'कोरोना कहर’ कविताको विषयवस्तु
डा. खगेन्द्र घोडासैनी
शब्दकुञ्जी : कोरोना, कीटाणु, बन्दाबन्दी, समाज, रोग आदि ।
विषय परिचय
कवि जगत्प्रसाद उपाध्याय (वि.सं. २०२५) को साहित्यक उपनाम ‘प्रेक्षित’ हो । उनी बहुमुखी प्रतिभाका धनी व्यक्ति हुन् । उनले दर्शन र साहित्यमा कलम चलाएका छन् । उनले नेपाली साहित्यका कविता, समालोचना र निबन्ध विधामा कलम चलाए पनि कविता विधामा उनको विशेष योगदान रहेको देखिन्छ । उनको प्रथम प्रकाशित रचना ‘मेरो चाहना’ (कविता, २०४५) हो जुन जनता विद्यापीठअन्तर्गत स्ववियुद्वारा प्रकाशित ‘आमोद’ पत्रिकामा प्रकाशित भएको थियो । यसपछि प्रकाशित उनका काव्यकृतिहरू यसप्रकार छन् : १. ‘आकुञ्चन’ (संयुक्त कवितासङ्ग्रह, २०५०), २. ‘ज्वाला’ (खण्डकाव्य, २०५४), ३. ‘कमिलाको एकता’ (बाल कवितासङ्ग्रह, २०५९), ४. ‘समयका छालहरू’ (कवितासङ्ग्रह, २०६०), ५. ‘हिमाल हेर्न जाऔँ’ (बाल कवितासङ्ग्रह, २०६५), ६. ‘सेता हाँस र मुसाहरू’ (सचित्र बालकथा, २०६६), ७. ‘म, माटो र मुटु’ (कवितासङ्ग्रह, २०७५) र ८. ‘आरम्भ’ (हाइकुसङ्ग्रह, २०७५) रहेका छन् । बन्दाबन्दी सुरु भएपछि प्रकाशित उनका केही फुटकर कविताको विवरण यसप्रकार देखिन्छ : १. कोरोना कहर (२०७६, चैत, २८ गते), म लकडाउनमा छु (२०७६, चैत २७), नयाँ वर्ष मनाउँला (२०७७, वैशाख १ गते), नेपाल मेरो घर (२०७७, वैशाख १३ गते) आदि रहेका छन् । यसैगरी उनका समीक्षात्मक कृतिहरू यसप्रकान् देखिन्छन् : १. साहित्यकार श्यामलको सङ्क्षिप्त जीवनवृत्त–(जीवनी पुस्तिका–२०७४), २. साहित्यकार श्यामप्रसाद : सङ्क्षिप्त परिचय (जीवनी पुस्तिका, २०७३), ३. काव्य परिशीलन (२०७५), ४. केही आलोचनात्मक भूमिकाहरू (२०७५) रहेका छन् । उनका केही कविता सङ्ग्रह, निबन्ध, समालोचनात्मक कृतिहरू प्रकाशोन्मुख रहेको पनि जानकारी प्राप्त भएको छ । उनको ‘कोरोना कहर’ कविता पहिले फेसबुकमा चैत २८ गते र पछि ‘अन्नपूर्ण पोस्ट’ ९२०७७, चैत ३० गते कला÷साहित्य ब्लगमा प्रकाशित भएको देखिन्छ । उनका प्रकृतिप्रेमी विभिन्न फुटकर कवितामध्ये ‘कोरोना कहर’ समसामयिक कविता हो । उनका यी कवितामा समाज, जनजीवन र प्रकृतिको चित्रण गरिएको पाइन्छ । यिनमा मानवता, भ्रातृत्व र एकताको सन्देश व्यक्त गरिएको पाइन्छ । यी कविता परिष्कृत तथा पद्य र गद्य लय ढाँचाका हुनुका साथै बाल र प्रबुद्ध पाठकका लागि पनि उत्तिकै पठनीय देखिन्छन् । उनका कविताका समाजको चित्रणका साथै दार्शनिकता र पूर्वीय चिन्तनको प्रभाव भेटिन्छ । उनका यी सबै कवितामा पाइने विशेषता खोज्नु प्रस्तुत लेखको उद्देश्य होइन । त्यसैले ती सबै कवितासँग सम्बन्धित पक्षको यसमा खोजी गरिएको छैन । उनको ‘कोरोना कहर’ शीर्षकको कविताकै पनि सबै पक्षहरू यसमा औँलयाएको छैन । यसमा कोरोना भाइरसले वर्तमान विश्व समुदायलाई पारेको प्रभाव र उक्त प्रभाव बुझाउने विषयवस्तुलाई कविले यस कवितामा के कति अँगालेका छन् भन्ने विषयको खोजी गर्ने प्रयास गरिएको छ । कोरोनाले विश्वव्यापी प्रभाव पारेको छ । उक्त प्रभावका कारण विश्व मानव समुदायले अनेक समस्या झेल्नु परेको छ । खासगरी बन्दाबन्दीमा कैदी झैँ थुनिएर आर्थिक, समाजिक र व्यावहारिक जीवनमा आइपरेका कठिनाइहरूसँग कसरी जुध्नु परेको छ ? मानिसहरू कोरोनासँग सम्बन्धित समस्याबाट बच्न के कस्ता उपायहरू अवलम्बन गरिहरेका छन् ? यी सबै समस्याको खोजी गर्नुपर्ने देखिन्छ । त्यसैले ‘कोरोना कहर’ कवितामा व्यक्त विषयवस्तु पहिल्याउनु यस लेखको प्रमुख उद्देश्य हो । यो उद्देश्य हासिल गर्न ‘प्रस्तुत लेखमा कोरोना के कस्तो भाइरस हो ? र यसबाट बच्न के कस्ता उपायहरू अपनाउनुपर्दछ’ भन्ने कुरालाई प्रमुख समस्या मानी ‘कोरोना कहर’ कवितामा पाइने विषयवस्तुको विश्लेषण गर्ने प्रयास गरिएको छ ।
अध्ययन विधि
यस अध्ययनमा निम्नानुसारको अध्ययन विधि अवलम्बन गरिएको छ :
अनुसन्धानको ढाँचा : यो गुणात्मक ढाँचाको अध्ययन हो । यसमा कृतिबाट प्राप्त तथ्यको विश्लेषण गरी निष्कर्षमा पुग्ने काम गरिएको छ ।
सहभागी र नमुना छनोट : प्रस्तुत लेखमा जगत्प्रसाद उपाध्यायका सबै कवितालाई जनसङ्ख्याका रूपमा परिभाषित गरिएको छ । यसका लागि सम्भावनारहित नमुना छनोट पद्धतिअन्तर्गतको उद्देश्यमूलक नमुना छनोट पद्धतिका आधारमा उनका रचनामध्ये ‘कोरोना कहर’ शीर्षकको कविता छनोट गरिएको छ ।
तथ्य सङ्कलन : प्रस्तुत अध्ययनमा ‘कोरोना कहर’ कविता र यसको विषयवस्तुसँग सम्बन्धित विभिन्न कृति र लेखहरूलाई आधार बनाएर तथ्य सङ्कलन गरिएको छ ।
तथ्य सङ्कलनका साधन : यस अध्ययनमा दस्तावेजको विश्लेषण गर्न प्राथमिक र द्वितीय स्रोतका विभिन्न प्रकाशित पुस्तक, पत्रिका र अनलाइनमा प्रकाशित लेखहरूको उपयोग गरिएको छ । त्यसैले यसमा प्रकाशित दस्तावेजमा प्राप्त तथ्यको विश्लेषण गरी निष्कर्ष निकाल्ने प्रयास गरिएको छ ।
तथ्य विश्लेषण प्रक्रिया : प्राप्त तथ्यको वर्णन, तुलना र त्यसको पुष्टिका लागि उदाहरणसमेत दिई विश्लेषण गरेर निष्कर्षमा पुग्ने काम गरिएको छ । उदाहरण र समीक्षात्मक विश्लेषण गरेर निष्कर्ष निकाल्ने प्रयास गरिएको यस लेखमा आगमन विधिबाट विश्लेषण गरी निष्कर्ष निकालिएको छ ।
सैद्धान्तिक पर्याधार
साहित्यिक कृतिको समीक्षा गर्न कुनै न कुनै सैद्धान्तिक आधारको आवश्यकता हुन्छ । यस्तो आधार पूर्व स्थापित वा नयाँ दुबै हुन सक्छ । यसैलाई यहाँ सैद्धान्तिक पर्याधार भनिएको छ । प्रस्तुत कविताको समीक्षा गर्न कविताले अँगालेको विषयवस्तुसँग सम्बन्धित सैद्धान्तिक आधारको खोजी गर्दा कोरोनाको सिद्धान्त पहिल्याउनुपर्ने देखिन्छ । ‘कोरोना भाइरस–२०१९’ लाई सङ्क्षिप्तमा ‘कोभिड–१९’ भनिन्छ । कोरोना भाइरसका बारेमा विभिन्न अनलाइन सञ्चारगृहहरूले प्रशस्तै कुराहरू लेखेका छन् । कोरोना भाइरस स्वतन्त्र विश्वकोशका अनुसार आनुवंशिक संरचनामा आरएनए (RNA) भएका भाइरस अर्थात् विषाणुको एउटा समूहलाई वैज्ञानिकहरूले कोरोना भाइरस (oronavirus) नामकरण गरेका छन् । भाइरसको बाह्य रूप किरीट अर्थात् श्रीपेचजस्तै भएकाले अङ्ग्रेजीमा उक्त नाम दिइएको थियो । त्यसलाई नेपालीमा ‘किरीटाकार विषाणु’ वा ’किरीट विषाणु’ पनि भन्न सकिन्छ । तर कोरोना भाइरस नै प्रचलित र सजिलै बुझिने नाम हो । कोरोना भाइरस महामारीले हाम्रो जीवन, सामाजिकता, आर्थिक स्थिति र व्यवहारमा अकस्मात् धेरै परिवर्तन ल्याइदिएको छ । अहिले विश्वभरि कोरोना भाइरसको सङ्क्रमण र त्यसबाट हुने रोग ‘कोभिड–१९’ को त्रास छ । विश्वका अधिकांश देशमा मान्छेका गतिविधिहरू अत्यावश्यक काममा मात्रै सीमित भएका छन् । उक्त भाइरस फैलिन नपाओस् भनेर अवलम्बन गरिएको उपायस्वरूप अधिकांश मानिसहरू घरभित्रै सीमित भई लकडाउन वा बन्दाबन्दीको अवस्थामा छन् । सन् २०१९ को डिसेम्बर महिनामा चिनको बुहान नजिकैको पशुपक्षी व्यापार हुने एउटा हाट बजारमा पहिलो पटक नयाँ भाइरस पत्ता लागेको थियो । त्यसपछि यसको सङ्क्रमण केही महिनामै विश्वभरि फैलियो । उक्त भाइरसको वैज्ञानिक नाम सार्स कोभ–२ (Sars-CoV-2) हो । यसको सङ्क्रमणबाट हुने रोगलाई कोभिड–१९ भनिन्छ ।
यस भाइरसको सङ्क्रमणबाट सन् २०२० जनवरी ५ मा चिनमा पहिलो व्यक्तिको मृत्यु भएको थियो । यस भाइरसको उद्गम र प्रभावबारे धेरै नै समानान्तर सिद्धान्त सार्वजनिक भइरहेका छन् । कोरोनाको उत्पत्तिबारे ‘बायो टेरोरिजम’ जस्तो संवेदनशील र विवादास्पद सिद्धान्त चर्चामा आउनु पनि स्वाभाविक नै हो । खासगरी अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले यसलाई ‘चिनियाँ भाइरस’ को संज्ञा दिएपछि यस महामारीप्रति मानिस सतर्क हुँदै गइरहेका छन् । चिन, रुस, विभिन्न अरबियन देश र सिरियाले चिनमा फैलिएको कोरोना भाइरसका लागि अमेरिका र इजराइललाई दोष दिइरहेका छन् भने अमेरिकाले स्पष्ट रूपमा यसका लागि चिनलाई नै आरोपित गरिरहेको छ । दुबै थरी आरोप प्रत्यारोपका बिच सबैभन्दा रोचक कुरा के हो भने आफ्नो आरोपलाई पुष्टि गर्नसक्ने प्रमाण कसैसँग पनि छैन । सबैसँग आआफ्नै पाराका तर्क मात्रै छन् ।
अहिलेसम्म प्राप्त जानकारीअनुसार अहिले विश्वमा फैलिएको कोरोना भाइरसको परिवार ठुलो छ । यस परिवारमा रहेका सदस्यमध्ये छ ओटा भाइरस मानिसका लागि खतरा हुन् । यिनले मानिसलाई सङ्क्रमित गरी रोग फिँजाउन सक्छन् । चिनमा गतवर्ष देखिएको नोभेल कोरोना भाइरस कोरोना भाइरस परिवारको सातौं सदस्य भएको पुष्टि भएको छ । यो भाइरस परिवारका सदस्य भाइरस मध्ये (SARS-COV, MERS-COV / SARS-COV-2) अहिलेको महामारीको कारक भाइरसले मानिसमा गम्भीर रोग सङ्क्रमण गर्न सक्छ । परिवारका अन्य सदस्य भाइरस (HKU1, NL63, OC43/229E) भने मानिसका लागि त्यति घातक छैनन् । कोभिड–१९ सङ्क्रमणको पहिलो घटनाको प्रत्यक्ष सम्बन्ध बुहानको ‘हुनान सि फुड होलसेल मार्केट’सँग रहेको तथ्य प्रमाणित भइसकेको छ । यसले के प्रमाणित गर्छ भने यो सङ्क्रमण पशुबाट हुँदै मानिससम्म पुगेको थियो । तर पछि तीव्र रूपमा यस भाइरसको सङ्क्रमण मानिसमा फैलिएपछि यो सरुवा रोग भएको तथ्य पनि प्रमाणित भयो । यो सङ्क्रमण मानिसबाट मानिसमा पनि सर्छ, अब त हामी सबैलाई थाहा छ कोभिड–१९ सङ्क्रमण फैलाउने सबैभन्दा ठुलो स्रोत मानिस नै हुन् भन्ने कुरामा पूर्ण विश्वास भइसकेको छ । विश्वभरी फैलिएको वर्तमान महामारी कोभिड–१९ को सम्बन्ध पनि चिनको त्यसै पशु बजारसँग गाँसिएको छ । कोभिड–१९ पूर्ण रूपमा नयाँ प्रकारको कोरोना भाइरस हो । सुवेदी (२०७६) का अनुसार यसपालिको ‘नयाँ’ कोरोना भाइरसका बिरामीमा पनि सामान्यदेखि गम्भीर लक्षण देखिएका छन् । सामान्य लक्षण देखिएको बिरामीले आफूलाई अरू बेला हुनेजस्तो सामान्य रुघाखोकी मात्र होला भनेर बेवास्ता गरिरहन सक्छन् । तिनीहरू आफू त केही समयपछि निको होलान् तर त्यसबिचमा आफ्नो निकट सम्पर्कमा आउने कतिपयलाई रोग सारिसकेका हुन सक्छन् । यो रोगबारे रातोदिन अध्ययन गरिरहेका स्वास्थ्यकर्मी, वैज्ञानिक र जनस्वास्थ्यकर्मीले अहिलेसम्म ठम्याउन नसकेको महत्त्वपूर्ण विषय रोग २–३ फिटको दुरीसम्म जान सक्ने हावामा हुने -यालका छिटाबाट मात्र सर्छ कि टाढा टाढासम्म उडेर जान सक्ने अति सूक्ष्म कणबाट पनि सर्छ भन्ने हो ।
नौटिया (२०७६) का अनुसार कोरोना भाइरस नाक र मुखबाट मानिसको शरीरमा प्रवेश गर्छ । सङ्क्रमित व्यक्तिको संसर्गमा आउने अरू मानिसलाई उक्त भाइरस सर्न सक्छ । सङ्क्रमित व्यक्तिले खोक्दा वा हाछ्युँ गर्दा नाक र मुखबाट निस्किएका ससाना छिटामा कोरोना भाइरस हुन्छन् । उनीहरूको नजिकमा बस्ने मानिसको शरीरमा भाइरस छिर्न सक्छ । सङ्क्रमित व्यक्तिले कुनै सामान वा छोएर हात नधोई आफ्नो अनुहार छुँदा कोरोना भाइरस शरीरमा छिर्न सक्छ । भाइरसले पहिला घाँटी, सासनली र फोक्सोका कोषलाई आक्रमण गर्छ । बिस्तारै ती अङ्गलाई कोरोना भाइरसहरूले आफ्नो नियन्त्रणमा लिएर आफ्नो सङ्ख्या वृद्धि गर्न थाल्छ र अन्तमा ती सबैले बिरामीलाई गम्भीर असर पु¥याउन सक्छन् । ज्वरो आउनु र सुक्खा खोकी लाग्नु कोरोना भाइरस सङ्क्रमण भएपछि लाग्ने रोग कोभिड–१९ का मुख्य लक्षण हुन् । केही बिरामीमा घाँटी दुख्ने, टाउको दुख्ने र पखाला लाग्ने गरेको पनि पाइएको छ । केही बिरामीमा घ्राणशक्ति अर्थात् सुँघ्ने क्षमता पनि शिथिल भएको पाइएको छ । केही मानिसहरूलाई सङ्क्रमण भए पनि कुनै गम्भीर लक्षण देखिँदैन । तर उनीहरूले थाहै नपाई अरूलाई भाइरस सारिदिन सक्छन् । यी लक्षण देखियो भने घरमै अरूबाट अलग्ग बस्न विश्व स्वास्थ्य सङ्गठनले सुझाव दिएको छ । झन्डै ८० प्रतिशत मानिसमा सामान्य खालको सङ्क्रमण हुन्छ तर ज्वरो आएको छ, खोकी लागेको छ र सास फेर्न गारो भएको छ भने चिकित्सकसँग परामर्श गर्नुपर्छ किनभने ती लक्षणले श्वासप्रश्वास प्रणालीमा भएको सङ्क्रमण वा अन्य गम्भीर समस्यातिर सङ्केत गर्छन् ।
युनिसेफ (२०७६) ले कोरोना भाइरसको सङ्क्रमणबाट बच्न निम्नलिखित सावधानीहरू अपनाउन सुझाव दिएको पाइन्छ : जीवित जनावरहरूको धेरै सम्पर्कमा नबस्ने, खोक्दा हाच्छ्युँ गर्दा टाढा बस्ने वा रुमालले मुख छोप्ने, व्यक्तिगत सरसफाइमा ध्यान दिने, साबुन पानीले राम्रोसँग हात धुने, रुघाखोकी लागेका व्यक्तिको सोझो सम्पर्कमा नरहने, भिडभाडमा सावधानी अपनाउने, महत्त्वपूर्ण काम नपरेसम्म घरबाहिर ननिस्कने, पौष्टिक आहारहरूको सेवन गर्ने, बृद्धबृद्धा, बालबालिका तथा रोगीहरूलाई विशेष ध्यान दिने, माछामासु राम्रोसँग पकाएर मात्र खाने, अन्जान मान्छेहरूसँग धेरै घुलमिल नगर्ने, हात मिलाउनुको सट्टा टाढैबाट नमस्कार गर्ने, हातले नाक, मुख र आँखामा नछुने र यदि लक्षण देखिएमा अस्पतालमा सम्पर्क गर्ने जस्ता उपायहरू उल्लेख गरिएका छन् । सुवेदी (२०७६) का अनुसार कोरोना भाइरसले मानिसहरूमा श्वासप्रश्वाससम्बन्धी रोग निम्त्याउने गर्दछ जुन सामान्य ज्वरोदेखि सार्स, मर्स तथा कोभिड–१९ जस्ता प्राणघातक पनि हुन सक्छन् । हालसम्म यसका विरुद्ध कुनै खोप वा औषधीको आविस्कार भएको छैन । धेरै देशहरूको प्रयोग र परीक्षण गरेका छन् तर एउटा व्यक्तिमा देखिएको लक्षणअनुसार तयार गरिएको भ्याक्सिनले अर्को व्यक्तिमा काम गरेको छैन किनकि कोरोनाले अर्को व्यक्तिमा सर्ने बित्तिकै आफ्नो स्वरूप र लक्षणमा परिवर्तन गर्ने काम गरेको देखिन्छ । यो लेख तयार हुँदै गर्दा संसारका अधिकांश देश र तिनका मुख्य सहरहरू लकडाउनमा छन्, नेपालमा पनि २०७६ साल चैत्र ११ गतेदेखि लकडाउन जारी छ । हालसम्म यस रोगबाट विश्वभर करिब बयानब्बे लाख सैँतिस हजारभन्दा बढी मानिसहरु सक्रमित भएका छन् भने चार लाख बहत्तर हजार चार सय उनन्तिसजनाको मृत्य भएको छ । छयालिस लाख तेर हजारभन्दा बढिलाई सन्चो पनि भएको छ । यो रोगभन्दा पनि मेडिकल र सफ्टवेयर निर्माण गर्ने कम्पनीहरूको व्यापार गर्ने मेलो हो जसलाई सञ्चार माध्यमहरूले मलजल गरिरहेका छन् । यतिका मान्छे त समान्य जीवन हुँदा पनि कुनै न कुनै कारणले मृत्युको मुखमा होमिने गरेका छन् भन्ने प्रतिक्रिया पनि केही विशेषज्ञ डाक्टर र समीक्षक तथा विश्लेषकहरूले गर्ने गरेका छन् । सत्य के हो ? यो कुरा बुझ्न अझै केही दिन पर्खनुपर्ने देखिन्छ ।
कोभिड–१९ सँग सम्बन्धित यिनै विशेषताहरूलाई प्रस्तुत लेखको सैद्धान्तिक पर्याधार मानिएको छ । यसका लागि (क) बन्दाबन्दी, (ख) भौतिक दुरी, (ग) वर्गीय समानता, (घ) कोरोनाको लक्षण, (ङ) आहार र (च) एकान्तवासजस्ता प्रमुख आधार औँल्याउने काम गरिएको छ । यिनैलाई सैद्धान्तिक आधार मानी ‘कोरोना कहर’ कविताको समीक्षात्मक विश्लेषण गर्ने प्रयास गरिएको छ ।
छलफल र विश्लेषण
‘कोरोना कहर’ शीर्षकको विवेच्य कविताको संरचना, मूल भाव वा विचार र विषयवस्तुजस्ता उपशीर्षकमा केन्द्रित भएर प्रस्तुत कवितामा पाइने विषयवस्तुको खोजी गरी त्यसको समीक्षात्मक विश्लेषण गर्ने प्रयास गरिएको छ :
संरचना
‘कोरोना कहर’ कविता जम्मा सात श्लोकमा आबद्ध रहेको छ । यसमा मन्दाक्रान्ता छन्दको प्रयोग गरिएको छ । यो वार्णिक छन्द हो । यसमा ‘मभनततगुगु’ अर्थात् मगण, भगण, नगण, तगण, तगण र अन्तमा दुई गुरु हुन्छन् । कुल १७ अक्षर हुने यस छन्दमा ४, ६ र ७ अक्षरमा विश्राम हुन्छ (सापकोटा, २०५२, ३८) जस्तै :
कोरोना–को नव कहरले विश्वलाई सतायो ।
म भ न त त गुगु
गुगुगु गु–गु–ल ललल गुगुल गुलुल गुगु
यस छन्दमा चार हरफको एक श्लोक हुन्छ । एक श्लोकमा चार पाउ वा चार हरफ हुन्छन् । यो अत्यन्तै सुरिलो र सङ्गीतबद्ध तरिकाले गाउन सकिने छन्द हो । ‘कोरोना कहर’ कविता यसै छन्दमा आधारित भएर लेखिएको छ ।
मूल भाव वा विचार
कोरोनाको कहरले अहिले विश्वलाई सताएको छ । सबैतिर बन्दाबन्दी भएकाले कहीँ जान पाइएको छैन । घरमै कैदीसरह भएर बस्नुपर्दा मानिसहरू आतङ्कित छन् । कतै मानिसहरूसँग भेट भयो भने कोरोना सर्छ कि भन्ने डर भएकाले एकअर्कासँग छुवाछुतको व्यवहार गर्नु परिरहेको छ । टाढाबाट आएको एउटै घरको सदस्य भए पनि कोही नजिकिन खोज्दैनन् । कोरोनाको सबैप्रति समान व्यवहार हुने भएकाले धनी र गरिब तथा शासक र शासितबिच भेद देखिँदैन बरु यसबाट समाजमा नयाँ भेदभाव जन्मिएको छ– कोरोनो पोजेटिब र नेगेटिब । कोरानाले निम्त्याउने रुघा, खोकी, जरोका कारण अनेकौँ मानिसहरू मृत्युको मुखमा पुगिसके अझैँ कति मानिसहरू मृत्युको लाममा लागेका छन् । विश्वग्रामीकरण भई मानिस मानिसबिचका सबै भेदभावहरू हट्लान् । अब कोही रोगी हुनुपर्ने छैन । वैज्ञानिकहरूले नयाँ नयाँ रोग निवारणका उपायहरू अपनाएका छन् भनेर सबै मख्ख भएको वर्तमान अवस्थामा आएको कोरोनाले सबैलाई मात गरिदियो, कसैको केही लागेन बरु कोरोनाका अघि सबै निरीह सावित भए । कोरानाको त्रास सबैतिर फैलियो । ज्ञान र विज्ञानका खोज उपलब्धि र दर्शनहरूका अगाडि कोरोना बलियो सावित भयो । घुमिफिरी जीवनपद्धति पुरानो युगतिर लाग्ने भयो । रोग लाग्यो भने डाक्टरहरूले दिएको औषधीभन्दा प्राकृतिक वनस्पतिको सहारा लिनुपर्ने भयो । नियमित तातो पानी, दुध पिउने, तातो पानीको बाफ लिनेजस्ता काम गर्नाले कोरोनाका कीटाणुहरू मर्छन् । यो उपायले मात्रै हाम्रो जीवन स्वस्थ हुनसक्छ । कोरोनाले निम्त्याएको परिस्थितिका कारण सबै मानिसहरूले एकान्तवास बस्नुपर्ने भयो । यदि यसो ग¥यौँ भने हाम्राअघि कोरोना धेरै दिन टिक्नसक्ने छैन । जसरी जाडो र गर्मी आकस्मिक रूपमा आउँदैन त्यसै गरी कोरोना पनि समय आएपछि अवश्य निर्मूल हुने छ । त्यसका लागि हाम्रा कोसिसहरूले निरन्तरता पाइरहनुपर्दछ भन्ने जीवनवादी सन्देश यस कविताका माध्यमबाट प्रसारित गरिएको छ ।
कोरोनाले सताएर बन्दाबन्दी भई विश्वका अधिकांश मुलुकका मानिसहरू अहिले अछुत र स्थिर भएर बसेका छन् । विश्व मानवका बिच सबै प्रकारका भेदभाव सकिएर विभेदको अन्त्य हुनुपर्ने बेला यसले विभेदको स्थिति उत्पन्न ग¥यो । यो रोग धनी र गरिब, ठुलो र सानो, महिला र पुरुष, बालक र वृद्ध नभनी सबैलाई लाग्छ । यसको मुख्य लक्षण भनेको रुघा, खोकी, जरो हुन् । यी लक्षण देखिएमा कोरोनाको आशङ्का गरिन्छ । यस्तो बेला डाक्टर र वैज्ञानिकहरूले निर्माण गरेका औषधी र अन्य उपकरणले पनि साथ दिँदैनन् । बरु गाउँका जडीबुटी, तातो पानी, तातो खाना, तातो दुधको सेवन र पानीको बाफ लिनाले र मानिसहरूसँग केही दिन भौतिक दुरी राख्नाले अवश्य यसबाट बच्न सकिन्छ । कुनै पनि रोग वा महामारीको सधैँ प्रभाव हुँदैन । जसरी जाडो र गर्मी निश्चित समय आउँछ, जान्छ । कोरोना पनि केही दिनपछि अवश्य साम्य हुने छ भन्ने विश्वव्यापी तथा शाश्वत् सत्यको उजागर गर्ने काम कविद्वारा यस कवितामा गरिएको देखिन्छ ।
‘कोरोना कहर’ कविताको विषयवस्तु
‘कोरोना कहर’ कविता समसामयिक विषयवस्तुमा आधारित भएर लेखिएको देखिन्छ । यस कवितामा व्यक्त सन्देश विभिन्न विषयवस्तुका माध्यमबाट व्यक्त भएको पाइन्छ । यसमा व्यक्त विषयवस्तुलाई विश्लेषण गर्न निश्चित आधारहरू पहिल्याउने काम गरिएको छ । ती यसप्रकार छन् : (क) बन्दाबन्दी, (ख) भौतिक दुरी, (ग) वर्गीय समानता, (घ) कोरोनाको लक्षण, (ङ) आहार र (च) एकान्तवासजस्ता मुख्य विषयवस्तुलाई आधार बनाएर ‘कोरोना कहर’ कविताको निम्नलिखित तरिकाले विश्लेषण गरिएको छ :
(क) बन्दाबन्दी : यो अङ्ग्रेजी भाषाको ‘लकडाउन’ शब्दको नेपाली रूपान्तर हो । यसको अर्थ जहाँ छौँ त्यसै ठाउँमा पूर्णरूपले रुक्नु, कतै नजानु, सबै प्रकारका सार्वजनिक स्थल, पसल, यातायात स्थगन गर्नु भन्ने बुझिन्छ । कोरोना भाइरस लागेका बिरामीहरूले यात्रा गरे वा सार्वजनिक ठाउँमा भिँडभाड गरे भने त्यसले अरूलाई पनि सर्न सक्छ । त्यसैले यसबाट बच्न लकडाउन गरिन्छ । यसले मानवजीवनको दैनिक कामकाज सबै ठप्प भएर मानिसहरू अचल भएर बसेका छन् । यसले मानव समाजका यावत् गतिविधिहरू ठप्प पारेको छ । संसारमा ठुल्ठुला काम गरेर देखाउने सामथ्र्य राख्ने मानव जाति आज घरमै निरीह भएर बन्दी जीवन बिताइरहेको देखिन्छ । यसरी कोरोना भाइरसबाट डराएर मान्छे बन्दाबन्दीमा परेको समसामयिक सन्दर्भलाई कवितामा वर्णन गरिएको छ ।
(ख) भौतिक दुरी : कोरोना भइरसको प्रभावका कारण एउटै हुन पुगेको मानव समुदाय आज फेरि एकअर्काप्रति अछुतको व्यवहार गर्दैछ । विशेष गरी अर्को देशबाट वा विदेशबाट आएका अथवा आफ्नै देशका विभिन्न सहरबाट गाउँठाउँमा आएका मानिसहरूप्रति गाउँका मानिसहरूले अछुतको व्यवहार गर्न थालेका छन् । विभिन्न सञ्चार माध्यममा यसलाई ‘सोसल डिस्टेन्स’ अर्थात् सामाजिक दुरी भनिएको छ । यो शब्द त्यति सान्दर्भिक देखिँदैन । यसका ठाउँमा ‘पिजिकल डिस्टेन्स’ अर्थात् भौतिक दुरी भन्नु उचित हुने देखिन्छ । त्यसैले यहाँ सामाजिक दुरी नभनी भौतिक दुरी शब्द नै प्रयोग गरिएको छ । कविले यहाँ ‘अछुत’ शब्दको प्रयोग गरेका छन् । नेपाली समाजमा जेठाजु–बुहारी, रजस्वला भएकी नारी र केही जाति विशेषका बिच पनि छुवाछुत गर्ने गरिएको भेटिन्छ । यी सबै कानुनी दृष्टिले मान्य छैनन् । कोरोना भाइरस पोजेटिव भएका व्यक्तिलाई अरू कोरोना नेगेटिव भएका मानिसहरूले छोएको अवस्थामा भाइरस सर्नसक्ने भएकाले ‘अछुत’को व्यवहार हुन थालेको कुरा कविले वर्णन गरेका छन् । यसरी ‘बसुधैव कुटुम्बकम्’ अर्थात् पृथ्वीमा भएका सबै प्राणी एउटै परिवारका सदस्य हौँ भन्ने मूलमन्त्र छोडेर आज घरको कोठा एउटै, कोठाको सीमा एउटै, वरपरको दृश्य एउटै भए तापनि मानिस र मानिसका बिच विभेद ल्याउने काम कोरोना भाइरसले गरेको कुरा कविले वर्णन गरेका छन् ।
(ग) वर्गीय समानता : वर्गीय असमानता समाजको सबैभन्दा ठुलो समस्या हो । यसले मानिसहरूमा धर्म, जात, क्षेत्र, लिङ्ग, वर्ग, धन, शासक–शासित आदि विभिन्न दृष्टिले विभेद गर्ने गरेको पाइन्छ । कोरोनाले मानिसका यी कुनै वर्गविशेषलाई हेर्दैन सबैलाई एकनासले ग्रसित पार्दछ । यस दृष्टिले कोरोनाले विभेद गर्दैन तर मानिसहरूमा यसबाट पनि वर्ग निर्मित भएको छ, कोरोना पोजेटिव वर्गका मानिस र नेगेटिव वर्गका मानिस । यसरी कोरोना सङ्क्रमित र असङ्क्रमित व्यक्तिका बिच विभेदको नयाँ पाटो मानिसले जन्माएको पाइन्छ तर कोरोनाले विभेद गर्दैन । उसले सबैलाई समान रूपले ग्रसित पार्दछ भनी कविताले कोरोना समानताको पक्षपाती छ मानिसहरूले यसबाट विभेद गर्न सिक्यो भनेका छन् ।
(घ) कोरोनाको लक्षण : ‘कोरोना भाइरस–२०१९’लाई सङ्क्षिप्तमा ‘कोभिड–१९’ भनिन्छ । यो भाइरस सर्वप्रथम चिनको बुहान प्रान्तमा देखिएको र सन् २०१९ को डिसेम्बर ३० मा यसको पहिचान भएको हो । त्यसैले यसलाई ‘कोभिड–१९’ भनिन्छ । यस रोगका अनेक लक्षण र स्वरूपहरू छन्, जुन कुराको अध्ययन र अनुसन्धानमा विश्वका विभिन्न वैज्ञानिकहरू लागी परेका छन् । चिन, इटली, अमेरिका हुँदै भारत र नेपालसम्म आइपुग्दा प्रत्येक व्यक्तिमा यसका फरक फरक लक्षण देखा परेका छन् । कविले रुघा, खोकी लाग्ने, जरो आउने र सास फेर्न गारो हुने कुरा उल्लेख गरेका छन् । यस्तै कवितपय बिरामीहरूलाई सास फेर्न यति गारो हुन्छ जसकारण रोगीलाई भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने र त्यसबाट पनि केही बिरामीलाई बचाउन नसकिएर मृत्युसम्म हुनसक्ने कुरा कविले उल्लेख गरेका छन् । यही रोगका कारण कविले हजारौँ मरिसके अरू कति मृत्युको मुखमा होमिँदै छन् भनेका छन् । कविताको रचना हुँदाको हजारौँ सङ्ख्या अब लाखौँमा परिणत भइसकेको छ, यसले अझै आफ्नो कहर रोकेको छैन । यसरी कोरोनाको असरले हुने रोग र त्यसले निम्त्याउने र त्यसले त्रासको कहरमा वर्तमान मानव बाँचिरहेको तथ्य कविले उजागर गरेका छन् ।
(ङ) आहार : कोरोनाजस्तो सूक्ष्म जीवाणुसँग संसारका सबै मानिसहरू डराएर घरमै बन्दीसरह जीवन व्यतीत गर्दै छन् । वैज्ञानिक उपलब्धि र आधुनिक औषध विज्ञान काम नलाग्ने भएको छ । सञ्चारका सवारी साधान नचल्दा लाखौँ हवाइजहाज र गाडीहरू थन्किएका छन् । लाखौँ अस्त्रशस्त्र, अणु र परमाणु बम काम नलाग्ने भएका छन् । शक्ति सम्पन्न र विपन्न सबै राष्ट्रहरूको स्थिति एउटै छ । यस्तो स्थितिमा मानिसलाई हाम्रा ऋषिमुनिहरूले निर्धाण गरेका आचरण काम लाग्ने भएका छन् । मान्छेले आधुनिक भएर जे पायो त्यही, जहाँ पायो त्यहीँ जस्तोसुकै अवस्थामा भए पनि सरसफाइ र शुद्धतामा ध्यान नदिई खान थाल्यो । मान्छेले सर्प र चमेरा पनि खान छोडेन जसबाट कोरोनाको जीवाणु विकसित भयो । त्यसकारण कवितामा अब ऋषि जीवनलाई अँगाल्नुपर्दछ भनी शुद्ध र सफा भई प्राकृतिक वनस्पतिको उपयोग गर्न जोड दिइएको छ । तातोपानीको सेवन र यसको बाफ लिने, तातो दुध पिउने गरेमा कीटाणुको सातो जान्छ, ती मर्छन् । हामी नयाँ फूलजस्तै फेरि मुस्कुराउन थाल्छौँ भनेर प्रकृति र वातावरणसँग जीवनको अभिन्न सम्बन्ध रहेको औंल्याएका छन् । समग्रमा कृतिमताले मानिसलाई कोरोनाबाट बचाउन सक्दैन प्राकृतिक कुराको उपयोग गर्न कविले जोड दिएका छन् ।
(च) एकान्तवास : कोरोना मानिसको संसर्गबाट सर्छ । त्यसैले कोरोना सङ्क्रमित व्यक्तिबाट टाढा रही एकान्तवासमै रहेको अवस्थामा कोरोना सर्दैन । यदि कसैसँग भेटघाट वा संसर्ग हुने स्थिति आएमा सचेत भएर, उसलाई छोइएपछि लुगा फेर्ने, नुहाउनेजस्ता कार्य गरेमा पनि कोरोनाबाट बच्न सकिने देखिन्छ । प्रकृतिमा सधैँ एकैनासको मौसम हुँदैन । धेरै गर्मी भयो भने कोरोना फैँलिँदैन भन्ने धारणा यसको प्रभाव भर्खर सुरु हुनेबेला पाइन्थ्यो । आजका दिनमा त्यो स्थिति पनि छैन । आखिर सधैँ त कुनै हालतमा कोरोना टिक्ने छैन त्यसका लागि आफ्नो जीवनलाई बचाउन सबैजना लागेमा सबैले सचेतना अपनाएमा कोराना नियन्त्रण गर्न सकिने सकिने कुरा उल्लेख गरिएको छ ।
यसरी समसामयिक सन्दर्भको उठान गरी वर्तमान विश्व मानव समुदायले भोगेको कोरोनारूपी महामारीको वर्णन, चित्रण र त्यसबाट बच्ने उपाय औंल्याई जीवनवादी सन्देश दिएर कविता समापन गरिएको छ । यसमा सान्दर्भिक समस्याको चित्रण गरिनुका साथै त्यस समस्याको समाधान पनि प्रस्तुत गरिएको छ । यसमा मानिस र प्रकृतिका बिच अभिन्न सम्बन्ध रहेको र मानिस प्रकृतिभन्दा पर रहेर खुसी हुन नसक्ने कुरा बताइएको छ ।
निष्कर्ष
प्रस्तुत लेखमा कवि जगत्प्रसाद उपाध्याय ‘प्रेक्षित’द्वारा लिखित ‘कोरोना कहर’ शीर्षकको कवितामा व्यक्त विषयवस्तुको विश्लेषण गर्ने काम गरिएको छ । यस लेखमा ‘कोरोना कहर’ कवितामा व्यक्त विषयवस्तु पहिल्याउने प्रमुख उद्देश्य राखिएको छ । यो उद्देश्य हासिल गर्न ‘प्रस्तुत लेखमा कोरोना के कस्तो भाइरस हो ? र यसबाट बच्न के कस्ता उपायहरू अपनाउनुपर्दछ’ भन्ने कुरालाई प्रमुख समस्या मानी कोरोना भाइरससँग सम्बन्धित भई तयार पारिएको सैद्धान्तिक पर्याधारका आधारमा ‘कोरोना कहर’ कवितामा पाइने विषयवस्तुको मुख्यतः वर्णनात्मक, तुलनात्मक र विश्लेषणात्मक विधिको प्रयोग गरिएको छ । ‘मन्दाक्रान्ता’ छन्दमा रचित ‘कोरोना कहर’ शीर्षकको कविता जम्मा सात ओटा श्लोकहरूमा रचना गरिएको छ । यसको संरचनागत आकार लघु भए तापनि वर्तमान विश्व समुदायलाई पारेको असर र त्यसका कारण उत्पन्न बन्दाबन्दीको स्थितिलाई भने यसमा उचित ढङ्गले चित्रण गरिएको छ । कोरोनाको प्रभावबाट यातातात, शिक्षा, उद्योग, कलकारखाना आदि सबै बन्द भई एक ठाउँबाट अर्को ठाउँमा सहजै पुग्न नसक्नाका कारण आफन्त र परिवारजनबाट बिछोड भएको र कतै जाऊँ वा कसैसँग भेटौँ भने कोरोना सर्छ कि भन्ने कहर भएको स्थिति चित्रण गरिएको छ । कोरोना लागेर यसले हाम्रो समाज प्रभावित भएको छ । त्यसैले सबैतिर बन्दाबन्दी गरिएको छ, यसबाट बच्नका लागि भौतिक दुरी कायम गर्नमा जोड दिइएको छ । कोरोनाका कारण धनी र गरिब अब समान बन्न पुगेका छन् । कोरोना सामान्य रुघा र खोकीभन्दा प्रबल छ । यसका लागि आहार, विचार र सरसफाइमा ध्यान पु-याउनुपर्दछ र एकान्तवास बस्नुपर्दछ अनि मात्रै हामी कोरोनालाई जित्न सक्छौँ । कोरोना सधैँ रहँदैन, मौसम परिवर्तन भएझैँ कोरोना पनि एकदिन अवश्य सकिने छ भन्ने आशावादी स्वरको अभिव्यक्ति ‘कोरोना कहर’ कवितामा गरिएको छ भन्ने निष्कार्ष यस लेखमा निकालिएको छ ।
सन्दर्भ सूची
१. आशीष, नौटियाल (२०७६). ‘कोरोना भाइरस ल्याबमा जन्मियो या प्रकृतिमा ? चमेरादेखि मानिससम्म यसको यात्राको इतिवृत्तान्त’, https://deshsanchar.com/2020/01/22/303315/.
२. उपाध्याय, जगत्प्रसाद (२०७६). ‘कोरोना कहर’ काठमाडौँ : अन्नपूर्ण पोस्ट, दैनिक, कला/साहित्य, ३० चैत ।
३. उपाध्याय, जगत्प्रसाद (२०७७). https://www.facebook.com/search/top/jagatprasadupadhyay .
४. कोरोना भाइरस स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडिया (२०२०). https://ne.wikipedia.org/wiki/.
५. घोडासैनी, खगेन्द्र (२०७६). ‘विज्ञसमीक्षित लेखको संरचना र ढाँचा’ जनता विद्यापीठ अनुसन्धान व्यवस्थापन एकाइद्वारा मिति २०७६ पुस १३ र १४ गते आयोजित ‘विज्ञसमीक्षित अनुसन्धानात्मक लेख लेखनसम्बन्धी’ दुई दिने कार्यशालामा १३ गतेका दिन प्रस्तुत कार्यपत्र ।
६. युनिसेफ, स्वास्थ्य तथा जनकङ्ख्या मन्त्रालय, विश्वस्वास्थ्य संगठन (सन् २०२०).‘कोरोना भाइरस (कोभिड–१९) भ्रम र यथार्थ’, https://www.unicef.org/nepal/ne/coronavirus jan 28, 2020 .
७. व्यक्तिवृत्त : जगत्प्रसाद उपाध्यायबाट प्राप्त
८. सापकोटा, नाराणप्रसाद (२०५२). छन्दोऽलंकारमाला, लेखक स्वयं प्रकाशन ।
९. सुवेदी, अनुप (२०७६). ‘कहालीलाग्दो बनाउन सक्छ कोरोना भाइरसले’, https://www.nayapatrikadaily.com/news-details/34784/2020-01-28.
कोरोना बारे जानकारी
ReplyDeleteकोरोना बारे जानकारी
ReplyDeleteधन्यवाद
Deletesundaram
ReplyDeleteधन्यवाद मित्र
Deleteधन्यवाद । कृपया पढेर सेयर गरिदिनुहोला
ReplyDelete