एमएलए नवौँ संस्करण प्रावधानहरू (Key Provisions of the MLA 9th Edition)

Dr.Khagendra Ghodasaini
0

खगेन्द्र घोडासैनी (विद्यावारिधि)

ORCID : https://orcid.org/0009-0002-4288-0037

https://doi.org/10.3126/haimaprabha.v25i01.96662

सारसङ्क्षेप

प्रस्तुत लेखमा एमएलए नवौँ संस्करणमा समावेश गरिएका प्रावधानहरू पहिल्याउने काम गरिएको छ । यसमा अनुसन्धानमा प्रयोग हुने एमएलए शैलीको नवौँ संस्करणबारे विस्तृत जानकारी प्रदान गरिएको छ । विशेषतः मानविकी, भाषा र साहित्यजस्ता विषयमा प्रचलित यो शैली उद्धरण र सन्दर्भ सूची व्यवस्थापनमा स्पष्टता, सुसङ्गतता र वैज्ञानिकता ल्याउने उद्देश्य राख्दछ । सन् १९४४ देखि विकास हुँदै आएको एमएलए शैलीको नवौँ संस्करण सन् २०२१ मा प्रकाशित भई डिजिटल युगका नयाँ आवश्यकतानुसार परिमार्जन गरिएको हो । यसले स्रोत सूची तयार गर्दा लेखक, शीर्षक र स्रोतलाई मूल आधार मानी लचिलो ढाँचा प्रस्तुत गर्दछ । अनुसन्धानमा एमएलएका पुराना संस्करणहरूसँग नवौँ संस्करणको तुलना गर्दै यसमा भएका नवीतनम सुधारहरूबारे व्याख्या गरिएको छ । नेपाली भाषी अनुसन्धानकर्ताका लागि अङ्ग्रेजी शैलीहरू बुझ्न कठिन हुने सन्दर्भमा यस लेखले नेपाली भाषामै एमएलए शैलीको सार र प्रयोग विधि बुझाउन मद्दत पुर्‍याउने अपेक्षा गरिएको छ । यस लेखमा उदाहरण, व्याख्या र गुणात्मक अध्ययन विधिमार्फत शैलीका मूलभूत पाटाहरूलाई सरल तर सुस्पष्ट ढङ्गले प्रस्तुत गर्नुका साथै उद्धरण र सन्दर्भाङ्कनका विविध उदाहरणहरू पनि समावेश गरिएका छन् । समग्रमा एमएलए नवौँ संस्करण अनुसन्धाताहरूका लागि लेखनमा एकरूपता, पारदर्शिता र शुद्धता कायम गर्न उपयोगी, लचिलो र प्रयोगमैत्री शैली हो यसको प्रभावकारी प्रयोगले नेपाली अनुसन्धान परम्परालाई अन्तर्राष्ट्रिय मान्यतासँग जोड्ने मद्दत गर्ने छ

शब्दकुञ्जी : अनुसन्धान, उद्धरण, प्रविधि, शैली, सन्दर्भस्रोत

विषय परिचय

अनुसन्धानकर्ताले अनुसन्धानलाई एकरूपता दिउन् भनी विभिन्न प्रकृतिका शैलीहरू प्रचलनमा ल्याइएका छन् । तीमध्ये अमेरिकन साइकोलोजिकल एसोसियसन (American Psychological Association -APA), मोर्डन ल्याङ्गवेज असोसियसन (Modern Language Association -MLA), सिकागो स्टाइल (Chicago Style / Chicago Manual of Style -CMOS), तुरेबियन स्टाइल (Turabian Style), वेन्कुवर स्टाइल (Vancouver Style), हावर्ट स्टाइल (Harvard Style) र ब्रिली चाइनिज साइटेसन स्टाइल गाइड (Brill Chinese Citation Style Guide) जस्ता बहुप्रचलित म्यानुअल रहेका छन् । यस लेखमा मोर्डन ल्याङ्गवेज एसोसियसन ह्यान्डबुक (एमएलए) का प्रावधानहरूको चर्चा गरिँदै छ। अमेरिकाको आधुनिक भाषा सङ्घको स्थापना सन् १८८३ मा भएको हो । यो भाषा र साहित्यको अध्ययन र शिक्षणलाई प्रवर्धन गर्नका लागि स्थापना गरिएको हो। यसै संस्थाले एमएलए शैली पुस्तकको प्रकाशन गरेको देखिन्छ । एमएलए शैली पुस्तकको विकास निम्नलिखित चरणबद्ध रूपमा भएको पाइन्छ-

पहिलो प्रकाशन (१९४४): एमएलएको पहिलो संस्करण "MLA Handbook for Writers of Research Papers" सन् १९४४ मा प्रकाशित भएको थियो। यसले अनुसन्धानात्मक लेखनका लागि आधारभूत दिशानिर्देशहरू प्रस्तुत गरेको थियो

आधिकारिक शैली (१९५१): सन् १९५१ मा एमएलएले पहिलोपटक आफ्नो आधिकारिक लेखन शैली प्रस्तुत गरेको थियो। यसले पाण्डुलिपि तयार पार्ने र उद्धरण गर्ने तरिका र शैलीका मानदण्डहरू प्रस्तुत गरेको थियो

एमएलए ह्यान्डबुकको पहिलो संस्करण (१९७७): सन् १९७७ मा एमएलए ह्यान्डबुकको पहिलो पूर्ण संस्करण प्रकाशित भएको थियो  यसले उद्धरण र लेखन शैलीका विशिष्ट मानदण्डहरूलाई औपचारिक रूपमा स्थापित गर्‍यो

यसबाट अनुसन्धान गर्ने अनुसन्धाता र विद्यार्थीहरूलाई उद्धरण र स्रोतको के कसरी व्यवस्थापन गर्ने भन्नेबारे दिशानिर्देश गर्ने काम भयो। त्यसपछिका संस्करणहरूमा विकसित हुँदै गएका प्रकाशन र शैक्षिक अभ्यासहरू तथा विद्युतीय माध्यमको आगमन र तिनीहरूमा प्रकाशित सामग्रीको स्रोत, उद्धरण र सन्दर्भ कसरी दिने भन्ने कुरालाई पनि अद्यावधिक गर्दै लगेको देखिन्छ (एमएलए ह्यान्डबुक)

आधुनिक भाषा सङ्घलाई सङ्क्षिप्त रूपमा एमएलए भनिन्छ । यो अङ्ग्रेजी भाषाको Modern Language Association को नेपाली रूपान्तर हो । यसलाई अङ्ग्रेजीमा सङ्क्षिप्त रूपमा MLA वा MLA Style भनिन्छ। यसका कुनै एकल लेखक वा एकल सम्पादक छैनन् । यो सामूहिक प्रयासबाट तयार पारिएको दस्तावेज हो । यसलाई तयार पार्न भाषा र साहित्यका विद्वान्‌हरूको उल्लेख्य भूमिका देखिन्छ । यसलाई तयार पारेपछि विज्ञहरूले हेरेर अन्तिम रूप दिने काम गर्छन् । सामान्यतया एमएलए शैलीको उपयोग भाषा र साहित्यका क्षेत्रमा अनुसन्धान गर्ने अनुसन्धाताहरूले गर्छन् । अनुसन्धाताहरूले आफूले अनुसन्धानमा उपयोग गरेका कृतिहरूको उचित उद्धरण र सन्दर्भस्रोतहरू स्पष्ट ढङ्गले पाठकहरूका अगाडि राख्नका लागि यस शैलीको प्रयोग गर्छन् । अहिले यो विश्वभरका शैक्षिक संस्थाहरूमा व्यापकरूपमा प्रचलित छ

एमएलए म्यानुअल वा एमएलए ह्यान्ड बुकको उद्देश्य साहित्य, भाषा र मानविकी क्षेत्रमा अनुसन्धान र प्रकाशनको मानक प्रणाली स्थापित गर्नु थियो । यस म्यानुअलले विशेषगरी अनुसन्धानकर्ताहरूलाई आफ्ना शैक्षिक लेखहरू, शोधपत्रहरू, पुस्तकहरू र अन्य प्रकारका शैक्षिक प्रकाशनहरूलाई व्यवस्थित तरिकाले अनुसन्धानामा समावेश गर्न सहयोग पुर्‍याएको छ एमएलए म्यानुअलको सुरुआत मुख्यरूपमा संस्कृति, विज्ञान, साहित्य भाषाशास्त्रमा अनुसन्धान गर्दै आएका वैज्ञानिक, विद्वान्‌हरूका लागि गरिएको थियो । सन् १९५० र १९६० को दशकमा मानविकी क्षेत्रमा अध्ययन गर्न चाहने विद्यार्थीहरू, प्रोफेसरहरू र लेखकहरूको सङ्ख्यामा वृद्धि भएका कारण अनुसन्धान कार्यको व्यवस्थित लेखन प्रणाली आवश्यक परेको थियो। यसै कारणले एमएलए म्यानुअलको आवश्यकता झन महत्त्वपूर्ण बन्न गयो

यस म्यानुअलको अर्को मुख्य उद्देश्य भनेको विद्वान्‌हरूलाई तथ्यहरूको सही प्रस्तुति, स्रोतको सटिक उद्धरण लेखनको शुद्धता जस्ता महत्त्वपूर्ण पक्षहरूमा मार्गदर्शन गर्नु थियो । सन् १९८४ मा एमएलए म्यानुअललाई अझ परिमार्जित रूपमा प्रस्तुत गरियो त्यसपछि यसले उद्धरण र पुस्तक सूची तयार गर्नका लागि नयाँ मानदण्डहरू स्थापित गर्‍यो । त्यसयता यसका विभिन्न संस्करणहरू प्रकाशित हुँदै आएका छन् । हरेक नयाँ संस्करणमा शैक्षिक लेखन र प्रकाशनमा नयाँ प्रविधि तथा नयाँ स्रोतहरूलाई समावेश गर्ने प्रयास गरिएको छ । पछिल्लो समयमा डिजिटल स्रोतहरू, अनलाइन अनुसन्धान, विभिन्न प्रकारका मल्टिमिडिया सामग्रीहरूको उद्धरण प्रणालीलाई समावेश गर्न आवश्यक परेका कारण एमएलए म्यानुअलले पनि आफ्ना नियमहरूमा परिवर्तन र सुधार गर्दै आएको छ

समयसँगै यसका विभिन्न संस्करणहरू प्रकाशित हुँदै आएका छन् । हरेक नयाँ संस्करणमा शैक्षिक लेखन र प्रकाशनमा नयाँ प्रविधि तथा नयाँ स्रोतहरूलाई समावेश गर्ने प्रयास गरिएको छ। पछिल्लो समयमा डिजिटल स्रोतहरू, अनलाइन अनुसन्धान, विभिन्न प्रकारका मल्टिमिडिया सामग्रीहरूको उद्धरण प्रणालीलाई समावेश गर्न आवश्यक परेका कारण एमएलए म्यानुअलले पनि आफ्ना नियमहरूमा परिवर्तन र सुधार गर्दै आएको छ । सन् २०१६ मा प्रकाशित गरिएको आठौँ संस्करणले अनलाइन स्रोतहरूको उद्धरणका लागि नयाँ नियमहरू प्रस्तुत गरेका कारण एमएलए म्यानुअल अनुसन्धानकर्ताहरूका लागि अझ प्रासङ्गिक बनेको थियो

एमएलए नवौँ संस्करण सन् २०२१ प्रकाशित भएको हो। वर्तमान अवस्थामा यही संस्करण प्रचलनमा छ । यसले विद्वान्‌हरूलाई डिजिटल सामग्री, भिडियोहरू, सामाजिक सञ्जाल र अन्य अनलाइन प्लेटफर्महरूबाट उद्धरण गर्ने थप मानदण्डहरू दिएको छ। एमएलए म्यानुअलको भूमिका शैक्षिक लेखनमा अत्यधिक महत्त्वपूर्ण छ किनकि यसले विश्वव्यापी रूपमा मानविकी र साहित्य क्षेत्रमा लेखिएको लेखनका लागि सर्वमान्य मानक ढाँचा प्रदान गर्दछ । समग्रमा एमएलए म्यानुअलको इतिहास लामो छ र यसले शोधकर्ता, विद्यार्थी र लेखकहरूलाई विश्वसनीय शैक्षिक लेखनको दिशामा मार्गदर्शन गर्दै आएको छ । यसको निरन्तर विकास र सुधारले लेखनमा शुद्धता र सुस्पष्टता ल्याउन महत्त्वपूर्ण योगदान पुर्‍याएको छ

एमएलए नवौँ संस्करण २०२१ ले विशेष गरी साहित्य, अनुसन्धान र शैक्षिक लेखनमा एमएलएका ढाँचामा केही नयाँ नियमहरू र सुधारहरू ल्याएको छ । यस संस्करणले एमएलए आठौँ संस्करणका आधारलाई परिमार्जन गरेर थप स्पष्टता र लचिलोपना हुने गरेर बनाएको छ । जसले गर्दा विद्यार्थी र अनुसन्धानकर्ताहरूलाई स्रोतहरू सही ढङ्गले उद्धृत गर्न मद्दत गर्दछ। यसमा मुख्य परिवर्तनहरूमा पाठ वा गर्भे उद्धरण (In-test citation) र स्रोत वा सन्दर्भहरूको सूची बनाउने प्रक्रिया समावेश छ। यसले डिजिटल स्रोतहरूको उद्धरणलाई विशेष प्राथमिकता दिएको छ। यसमा वेबसाइटहरू, ईबुकहरू र अन्य अनलाइन सामग्रीलाई सजिलै समेट्न सजिलो बनाएको छ । यस संस्करणको उद्देश्य स्रोतहरूलाई सही रूपमा उद्धृत गर्दै अध्ययनलाई सजिलो बनाउनु हो (एमएलए ह्यान्डबुक, नवौँ संस्करण) मोर्डन ल्याङ्गवेज एसोसियसन ह्यान्डबुकका प्रावधानका रूपमा विभिन्न विद्वान्‌हरूले कलम चलाएका छन् । यस विषयमा बन्धु (२०६५) ले यसलाई लेखक पृष्ठ पद्धति भनी यसका प्रावधानहरूको चर्चा गरेका छन् । यसमा एमएलएका सातौँ संस्करणका प्रावधानहरू समेटिएको देखिन्छ (पृ.९४-११०)

श्रेष्ठ (२०७७) ले एमएलए शैलीअनुसार अभिलेखीकरण गर्ने ढाँचा भनी यसका प्रावधानहरू उल्लेख गरेका छन् । यसमा पनि आठौँ संस्करणलाई समावेश गरिए पनि अनलाइन प्रकाशनका बारेमा खासै उल्लेख गरिएको पाइँदैन (पृ.११६-१३०)

पाण्डे (२०७८) ले एमएलए र एपिए पद्धतिअनुसार सन्दर्भ सामग्रीसूचीका नमुनाहरू प्रस्तुत गरेका छन् । यसमा उनले एपिए छैटौँ र एमएलए आठौँ संस्करणका प्रावधानहरूलाई समेटेका छन्

यी सबैमा एक त एमएलएका सबै प्रावधानहरूको हुबहु चर्चा गरिएको छैन भने भएका चर्चा पनि यसको नवौँ संस्करणअनुरूपका छैनन् । त्यसैले तिनले समग्र एमएलएका प्रावधानबारे प्रकाश पार्न नसकेको देखिन्छ । यस लेखमा एमएलएको नवौँ संस्करणका प्रावधानहरूको पूर्ण जानकारी दिने प्रयास गरिएको छ

नेपाली भाषा र साहित्यका क्षेत्रमा पनि केही अनुसन्धाताहरूले एमएलए शैलीको प्रयोग गरेर आफ्ना अनुसन्धानहरू गर्ने र विद्यार्थीहरूलाई गराउने गरेको पाइन्छ। विशेष गरेर अङ्ग्रेजी भाषामा पहुँच नभएका नेपाली, संस्कृत, मैथिली, नेवारी, भोजपुरी, थारुलगायतका भाषाका अनुसन्धाताहरूले एमएलए शैलीको प्रयोग गर्न चाहेमा त्यसबारे अनभिज्ञ हुँदा अप्ठ्यारो हुने गरेको देखिन्छ। यही समस्याको समाधान गर्नतर्फ प्रस्तुत लेख केन्द्रित छ। त्यसैले 'एमएलए शैलीको नवौँ संस्करणका प्रावधानअनुसार उद्धरण र सन्दर्भ कसरी गरिन्छ ?' भन्ने मूल समस्यालाई लिएर प्रस्तुत लेख तयार पारिएको हो मोर्डन ल्याङ्गवेज एसोसियसन'ले ह्यान्डबुकको नवौँ संस्करणका प्रावधानहरूको समीक्षात्मक गर्नु नै यस लेखको प्रमुख उद्देश्य रहेको छ यसमा एमएलए शैलीबाहेक अन्य शैलीको प्रसङ्गवश उल्लेख मात्रै छ तर अध्ययन गरिएको छैन । यो प्रस्तुत लेखको सीमा हो

अध्ययन विधि

यस अध्ययनमा निम्नानुसारको अध्ययन विधि अवलम्बन गरिएको छ :

अनुसन्धानको ढाँचा : यो दस्तावेजको विश्लेषणमा आधारित गुणात्मक ढाँचाको अध्ययन हो। यसमा कृतिबाट प्राप्त तथ्यको समीक्षात्मक विश्लेषण गरी निष्कर्षमा पुग्ने काम गरिएको छ

नमुना छनोट : प्रस्तुत अध्ययनमा अनुसन्धानका विभिन्न ढाँचासँग सम्बन्धित पक्षमध्ये सोद्देश्यमूलक नमुना छनोट पद्धतिका आधारमा एमएलए ह्यान्डबुकको नवौँ संस्करणका मुख्य प्रावधानहरूको समीक्षा गर्ने कार्य छनोट गरिएको छ

तथ्य सङ्कलन : प्रस्तुत अध्ययनमा एमएलए नवौँ संस्करणसँग सम्बन्धित विभिन्न कृति, लेखका साथै सूक्ष्म अवलोकन र प्रयोगलाई आधार बनाएर तथ्य सङ्कलन गरिएको छ

तथ्य सङ्कलनका साधन : यस अध्ययनमा प्राथमिक र द्वितीय स्रोतका दस्तावेजको विश्लेषण गरिएको छ । यसका लागि विभिन्न प्रकाशित पुस्तक, पत्रिका, लेख र विद्युतीय माध्यमको उपयोग गरिएको छ। त्यसैले यसमा प्रकाशित दस्तावेज र विद्युतीय माध्यमबाट प्राप्त तथ्यको समीक्षात्मक विश्लेषण गरी निष्कर्ष निकाल्ने प्रयास गरिएको छ

तथ्य विश्लेषण प्रक्रिया : प्राप्त तथ्यको वर्णन, तुलना र त्यसको पुष्टिका लागि उदाहरणसमेत दिई विश्लेषण गरेर निष्कर्षमा पुग्ने काम गरिएको छ । अवलोकन, उदाहरण र समीक्षा गरी निष्कर्ष निकालिएको छ

सैद्धान्तिक पर्याधार

         प्रस्तुत लेखमा मोर्डन ल्याङ्गवेज एसोसियसन ह्यान्डबुकको नवौँ संस्करणका प्रावधानहरूको समीक्षात्मक विश्लेषण गर्ने कार्यलाई मुख्य आधार बनाइएको छ । यसलाई सङ्क्षिप्तमा एमएलए वा एमएलए शैली वा ढाँचा मात्र भनेर चिनिन्छ। यसमा अनुसन्धान र प्रकाशनसँग सम्बन्धित सबै पक्षका बारेमा प्रकाश पारिएको छ । यस संस्करणमा १२ प्वाइन्टका टाइम्स न्यु रोमन र सुपाठ्य गरी जम्मा दुईओटा फन्ट सिफारिस गरिएका छन्। अनुसन्धाताले एमएलए शैलीको नवौँ संस्कणअनुसार अनुसन्धानलाई व्यवस्थित गर्न, प्रकाशन र प्रसारण गर्न यसका प्रावधान बुझ्नुपर्ने हुन्छ । प्रस्तुत लेखमा उक्त कृतिमा भएका प्रावधानहरूको वर्णन र समीक्षा गरिएकाले त्यसका लागि निम्नलिखित कुराहरूलाई सैद्धान्तिक पर्याधार बनाइएको छ :

()   मानकीकरणको सिद्धान्त: कुनै पनि लेखन शैलीको मुख्य उद्देश्य प्राज्ञिक एकरूपता कायम गर्नु हो । यस सिद्धान्तअन्तर्गत एमएलए नवौँ संस्करणले कसरी विश्वव्यापी रूपमा शोध लेखनलाई एउटै मानकमा ल्याउन खोजेको छ भन्ने पक्षको विश्लेषण गरिएको छ। यसमा उद्धरण र सन्दर्भ सूचीका नियमहरूमा आएको सरलीकरण र यसले शोधको विश्वसनीयतामा पुर्‍याउने योगदानका बारेमा सोदाहरण चर्चा गरिएको छ

(स्रोतको नैतिकता र बौद्धिक चोरी निवारण: यसले शोधार्थीको नैतिकतामा जोड दिन्छ। एमएलए शैलीले अरूको विचारलाई उचित श्रेय दिएर 'बौद्धिक चोरी' रोक्न सघाउँछ। नवौँ संस्करणले अपनाएको विस्तृत कन्टेनर मोडेलले स्रोतको पारदर्शितालाई सुनिश्चित गर्छ

()   समावेशी र न्यायसङ्गत भाषाको सिद्धान्त: यसको नवौँ संस्करणले समावेशी भाषाको प्रयोग, लैङ्गिक तटस्थता, जाति, अपाङ्गता र सांस्कृतिक संवेदनशीलतालाई सम्बोधन गर्ने मार्गनिर्देशन प्रदान गरेको छ। उत्तरआधुनिकतावादी वा विनिर्माणवादी दृष्टिकोणबाट यस सिद्धान्तको प्रयोग गरी पाठको भाषिक अधिकारको सुनिश्चित गर्न जोड दिन्छ

()   प्रविधि र डिजिटल साक्षरता: वर्तमान समयमा अनलाइन स्रोतहरूको बाहुल्य छ। नवौँ संस्करणले डिजिटल डाटाबेस, सामाजिक सञ्जाल र ईबुकहरूलाई उद्धरण र सन्दर्भमा व्यवस्थित गरेको छ। यसले सूचनाको पहुँच र प्रविधिमैत्री लेखनलाई महत्त्व दिन्छ

()   प्रयोगकर्ता केन्द्रित दृष्टिकोण: यस सिद्धान्तले नियमहरूको जटिलताभन्दा प्रयोगकर्ताको सहजतालाई प्राथमिकता दिन्छ। आठौँ संस्करणको तुलनामा नवौँले थप स्पष्टता र उदाहरणहरू समेटेको छ । यसबाट शोधार्थी र सम्पादकहरूलाई सजिलो भएको छ

         उपर्युक्त पाँच ओटा मुख्य आधारहरूमा केन्द्रित भएर एमएलए शैलीको नवौँ संस्करणको सान्दर्भिकता, व्यापकताको वर्णन र समीक्षा गरिएको छ। यिनैका आधारमा एमएलए शैलीमा भएका प्रावधानहरूलाई नै यस लेखमा सैद्धान्तिक आधार मानिएको छ (एमएलए ह्यान्डबुक, नवौँ संस्करण) । यो निर्मित आधार नभई एमएलए ह्यान्डबुकद्वारा निर्धारित आधारको वर्णन मात्र हो। त्यसैले यस लेखमा विशेष गरी एमएलए शैलीअनुसार अनुसन्धानात्मक लेखको व्यवस्थित प्रस्तुति, प्रकाशन र प्रसारण गर्ने कुरालाई नै सैद्धान्तिक पर्याधारका रूपमा लिई सोही आधारमा लेखको वर्णन र समीक्षा गरिएको छ । 

छलफल र विमर्श

         मोर्डन ल्याङ्गवेज एसोसियसन ह्यान्डबुक (एमएलए) शैली पुस्तिका हो। यसको नवौँ संस्करण सन् २०२१ मा अद्यावधिक भई प्रकाशित भएको देखिन्छ। एमएलएले कागजातका लागि समान मानदण्डहरू सिर्जना गर्दै तिनलाई आवश्यकतानुसार परिमार्जन गर्दै गएको देखिन्छ यो विशेष गरी लेखक, सम्पादक, विद्यार्थी र लेखन पेसा अँगालेकाहरूलाई मार्गदर्शन दिनका लागि बनाइएको हो। यसमा अनुसन्धानकर्ताले आफ्नो अनुसन्धानमा प्रयोग गरेका सामग्रीहरूलाई एकरूपता प्रदान गरेर पाठकहरूलाई उचित स्रोतबारे जानकारी दिन अपनाइने मानदण्डहरूको बयान गरिएको छ । एमएलए नवौँ संस्करणका प्रावधाहरूको वर्णन र समीक्षा गर्दा नवौँ संस्करणमा प्रमुख परिवर्तनहरू, अनुसन्धान परियोजनाहरू, व्याकरणको प्राविधिक पक्ष, अन्तर्राष्ट्रिय स्रोतहरूको उद्धरण, स्रोतको उद्धृत पृष्ठ, पाठभित्र उद्धरणहरू, उद्धरण गर्ने तरिका, पुस्तक, पत्रिका र अनलाइन सामग्रीको सन्दर्भ सूचीजस्ता शीर्षकमा आधारित रहेर समीक्षा गरिएको छ

         एमएलए म्यानुअल बुकको नवौँ संस्करणमा सात ओटा अध्यायहरू छन् जसमा विशेष गरी मानविकी क्षेत्रका लागि गरिने लेखन र शोधका लागि दिशानिर्देश प्रस्तुत गरिएको छ । यसले उद्धरण शैली, स्रोतहरूलाई सही रूपमा उद्धृत गर्ने तरिका र प्राज्ञिक लेखनमा प्रयोग गरिने विभिन्न मानदण्डहरूको विस्तृत रूपमा चर्चा गरिएको छ। यहाँ ती अध्यायहरूको सङ्क्षिप्त परिचय उल्लेख गरिएको छ:

. अनुसन्धान परियोजनाको ढाँचा

         यस अध्यायमा अनुसन्धान कागजातको आकार, प्रारूप र संरचनाका बारेमा मार्गदर्शन दिइएको छ । यसमा विभिन्न प्रकारका तत्त्वहरू जस्तै कागजातको चारैतिरको मार्जिन कति हुनुपर्छ भन्ने विवरण, कागजातको मानदण्ड र पाठको लम्बाइ, प्रकार र अन्तरालको नियम, शीर्षक लेख्ने विधि र तिनको प्रयोगसम्बन्धी नियम, चलिरहेको हेड र पृष्ठ नम्बरहरू जस्तै कागजातको हेडिङ र पृष्ठ नम्बरको प्रस्तुति, कागजातको भित्रको प्रमुख र उपशीर्षकहरूको व्यवस्थापन, उद्धरणहरूको सूची अन्तिममा कहाँ र कसरी राख्ने भन्ने कुरा, कागजातमा तालिका, चित्र र अन्य दृश्यात्मक सामग्रीको प्रयोगका लागि निर्देशहरू, कागजातमा सूचीहरू कसरी तयार गर्ने र प्रस्तुत गर्ने जस्ता कुराहरू समावेश गरिएका छन्

. गद्य लेखनका प्राविधिक पक्षहरू

         यस अध्यायमा गद्य लेखनका सबै प्रकारका भाषागत मानदण्ड र व्याकरणका नियमहरूका बारेमा छलफल गरिएको छ । यसमा हिज्जे, शब्दकोश, विराम चिह्न, अल्पविराम, अर्धविराम, योजक, सङ्ख्याङ्कन र अन्य लेखनमा ध्यान दिनुपर्ने महत्त्वपूर्ण विधिहरू समावेश गरिएका छन्

. समावेशी भाषाका सिद्धान्तहरू

         यस अध्यायमा समावेशी भाषाको महत्त्व र यसको प्रयोगका सिद्धान्तहरू प्रस्तुत गरिएको छ । यसले सन्देशको सामाजिक र सांस्कृतिक संवेदनशीलता र समानता सुनिश्चित गर्नका लागि लेखनमा कसरी समावेशी भाषा प्रयोग गर्ने भनेर बताउँछ। यसले जात, धर्म, लिङ्ग, यौन अभिव्यक्ति र अन्य संवेदनशील विषयहरूमा लेख्नका लागि सावधानीपूर्वक भाषा चयन गर्न प्रोत्साहित गर्दछ

. दस्तावेजीकरण स्रोतहरू: एक सिंहावलोकन

         यस अध्यायमा साहित्यिक चोरी र त्यसबाट बच्ने उपायहरूको वर्णन छ। यसमा स्रोतहरूको सही उद्धरण, क्रेडिट दिने, प्याराफ्रेजिङ अर्थात् पाठको अर्थलाई पुन: लेख्ने तरिका, स्रोतका विचार र उद्धरणहरूको कसरी व्याख्या गर्ने त्यसको तरिका र अनुसन्धानमा यथार्थता कायम राख्ने उपायबारे वर्णन गरिएको छ

. साहित्यिक स्रोतहरूको व्यवस्थापन

         यस अध्यायमा साहित्यिक चोरी, उद्धरण, श्रेय दिने, अनुच्छेद उद्धरण र व्याख्या गर्ने प्रक्रिया र त्यहाँका विभिन्न नियमहरूका बारेमा जानकारी दिइएको छ । यसले सन्दर्भ र स्रोतहरूको सही प्रयोग र उद्धरण प्रणालीको महत्त्वलाई स्पष्ट पार्छ । साहित्यिक चोरी गम्भीर भएकाले यसका कानुनी र नैतिक परिणामहरूको व्याख्या, साहित्यिक चोरीबाट बच्नका लागि गरिने उपायहरू र स्रोतहरूलाई ठिकसँग उद्धृत गर्ने तरिकाहरू यसमा समावेश गरिएका छन् । सावधानीपूर्वक अनुसन्धान गरेर स्रोतको साँचो जानकारी तथ्यको सङ्कलन र त्यसलाई सही तरिकामा उद्धृत गर्ने तरिकाका साथै अरूहरूका विचार र श्रमका लागि उचित महत्त्व दिनुपर्छ । स्रोतको विचारलाई आफ्नै शब्दमा व्यक्त गर्ने तरिका र त्यसको महत्त्व र उद्धृत गरिएका स्रोतलाई कसरी व्याख्या गर्ने र आफूले बुझेकालाई स्पष्ट तरिकामा प्रस्तुत गर्ने प्रक्रिया तथा उद्धरणका विभिन्न प्रकार र कहिले उद्धरण गर्ने भनेर स्पष्ट दिशानिर्देश गर्ने काम गरिएको छ । उद्धृत नगरी प्रयोग गर्न सकिने कुरा के के हुन् तिनको जानकारी र उदाहरणहरू तथा अध्ययनको सुरुवातमा रहेका छोटा उद्धरणहरू र तिनको प्रयोगका नियमहरू यसमा समावेश गरिएका छन्

. उद्धृत कार्यहरूको सूची

         यस अध्यायमा स्रोतहरूको सूची तयार गर्ने विधिहरूका बारेमा विवरण दिइएको छ । यसमा विभिन्न प्रकारका स्रोत र तिनीहरूको संरचना, लेखकको नाम, शीर्षक, प्रकाशन मिति, संस्करण, पृष्ठ नम्बर, वेबसाइट र युआरएल (URL) र अन्य महत्त्वपूर्ण जानकारीका बारेमा दिशानिर्देश छन् । यसमा उद्धृत कार्यहरूको सूची तयार गर्दा पालन गर्ने संरचना र प्रारूपका नियमहरूका साथै उद्धरणका लागि आवश्यक पर्ने प्रमुख जानकारी जस्तै लेखक, शीर्षक, प्रकाशक, मिति आदिबारे उल्लेख गरिएको छ। यसअन्तर्गत लेखकको नामको सही रूप र हिज्जे शैली, लेखकको नामलाई कस्तो ढाँचामा प्रस्तुत गर्ने, एक लेखकको उद्धरणको संरचना, दुई लेखकहरूका उद्धरण र तिनीहरूका नाम कसरी लेख्ने, तीन वा बढी लेखकहरू भएका स्रोतको उद्धरण विधिका बारेमा उल्लेख गरिएको छ । यस्तै लेखकको नाम उल्लेख गरिएको छैन भने त्यसको लेखन शैली कस्तो हुने, संगठन, समूह र सरकारी लेखकहरू भएको अवस्थामा उद्धृत गर्ने तरिकाबारे उल्लेख गरिएको छ

         स्रोतको शीर्षक कस्तो प्रकारले लेख्ने र यसलाई उपयुक्त तरिकाले प्रयोग कसरी गर्ने, कन्टेनरको शीर्षक अर्थात् सम्पादित कृति वा ठुलो ठेलीभित्रको लेख छ भने त्यसलाई कस्तो ढाँचामा लेख्ने, प्रकाशकको नाम र प्रकाशन वर्ष, स्रोतको प्रकाशित मिति र त्यसको उद्धरण, पृष्ठ सङ्ख्या कुन समयमा उद्धृत गर्ने र कसरी त्यसलाई मापन गर्ने, अनलाइन स्रोतका लागि डिजिटल वस्तु पहिचानकर्ता (DOI) र वेबसाइट (URL) उद्धृत गर्दा के के कुराहरूमा ध्यान दिनुपर्छ । एकभन्दा बढी सामग्रीको सम्पादनमा भएका स्रोतहरूको उद्धृत गर्दा त्यसका विशेषताहरूको ध्यान दिने तरिकाका साथै स्रोतलाई मानकीकरण गर्ने र त्यसको शैलीअनुसार प्रस्तुत गर्ने विधिहरूका बारेमा यस अध्यायमा विस्तृत रूपमा जानकारी दिइएको छ

.  पाठमा उद्धरण गरिने स्रोतहरू

         पाठमा गरिने उद्धरण गर्भे उद्धरण हो । उद्धरणहरूका स्रोतको सटीक जानकारी दिनका लागि यसको प्रयोग गरिन्छ । यसले पाठकलाई सन्दर्भसूचीमा उल्लिखित विस्तृत विवरणसम्म पुर्‍याउन मद्दत गर्दछ । यसमा लेखकको नाम, प्रकाशन वर्ष र पृष्ठ सङ्ख्या दिनुपर्छ । एक वा बढी कामहरू एउटै लेखकले प्रकाशित गरेका छन् भने पनि पाठ उद्धरणमा नाम, वर्ष र उपयुक्त पृष्ठ सङ्ख्या समावेश गरिन्छ । यस्तै सहलेखकहरू कर्पोरेट लेखकहरू (संस्था नै लेखकका रूपमा भए) एउटै थरका दुई लेखकहरू, एउटै लेख वा लेखकका दुई वा दुईभन्दा बढी कृतिहरू, लेखक नभएका कृतिको शीर्षकद्वारा सूचीबद्ध गर्नुपर्ने कृतिको उद्धरण गर्दा कृतिको पहिलो शब्द वा दुई शब्द उद्धरण चिह्नभित्र राखेर सुरु गर्ने, शीर्षक लामो भएमा कार्यको शीर्षक छोटो पारेर प्रयोग गर्ने, बारम्बार प्रयोग हुने शीर्षकहरूलाई सङ्क्षिप्त रूप दिन सकिन्छ तर पहिलोपटक स्रोत स्पष्ट गर्न शीर्षकका ठाउँमा सङ्क्षिप्त वर्णन गर्नुपर्छ । स्रोतमा उपलब्ध विभाजनहरू (जस्तै, खण्ड, अनुच्छेद, पङ्क्ति) समावेश गर्नुपर्छ पृष्ठ सङ्ख्या सिधै उद्धरण चिह्नभित्र राख्ने सामान्यतया उद्धृत कार्यहरू गर्दा बाइबल, शास्त्रीय साहित्य वा प्राचीन ग्रन्थहरूका लागि पारम्परिक विभाजन प्रयोग गर्नुपर्छ

         प्राचीन र मध्यकालीन कार्यहरू छन् भने लेखक, कामको नाम र विभाजन सङ्केत गर्नुपर्छ । धार्मिक ग्रन्थको संस्करण पनि समावेश गर्नुपर्छ । पृष्ठ नभएको अवस्थामा, मुख्य लेखक र स्रोतको प्रकार उल्लेख गर्ने, अडियो/भिडियोको उद्धरण गर्दा समय किटान गर्नुपर्ने हुन्छ । उद्धरण चिह्नहरूमा शीर्षकहरू राख्ने तरिकाहरू उद्धरणको शैली र स्रोतको प्रकारमा आधारित हुन्छ । उद्धरणसहित विराम चिह्न दिने, स्रोतहरू उद्धृत गर्ने र व्याख्या गर्ने, चार वा त्यसभन्दा थोरै पङ्क्तिको उद्धरणलाई पाठमै समेट्नुपर्ने तर चार पङ्क्तिभन्दा लामो उद्धरणलाई छुट्टै खण्डमा प्रस्तुत गर्नुपर्ने हुन्छ । कविता भए उद्धरण चिह्नमा राखी हरफ विभाजन गर्ने, संवाद भए पात्रहरूको नाम दिने, स्रोतमा त्रुटिहरू छन् भने तिनलाई कोष्ठकमा देखाउने अनुवादित उद्धरणलाई मूल भाषा र अनुवाद दुवै समावेश गर्नुपर्छ । अप्रत्यक्ष स्रोतहरू भए उद्धरण चिह्नमा राख्ने, प्रिन्टबाहेक अन्य स्रोतहरू जस्तै भिडियोहरू भए निर्देशक, शीर्षक, मिडिया प्रकार र प्रकाशन मिति, वेब परियोजनाहरू भए वेबसाइटको नाम, URL र पहुँच मिति र मौखिक प्रस्तुतिहरू भए प्रस्तुतकर्ता, शीर्षक र प्रस्तुतिको मिति उल्लेख गर्नुपर्छ

.  नोटहरू

         बिब्लोग्राफिक नोटलाई स्रोतहरूको सूचीका रूपमा प्रस्तुत गरिन्छ। सामग्री नोट पाठको स्पष्टता र विवरणलाई थप्न प्रयोग गरिन्छ । नोटको शैली पाठ्यसामग्रीको स्वरूपसँग मिल्दोजुल्दो हुनुपर्छ। पाठमा नोटको स्थान पृष्ठको फेदमा (फुटनोट) वा खण्डको अन्त्यमा (इन्ड नोट) राख्नुपर्छ

परिशिष्ट

         सङ्क्षिप्त रूपहरू, विराम चिह्नहरू, अल्पविराम, पूर्णविराम, अर्धविराम, प्रश्नवाचक, विस्मयादिबोधक आदि। सामान्यतया प्राज्ञिक सङ्क्षिप्त रूपहरू जस्तै- गापा, नपा, प्रजिअ, नशिका, प्रम, डा. इत्यादि लेख्नुपर्छ। सन्दर्भ सामग्रीका शीर्षकहरू छोटकरी रूप दिँदा मूल शीर्षकलाई ध्यान दिनुपर्छ

नवौँ संस्करणमा प्रमुख परिवर्तनहरू

         एमएलए नवौँ संस्करणले आठौँ संस्करणका कतिपय सन्दर्भहरूलाई आत्मसात् गर्दै परिवर्तित सन्दर्भमा प्रयोगमा आएका विषयको उद्धरण र सन्दर्भ कसरी दिने भन्ने बारेमा बढी जोड दिइएको छ। विशेष गरी विद्युतीय उपकरणमा प्रकाशित सामग्रीहरूको उद्धरण र सन्दर्भ कसरी गर्ने भन्ने कुराको सम्बोधन नवौँ संस्करणले गरेको छ । वेबमा प्रकाशित हुने सामग्रीहरू छिटोभन्दा छिटो अद्यावधिक हुन्छन् । तिनलाई उद्धरण र सन्दर्भ कसरी गर्ने भन्ने कुरामा यो संस्करण केन्द्रित छ

         नवौँ संस्करणमा विभिन्न प्रकारका कागजातहरूमा प्रत्येक तत्त्वको परिभाषा, प्रत्येक तत्त्व कहाँ फेला पार्ने र यसलाई कसरी शैली दिने भनेर व्याख्या गरेर कार्यहरू उद्धृत सूची सिर्जना गर्नेबारे यसमा थप मार्गदर्शन गरिएको छ । नोट, वेबसाइट, अन्तर्वार्ता युट्युव भिडियोहरू आदिको प्रयोग गर्ने तरिका समावेश गरेर एमएलए नवौँ संस्करण तयार पारिएको छ। पाठभित्र गरिने उद्धरण, एमएलए आठौँ संस्करणमा समावेश नगरिएका पक्षहरूको पुन: परिचय दिइएको छ भने समावेशी भाषाको नयाँ अध्याय थप गरिएको छ । यस्तै अङ्ग्रेजी भाषाको व्याकरणका प्राविधिक पक्षका बारेमा जानकारी दिनुका साथै विस्तारित दिशानिर्देश समावेश गरिएको छ

अनुसन्धान परियोजनाहरू

         पहिलो संस्करणपछि एमएलए नवौं संस्करणले अनुसन्धान पृष्ठको ढाँचाका लागि त्यससँग सम्बन्धित दिशानिर्देशहरू पुन: प्रस्तुत गरेको छ । सामान्य ढाँचा निर्देशन एमएलए सातौँबाट एकरूपता रहेको छ। यस संस्करणमा तालिका, चित्र र सूची ढाँचामा विस्तार गरिएको छ  

व्याकरणको प्राविधिक पक्ष

         यसमा हिज्जे, विराम चिह्न र गद्यमा इटालिकको प्रयोगमा अद्यावधिक गरिएको छ । यसमा अल्पविराम, उद्धरण चिह्न, योजक, कोष्ठक, विस्मयसूचक र विकल्पवाचकको सही र गलत प्रयोगहरूबारे उदाहरणहरू प्रस्तुत छन् । यसबाहेकका व्याकरण र प्राविधिक पक्षहरू अङ्ग्रेजी भाषासँग सम्बन्धित छन् । देवनागरी लिपिमा लेखिने भाषाका लागि आवश्यक पर्ने व्याकरण तिनको प्रयोगका प्राविधिक पक्षहरू अपनाउनुपर्ने देखिन्छ

अन्तर्राष्ट्रिय स्रोतहरूको उद्धरण

         एमएलए नवौं संस्करणमा अन्तर्राष्ट्रिय स्रोतहरू र बहुभाषिक उद्धरणमा विशेष ध्यान दिइएको छ। यसले अन्य भाषाहरूका सामग्रीलाई सहजै समावेश गर्न सक्षम बनाउँछ । यी नयाँ विषयहरू र दिशानिर्देशहरूले विद्यार्थीहरू र लेखकहरूलाई लेखन र अनुसन्धान प्रक्रियामा थप सहुलियत र सटीकता प्रदान गर्न सहयोग पुर्‍याउने छ न्। एमएलए म्यानुअल बुकको नवौँ संस्करणमा राख्न सकिने तर नराखिएका वा यसका केही सीमाहरू पनि छन् । यसमा देवनागरी लिपिमा लेखिने भाषाहरूका सामग्रीहरूको उद्धरणमा भने कुनै विशेष निर्देशन छैन जसले गर्दा देवनागरी लिपिमा लेखिने सामग्रीको उद्धरण र सन्दर्भाङ्कनमा कठिनाइ हुन सक्छ । यस्तो कठिनाइ भएको अवस्थामा सम्बन्धित देवनागरी लिपिको वर्णविन्यासअनुसार प्रयोग गरिएको देखिन्छ तर यसरी प्रयोग गर्दा लेखक र भाषानुसार भिन्नता भएर पनि समस्या सिर्जना भएको देखिन्छ

स्रोतको उद्धृत पृष्ठ

         स्रोत कसरी उद्धरण गर्ने भन्ने कुराको मार्गदर्शन एमएलए ह्यान्डबुकको सबैभन्दा व्यापक रूपमा प्रयोग हुने तत्त्वहरूमध्ये एक हो । यसमा उद्धरणसम्बन्धी मार्गदर्शन, विवरण र उदाहरणहरू सबैभन्दा स्पष्ट र अद्यावधिक गरिएका छन्  फलस्वरूप प्रत्येक तत्त्व परिभाषित गरिएका छन् । स्रोतको उद्धरणमा यी तत्त्वहरूको विवरण कसरी प्रस्तुत गर्ने भन्ने कुरा उल्लेख गरिएको छ यसमा निम्नलिखित पक्ष उल्लेख्य छन् :

  • लेखक : कसरी उपनाम, नाम परिवर्तन र तिनको उद्धृत गर्ने; विभिन्न नाममा प्रकाशित एउटै लेखकको काम कसरी उद्धृत गर्ने; र सरकारी प्रकाशनका लेखकहरूको नाम कसरी प्रस्तुत गर्ने
  • स्रोतको शीर्षक : शीर्षकको सट्टा विवरण कसरी प्रदान गर्ने; कसरी प्रभावकारी र उचित रूपमा शीर्षक छोटो बनाउने; शीर्षक र शीर्षकविहीन अगाडि र पछाडि जानकारी कसरी सूचीबद्ध गर्ने, जस्तै- वेबसाइट कन्टेनर, एप र डाटाबेससहित विभिन्न स्रोतका शीर्षकहरू सही तरिकाले कसरी व्यवस्थापन गर्ने  
  • सम्पादन (सम्पादित कार्य) : सम्पादक र अन्य लेखकहरूका बिच कसरी भेद गर्ने; र बहुविध, समान भूमिका निर्वाह गर्ने योगदानकर्ताहरूलाई स्रोतसँग कसरी उद्धरण गर्ने  
  • संस्करणहरू : ई-पुस्तकहरूसहित विभिन्न प्रकारका कार्यहरूमा "संस्करण" कसरी पहिचान गर्ने
  • नम्बर : पुस्तकहरू, छापा जर्नलहरू, डाटाबेस लेखहरू, PDF जर्नल लेखहरू, टेलिभिजन कार्यक्रमहरू र पोडकास्टहरूजस्ता विभिन्न कार्यहरूमा "नम्बर" कसरी फेला पार्ने; कार्यहरू उद्धृत पृष्ठभित्र नम्बरहरू (हिज्जे, अङ्क, सङ्ख्याहरू) कसरी व्यवस्थापन गर्ने
  • प्रकाशक : प्रकाशक कुन हो भनेर कसरी पहिचान गर्ने; सरकारी एजेन्सीहरू र गैरसरकारी संस्थाहरूको सूची कसरी बनाउने; र प्रकाशकहरूको नाम कसरी सङ्क्षिप्त गर्ने
  • प्रकाशन मिति : परम्परागतरूपमा अभिलेखन गरिएका कृतिहरूको उद्धरण कसरी गर्ने ? जस्तै- व्यक्तिगत पत्रहरू, अनलाइन कार्यहरूको संशोधन, प्रत्यक्ष घटनाहरूको उपस्थिति र अझै प्रकाशित हुन बाँकी कामहरूका लागि 'प्रकाशोन्मुख' हो भने तिनको प्रकाशन मिति कसरी उल्लेख गर्ने
  • स्थान : प्रिन्ट, अनलाइन, आफैँले हेरेका वा सुनेका द्वितीय कार्यहरू र छापा कार्यहरूबाहेक अन्य भौतिक मिडियामा स्थान कसरी पत्ता लगाउने; यसले URL लाई वैकल्पिक पनि बनाउँछ

एमएलए उद्धरण शैली

. पाठभित्र उद्धरण (In-Text Citation) - यसमा लेखकको थर र पृष्ठ सङ्ख्या वाक्यको अन्त्यमा कोष्ठकभित्र राखिन्छ, यसलाई नेपालीमा लेखक-मिति पद्धति पनि भनिएको पाइन्छ, जस्तै :

"पहिलो भाषाका सिकारुका लागि दोस्रो भाषा सिकाइमा जटिलता हुन्छ" (अधिकारी ४५)

यसलाई प्रत्यक्ष उद्धरण (Direct Quote) भनिन्छ । यसमा लेखकको भनाइलाई जस्ताको त्यस्तै लिई उद्धरण चिह्नमा राखिन्छ

२ .  वर्णनात्मक उद्धरण (Narrative Citation - लेखक वाक्यभित्र)

लेखकको नाम वाक्यभित्रै समावेश गर्दाको अवस्थामा केवल पृष्ठ सङ्ख्या कोष्ठकभित्र राखिन्छ । यो शैली लेखकको नामलाई प्राकृतिक रूपमा वाक्यमा समावेश गर्दा प्रयोग गरिन्छ, जस्तै :
अधिकारीका अनुसार "पढाइ एक जटिल संज्ञानात्मक प्रक्रिया हो" (४५)

३.  शब्दान्तरण (Paraphrase)

लेखकको विचारलाई पुनः आफ्नै शब्दमा व्यक्त गर्दा उद्धरण चिह्न आवश्यक पर्दैन, जस्तै:

शर्मा (१२) का अनुसार शिक्षा सामाजिक प्रगतिको प्रमुख आधार हो। उद्धरण पत्यक्ष र परोक्ष वा शब्दान्तरण गरेर दुई प्रकारका हुन्छन् । यिनका विविध उदारहणहरू निम्नलिखित रूपमा उल्लेख गरिएको पाइन्छ :

१ .  प्रत्यक्ष उद्धरण

गाली साहित्य नेपाली मौलिकता हो” (घोडासैनी ६८)

नेपाली बालबोधक शब्द संरचना फरक छ” (घोडासैनी ५)

२ .  परोक्ष उद्धरण वा शब्दान्तरण

अछामी गालीहरूले व्यङ्ग्य र व्यथा व्यक्त गर्छन् (घोडासैनी)

नेपाली बाल साहित्यको शब्दावली बालबोधमुखी हुनुपर्ने आवश्यकता घोडासैनीले औँल्याएका छन् (घोडासैनी)।

यदि दुई जना लेखक छन् भने, दुवैको थर प्रयोग गर्ने-
(
शर्मा र अधिकारी ४५)

यदि तीन जना वा बढी लेखक छन् भने पहिलो लेखकको थरपछि अन्य लेख्ने- (पोखरेल र अन्य २२)

यदि लेखक संस्था वा सङ्गठन हो भने संस्थाको नाम प्रयोग गर्ने- (नेपाल भाषा आयोग २३)

यदि कुनै लेखक उल्लेख छैनन् भने सार शीर्षकलाई उद्धरण चिन्हमा लेख्ने (“नेकशुले)

यदि एउटै लेखकका धेरै कृति छन् भने थरपछि छोटो शीर्षक राख्ने र किताबको शीर्षकलाई इटालिक गर्ने, जस्तै-

(श्रेष्ठ, कथाको दर्शन ५४)

MLA मा शब्द सङ्ख्या नभई पङ्क्तिको सङ्ख्या हेर्ने चलन छ ।

यदि उद्धरणले लेखमा चार वा चारभन्दा बढी पङ्क्ति ओगट्छ भने त्यसलाई दोहोरो उद्धरणमा लेख्नुपर्छ

शब्द सङ्ख्या लगभग ४०-४५ भन्दा बढी भयो भने प्रायः चार पङ्क्ति पार गर्छ तर अन्तिम निर्णय पङ्क्तिको लम्बाइले निर्धारण गर्छ, जस्तै :

शर्मा (२५) ले लेखेका छन्:

साहित्यकारका विचारले समाजमा जागरुकता ल्याउने काम गर्दछ । यसले केवल समाजका व्यावहारिक पक्षलाई मात्र प्रभावित गर्दैन बरु मानिसको मानसिक अवस्थालाई पनि परिवर्तन गर्दछ

संस्थागत उद्धरण (लेखकको नाम नहुँदा)

यदि उद्धृत गरिएका स्रोतमा लेखकको नाम उपलब्ध छैन भने संस्था वा शीर्षक प्रयोग गर्नुपर्ने हुन्छ । एमएलए शैलीमा यदि कुनै पुस्तक, रिपोर्ट, वेबसाइट आदि प्रकाशित गर्दा लेखकको नाम नदिएको भए त्यसका स्थानमा संस्थाको नाम वा स्रोतको शीर्षक प्रयोग गर्नुपर्छ, जस्तै-

प्रत्यक्ष उद्धरण
"
समाजमा शैक्षिक जागरूकता वृद्धिका लागि नयाँ कदम चालिएका छन्" (शिक्षा मन्त्रालय ३५)।

शब्दान्तरण
शिक्षा मन्त्रालय (३५) का अनुसार नेपालमा शैक्षिक सुधारका लागि विभिन्न प्रयासहरू भएका छन्

अनलाइन सामग्रीको उद्धरण (लेखक उपलब्ध नहुँदा)

अनलाइन सामग्रीको उद्धरण गर्दा लेखकको नाम नभएको अवस्थामा स्रोतको शीर्षक प्रयोग गर्नुपर्छ। यदि शीर्षक लामो छ भने सङ्क्षिप्त शीर्षक पनि लेख्न सकिन्छ, जस्तै -

प्रत्यक्ष उद्धरण
"
नेपाली साहित्यको भविष्य उज्ज्वल छ" (नेपाल साहित्य परिषद्)

शब्दान्तरण
नेपाल साहित्य परिषद् (१२०) का अनुसार नेपाली साहित्यले भविष्यमा ठुलो प्रगति गर्ने सम्भावना छ

अनलाइन लेखहरूको उद्धरण (लेखकसँग)

अनलाइन लेखमा लेखकको नाम पनि उपलब्ध छ भने त्यसमा लेखकको नाम पृष्ठ सङ्ख्या (यदि उपलब्ध छ भने) राख्नुपर्छ, जस्तै -

प्रत्यक्ष उद्धरण
"
विज्ञान र प्रविधिका क्षेत्रमा नयाँ नवीकरणका लागि महत्त्वपूर्ण कदम चालिएको छ" (सिंह)

शब्दान्तरण
सिंहका अनुसार प्राविधिक क्षेत्रका लागि नेपालले नयाँ पहलहरू थालेको छ

अनलाइन स्रोतहरूको उद्धरण (URL)

यदि अनलाइन स्रोत (जस्तै वेबसाइट, ब्लग, आदि) लाई उद्धृत गर्दा URL को प्रयोग कोष्ठकमा गर्नुपर्छ । यसका लागि वेबसाइटको नाम वा शीर्षक उद्धृत गर्न सकिन्छ, जस्तै-

प्रत्यक्ष उद्धरण
"
नेपालमा विकासका लागि शिक्षा एउटा महत्त्वपूर्ण घटक हो" (नेपाल शिक्षा परिषद्, www.nepaledu .org)

शब्दान्तरण
नेपाल शिक्षा परिषद्का अनुसार शिक्षा नेपालमा सामाजिक र आर्थिक विकासका लागि महत्त्वपूर्ण भूमिका खेल्दछ (www   .nepaledu.org)

ब्लग लेखहरूको उद्धरण (लेखकसँग)

यदि ब्लगको उद्धरण गर्नुपर्‍यो भने त्यसमा लेखकको नाम, ब्लगको शीर्षकब्लग लेखिएको मिति राख्नुपर्छ, जस्तै -

प्रत्यक्ष उद्धरण
"
शिक्षा हाम्रो समाजको परिवर्तनको कारक हो" (कुमार, शिक्षा र समाज १० माघ २०२२)

शब्दान्तरण
कुमार (१० माघ २०२२) का अनुसार शिक्षा समाजमा परिवर्तन ल्याउन महत्त्वपूर्ण कारक हो

सञ्चार माध्यमको उद्धरण

सञ्चार माध्यममा प्रकाशित सामग्रीका लागि च्यानलको नाम (रेडियो, टेलिभिजन आदि), समाचारको शीर्षक समाचारको मिति लेख्नुपर्छ :

प्रत्यक्ष उद्धरण
"
नेपालले वर्षा र मौसमका बारेमा नयाँ अध्ययन सुरु गरेको छ" (नेपाल टेलिभिजन, १५ साउन २०८२)

शब्दान्तरण
नेपाल टेलिभिजन (१५ साउन २०८२) का अनुसार नेपालले मौसमको अध्ययनलाई प्राथमिकता दिएको छ

एमएलए शैलीमा सन्दर्भ सूची

पुस्तकको सन्दर्भ दिँदा लेखकको अन्तिम नाम वा थर, अल्पविराम, त्यसपछि नाम र मध्यनाम अनि पूर्णविराम चिह्न दिनुपर्छ। त्यसपछि इटालिक गरेर किताबको शीर्षक राखी पूर्णविराम त्यसपछि प्रकाशक र प्रकाशन मिति राख्नुपर्छ। नेपाली भाषाको वर्णविन्यास र चिह्न प्रयोगसम्बन्धी निमय एमएलएले भनिदिने कुरा नभएकाले पूर्णविराम दिँदा नेपाली लेखाइमा भद्दा देखिने हुँदा त्यसका ठाउँमा दशमलव नै प्रयोग गर्दा उचित हुने ठानी सोहीअनुसार उदाहरण प्रस्तुत गरिएको छ, जस्तै :

घोडासैनी, खगेन्द्र. कथाको रचनाविधान. सनलाइट पब्लिकेसन, २०७७  

घोडासैनी, खगेन्द्र. नबजेका धुनहरू. राप्ती साहित्य परिषद्, २०७७

बन्धु, चूडामणि. नेपाली लोकसाहित्य. एकता बुक्स, २०५८

एउटै लेखकका दुई कृति एकै साल प्रकाशित भएको अवस्थामा एकै ठाउँमा सन्दर्भ दिनुपर्छ, जस्तै :

श्रेष्ठ, दयाराम. कथाको दर्शन. शिखा बुक्स, २०७७ क

श्रेष्ठ, दयाराम. साहित्यको अनुसन्धान व्यवस्थापन. शिखा बुक्स, २०७७ ख

अनलाइन सामग्रीको सन्दर्भ सूची

पुस्तकको सन्दर्भ

अनलाइन मध्यमबाट प्रकाशन भएका सामग्रीको सन्दर्भ दिँदा- लेखकको नाम. कृतिको शीर्षक. प्रकाशक, प्रकाशनको मिति. URL. राख्नुपर्छ । तल अनलाइनमा प्रकाशित विभिन्न प्रकृतिका सामग्रीको अलग अलग सन्दर्भ सूचीका उदाहरणहरू प्रस्तुत गरिएका छन् :

दैनिक पत्रिका

अनमोल, अमृता. "महिनावारी विभेदविरुद्ध बोलौँ." कान्तिपुर, २०७८, मङ्सिर २

मासिक पत्रिका

घोडासैनी, खगेन्द्र. "गाली साहित्य र अछामी गालीमा व्यङ्ग्यचेता." मिर्मिरे, खण्ड ६, अङ्क २१७, २०५९, असोज, पृ. ६६-७१।

जर्नलहरूको सन्दर्भ

घोडासैनी, खगेन्द्र. "नेपाली बालबोधक शब्दावली." हैमप्रभा, खण्ड २०, २०७८, पृ. १-१२।

पावर प्वाइन्ट स्लाइड

घोडासैनी, खगेन्द्र. प्रश्नोत्तर लेखन (पावर प्वाइन्ट स्लाइड). स्लाइड सेयर, २०७७।

भूमिका

गिरी, मधुसूदन. "लोकवार्ताको अध्ययन परम्परामा नव गोरेटो." अछामी गालीको अध्ययन, सनलाइट पब्लिकेसन, २०७७।

अप्रकाशित (किताब/पाण्डुलिपि)

उपाध्याय, उदयराम. औषधी मुलो र मन्त्रसङ्ग्रह [अप्रकाशित सङ्कलन]. पङ्क्तिकारसँग सुरक्षित ।

समूह लेखनको सन्दर्भ

अमेरिकन साइकोलोजिकल एसोसियसन. पब्लिकेसन म्यानुअल अफ द अमेरिकन साइकोलोजिकल एसोसियसन. सातौँ संस्करण, अथर, २०२०।

सम्पादित पुस्तकको लेखको सन्दर्भ

अधिकारी, हेमाङ्गराज. "प्राथमिक कालको आख्यानेतर गद्य." चूडामणि बन्धु (सम्पा.). नेपाली साहित्यको इतिहास (प्रथम खण्ड), नेपाल राजकीय प्रज्ञाप्रतिष्ठान, २०६०, पृ. २८५-३०९।

लेखक र सम्पादक दुवै भएका कृतिको सन्दर्भाङ्कन

विश्वनाथ. साहित्यदर्पण.  सम्पा. लोकमणि दहाल, चौखम्बा संस्कृत सिरिज, २०१६।

गोयन्दका, हरिकृष्णदास.  सम्पा. ईशादि नौ उपदिषद्. गीताप्रेस, २०६८।

मूल लेखक र त्यसको अनुवाद भएका कृतिको सन्दर्भ

ब्लुमफिल्ड. भाषा. अनु. श्रीप्रसाद शाह, दोस्रो. संस्करण, तेज प्रकाशन, १९५६ (मूल कृति प्रकाशन सन् १९१७) ।

कार्यशालामा प्रस्तुत कार्यपत्र

घोडासैनी, खगेन्द्र. "विज्ञसमीक्षित लेखको संरचना र ढाँचा." विज्ञसमीक्षित लेख लेखनसम्बन्धी दुई दिने कार्यशाला, जनता विद्यापीठ अनुसन्धान व्यवस्थापन एकाइद्वारा आयोजित, पुस १३-१४, २०७६, जनता विद्यापीठ

शोत्रपत्र र शोधप्रबन्ध

उपाध्याय, खगेन्द्रप्रसाद. अछामी भाषिकाको शब्दकोश निर्माण [अप्रकाशित स्नातकोत्तर एमएड शोधपत्र]. त्रिभुवन विश्वविद्यालय, २०६४

उपाध्याय, खगेन्द्रप्रसाद. अछामी भाषिका र नेपाली भाषाको व्यतिरेकी अध्ययन [अप्रकाशित विद्यावारिधि शोधप्रबन्ध]. त्रिभुवन विश्वविद्यालय, २०७२

नेपाल प्रज्ञा प्रतिष्ठान. प्रज्ञा नेपाली बृहत् शब्दकोश. नेपाल प्रज्ञा प्रतिष्ठान, २०७९

नेपाल सरकार, जनसङ्ख्या मन्त्रालय. राष्ट्रिय जनगणनाको नतिजा २०७८ को प्रतिवेदन. काठमाडौं, २०७९

विद्युतीय उपकरणमा प्रकाशित सामग्रीको सन्दर्भसूची

DOI प्राप्त पुस्तकको सन्दर्भ दिँदा लेखक, कृति, प्रकाशक र प्रकाशन मितिका अतिरिक्त विद्युतीय पहिचानको हाइपर लिङ्क पनि समावेश गर्नुपर्छ र यस्तो हाइपर लिङ्कको निलो रङ्गमै राख्नुपर्छ

अनलाइन पुस्तक

लेखकको नाम. "पृष्ठको शीर्षक." वेबसाइटको नाम, प्रकाशक, प्रकाशन मिति, URL.

घोडासैनी, खगेन्द्र र अन्य, सम्पा. उदय-कौसिला स्मृतिग्रन्थ. जैमिनीय मञ्च, २०८०. https://zenodo .org/records/8343486?fbclid=IwAR0RU9qo-piBm8PQ6TXjnCZs2Qe_4WwUDD9eFdl26KqItDkgZeUEDURA9Fk

अनलाइन पत्रिका लेख

लेखकको नाम. "लेखको शीर्षक." पत्रिकाको नाम, खण्ड, अङ्क, वर्ष, पृष्ठहरूको सङ्ख्या, URL.

घोडासैनी, खगेन्द्र. "नेपाली बालबोधक शब्दावली." हैमप्रभा, २०७८, https://www.nepjol.info/index   .php/haimaprabha/article/view/38585.

अनलाइन समाचार लेख

लेखकको नाम. "लेखको शीर्षक." समाचारको नाम, प्रकाशन मिति, URL.

काफ्ले, नारायण. "सरकारको नीति तथा कार्यक्रम." गोरखापत्र, २०८३, वैशाख २८, https://epaper.gorkhapatraonline   .com/pdf/4315?file=/uploads/file/2026/5/gorkhapatra/2026-05-11-11-55-24-2083-01-29.pdf.

ब्लग पोस्ट

लेखकको नाम. "ब्लगको शीर्षक." ब्लगको नाम, प्रकाशन मिति, URL.

घोडासैनी, खगेन्द्र. महर्षि जैमिनिको जीवनी. २०२२, https://ghodasainik.blogspot.com/2020/05/blog-post_13   .html.

अनलाइन भिडियो

"भिडियोको शीर्षक." प्लेटफर्मको नाम, अपलोड गर्ने मिति, URL.

"पौरस्त्य शोध पद्धतिको निरूपण सङ्गोष्ठीको समुद्घाटन." Reading Culture Campaign- 2076, Jul 27, 2025,

https://www.youtube   .com/watch?v=rcIAIZ4qgBM

विकिपिडिया

विकिपिडिया. डिजिटल वस्तु पहिचानकर्ता. २०२२, https://en.wikipedia.org/wiki/Digital_object_identifier.

युट्युब स्लाइड

Mahmood, Khalid. "Preparing a Reference List in APA 7th Edition." YouTube, 30 July 2021, https://www   .youtube   .com/watch?v=1DCmvtu2BVQ.

पावर प्वाइन्ट र स्लाइड

घोडासैनी, खगेन्द्र. प्रश्नोत्तर लेखन (पावर प्वाइन्ट स्लाइड). स्लाइड सेयर, २०७७. (वेभ ठेगाना नभएको स्लाइड)

Housand, B. Gam on! Integrating Games and Simulations in the Classroom [PowerPoint slides]. Slide Share, 2016, https://www.slideshare.net/brianhousand/game-on-iagc-2016.

फेसबुक

घोडासैनी, खगेन्द्र. "न बन्द न खुला." Facebook, २५ जुन २०१६, https://www.facebook.com/khahendra   .hodasaini/post1560592413990966.

अनलाइन स्रोतको सन्दर्भ दिँदा URL वा सामग्रीको लिङ्कलाई क्लिप गरे राख्नुपर्छ यसलाई आफूले प्राप्त गरेको मितिसहित उल्लेख गर्नुपर्छ । यस्तो URL सधैं सक्रिय छ वा छैन भन्ने कुराको पूर्ण जानकारी राख्नुपर्छ । यदि कुनै सामग्रीको लेखक छैन भने शीर्षकको प्रयोग गर्न सकिन्छ । यस्तै डिजिटल सामग्रीको सन्दर्भ दिँदा सामग्रीको अद्यावधिक भएको मिति अनिवार्य रूपमा उल्लेख गर्नुपर्छ । यदि अद्यावधिक नहुने प्रकृतिको भिडियो, पिडिएफ, स्लाइड रहेछ भने अपलोड मिति उल्लेख गरे पुग्छ। यहाँ अलनाइन सामग्रीको सन्दर्भाङ्कन गर्ने विभिन्न प्रकृतिका उदाहरणहरू दिइएका छन् । यिनले अनलाइन सामग्रीको सन्दर्भ लेख्नका लागि एमएलए ढाँचाको प्रयोग गर्न मद्दत गर्ने छन्

निष्कर्ष

'मोर्डन ल्याङ्गवेज एसोसियसन'ले तयार पारेको ह्यान्डबुकको नवौँ संस्करणका प्रावधानहरूको समीक्षात्मक अध्ययन गर्नुलाई प्रमुख उद्देश्य बनाएर यो लेख तयार पारिएको छ । यसमा 'एमएलए शैलीको नवौँ संस्करणका प्रावधानअनुसार उद्धरण र सन्दर्भ कसरी गरिन्छ ?' भन्ने मूल समस्यालाई आधार बनाइएको छ यो शैली विशेषतः भाषा, साहित्य र मानविकी अध्ययनमा प्रयोग हुने सर्वमान्य शैक्षिक लेखन प्रणाली हुँदा यसले उद्धरण र सन्दर्भ व्यवस्थापनलाई सरल, सुस्पष्ट र सुसङ्गत बनाउने उद्देश्य राखेको छ

एमएलए शैलीको विकास सन् १९४४ देखि हुँदै आएको छ भने यसको नवौँ संस्करण सन् २०२१ मा प्रकाशित भई विशेषतः डिजिटल स्रोतहरूको प्रयोगलाई प्राथमिकतामा राख्दै अद्यावधिक गरिएको छ। यस संस्करणमा पाठभित्र उद्धरण (In text citation) देखि लिएर सन्दर्भ सूची निर्माणसम्मका सबै पक्षहरूलाई आधुनिक प्रविधिअनुरूप स्पष्ट ढाँचामा प्रस्तुत गरिएको पाइन्छ । यसमा सन्दर्भ सामग्रीसूची अङ्कन गर्ने तरिका, सन्दर्भ सूची प्रविष्टिको सिद्धान्त, पत्रिकाको सन्दर्भाङ्कन, विद्युतीय स्रोतका सामग्रीहरूको सन्दर्भाङ्कन, पुस्तकको सन्दर्भाङ्कन, कार्यशालामा प्रस्तुत कार्यपत्र, शोत्रपत्र र शोधप्रबन्ध, ब्लग पोस्ट, भूमिका, अप्रकाशित (किताब/पाण्डुलिपि), युटुब भडियो, पावर प्वाइन्ट स्लाइड, फेसबुक पोस्टको सन्दर्भ, वेभ पेज र वेभसाइट, सूचना परिवर्तन हुने वेभ पेजजस्ता सामग्रीको सन्दर्भाङ्कन गर्ने तरिकाका बारेमा उदाहरणसहित वर्णन गरिएको छ

यसमा एमएलएका पुराना संस्करणहरूको तुलनात्मक विश्लेषण गर्दै नवौँ संस्करणमा आएका परिवर्तन र सुधारबारे समीक्षा प्रस्तुत गरिएको छ । साथै देवनागरी लिपिमा आधारित भएर गरिने अनुसन्धानमा आइपर्ने समस्याको पनि यथास्थानमा उचित उपाय सुझाइएको छ । यसले नेपाली भाषामा एमएलए नवौँ संस्करणको उपयोग र प्राविधिक पक्षहरू बुझाउन महत्त्वपूर्ण योगदान पुर्‍याएको छ

यस लेखमा गुणात्मक अध्ययन विधि, सूक्ष्म विश्लेषण र उदाहरणहरूको प्रयोग गरी एमएलए नवौँ संस्करणको समीक्षा गरिएको छ । यस आधारमा एमएलए नवौँ संस्करण अनुसन्धानको एकरूपता, विश्वसनीयता र शुद्धताका दृष्टिले अत्यन्त प्रभावकारी, लचिलो र प्रयोगमैत्री शैली हुनाले यसबाट नेपाली अनुसन्धान परम्परालाई पनि थप व्यवस्थित बनाउने सम्भावना देखिन्छ

एमएलए नवौँ संस्करण अनुसन्धानात्मक लेखनमा प्रयोग हुने शैली भएका कारण यसले उद्धरण र सन्दर्भ सूचीलाई स्पष्ट र वैज्ञानिक बनाउने उद्देश्य राखेको पाइन्छ । यो शैली विशेषतः मानविकी, भाषा र साहित्यजस्ता विषयमा व्यापक प्रयोग गरिन्छ। प्रस्तुत लेखमा एमएलए शैलीको विकासक्रम, नवौँ संस्करणमा भएका परिवर्तनहरू र तिनीहरूको व्यावहारिक प्रयोगबारे विश्लेषण गरिएको छ

सन् २०२१ मा प्रकाशित नवौँ संस्करणले विशेषतः डिजिटल युगमा बढ्दो सूचना स्रोतहरूको व्यवस्थापनलाई ध्यानमा राखेको छ। यसले सन्दर्भसूची निर्माणमा मुख्यरूपमा तीन ओटा तत्त्व 'लेखक, शीर्षक र स्रोत'लाई प्राथमिकतामा राखेर अन्य विवरणहरू प्रासङ्गिकताका आधारमा समायोजन गर्न सकिने लचिलो ढाँचा प्रस्तुत गर्दछ

एमएलए नवौँ संस्करणलाई नेपाली भाषामा सरल र व्यावहारिकरूपमा बुझाउने प्रयास गरिएकाले यसबाट नेपाली अनुसन्धाताहरू लाभान्वित हुने छन् । उदाहरणसहित शैलीका आधारभूत सिद्धान्तहरू, उद्धरण र सन्दर्भ सूची तयार गर्ने विधि र डिजिटल स्रोतहरू प्रयोग गर्दा अपनाउनुपर्ने सावधानीहरू पनि स्पष्ट गरिएको छ

त्यसैले एमएलए नवौँ संस्करण शैली अनुसन्धान लेखनमा एकरूपता, पारदर्शिता र शुद्धता कायम गर्न अत्यन्त उपयोगी छ । विशेषतः नेपाली अनुसन्धानकर्ताहरूका लागि यस शैलीको ज्ञान अनिवार्य बन्दै गएका कारण यसले उनीहरूको लेखनलाई अन्तर्राष्ट्रिय मान्यतासँग पनि जोड्ने अवसर प्रदान गर्दछ

कृतज्ञता ज्ञापन

       अन्त्यमा लेख तयार पार्दा उद्धरणमा समावेश गरिएका कृतिका कृतिकार, अग्रज लेखहरू तथा प्रस्तुत लेखको समीक्षा गरी परिमार्जनका लागि उपयुक्त सुझाव दिनुहुने विषयविज्ञप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछु ।

सन्दर्भ सामग्रीसूची

एमएलए उद्धरण जेनरेटर भनेको के हो ? (अगस्ट-९, २०२५). https://www.mybib.com/tools/mla-citation-generator

अमेरिकन मोडर्न ल्याङ्ग्वेज एसोसिएसन (सन् २०२१). एमएलए ह्यान्डबुक (नवौँ संस्क.). एमएलए

गिबाल्डी, जे. (सन् २००३). एमएलए ह्यान्डबुक फर राइटर्स अफ रिसर्च पेपर्स (छैटौँ संस्क.). मोडर्न ल्याङ्ग्वेज एसोसिएसन

गिबाल्डी, जे. (सन् २००९). एमएलए ह्यान्डबुक (सातौँ संस्क.). मोडर्न ल्याङ्ग्वेज एसोसिएसन

घोडासैनी, खगेन्द्र (२०७८). एपिए सतौँ संस्करणका प्रावधानहरू. हैमप्रभा, २१ (०१), पृ .४२-५९.

https://doi.org/10.3126/haimaprabha.v21i01.44839

घोडासैनी, खगेन्द्र (२०८१, साउन १९). विज्ञसमीक्षित लेखको आधारभूत ढाँचा. नेपाली रिसर्च आर्टिकल.

https://ghodasainik.blogspot.com/2020/07/blog-post_22.html

घोडासैनी, खगेन्द्र (२०८२). शोधमा उद्धरण र सन्दर्भाङ्कन : एपिए र एमएलए शैली (कार्यपत्रको प्रस्तुतीकरण). विश्वविद्यालय अनुदान आयोगको आर्थिक सहयोगमा विन्दुवासिनी संस्कृत विद्यापीठ आरएमसीद्वारा मिति २०८२ वैशाख २५ देखि २९ गतेसम्म आयोजित अनुसन्धान विधि तालिम

पाण्डेय, ताराकान्त (२०७८). सन्दर्भ सामग्रीसूचीको नमुना : एमएलए र एपिए पद्धति (कार्यपत्रको प्रस्तुतीकरण). नेसंवि अनुसन्धान केन्द्रद्वारा सञ्चालित पाठ्यक्रममा आधारित विद्यावारिधि कार्यक्रममा प्रस्तुत. नेसंवि अनसन्धान केन्द्र

प्रुडु अनलाइन राइटिङ ल्याब. (सन् २०२२). एमएलए स्टाइलमा लेखन र उद्धरण: नवौँ संस्करण मार्गदर्शन. https://owl.purdue.edu

फोगल, एच. (सन् २०२१). एमएलए नवौँ संस्करणमा स्रोत उद्धरणका नयाँ दिशानिर्देश. द राइटिङ इन्स्ट्रक्टर, ३५ (३), २१-३०।

बन्धु, चूडामणि (२०६५). अनुसन्धान तथा प्रतिवेदन लेखन. (दोस्रो संस्क.). रत्न पुस्तक भण्डार

मोडर्न ल्याङ्ग्वेज एसोसिएसन (सन् २०१६). एमएलए ह्यान्डबुक (आठौँ संस्क.). एमएलए

मोयल, टी. एम. (सन् २०२१). एमएलए स्टाइल अपडेट: नवौँ संस्करणमा भएका प्रमुख परिवर्तनहरू. जर्नल अफ एकेडेमिक राइटिङ, १५ (२), ३४-४५

लिभिङ्स्टन, एल. (सन् २०२१). एमएलए नवौँ संस्करणको संरचना र अनुप्रयोग. मोडर्न ल्याङ्ग्वेज स्टडिज, ५५ (१), १०-२२

रोज, जे. (सन् २०२२) . एमएलए नवौँ संस्करणको प्रयोगमा आएका व्यावहारिक चुनौतीहरू. कलेज कम्पोजिसन जर्नल, ४४(४), ५६-६८

शेफर, डी. (सन् २०२१). एमएलए नवौँ संस्करण र डिजिटल स्रोतहरूको उद्धरण. इन्फर्मेसन लिटरेसी क्वार्टरली, १३(२), १२-२०

श्रेष्ठ, दयाराम (२०७७). साहित्यको अनुसन्धान व्यवस्थापन (अनुसन्धान दर्शन). शिखा बुक्स

(साभार: घोडासैनी, खगेन्द्र(2026). एमएलए नवौँ संस्करण प्रावधानहरू:उद्धरण र सन्दर्भ. Haimaprabha, 25(01), 24-41. 

https://doi.org/10.3126/haimaprabha.v25i01.96662)

Post a Comment

0 Comments
Post a Comment (0)

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top