Latest reviews!!! (नवीनतम समालोचना !!)

Dr.Khagendra Ghodasaini
0
नवीनतम समालोचना !!
डा. खगेन्द्र घोडासैनी

नेपाली समालोचनाको आरम्भ मोतीराम भट्टले गरेका हुन् । त्यस यता समालोचना शास्त्रलाई अघि बढाउने काम धेरै प्रतिभाहरूले गरे । मोतीराम भट्टले जीवनीपरक समालोचनाको आरम्भ गरेका थिए– कवि भानुभक्त आचार्यको जीवन चरित्र लेखेर । त्यसपछि प्रभावपरक, गुणदोषपरक, शोध–खोजपरक तथा अनुसन्धानपरक, शैली वैज्ञानिक, मार्क्सवादी आदि समालोचना प्रणाली नेपाली साहित्यको समीक्षा गर्दा देखापरे भने पूर्वीय एवम् पाश्चात्य जगत्‌का स्थापित मान्यताहरूलाई व्याख्या गरेर सैद्धान्तिक समालोचना प्रणालीको परम्परा पनि स्थापित भयो । यो त भयो पुरानो समालोचनाको फेहरिस्त ।
अब नवीनतम समालोचना प्रणालीको कुरा गरौं । के होला त नवीनतम वा नयाँ समालोचना प्रणाली ? पाठकवर्ग एक पटक सोच्नुहोस् त ? कतै इ.सं. १९४१ मा जान्क्रो रान्सोमले सुरु गरेको समालोचना प्रणाली हो कि ? अहँ, ए ! त्यसो भए सिकागो मन्डलीले सुरु गरेको नव एरिस्टोटलवाद होला, त्यो पनि होइन । त्यसो भए के रहेछ त नयाँ समालोचना ! खै के भन्नु के भन्नु । भनौं भने पनि सुख छैन नभनौं भने त्यस नवीनतम समालोचना प्रणालीको बिगबिगी साहित्यमा कति छ कति, कसले खोज्ने हो कुन्नि यस तथ्यलाई । भो भन्दिन्छु नवीनतम समालोचनाका बारेमा ।
समालोचनाको छेउ टुप्पो थाहा नभएका, सैद्धान्तिक समालोचनाका कतै कुनै कुनाबाट भेउ नपाउने समालोचनाको क्षेत्रका नवप्रवेशी एवम् विश्वविद्यालयमा बढुवाका लागि कृतिको आवश्यकता पर्ने तर त्यस्ता कृति लेख्न नसक्ने, सामान्य सम्पादनकलाको क्षमता पनि नभएका वरिष्ठ पदले सुशोभित ...हरूले नै आज भोलि एउटा नवीनतम समालोचना प्रणालीको सुरुवात गरेका छन् । त्यो समालोचना प्रणालीको नाम हो– सारसुरपरक समालोचना प्रणाली ।
आजकल दिन दुई गुना रात चौगुनाका दरले विकसित भइरहेको सञ्चारप्रणाली र छापाखाना एवम् पाठ्यपुस्तक प्रकाशकहरूको बढ्दो प्रभावका कारण सारसुरपरक समालोचना प्रणालीको कम्ती विकास भएको छ त ? शोधखोजपरक समालोचनाका सिद्धहस्तीहरूका कृति सारेर कुनै एउटाले सुरुमा यस प्रणालीकाे आरम्भ गरेको थियो । त्यसपछि प्रायोगिक समालोचनामा यस प्रणालीले धावा बोल्यो । आजभोलि सन्दर्भ नदिएरै सारसुरपरक समालोचना प्रणालीले बागमती र विष्णुमतीको पानीजति सफा तरिकाले आफ्नो अनुहार उज्यालो बनाइसकेको तथ्य आम पाठकवर्गहरूले बुझिसकेका छन् ।
सारसुरपरक समालोचनामा खास के हुन्छ भने अब अलि गहिरिएर विचार गरौं । कुनै एक जना अनुसन्धानकर्ताले सुरुमा स्नातकोत्तर तह वा विद्यावारिधिको शोधपत्र अनुसन्धान गरेरै तयार पार्दछ । त्यसपछिको अर्को नवीनतम समालोचनाको प्रणेताले पनि शोध गर्नुपर्ने आवश्यकता आइपर्छ । उसले शोध खोजलाई सारसुर पारेर आफ्नो शोध बनाइदिन्छ । त्यो शोधपत्र बन्दैन सारपत्र बन्छ । त्यसरी उसले पहिले शोध (सारपत्रको रूपमा)मा यस समालोचनाको उठान गर्छ र क्रमशः पाठ्यपुस्तकमा गएर यसको विकास र विस्तार गर्छ । पाठ्यपुस्तकमा यसको उठानबारे चर्चा गरौं । कुनै एउटा होनहार विद्यार्थीले सम्बन्धित विषय पढ्दा आफूलाई पाउने शिक्षकको नोट राम्रो तरिकाले तयार पार्छ, त्यसपछि ऊ सम्बन्धित विषयमा सर्वोत्कृष्ट अङ्क ल्याई उत्तीर्ण हुन्छ । त्यसपछि फोटोकपी सेन्टरले त्यस्ता विद्यार्थीहरूसँग सम्पर्क गरी ‘टपरहरूको नोट’ फोटोकपी गरेर बेच्न सुरु गर्छ । त्यस्तो नोट किन्नेमध्ये कुनी बनिदिन्छ सारसुरपरक समालोचना प्रणालीको उठान कर्ता । उसले त्यो नोट आफ्नो नाममा हस्तान्तरण भएको ठानी प्रेसमा दिन्छ र रातारात ऊ पाठ्यपुस्तक लेखक बन्छ अर्काको नोट कपी छापेर । यसरी सारसुरपरक समालोचनाको विकास हुन्छ ।
कृति त छाप्यो तर त्यो बिग्दैन । मान्छेले पत्याउँदैनन् । अब के गर्ने होला ? उसले विचार गर्छ– विभागका कुनै एक वरिष्ठ ...लाई वा अनेक क्याम्पसका ...लाई पनि यस समालोचना प्रणालीमा योगदान दिन संगठन खोल्छ र फुट्टी नलेखेर लेखकहरूको जमात तयार हुन्छ । जम्बो लेखकहरूले लेखेको आधिकारिक (नोटमा आधारित) पाठ्यपुस्तक (क्याप्सुल) बजारमा जान्छ । साधारण पाठकले त्यस्ता जम्बो लेखक र नोटमा आधारित क्याप्सुलको महिमा बुझ्न सक्दैनन्, ती विचरा पाठकहरूलाई यो सारसुरपरक समालोचना प्रणालीको देन हो भन्ने कुराको पत्तै हुँदैन अनि त्यो क्याप्सुल रातारात बिक्री पनि एक तमासको तीव्र गतिमा हुन्छ । अनि सारसुरपरक समालोचकहरूले नै त्यो सारे वापत् स्थायी, बढुवा, पुरस्कार, रोयल्टी आदि के के पाउँछन् के के । प्रतिलिपि अधिकारको वकालत गर्ने ठेकेदारहरूलाई यस्ता कुराको पत्तै हुँदैन, मूल लेखक वा अनुसन्धानकर्ता वा असली समीक्षक ठगिएको ठगिऐ हुन्छ, सतीले सरापेको देशमा सोझा–साझाको केही लाग्दैन ।
पाठकहरू ! भ्रममा नपर्नुहोस्, यो विज्ञापन होइन । साझा प्रकाशनद्वारा प्रकाशित डा.दयाराम श्रेष्ठ र प्रा. मोहनराज शर्माले लेखेको नेपाली साहित्यको संक्षिप्त इतिहासबाहेक दुई वा दुईभन्दा बढी लेखकहरूले लेखेका कुनै पनि किताव आधिकारिक होइनन्, यो सत्य कुरा हो । यदि माथि उल्लेखित किताबको विषय सूचीमा जस्तै कुन खण्ड वा एकाइ कसले लेखेको हो, कुन एकाइ लेखे वापत् को जवाफ देही हुने हो भन्ने खुलेको छ भने अरु किताबलाई पनि आधिकारिक मान्दा मेरो मात्र होइन, कसैको आपत्ति हुनुहुँदैन । तर यहाँ त सारसुरको भूमिका एउटाको, टाउकामा नाम अरु चार जनाको थपेर किताब लेख्ने चलनले सारसुरपरक समालोचना प्रणालीले कति विकास गरिसक्यो ? म त हैरान भइसकें । हजुरहरु नि !

(यो निबन्ध २०६८ सालतिर लेखिएको हो । भेरी साहित्य समाज केन्द्रीय समिति, बाँकेद्वारा प्रकाशित दाैँतरी-२०६९ मा प्रकाशित भएको छ । त्यसबाट साभार गरिएको हो । -लेखक) !

Post a Comment

0 Comments
Post a Comment (0)

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top