जोसमनी सन्तकविहरूका दृष्टिमा गुरुको महिमा- The glory of the Guru in the eyes of the Josemani Santkavis

Dr.Khagendra Ghodasaini
3
जोसमनी सन्तकविहरूका दृष्टिमा गुरुको महिमा
डा. खगेन्द्र घोडासैनी
(लेखसार : प्रस्तुत लेख प्राथमिक कालीन नेपाली कविताको निर्गुण भक्तिधाराका कवितामा पाइने गुरुसम्बन्धी विषयवस्तुको विश्लेषण गरेर तयार पारिएको हो । यसमा पाँच जना कविका गुरु विषयक कविताका पङ्क्तिको उद्देश्यमूलक नमुना छनोटपद्धतिका आधारमा छनोट गरिएको छ । यो दस्तावेजको विश्लेषणमा आधारित गुणात्मक ढाँचाको लेख हो । यसमा जोसमनी सन्तकविताको शैली, संरचना, लय आदि दृष्टिबाट नहेरी केवल गुरुसँग सम्बन्धित विषयवस्तुका दृष्टिबाट हेर्न गुरुसम्बन्धी अवधारणाको उपयोग गरिएको छ । यो अवधारणा वेद, उपनिषद्, गीता आदिबाट प्रभावित रहेको देखिन्छ । जोसमनी सन्तकविहरूका दृष्टिमा गुरुलाई जीवनको मार्गदर्शक, ईश्वर प्राप्तिको साधन र उपाय बताउने ईश्वरीय शक्तिका रूपमा लिइएको पाइन्छ । सन्तकविहरूले अरू सांसारिक गुरुको अस्तित्वलाई पनि स्वीकार गर्दै ईश्वरसँग साक्षात्कार गराउन समर्थ गुरुप्रति विशेष आदर व्यक्त गरेको पाइन्छ । उनीहरू आफ्ना गुरुप्रति पूर्ण विश्वास, भरोसा र उनको दया र कृपा प्राप्त गरेर मनुष्य जन्मलाई सार्थक बनाउने र त्यस्ता गुरुको सेवा र ध्यानबाट हुने आनन्दलाई परमानन्दका रूपमा लिन्छन् । जीवनमा स्वार्थी र लालची गुरु पनि फेला पर्दछन् तिनबाट सावधान भएर निस्वार्थी गुरुको माहिमा गान गर्नु पनि उनीहरूका जीवनको अभीष्ट रहेको निष्कर्ष प्राप्त भएको छ ।)
शब्दकुञ्जी : निर्गुण, भक्ति, सन्तकवि, ईश्वर, गुरु ।
विषय परिचय
प्राथमिक कालीन नेपाली कविता मुख्यतः वीर र भक्तिधारामा आधारित भएर लेखिएका छन् । भक्तिधारा सगुण र निर्गुणमा विभाजित छ । निर्गुण भक्तिधारा नेपाली कविताका प्राथमिक कालको मौलिक धारा हो । यस धाराका कवितामा गुरु, ईश्वर, आत्मा, जीवनजगत् र सामाजिक पक्षको चित्रण गरिएको छ । यिनले ईश्वरलाई निर्गुण ब्रह्म मानेका छन् । ईश्वरसँग साक्षात्कार गर्न गुरुको शरणमा जानुपर्छ । गुरुले बताएअनुसार आफैंभित्र अभ्यास गरेमा ईश्वरको अनुभूति हुन्छ भन्ने कुरा यिनका कवितामा उल्लेख गरिएको छ । यस लेखमा जोसमनी सन्तकविका दृष्टिमा गुरुको महिमा पहिल्याउने उद्देश्य राखिएको छ । जोसमनी सन्तकविहरू गुरुलाई सर्वोपरि मान्दछन् । यो दृष्टिकोण उनीहरूको आफ्नै मौलिक खोजको परिणाम मात्र नभई परापूर्वकालदेखि निरन्तर रहेको ब्रह्मचिन्तनको सूक्ष्म धारा हो जसलाई यिनीहरूले गति दिएका छन् । यो दृष्टिकोण वेद, उपनिषद्, बौद्ध, जैन गुरुहरूका पालादेखि पल्लवित हुँदै भारतीय निर्गुण धाराका सन्तहरूका विचारधाराबाट अघि बढ्दै जोसमनी सन्तकविसम्म आइपुगेको देखिन्छ । आधुनिक युगमा पनि गुरुको महत्त्व जानेर नै विभिन्न शिक्षण संस्थामा गुरुको व्यवस्था गरिएको हुनुपर्दछ । जोसमनी सन्तकविहरूले पनि आध्यात्मिक साधनामा गुरुको आवश्यकता रहेको औंल्याएका छन् । त्यसैले जोसमनी सन्तकविका दृष्टिबाट हेर्दा गुरुका के कति प्रकार छन् ? गुरुको कस्तो महिमा छ ? के गुरु ईश्वरकै प्रतिनिधि हुन् ? ध्यान कसको गर्ने ? के गुरु लोभी र लालची पनि हुन्छन् ? भन्नेजस्ता प्रश्नको खोजी गर्ने कार्य यसअघि भएको पाइँदैन । त्यसैले ‘जोसमनी सन्तकविका दृष्टिमा गुरुको के कस्तो महिमा छ’ भन्ने कुरालाई प्रमुख समस्या मानी प्रस्तुत लेख तयार पारिएको छ ।
यसबाट जोसमनी सन्तकविहरूले गुरुलाई के कति महत्त्व दिएका छन् भनी बुझ्न मद्दत मिल्ने अपेक्षा गरिएको छ । गुरुप्रतिको उनीहरूको दृष्टिकोण के छ ? भन्ने कुराको खोजी गरी त्यसलाई एकै ठाउँमा राखेर विश्लेषण गरिएको हुँदा यो लेख औचित्यपूर्ण देखिन्छ । गुरुका बारेमा अरूले पनि कविता लेखेका छन्, जोसमनी सन्तकविले पनि गुरुबाहेक अरू विषयमा कविताको रचना गरेका छन् ती सबैलाई नसमेटी केवल जोसमनी सन्तकविमध्ये जम्मा पाँच जना कविका गुरुका बारेमा उल्लेख गरिएका कविताका मुख्य पङ्क्तिहरूमात्रै समेटेर अध्ययनको विषय बनाइनु यस लेखको सीमा हो ।
अध्ययन विधि
जोसमनी सन्तपरम्परामा हालसम्म उन्नाइस जना सन्तकविका रचना उपलब्ध छन् । ती सबै सन्तकविहरूलाई प्रस्तुत अध्ययनमा जनसङ्ख्याका रूपमा परिभाषित गरिएको छ । यसका लागि सम्भावनारहित नमुना छनोट पद्धतिअन्तर्गतको उद्देश्यमूलक नमुना छनोटपद्धतिका आधारमा जोसमनी सन्तकविमध्ये धिर्जेदिल दास, शशिधर दास, सीताराम दास, सतदिल दास र ज्ञानदिल दास गरी जम्मा पाँच जना कविका कविताको अध्ययन गरी तिनमा गुरुका बारेमा उल्लेख गरिएका मुख्य पङ्क्तिहरू छनोट गरिएको छ । कविताको विश्लेषण गर्न छनोट गरिएका कविता र त्यसमा व्यक्त विषयवस्तुसँग सम्बन्धित विभिन्न कृति र लेखहरूलाई आधार बनाएर तथ्य सङ्कलन गरिएको छ । यसमा प्राथमिक स्रोतका रूपमा जोसमनी सन्तकविका कविता र द्वितीय स्रोतका रूपमा प्रकाशित पुस्तक, पत्रिका र लेखजस्ता दस्तावेजको उपयोग गरिएको छ । त्यसैले यो गुणात्मक ढाँचाको अध्ययन हो । यसमा प्रकाशित दस्तावेजमा प्राप्त तथ्यको विश्लेषण गरी उक्त तथ्यको वर्णन, तुलना र त्यसको पुष्टिका लागि उदाहरणसमेत दिई जोसमनी सन्तकविहरूद्वारा गुरुसँग सम्बन्धित भई अँगालिएको विषयवस्तुलाई सैद्धान्तिक अवधारणा मानी सोहीअनुसार विश्लेषण गरेर निष्कर्षमा पुग्ने काम गरिएको छ ।
सैद्धान्तिक अवधारणा
‘जोस्मणी’ शब्दको सर्वप्रथम प्रयोग सन्त शशिधरका रचनामा पाइन्छ । यसको व्युत्पत्ति ‘ज्योतिर्मनीबाटज्योतिष्मनी हुँदै जोस्मनी वा जोसमनी गरिएको छ । त्यसैले यो ‘ज्योतिर्मनी’ को अपभ्रंश भई जोसमनी भएको हुनसक्ने अनुमान गरिएको छ (पाण्डे, सन् १९७०, पृ.६) । यस परम्पराका सन्तहरूले ज्योतिलाई महत्त्व दिई ईश्वरलाई ज्योति वा प्रकाशस्वरूप मानेको हुँदा यो व्युत्पत्ति उपयुक्त पनि देखिन्छ (शर्मा, २०६०, पृ.२१३) । निर्गुण भक्तिमा ईश्वरलाई मन वा हृदयभित्र खोज्ने हुनाले नामबाटै यसको सङ्केत गर्न खोजिएको देखिन्छ । जोसमनी सन्तका रचनाहरूमा जातिप्रथा, कर्मकाण्ड, अवतारवाद तथा धार्मिक रूपमा गरिने बाह्य आडम्बर र पाखण्डको विरोध गरी निर्गुण निराकार ईश्वरको उपासना गर्नु जीवनको मुख्य उद्देश्य हो भन्ने कुरा व्यक्त गरिएको पाइन्छ । हिन्दी, व्रज र मैथिली भाषाको समिश्रणबाट बनेको ‘सधुक्कडी’ भाषाको (भण्डारी, २०५३, पृ.२३३) प्रयोग नेपाली सन्तकविहरूले गरेका छन् । विशुद्ध नेपालीमा कविता लेख्ने सन्तकविहरू थोरै छन् । ‘सधुक्कडी’ भाषा त्यति आकर्षक छैन तर यिनमा व्यक्त विचार र भाव महत्त्वपूर्ण छ । भाषा जस्तो भए पनि अभिव्यक्ति सरल, सहज र स्वाभाविक छ (शर्मा, २०६०, पृ.२१५) । जोसमनी सन्तकविताको विपुलराशि ‘सधुक्कडी’ भाषामा छ, त्यसका विपरीत नेपाली भाषामा थोरै सन्तहरूले कविता रचेका छन् ।
जोसमनी मत मूलतः उपनिषद्बाट प्रभावित छ । उपनिषद्को अर्थ गुरुको समीपमा बसेर ईश्वर प्राप्त गर्ने उपाय र साधनको अभ्यास गर्नु हो, यसबाट अध्यात्मविद्या वा पराविद्याको प्राप्ति हुन्छ (शर्मा, २०५६, पृ.४२) । श्वेताश्वरोपनिषद्मा भनिएको छ– ईश्वर सर्वज्ञ, अजन्मा, अनादि, अनन्त र सर्वशक्तिमान् छन् (गोयन्दका, २०६८, पृ.११५) । परमेश्वर र गुरुप्रति जसको समानरूपले अनन्य विश्वास र भक्ति छ उसैका हृदयमा परमेश्वर प्रकट हुन्छन् (गोयन्दका, २०६८, पृ.४९५) । यति हुँदाहुँदै पनि आनन्दमय परमेश्वरलाई श्रद्धा, भक्ति र प्रेमबाट प्राप्त गर्न सकिन्छ (गोयन्दका, २०६८, पृ.४७६) । उपनिषद्का यी मान्यतासँग जोसमनी मत पनि सहमत देखिन्छ । जोसमनी मतले पनि ईश्वरलाई निगुर्ण निराकार र ज्योतिस्वरूप मान्दछ । यसमा गुरुलाई ईश्वरको प्रतीकस्वरूप मानिएको छ । गुरुसँग सम्बन्धित जोसमनी सन्तमत र उपनिषद्को अवधारणालाई आधार मानी जोसमनी सन्तकविताको विश्लेषणसँग सम्बन्धित यो सैद्धान्तिक अवधारणा तयार पारिएको छ । यो विषयवस्तुसँग सम्बन्धित अवधारणा हो । यसमा जोसमनी सन्तकविताको शैली, संरचना, भाषा, शीर्षक आदि दृष्टिबाट नहेरी केवल गुरुसँग सम्बन्धित विषयवस्तुका दृष्टिबाट हेर्न गुरुसम्बन्धी अवधारणाको उपयोग गरिएको छ । खासगरी कवितामा गुरुका बारेमा व्यक्त विचारलाई आधार मानी त्यसमा व्यक्त विषयवस्तुलाई समेट्ने प्रकृतिका उपशीर्षक तयार पारी सोहीअनुसार विश्लेषण गरिएको छ । त्यसका लागि विविध रूपमा गुरु, महिमायुक्त गुरु, ईश्वरका रूपमा गुरु, गुरुको ध्यानबाट ईश्वर प्राप्ति, गुरु दर्शनको लालसा, अन्धा र लालची गुरुजस्ता विभिन्न उपशीर्षक चयन गरिएको छ । यी शीर्षकको चयन सन्तकविका रचनामा व्यक्त विषयवस्तुलाई आधार बनाएर गरिएको हो । यसरी जोसमनी सन्तकविको गुरुसम्बन्धी दृष्टिकोण पहिल्याउन यस अवधारणाको उपयोग गरिएको छ ।
छलफल र विश्लेषण
जोसमनी सन्तकविहरूले गुरुको महिमालाई कुन रूपमा लिएका छन् भन्ने कुरा उनीहरूका काव्य र फुटकर कविताका पङ्क्तिहरूमा खोज्नुपर्ने हुन्छ । यसका लागि जोसमनी सन्तकविका रचनामा पाइने गुरुसँग सम्बन्धित विषयस्तुलाई अध्ययन गरी तिनमा पाइने विषयवस्तुलाई विभिन्न उपशीर्षक दिई छलफल र विश्लेषण गर्ने कार्य निम्नलिखित रूपमा गरिएको छ :
विविध रूपमा गुरु
सन्त शशिधरले आफ्ना एघार प्रकारका गुरु रहेको उल्लेख गरेका छन् । आमाबुबालाई उनले पहिला गुरु मानेका छन् । दोस्रा गुरु व्रतबन्ध गराउने, तेस्रा गुरु शास्त्र पढाउने, चौथा गुरु आध्यात्मिक ज्ञान दिने, पाँचौँ गुरु बुद्धि, छैटौँ गुरु सतसंगत, सातौँ गुरु सांसारिक वैराग्य, आठौँ गुरु ब्रह्मज्ञान, नवौँ गुरु जुसिल्किरा, दसौँ गुरु आदि पुरुष र एघारौँ गुरु शिवस्वामी रहेका छन् । शशिधरले यी सबै गुरुको मान राखी यिनीहरूका कृपाले आफूले योग धारण गरेर नित्य परमात्माको नाम लिन समर्थ भएको बताएका छन् । संसारका अनेकौँ शङ्काको निवारण गरेर योगी हुन शास्त्र पढी तिनलाई कण्ठ गरेर होइन गुरुका सहायताले हो भनी शशिधरले आफ्ना अनुभवको वर्णन गरेका छन् । उनले जीवात्मालाई नवौँ गुरु झुसिल्किरासँग तुलना गरेका छन् जसले कठिन तपस्या गरेर धैर्यपूर्वक शरीर परिवर्तन गर्दछन् । झुसिल्किरा संसारतर्फ फैलिएको मैलो आत्माको प्रतीक हो जुन विषय विकारमा फसेको छ । यस्तो शरीर बदलेर पुतलीजस्तो सफा भई संसारको मैलो छोड्न सक्ने गुरु देखेपछि आफ्नो मनमा दृढ विश्वास पलाएको कुरा उनले बताएका छन् :
पहिले गुरु मेरे मातापिता,
......नमहुँ गुरु मेरे झुसिल् किरा, दृढ तप करि तन बदले अतिधीरा,
ओहितन बदलि पुतली होई उडी जाई, यहि चरित्र देखि मेरे परतीत आई (शर्मा, २०५२, पृ.१०५)
शशिधरका दृष्टिमा सांसारिक ज्ञानका लागि पनि गुरुको आवश्यकता हुन्छ, गुरुबिना आफ्नै प्रयासले शास्त्र पढेर ज्ञान हासिल गर्न सकिँदैन । त्यसैले उनले ज्ञान सिकाउने सबैलाई गुरुको संज्ञा दिएका छन् । उनको गुरुसम्बन्धी दृष्टिकोण ऋषि दत्तात्रयको झैँ फराकिलो देखिन्छ । शशिधरले सांसारिक र पारमार्थिक ज्ञान र सिप सिकाउने माता÷पिता गुरु, धार्मिक गुरु, आचार्य गुरु र आध्यात्मिक गुरुलाई मुख्य मानेको देखिन्छ । आध्यात्मिक गुरुलाई नै जोसमनी सन्तविकहरूले कतै गुरु कतै सतगुरु भनेका छन् । त्यसैले गुरुलाई उनीहरूले विविध रूपमा लिएको पाइन्छ ।
जोसमनी सन्तहरूले जीवनमा मार्गदर्शन गर्ने हरेक व्यक्तिलाई गुरुका रूपमा स्वीकार गरेका छन् । त्यस्ता सबै गुरुको महत्त्व देखाएका छन् तर आध्यात्मिक गुरुलाई उनीहरूले सर्वोपरि स्थान दिएको देखिन्छ ।
महिमायुक्त गुरु
धिर्जेदिल दास भन्छन् :
जन्म पाइके मन हरि पद राखो जोगयुक्ति समाई,
कहें धिर्जेदिल दास यही पद मेरा गुरु कृपा दया पाई,
गुरु भजि माजि पाप छुटे अमरपुर रस खाई (शर्मा, २०५२, पृ.१०४)
मानिसको जन्म पाएर यसलाई त्यतिकै खेर फाल्नुहुँदैन । मनलाई हरिका चरणमा राख्नुपर्दछ । गुरुसँग योगको युक्ति सिक्नुपर्दछ । गुरुको कृपा र दयाबाट योगको तरिका सिकेर संसारबाट मुक्त भई अमरपुरको रसपान गर्न सकिन्छ ।
शशिधर भन्छन् :
ॐ आदिगुरु सत् । ॐ अनादिगुरु सत् । ॐ आपे भगवान् सच्चिदानन्द सत्,
जेतो राम भगत हो गए सत् । उनके कृपासैं रहवल सत् (शर्मा, २०५२, पृ.१०५)
गुरु आदि, अनादि, भगवान्, सच्चिदानन्द हुन् । रामको भक्ति गुरुको यही महिमा, कृपा र सत्द्वारा सम्पन्न हुन्छ । ‘गुरु शब्द’ सच्चिदानन्द लहरी काव्यको आत्मा हो । आफूले त्यसको वर्णन गरी यसबाट वैराग्य धारण गरेको अनि परमात्माका नामको गायन गर्न लागेको कुरा शशिधरले यसरी बताएका छन् :
गुरु शब्द सच्चिदानन्द लहरी आत्मामै कहि जाऊँ, वैराग विवेक गोविन्द फेरिफेरि गाऊँ (शर्मा, २०५२, पृ.१०५)
गुरुभक्ति चानचुने तरिकाले हुँदैन र असली गुरुसँग सजिलै भेट पनि हुँदैन । गुरु धारण गर्दा छलकपट परित्याग गर्नुपर्छ । गुरु आदिरूप, ब्रह्मका अवतार, ब्रह्मजस्तै हुन् । बाह्र वर्षसम्म पैदल हिँड्न सजिलो छ तर जन्मभरि घुमेर खोजे पनि गुरुलाई पाउन सकिँदैन । मनलाई स्थिर बनाएर एउटै आसनमा बसेर कसैकसैले मात्रै गुरुलाई प्राप्त गर्न सक्दछन् :
छलकपट छोडि गुरु करे गुरु है वहि आदिरूप,
गुरु ब्रह्म औतार है गुण गुरु ब्रह्म अनूप
बाह्र वरस पंथा चलन सहज है जनमभर फिरे कोई
ईतो दृढासन वैठि अगमपन्थ गमकरी जावै विरला कोई (शर्मा, २०५२, पृ.१०६)
सतगुरु नै आमाबुबा र परमानन्द दिने दयाल हुन् । उनी एकमात्र यो संसाररूपी सागरबाट पार लगाउने समर्थ व्यक्ति हुन् । त्यसैले हे सतगुरु साहेब ⁄ तिमी दीनका दयाल हौ । तिमी परमानन्द दिने कृपालु हौ । तिमी मेरा मातापिता र म तिम्रो बालक हुँ । तिमीले दिनदिनै लेखपढ गराएर निर्मल बनायौ । मेरो एउटै बिनती छ, म हात जोडेर तिम्रा अघि उभिएर भन्दै छु । यो गहिरो र गम्भीर सासाररूपी सागरलाई म कसरी पार गरूँ ⁄ जसरी आमाबुबाले आफ्ना बालबच्चालाई सघाएर उनीहरू ठुला र समर्थ हुन्छन् त्यही उपाय गरेर मलाई सघाऊ र आफैँ संसाररूपी सागर तर्नसक्ने बनाइदेऊ भनी शशिधरले सतगुरुसँग अनुरोध गरेका छन् :
तुमहि साहेब सतगुरु परमानन्द कृपाला, तुमहि साहेब सतगुरु मेरे मातपिता हम तुमरे बालकु
तुमहि पढाउ चिह्नाउ निरमल होइ दिनदिन झलकुँ, येकु बिनती मेरे स्वामी कर जोरी ठाडरहु तुम्हरे आगु
जे विधि मातापिता आफ्नु बाला सघाई, तब बाला समरथ होवै वही चाल चलाई
ते विधि चेताउ सघाउ समरथ कराइ देउ, जब समरथ होइउँ नित्त करिहुँउ सेउ (शर्मा, २०५२, पृ.१०७)
संसारमा अनेक मत छन् । सतगुरुबिना कुनै मतले अर्थ राख्दैन चाहे जतिसुकै चतु¥याईँ गरौँ । सतगुरको मतमा लागेपछि सबै मत पछि पर्दछन् :
सब सतगुरु कृपा करै मत पाई । सतगुरबिना कोटी करै चतुराई (शर्मा, २०५२, पृ.११४)
परमात्मालाई प्राप्त गर्न पक्का गुरुको मार्गदर्शन आवश्यक हुन्छ । यदि सिपालु राजी÷माजी भएन भने ढुङ्गा जतिखेर पनि पल्टिन सक्छ । संसार पार लगाउने राजी पनि पक्का, सिपालु हुन आवश्यक ठानिन्छ :
मेरे साहेब पूल बधावा जाउँ आउँ खुसी राजी
ख्याउनिहारा कच्चा होई नैया टुटि कवहुँ डुबिजाई
मेरे पूल पक्का है आपे मालिक पार वार समाई (शर्मा, २०५२, पृ.१२५)
मनको द्विविधा र चञ्चलताको अन्त्य सतगुरुको कृपाबाट हुन्छ । आस्तिक, नास्तिकका बारेमा पुस्तकमा लेखेका कुराहरू पढेर मनको द्विविधा हट्दैन :
आस्तिक नास्तिक नाहिं है किताप पुस्तक लिखि न जाई । जब सतगुरु कृपा करै नेरा अभितग पाई (शर्मा, २०५२, पृ.१२७)
गुरुको भजनरूपी खेती धेरैपटक सम्झन योग्य छ । गुरुभक्ति र साधुको सेवासमान अर्को कुनै तीर्थ र व्रत छैन :
गुरु के भजन मे खेती के समझउ बारम्बार, गुरु के भक्त साधु के सेवा तीर्थवर्त एकु नाही (शर्मा, २०५२, पृ.१६३)
गुरुमार्ग अगम छ, सहज छैन । गुरु, शब्द, सत्संग, सत्मार्ग यी सबै गुरु कृपाबिना प्राप्त हुँदैनन् ।
गुरु राई अगम खेल बनाई, ...........।
गुरु शब्द सतसङ्गत सत्मार्ग गुरु कृपाबिना कोही नपाई (शर्मा, २०५२, पृ.१६७)
गुरुको दयाबिना बिच बाटामै अलपत्र परिन्छ । संसारबाट पारि जान मद्दत गर्ने गुरु नै हुन् :
गुरु गोविन्दजी दयाबिना दास अटके (शर्मा, २०५२, पृ.१६८)
गुरुबिना मनुष्यजन्म व्यर्थै बित्ने छ । यो देखेर संसारका मानिसहरू हाँस्ने छन् :
बिनागुरु गम सें जनम गयो है कतीरहे जग हाँसी (शर्मा, २०५२, पृ.१७१)
आत्मा र परमात्माका बारेमा बुझ्न र षटचक्रको अभ्यास गर्न गुरुले दिएका ज्ञानमाथि विचार गर्नुपर्दछ । चन्द्रमारूपी गुरुका स्वरूपमा चखेवारूपी शिष्यले आठै प्रहर त्यतैतिर हेरिरह्यो भने षटचक्रलाई खोल्न सकिन्छ :
आत्मा परमात्माको गुरु ज्ञान विचारो षडचक्र स्वास खेलाई,
श्री गुरु मूर्ति चन्द्रमा सेवक चयन चकोर, अष्ट प्रहर निरखत रहो गुरु मूर्तिकी और (शर्मा, २०५२, पृ.१७५)
अभयानन्द भन्छन्, गुरुको भजनबिना यो शरीर र यससँगका सम्बन्ध सबै निरस छन् । गुरुबिना नुहाइ, धुवाइ गर्नु, टीका लाउनु सब व्यर्थ जान्छ :
गुरु भजनबिनु येह तन सब फीका । क्या भये अस्नान क्या कीये काहाँ लगाव टीका (शर्मा, २०५२, पृ.१८५)
गुरुको भजन नै संसारमा काम लाग्छ । मानिसहरू भने आफैँलाई गुरु बनाएर तमासा देखाइरहेका छन् :
गुरु भजनपर करो भरोसा और नहि सनिसार मे, आफै गुरु का अगम लीला है देखो तमासा लोक मे (शर्मा, २०५२, पृ.१९०)
काम, क्रोध, लोभ आदि सबैलाई जितेका गुरु गुणका खानी हुन् । उनको संगतबाट दश इन्द्रियलाई जितेर अनहदको सूक्ष्म डोरी पाउन सकिन्छ :
श्रीगुरु भन्याका गुनका भारी, काम क्रोध लोभ सबै दिया जारी,
दस ओटा लकडी धुनि जगाया, अनहदको खलाती सुस्मडोरी पाया (शर्मा, २०५२, पृ.२३८–२३९)
ज्ञानदिल भन्छन्, सुख खोज्ने भए सतगुरुलाई पुकार । उनी सबैका साझा हुन् । अलमलमा परेका शिष्यलाई गुरुले मात्रै सही मार्गमा हिँडाउन सक्छन् :
सुख खोजन्या भया सतगुरु भाख, सतगुरु भन्याका सबैका साजे,
सेवा गर्न दिँदैन सधैं गाजेमाजे (शर्मा, २०५२, पृ.२३८–२३९)
सतगुरुको कृपाबाट मैले आफैंभित्र अमृत पिएँ । मलाई गुरुको कृपा भयो । मेरा सतगुरु धन्य छन् जसका कारण मैले आफैंभित्र अमृत प्राप्त गरें भनी ज्ञानदिल दास आफ्नो अनुभव बताउँछन् :
सतगुरु कृपाले अम्रित पियाको
.....धन्ने दया गुरुको कृपाभनी जान, अम्रितै हो भन्या निश्चय मान (शर्मा, २०५२, पृ.२४९)
मलाई गुरुको कृपा भएको छ । गुरुको कृपाबाट परम्पद प्राप्त गर्ने इच्छा जागृत हुन्छ । शास्त्रले यही भन्छन् । सतगुरु हामी सबैभन्दा उच्च छन्, ठुला छन्, उनका अगाडि हामी केटाकेटी वा अन्जान नै छौं । सतगुरुबाट यो संसार कहिल्यै खाली भएन । हरेक युगमा सतगुरु आएका छन् । उनको संगत र उनका वचनमा विश्वास गर्ने भाग्यमानीहरूले मात्रै सतगुरुरूपी हिरा प्राप्त गर्छन् :
गङ्गा र जमुना अगम अपार, चारवेद गीता वेदान्तको सार (शर्मा, २०५२, पृ.२५७)
गुरुकृपा नाउँछ ज्ञानदिल दास, सबैले गर्नु परम्पदको आस,......
चारैजुग शशिधरले भक्ति गरि आया, भाग्येमानी जतिले हिरारत्न पाया (शर्मा, २०५२, पृ.२५९)
चारै युगमा सतगुरुका माध्यमबाट परम्पद प्राप्त गर्न लोभ र पाप छोडी सत्यमा विश्वास गर्नुपर्छ । सत्यमा विश्वास गर्नेहरूले मात्रै सतगुरुको संगत प्राप्त गर्दछन् :
चारजुगदेखि फकिर भयाको, लोभपाप छोडि सतमा रह्याको,
संगत जति छन् साथमा रहन्छन्, सतगुरु स्वामी परम्पद कहिन्छन् (शर्मा, २०५२, पृ.२५८)
जोसमनी सन्तकवितामा ज्ञानका लागि गुरुको आवश्यकता र उनको महिमा वर्णन गरिएको छ । उनीहरूले सांसारिक ज्ञानका लागि पनि गुरुको आवश्यक औंल्याउँदै पारमार्थिक ज्ञानका लागि गुरु अपरिहार्य भएकाले उनको महिमा सबैभन्दा बढी रहेको उल्लेख गरेका छन् ।
ईश्वरका रूपमा गुरु
शधिधरले सतगुरु परमात्माका रूप भएका हुनाले सतगुरु र परमात्मामा भिन्नता छैन भनेका छन् । उनी भन्छन्, हे सतगुरु ! तिमी पूर्ण ब्रह्म हौ र पूर्ण रूपमा सबै ठाउँमा छौ । तिमी मेरा अन्तर्मनमा बसेर आफैँ बोल्छौ । अरूले गाएर तिमी चित्तमा आउँदैनौ । तिमी आफैँ अन्तरयामी छौ । तिमीले संसार सागर तरिसकेका छौ त्यसैले तार्न सक्छौ । हे निरंकार⁄तिमी आजमात्र संसारमा आएका होइनौ, तिमी त सधैँ, सनातनदेखि नै आएका छौ :
तुमही साहेब पूर्ण ब्रह्म पूरण छाई, तुमही साहेब मेरे घट बोले आपे समाई,
....... तुमही आपे आफ अन्तरज्यामी
तुमही तरी हो गोसाईं तुमही तार, तँु सदा सनातन निरंकार (शर्मा, २०५२, पृ.१०७)
ज्ञानदिल भन्छन्– गुरुको असली वासस्थान सत्यलोक र भँवरगुफामा रहेको छ :
सत्य महलमै सतगुरुकी वासा ताहाँ येकु भवरागुफा धराया हो जी (शर्मा, २०५२, पृ.२८७)
अक्षरको केही मूल्य छैन तर तिनै अक्षरबाट वेद बनेका छन् । यस्तैगरी अमूल्य अर्थ जसले बुझ्दछ, उसले अण्ड र पिण्डको भेद पाउँछ । पारखीबिना हिरा कसैले चिन्दैनन्, नचिनेपछि हिरा पनि मूल्यहीन हुन्छ । अक्षर र हिराको महत्त्व बुझाउने पारखी भएजस्तै अण्ड र पिण्डको ज्ञान गुरुबिना कसैले प्राप्त गर्न सक्दैन । यो कुरा जसले बुझ्दैन उसको बुद्धि हराएको छ । उसले बाटो बिराएको छ भनिएको छ । त्यसैले शशिधरका दृष्टिमा गुरु ज्ञानका दाता हुन् :
कौडीसरी अक्षर है लाख करोड जहाँ सें आए वेद,
अमोल अर्थ जो बुझी समावै पावै अण्डपिण्डको भेद,
पारखीबिना हीरा को पैचानै कौडीसरी तौन बिकाई,
सज्जनबिना ज्ञान को बुझ मागर छोडी वहै मती हराई (शर्मा, २०५२, पृ.१०७)
जोसमनी सन्तकविले उपनिषद्मा झैँ गुरुलाई ईश्वरका रूपमा स्वीकार गरेका छन् । उनीहरू निराकार ईश्वरका साकार रूप गुरु हुन् भन्ने मान्यता राख्दछन् । त्यसैले ज्ञान दिने काम असली ईश्वररूपी गुरुबाट मात्रै हुन्छ भन्ने उनीहरूको दृष्टिकोण रहेको देखिन्छ ।
गुरुको ध्यानबाट ईश्वर प्राप्ति
शशिधरले ईश्वरको अनुभूतिका लागि गुरुको ध्यान गर्नमा जोड दिएका छन् । उनी भन्छन्– यो संसारका सबै वस्तु पञ्चतत्त्वले बनेका छन् । यी ध्यान र भक्तिका योग्य छैनन् । गुरुको शरणमा गएर उनको ध्यान गर्नाले आफैँभित्र परमात्माको अनुभूति हुन्छ :
पानी पीता धरती माता गुरु पवन अवनी साथी, सूर्यचन्द्र खेल खेलावै सिंचे पोखै दिनराती,
इनु पाँचैके गुरु एकै ध्यान्, तनमन एक मिलावै आपे समावै परमान् (शर्मा, २०५२, पृ.१११)
ईश्वरसँग साक्षात्कार बच्चा जन्मेजस्तै र बिरुवा उमे्रजस्तै गरी समय आएपछि आफैँ हुन्छ । यसका लागि धैर्य धारण र एकाग्रता हुनुपर्छ :
जैसे नारि ऋतु राख गरभताई, बाला सिद्ध होवै आपे निकरि आई,
..जैसे अंबादि दल बोवै भाइ,
आपे तेजसै जाला तोरै जैसे केते से बिरवा बनी आई,
तैसे मति सांत राखै घटबिच अवर न चिताई (शर्मा, २०५२, पृ.१३३)
हाम्राभित्र शब्द छ, त्यो शब्द अक्षरातीत छ । गुरुको असली रूप पनि शब्द हो । त्यही शब्दले परमात्माको भेद बताउँछ :
अक्षर बोलै अक्षरै बुझि निअक्षर अक्षर गाई, शब्दै ताला शब्दै कुची शब्दै खोलि भेदपाई (शर्मा, २०५२, पृ.१३४)
वर्णात्मक नाममात्रै जप्नाले प्रभुप्राप्ति हुँदैन :
अक्षर जपि ओंकार नहि आई, दास शशिधर एक ओंकार गाउँ (शर्मा, २०५२, पृ.१३५)
जन्म र मृत्यु, पाप र पुन्यको पछि नलागी एउटै नामरूपी चाभी वा साधनबाट सम्पूर्ण ताला अर्थात् बन्धन फुकाउन सकिन्छ । यस्तो उपाय गुरुबाट प्राप्त हुन्छ :
जनम मरन जीवन जीव समाउँ, पापन पुन्ये सुन्ने सुन्ने खेलाउँ,
.....भेदको भेदी एकै कुचि, अनेक ताला खोलि जाउँ (शर्मा, २०५२, पृ.१३६)
संसारमा अनेकता छ । गुरुको नाममा एकता छ त्यसले सही बाटो दिन्छ । शब्द गुरुका माध्यमबाट भित्री मनमा चित्त जोड्नाले हरिसँग भेट हुन्छ :
आफै ब्रह्म बोलै बालिको बताउँ, जेता कहै तेता नाउँ,
....सब्द मध्य स्वरंकार गुरु है भाइ, ताहेसै हरि मिलै हद्दधुनि गगनमै चित्तलाई (शर्मा, २०५२, पृ.१३६)
शशिधरले आफूले महापुरुषका विचारहरूलाई गाएको बताएका छन् । आफ्नो भनाइको डाली, पात, जरा, मूल केही नभएको हुँदा कसले बुझ्ला र ? जो ईश्वरको प्यारो छ, त्यस्तो बिरलाले बुझ्ने छ । जसले बुझेर त्यसको अभ्यास गर्ने छ त्यसलाई कालले खाँदैन भनेका छन् :
महापुरुषके भाषा आदि योग शशिधर गाई, डार पात जर मूलै नाहीं को बुझला भाइ
बुझैं बिरला कोई वहि साहेबके लाल, जिन बुझि समावै ताको खावै नहि काल (शर्मा, २०५२, पृ.१३७)
सीताराम दास भन्छन्– सतगुरुले दिएका शब्दका सहायताले भ्रम मेटाएर ब्रह्मतत्त्वको दर्शन गर्न मद्दत गर्छ :
सतगुरु के शब्द से भ्रम मेटाऊँ ब्रह्मतत्त्व दरसाऊँ (शर्मा, २०५२, पृ.२३३)
जोसमनी सन्तकविहरूले गुरुलाई साक्षात् ईश्वर मानेका छन् । त्यसैले उनीहरू ईश्वरको अनुभूति गर्न गुरुको ध्यान गर्नमा जोड दिन्छन् । उपनिषद्मा शब्दलाई ब्रह्म मानिएको छ । यो ब्रह्मतत्त्व सबैका अन्तरमा विद्यामान छ (गोयन्दका, २०६८, पृ.४) । शशिधर पनि त्यस्तै शब्दब्रह्मको अनुभूति गुरुको ध्यानले आफ्ना अन्तरमा हुने कुरा व्यक्त गर्दछन् । यस दृष्टिले उपनिषद् र जोसमनी मतका बिच साझापन रहेको औंल्याउन सकिन्छ ।
गुरु दर्शनको लालसा
सतदिल दास गुरुलाई संसारका सबै इच्छाभन्दा माथि राखेर भन्छन् :
गुरु मेरा कब देहो दरिशन मोहि, दया बिना मिलै न कोई,
मृत्युलोक में जन्म भये है काल कल भरो आई,
औषधबिना वैद्य विचार न होई तनुबिन क्या हुन उपाई,
शङ्का पर्वत चित्त धुंवाये अन्ध सोमन्ध भराई,
......दास सतदिल करुण करो स्वामी करजोरी सीस नुहाई,
जी अर्जी अरूँ मैं दरिसन पाऊँ नन्म के दुख बिसलाई (शर्मा, २०५२, पृ.२१७)
हे गुरुदेव ⁄ मलाई कहिले दर्शन दिनुहुन्छ ? हजुरको दयाबिना केही प्राप्त हुँदैन । मृत्युलोकमा कालले सताइरहेको छ । परमात्माको नामरूपी औषधी र गुरुरूपी वैद्यबिना मृत्युरूपी रोगको उपचार कसरी सम्भव हुन्छ ? मेरा शङ्का पर्वतसमान अनेक छन् । मन चञ्चल छ । बुद्धि अन्धो छ । बुद्धिले के गर्ने के नगर्ने त्यसको पहिचान गर्न सकेको छैन । जन्म बिनाकामले बित्दै छ । इन्द्रियहरू गलत बाटामा छन् । यो सबै हजुरका चरणलाई बिर्सेका कारण भएको हो । हजुर नै मेरा मातापिता, कुल, परिवार, छोरा, सम्पत्ति र भाइ हुनुहुन्छ । हजुरबिना यी सबै मेरा केही होइनन् । मलाई हजुरले दर्शन दिन किन विलम्व गर्दै हुनुहुन्छ । यदि आमाबुबाबिना सन्तान रोयो भने कसैले फकाउन र भुलाउन सक्दैन । मेरो अवस्था त्यस्तै छ । मैले सबै दिन यसैगरी बिताइरहेको छु । यो सतदिल दास हात जोडेर शिर निहुराई हजुरमा बिन्ती गर्दछ । हे स्वामी ⁄ म बिन्ती गर्छु, मलाई दर्शन दिएर अनेकौं जन्मका दुख बिर्साउन मद्दत गर्नुहोस् भनी गुरु दर्शनको लालसा व्यक्त गरेका छन् ।
यहाँ गुरु र शिष्यको सम्बन्धलाई प्रेमी र प्रेमिका, रोगी र वैद्य तथा आमा र सन्तानको प्रतीकका रूपमा व्यक्त गरेका छन् । यिनीहरू एउटाको अभावमा सुखसँग बस्न नसक्ने हुँदा गुरुप्रतिको पे्रम र गुरु दर्शनको लालसा व्यक्त गरिएको छ । ईश्वर साक्षात्कारका लागि गुरुसँगको यस्तो प्रेम र उनको दर्शन गर्ने लालसा हुनुपर्छ भन्ने दृष्टिकोण सन्तकविको देखिन्छ ।
अन्धा र लालची गुरु
शशिधर भन्छन्– ज्ञानको आँखा नभएकाहरूले ईश्वर प्राप्तिलाई साधन बनाएर नयाँ पन्थ चलाएका छन् । परमात्मालाई ती आफैँले पाएका छैनन् अरूलाई के देखाउन सक्लान् ?
सुनिए अन्धे सर्मकती भले भुलाई, धन कलेस्वर खलक येकै पंथ चलाई,
......बडियाँई उनके बडे उँची, साहेब काहाँ पावै कुदरत क्या खोलै कुची,
लिउ लाग्याका आँखाले काँहा देखिपाई (शर्मा, २०५२, पृ.१३०)
पाँच विकारलाई जितेपछि साहेबलाई आफ्नै हृदयमा प्राप्त गर्न सकिन्छ । यिनलाई नजित्नेहरू इन्द्रियरूपी पाँच विकारमा हराउँछन् :
पाँच जो जितै वहि साहेब घटबिच पाई, पाँच नजिति रहै पाँचौ बिच हराई (शर्मा, २०५२, पृ.१३१)
बाहिर देवताका मूर्ति राखेर पुज्नाले मनको भ्रम जाँदैन । ईश्वरको अनुभूति कपट छोडेर हृदयमै खोज्नाले हुन्छ । ब्रह्मको अंश ब्रह्ममै समाहित हुन्छ :
कपट छोडि अधिक जोरै एहि जुगत गाई, तबजिब फिरै अलख जागै ब्रह्म ब्रह्म समाई (शर्मा, २०५२, पृ.१३८)
परमात्माका नामको कुनै मूल्य हुँदैन । चेला बनाएर पैसा लिने तल्लो स्तरका गुरु हुन् । यस्ता गुरुले सत्त्वगुण छोडी तमोगुण बटुल्छन् । कन्ठी धारण गराएर अनमोलका वस्तुको मूल्य तोकी परमात्माका नामको व्यापार गर्छन् । गुरुको भेष धारण गर्ने धनका लोभी व्यक्तिलाई ज्ञानदिलले लालची र लोभी गुरुका रूपमा चित्रण गरेका छन् :
सुद्र साधु जति छन् धेरै धन भन्छन्, कन्ठी धारण गर्दा पचास् रूपिञाँ गन्छन्,
अमोलको चीजको मोल गर्ने कस्तो, मोल नगर्नु अमोलको चीज,
बेपार गर्‍न्या होइन परम्पदको बीज, कन्ठी धारी धाम बनाई रुपिञाँ कमाउँछन् (शर्मा, २०५२, पृ.२५२–२५३)
जोसमनी सन्तकविहरूले देखावटी, स्वार्थी र भ्रम छर्ने गुरुसँग सावधान हुनुपर्ने बताएका छन् । उनीहरू गुरु निस्वार्थी हुनुपर्ने मान्यता राख्दछन् । वास्तवमा परमार्थी गुरुको कुनै स्वार्थ हुँदैन । उनीहरूले गुरुको सहयोगलाई आमाबुबाको निस्वार्थ सेवा र प्रेमसँग तुलना गरेका छन् । त्यसैले जोसमनी सन्तकविका विचारमा अन्धा र लालची गुरुलाई स्वीकार गर्नुहुँदैन । उनीहरूसँग सधैँ सचेत र सावधान रहनुपर्दछ भन्ने धारणा व्यक्त गरिएको पाइन्छ ।
निष्कर्ष
जोसमनी सन्तकविका दृष्टिमा गुरुको स्थान पहिल्याउने उद्देश्य र उनका दृष्टिमा गुरुको स्थान कस्तो छ भन्ने कुरालाई प्रमुख समस्या मानी प्रस्तुत लेख तयार पारिएको हो । यसमा जोसमनी सन्तकविमध्ये जम्मा पाँच जना कविका गुरु विषयक कविताका मुख्य पङ्क्तिहरूमात्रै समेटेर अध्ययन गरिएको छ । दस्तावेजको विश्लेषण गरिएको यो लेख गुणात्मक ढाँचामा आधारित छ । सन्तकविका रचनामा बाह्य आडम्बर र पाखण्डको विरोध गरी निर्गुण निराकार ईश्वरको उपासना गर्नु जीवनको मुख्य उद्देश्य हो भन्ने कुरा व्यक्त गरिएको पाइन्छ । यो मत मूलतः उपनिषद्बाट प्रभावित छ । यस मतले पनि ईश्वरलाई निगुर्ण निराकार र ज्योतिस्वरूप मान्दछ । यसमा गुरुलाई ईश्वरको प्रतीकस्वरूप मानिएको छ । संसारका जुनसुकै काम गर्दा कुनै न कुनै प्रकारका गुरुको आवश्यकता ठानिन्छ । संसारका विभिन्नपक्षसँग जुध्न आमाले सिकाउँछिन् । बुबा, साथीभाइ र शिक्षकका सहायताले संसारका बारेमा बुझ्न र सिप सिक्न मद्दत पुग्छ । धर्म र अध्यात्मका बारेमा जानकारी दिने धार्मिक र आध्यात्मिक गुरुबाट हुन्छ । यस्ता गुरुलाई जोसमनी सन्तकविहरूले ईश्वरको प्रतीकका रूपमा लिएको देखिन्छ । गुरु विभिन्न प्रकारका हुन्छन् । माता र धार्मिक गुरु जन्म र परम्परागत विरासतका रूपमा प्राप्त हुन्छन् । आचार्य गुरु शिक्षालयको चयनबाट विभिन्न श्रेणी र योग्यताका हुन्छन् । आध्यात्मिक गुरु भने साधकको खोज, रुचि, पारमार्थिक इच्छा र मानसिक सन्तुष्टिमा भर पर्छ । यस्ता गुरुलाई हाम्रा शास्त्रमा पनि ईश्वरकै प्रतिनिधिका रूपमा लिइएको देखिन्छ । जोसमनी सन्तकविहरूले अरू गुरुको महत्त्व दर्साउनुका साथै आध्यात्मिक गुरुको आवश्यकता र महत्त्वलाई पनि अपरिहार्य ठान्दै त्यस्ता गुरुलाई ईश्वरका रूपमा लिएर तिनका महिमाको गान गरेको पाइन्छ । यस्ता गुरुको संगत, मार्गनिर्देशन तथा सेवाबाट जीवनलाई सफल बनाउन मद्दत पुग्छ । ईश्वर प्राप्तिको लालसा राख्नेहरूले यस्ता गुरुको ध्यान र लालची गुरुबाट बच्नुपर्छ भन्ने निष्कर्ष यस लेखबाट प्राप्त हुन्छ ।
सन्दर्भ सामग्रीसूची
गोयन्दका, हरिकृष्ण दास (२०६८). ईशादि नौ उपनिषद्, गोरखपुर : गीता प्रेस ।
घोडासैनी, खगेन्द्र (२०७३). ‘निगुर्ण ब्रह्मका उपासक सन्तकवि शशिधर दास’, सगुन, वर्ष–६, अङ्क–५, पृ. १८–३१ ।
घोडासैनी, खगेन्द्र (२०७३). ‘निगुर्ण ब्रह्मका उपासक सन्तकवि ज्ञानदिल दास’, हैमप्रभा, अङ्क–१५, पृ. ५५–६५ ।
तिवारी, सिद्धिनाथ (सन् १९५३). निर्गुग काव्यदर्शन, पटना : श्री अजन्त प्रेस लिमिटेड ।
पाण्डे, मथुरादत्त (सन् १९७०). नेपाली और हिन्दी भक्ति काव्य का तुलनात्मक अध्ययन, दिल्ली : भारतीय ग्रन्थ निकेतन ।
भण्डारी, गोपालप्रसाद (२०५३). प्राग् भानुभक्तीय नेपाली काव्य, काठमाडौं : नेपाल राजकीय प्रज्ञाप्रतिष्ठान ।
शर्मा, गोपीकृष्ण (२०५६). संस्कृत साहित्यको रूपरेखा, काठमाडौं : अभिनव प्रकाशन ।
शर्मा, जनकलाल (२०५२). जोसमनी सन्त परम्परा र साहित्य, ललितपुर : साझा प्रकाशन ।
शर्मा, मोहनराज (२०६०). ‘प्राथमिक कालको नेपाली पद्य’, नेपाली साहित्यको इतिहास (प्रथम खण्ड), सम्पा.चूडामणि बन्धु, काठमाडौं : नेपाल राजकीय प्रज्ञाप्रतिष्ठान ।
शर्मा, मोहनराज र दयाराम श्रेष्ठ (२०६१). नेपाली साहित्यको संक्षिप्त इतिहास, ललितपुर : साझा प्रकाशन ।

(नोटः नेपाल प्रज्ञाप्रतिष्ठानबाट प्रकाशित विज्ञसमीक्षित अर्धवार्षक शोधपत्रिका, अङ्क-१, पूर्णाङ्क-११९ पृ. ८८-९८ मा प्रकाशित ।)

Post a Comment

3 Comments
Post a Comment

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top