सनातन परम्परामा विधवा विवाहसम्बन्धी धारणा नेपाल र भारतमा समान देखिन्छ। विधवा विवाहप्रति वर्तमान समाज केही हदसम्म उदार पनि हुन थालेको देखिन्छ। यस्ता कुरालाई परिवर्तित समाजका मानिसहरूले सकारात्मक रूपमा पनि लिन थालेको देखिन्छ। यसबाट सामाजिक परिवर्तन र लैङ्गिक समानता कायम गर्न सघाउ पुगेको देखिन्छ। सामाजिक परिवर्तनका केही उदाहरणहरू निम्नलिखित समाचारबाट बुझ्न सकिन्छ :
हास्य कलाकार हरिवंश आचार्यले छोराहरू, दिदी र परिवारका अन्य सदस्यको अनुरोधमा आफ्नी पत्नी मीरा आचार्यको निधन भएको डेढवर्षपछि बुटवलकी रमिला पाठकसँग बिहे गरे। रमिला पाठकका श्रीमान्को पनि निधन भइसकेको छ। यो २०६९ सालको खबर हो। भारतको तमिलनाडुको कल्लाकुरिचीको प्राङ्गमपटु पञ्चायतका भास्कर र उनका भाइ विवेकका बुबाको सन् २००९ मा निधन भयो । उनकी आमाले लालनपालन गरेर छोराहरूलाई हुकाई पढाइ लेखाइ गराइन् । उनीहरू जवान भएपछि उनीहरूले आफ्नी विधवा आमा पल्लवी सेल्वीको खेती मजुदुरी गर्ने विधुर येटुमसँग दोस्रो विवाह गराएका छन् । नेपाली महिला रविना देशराज श्रेष्ठको विवाह उनका दुई छोराको सक्रियतामा बेलायती नागरिक एलेकजेन्डर च्याम्पम्यानसँग भएको समाचार छ।
यी सामाजिक परिवर्तनका केही उदाहरण हुन् । 'आयाम' कथामा पनि यही विषयवस्तु उठान गरिएको छ । 'आयाम' कथाको विभिन्न दृष्टिले समीक्षा गर्न सकिन्छ तर प्रस्तुत अध्ययनमा यस कथामा पाइने सांस्कृतिक चेतनाको खोजी गर्नुलाई प्रमुख उद्देश्य बनाइएको छ । यस उद्देश्यलाई प्राप्त गर्न 'आयाम' कथामा सांस्कृतिक चेतना के कस्तो छ ? भन्ने कुरालाई प्रमुख समस्याका रूपमा लिइएको छ । यसमा कथाका विधागत तत्त्वहरू पहिल्याउनतिर नगई यसको कथानकको विकासप्रक्रिया, चरित्र र तिनका विभिन्न आयामहरूमा विकसित सांस्कृतिक चेतना पहिल्याउने काम गर्नु यसको सीमा रहेको छ।
अध्ययन विधि
यस अध्ययनमा निम्नानुसारको अध्ययनविधि अवलम्बन गरिएको छ :
अध्ययनको ढाँचा : यो गुणात्मक ढाँचाको अध्ययन हो। यसमा कृतिमा प्राप्त तथ्यको विश्लेषण गरी निष्कर्ष निकालिए छ।
सहभागी र नमुना छनोट : नेपाली साहित्यमा विभिन्न विधाहरू छन्। ती सबै विधाहरूलाई प्रस्तुत अध्ययनमा सहभागीका रूपमा परिभाषित गरिएको छ । यसका लागि सम्भावनारहित नमुना छनोट पद्धतिअन्तर्गतको उद्देश्यमूलक नमुना छनोटपद्धतिका आधारमा नेपालीका विभिन्न कथामध्ये बिना थिङले लेखेको ‘आयाम’ कथा छनोट गरिएको छ।
तथ्य सङ्कलन : प्रस्तुत अध्ययनमा ‘आयाम’ कथा र सांस्कृतिक चेतनासँग सम्बन्धित विभिन्न कृति र लेखहरूलाई आधार बनाएर तथ्य सङ्कलन गरिएको छ।
तथ्य सङ्कलनका साधन : यस अध्ययनमा प्राथमिक स्रोतका रूपमा आयाम कथा र दितीयक स्रोतका रूपमा विवाह, विधवा विवाह र त्यससँग सम्बन्धित विभिन्न प्रकाशित पुस्तक र पत्रिकामा प्रकाशित लेखहरूको उपयोग गरिएको छ। त्यसैले यसमा प्रकाशित दस्तावेजमा प्राप्त तथ्यको विश्लेषण गरी निष्कर्ष निकाल्ने प्रयास गरिएको छ।
तथ्य विश्लेषण प्रक्रिया : प्राप्त तथ्यको वर्णनात्मक र समीक्षात्मक अध्ययन गरिएको छ। तथ्यको पुष्टि गर्न विश्लेषणसमेत गरेर निष्कर्षमा पुग्ने काम गरिएको छ।
सैद्धान्तिक पर्याधार
मूर्त वा भौतिक र अमूर्त वा अभौतिक दृष्टिले संस्कृति दुई प्रकारका हुन्छन्। यसमध्ये पहिलो संस्कृति परम्परागत स्थापित संस्कृति हो। यसलाई समयक्रममा मानव समाजले सिर्जना, निर्माण, उत्पादन वा आविस्कार गरेको भौतिक र चिन्तनगत संस्कृति निर्मित संस्कृति हो। दोस्रो आत्मिक संस्कृतिभित्र अनेक धार्मिक, जातीय वा क्षेत्रीय विश्वासका आधारमा विकसित धर्मशास्त्र, कर्मकाण्ड र अनुष्ठानलगायतका लोकाचार, सदाचार, साहित्य कला सङ्गीत र अन्य कलाकौशलहरू पनि पर्दछन् (सुवेदी, २०८०)। आत्मिक संस्कृति लामो अनुभव, चिन्तन र परीक्षणबाट बन्ने हुँदा यो लामो समयसम्म स्थिर रहन्छ । निर्मित संस्कृति भने छोटो अवधिमा बन्ने र छोटो अवधिमै हराउने क्रम जारी रहन्छ। संस्कृतिमा "एक जटिल ज्ञान, विश्वास, कला, आचार, कानुन, प्रथा तथा यस्तै अन्य क्षमता र आदतहरू समाविष्ट हुन्छन् र मान्छेले यसलाई समाजको सदस्य हुनुका नाताले प्राप्त गर्दछ" (टाइलर, सन् १८७४, पृ.१)। संस्कृति पूर्णतः सामाजिक सिकाइ, लामो परम्परा र अनुभवमा आधारित हुन्छ। यसको चरित्र पुरै सामूहिक हुन्छ। यसको प्रयोग सङ्गठित र व्यवस्थित रूपमा गरिन्छ। संस्कृतिमा एक पिँढीबाट अर्को पिँढीमा हस्तान्तरण हुने गुण हुने हुँदा यसको सहजै संरक्षण हुन्छ। नेपाली समाजमा यी दुवै प्रकारका अनेकौँ संस्कृतिहरू प्रचलित छन्।
मनुस्मृतिमा आर्य संस्कृतिका सोह्रओटा संस्कार बताइएका छन्, ती हुन् : १. गर्भाधान, पुंसवन, सिमन्तोनयन, जातकर्म, नामकरण, अन्नप्राशन, चुडाकर्म, विद्यारम्भ, भूतसंस्कार, कर्णवेध, यज्ञोपवीत, वेदरम्भ, केशान्त, अभिसरण, विवाह र अन्त्येष्टि। यीमध्ये विवाह सामाजिक व्यवस्थासँगै संस्कृति पनि हो। यो मूर्त संस्कृति हो तर यसका कतिपय प्रावधानहरू अमूर्त संस्कृतिसँग पनि जोडिएका छन् । वैदिक कालमा यी सबै प्रथा प्रचलित थिए । समयको परिवर्तनसँगै तिनीहरूको स्वरूप परिवर्तन हुँदै गएको देखिन्छ । "वैदिक कालभन्दा पहिले हाम्रो समाज सङ्गठित थिएन, त्यस समयमा अव्यवस्थित यौन आचरण थियो । यस विकारको अन्त्य गर्न ऋषिमुनिहरूले विवाह समारोहको स्थापना गरेर समाजलाई व्यवस्थित र शासन गर्ने प्रयास गरे । आज हाम्रो समाज सभ्य र सुसंस्कृत भएको उनीहरूको प्रयासको फल हो" (सनातन धर्मका संस्कार, विकिपिडिया, सन् २०२४, जनवरी-८)। विवाह जसरी भए पनि त्यसको लक्ष्य सुख र सन्तोषपूर्ण जीवन अनि स्वस्थ सन्तानोत्पादन हो । जङ्गली अवस्थाबाट घर व्यवहारमा आएपछि मान्छेले आफ्ना पाशविक व्यवहारमा परिमार्जन गर्दै लगेको हो । एउटै केटीमा धेरै जना केटाको तानातान वा एउटै केटामा धेरै जना केटीको आशक्ति रहनाले समाज विकृत हुने देखियो । त्यसैले समाजलाई अराजक हुनबाट जोगाउन निश्चित पुरुष र स्त्रीका लागि निश्चित पुरुष र स्त्री तोक्नुपर्ने आवश्यकता पर्यो । यसरी तोक्ने कार्य नै पछि गएर एउटा संस्कारमा परिणत भयो र त्यसैलाई नै 'विवाह' भनियो । यसरी विकसित बन्न पुगेको विवाह संस्कारले निजी लोग्ने र निजी स्वास्नीको अवधारणा ल्यायो र समाजलाई विकृत हुनबाट जोगायो । सिद्धान्ततः विवाह यही रूपमा विकसित भयो । विवाहको प्रकृति यही हो, जसले यौनको अत्यावश्यकतालाई स्विकारेको पाइन्छ। यसलाई व्यवस्थित गर्नका लागि भने अनेक प्रचनल र परम्पराहरू विकसित बन्न पुगे। यस्ता परम्पराहरू जाति, धर्म, क्षेत्र, स्थानअनुसार पनि फरक फरक ढङ्गले विकसित बन्न पुगेका छन्।
विवाह प्राचीन कालदेखि नै पुरुष र महिला दुवैका लागि सबैभन्दा महत्त्वपूर्ण संस्कारका रूपमा प्रचलित थियो । पहिले यो संस्कार जीवनका पच्चिस वर्ष ब्रह्मचर्य व्रत पालन गरेपछि गरिन्थ्यो । प्राचीन वैदिक सनातन धर्ममा भने विवाहलाई एउटा संस्कारका रूपमा लिने गरिएको पाइन्छ । सबै संस्कारलाई सोह्रओटा संस्कारभित्र समेटी विवाहलाई पनि स्थान दिइएको छ । संस्कारको अर्थ परिष्कार गर्नु हो । वैदिक मन्त्रको प्रयोग गरी शुद्ध, संयमित र शक्तिशाली बनाइने हुनाले विवाहलाई पनि संस्कार भनिएको हो । अध्ययन सकेपछि आफूभन्दा अघिल्लो पुस्ता र आफूभन्दा पछिल्लो पुस्ताको पुलको भूमिका कसरी निर्वाह गर्ने भन्ने कुरा विवाह संस्कारले सिकाउँछ । नेपालमा आआफ्ना धर्म, जात र भूगोलअनुसार विवाहका विधि पनि फरक फरक हुन्छन् । सनतन परम्परामा ब्रह्मा, दैव, आर्ष, प्रजापत्य, असुर, गन्धर्व, राक्षस र पैसाच गरी आठ प्रकारका विवाह छन् । यिनको सङ्क्षिप्त परिचय निम्नानुसार उल्लेख गरिएको पाइन्छ :
१. विद्वान् र सदाचारी युवकलाई आदरपूर्वक निमन्त्रणा गरी आफ्नी कन्याको वरको रूपमा स्विकार्दै वस्त्र र आभूषणले सिँगारिएकी कन्या ससम्मान समर्पित गर्नु ब्राह्म विवाह हो। मागी विवाह भनिने नेपालीको विवाह विधि यसै विधिअन्तर्गत पर्दछ।
२. यज्ञ गर्दा उपस्थित भएका मध्ये असल ऋत्विज्लाई वस्त्राभूषणले सिँगारेर आफ्नी कन्या दिने विधिलाई दैव विवाह भनिन्छ।
३. वरपक्षसँग एउटा वा दुईटा गाई वा गोरु लिएर विधिअनुसार आफ्नी कन्या प्रदान गर्नुलाई आर्ष विवाह भनिन्छ।
४. कन्यादान गर्दा "तिमीहरू दुवैले सँगै रही मिलेर धर्मानुसार आचरण गर्नु" भनी सत्कारपूर्वक कन्यादान गर्ने विधिलाई प्राजापत्य विवाह भनिन्छ।
५. कन्याले वा कन्यापक्षले वरसँग तिनको गच्छेअनुसार धन लिई कन्या प्रदान गरी गरिने विवाह आसुर विवाह हो।
६. केटाकेटीले एकआपसमा स्वेच्छाले कामाशक्ति र वासनाप्रधान प्रेम सम्बन्ध गाँसी गर्ने विवाह गान्धर्व विवाह हो। यसलाई आधुनिक भाषामा लभ म्यारिज भनिन्छ र विश्वभर अहिले चलेको वैवाहिक विधि यही नै हो। नेपालमा भने ब्राह्म र गान्धर्व विवाह विधिको सम्मिश्रण गरी विवाह हुने चलन चलेको छ। यसलाई लभ म्यारिज भनिए पनि विवाह गर्दा मागी विवाहका विधि अपनाउने गर्दछन्।
७. संरक्षकलाई मारेर, हातगोडामा चोट पुर्याएर, वासस्थान आदि नष्ट गरेर रुँदै गाली गरिरहेकी कन्यालाई हरण गरी आफ्नो अधिकारमा लिनु राक्षस विधि हो।
८. निदाइरहेकी, अर्धमूर्छित वा अर्धनिद्रामा परेकी कन्यालाई जवर्जस्ती गरी बाध्य पारेर विवाह गर्नु अत्यन्त अधम पैशाच विधि हो।
माथिका सुरुका चार विधिलाई उत्तम र पछिल्ला चार विधिलाई निन्दनीय बताइएको छ (विवाह संस्कार, २०८०, माघ-१)। यी विवाहका प्रकारममा विधवा विवाह वा विधुर विवाहबारे कतै पनि उल्लेख गरिएको पाइँदैन। यीबाहेक नेपाली समाजमा पनि केही विवाह विधि प्रचलनमा रहेका छन्, तिनको यसप्रकार उल्लेख गरिएको पाइन्छ :
१. कानुनी विवाह : विवाहको कानुनी विधिलाई कानुनी विवाह वा कोट म्यारिज भनिन्छ।
२. सगोत्र विवाह : समान गोत्रका वरवधुका बिचमा हुने विवाह सगोत्र विवाह हो।
३. अनमेल विवाह : उमेरमा बढी फरक पारेर गरिएको विवाहलाई प्रायः अनमेल विवाह भनिन्छ।
४. अन्तर्जातीय विवाह : फरक जातका युवायुवतीका बिचमा हुने बिहेलाई अन्तर्जातीय विवाह भनिन्छ।
५. अवैध विवाह : उमेर नपुगी वा कानुन मिचेर गरिएको विवाह अवैध विवाह हो।
६. टामटुमे विवाह : परिचितहरूदेखि टाढा गएर वा थोरै खर्चमा गरिने विवाह, टामेटुमे विवाहभित्र पर्छ।
७. दुईचम्के विवाह : सट्टापट्टा गरेर गरिने विवाह; छोरीबेटी साटासाट गरेर गरिने विवाह दुईचम्के विवाह हो।
८. पुनर्विवाह : एक पटक विवाह भइसकेका स्त्री वा पुरुषको वैवाहिक सम्बन्धबाट अलग भई फेरि विवाह गर्ने विवाह पुनर्विवाह हो।
९. बहुविवाह : एक पुरुषले दुई वा दुईभन्दा बढी स्त्री वा एक स्त्रीले दुई वा दुईभन्दा बढी पुरुषसँग बिहे गरी सबै जीवित रहेको अवस्थालाई बहुविवाह भनिन्छ।
१०. बालविवाह : केटा र केटीको उमेर नपुग्दै गरिने गैरकानुनी बिहेलाई बालविवाह भनिन्छ।
११. बेलविवाह : कुण्डली आदिमा भएको वैधव्य दोषको निवारण आदिका निम्ति नेवार जातिका स्त्रीहरूको सानै उमेरमा बेलसँग गरिने परम्परागत विवाह बेलविवाह हो।
यसबाहेक कर्म विशेषका आधारमा गरिने भागी बिहे, मागी बिहे, चोरी बिहे, जारी बिहे जस्ता शब्द पनि प्रचलनमा रहेका छन् (विवाह संस्कार, २०८०, माघ-१)। यी अनेक प्रकारका विवाह व्यवस्थामध्ये माथि आठौँ नम्बरमा उल्लिखित विवाहले विधवा विवाहलाई बुझाउन खोजे पनि त्यो त्यति स्पष्ट छैन । त्यसैले सनातन परम्परामा अनेकौँ प्रकारका विवाहसम्बन्धी व्यवस्थाहरू भए पनि विधवा विवाहका बारेमा सैद्धान्तिक रूपमा कतै उल्लेख भएको पाइँदैन।
धर्मशास्त्रले सामान्यतया धर्म प्राप्ति पुत्र प्राप्ति र रतिसुखलाई विवाहको उद्देश्य बनाएको पाइन्छ। ब्रह्मचर्याश्रमको समाप्तिपछि गृहस्थानमा प्रवेश गर्ने द्वारका रूपमा विवाहलाई लिइन्छ। जीवनमा रतिसुख अति आवश्यक कुरा हुँदा त्यसलाई विधिवत गर्न विवाह आवश्यक परेको हो भने सन्तान प्राप्ति विवाहको अर्को महत्त्वपूर्ण उद्देश्य हो। कसैले विवाह नगर्ने र सन्तानोत्पादन नगर्ने हो भने यो संसार क्रमशः मानवरहित बन्न जाला भनेर अग्रजहरूले सन्तान प्राप्तिलाई धार्मिक उपलब्धि मानेका हुन्। यदि कसैको विवाह भयो तर सन्तान नहुँदै विधवा वा विधुर भएपछि के गर्ने भन्नेबारे शास्रमा व्यवस्था छ तर त्यो त्यति प्रचलनमा आउन सकेन। विधुर र विधवाका पनि यौनेच्छा अधुरा हुन सक्छन्। उनीहरूलाई पनि धार्मिक कृत्य गर्नुपर्छ। यदि त्यसो हो भने विधुर विवाहलाई समाजले स्वीकार गर्यो तर विधवा विवाहलाई पनि स्वीकार गर्नुपर्ने देखिन्छ।
विवाह भएका दम्पत्तीमध्ये एकको मृत्यु भएपछि तिनीहरूलाई नयाँ शब्दले सम्बोधन गरिन्छ। पतिको मृत्यु भएकी महिलालाई विधवा भनिन्छ । पत्नीको मृत्यु भएको पुरुषलाई विधुर भनिन्छ । सनातन परम्परामा पाइने सोह्रओटा संस्कारमध्ये विवाह संस्कारलाई सबै धर्मले सम्मान गर्ने पवित्र संस्कार हो, यसमा केटा र केटी विवाह बन्धनमा बाँधिन्छन् । नेपाली समाज सहिष्णुतामूलक समाज हो तर विधुरका तुलनामा विधवाप्रति समाजको असहिष्णु व्यवहार देखिन्छ । विधवा भएपछि महिलाहरूले धेरै फरक प्रतिक्रिया समाजबाट पाउने र प्राय: उनीहरूको आफ्नो जीवनशैली परिवर्तन हुने गर्दछ । विधवाहरूले पोसाक, गरगहनालगायतका कुरामा प्रतिबन्धको सामना गर्नुपरेको देखिन्छ । सामान्यतया, विधवाहरूले आफ्नो स्तनमा कसिलो गरी लुगा लगाउनु हुँदैन र सेतो मोटो सारी मात्र लगाउनुपर्छ । यी सबै प्रथाहरू अब पिछडिएका मानिन्छन् र अब धेरै सनातनीहरूले यी अभ्यासहरूका विरुद्ध सफलतापूर्वक लडेका घटनाहरू पनि पढ्न र सुन्न पाइन्छन् (विधवा विकिपिडिया, सन् २०२४)। यसबाट सामाजिक प्रथाहरूमा सुधार हुँदै गएको देख्न सकिन्छ।
प्राचीन ग्रन्थमा सेतो रङ्गलाई शुभ मानिएको छ। हाम्रा ऋषिमुनि पनि सेता लुगा लगाउँथे। पहिले पहिले दसैँको टीका पनि दही र चामल मुछेर लगाउँथे । साइत गर्दा पनि सेतै टीका लगाउँथे । पुरोहितहरूले अहिले पनि सेतो लुगा लगाउँछन् तर समय परिवर्तन हुँदै जाँदा मानिसहरूले यस रङ्गलाई माङ्गलिक कार्यमा प्रयोग गर्न छोडे । अन्य रङ्गहरू माङ्गलिक कार्यमा प्रयोग हुन थाले र बिस्तारै सेतोलाई प्रतिस्थापन गर्न थाले । मृत्यु चाहिँ अमङ्गलको सूचक हो त्यसैले मृत्युसंस्कारमा सेतोको प्रयोग रहिरह्यो । महिलाप्रतिको विभेदकारी नीतिनियमका कारण महिलाले चाहिँ विधवा भएमा जीवनपर्यन्त सेतो वस्त्र लगाउनुपर्ने, पुरुषले चाहिँ विधुर भएमा जस्तो लुगा लगाए पनि हुने चलन चलाइयो।
सेतो वस्त्र लगाउनुका पछाडि केही कारणहरू छन्। खासमा सेतो रङ्ग भनेको अन्य रङ्गहरूको अनुपस्थिति हो। आफ्ना आमाबुबाको घर छोडेर पतिको घर जाने महिलाका लागि पति महत्त्वपूर्ण व्यक्ति हो। त्यही पतिको मृत्युका कारण जीवन रङ्गहीन भएको अनुभव गर्ने महिलाले सेतो लुगा लगाउने गरेको पाइन्छ। सेतो सारी लगाउने महिलाको फरक पहिचान बन्छ । सबै जना उनीप्रति समवेदना राख्न थाल्छन् । यस मनोवैज्ञानिक प्रभावका कारण उनले सामाजिक सुरक्षा पनि पाउँछिन् । सेतो कपडाले मन शान्त र सात्त्विक बनाउँछ यसका विपरीत रङ्गीचङ्गी कपडाले भौतिक मोह देखाउँछ (एजेन्सी, २०७५, कात्तिक-७) । सांसारिक वासनाबाट मुक्त हुन चाहने विधवाका लागि यो कुरा महत्त्वपूर्ण भए पनि भर्खरको उमेरमा विधवा भएका र इच्छा र चाहना हुँदाहुँदै पुनर्विवाह र पहिरनमा बन्देज लगाउँदा मानसिक समस्या उत्पन्न हुन सक्ने देखिन्छ । विधवाले सेतो पहिरन लगाउने ६ ओटा कारणहरू जोशी (२०२४) ले उल्लेख गरेका छन्, तिनमा सेतो पहिरनका कारणहरूलाई हेर्दा यसले सादा, सफा र जीवनमा कुनै रङ्ग छैन भन्ने कुराको सङ्केत गर्न सेतो पहिरनलाई जोड दिइन्छ । अरू नारीभन्दा फरक देखिएर सामाजिक सुरक्षाको घेरामा बस्न मद्दत मिल्छ । सेतो रङले आत्मविश्वास दिलाउँछ । जटिल समस्यासँग सजिलै पार पाउन र मनलाई भगवान्मा लगाउन मद्दत मिल्छ । यसबाट मन शान्त र पवित्र हुन्छ । मन विचलित नहोस्, भौतिक सुखमा मोह नजाओस्, पतिप्रतिको मोह भङ्ग होओस् । ईश्वरलाई नै पति मानेर सांसारिक मोह र मायाबाट टाढा रहन मद्दत मिलोस् । सन्तान जन्मिएपछि पतिको मृत्यु भएमा पुनर्विवाह नगर्दा सन्तानका जीवनमा प्रतिकूल असर पर्दैन । सन्तानमा नैतिकता, जिम्मेवारी तथा आफ्ना बुबाप्रति करुणाको भावना पनि पलाउँछ । यसलाई इमानदार प्रयास मानिन्छ । यिनै कारणले विधवा महिलालाई सेतो पहिरन लगाउन जोड दिइन्छ (जोशी, सन् २०२४) । श्रीमान्को मृत्यु भएपछि सेतो पहिरन पहिरिनुपर्छ । कुनै प्रकारका गरगहन, सौभाग्यका सामग्री प्रयोग गर्नु हुँदैन । एक वर्षपछि रङ परिवर्तन गरेर हलुका रङको प्रयोग गर्न मिल्छ (जोशी, सन् २०२४) भन्ने सामाजिक मान्यताले विधवाप्रति विधुरका तुलनामा विभेद भएको पुष्टि गर्दछ।
सनातन परम्परामा विधवाको सम्बन्ध विच्छेद र पुनर्विवाहको कुनै प्रावधान छैन । त्यसैले विवाहलाई निकै महत्त्व दिइएको छ (जोशी, सन् २०२४)। विधुरको पुनर्विवाह हुने तर विधवाको पुनर्विवाह समाजलाई अपाच्य हुने देखियो तर वेदमा विधवा स्त्रीलाई पुनर्विवाहको छुट रहेको आशय व्यक्त गरिएको पाइन्छ :
उदी॑र्ष्व नार्य॒भि जी॑वलो॒कं ग॒तासु॑मे॒तमुप॑ शेष॒ एहि॑।
ह॒स्त॒ग्रा॒भस्य॑ दिधि॒षोस्तवे॒दं पत्यु॑र्जनि॒त्वम॒भि सं ब॑भूथ॥ (ऋग्वेद, मण्डल- १०, सूक्त-१८, मन्त्र-८) ।
(नारी) हे विधवा नारी ! तिमी (एतं गतासुम्) यो मृतकलाई छोडेर (जीवलोकम्-अभ्येहि) जिउँदो पतिलाई प्राप्त गर (हस्तग्राभस्य दिधिषोः पत्युः-तव-इदं जनित्वम्-उदीर्ष्व) विवाहमा जसले तिम्रो हात समातेको थियो त्यस पतिका तर्फबाट आफ्ना सन्तानलाई जन्म देऊ (अभि संबभूथ) तिमी यसरी सुखसम्पन्न होऊ । अर्थात् विधवा आफ्ना पूर्वपतिका सम्पत्ति आदिका अधिकारहरू भोग्न सक्छे अनि उसका प्रतिनिधि र आफ्ना सन्तानलाई जन्माउन सक्छे।
ब्रिटिस शासनको अधीनमा रहेको भारतमा ब्रिटिस शासकबाट हिन्दु विधवा पुनर्विवाह ऐन १८५६ जारी भएपछि सनातन परम्परामा प्रचलित पहिलेको विवाह प्रथामा देखिएका सबै बाधा, घृणा आदिको अन्त्य गरी नयाँ विधिको जन्म भएको थियो । यो ऐन विवाह गर्न इच्छुक विधवाहरूका लागि सबैभन्दा ठुलो सुधार थियो । यस ऐनमा ल्याइएका ठुला सुधारहरू यसप्रकार छन् : "१. महिलाको श्रीमान्को मृत्यु भएमा उसले पुनः विवाह गर्न पाउँछे । २. यो विवाहमा उनका आफन्त अर्थात् आमाबुबाले दाजु, हजुरबुबा, हजुरआमा आदि आफन्तसँग कुरा गरेपछि दोस्रो विवाह स्वीकृत गर्न सकिन्छ, उदाहरणका लागि, पुन: विवाह गर्ने महिला नाबालिग छन् । ३. विवाहमा सहमति हुनु धेरै महत्त्वपूर्ण छ । ४. जुन घरमा उनी पहिले बुहारी थिइन्, अर्थात् आफ्नो मृतक श्रीमान्को घर, पुनर्विवाह गरेपछि जुन घरमा जान्छिन्, त्यस घरमा उनको कुनै सम्पत्तिको हक रहने छैन, त्यही घरमा उसको हक मानिने छ । ५. श्रीमान्को मृत्यु भएमा सती जाने, टाउको खौरिनेलगायतका प्रक्रियाहरू गर्न पाइने छैन ।" (विधवा पुनर्विवाह ऐन, सन् १८५६) यसले सनातन परम्परामा विधवा विवाहको बाटो खोल्यो । केही जाति र जनजातिमा विधवासँग उसका देवरको विवाह भएको उल्लेख पाइन्छ (जोशी, सन् २०२४)। नेपालमा राणा प्रधानमन्त्री चन्द्रसमशेरका पालामा सतीप्रथाको अन्त्य भयो तर विधवा विवाहसम्बन्धी आजसम्म छुट्टै कानुन बन्न सकेको देखिँदैन नेपालको वर्तमान कानुनअनुसार मुलुकी देवानी (संहिता) ऐन, २०७४ को परिच्छेद एकको धारा ८३ मा निम्नलिखित प्रावधान उल्लेख गरिएको छ :
पुनः विवाह गर्न सक्नेः यस परिच्छेदमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि देहायका कुनै अवस्थामा पुरुष वा महिलाले पुनः विवाह गर्न सक्ने छ : (क) दफा ८२ बमोजिम पतिपत्नीबिच वैवाहिक सम्बन्ध अन्त्य भएमा, (ख) पति वा पत्नीको मृत्यु भएमा, (ग) पति वा पत्नीले कानुनबमोजिम अंशबन्डा गरी भिन्न भएमा (मुलुकी देवानी (संहिता) ऐन, २०७४)।
यसले नेपालको कानुनअनुसार विधवा विवाहमा प्रतिबन्ध नरहेको जनाउँछ। आजभोलि त मानिसहरूको सोचमा परिवर्तन आइसकेको छ । विधवालाई पनि समाजमा यथोचित सम्मान दिन थालिएको छ । विधवाहरू पनि रङ्गीन वस्त्र लगाउने अनि पुनर्विवाह गर्ने गरिरहेका छन् । यसबाट विधवा विवाहबारे नेपाली समाज सकारात्मक बन्दै गएको बुझ्न सकिन्छ । यस्ता संस्कृतिमा आधारित अध्ययनलाई सांस्कृतिक अध्ययन भनिन्छ । सांस्कृतिक अध्ययनमा मानवीय समाजको वर्ग, लिङ्ग, जातिका आधारमा गरिन्छ । यिनका आधारमा समाजको राजनीति, अर्थ र सामाजिक तथा सांस्कृतिक चेतनाको विकास हुन्छ । नेपाली समाजका विभिन्न वर्गमध्ये विधवाहरूको पनि एउटा वर्ग निर्धारित भएको छ । तिनीहरूले एकआपसमा सहयोग र मद्दत गरेर आफूहरू एकत्रित हुन थालेका छन् ।
विवाह संस्कार सनातन संस्कृतिको एक महत्त्वपूर्ण सामाजिक तथा धार्मिक अनुष्ठान हो, जसले भौतिक र आध्यात्मिक संस्कृति दुवैलाई समेटेको हुन्छ । वैदिक परम्परामा आठ प्रकारका विवाह उल्लेख गरिए तापनि नेपाली समाजमा विविध वैकल्पिक विवाह प्रथाहरू विकसित भएका छन् । वैदिक धर्ममा विधवा विवाहको स्पष्ट व्यवस्था नभए पनि समाजमा पुनर्विवाहलाई सामाजिक आवश्यकताका रूपमा कहिलेकाहीँ स्वीकार गरिएको पाइन्छ । विवाहको मूल उद्देश्य धर्म, सन्तान र संयमित गृहस्थ जीवनको आरम्भ हो । त्यसैले विधवा विवाह पनि आवश्यकता हो भन्ने दृष्टिकोणलाई सैद्धान्तिक पर्धाधारका रूपमा लिई 'आयाम' कथामा रहेको सांस्कृतिक चेतना खोजी गर्ने काम गरिएको छ ।
छलफल र विश्लेषण
'आयाम' कथाको संरचनापक्षका साथै यसको कथानक (आदिभाग, मध्यभाग र अन्त्यभाग) को वर्णन गरिएको छ । 'आयाम' कथाको सांस्कृतिक चेतनाअन्तर्गत याङ्जीको सांस्कृतिक चेतना, शन्तमायाको सांस्कृतिक चेतना, आमाको सांस्कृतिक चेतना, सुरजको सांस्कृतिक चेतना र सानु तामाङको सांस्कृतिक चेतना तथा 'आयाम' कथाका आयामहरू र सांस्कृतिक चेतना, सामाजिक तथा सांस्कृतिक समस्या जस्ता शीर्षक र उपशीर्षकमा छलफल गरी अन्तमा निष्कर्ष प्रस्तुत गरिएको छ ।
कथाको संरचनापक्ष
‘आयाम’ बिना थिङद्वारा लिखित कथा हो । यस कथाले डिमाइ आकारका जम्मा ९ पृष्ठ ओगटेको छ । यसमा घटनाहरूलाई वृत्ताकारीय ढाँचामा प्रस्तुत गरिएको छ । कथाभित्र कुनै खण्ड, भाग, परिच्छेद आदि केही राखिएको छैन। यो मझौला आकारको कथा हो ।
आयाम कथाको कथानक
'आयाम' कथामा याङ्जीले पुरै कथाको वर्णन गरेकी छ । सबै कथा उसैले भनेका आधारमा अघि बढेको छ । शन्तमाया र आमाका बारेमा र स्वयं आफ्ना बारेमा उसैले बयान गरेकी छ। यस कथाको कथानकको विकासलाई निम्नलिखित रूपमा उल्लेख गरिएको छ :
आदिभाग : म (याङ्जी) कार्यालयको झ्यालबाट बाहिरी दृश्य लोभी भएर नियाल्छु । घडीको सुईसँग आफ्नो जीवनगति मापन गर्छु तर घडीले आफूलाई प्रभावित पार्न नसकेको देख्छु। जन्म दिनको शुभकामना दिँदै आजको दिन विशेष बनाउने भनी साँझ छिट्टै आउन आमाले भनेको सम्झन्छु । ४९ वर्ष बिताएर भाग्यलाई आमन्त्रण गरिरहेकी आमाको स्वरूप सम्झन्छु । परिवारमा आमा र म गरी दुई सदस्य छौँ । हामी सल्लेरी टार भन्ने ठाउँमा बस्छौँ । आमा सरकारी जागिरे म (याङ्जी) निजी कार्यालयमा काम गर्छु । भान्साको काम एक एक छाक आमाछोरी मिलेर गरे पनि करेसाबारी र बगैँचामा आमाले नै धेरै काम गर्नुहुन्छ । जिउ जस्तै आमाको मन पनि नरम र कोमल छ । आमा मेरा लागि उत्प्रेरक हुनुहुन्छ । म पहिले घरको सरसफाइ मात्रै गर्थेँ । मलाई काम गर्ने प्रेरणा आमाले नै दिनुभएको हो । स्नातक उत्तीर्ण २५ बर्से म घरवरिवार, साथीभाइ, आफन्त र स्वयम् आफैँबाट टाढिएर घरको छानामा घन्टौँ हराउने मेरो स्वभाव देखेर आमालाई टाउको दुखाइको विषय बनेको थियो । त्यसैले आमाले मलाई जागिर वा व्यवसायमा लगाउने सोच बनाउनुभएको थियो ।
मध्यभाग : एक दिन आमाले घरेलु तथा साना व्यवस्थापन कार्यालयमा कार्यालय व्यवस्थापन सहायकको पदका लागि विज्ञापन भएको पत्रिका देखाउनुभयो। त्यस कार्यालयमा कामको खोजी गर्ने मानिसहरू आएर आफ्नो काम, काम गर्ने समय इत्यादि विवरण दिन्छन्। उनीहरूलाई काम मिलाइदिएबापत कार्यालयले शुल्क लिने जानकारी दिनुभयो। त्यसका लागि दुई वर्षअघि आमाले मलाई निवेदन लेख्न भन्नुभएको थियो। निवेदन लिएर चोकको दाहिने मोडमा रहेको घरेलु तथा साना व्यवस्थापन कार्यालयमा गई प्रमुख व्यवस्थापक सुरजकुमार सरलाई भेटेकी थिएँ । मैले सुरजको अनुहारलाई कमलको अनुहारसँग मिल्दोजुल्दो ठानेकी थिएँ । त्यतिबेला करिब १५ मिनेट जति कुराकानी भयो । सुरज सञ्चालक र व्यवस्थाक दुवै भएको जानकारी पाएँ । भोलिबाट मैले (याङ्जी) पनि काम पाउने कुराको टुङ्गो लाग्यो। त्यसपछि दैनिकी बदलियो । बिहान नास्ता खाएर कार्यालय जान थालेँ । कार्यालयमा सुरज, म र कोठा खोल्ने र सरसफाइ गर्ने एक जना भाइ थियौँ । कार्यालयमा घरेलु कामदारहरू कामको खोजीमा आउँथे । उनीहरूले गर्ने कामको विवरण कम्प्युटरमा राखेर फाइल तयार गर्थेँ । सहरमा कामदारको माग बढ्न थाल्यो। घरधनीलाई कामदारको मागबारे जानकारी गराउँथेँ । एक पटक एक जना साधारण महिला कामदार आई। भोर्ले गाउँपालिका-३ की शन्तमाया तामाङ २३ वर्षको उमेरमा विधवा भएदेखि ज्यामी काम गर्थी । एक छोरा र एक छोरीकी आमा शन्तमायालाई उसैसँग ज्यामी काम गर्ने सुनमायाले सूचना दिएपछि घरेलु तथा साना व्यवस्थापन कार्यालयमा आएकी थिई । विवरण भरेको करिब एक हप्तापछि शन्तमायाले डाक्टर दम्पतीका घरमा काम पाई । डाक्टर दम्पतीले शन्तमायाको विवरण हेरेर उसलाई बोलाएका थिए। उनको घर, आगन, कौसी र भान्सा सरसफाइ र बढारकुँढार गर्न बिहान सात बजेदेखि साँझ पाँच बजेसम्म शन्तमायाले काम गर्थी । शन्तमाया पारिश्रमिक र चाडबाडको थप पारिश्रमिकबाट खुसी थिई । एक दिन शन्तमाया काम मिलाइदिने कार्यालयमा आई । उसको अनुहारमा खुसी र जिउ पुष्ट देखिन्थ्यो । कुनै दिन मेरो प्रशंसा सुरज सरले गरे जस्तै मैले पनि 'तपाईं त कति राम्री हुनुभएको' भनी प्रशंसा गरेँ । मैले त बिहा गरेँ मिस भन्दै वर्ष दिनका घटना अघिपछि पारेर आधा घण्टामा सबै सुनाई । वर्ष दिनअघि श्रीमती बितेको नुवाकोटको ४१ वर्षको सानु तामाङ डाक्टर दम्पतीकहाँ ड्राइभर थियो । उसका दुई छोरी थिए । ऊ एक वर्षअघि मात्रै विधुर भएको थियो । उसैसँग शन्तमायाले बिहे गरेर कहिले खुसी, कहिलेकाहीँ हुने खटपटले हुने पीडा, कहिले स्वादिलो छेडखानी त कहिले माया पिरतीका कुरा हुने गरेको अनुभव सुनाई ।
अन्त्यभाग : "याङ्जी आज डिनरमा जाने होइन ?" भन्ने सुरज सरको आवाज सुनेर म झसङ्ग भएँ । हाम्रो सम्बन्धबारे आमालाई जानकारी गराएकी छैनौ ? पछिल्लो दुई महिनादेखि सुरज सरले यही भनिरहनुभएको थियो । आज जसरी पनि भन्छु भन्ने विश्वास दिलाएँ । आमाले जागिर खान पठाए पनि आफू भने सुरज सरसँग प्रेममा परेकामा चिन्ता लाग्यो । रेस्टुरेन्टमा खाना खाएर अबेर घर पुगेँ । स्कुटर पार्किङ गरेर बैठक कोठामा हेर्दा आमा टिभीको रिमोट एकनासले चलाइरहनुभएको थियो । म केही नबोली आफ्नो कोठामा पसेर लुगा फेरी बैठक कोठामा आउँदा पनि आमाको उही क्रिया गरिरहनुभएको थियो । आमा रिसाउनुभयो । मैले तिम्रो जन्म दिन मनाउन यहाँ कति परिकार पकाएर पर्खिएँ तिमी भने बाहिरै अबेर गर्ने भन्नुभयो । आमा साथीहरूले बाहिरै खान अनुरोध गरेकाले अबेर भएको बताएँ । आमाले टिभी बन्द गरेर रुन थाल्नुभयो । त्यसपछि "आमा मैले हजुरसँग धेरै दिनदेखि झुटो बोलेकी छु । वास्तवमा म कसैसँगको प्रेममा छु। ऊ मसँग बिहे गर्न चाहन्छ ।" यति कुरा एकै सासमा भनेँ । कोठामा आमा र म धेरै बेर सुक्कसुक्क गरेपछि मेरो चिउँडो उठाएर भित्तामा टाँसिएको कमलको तस्बिर देखाउँदै कमल बाँचेको भए तिमी मेरी बुहारी हुन्थ्यौ । अहिले छोरी भएर बाँचेकी छौ भन्नुभयो । एक्लै बाँच्न कति गारो हुन्छ त्यो मैले बिताएका १९ वर्षबाट भोगेकी छु भन्नुभयो । म तिम्रो भावना बुझ्छु तर त्यसका लागि एउटा सर्त छ भन्दै निकै बेर मेरो कपाल मायालु पारामा मुसार्नुभयो । कमल कार्यालयबाट फर्किँदै गर्दा मोटर साइकल दुर्घटनामा परेर मेरो जीवनबाट अलग भएको घटनाले म अप्रत्याशित रूपमा अवाक् भएँ । कमलसँग बिताएको छोटो जीवनबाट मैले प्रशस्त माया र प्रेम पाए पनि उसको अभावले मलाई विचलित बनाएको थियो । कमलको अनुपस्थितिले मलाई बाँच्न असह्य भएको थियो । निकै दिनपछि सुरजमा कमलको प्रतिछाया फेला पारेपछि फेरि बाँच्ने आशा पलाएको थियो । बिहे गर्ने भए एउटा सर्त मान्नुपर्छ भनी आमाले भन्नुभयो । मैले आमाका सबै सर्त मान्छु भनेँ । आमाले आँखा रसिला पार्दै तिमी दुई जनाले मलाई छोडेर यो बुढेस कालमा कहीँ जान पाउँदैनौ । बिहे गरी यहीँ बस्नुपर्छ भन्नुभयो। म अत्यन्तै खुसी भएर आमालाई अँगालोमा हाली प्रेमको महासागरमा डुबिरहेको अनुभूति गरेँ ।
'आयाम' कथामा सांस्कृतिक चेतना
'आयाम' कथाको कथानक याङ्जी, शन्तमाया, आमा, सुरज र सानु तामाङ पात्रका वरिपरि घुमेको छ । यसमा यी पाँचओटा पात्रको सांस्कृतिक चेतना परम्पराभन्दा भिन्न रहेको देखाइएको छ । परम्पराबाट निर्धारित सामाजिक तथा सांस्कृतिक चेतनालाई पार गरेर आफ्ना र आफ्ना वर्गका नारी पुरुषलाई सहयोग गर्छन् र नयाँ परम्परालाई स्थान दिन्छन् । यसलाई निम्नलिखित रूपमा उल्लेख गरिन्छ :
याङ्जीको सांस्कृतिक चेतना: मुख्य कथानक याङ्जीसँग सम्बन्धित रहेको छ । २३ वर्षमा विधवा भएकी कमलकी श्रीमती याङ्जी २५ औँ वर्षको जीवन व्यतीत गर्दै छे । उसका सन्तान जन्मिएका छैनन् । ऊ शिक्षित, सम्पन्न र सहरिया नारी पात्र हो । ऊ स्नातक उत्तीर्ण निजी कार्यालयमा कार्यालय सहायक व्यवस्थापक पदमा कार्यरत कामदार हो । उसको बिहे उक्त घरेलु कामदार व्यवस्थापन कार्यालयको सञ्चालक तथा प्रमुख व्यवस्थापक सुरजकुमारसँग हुने निश्चित भएको छ । याङ्जीलाई सन्तानप्रतिको दायित्व वहन गर्नुपर्ने अवस्था आइलागेको छैन । उसको जीवनमा वैधव्य भए पनि अब सुखतिर उन्मुख हुने सङ्केत देखिएको छ । ऊ सन्तान नजन्मिँदै विधवा हुने प्रतिनिधि नारी पात्र हो । यसबाट केही नारीहरू यस अवस्थामा विधवा हुन्छन् र उनका लागि पुनर्विवाह पनि केही सहज हुन्छ भन्ने देखिन्छ । विधवा हुनु प्राकृतिक घटना हो । विधवा भएपछि प्रेम गरेर विवाह गर्नु परिवर्तिन सांस्कृतिक चेतना हो । आफ्ना इच्छा र आकाङ्क्षा बाँकी रहँदै सन्तान नजन्मिँदै कमलको मृत्यु भएकाले उसमा जीवनप्रतिको अपुरो चेत देखिन्छ । ऊ परम्पराद्वारा निर्धारित संस्कृतिलाई उछिनेर पुनर्विवाहका लागि तयार भएकी छ । विवाह भए पनि श्रीमान्, सन्तान र यौनसुख नहुँदा बिहेको उद्देश्य अपुरो ठानी पुनर्विवाह गर्न प्रेम गर्छे । यस यथार्थवादी सांस्कृतिक चेतनाले उसलाई गतिशील पात्रका रूपमा उभ्याएको छ ।
शन्तमायाको सांस्कृतिक चेतना : सहायक कथानक शन्तमायासँग सम्बन्धित रहेको छ । शन्तमाया २३ वर्षमा विधवा भएर तिसौँ वर्षमा जीवन यापन गर्दै छे । उसका एक छोरा र एक छोरी गरी दुई सन्तान पनि छन् । ऊ सन्तानप्रतिको दायित्व लिएर वैधव्य जीवन व्यतीत गर्दै छे । उसको गरिबी, अशिक्षा र बेरोजगार जीवनमा घरेलु कामदारकै सिलसिलामा सानु तामाङसँग बिहे पनि हुन्छ । काम र मायाप्रेमको प्राप्तिसँग उसका जीवनमा पनि खुसी देखिएको छ । याङ्जीभन्दा बढी दायित्व र दुख लिएर जीवनलाई गुडाइरहेकी शन्तमाया त्यस्ता नारीवर्गको प्रतिनिधि पात्र हो; जसले सन्तान जन्मिसकेपछि विधवा भएर पुनर्विवाह गरेकी छ । शन्तमायाले पनि पुनर्विवाह गरेर सांस्कृतिक परिवर्तनको पक्षमा लागेकी देखिन्छे । उसको विवाह विधुरसँग भएको छ । यस अर्थमा विधवा र विधुर विवाह हुन सक्ने कुरालाई शन्तमायाको चरित्रले स्थापित गरेको छ । यो परम्पराभन्दा भिन्न परिवर्तित सांस्कृतिक चेतना हो । विवाहका लागि बनाइएका प्रावधानहरू कन्या र कुमार मात्रै हुनुपर्ने छन् । यस परम्पराले विधवा र विधुरलाई बिहेका लागि छुट दिएको छैन ।
आमाको सांस्कृतिक चेतना : दोस्रो सहायक कथानक आमा पात्रसँग सम्बन्धित रहेको छ । आमाको वैधव्य जीवनका १९ वर्ष बितेका छन् । उसको लोग्ने मात्रै बितेको होइन । एकमात्र सन्तान पनि बितेको छ । एकातिर पतिको शोक छ, पीडा छ, प्रेमहीन जीवन छ, निस्सारता छ । त्यसमाथि छोरो बितेपछि विधवा बुहारीको पीडा देखिनसक्नुभएको छ । एकातिर आफ्नो दुख, पीडा, व्यथा छ भने अर्कातिर बुहारीको वैधव्य जीवन, एक्लोपना, निराशाप्रतिको चिन्ताले सताएको छ । बुहारीलाई देखेर छोराको अनि छोराको सम्झनाले लोग्नेको सम्झना गराउने उसका साधन बनेका छन् । त्यही बुहारीले बिहे गर्ने कुरा गर्दा उसमा एक प्रकारको एक्लोपन, निराश र चिन्ताले सताउँछ । ऊ भावविभोर हुन्छे र याङ्जीलाई अँगालो हालेर विलौना गर्छे । याङ्जीलाई बुहारी होइन छोरीका रूपमा हेर्ने आमाले उसको बिहे भए पनि नछोड्ने सर्त राख्छे । बुहारीलाई छोरीका रूपमा हेर्ने, विधवा बुहारीको प्रेमलाई विवाहमा परिणत गर्न सहमत हुने, बुहारीलाई बिहेपछि आफैँसँग बस्नुपर्ने सर्त राख्ने आमा पात्रमा सांस्कृतिक चेतना परम्पराभन्दा भिन्न छ । उसको व्यवहार र सिद्धान्तले नयाँ आयाम पनि दिएको छ ।
सुरजको सांस्कृतिक चेतना : सुरजकुमार 'आयाम' कथाको प्रमुख पुरुष पात्र हो । ऊ याङ्जीको जीवनमा आएदेखि नै याङ्जीको जीवन रङ्गीन बनेको देखिन्छ । ऊ घरेलु कामदार व्यवस्थापन कार्यालयको सञ्चालक तथा प्रमुख व्यवस्थापक हो । उसको बिहे भएको छैन । ऊ कुमार नामले मात्र नभई व्यवहारले पनि छ भन्ने बुझेर याङ्जीले प्रेम गर्छे । याङ्जीले पहिलो दिन नै उसलाई कमलको अनुहार र व्यवहारसँग मिल्दोजुल्दो देख्छे । आफू कुमार भएर पनि विधवा नारीसँग प्रेम गरेर बिहे गर्न राजी हुने सुरज परम्परागत संस्कृतिभन्दा प्रगतिशील सांस्कृतिक चेतना भएको व्यक्ति हो । ऊ आफैँले आमालाई हाम्रो प्रेमको कुरा भन्न किन ढिला गरेको भनी याङ्जीलाई प्रश्न गर्छ । यस दृष्टिले सबैभन्दा परिवर्तित सांस्कृतिक चेतना भएको पात्रका रूपमा सुरजकुमारलाई लिन सकिन्छ ।
सानु तामाङको सांस्कृतिक चेतना : सानु तामाङ डाक्टर दम्पत्तीको चालक हो । ऊ विधुर पात्र हो । उसका दुई सन्तान छन् । डाक्टर दम्पत्तीकै घरमा घरेलु कामदार रहेकी शन्तमायासँग उसको बिहे हुन्छ । ऊ कथामा प्रत्यक्ष देखिँदैन तर उसले विधवा विधुर बिहेलाई स्वीकार गरेको छ । वास्तविक समाजमा पनि विधवा विधुरका बिच बिहे भएका उदाहरणहरू माथि पनि उद्धृत गरिएको छ । यो समाजले केही हदसम्म स्वीकार गरेको विषय हो । व्यापक रूपमा सबैमा लागु भने हुन सकेको देखिँदैन । त्यसैले सानु तामाङको कदम पनि परम्पराभन्दा भिन्न सांस्कृतिक चेतना नै हो ।
'आयाम' कथाका आयामहरू र सांस्कृतिक चेतना
'आयाम' शब्दको अर्थ १. फैलावट, विस्तार, २. वस्तुको लमाइ, चौडाइ, मोटाइ र गहिराइ उल्लेख गरिएको छ । 'आयाम' कथामा नेपाली नारीका २५, ३० र ४९ उमेर समूहका विधवा नारीहरूका पीडा, दुख र मर्मलाई स्थान दिइएको छ । यसमा सन्तान नभएका विधवा नारी, सन्तान भएर पनि नहुर्किसकेका नारी र सन्तान भएर तिनको विवाह भई सन्तानको पनि मृत्यु भोगेका नारीका कथा, व्यथा, पीडा र भोगाइलाई प्रस्तुत गरिएको छ।
सन्तान नभएकी याङ्जीलाई पुन: प्रेम गर्ने, बिहे गर्नेतिर रुचि छ तर उसको बिहेबाट आमा पात्रको जीवनमा थप पीडा र चिन्ता थपिदिने निश्चित छ । आमा पात्रमा खुसी, उमङ्ग, हाँसो त छैन तर बुहारीको वैधव्य जीवनबाट त्रसित भएर बाँचेकी छ। बुहारीलाई देख्दा उसका छोराको सम्झना ताजा हुन्छ। उसले त्यो दुख बिर्सिन खोजे पनि त्यो बिर्सिन सक्दिन। उसका जीवनमा एउटा मात्रै सहारा भएर रहेकी याङ्जीले 'म बिहे गर्छु' भन्ने कुरा धेरै दिनदेखि भन्न सकेकी छैन । यो वाक्य मिलाएर भन्नका लागि उसलाई आफ्नो जन्मदिन कुरेर बस्नुपरेको छ । त्यस दिन पनि अबेर गरेर घर आएपछि मेसो मिलाएर भन्न सकेकी छ । याङ्जीको 'म प्रेममा परेकी छु, उसले मसँग बिहे गर्छ' भन्ने वाक्यांश सुनेपछि आमा अवाक् हुन्छे । उसले याङ्जीलाई अँगालो हाल्छे, कतिखेर आँसु खसे कतिबेर के भयो, अब के भन्ने ऊ अलमलमा पर्छे । धेरै साहस गरेर अन्तमा ससर्त सहमति दिन्छे । यो आमा पात्रका जीवनको नियति हो । यो आयाम कथाको पहिलो आयाम हो।
शन्तमायाले सन्तानलाई हुर्काइसकेकी छ। ऊ २३ वर्षको उमेर छँदा विधवा भएकी हो। आर्थिक र सामाजिक समस्यासँग उसले सांस्कृतिक समस्या पनि भोग्दै छ । कामको खोजीमा सहर पसेकी शन्तमाया कामसँगै नयाँ जीवन साथी पनि फेला पार्छे। उसका जीवनमा आफू घरेलु कामदार भएका डाक्टर दम्पत्तीको गाडी चालक सानु तामाङ आइपुग्छ । सानु तामाङ पनि शन्तमाया जस्तै तीन वर्षअघि विधुर भएको हो । उसका दुईओटी छोरीहरू छन् । शन्तमायाको सानु तामाङसँग विवाह भएपछि उसले आफ्ना जीवनमा हाँसो, खुसी तथा पीडा पनि आएको अनुभव याङ्जीलाई सुनाउँछे। यसबाट सन्तान नहुने विधवा महिलालाई भन्दा भएका महिलालाई चिन्ता र चासो ज्यादा हुने गरेको कुरा स्पष्ट हुन्छ। शन्तमाया बिहे गरेर खुसी देखिन्छे।
सहायक कथानकमा आएकी आमा पात्रको वैधव्य जीवनका १९ वर्ष बितेका छन्। उसको लोग्ने र सन्तान दुवै बितेका छन्। पतिको शोक र पीडाका साथै निस्सारता जीवन बाँचिरहेकी आमा छोरो बितेपछि विधवा बुहारीको पीडा पनि थपिएको छ। आफ्नो दुख, पीडा, व्यथा र बुहारीको वैधव्य जीवन लिएर एक्लोपना, निराशाप्रतिको चिन्ताले उसका माध्यमबाट पनि एउटा आयामको निर्माण भएको छ । बुहारीका सहाराले बाँचेकी बुढिया त्यही बुहारीले बिहे गर्ने कुरा गरेपछि चिन्तित हुन्छे। बुहारीलाई छोरीका रूपमा हेर्दै उसलाई आफैँसँग बस्नुपर्ने सर्त राख्ने आमा पात्रबाट बुहारीलाई मातृत्व प्रदान गर्ने नयाँ आयामको निर्माण भएको छ । यसबाट सन्तान भएर विधवा भएका र सन्तान पनि गुमाएका तथा एक्लो सहाराका रूपमा रहेकाहरूले पनि साथ दिन छोड्ने अवस्थामा पुगेका नारीहरूको स्थितिलाई एउटा अर्को आयाम दिइएको छ ।
'आयाम' कथामा नारी जीवनका तीन उमेर समूह र तीन थरीका व्यथालाई विभिन्न आयाममा व्याख्या गरिएको छ । यी आयामले जीवनका भिन्न भिन्न पाटा र अवस्था विशेषलाई चित्रण गर्ने काम गरेको छ। 'आयाम' कथाका नारीहरू विधवा छन्। विधवा नारीले विधवा नारीको पीडा र मर्कालाई बुझेर एकअर्कालाई सहयोग गरेका छन्। याङ्जीले शन्तमायालाई सहयोग गरेकी छ भने याङ्जीलाई आमाले अनि आमालाई याङ्जीले बिहे गरे पनि घर छोडेर नजाने वचन दिएकी छ।
समाजमा विभिन्न प्रकृतिका वर्ग छन् । नारीवर्गमा पनि विधवा नारीहरूको एउटा वर्ग देखाएर विधवा नारीले विधवा नारीको पीडा, व्यथा, मर्म र मर्का नबुझे अरू कसैले बुझ्न सक्दैन । त्यसैले विधवा नारीका समस्या विधवा नारीवर्गले बुझ्नुपर्छ भन्ने कुरालाई कथामा जोडदार रूपमा उठाइएको छ । यस्तो प्रकृतिको सामाजिक तथा सांस्कृतिक चेतनाले विधवा नारीहरूका जीवनमा सहजता हुने अपेक्षा गर्न सकिन्छ ।
सामाजिक तथा सांस्कृतिक समस्या
विवाह गर्नुका तीनओटा उद्देश्य हुन्छन्, १. सामाजिक व्यवस्था कायम गर्नु २. सन्तानोत्पादन गर्नु ३. यौन आनन्द प्राप्त गर्नु। 'आयाम' कथामा आमाको लोग्नेका बारेमा खासै उल्लेख गरिएको छैन। सुरजकुमारको घर, उसका आमाबुबा इत्यादिबारे पनि केही जानकारी दिइएको छैन । सानु तामाङ भने विधुर हो । ऊ विधुर भएको तीन वर्षजति भयो । उसले डाक्टर दम्पत्तीको गाडी चलाउँछ । आफ्नो जिन्दगीको गाडी सही बाटामा हिँडाउन ऊ डाक्टर दम्पत्तीको ड्राइभर बनेको छ। याङ्जीको बिहे सुरजकुमारसँग हुने निश्चित भएर कथा समाप्त भएको छ । सुरजले याङ्जीलाई बिहे गरेर आफ्ना घर लैजान्छ वा याङ्जीकै घर आउँछ ? याङ्जीले आमालाई यो घर नछोड्ने सर्तसहित बिहे गर्ने अनुमति दिएकी छ। तात्कालिक समस्याको समाधान भए पनि भविष्यमा विधवा विवाहले पनि थप समस्या सिर्जना गर्न सक्ने सम्भावना देखिन्छ। याङ्जीको माइतीको थर एउटा थियो, बिहे हुँदा अर्को थर भयो। पुनर्विवाह हुँदा अर्को थर बन्ने निश्चित छ। याङ्जीको बिहेपछि उसले आमालाई आफैँसँग राख्ली वा सुरजलाई त्यस घरमा ल्याउली ? सुरज याङ्जीको घर जाला वा आफ्ना घरमा लैजाला ? यदि बिहेपछि याङ्जीलाई सुरजले आफ्ना घरमा लग्यो तर आमालाई लिन चाहेन भने आमाको जीवनमा के कस्ता सङ्कटहरू आउलान् ? आमाका याङ्जीबाहेक अरू कोही पनि उत्तराधिकारी भएको कथामा देखाइएको छैन। आमाको शेषपछि उसको सम्पत्तिमाथि कसको अधिकार होला ? 'आयाम' कथाका घटनालाई हेर्दा विधवा विवाहको समस्या समाधान गर्ने खोजे पनि सामाजिक, सांस्कृतिक र आर्थिक समस्याहरू थपिने देखिन्छन् । यसबाट नयाँ सांस्कृतिक चेतना निर्माणमा मद्दत पुग्ने छ ।
निष्कर्ष
‘आयाम’ कथामा अभिव्यक्त सांस्कृतिक चेतनाको पहिचान र विश्लेषण गर्ने उद्देश्यले यो अध्ययन प्रस्तुत गरिएको हो। कथामा देखिएका सांस्कृतिक पक्षहरूको प्रकृति र विशेषता पहिल्याउनु यस अनुसन्धानको मुख्य समस्या हो। कृतिमा प्राप्त सांस्कृतिक तत्त्वहरूलाई सैद्धान्तिक आधारमा विश्लेषण गरी निष्कर्ष निकालिएको छ । ‘आयाम’ कथा सामाजिक तथा सांस्कृतिक संरचनाभित्र विधवा नारीले भोग्नुपरेका विविध समस्याको प्रतिनिधित्व गर्ने सशक्त आख्यान हो। कथाका मुख्य पात्र याङ्जी, आमा र शन्तमायाका माध्यमबाट भिन्न उमेर समूहका विधवाको पीडा, संवेदना, मानसिक छटपटी र सामाजिक उपेक्षालाई बहुआयामिक रूपमा चित्रण गरिएको छ । नेपाली समाजमा विधवा विवाह स्वीकार्य विषय नबनिसकेको अवस्थामा याङ्जी, आमा र शन्तमाया यसका पक्षमा देखिन्छन् । सुरजकुमार आफू कुमार भएर पनि विधवासँग प्रेम र बिहे गर्न तयार भएको देखिन्छ । उसको यो व्यवहार अझ परिवर्तनकारी छ । 'आयाम' कथाका अधिकांश घटनाहरू याङ्जी, आमा र शन्तमायाका चरित्रमा केन्द्रित छन् । यी तीन नारीका जीवनका तीनओटा आयामलाई कथामा स्थान दिइएको छ । यसमा २५, ३० र ४९ वर्ष उमेरका विधवा जीवनका तीन नारीका तीन अवस्थाबाट नेपाली समाजमा भिन्न भिन्न उमेर समूहका विधवाका भिन्न भिन्न पिरमर्का र समस्या रहेको देखाइएको छ । सन्तान हुने भन्दा सन्तान नहुने र सन्तान भएर पनि बितेका नारीका समस्याले विधना नारीको पनि एउटा वर्ग भएको र उनीहरूका समस्या त्यस्तै विधवाले मात्रै बुझ्ने गरेका कुरालाई निकै मार्किम तरिकाले अभिव्यक्त गरिएको छ । यो कुरा याङ्जी र शन्तमाया तथा याङ्जी र आमा पात्रका बिच भएका संवादबाट बुझ्न सकिन्छ । वृत्ताकारीय संरचना, संवादहरूमा अभिव्यक्त वैचारिक टकराव र पात्रहरूको बदलिँदो दृष्टिकोणमार्फत परम्परागत मान्यताबाट पृथक दृष्टिकोण निर्माण गर्दै सामाजिक तथा सांस्कृतिक परिवर्तनको संवाहक कथाका रूपमा 'आयाम' कथाको मूल्याङ्कन गर्न सकिन्छ।
कृतज्ञताज्ञापन
प्रस्तुत लेख लेख पढी उपयुक्त सुझाव दिएर यसलाई परिमार्जन गर्न सहयोग पुर्याउनुहुने विज्ञज्यूप्रति हार्दिक आभार व्यक्त गर्दछु ।
सन्दर्भ सामग्रीसूची
ऋग्वेद (सन् २०२४, जनवरी १५). https://www.vedicscriptures.in/rigveda/10/18/8
घोडासैनी, खगेन्द्र (२०७९ ). एपिए सातौं संस्करणका प्रावधानहरू. हैमप्रभा २१.४२-५९ https://doi.org/10.3126/haimaprabha.v21i01.44839
जोशी, अनिरुद्ध (सन् २०२४, जनवरी ५). हिन्दु धर्ममा विधवाले सेतो पहिरन किन लगाउने ? जान्नुहोस् ६ ओटा कारण...
https://hindi.webdunia.com/sanatan-dharma-niti-niyam/widows-in-hinduism-117020100073_3.html
छोरा र बुहारीले गराइदिए रविना देशराज श्रेष्ठको विवाह (२०८०). https://www.youtube.com/watch?v=mtMNT-gpkwc
टाइलर, इ.वि. (१८७४). प्रिमीटिभ कल्चर. न्युयोर्क ।
नेपाली कक्षा १० (२०८०). नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय पाठ्यक्रम विकास केन्द्र ।
बिहे गरेपछि हरिवंश आयार्चले भने- ‘अब घरमा मैले बोल्ने साथी पाएको छु’ (२०६९ असार ८,). https://hellokhabar.com/9850/
मुलुकी देवानी (संहिता) ऐन, २०७४ (२०७४). नेपाल सरकार ।
विधवा (सन् २०२४, जनवरी ५). URL: https://hi.wikipedia.org/s/jnh
विधवा पुनर्विवाह ऐन (१९५६ ) (१९५६). https://hi.wikipedia.org/s/2oi7
विधवा महिला किन सेतो लुगा लगाउँछन् ? यस्तो छ हिन्दू धर्मको मान्यता (२०७५, कात्तिक ७).
https://lokaantar.com/story/58816/2018/10/24/ss-news/
विधवा विवाह भारत: जब छोराले आफ्नो बिहे अघि विधवा आमाले पुनर्विवाह गर्नुपर्ने सर्त राखे (सन् २०२३, मार्च-२२). https://www.bbc.com/nepali/news-65023972
विवाह संस्कार (२०२४, जनवरी १५). https://ne.wikipedia.org/s/8ce
सनातन धर्मका संस्कार (सन् २०२४, जनवरी ८). URL : https://hi.wikipedia.org/s/9z9
सुवेदी, पुरुषोत्तम (२०८०, माघ-१). समकालीन नेपाली कथामा सांस्कृतिक चेतना. (नेपाल प्रज्ञाप्रतिष्ठानमा प्रस्तुत गोष्ठीपत्र). https://samakaleensahitya.blogspot.com/2015/06/blog-post_25.html.
(यो लेख हैमप्रभा विज्ञसमीक्षित जर्नल वर्ष २०२५ मा प्रकाशित भएको छ। त्यहाँबाट हुबहु साभार गरिएको हो। यसलाई जस्ताको तस्तै कपी गरेको पाइएमा प्रतिलिपि अधिकारसम्बन्धी कानुन आकर्षित हुने छ। सन्दर्भका रुपमा प्रयोग गर्न भने सकिने छ- लेखक)

