'परिबन्द' कथाको रचनाविधान (The Structural Analysis of the Short Story 'Paribanda')

Dr.Khagendra Ghodasaini
0

डा. खगेन्द्र घोडासैनी

कथाकार पुष्करशमशेर

नेपाली साहित्यका विशिष्ट कथाकार पुष्करशमशेरको जन्म वि.सं. १९५८ पौष १८ गते काठमाडौंको ज्ञानेश्वरमा भएको हो । आई.ए. सम्मको शिक्षा हासिल गरेका उनी बहुमुखी प्रतिभाका धनी थिए । उनले आफ्नो जीवनकालमा विभिन्न महत्वपूर्ण ओहोदामा रहेर देश र साहित्यको सेवा गरे, जसअन्तर्गत वि.सं. १९९४ मा भाषानुवाद परिषद्को अध्यक्ष, वि.सं. २००५ मा गोरखापत्रको उपनिर्देशक तथा वि.सं. २०११ मा लन्डनस्थित 'स्कुल अफ ओरियन्टल एण्ड अफ्रिकन स्टडिज' मा नेपाली प्रशिक्षकका रूपमा काम गरेका थिए । उनको विशिष्ट योगदानको कदर गर्दै उनलाई 'मेजर' को सम्मान/पुरस्कार प्रदान गरिएको थियो । नेपाली साहित्यमा अमूल्य योगदान पुर्‍याएका यी महान् स्रष्टाको वि.सं. २०१८ वैशाख १८ गते निधन भयो ।

साहित्यिक योगदान र प्रकाशित कृतिहरू
पुष्करशमशेर नेपाली साहित्यका एक सफल कथाकार, नाटककार, अनुवादक र व्याकरणकार हुन् । उनका प्रकाशित कृतिहरूलाई निम्नानुसार वर्गीकरण गर्न सकिन्छ:
कथासङ्ग्रह: 'पुष्करशमशेरका कथाहरू' (वि.सं. २०४४, पाँचवटा कथाहरूको सङ्गालो)
एकाङ्की: 'लक्ष्यहीन' (वि.सं. १९९९)
अनुवाद: 'शि' (उपन्यास, वि.सं. १९९८) र 'ओथेलो' (नाटक, वि.सं. २०११)
कोश तथा व्याकरण: 'अङ्ग्रेजी नेपाली शब्दकोश' भाग १ र २ (वि.सं. १९९२–१९९६), 'नेपाली उखान टुक्का, वाकपद्धति र वाग्धारा' (वि.सं. १९९८) तथा 'नेपाली सजिलो व्याकरण' (वि.सं. २०००) ।
पुष्करशमशेर सामाजिक यथार्थवादी कथाकार हुन् । उनले शारदा पत्रिकाबाट कथा लेख्न सुरु गरेका हुन् । ‘परिबन्द’ कथा सर्वप्रथम कथा कुसुम (१९९५) मा प्रकाशित भएको पाइन्छ । उनका कथामा सामाजिक विषयवस्तुको मनोवैज्ञानिक र तार्किक प्रस्तुति गरिएको पाइन्छ । उनी घटनाप्रधान कथानकको प्रयोग गर्ने कथाकार हुन् । यिनका कथामा वास्तविक नेपाली परिवेश झल्किन्छ । परिस्थितिको विवश भएर बाँच्न बाध्य भएका चरित्रहरूको जीवन्त प्रस्तुति उनले आÇना कथामा गरेका छन् । सामाजिक समस्या र बाहृय द्वन्द्वलाई भन्दा आन्तरिक द्वन्द्वलाई बढी प्रभावकारी ढङ्गमा सजाउनु उनको कथागत वैशिष्ट्य हो । पुष्करशमशेरका कथागत प्रवृत्तिहरूलाई निम्नलिखित बुँदामा समेट्न सकिन्छ ।
कथागत प्रवृत्तिहरू
o    सामाजिक यथार्थवादी कथा प्रवृति पाइनु,
o घटनाप्रधान, समस्यामूलक, तार्किक शैलीको प्रयोग गरी मनोवैज्ञानिकताको जलप लगाउनु,
o परम्परागत रूढिको विरोध गरी घरेलु समस्या र त्यसको सुधार गर्ने भावनाले उत्प्रेरित हुनु,
o समाजका अन्याय, अत्याचार, अशिक्षा रपक्षपातजस्ता विकृतिहरूप्रति असहमती जनाउनु,
o नारी चरित्र र उनीहरूका बाध्यताको चित्रण गर्दै नवीन मूल्य स्थापनामा जोड दिनु,
o सरल, न्यून बौद्धिकता र स्वाभाविक शैलीको प्रयोग गर्नु,
o उखान टुक्का र तार्किक भाषाको प्रयोग गर्नु,
o सामाजिक रूढिको विरोध, द्वन्द्व प्रधान, घटनाप्रधान, मनोविश्लेषणात्मक गरी स्वाभाविक र सामान्य घटनाबाट नवीन अनुभूति प्रदान गर्नुजस्ता मूलभूल प्रवृत्ति यिनका कथामा पाइन्छन् ।
परिबन्द कथाको विश्लेषण
‘परिबन्द’ कथा वि.सं.१९९५ सालमा कथा कुसुममा प्रकाशित भएको पुष्करशमशेरद्वारा लिखित उत्कृष्ट कथा हो । यस कथामा कथाकारले मानिस परिबन्दमा परेर तर्कका आधारमा कसरी चोर साधु र साधु चोर बन्दछन् भन्ने यथार्थलाई प्रस्तुत गरेका छन् ।
रुचिक्षेत्र
पुष्करशमशेरद्वारा लेखिएको ‘परिबन्द’ कथाको रुचि क्षेत्र समाज मनोवैज्ञानिक रहेको छ । समाजले निर्धारण गरेको न्याय पद्धतिले निर्दोष मानिस पनि सजायको भागी हुनुपर्ने अवस्थालाई देखाउँदै कथाकारले त्यस व्यवस्थामा सुधारको खाँचो रहेको तथ्यलाई यस कथाको विषयवस्तु बनाएका छन् । त्यसैले यस कथाको रूचि क्षेत्र समाज मनोवैज्ञानिक देखिन्छ । यसमा लाहुरेको हत्या हुनुभन्दा अघिल्लो दिन रने र लाहुरेका बिच झगडा हुँदा चर्को भनाभन हुनु र उसलाई मार्छु भन्नु, लाहुरेको मृत्यु भएको रात सेतीले ढिकीच्याउँलाई नमार्न भन्नु र त्यसको लगत्तै ‘बैकुण्ठ बास होस्’ भन्नु, रनेका शरीरमा रगत लाग्नु, र त्यसको जानकारी प्रशासनलाई नदिई मुग्लानतिर भानुले ऊ निर्दोष भएर पनि दोषीका बलिया प्रमाण बन्न पुगकोले रने सजायको भागीदार भएको देखाएको छ । यी घटना नेपाली सामाज र परिवेशका छन्, यिनमा तार्किकता र मनोवैज्ञानिताको प्रभाव समेत देख्न पाइन्छ । त्यसैले यस कथामा समाज मनोवैज्ञानिक रुचि क्षेत्र चयन गरिएको पुष्टि हुन्छ ।
रीतिक्षेत्र
‘परिबन्द’ कथा यथार्थवादी रीतिमा लेखिएको छ । यस कथाको प्रमुख पात्र रनबहादुरले ढिकिच्चाउँलाई मार्न लाग्दा उसकी श्रीमती सेतीले ‘नमार्नु होस्’ भनेको, मारेपछि ‘बैकुण्ठ बास होस्’ भनेको, लाहुरे मारिँदाको अघिल्लो दिन रनेसँग उसको भनाभन भएको लाहुरे मारिएको थाहा पाएर रनेले प्रशासनमा जानकारी नदिई मुग्लान जान भनी भागेको घटनाबाट ऊ दोषी सावित हुन्छ । ऊ दोषी सावित भएपनि उसकी श्रीमतीलाई आÇनो लोग्ने निर्दोष हो भन्ने कुराको स्मरण गराएर कथाको समापन गरिएको छ । यसरी न्याय प्रणालीले दोषी व्यक्तिलाई मात्र सजाय दिंदैन, आवश्यक प्रमाण जुटेमा निर्दोष व्यक्ति पनि सजायको भागी हुन सक्छ भन्ने यथार्थलाई यस कथामा प्रस्तुत गरिएको हुनाले यस कथाको रीति क्षेत्र यथार्थवाद देखिन्छ ।
संरचनापक्ष
‘परिबन्द’ कथा चार खण्ड र डिमाइ आकारका ७ पृष्ठमा संरचित छ । न्यूनतम एक वाक्यदेखि करिब एक पृष्ठसम्मका अनुच्छेद संरचना यस कथामा पाइन्छन् । यो कथा २०–२५ मिनेटमा पढिसकिने मझौला आयामको कथा हो । यसमा किरो मारेको र त्यसलाई नमार भनेको, मारेपछि बैकुण्ठ बास होस् भनेको घटनालाई लाहुरे मारेको भनी रनबहादुरलाई सजाय सुनाइएको र सबै प्रमाणले ऊनै दोषी देखिएको र उसको निर्देषिताको प्रमाण उसकी स्वास्नीबाहेक केही नभएको घटनालाई कथाको विषयवस्तु बनाइएको छ । यसले सबुत प्रमाण भएमा कानुनले साधुलाई चोर र चोरलाई साधु बनाउन सक्छ भन्ने कुरा सिद्ध गर्ने प्रयास गरेको छ ।
(क) कथानक
‘परिबन्द’सरल रैखिक ढाँचाको एकल कथानक भएको कथा हो । यसको कथानक आदि, मध्य र अन्त्य भई क्रमिकरूपमा विन्यस्त भएको देखिन्छ । यसमा वर्णनात्मक संवादात्मक र पूर्वस्मृति शैलीको प्रयोग गरिएको छ । लाहुरेको हत्या एक मात्र कथाको मुख्य घटना हो । यसबाहेकका अन्य घटनाहरू पूर्वस्मृतिका रूपमा देखापरेका छन् । बिहेपूर्वको घटना लाहुरेसँग रनेको झगडा हुनु, रने पकाउ पर्नुजस्ता घटनाहरू पूर्वस्मृतिका रूपमा जोडिएका छन् । यिनैले कथालाई विस्तारित गर्ने काम गरेका छन् । यस कथामा कथाकार स्वयम्ले अप्रत्यक्ष कथन शैलीबाट कथाको कथन गर्ने काम गरेका छन् । यस कथाको कथानक विन्यासका कमिक अवस्थाहरूलाई निम्नानुसार देखाउन सकिन्छ :
आदि भाग
- रने र उसकी श्रीमती सेती एक दिन इष्ट मित्रको घरमा खाना खाई फर्केका हुँदा बारीमा काम गरेर ढिलो घरभित्र पस्नु,
- त्यस दिन रने अलि रिसाएको हुँदा सेतीले फकाउने निहुँमा ढिकी च्याउँ (किरो) देखाएर यसलाई के भन्नुहुन्छ भनी सोध्नु,
- रनेले जुत्ता समातेर त्यसलाई मार्न आँट्नु,
- सेतीले नमार भन्दा पनि रनेले मारेपछि वैकुण्ठ बास होस् भन्नु,
- दुबै जना सुत्नु रने निदाए पनि सेतीलाई निद्रा नलाग्नु,
- केही समयपछि पल्लो कोठाबाट आवाज आउँदा उनीहरू दुबै व्यँुझेर उठ्नु,
- रनेले टुकी बाली के रहेछ भनी हेर्न निस्किनु,
- दैलोबाट बाहिर चियाउँदै एउटा मान्छे भागेको देख्नु,
- रने र सेती दुबै लाहुरेको कोठामा जाँदा लाहुरेलाई निर्मम तरिकाबाट खुकुरीले छप्काएको देख्नु,
- रनेले मुन्टो सोझ्याएर पानी खुवाएपछि लाहुरेको प्राण जानु,
मध्य भाग
- लाहुनेको मृत्यु भएको खबर गर्न रने द्वारेबा कहाँ जानु,
- सेतीलाई भोजराज बाजे कहाँ पठाउनु,
- रने जतिजति द्वारेबाको नजिक पुग्यो त्यति त्यति उसलाई डर लाग्न थाल्नु,
- आफूलाई हत्यारो भनी पक्रिए के गर्ने भन्ने डरले उसले मुग्लान पस्ने विचार गर्नु,
- ऊ भाग्दै जाँदा सीमाना नकाट्दै पक्राउ पर्नु,
- उसको मुद्दा अदालतमा चल्न थाल्नु,
- सरजमिन र साची बकाउँदा उसकोपक्षमा र उसको बचाउका लागि प्रमाणहरू कमजोर हुनु,
- रनेले अधिल्लो दिन झगडा हुँदा लाहुरेलाई ‘नमारी छाड्दिन’ भनेको हुनु,
- लाहुरेको हत्या भएको राती रनेको घरको बाटो हिड्दा काल्च्या नेवारले रनेकी श्रीमतीले ‘नमार नमार’ भनेको र पछि ‘वैकुण्ठ बास होस्’ भनेको सुनेको हुनु,
- रनेको शरीरमा रगत लागेको र ऊ त्यहाँबाट भागेकोजस्ता प्रमाणले रने अपराधी साबित हुनु,
अन्त्य भाग
- रने र उसकी श्रीमतीले जसि सुकै सफाइ दिए पनि निर्दोष नभएपछि उसलाई जेल चलानको फैसला हुनु,
- अन्तिममा रनेले श्रीमतीलाई रेजिमेन्टले मैले मारेको ठाने पनि तेरो मनमा त म चोखै छु हकि भन्दा सेतीले टाउको हल्लाई रुन थाल्नुजस्ता घटना क्रमसँगै यस कथाको अन्त्य भागको कथानक समापन भएको छ ।
(ख) चरित्र र चरित्र चित्रण
‘परिबन्द’ कथामा रने, सेती, द्वारेबा, लाहुरे, भोजराज बाजे, पद्मनिधि लामिछाने, लाल बहादुर, काल्च्या नेवार, लाहुरेको हत्यारा आदि पात्रहरू प्रयोग गरिएका छन् । यी पात्रहरू मध्ये रने प्रमुख क्रियाशील पात्रका रूपमा देखिएको छ भने सेती, लाहुरे र पद्मनिधि लामिछाने सहायक पात्रका रूपमा रहेका छन् । अन्य पात्रहरू गौण पात्र हुन् । यसमा प्रमुख पात्र रने, सेती र काल्त्या नेवारको चरित्र चित्रण गर्ने प्रयास गरिएको छ ।
(अ) रने
रने यस कथाको मुख्य पात्र हो । सिङ्गो कथा उसैको केन्द्रीयतामा अधि बढेको छ । ऊ २२ वर्षे जवान युवक हो । उसमा उमेर जन्य जोस र आवेग छ । यही आवेगको परिणाम स्वरूप ऊ निर्दोष भएर पनि दोषी सावित भएको छ । ऊ बोल्दा तौलेर नबोल्ने सोझो गुरुङ हो । उसको यो बानीले पनि उसलाई दोषी बनाएको छ । लाहुरेसँगको झगडामा उसलाई नमानी छाड्दिन भनेको कुराको परिबन्दमा परी अरूबाटै मारिएको लाहुरेको हत्यारा प्रमाणित भएर जेल सजाय भोग्न बाध्य भएको छ । ऊ बुद्धि र विवेकले काम गर्न नसकेर पछि पछुताउने स्वाभावको व्यक्ति हो । ऊ शङ्कालु पनि छ । त्यसैले लाहुरेको मृत्यु द्वारेबालाई खबर गर्न हिंडेको व्यक्ति मनमा अनेक प्रकारका शङ्का र उपशङ्काहरू उठाएर भाग्नाले उसमाथि झन दोष थपिएको छ । उसले आफनो निर्दोष कुरालाई निर्धक्कसँग भनेर सफाइ नलिई समस्याबाट भागेर बाँच्ने उपाय रचेको छ । उसको यही व्यवहारले ऊ दोषी साबित हुन विवश बनेको छ । निर्देष भएर यत्रो ठुलो आरोप खप्दा पनि ऊ विद्रोही बन्नसकेको छैन बरु सबैले एक दिन मर्नु पर्ने ठानेर चित्त बुझाएको छ । उसले आफैलाई सरापेर हैजाको महामारीमा पहिल्यै मरेको भए ठिक हुन्थ्यो भन्ने तर्क अगाडि सारेको छ । यसरी रने यस कथामा सोझो, अशिक्षित, निमुखो, स्वाभिमानी, पीडित, विवश र कारुणिक पात्रका रूपमा चित्रित छ ।
(आ) सेती
सेती यस कथाकी प्रमुख नारी पात्र हो । ऊ सरल तर दयालु स्वाभावकी छे । रनेले किरा मार्दा त्यसप्रति पनि उसको सहानुभूति देखिन्छ । उसमा प्रेम र चञ्चलता रहेको उसैले रनेलाई माया गर्न सिकाएको देखिन्छ । उसले रनेलाई बुझेर मात्र बिहे गरेकी हो । लाहुरेको हत्या हुँदा निस्केको आवाज पनि उसले पहिले सुनेकी छ । बाहिरबाट आवाज आउँदा पनि बाहिर नजान भनेकी छ । उसले जे जे नगर्नु भनेकी छे त्यसकै परिवन्दका कारण उसको लाग्नेले सजाय पाएको छ । अन्त्यमा निर्दोष लोग्नेले सफाइ पाउन र मुद्दा बदर हुने कुरामा विश्वस्त रहेकी यस पात्रले अन्त्यमा भरोसा गुमाउनु परेको छ । रनेलाई हत्कडीमा बाँधेर पुलिसले जेलतिर लैजाँदै गर्दाको दृश्यले ऊ मर्माहत भएकी छ । यसरी कथाको अन्त्यतिर उसको संवेदनशील जीवनकोपक्ष चित्रण गरिएको छ ।
(इ) काल्च्या नेवार
काल्च्या नेवार कुरा नबुझी बोल्ने व्यक्तिका रूपमा देखिन्छ । लाहुरेको मृत्यु भएको रात रनेको घरको बाटो गरी हिँड्दा ‘नमार’ र वैकुण्ठ बास होस् भनेको सुनी त्यसैका आधारमा नबुझी वयान दिंदा निर्दोष रनेले सजाय पाएको छ । त्यसैले ऊ गहिराइमा नगई सतहीरूपमा हिंड्ने पात्रका रूपमा देखा पर्छ ।
(ग) परिवेश
‘परिबन्द’ राणाकालीन समयको न्याय प्रणालीलाई मुख्य विषयवस्तु बनाएर लेखिएको कथा हो । यसमा न्याय व्यवस्थाको कमजोरीका कारण कसरी निर्दोष मानिस पनि सजायको भागी बन्ने गरेका थिए भन्ने विसङ्गत परिवेशलाई प्रस्तुत गरिएको छ । कथामा बाहृय द्वन्द्वले रनेको आन्तरिक द्वन्द्वलाई चर्काउने काम गरेको छ । बाहृय द्वन्द्वलाई पूर्वस्मृतिबाट कथन गरिएको छ भने आन्तरिक द्वन्द्वलाई प्रत्यक्षरूपमा देखाइएको छ । यस कथामा चितवनको राप्ति खोला, काठमाडौंको बानेश्वर, धरहरा, बागदरबार, रनेको घर आदि स्थानगत परिवेशका रूपमा रहेका छन् । यस कथामा एक रात र एक दिनको समयमा आधारित घटनाहरू समेटिएका छन् । यस कथामा बाहृयभन्दा आन्तरिक र सामाजिकभन्दा मनोवैज्ञानिक परिवेश बढी मार्मिक र संवेदनशील रहेको छ ।
(घ) दृष्टिविन्दु
‘परिबन्द’ कथा तृतीय पुरुष दृष्टिविन्दुमा लेखिएको छ । यस कथाको समाख्याता कथाकार स्वयम् देखिन्छन् । कथाकारले यस कथाको दृष्टिविन्दु पात्रलाई ‘ऊ’ वा ‘रने भनी सम्बोधन गरेका छन्् । कथाको परिणति भोक्ता चरित्र रने नै हो । लाहुरेको मृत्यु भएको घटनामा मुछिएर परिबन्दका कारण अदालतद्वारा दोषी प्रमाणित भई जेल चलान भएको पात्र रने नै भएकाले यो उसैका दृष्टिविन्दुबाट लेखिएको कथा हो । त्यसैले यस कथामा बाहृय तृतीय पुरुष दृष्टिविन्दुको प्रयोग भएको देखिन्छ ।
(ङ) सारवस्तु
परिस्थितिले गर्दा अपराधी छुट्ने र सोझा, सिधा, व्यक्ति अपराधी साबित हुने गरेको सामाजिक यथार्थलाई चिनाउनु ‘परिबन्द’ कथाको सारवस्तु हो । आपराधिक घटनाको छानबिन गर्दा साक्षी र प्रमाणलाई आधार बनाइन्छ । साक्षी र प्रमाणका आधारमा त्यो घटनाको अवस्था वा प्रकृतिलाई सुनेको वा अनुमान गरेको भरमा छुट्याइने चलनले वास्तविक न्यायको सम्पादन हुन नसक्ने तथ्य यस कथाले अघि सारेको छ । यस कथामा रने र छिमेकी लाहुरे बिच भएको झगडामा ‘तँलाई नमारी छाड्दिन’ भनी रनेले गरेको अभिव्यक्ति उसका लागि अभिषाप बन्न पुगेको छ । आवेगमा आएर बोलेको कुराले मात्र पनि मानिसलाई ठुलो दुर्घटनामा फसाउँछ भन्ने सार यस कथाका माध्यमबाट व्यक्त गरिएको छ । त्यस्तै परिवन्दमा पारेपछि चोर साधु बन्छ अनि साधु चोर बन्न पुग्दछ भन्ने कुराको पुष्टि पनि यस कथाले गरेको छ । कथाको रने आफैँ निर्दोष पात्र हो । तर घटनाको सम्पूर्ण परिवेश र घटनाको प्रकृति तथा घटना पछिका उसका क्रियाकलापले उसलाई निद्रोष होइन दोषी सावित गर्ने प्रमाण बन्न पुगेको छन् । लाहुरेको हत्या हुनुभन्दा अधिल्लो दिन रने र लाहुरेका बिच झगडा हुँदा चर्को भनाभन हुनु र उसलाई मार्छु भन्नु, लाहुरेको मृत्यु भएको राती सेतीले ढिकिच्याउँलाई ‘नमार’ भन्नु र त्यसको लगतै ‘वैकुण्ठ बास होस्’ भन्नु, रनेको शरीरमा रगत लाग्नु र त्यसको जानकारी प्रशानसनमा नदिई मुग्लानतिर भाग्नुले ऊ निर्दोष भए पनि उसका क्रियाकलाप दोषीका बलिया प्रमाण बन्न पुगेको छन् । ऊ निर्दोष भएको कुरा पाठकलाई राम्रोसँग जानकारी भए पनि उसका भनाइ र गराइ नै त्यसका दोषका प्रमाण बनि रहेका छन् । त्यसै कारण परिबन्दले चोर साधु र साधु चोर बन्न सक्छ भन्ने सारवस्तु यस कथाका माध्यमबाट व्यक्त गरिएको छ । यसरी प्रस्तुत कथाको सारवस्तु अभिधात्मक अर्थ सापेक्षमा व्यक्त भएको छ ।
रूपविन्यासपक्ष
‘परिबन्द’ कथामा सरल सामान्य भाषा शैलीको प्रयोग गरिएको हुनाले संवृत्तरूपविन्यासको प्रयोग भएको देखिन्छ । यसका शब्द चयन, वाक्य गठन र विचारको प्रस्तुतिमा तार्किकता, स्थानीयता र चरित्रअनुकूलको भाषा शैली पाइन्छ । यसको कथानक चरित्रअनुकूलको भाषा बनाउने प्रयासले केही दुर्बोध्य भए पनि कथा सरल र सामान्य पाठक सुहाउँदो देखिन्छ । यस कथामा नेपालीका झर्रा शब्द, उखान र थेगोको प्रयोग गरिएको देखिन्छ । जस्तै : जोई पोइ, हम्मेसी, पुलुक्क, ज¥याक जुरुक्क, स्वाल्र्याङ स्वाल्र्याङ, चाइने, दुधको साक्षी बिरालो, खाएको विष पो लाग्छ, नखाएको विष त लाग्दैन, चोर साधु साधु चोर आदि । त्यस्तै सामान्य पाठकका लागि कठिन लाग्ने केही तत्सम र हिन्दी अङ्ग्रेजी भाषाका आगन्तुक शब्दहरू पनि पाइन्छन् । तत्सम शब्दहरू जस्तैः रजनी, दृश्य, आनन्द, कदाचित, निर्दोष, उपशङ्का, जयविजय, अक्षर अक्षर, चित्रपट, स्थिर, निराशा, दिवास्वप्न, भङ्ग, व्यर्थ, गुञ्जन आदि । आगन्तुक शब्दहरू जस्तैः इन्साफ, इन्कार, इबिलाग, नोट, क्याँट, सरजमिन, हुलिया, कम्पनी, अप्रेन्टिस, चस्मदिन, जवाफ, रेजिमेन्ट आदिको प्रयोगले भाषिक बान्कीहरूको प्रयोगमा विविधता झल्किन्छ । यस कथामा सरल जटिल दुबै प्रकृतिका वाक्यहरूको प्रयोग गरिए पनि क्रियायुक्त सामान्य वाक्यको प्रयोगले जटिलता थपेको देखिँदैन । यस कथाको भाषा तार्किक छ । यसमा घटना र संवादलाई तौलेर तर्कका माध्यमबाट प्रस्तुत गरी छलफल र प्रमाणहरू जुटाउने काम गरिएको छ । रने गैर नेपाली मातृभाषी हुनाले त्यससँग सम्बन्धित सुहाउँदो स्वाभाविक भाषिक संवाद यस कथामा पाइन्छ ।
यस कथाको शीर्षक ‘‘परिबन्द’ राखिएको छ । यसको नामकरण कथाको कथ्य विषयमा आधारित भएर गरिएको छ । परिवन्दको अर्थ हो– काकताली वा संयोग । यो एक प्रकारले फन्दामा पार्ने स्थिति हो । यस कथाको प्रमुख पात्र रने आफ्नो छिमेकी लाहुरेको हत्यारा नभए पनि उसको हत्यामा दोषी प्रमाणित भई जेल चलान भएको छ । अघिल्लो दिन लाहुरेसँगको झगडामा रनेले तँलाई नमारी छाड्दिन भनेको थियो । राती रनेले ढिकीच्याउँ मार्न जुत्तो उठाउँछ । सेतीले नमार भनेको र मारि सकेपछि बेकुण्ठ बास होस् भनेको कुरा काल्च्या नेवारले सुनेको थियो । रनेको लुगामा रगत मुछिएको र ऊ हत्याको खबर कसैलाई नदिई मुग्लान भाग्न लागेको र हत्याराको हुलिया पनि दिन नसकेको हुँदा उसको भनाइ र साक्षी प्रमाणले गर्दा लाहुरेको हत्यारा रने नै हो भन्ने देखिन आएको छ । हत्यारा रने नभएको कुरा उसकी श्रीमती सेती र पाठकबाहेक अरू कसैले स्वीकार गर्दैनन् । त्यसैले हत्यारा नभएर परिबन्दले ऊ नै हत्यारो साबित भएको हुनाले कथाको शीर्षक औचित्यपूर्ण र सार्थक देखिन्छ ।
निष्कर्ष
‘परिबन्द’ कथा समाज मनोवैज्ञानिक विषयवस्तुलाई रूचि क्षेत्र बनाई यथार्थवादी रीतिमा प्रस्तुत गरिएको छ । यसमा सरल, सामान्य तर तार्किक भाषाको प्रयोग गरी तृतीय पुरुष दृष्टि विन्दुको उपयोग गरिएको छ । काठमाडौंको राणाकालीन न्याय प्रणालीको परिवेश समेटिएको यस कथाले परिबन्दका कारण साधु चोर र चोर साधु हुन सक्ने रहस्योद्घाटन गरेको छ । यस कथामा घटनाका विभिन्न प्रकृतिले कानुनको आँखामा रने लाहुरेको हत्यारा भएपनि उसले पाठकबाट प्रशस्त सहानुभूति प्राप्त गरेको छ । परिबन्दले गर्दा नखाएको विष पनि लाग्छ भन्ने यथार्थको प्रस्तुतिले गर्दा न्यायका कमजोरपक्षलाई राम्रोसँग खुलस्त पारेको छ । यसबाट कानुनले साक्षी र प्रमाणका आधारमा सत्य ठम्याउने भएपनि कुने कुनै सत्य साक्षी र प्रमाणले उद्घाटन गर्न सक्दैनन् भन्ने निष्कर्ष निकालेको देखिन्छ । यसरी रचनाविधानको सिद्धान्तका आधारमा पुष्करशमशेर द्वारा लिखित ‘परिबन्द’ कथाको समीक्षा गर्न सकिन्छ ।

Post a Comment

0 Comments
Post a Comment (0)

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top