भानुभक्तीय रामायणको कथ्य
डा. खगेन्द्र घोडासैनी
(सारसङ्क्षेप : प्रस्तुत लेखमा आदिकवि भानुभक्त आचार्यद्वारा लिखित रामायणको कथ्य पहिल्याउने प्रयास गरिएको छ । भानुभक्त नेपाली कविताको प्राथमिक कालीन रामभक्ति धाराका केन्द्रीय कवि हुन् । उनका कविताले सबैभन्दा पहिला नेपाली पाठकहरुलाई बढी प्रभावित पारेका हुनाले र उनीभन्दा पहिलेका कविमा त्यस्तो प्रभावकारी कविता लेखन शिल्प र कला नभएकाले भानुभक्त आचार्यलाई आदिकविको उपाधिले विभूषित गरिएको छ । तिनै भानुभक्त आचार्यद्वारा लिखित रामायणको कथ्य पहिल्याउने काम गरिएको छ । यस क्रममा रामायणका सबै चरित्रहरुलाई रामका बारेमा पूर्व ज्ञान भएको कुरालाई रामायणमा कसरी प्रस्तुत गरिएको छ भन्ने कुरा औँल्याइएको छ । ती चरित्रहरु दैवी, मानवीय र आसुरी गरी तीन प्रवृत्तका छन् । दैवी चरित्रको भक्ति गर्ने होडमा मानवीय र आसुरी चरित्र दुवै छन् केवल तिनले अपनाएको प्रक्रियामा भिन्नता छ भन्ने निष्कर्ष निकालिएको छ । ) शब्दकुञ्जी : रामायण, भक्तिधारा, रामभक्ति, महाकाव्य, आदिकाव्य आदि ।
विषय परिचय
आदिकवि भानुभक्त आचार्यको जन्म वि.सं.१८७१ असार २९ गतेका दिन तनहुँ जिल्लाको चुँदी रम्घा भन्ने ठाउँमा भएको हो । उनी श्रीकृष्ण आचार्यका पाँच छोरामध्ये जेठा धनञ्जयका जेष्ठ सुपुत्र हुन् । त्यसैले उनी श्रीकृष्णका प्रिय पात्र पनि थिए । उनको शिक्षादीक्षा र लालनपालन श्रीकृष्ण आचार्यकै देखरेखमा भएको थियो । भानुभक्तले संस्कृत साहित्य, व्याकरण तथा ज्योतिषशास्त्र पढेका थिए । उनले केही वर्ष सरकारी जागिरे भएर बिताए भने सरकारी जागिरका क्रममा हिसाब गडबडी भएकाले केही समय कुमारी चोकमा थुनिनु पर्यो । उनले जागिर, जेल, यात्रा र घरपरिवारमा बस्दासमेत साहित्य लेखनलाई पनि निरन्तरता दिइरहे । उनको निधन वि.सं.१९२५ असोज शुक्ल पञ्चमीका दिन भयो ।
भानुभक्तले विभिन्न कृतिको रचना गरेका छन्, तीमध्ये १. रामायण (वि.सं. १८९८–१९१०), २. प्रश्नोत्तर (वि.सं.१९१०), ३. भक्तमाला (वि.सं.१९१०), ४. रामगीता र बधुशिक्षा (वि.सं.१९१९) र ५. फुटकर कविता एक दर्जनजति (जीवन कालका विभिन्न समयमा) हुन् । उनको रामायण प्रसिद्ध कृति हो । भानुभक्त कालीन नेपालको राजनैतिक वा सामाजिक र भाषिक वा साहित्यिक दुवै प्रतिकूल अवस्थामा थिए । भानुभक्तले नेपालको राजनैतिक क्षेत्रमा देखापरेका विभिन्न दाउपेच, छल, कपट, वैर भावना, पारिवारिक खिचातानी आदिलाई नजिकबाट देखेका थिए । त्यसैकारण उनलाई देशका शासक, भारदार र जनतालाई रामायणका माध्यमबाट शिक्षा दिन उपयुक्त लाग्यो । स्वार्थले रुखा भएका राजा, भारदार र जनतालाई समेत स्वार्थ त्यागको पाठ पढाइ शान्ति रसका शीतल धाराले ठन्डा गरिदिनमा राम चरित्र नै राम बाणको औषधी थियो (आचार्य, २०५५, ५) भन्ने बाबुराम आचार्यको भनाइ इतिहास सापेक्ष्य देखिन्छ । यस्तै सामाजिक अवस्था पनि प्रतिकूल थियो जसको अनुभवबाट भानुले बधुशिक्षा लेखे । भानुभक्त आचार्यको समयमा विद्वान्हरु संस्कृत भाषामा लेखपढ गर्थे, नेपाली भाषालाई उति महत्त्व दिँदैनथे । नेपाली भाषामा व्याकरण, कोश, साहित्य आदिको लेखन नभएको हुँदा नेपाली भाषामा लेख्न निकै चुनौतीपूर्ण काम थियो । नेपाली भाषा जनजिव्रोको भाषा भएकाले शास्त्री (संस्कृत जान्ने) हरुले त्यसलाई कम महत्त्व दिए पनि आफूले त्यसलाई बढी महत्त्व दिएको कुरालाई भानुभक्तले उल्लेख गरेका छन् । संस्कृतका पण्डितहरुले आफ्ना श्लोकलाई ठिमाह भने पनि वर्गत र बुद्धि भए भाषा (नेपाली) मै श्लोक बनाएर राख भनी कविले यसरी आह्वान गरेका छन् :
भाषा श्लोक् भनुता अवश्य अरुता बुझ्दैन कोई पनी,
संस्कृत हुन् भनुता इ शास्त्रीहरुता धेर् छन् अशुद्धा भनी ।
भन्छन् आज ठिमाहका गणितमा तिम्रा सिलोक ई गया,
भाषा श्लोक बनाइ राख तिमि नाक बुद्धी र वर्गत् भया ।। भानुभक्तको रामायण, फुटकर रचना श्लोक–१६ ।
भानुभक्त नेपाली भाषामा कविता लेख्नुलाई नाक भएको, वर्गत र बुद्धि भएको ठान्दथे, यसैले उनले नेपाली भाषालाई फुटकर कविता, खण्डकाव्य र महाकाव्य सरहका कृतिहरु दिन सफल भए । तिनै भानुभक्तले लेखेको रामायण महाकाव्यको गरिमा प्राप्त महत्तम कृति हो । यसबाटै भानुभक्त आचार्य रामभक्ति धाराका केन्द्रीय कवि हुन पुगेका छन् । यस कृतिबाट भक्तिधाराले रामभक्ति धारामै पुगेर चरमोत्कर्ष प्राप्त गरेको छ । भानुभक्तको रामायण र उनका अन्य फुटकर कविता कृतिहरुले नेपाली भाषा र साहित्यको सीमा व्यापक र बृहत् तुल्याएर लोकप्रिय बनाएका छन् । रामायणबाटै संस्कृत वार्णिक छन्दको नेपालीकरण भई शार्दूलविक्रीडित छन्दले नेपाली जातीय छन्दको स्थान प्राप्त गर्न सफल भयो । त्यसैले उनी आफ्ना समकालीन कविहरुमध्ये सर्वाधिक प्रभावशाली र प्रिय कविका रुपमा देखा पर्दछन् । उनले वेदव्यासकृत अध्यात्म रामायणको नेपालीमा भावानुवाद गरे । भानुले काव्य रसले भरपूर बाल्मीकिद्वारा लिखित बाल्मीकि रामायणलाई न अँगाली वेदव्यासकृत अध्यात्म रामायणलाई आधार बनाए । बाल्मीकि रामायणमा रामचन्द्रलाई आदर्श पुरुषका रुपमा प्रस्तुत गरिएको छ भने अध्यात्म रामायणमा विष्णुका अवतारको रुपमा प्रस्तुत गरिएको छ । अध्यात्म रामायणमा भक्तिरस र आध्यात्मिक विचारको मात्रा बढी पाइन्छ । भानुले यसैलाई आधार बनाएर रामायण लेखे तर हुबहु अनुवाद भने गरेनन् । त्यसैले भानुभक्तको रामायण शब्दानुवाद नभई भावानुवाद हो । बाबुराम आचार्यका शब्दमा भानुभक्तले– “मूल संस्कृत पद्यका भावमात्र लिएर आवश्यकताअनुसार घटबढ गरी आफ्नै शब्दावलीको प्रयोग गरेर कवितालाई रसिलो गराएका छन् । मूल संस्कृत शब्दका बन्धनबाट एकदम मुक्त भएर आफ्ना इच्छाअनुसार ठेट नेपाली शब्द प्रयोग गरेर सारा रामायणमा लालित्य भरेका छन्” (आचार्य, २०५५, ६) । हुन पनि रामायणको श्रुति मधुरता, लयात्मकता, सरलता र सरसताले गर्दा पाठकलाई अनुवादको रत्तिभर आभास हुँदैन । अध्यात्म रामायणमा प्रयोग गरिएको अनुष्टुप् छन्द छोडेर शार्दूलविक्रीडित, शिखरिणी, मालिनी र वंशस्थ छन्दको प्रयोग गरेर लयगत भिन्नताको पनि चयन भानुभक्तले गरेको पाइन्छ (आचार्य, २०५५, ६) । उनका अरु कृतिमा पनि अनुवादको छाप पाइन्छ तर उनी अनुवादमा जति कुशल थिए मौलिकरुपमा कविता सिर्जना गर्न पनि त्यति नै खप्पिस थिए भन्ने कुरा उनकै आफ्नो परिचय झल्काउने एउटा श्लोक अघि सार्दा उपयुक्त हुन्छ :
पाहाड्को अति बेस देश् तनहुँमा श्रीकृष्ण ब्रह्मण थिया,
खुप् उच्चा कुल आर्यवंशि हुन गै सत्कर्ममा मन् दिया ।
विद्यामा पनि जो धुरन्धर भई शिक्षा मलाई दिया,
तिन्को नाति म भानुभक्त पनि हुम् यो जानि चिह्नी लिया ।
भानुभक्तको रामायण, फुटकर रचना श्लोक–१
यसरी प्रतिकूल राजनैतिक, सामाजिक, भाषिक र साहित्यिक अवस्था हुँदा पनि भानुभक्तले काव्य सिर्जना गर्नमा तत्परता देखाए । व्याकरण, कोश र साहित्यको सिर्जनै नभएको अवस्थामा आफ्नो भाषामा कविता रचना गरेर उनले जुन गुन लगाए त्यो उनको महानता र दूरदर्शिता हो । उनले अनुवाद र मौलिक कविताको रचना गरेर सहज कविको उदाहरण पेस गरेका छन् । कवि मोतीराम भट्टले भानुभक्त आचार्यलाई स्वाभाविक वा सहज कविको संज्ञा दिएका छन् । उनका विचारमा स्वाभाविक कविका कवितामा अर्थ र शब्दको अङ्कार सरासर देखिन्छ । सहज कविले कविता लेख्दा लेख्न हुने र नहुने कुराको विचार गर्दैन अर्थात् कसैको तारिफ र निन्दाको कुरा ख्याल गर्दैन बरु यथार्थ कुरा लेख्छ । सहज कविता लोभले हुँदैन, इच्छाले हुन्छ (भट्ट, २०५८, २२) । मोतीरामका विचारमा भानुभक्त यसै कोटिका कवि हुन् । मोतीरामले आफ्नो ‘कविता लक्षण’ कृतिमा पनि सोही कुरा बताइएको छ भनी कस्तो कविता असल हुन्छ भन्ने श्लोक अघि सारेका छन्, जस्तै :
धन्ले हुँदैन कविता न त हुन्छ मन्ले । ज्ञान्ले हुँदैन कविता न त हुन्छ तन्ले ।
इन्ले भयाकि कविता कविता समान्हो । आफैं भयाकि कविता बहुतै असल् हो ।। (भट्ट, २०५८, २२)
यसबाट मोतीराम भट्ट सहज वा स्वाभाविक अथवा प्रतिभा शक्तिलाई स्विकार्ने कवि हुन् । आफू स्वयम्ले पनि यस्तै कविता लेखेका छन्, भानुभक्त आचार्यलाई सहज कविका रुपमा उदाहरणसहित सिद्ध गरेका छन् । मोतीरामले भानुभक्तद्वारा रचित दुई पङ्ति दिएर बाँकी दुई पङ्ति अनुपलब्ध रहेको र ती मैले थपें भने हिरासित काँच जोडेझैं होला भनेर आफूभन्दा भानुभक्तको कवित्व शक्तिको प्रशंसा गरेका छन् (भट्ट्, २०५८, २३) । यसैले भक्ति रसका अद्वितीय सहज कविका रुपमा मोतीराम भट्टले गरेको मूल्याङ्कन प्रशस्त आलोचना हुँदा हुँदै पनि भानुभक्त नेपाली पाठकहरुका माझ प्रिय हुनाले भानुभक्तका प्रशंसक घटेका छैनन् बरु बढेका छन् । यसो हुनाको खास कारण के हो ? रामायणमा त्यस्तो कुन पक्ष छ ? जसका कारण भानुभक्तलाई नेपाली जातीय कविका रुपमा नेपाली पाठकहरुले लिइरहेका छन् । यिनै कुराको खोजी गर्नु यस लेखको प्रमुख उद्देश्य हो । यो उद्देश्य हासिल गर्न ‘प्रस्तुत लेखमा भानुक्तीय रामायणको खास कथ्य के हो ? र यसलाई रामायणमा कसरी प्रस्तुत गरिएको छ’ भन्ने कुरालाई प्रमुख समस्या मानी ‘भानुभक्तीय रामायण’मा पाइने कथ्यको विश्लेषण गर्ने प्रयास गरिएको छ ।
अध्ययन विधि
यस अध्ययनमा निम्नानुसारको अध्ययन विधि अवलम्बन गरिएको छ :
अनुसन्धानको ढाँचा : यो गुणात्मक ढाँचाको अध्ययन हो । यसमा कृतिबाट प्राप्त तथ्यको विश्लेषण गरी निष्कर्षमा पुग्ने काम गरिएको छ ।
सहभागी र नमुना छनोट : प्रस्तुत लेखमा भानुभक्त आचार्यका सबै कवितालाई जनसङ्ख्याका रूपमा परिभाषित गरिएको छ । यसका लागि सम्भावनारहित नमुना छनोट पद्धतिअन्तर्गतको उद्देश्यमूलक नमुना छनोट पद्धतिका आधारमा उनका रचनामध्ये ‘रामायण’मा पाइने कथ्य छनोट गरिएको छ ।
तथ्य सङ्कलन : प्रस्तुत अध्ययनमा ‘रामायण’ महाकाव्य र यसको विषयवस्तुसँग सम्बन्धित विभिन्न कृति र लेखहरूलाई आधार बनाएर तथ्य सङ्कलन गरिएको छ ।
तथ्य सङ्कलनका साधन : यस अध्ययनमा दस्तावेजको विश्लेषण गर्न प्राथमिक र द्वितीय स्रोतका विभिन्न प्रकाशित पुस्तक र पत्रिकामा प्रकाशित लेखहरूको उपयोग गरिएको छ । त्यसैले यसमा प्रकाशित दस्तावेजमा प्राप्त तथ्यको विश्लेषण गरी निष्कर्ष निकाल्ने प्रयास गरिएको छ ।
तथ्य विश्लेषण प्रक्रिया : प्राप्त तथ्यको वर्णन, तुलना र त्यसको पुष्टिका लागि उदाहरणसमेत दिई विश्लेषण गरेर निष्कर्षमा पुग्ने काम गरिएको छ । उदाहरण र समीक्षात्मक विश्लेषण गरेर निष्कर्ष निकाल्ने प्रयास गरिएको यस लेखमा आगमन विधिबाट विश्लेषण गरी निष्कर्ष निकालिएको छ ।
सैद्धान्तिक पर्याधार
महान् व्यक्तिको चरित्रलाई आधार बनाई नाटकीय पञ्चसन्धियुक्त लामो कथानक भएको उत्कृष्ट र अलङ्कृत शैलीमा लेखिएको जीवनका विविधरुप र कार्यहरुको वर्णन गर्ने सर्गबद्ध सुखान्त काव्य नै महाकाव्य हो (काव्यालङ्कार, १ : १९ र २१) । नेपाली भाषामा यस्तो परिभाषालाई आत्मसात् गरेर महाकाव्य लेख्ने चेष्टा उदयानन्द अर्यालले गरे (भण्डारी, २०५३, १७३) भने त्यसलाई साकार रुप आदिकवि भानुभक्त आचार्यले दिए । उदयानन्द अर्यालको ‘पृथ्वीन्द्रोदय’ महाकाव्यका केही श्लोक भण्डारीले उद्धृत गरेका छन् । जसको रचना काल वि.सं. १८७० पूर्व उल्लेख गरिएको छ (भण्डारी, २०५३, ३२३) । यस काव्यमा इतिहास र वीरव्यक्तित्वका गानको प्रवृत्तिले वर्णनात्मक महाकाव्य चेष्टा देखाएको भए पनि श्लोक विस्तारमा सीमित भएकाले (त्रिपाठी र अन्य, २०६०, ९१) महाकाव्यीय उचाइलाई छुन सकेको छैन । त्यसैले भानुभक्त अचार्यद्वारा लिखित रामायण नै नेपाली भाषाको पहिलो महाकाव्य हुन पुगेको छ ।
भानुभक्तीय रामायण अनुदित महाकाव्य हो । यो अध्यात्म रामायणको शुद्ध भावानुवादको रुपमा प्रस्तुत छ । भानुभक्त अनुवादक भए पनि नेपाली महाकाव्यको मुहान् उनैले खालेका हुन् । शिक्षा, उपदेश र धार्मिक संस्कारको दर्पण वा प्रतिपादक भानुभक्तको रामायण एक दृष्टिले बृहत् जनकाव्यको थालनी मान्नुपर्दछ । नेपालीको धार्मिक संस्कार र भक्ति भावनाभित्र घुसेको राम चरित्रलाई सरल भाषामा सर्वसुबोध बनाई प्रस्तुत गर्ने हिम्मती मान्छे भानुभक्त पहिलो नेपालीका जातीय महाकाव्यकार हुने सामथ्र्य राख्दछन् । साहित्यिक एकताका प्रथम सूत्र भानुभक्त आचार्य नेपाली भाषाका सफल प्रयोक्ता, संस्कृति र सामाजिक आदर्शका प्रथम व्याख्याता हुन् । उने भावनात्मक एकीकरणको प्राथमिक उपचार र राष्ट्रिय कर्तव्यको निर्वाह दुबै थोक सम्पन्न गरेका छन् (रिसाल, २०५८, २८) । “भानुभक्तीय रामायणले मौलिकता र अनुवादका दोसाँधमा महाकाव्यका साङ्गीतिकता र कथारसका आधारमा रुपान्तरित महाकाव्य चेतको प्रारुप संरचना प्रस्तुत गरेका छन् तर त्यसमा कवितात्मक चोखा अन्तर्भावलहर र बिम्बालङ्कारको रम्य लालित्य चाहिं प्राथमिक अवस्थाकै छ” (त्रिपाठी र अन्य, २०६०, ९१) । सुगठित र सुव्यवस्थित आख्यानात्मक संरचना भएको रामायणलाई रामभक्ति धाराको मात्र नभएर सिङ्गो नेपाली साहित्यकै विशिष्ट उपलब्धि मानिन्छ । साहित्यिक दृष्टिले उत्कृष्ट तथा सामाजिक दृष्टिले प्रभावकारी र लोकप्रिय यस कृतिले नेपालीमा भाषिक र सांस्कृतिक एकीकरण गरेको ठानिन्छ (लुइलेट, २०६०, १८४) । यही महाकाव्य सिद्धान्तलाई सैद्धान्तिक पर्याधार मानी भानुक्तीय रामायणमा व्यक्त कथ्य पहिल्याउने प्रयास गरिएको छ ।
छलफल र विश्लेषण
‘भानुभक्तीय रामायण’ शीर्षकको विवेच्य कृतिका १. संरचना र विशेषता, २. कथावस्तु, ३. चरित्र, ४. परिवेश, ५. मूल भाव वा विचार, ६. भाषाशैली, ७. छन्द र अलङ्कार, ८. रामायणको मौलिक पक्ष, ९. शीर्षकजस्ता उपशीर्षकमा केन्द्रित भएर प्रस्तुत कृतिमा पाइने कथ्यको खोजी गरी त्यसको समीक्षात्मक विश्लेषण गर्ने प्रयास गरिएको छ :
संरचना र विशेषता
भानुभक्तको रामायणमा सात काण्ड छन् । बालकाण्ड, अयोध्याकाण्ड, अरण्यकाण्ड, किष्किन्धाकाण्ड, सुन्दरकाण्ड, युद्धकाण्ड र उत्तरकाण्ड । यीमध्ये उत्तरकाण्ड रामको सीता परित्याग र स्वर्गारोहणबाहेक अरु अनेक प्रसङ्ग जोडिएका छन् । बालकाण्डदेखि युद्धकाण्डसम्मको रामायणको कथावस्तु र प्रसङ्ग सुगठित छ । बालकाण्डको सुरुमा नारद ऋषिको लोकहितको प्रश्नको जवाफमा अघि शिवजीले पार्वतीलाई सुनाएको र शिवजीबाट आफूले पनि सुनेको रामकथा नै लोकहित गर्ने लोक कल्याणकारी साधन हो भनी नारद ऋषिलाई सुनाउँदा त्यसको फल पनि बताइएको छ । यही कुरा युद्धकाण्डको अन्तमा पनि भनिएको हुनाले आरम्भ र अन्त्यको प्रसङ्ग एउटै भएकाले सुगठित रहेको पाउन सकिन्छ । यस्तो सुरु र अन्त्यका बिचको तालमेल उत्तरकाण्डसँग नजोडिएको हुनाले रामायणका अरु काण्ड सरह उत्तरकाण्ड सुगठित रहेको पाइँदैन । रामायणका सबै काण्डको आयामगत संरचना एउटै प्रकृतिको छैन । बालकाण्डमा १३९, अयोध्याकाण्डमा १२३, अरण्यकाण्डमा १२२, किष्किन्धाकाण्डमा १४३, सुन्दरकाण्डमा १५४, युद्धकाण्डमा ३८१ र उत्तरकाण्डमा २५७ गरी जम्मा १३१९ श्लोक रहेका छन् । महाकाव्यमा आठभन्दा बढी सर्ग हुनु पर्दछ भन्ने मान्यता अनुसार यसमा सर्ग विधान छुट्टै छैन । काण्डलाई सर्ग मान्ने हो भने तिनको संख्या ७ मात्रै छ, त्यसैले यो महाकाव्य मान्यताको अपवाद हो । यसको समग्र संरचनाले महाकाव्य सरह मान्यता प्राप्त गरेको छ । सर्गान्तमा छन्द परिवर्तन र भावी सर्गका कथाको सूचना, मंगलाचरण पनि यसमा छैन । यो अध्यात्म रामायणको भावानुवाद भएकाले मूल कृतिको संराचना नै यसको संरचना भएको छ । यसमा महाकाव्यीय पूर्ण गुणहरु नभई नेपालीमा महाकाव्यको पूर्वचेष्टायुगको निर्धारण गर्ने कृतिका रुपमा देखिन्छ । यसका विशेषताहरु निम्नलिखित प्रकारका छन् :
· वेद व्यासद्वारा रचित अध्यात्म रामायणको भावानुवाद गरी छन्द, भाषा, कथ्य र चरित्रको नेपालीकरण गर्नु,
· संस्कृत वर्ण मात्रिक छन्दलाई नेपालीकरण गर्नु,
· नेपाली भाषा र साहित्यलाई नेपाल र नेपाल बाहिरसम्म बिस्तार गरेर यसैद्वारा भाषिक, जातीय र भावनात्मक एकीकरण गर्नु,
· रामका गुण र नामको गायन, मनन, चिन्तन र ध्यानद्वारा जीवन मुक्ति र सामाजिक सुधारको पुरातन हिन्दु धर्मका आदर्शको स्थापनाप्रतिको आस्था र विश्वासको अभिव्यक्ति गर्नु,
· सुन्दर र प्राकृतिक बिम्बालङ्कारको प्रयोग गर्नु,
· सुगौली सन्धिले खुम्चिएको नेपाली मानसिकतालाई भक्ति रसको सञ्चार गरी शीतलताको मलम लगाउनु,
· सरल, सहज प्रसाद गुणयुक्त भाषा शैलीको प्रयोग गर्नु,
· राम जस्ता अनुशासित, कर्तव्यपरायण, धीरोदात्त नायकका माध्यमबाट तत्कालीन कलहपूर्ण नेपाली शासकलाई रामको चरित्र अनुकरण गरेर रामको जस्तै रामराज्य बनाउनतर्फ प्रेरणा प्रदान गर्नु,
· सीता र रामको अलौकिक व्यक्तित्वको साधारणीकरण गरेर नेपाली पाठकमा राम सीताका सुख र दुख अनुरुप आफूलाई परेका दुखमा नआत्तिने र सुखमा नमात्तिने शिक्षा दिनु,
लक्ष्मण र भरतको जस्तो भातृपे्रम, रामको जस्तो पितृ तथा प्रजाप्रेम, सीताको जस्तो सहनशीलता र पति प्रेमको नमुना एवम् हनुमान, शवरी, विभीषण, गुह आदिका जस्तो राजा वा रामप्रतिको प्रेम प्रस्तुत गरेर नेपाली समाजलाई पनि एउटा आदर्श परिवारको नमुना प्रस्तुत गर्नु जस्ता विशेषताका आधारमा रामायणका विशेषताहरु औंल्याउन सकिन्छ ।
कथावस्तु
रामायणमा त्रेता युगमा अयोध्याका राजा दशरथका जेठा पुत्रका रुपमा जन्मिएका रामचन्द्रको गाथालाई मुख्य कथावस्तु बनाइएको छ । दशरथ र कौशल्याले अघिल्लो जन्ममा भगवान विष्णुलाई पुत्र रुपमा पाउँ भनी ठुलो तपस्या गरेर वरदान प्राप्त गरेका थिए । सोही वरदान पूर्ण गर्न भगवान विष्णुले कौशल्याको गर्भबाट जन्म लिए । उनी जन्मनुको उद्देश्य आसुरी शक्तिको विनाश र दैवा शक्तिको कल्याण रहेको कुरा रामायणमा धेरै ठाउँमा आउँछ । भानुभक्तको रामायणको कथावस्तु अनुसार यो राम गाथा सुरुमा भगवान शिवले पार्वतीलाई सुनाएका थिए, त्यसपछि ब्रह्माजीलाई सुनाए । शिवजी पूर्ण जान्दछन्, पार्वती आधा जान्दछिन् । म त आधाको पनि आधा जान्दछु भनी ब्रह्माले नारदलाई बताएका छन् । नारदले कलियुगका मानिसहरुको कल्याणको उपायका बारेमा सोधेका प्रश्नको जवाफका रुपमा ब्रह्माले नारदलाई सुनाउँदा प्रश्नोत्तर वा संवादात्मक शैलीमा यसको कथावस्तु निर्माण भएको छ । त्यसपछि ब्रह्माले क्रमशः बालकाण्ड, अयोध्याकाण्ड, अरण्यकाण्ड, किष्किन्धाकाण्ड, सुन्दरकाण्ड, युद्धकाण्ड र उत्तरकाण्डका विभिन्न प्रसङ्गहरुको वर्णन गरेका छन् । यसको बालकाण्डमा दशरथको पुत्रेष्टियज्ञ, चार पुत्रको जन्म, सीता जन्म, वशिष्ठ ऋषिद्वारा विद्या प्रदान, विश्वामित्रद्वारा राम लक्ष्मणलाई आफ्नै आश्रममा लैजानु, त्यहींबाट सीता स्वयम्वर स्थल जनकपुर पु¥याउनु, राम र सीताको विहा, राम परशुराम संवाद, रामको अयोध्या फिर्ता, राज्यमा सुख र सहकाल हुनु जस्ता घटनाहरु कथावस्तुका रुपमा आएका छन् ।
अयोध्याकाण्डमा रामको राज्य सुखभोग देखेर देवताहरुले राम भूभार हर्ने कुरा बिर्सिने हुन् कि भनी नारदलाई अयोध्या पठाउनु, नारदद्वारा रामलाई आफ्नो उद्देश्यको स्मरण गराउनु, राम राज्याभिषेकको तयारी, देवताहरुले वाणीलाई मन्थरा र कैकेयीको मति मन्द गर्न पठाउनु, कैकेयीले अघि राजा दशरथसँग लिन बाँकी दुई ओटा वरदान माग्नु, १. रामलाई चौध वर्षको वनबास र २. भरतलाई राज्य । दशरथले कैकेयीलाई वर दिनु, राम वनबासको तयारी, रामसँग सीता र लक्ष्मण पनि वन जान तयार हुनु, राम सबैसँग बिदावारी भएर वनबासतर्फ जानु, भरतको मामाका घरबाट अयोध्या आगमन, दशरथलाई राम वन गएकोमा पुत्र शोक हुनु र दशरथ मर्नु, भरतले राज्य अस्वीकार गरी रामलाई फिर्ता लिन वनतर्फ लाग्नु, रामलाई भेटेर आफ्नो राज्य आफैं ग्रहण गर्न अनुरोध गर्नु, रामले घर फर्किन अस्वीकार गरी खराउ दिएर भरतलाई फर्काउनु, राम, लक्ष्मण र सीताको अत्रिमुनिका आश्रममा बास हुनु जस्ता घटनाबाट अयोध्याकाण्डको कथावस्तु निर्माण गरिएको छ ।
अरण्यकाण्डमा राम अत्रिमुनिको आश्रमबाट बिदा भई घोर जंगलमा जानु, त्यहाँ एउटा राक्षससँग युद्ध भई उसलाई मार्नु, त्यो विद्याधर गण श्राप पाएर राक्षस भएको र मुक्त भएको वर्णन हुनु, रामले शरभङ्ग र सुतीक्ष्णलाई दर्शन दिनु, त्यसपछि सुतीक्ष्णलाई लिएर अगस्ति ऋषि कहाँ जानु, जटायुलाई अभय दान दिनु, फेरि पञ्चवटी जानु, त्यहीं लक्ष्मणले रामसँग ज्ञान र अज्ञानका बारेमा सोधेर जवाफ पाउनु, शूर्पणखाले राम लक्ष्मणसँग विहा गर्न अनुरोध गर्नु, दुबै भाइले अस्वीकार गरेपछि सीतालाई खान खोज्नु, लक्ष्मणले नाक र कान काटेर पठाउनु, शूर्पणखाले रुँदै दाजु खर, त्रिशिर र दूषणलाई पोल लगाउनु, उनीहरु लस्कर सहित राम लक्ष्मणसँग युद्ध गर्न आउनु, रामबाट दुबै मारिनु, यो दृश्य देखेर शूर्पणखा त्यहाँबाट भागेर रावणलाई खबर दिन जानु, रावणले सीता हरण गर्ने सोच बनाउनु, रावण सहयोगका लागि मारिच कहाँ जानु, मारिचले सुरुमा अस्वीकार गरे पनि रावणबाट उल्टै मारिने डरले स्वीकार गर्नु, मृगरुपी छली मारिचले छायारुपी सीताका वरिपरि घुमेर लोभ्याउनु, सीताले सुनको मृग मार्न रामलाई अनुरोध गर्नु, लक्ष्मणलाई सीताको सुरक्षा गर्न निर्देशन दिएर राम मृगका पछि लाग्नु, धेरै पर पु¥याएर मृग मारिनु, घाइते मृगले हे भाइ लक्ष्मण ! भनेर कराउनु, सीताले रामलाई सहयोग गर्न लक्ष्मणलाई जान अनुरोध गर्नु, अटेर गर्दा सीताले दुर्वाच्य बोल्नु, लक्ष्मणले बनदेवीलाई रक्षा गर्न अनुरोध गरी आफू दाजुतिर जानु, रावणको भिक्षुवेशमा सीता नजिक आगमन हुनु, सीता हरण गर्नु, जटायुले बाटोमा छेक्नु, रावणले पखेटा काटि दिएर घाइने बनाउनु, ऋष्यमूक पर्वतका माथि पुगेपछि सीताले गहनाको पोको बनाएर खसाल्नु, त्यो गहनाको पोको सुग्रिवले प्राप्त गर्नु, रावणले सीतालाई लगेर लङ्काको अशोक वाटिकामा राख्नु, सीतासँग रावणले भित्री रुपमा मातृवत् व्यवहार गर्नु, मारिचलाई मारेर राम फिर्ता हुँदा लक्ष्मणलाई बाटैमा भेट्टाउनु, दुबै भाइ आउँदा सीतालाई कसैले खायो वा हरण ग¥यो त्यसको पत्तो नहुनु, जाँदै गर्दा बाटामा जटायु फेला पर्नु, उनैले रावणले सीता हरण गरेको बताउनु, त्यसपछि कबन्धसँग भेट र उसको मुक्ति हुनु, रामको शबरी कहाँ प्रस्थान, राम शबरी संवाद, रामले शबरीलाई नौ प्रकारका भक्तिका साधन सम्झाई भक्ति ज्ञान दिनु, शबरीले सीतालाई रावणले हरण गरेर लङ्का लगेको, ऋष्यमूक पर्वतमा गएर बालीको डर मानी लुकेर बसेका सुग्रिवलाई भेट्नु, उनीसँग मितेरी लगाउनु सबै काम हुनेछ भनी शबरीले देह त्याग गर्नु जस्ता घटनाले अरण्यकाण्डको कथावस्तु निर्माण गरिएको छ ।
किष्किन्धाकाण्डमा राम शबरीले देखाएको बाटो अनुरुप पम्फा नामक तलाउ हुँदै ऋष्यमूक पर्वतमा पुग्नु, त्यहाँ सुग्रिव र हनुमानसँग भेट हुनु, सुग्रिवसँग मित्रता गर्नु, बाली र सुग्रिवको वैरको कारण, मातङ्ग ऋषिको श्रापका कारण ऋष्यमूक पर्वतमा बाली नआएर आफू बाँचेको कुरा सुग्रिवले बताउनु, बाली पराक्रम वर्णन, सुग्रिव र बालीको युद्ध, रामद्वारा रुखको आडमा लुकेर बाली बध, बालीकी पत्नी ताराको विलौना, तारालाई रामको उपदेश, सुग्रिवद्वारा किष्किन्धापुरीको राज्य ग्रहण, सुग्रिवद्वारा दस हजार विरलाई सात द्वीपका बानरलाई जम्मा गर्न निर्देशन, बानरहरुको उपस्थिति भएपछि रामको आज्ञा अनुसार सुग्रिवद्वारा दस दिशामा सीताको खोजी गर्न पठाउनु, दक्षिण दिशामा रामको औंठीसमेत लिएर हनुमान, अङ्गद, जाम्बवान्, नल, सुषेष आदि वीरहरु जानु, विध्याचल पर्वतमा जटायु गिद्धको दाजु सम्पातिसित भेट हुनु, सम्पातिले सीता लङ्काको अशोक बाटिकामा छिन्, रावणले लगेर त्यहाँ राखेको छ । चार सयकोस लामो समुद्र तर्न सक्नेले सीताको खबर बुझ्न सक्छ भन्नु, जाम्बवान्ले बालकमै दुई हजार कोस कुदेका हनुमान चार सय कोसमा किन डरायौ भनी सम्झना गराउनु, जाम्बवान्को कुरा सुनेु हनुमानमा आफ्नो शक्तिको आभास हुनु र चार सयकोसको समुद्र तर्न तयार हुनु जस्ता घटनाहरु यस काण्डमा रहेका छन् ।
सुन्दरकाण्डमा हनुमानको समुद्र लङ्घन आरम्भ, सुरसाद्वारा मार्ग अवरोध, बुद्धि बल र युक्तिले देवताद्वारा पठाइएकी सुरसाबाट मुक्त भई अघि बढ्नु, मैनाक पर्वतको स्वागत र सिंहिका राक्षसीको बध गरी लङ्का पुग्नु, लङ्काको अवलोकन, लङ्किनी बध, सानो रुप धरी हनुमान अशोक वाटिका पुग्नु, रावणले रामको दूत अशोक वाटिकामा आएको स्वप्न देखेर सीतालाई दुर्वाच्य बोल्न आउनु, त्रिजटाले पनि आफ्लाई रामले लङ्का जितेको स्वप्न भएको कुरा अरु राक्षसीहरुलाई सुनाउनु, सीताले चुल्ठोलाई पासो बनाएर झुन्डिन खोज्ने बेला हनुमानले अयोध्यादेखि बिचका घटना बताई आफू सीताको खोजमा हिंडेका वीरहरुमध्ये आफू पनि एक वीर भएको परिचय दिनु, सीतालाई यो पनि रावणकै छल होला भनी अविश्वास लाग्नु, हनुमानले प्रकट रुपमा आफ्नो परिचय दिए पनि मानिसले बानरसँग कसरी मित्यारी लगाए ? यो कुरा म कसरी पत्याऊँ भन्नु, हनुमानले रामद्वारा पठाइएको औंठी दिनु र सीतामा विश्वास हुनु, हुनमान र सीताका बिच समाचार आदान प्रदान हुन, सीताले चूडामणि झिकेर हनुमानलाई दिनु, हनुमानद्वारा अशोक वाटिकाको विनाश, राक्षसीद्वारा रावणलाई सूचना दिनु, अक्षय कुमार युद्ध गर्न आउनु, हनुमानद्वारा रावण पुत्र अक्षय कुमारको बध, इन्द्िरजतलाई युद्ध गर्न पठाउनु, इन्द्रजितले ब्रह्मपासको प्रयोग गरी हनुमानलाई बाँधेर लङ्काको सभामा पेस गर्नु, सभामा हनुमानले आफ्नो परिचय दिई रावणलाई रामसित विरोध नगर्न सचेत गराउनु, रावणले हनुमानको पुच्छरमा आगो लगाउने आदेश दिनु, हनुमानद्वारा विभीषणको घर बाहेक सम्पूर्ण लङ्का जलाएर समुद्रमा पुच्छर निभाई सीतालाई भेटेर फिर्ता हुन, समुद्रवारि आई रामलाई भेट्न किष्किन्धापुरी पुग्नु, रामलाई सीतासँगको भेट र उनले दिएको चूडामणि दिनु, रामले आफ्ना प्रियभक्त भनी हनुमानलाई काख प्रदान गर्नु जस्ता घटनाहरु यस काण्डमा वर्णन गरिएका छन् ।
लङ्काकाण्डमा रामद्वारा हनुमानका कामको प्रशंसा र समुद्र कसरी तर्ने हो रावणलाई कसरी जित्ने हो भन्ने कुराको चिन्ता गर्नु, सुग्रिवद्वारा समुद्र तर्ने उपाय भएमा बानर सेनाले रावणलाई जित्ने आश्वासन दिनु, हनुमानद्वारा लङ्काको अवस्था र सुरक्षा व्यवस्थाको बयान, लङ्कामाथि चढाइ गर्न किष्किन्धापुरीबाट राम लक्ष्मण लगायत बानर सेनाको प्रस्थान, उता हनुमानले लङ्का पोलेर फर्किएको खबर सुनेर रावण आत्तिनु, सल्लाह गर्न सभा बोलाउनु, इन्द्रजितद्वारा सभामा रावणको बढाइ गर्दै आज्ञा भए पृथ्वीका बानर सखाप पार्ने कुरा गर्नु, कुम्भकर्ण र इन्द्रजितद्वारा राम र राम सेनालाई सजिलै मार्न सकिने हुँदा हामी छँदा चिन्ता नगर्न भन्नु, विभीषणद्वारा रावणलाई परित्याग गरी रामका शरणमा आगमन, रामद्वारा विभीषणलाई शरण प्रदान, रामद्वारा विभीषणलाई लङ्काको राजा भनी घोषणा गरेर राज्याभिषेक गर्नु, रावणका दूतको आगमन, सुग्रिवलाई रावणसित वैर नगर्न र पुनः किष्किन्धापुरी फर्किन रावणले गरेको आग्रह दूतद्वारा सुनाउनु, सुग्रिवद्वारा दूतको प्रस्ताव अस्वीकार, रावण बध गर्ने अटोट सुनाउनु, रावणको दूत शुकको बन्धन गर्नु, रामद्वारा सागरको बिलम्बप्रति क्रोध, सागरद्वारा क्षमा याचना, नलद्वारा सेतु बन्ध हुने उपाय सुझाउनु, सोही अनुसार नलले सेतु बन्ध गरी बानर सेना लङ्काको त्रिकुट पर्वतमा पुग्नु, शुक बन्धन मुक्त हुनु, उसले रावणलाई बानर सेनाको सागर वारिसम्मको आगमनको वर्णन गर्नु, बानर सेना र रावणका सेनाका बिचको युद्ध आरम्भ, दुबैतर्फका अनेक बीरहरुको मृत्यु, बानर सेनाका घाइतेहरुलाई विध्याचल पर्वतको औषधि खुवाएर बचाउनु, रावण र बानर सेना बिच युद्ध, रावणले शक्तिको प्रहार गरी लक्ष्मणलाई मूर्छित पानु, मूर्छित लक्ष्मणलाई देखेर हनुमानले शिविरमा ल्याउनु, रामद्वारा प्रहार गरिएको हतियारबाट रावण मूर्छित हुनु, लक्ष्मणको मूर्छा नखुल्नु, सञ्जीवनी ल्याउन हनुमानको प्रस्थान, सञ्जीवनी खुवाएपछि लक्ष्मणको मूर्छा खुल्नु, रामको शक्ति देखेर रावण चिन्तित हुनु, कुम्भकर्णलाई बिउझाई युद्ध मैदानमा पठाउनु, भीषण शरीर देखेर बानर सेनामा त्राहि त्राहि मच्चिनु, विभीषण र कुम्भकर्ण बिच भेटवर्ता, पुनः युद्ध मैदानमा कुम्भकर्णको त्रास, रामद्वारा कुम्भकर्ण बध, इन्दजितद्वारा होम गर्न सुरु, लक्ष्मण र इन्दजितको युद्ध वर्णन, इन्दजित बध, रावणद्वारा गोप्य रुपमा होम गर्ने कार्यको आरम्भ, बानरद्वारा बिघ्न, रावण मन्दोदरी संवाद, रावण हनुमान युद्ध, राम र रावणको युद्ध वर्णन, रामद्वारा रावण बध, रावणका रानीहरु र विभीषणको शोक, लक्ष्मणद्वारा विभीषणलाई उपदेश, हनुमानद्वारा सीतालाई रावण बधको समाचार दिन भेट गर्नु, सीता र रामको भेट, रामद्वारा सीताको अग्नि परीक्षा लिनु, रामद्वारा बानरादि योद्धाहरुलाई बिदा दिई केही योद्धा सहित सीतालाई लिएर लङ्काबाट फिर्ता हुनु, पुष्पक विमान चढी राम, लक्ष्मण, सीता, हुनमान, सुग्रिव र विभीषण आदि पनि सँगै हुनु, भारद्वाज ऋषिको आतिथ्य स्वीकार गरी एक दिन त्यहीं बस्नु, अयोध्यामा राम सीता सहित आएको समाचार दिन हनुमानलाई पठाउनु, हनुमानद्वारा रामले रावण बध गर्दाके कुरा वर्णन गर्नु, भरतद्वारा रामको स्वागतको तयारी, भरत र रामको भेट वर्णन, भरतद्वारा रामलाई राज्य फिर्ता दिनु, रामको राज्याभिषेक, गुह, सुग्रिव, विभीषण आदिको विदाई, रामायणको फल वर्णन जस्ता प्रसङ्गहरु यस काण्डका मुख्य कथावस्तु बनेर आएका छन् ।
उत्तरकाण्डमा रामले राज्य गरेपछि बैकुण्ठ धाममा गमन कसरी भयो भन्ने प्रसङ्गबाट यस काण्डको आरम्भ हुन्छ । सप्त ऋषि लगायत अन्य ऋषिहरु रामलाई भेट्न जानु, रावण, कुम्भकर्ण भन्दा बलवान इन्द्रजित थियो ती कसरी मारिए भन्ने प्रसङ्ग चल्नु, रामले अगस्तिलाई इन्द्रजित कसरी बलवान थियो भनी प्रश्न गर्नु, अगस्तिले रावण, कुम्भकर्ण र विभीषणको जन्म प्रसङ्ग र बाली सुग्रिवको जन्म प्रसङ्ग वर्णन गर्नु, रावण र सनत्कुमार ऋषिको भेट प्रसङ्ग, सनत्कुमारले राम नाम महिमा वर्णन गर्नु, रामसँग बैर साधेर उनका हातबाट मर्न सीताहरण गरेको भन्ने कुरा अगस्तिले बताएर फर्किनु, दस हजार वर्षसम्म राज गरेपछि राम र सीता बिच बैकुण्ठ फर्किने विषयमा कुराकानी हुनु, सीता पहिले गएपछि अनि राम फिर्ता हुने सल्लाह हुनु, रामले सीता परित्याग गर्नु, लक्ष्मणले सीतालाई रथमा बसाली वाल्मीकि आश्रम नजिक छोडेर आउनु, रामद्वारा लक्ष्मणलाई तत्व ज्ञान दिनु, रामद्वारा लवण नामक राक्षसलाई मारेर त्यहाँ मथुरा नामक राज्य बनाई राज्य गर्न शत्रुघ्नलाई आदेश दिनु, सीताका कुश र लव गरी दुई छोरा जन्मिनु, रामद्वारा अश्वमेध यज्ञको आयोजन, कुशद्वारा वाल्मीकिबाट तत्वज्ञान प्राप्त, रामद्वारा शत्रुघ्नलाई सीता फिर्ता लाउन आदेश, वाल्मीकिद्वारा सीताको पवित्रतामाथि शङ्का नगर्न आग्रह, सीताद्वारा धरतीसँग आफू पवित्र भए मार्ग दिन अनुरोध, धरतीद्वारा मार्ग प्रदान, सीताको धरतीमा विलय, रामद्वारा शोक व्यक्त, रामद्वारा छोरालाई लगेर यज्ञस्थलबाट अयोध्या प्रस्थान, कौशल्यालाई रामद्वारा तत्वज्ञान प्रदान, कैकयी र सुमित्राको स्वर्गवास, राम, लक्ष्मण, भरत र शत्रुघ्नका छोराहरुलाई पनि विभिन्न ठाउँमा राज्य प्रदान गर्नु, एक दिन कालद्वारा ऋषिको भेषमा रामलाई भेट, दुर्वासाद्वारा रामलाई तत्काल भेट गर्ने इच्छा प्रकट गर्नु, लक्ष्मणले भित्र गएमा मारिने कुरा जानेर पनि दुर्वासाले कुलै भस्म गर्ने कुरा गर्दा लक्ष्मण भित्र जानु, काल र दुर्वासाको गमनपछि लक्ष्मणलाई कसरी मार्ने भनी रामले सभा बोलाउनु, मार्नुभन्दा परित्याग गर्न सल्लाह दिनु, रामद्वारा लक्ष्मण परित्याग, लक्ष्मणद्वारा सरयु तटमा प्राणायाम गरी संसार छोड्नु, रामद्वारा भरत, शत्रुघ्न, सुग्रिव लगायत प्रजा, ऋक्ष, बानरहरुलाई लिएर स्वर्गारोहरण एवम् रामायण वाचनको फल वर्णन गरेर उत्तरकाण्डको कथावस्तु टुङ्गिएको छ ।
यसरी भानुभक्तको रामायणमा मूल रामायण कृतिकै कथावस्तुलाई आधार बनाइएको छ । यसमा कतिपय घटना अपत्यारिला, अविश्वसनीय र अतिरञ्जनामूलक पनि छन् । मानिस र बाँदरको मित्रता हुनु, हनुमानले लङ्का जान उडेर चार सयकोस चौडा सागर तर्नु, धेरै जसो पात्रले राम विष्णुका अवतारी पुरुष हुन् भन्ने कुराको पूर्व जानकारी हुनु, बाह्र वर्षसम्म खत्ति नखाई कत्ति नसुती बसेका मानिसले इन्द्रजितलाई मार्न सक्छ भन्दा त्यस्ता व्यक्तिमा लक्ष्मण पर्नु जस्ता घटना अविश्वसनीय लाग्दछन् । २१ औं शताब्दीको इन्टरनेट, फेसबुक सञ्जाल र मोबाइल नेटवर्कले धोका दिएर समाचार सम्प्रेषणमा बाधा हुनु सक्छ तर लङ्किनीले एक मुक्का खाएर छाद्दै लडेपछि अब रावणको मृत्यु नजिक आयो भनी जान्नु, लङ्का र अयोध्याका बिचको दुरी र कुनै समाचार आदान प्रदान नभए तापनि मन्दोदरीले भूभार हर्नका लागि अयोध्यामा भगवान रामको अवतार भएको छ भनी जान्नु जस्ता अनेक घटनाहरु अतिरञ्जनयुक्त छन् । भानुभक्तले रामायणको कथा वस्तुलाई नबङ्ग्याई सोही मूल रामायणलाई नै पछ्याएका छन् । त्यसैले रामायणका घटनाहरु लोक प्रसिद्ध छन् । यिनै घटनामा आधारित भएर प्रस्तुत महाकाव्यको रचना गरिएको छ ।
चरित्र
रामायणमा तीन प्रकारका चरित्रहरुको संयोजन गरिएको पाइन्छ : (क) मानव : यसमा राजा महाराजा, ऋषि मुनि, जनसाधारण नागरिकहरु आदि रहेका छन् । (ख) मानवेतर : यस अन्तर्गत राक्षस, श्रापबाट राक्षस भएका चरित्रहरु, बानर, भालु, पक्षी (जटायु, गरुड, सम्पाति), वनदेवी आदि रहेका छन् । (ग) दैवी : देवता, यक्ष, किन्नर र गन्धर्व आदि ।
यी चरित्रमध्ये केन्द्रमा राम र सीता रहेका छन् । सिङ्गो रामभक्ति धाराकै आस्थाका केन्द्र भानुभक्तीय रामायणका मर्यादा पुरुषोत्तम राम हुन् । असत्यमाथि सत्यको विजयको प्रतीक हुन् राम । ब्रह्म सत्यसम्म पुग्नका लागि प्राणीहरुका जीवनको लक्ष्य प्राप्तिको मार्ग रामको आराधना र उपसना हो । यिनै रामको उदात्त, अनुशासित, आदर्श, मर्यादित, सत्यव्रत, विनयी चरित्र र व्यक्तित्वलाई जनजनका मन मनमा बसाल्न प्रचार प्रसार गर्ने र लोकप्रिय बनाउने काम यस काव्यमा गरिएको छ । राम र सीता बाहेक बाँकी चरित्रहरुलाई सत् र असत् वा आसुरी र दैवी प्रवृत्तिका भनी छुट्याउन सकिन्छ । यस अनुसार राम र सीतालाई विष्णु र शक्तिका अवतारका रुपमा लिई श्रद्धा, पूजा, प्रार्थना, आराधना गरेर रिझाउने वा खुसी पारेर भक्तिभाव ग्रहण गर्ने प्रकृतिका चरित्रहरु एक थरि छन् । यिनीहरु राम र सीतासँग बैर वा विरोध गर्दैनन्, बरु रामको गुणगान गर्दछन् । अर्का थरि आसुरी चरित्रहरु छन् । आसुरी चरित्रहरु पनि रामलाई विष्णुको अवतार वा परमेश्वर हुन् भन्ने कुरा मान्दछन् । मृगको रुप लिएर छल्न जाऊ भनी गरेको रावणको आग्रहलाई मारिचले त राम परमेश्वर हुन् उनीसँग विरोध नगर्न भनेर उल्टै रावणलाई यसरी सम्झाउने प्रयत्न गर्दछ :
तस्मात् तिमी पनि विरोध् मति यो नलेऊ, सीता म हर्छु भनि आग्रह छाडि देऊ ।
सब् नष्ट हुन्छ तिमीले मति यस्ति लीया, देख्यौ खर त्रिशिर दूषण मारि दीया ।। अरण्यकाण्ड–५९
मारिचको अनुरोध अस्वीकार गर्दै रावण आफ्नो विचार यसरी अघि सार्दछ :
ईश्वर् त हुन् यदि भन्या ति अवश्य मार्छन्,
सामान्य हुन् यदि भन्या ति अवश्य हार्छन् ।
ईश्वर् भया पनि असल् छ अवश्य तर्छू,
सामान्य हुन् त म सितासँग भोग गर्छू ।।
अरण्यकाण्ड–६४
रावणको जिद्दी र उल्टै आफैंलाई मार्ने धम्की सुनेर मारिचले यस्तो विचार गरी छली मृग बन्न तयार हुन्छ :
आखिर् मर्याँ म हरिदेखि मर्या त तर्छू, यस दुष्टदेखि मरिया त नरक् म पर्छू ।
यस्तो विचार गरि तहाँ मृगरुप धारी, हूकम् सिरोपर धारी कन भो तयारी । अरण्यकाण्ड–६६
मारिचलाई राम पूर्ण परमेश्वर हुन् भन्ने कुरामा विश्वास थियो । रावणका डरले ऊ रामसँग बैर साध्ने कुरामा सहमत हुन पुगेको देखिन्छ । यस्तै रावणलाई पनि पूर्ण रुपमा सीता शक्ति रुपा र राम परमेश्वर हुन् भन्ने कुरामा पूर्ण विश्वास थियो । रावणलाई राम विष्णुका अवतारी पुरुष हुन् भन्ने कुराको ज्ञान सनत्कुमार ऋषिले दिएका थिए । त्यसको जाँच बुझ गर्न रावण नारद ऋषिको वचन अनुसार श्वेदद्वीपमा गएर हेरि सकेको थियो । यसको वर्णन रामायणमा यसरी गरिएको छ :
......, मर्छू मै पनि विष्णुदेखि र यहीं आयेर बस्छू भनी ।
जल्दै गर्न निमित्त खुप् छलगरी सीताजीलाई हर्या,
लङ्कामा लगि मातृवत् जननिको सेवा पनि खुप् गर्यो ।।
उत्तरकाण्ड–९९
मन्दोदरी र रावण संवाद हुँदा युद्धकाण्डमा रावणले रामका बारेमा यस्तो अभिव्यक्ति गरेको छ :
आत्मज्ञान स्वरुप् बुझेर मनले अज्ञानको नाश् गरी,
स्वस्थै भै रहू शोक् न मान तिमिले क्या हुन्छ यो शोक् गरी ।
हे मन्दोदरि ! मार्छू राम् कन सहज् सङ्ग्राम ठूलो गरी,
रामैले यदि मार्दछन् त पनि बेस् जान्या छु संसार् तरी । २३४
विष्णू हुन् रघुनाथ् सिता पनि इनै लक्ष्मी भनी जान्दछू,
जानी जानि सिता हर्याँ त म उसै क्या आज डर् मान्दछू ।
राम्का हात परी मरुँ भनि त हेर् सीताजिलाई हर्याँ,
राम्का हात परी मर्याँ पनी मन्या संसार् सहज्मा तर्याँ ।। २४१
लङ्काको सुरक्षामा बसेकी लङ्किनीलाई कस्तो ज्ञान थियो भन्ने कुरा निकै अचम्म लाग्दो छ । सुन्दरकाण्डमा लङ्किनीले हनुमानको एक चोट खाएपछि गरेको अभिव्यक्ति यस्तो छ :
लङ्कापूरि त हुन् ति राक्षसि भई बस्थिन् सदा द्वारमा,
जानिन् श्रीहनुमान् भनेर जब चोट् पाइन् चलिन् सारमा ।
लङ्किनी हुँ मलाई ता जिति गयौ यस्ले सक्यो राज् गरी,
रावण्को त मरण् हुन्या बखत भो आयो मरण्को घरी ।। २१
ब्रह्माजी अघि भन्दथ्या प्रभुजिको हून्या छ रामावतार्,
हर्ला रावणले सिता र रघुनाथ् सुग्रीव थ्यैं मित्रचार् ।
गर्नन् सुग्रिवले पनी दसदिशा सीताजिको खोज् खबर्,
गर्नालाई पठाउनन् विरहरु छानेर खुप् खुप जबर् ।। २२
धन्यै भयाँ म अहिले प्रभुको स्मरण् भो,
संसारको भय त जो उ त आज दुर् भो ।।
जस्तो मिल्यो म कन सङ्ग र भक्ति ऐल्हे,
यस्तै रहोस् यहि म पाउँ न बिर्सुं कैल्हे ।। २५
यस्ता भनाइबाट आसुरी प्रवृत्तिका चरित्रहरु पनि अप्रत्यक्ष रुपमा रामको भक्ति गर्ने काम गरि रहेको पुष्टि हुन आउँछ । यस्तो भए तापनि उनीहरु श्रद्धा, प्रेम, पूजा, मित्रता आदिबाट होइन बैर साधेर रामका हातबाट मरेर मुक्ति प्राप्त हुन्छ भन्ने सोचमा छन् भने अप्रत्यक्ष रुपमा रामसँग बैरभाव राख्नुको मतलब रामका हातबाट मृत्यु भएर मुक्त हुन चाहने आकाङ्क्षा नै प्रबल रुपमा देखिन्छ । यसैले रामायणका दैवी प्रवृत्ति र आसुरी प्रवृत्ति गरी दुबै थरिका चरित्रहरुले मोक्ष प्राप्तिको साधन भिन्न भिन्न अपनाएका छन् तर मूलभूत रुपमा उद्देश्य एउटै रहेको स्पष्ट हुन्छ ।
रामलाई विष्णुको अवतार, शक्तिको अवतारका रुपमा एकातिर प्रस्तुत गरिएको छ भने अर्कातिर अरु क्षत्रीय राजाहरु सरह सिकार खेल्ने सामान्य व्यक्तिका गुणहरु पनि भएको कुरा भनुभक्तले लेखेका छन् :
मानिस भै भगवान् जती त रहनन् तेस् पृथ्वितल्मा गई ।
बालकाण्ड–४९
खेल्या क्यै दिनमा सिकार वनमा साँचा सिकारी बनी ।
बालकाण्ड–६५
रामायणमा लक्ष्मण, राम र बानरहरुको आदर्श चरित्रमा पनि केही खोट रहेको देखाइएको छ । लक्ष्मणले सूर्पणखाको नाक कान काटेको, शबरीले दिएको बयर जुठो भनी नखाएको, रामले बालीलाई रुखको आडमा छलेर मारेको, सीताको अग्नि परीक्षा लिएर मात्र स्वीकार गरेको, त्यस्ती सीतालाई परित्याग गरेको जस्ता चारित्रिक खोटहरु पाइन्छन् । त्यस्तै रावण राम्रा अस्त्र प्राप्तिका लागि होम गर्न गएका बखत बानरहरुले रावणकी पत्नी मन्दोदरीलाई रावणका अगाडि नङ्याएर उसको सतित्व हरण गर्ने काम गरेको कुरा युद्धकाण्डमा यसरी उल्लेख गरिएको छ :
ध्यानैमा दृढ मन् गरी अचल भै रावण् बसेथ्यो जसै,
ल्याया अङ्गदले त खैचि नजिकै मन्दोदरी पो तसै । २२८
ती मन्दोदरिलाइ रावण नजिक् पौंचाइ हुर्मत् लिया,
चोलो खोलि अफालि फेरि कटिको सारी खसाली दिया ।।
लायाका गहना समेत् शरीरको वस्त्रै अफाल्या जसै,
रुँदै रावणका नजीक रहँदी बिन्ती गरिन् यो तसै । २२९
हे नाथ ! आज कता गयो हजुरको लज्जा अनाथ् क्या गरुँ,
पत्नीका इ विलाप् सुनी जिउनु धिक् मर्नू निको हो बरु ।।
येती बिन्ति गरिन् र पुत्र कन खुप् संझेर लागिन् रुनै,
आर्को कोहि थियेन ताहिं तिनका साहाय हून्या कुनै । २३०
यसरी दैवी शक्तिका पक्षपाति राम, लक्ष्मण र तिनका अनुयायीहरुका आदर्शको प्रस्तुति मात्र नगरी तिनका खराव, कमजोर, विभेदकारी गुणहरु पनि केलाएर रामायणमा यथार्थपरक चरित्र चित्रण गर्ने प्रयास गरिएको छ । यसै गरी रावणलाई एकातिर खरब, आसुरी प्रकृतिका खल चारित्रिक विशेषताका आधारमा चित्रण गरिएको छ भने अर्कातिर उसका राम्रा चारित्रिक विशेषताहरु पनि केलाउने काम गरिएको छ । रावण बाहिरी रुपमा जति अत्याचारी र बेइमानी देखिए पनि भित्री रुपमा उसले राम परमेश्वर हुन्, उनका हातबाट मृत्यु भयो भने अवश्य तरिन्छ भन्ने कुरा बुझेर सीता हरण गरी रामसँग बैर साध्ने काम गरेको देखिन्छ ।
रामायणका नायक पूर्वीय महाकाव्य मान्यता अनुरुप धीरोदात्त नायक हुन् । उनी अयोध्याका युवराज र पछि राजा पनि भएका छन् । उनी धीर, वीर, उच्च कुलीन, उदात्त र आदर्श एवम् प्रजापालक छन् । उनलाई राजपाट, जनभावना र ऋषिहरुलाई कसरी सुख, शान्ति प्रदान गर्ने भन्ने कुराको चिन्ता छ । यसका निमित्त उनी त्यत्रो ठुलो युद्ध गरेर सम्पूर्ण लङ्का नै समाप्त गरी फर्काइएकी प्राणभन्दा प्यारी सीतालाई पनि त्याग गरेर गर्भिणी अवस्थामै वनमा पठाइ दिन्छन् । यसरी रामायणका चरित्रहरुको चरित्र चित्रण गर्न सकिन्छ ।
परिवेश
सुगौली सन्धिपछि नेपाली वीरहरुको मन खुम्चिएर क्षत विक्षत भयो । यस्तो आहत मानसिकतालाई सामाजिक र भाषिक भिन्नतालाई एकीकरण गर्न रामायणले महत्त्वपूर्ण भूमिका निर्वाह गर्यो । नेपाली समाजलाई सीता जस्ती सहनीलता, पतिव्रता र धैर्यशीला नारीको आदर्शद्वारा, लक्ष्मण र भरतको जस्तो भातृप्रेमद्वारा, पुरुषोत्तम रामको जस्तो कर्तव्यपरायण, आज्ञाकारी, विनयशील, पत्नीव्रत, धीर, गम्भीर, वीर, प्रजापालक, शत्रुहन्ता, युद्धकुशल, सत्यरक्षक, आदर्श उपस्थित गरेर रामराज्यको नमुना र प्रेरणा तथा शिक्षा प्रदान गर्ने काम रामायणबाट भएको छ । रामायणमा एउटा जीवनको मात्र नभएर एउटा युगकै चित्रण गरिएको छ । यसमा ग्राम, वन, तलाउ, नदी, सागर, युद्ध, भावना, अध्यात्म, आत्मा, परमात्मा, ज्ञान, वैराग्य, छल, कपट, द्रोह, वैर, वैमनस्यता, ईष्र्या आदि कुराको चित्रण गरिएको पाइन्छ ।
मूल भाव वा विचार
रामायणको उद्देश्य प्रत्यक्ष रुपमा ‘लोक्को गरुँ हित् भनी’ भए पनि अप्रत्यक्ष रुपमा धार्मिक फल वा मोक्ष प्राप्ति रहेको देखिन्छ । पूर्वीय अचार्यहरुले धर्म, अर्थ, काम र मोक्ष गरी चतुर्वर्गमध्ये एउटाको फल प्राप्ति अन्यको वर्णन मकाकाव्यमा हुनु पर्दछ भनेका छन् । यस काव्यले धर्मको साधन रामभक्तिलाई बनाएर मोक्ष वा जीवन मुक्तको उद्देश्य रोखेको पाइन्छ ।
बालकाण्डका श्लोक २, ३, ४, ५, र छैठौं श्लोकमा नारद मुनिको प्रश्न र ब्रह्माजीको उत्तरका रुपमा आएको ७ औं श्लोकले रामायणलाई मोक्षको उपायका रुपमा लिएको पाइन्छ । बालकाण्डको प्रारम्भबाट सुरु भएको शिव पार्वती संवाद युद्धकाण्डका ३७६, ३७७, ३७८, ३८९, ३८० र ३८१ रामायण पठनको फल बाचन गरी समापन हुन्छ । त्यसपछि उत्तरकाण्डको पहिलो र दोस्रो श्लोकबाट अर्को प्रसङ्गको उठान हुन्छ । रामायणको उद्देश्यलाई भानुभक्तको रामायणमा यसरी उल्लेख गरिएको छ :
सून्यौ पार्वति ! रामको हृदय यो जो जो त पाठ गर्दछन्,
जो छन् जन्म सहस्रका सकल पाप् तिन्का सबै टर्दछन् ।।
जातीभ्रष्ट अधम् हवस् त पनि लौ यस्लाई खुप् पाठ् गरी,
राम्को ध्यान् पनि गर्छ यो पनि भन्या त्यो जान्छ संसार् तरी ।।
बालकाण्ड–४१
यस्तै उत्तरकाण्डमा रामायण गाथाको फल यसरी उल्लेख गरिएको छ :
जो यो कथा कन खुसी भइ पाठ गर्छन् । सुन्छन् कहीं कहिं सुनायर पाप हर्छन् ।
खुप् आयु बढ्छ तिनको अति सौख्य हुन्छन् । धन्लाभ हुन्छ बहुतै तब नित्य सुन्छन् ।। उत्तरकाण्ड–९३
जो विष्णुका पूजन नित्य गर्छन् । जो विष्णुका बाहुलि देखि मर्छन् ।।
तेस्ता महात्मा तहिं बस्न जान्छन् । त्रैलोक्यका बिर त ति तुच्छ मान्छन् ।। उत्तरकाण्ड–९६
यसमा विष्णु र रामलाई एउटै मानिएको छ । नारद मुनिले रावणलाई यस्तो सल्लाह दिएपछि ऊ रामसँग बैर साध्न सीता हरण गर्ने उपाय सोच्दछ । यसैले विष्णु र रामलाई अभिन्न मानिएको हुँदा राम भन्नु पर्ने ठाउँमा विष्णुको प्रयोग भएको देखिन्छ । रामायणको पाठ र रामका हातबाट मृत्यु हुँदा सहजै पार तरिन्छ भनी यस्ता अनेकौं फलको प्राप्ति हुने कुरा युद्धकाण्डका श्लोक ३७५–३८१ मा उल्लेख गरिएको छ । यसरी रामायण महाकाव्यमा भक्ति रसलाई रसात्मक सिद्धिको उत्कर्ष स्थितिसम्म पुर्याई रामको अलौकिक व्यक्तित्वलाई अनुभूतिको भावमा मिस्याएर साधारणीकरण गरी राम र सीताका सुख र दुःखलाई पाठकहरुद्वारा आफ्नै दुःख र सुख ठान्ने स्थितिसम्म पुर्याउने काम गरिएको छ (ओझा र गिरी, २०५७, १८३) । रामायणमा अलौकिक वा दिव्य पात्रको प्रयोग गरिएको छ । त्यस्ता पात्रको साधारणीकरणले गर्दा पाठक ती पात्रका सुख र दुःखमा आफूलाई समाहित गर्दै तन्मय हुन्छ । भरत विलाप र मिलापमा होस् वा सीताको बिछोड र वियोग र वेदनामा रामले गरेको विलौना होस् अथवा लक्ष्मण मूर्छा परेको बेला होस् वा रामसँगको वियागमा सीताले गरेको विलौना होस् यी सबै ठाउँमा कारुणिक भावको सिर्जना गरिएको छ । युद्धकाण्डमा वीरताको हुङ्कार र न्याय तथा लोकोपकारको भावना पाइन्छ । भक्ति भावना र तत्व ज्ञान के हो भन्ने विषयमा त रामायणमा धेरै ठाउँमा चर्चा गरिएको छ । मुख्य गरी राम शबरी संवाद, राम र हनुमान संवाद, राम र लक्ष्मण, राम र ऋषि मुनिहरु, राम र तारा संवाद, राम विभीषण संवाद आदिमा तत्व ज्ञान र भक्ति भावनाको चर्चा गरिएको पाइन्छ । यसरी रामायणमा भक्ति वा शान्त रस केन्द्रीय रसका रुपमा रहेको छ भने करुण, वीर, भयानक, रौद्र, शृङ्गार आदि रसहरु अङ्ग रसका रुपमा रहेका छन् ।
नेपालको तत्कालीन राजनैतिक वातावरण अशान्तिपूर्ण थियो । राष्ट्रनिर्माणको दायित्वभन्दा आपसी खिचातानी र काटमारमै भारदारहरु लागेका थिए । व्यक्तिगत स्वार्थ राष्ट्रिय स्वार्थमाथि हावी थियो । स्वार्थ लिप्सालाई छोडेर राष्ट्र निर्माणमा लाग्ने प्रेरणा प्रदान गर्न र व्यक्तिगत स्वार्थभन्दा राष्ट्रिय स्वार्थलाई बढी महत्व दिनुपर्छ तब मात्र जनताले सुख, शान्ति, अमन चयन प्राप्त गर्न सक्छन् भन्ने सन्देश प्रवाह गर्न रामायणको रचना गरिएको हो । यसबाट रावण जस्तो अत्याचारी, विलासी चरित्र र बाली जस्तो भाइ बुहारीलाई उपभोग गर्ने चरित्रलाई त्यागेर राम जस्तो कर्तव्य परायण, धैर्यशील, आदर्श चरित्र, भरत जस्तो सत्ता प्राप्त गरेर पनि दाजुको प्रतिनिधि भएर वा सेवक भएर कुशल रुपमा सत्ता सञ्चालन गर्ने चरित्रको समयोचित अवश्यकता ठान्दै त्यसलाई साधारणीकरण गरी राम भरतको आदर्श चरित्र स्थापना गर्नु (ओझा र गिरी, २०५७, १८४–१८५) रामायणको उद्देश्य रहेको देखिन्छ ।
अप्रत्यक्ष रुपमा हेर्दा रामायण संसारिक उद्देश्य राखेर लेखिएको महाकाव्य होइन । यसमा कवितात्मक बान्कीहरु तरल प्रकृतिका पाउन नसकिएला तर यसको उद्देश्य अनुकूल अन्तर्जगतको सौन्दर्यलाई उद्घाटन गरिएको छ । रामायणमा यस्ता आन्तरिक चिन्तन, आध्यात्मिक पक्ष, जीवन मुक्तिका गाथाहरु प्रशस्तै पाउन सकिन्छ । राम जन्मने बित्तिकै कौशल्या घबराइन् किनभने उनको रुप रङ्ग बालकको जस्तो नभई वयष्कको जस्तो थियो । कौशल्याले बालक हुन आग्रह गरिन्, त्यसपछि राम बालक भएपछि उनलाई स्वाभाविकताको अनुभूति भयो । यस्ता प्रसङ्गहरु रामायणमा अनेक छन् । विश्वामित्रले रामलाई साथमा लैजान खोज्दा दशरथ अन्कनाएका थिए तर विश्वामित्रले वशिष्ठसित सल्लाह लिन दिएको सुझाव अनुसार दशरथले वशिष्ठसँग सोद्धा उनले जुन रहस्य खोले त्यसबाट दशरथ ढुक्क भए । दशरथको बन जाने आज्ञा लिएर कौशल्यासँग बिदा माग्न गएका बखत रामले गरेको अभिव्यक्ति अन्तर्जगतकै सान्दर्यका रुपमा आएको छ । यस्तै राम वनबास जाँदा, भरतले राम वनबासबाट फिता लिने जिद्दी गर्दाको रहस्य वा रामले विष्णुको अवतार लिई भू–भार हर्न आएको उद्देश्य खुलेको छ ।
रामायणमा रामलाई भविष्यका सबै घटनाका ज्ञाता बनाइएको छ भने रामका बारेमा जान्ने ऋषि, मुनिहरु पनि प्रशस्तै देखिन्छन् । सीता हरण हुनु अघि रामले सीतालाई तिमी अदृश्य भई छाया सीता बनाएर छोड । तिमीलाई भिक्षुको रुप लिई रावण हरण गर्न आउने छ भनिएको कुरालाई यसरी वर्णन गरिएको छ :
एक् भिक्षुको रुप लि रावण आज आई । हन्र्या छ दुष्ट तिमीलाइ स्वरुप् छपाई ।।
चाँडो अवशय तिमिले पनि रुप् छपाऊ । एक् वर्ष सम्म छपि दिन् तिमिले बिचाऊ ।। अरण्यकाण्ड–६९
यी सबै रहस्यहरुबाट एउटै कुराको अभिव्यक्ति गर्न खोजिएको छ, त्यो के भने रामायणमा रामलाई विष्णुको अवतारी पुरुषका रुपमा प्रस्तुत गरिएको छ । विष्णुको रामका रुपमा मनुष्य भई जन्मनुको उद्देश्य आसुरी शक्तिको विनाश र दैवी शक्तिको कल्याण हो ।
रामायणमा भक्तिसँग सँगै प्रेमका विविध रुपको वर्णन पाइन्छ । लक्ष्मण र भरतको भ्रातृप्रेम, रामको पितृप्रेम र प्रजाप्रेम, सीताको पतिप्रेम, सुग्रिवको मित्रप्रेम, हनुमानको भक्तिप्रेमका नमुना महत्वपूर्ण छन् । महाभारतमा आफ्नै भाईलाई राज्य, गाउँ होइन सुयो (सियो), सम्म बिनायुद्ध नदिने विचार पाइन्छ भने रामायणमा भ्रातृप्रेमले अरु प्रेमलाई उछिनेको छ । आफू मवल गएका बखत आफ्नै पिताले रामलाई चौध वर्षको वनबास र भरतलाई राज्य प्रदान गरे । राम वनबास गए, यो कुरा भरतलाई मालवबाट फर्किएपछि ज्ञात हुन्छ । भरत रामलाई फिर्ता बोलाएर ल्याउन वनतर्फ जान्छन् । बाटामा रामले कुल्चेको ठाउँलाई देखेर यस्तो अभिव्यक्ति गर्छन् :
डेरा देखी भरत्जी तहिं नजिक गया पाउका छाप देख्या ।
श्रीराम्का पाउँका छाप् चिह्निकन खुसिले माथले ताहिं टेक्या ।।
भन्छन् धन्न्यै रह्याछु सहन न मिलन्या पाउका छाप देख्या ।
ब्रह्माजीले प पाउनू छ त पनि सहजै माथले आज टेक्याँ ।।
अयोध्याकाण्ड–८८
यस्तो अभिव्यक्ति गरेर भरत अघि बढ्छन् । एक छिन पछि रामलाई प्रत्यक्ष रुपमा भेटेपछि रामप्रतिको भरतको अभिव्यक्ति यसरी आएको छ :
ख्वामित् हजुरको म त दास पो हूँ । यो राज्य गर्ना कन योग्य को हूँ ।।
यो गादि ता याहिं हजुरको हो । मैले त सेवा गरि बस्नु पो हो ।।
अध्योध्याकाण्ड– ८८
यसरी सामाजिक जागरण र तत्कालीन नेतृत्वलाई सचेत गराउन आदर्श चरित्रको प्रस्तुति गर्नुका साथै आध्यात्मिक र प्रेमका विविध रुपको प्रस्तुति गर्नु रामायणको उद्देश्य रहेको स्पष्ट पार्न सकिन्छ ।
भाषाशैली
प्राथमिक कालीन काव्य कृति भएको हुनाले सोही अनुसारको भाषिक प्रयोग यस काव्यमा भएको छ । यसमा गया, भया जस्ता भूत कालिक क्रियापदमा ‘या’को प्रयोग, जहाँ–तहाँ को प्रयोग भएको पाइन्छ । त्यस्तै अनुप्रास योजना, हलन्त र ह्रस्व दीर्घलाई ऐच्छिक प्रयोग गर्ने काम जस्तो खुब्÷खुप्, सिता÷सीता, रावण्÷रावण । यस बाहेक बोलीचालिको सरल सामान्य भाषा नै यस काव्यले अँगालेको छ । यसमा विशिष्ट पदावली, प्रतीकात्मक बिम्ब निर्माण त्यति मात्रामा भएको पाइँदैन । तर पनि रामायण शैली, शिल्प, काव्यात्मकता एवम् जनप्रियता सबै दृष्टिबाट उच्च स्थानमा रहेको छ ।
महाकाव्य वर्णनात्मक शैलीमा हुन्छ । यो महाकाव्य वर्णनात्मक हुँदा हुँदै संवादात्मक र कथात्मक शैलीमा संरचित छ । यसमा काव्यकार कवितात्मक वर्णन गर्नभन्दा कथालाई छिटो छिटो तन्काउनतिर बढी केन्द्रित भएका देखिन्छन् । राम जानकी विवाहको उत्सवलाई एकै श्लोकमा यसरी टुङ्ग्याएका छन्, जस्तै :
सुन्दर् लग्न खटन् गर्या जनकले मङ्गल् सहर्मा चल्या,
नाच् कीर्तन् सितका प्रकाश् कन हून्या रात्मा चिराक् खूप् बल्या ।
जो मन्डप् छ विवाहको तस उपर् झुम्का हिराका झुल्या,
मूँगा मोति जुहार् जनक्पुर महाँ घर् घर् सबैका झुल्या ।।
बालकाण्डको- १११
यसरी शैलीगत विशिष्टताभन्दा भक्ति रसमा चुर्लुम्म डुबेर लेखिएको रामायण भक्ति रस प्रधान काव्य हो । यसमा प्रकृति वर्णन र भावात्मक अभिव्यक्तिका पङ्तिहरुभन्दा अध्यात्मको वर्णनका सन्दर्भमा बढी तिख्खर बनेका छन् ती प्रभावशाली पनि छन्, जस्तै :
सामान्य मानिस भया कसरी ती मार्या,
लस्कर खर त्रिशिर दूषण छुट्टि पार्या ।
सामान्य होइन इ ता परमेश्वरै हुन्,
नाहीं त माइहरुका अघिटिक्त थ्यो कुन् ।।
अरण्यकाण्ड–५१
ईश्वर भया हुँदि कसै पनि मार्दछन् ती,
सामान्य हो पनि भन्या हरुँला सिताजी ।
अरण्यकाण्ड–५२
भानुभक्तको रामायण भावानुवाद भए पनि भाषा, शैली, लय, वर्णन आदि कुरामा मौलिकता देखिन्छ । यसबाट कवित्व शिल्पको वैशिष्ट्य झल्किन्छ । भावानुकूल छन्दको चयन, प्रसाद गुणयुक्त सरल शैलीबाट आन्तरिक भावात्मक सौन्दर्यको उद्घाटन गर्ने काम भानुभक्तले गरेका छन् ।
छन्द र अलङ्कार
रामायणमा शार्दूलविक्रीडित, वंशस्थ, मालिनी, शिखरिणी छन्दको प्रयोग गरिएको पाइन्छ । यीमध्ये शार्दूलविक्रीडित छन्दको अत्यधिक प्रयोग गरिएको छ । यसलाई भानुभक्तले नेपालीहरुको जातीय छन्द बनाउने काम गरेका छन् । सम्पूर्ण नेपालीहरुले आआफ्नै शैली र लयमा यस छन्दको प्रयोग गरेको पाइन्छ । आम नेपालीहरुले यस छन्दको प्रयोग गर्ने सिप भानुभक्तको रामायण पढेरै प्राप्त गरेका हुन् । शास्त्रीय छन्दलाई नेपालीकरण गरेर सरल, सरस र प्रसाद गुणले युक्त शिल्प, शैली एवम् काव्यात्मक अभिव्यक्ति दिन सक्नुमा यस काव्यको वैशिष्ट्य झल्किन्छ (ओझा र गिरी, २०५७, १८३) । यस काव्यमा छन्द भङ्ग भएको छैन तर छन्द मिलाउँदा शब्दका अन्त्य वा बिचमा पनि हलन्त बनाउने काम गरिएको छ । ‘अपिमासंमसंकुर्यात् छन्दोभङ्गंनकारयत्’ भन्ने छन्द शास्त्रीहरुका मतको पूर्ण पालना गरिएको छ । यसमा शब्दालङ्कार र अर्थाङ्कार दुबैको धेरथोर प्रयोग गरिएको पाइन्छ । शब्दलङ्कारमध्ये अन्त्यानुप्रास र उपमाको प्रयोग बढी गरिएको पाइन्छ । अर्थालङ्कारमध्ये स्वाभावोक्ति, रुपक, दृष्टान्त जस्ता अलङ्कारहरुको सामान्य प्रयोग गरिएको पाइन्छ ।
रामायणको मौलिक पक्ष
भानुभक्तीय रामायण अध्यात्म रामायणको भावानुवाद हो । यति भएर पनि यसमा नेपाली समाजका मूल्य र मान्यता, परम्परा र संस्कारजन्य कुराहरुको चित्रण गरिएको पाइन्छ । यिनै पक्षलाई आधार बनाएर यस काव्यका मौलिक पक्ष भनिएको छ । रामको वनबास जाने निश्चय भएपछि राम सीतासँग बिदा हुन जान्छन् । उनी सीतालाई नेपाली समाजका छोराले श्रीमतीको कर्तव्य बताएझैं सासुको टहल गरेर बस भनी यसरी सम्झाउँछन् :
शङ्कित् जानकीलाइ देखि प्रभुले तीमी घरैमा यहाँ,
सासूको टहलै गरीकन रहू बर्षै त चौधै महाँ ।।
अयोध्याकाण्ड–३९
अयोध्याबाट बनबासका लागि हिंडेका राम, लक्ष्मण र सीताको दोस्रो दिन गङ्गा नदीका किनारमा गुहजीसँग भेट हुन्छ । गुहजी रामका मित्र हुन् । उनले रामको स्वागतका लागि ल्याएका फल फुल रामले स्वीकार गर्दैनन् । घर जाउँ भन्दा नमानेर कुशासनमा भुइँमा सुत्दछन् । गुहजीका आग्रहलाई रामले यसरी टारेका छन् :
कौनै फल फुल खानु छैन अरुले केही दिउन् ता पनी,
भन्या यो मनमा छ थाम्छु मनको आफ्नू प्रतिज्ञा भनी ।
मैरै हौ तिमि राज्य जो छ उ पनी मेरै छ भन्दा भया,
बर्को दूद घसी जटा मुकुट झैं पारेर बाँद्धा भया ।।
अयोध्याकाण्ड–५४
बनबासी मुनिको भेषधारी राम पछिल्लो दिन गङ्गा तरेर पारी पुगेपछि मिर्गको पकुवा खाएर छाक टार्छन् भन्ने कुराको उल्लेख गरेर भानुभक्तले पहाडिया मांसाहारी नेपाली हिन्दुहरुको झझल्को राममा आरोपित गरेका छन् :
गङ्गा पार् तरि मिर्ग मारि पकुवा तारेर खाया तहाँ,
तेस्रो बास् रघुनाथको तहिं भयो एक वृक्षका तलमहाँ ।।
अयोध्याकाण्ड–६०
शीर्षक
भानुभक्तले लेखेको हुनाले यसको नाम भानुभक्तको रामायण शीर्षक राखिएको छ । महाकाव्यमा कृतिको नाम लेखक, पात्र वा घटनाका आधारमा राखिने महाकाव्य सिद्धान्त अनुसार रामायण विभिन्न लेखहहरुका छन् ती मध्ये भानुभक्तले लेखेको भन्ने जनाउन भानुभक्तको भेदक विशेषण थपेर यसको शीर्षक चयन गरिएको छ । रामायण शब्दले रामको चरित्र र कीर्तिको वर्णन भएको अन्ने अर्थ बुझाउँछ । यस कृतिमा पनि रामका गुण र उनको शौर्य, क्षमता, शालीनता, महानता र उनका कार्यहरुको वर्णन गरिएको हुनाले यस कृतिको नाम भानुभक्तको रामायण शीर्षक उपयुक्त देखिन्छ र यो शीर्षक सार्थक पनि छ ।
निष्कर्ष
प्रस्तुत लेखमा आदिकवि भानुभक्त आचार्यद्वारा लिखित ‘रामायण’ महाकाव्यको कथ्य पहिल्याउने काम गरिएको छ । यस लेखमा ‘रामायण’मा व्यक्त कथ्य पहिल्याउने प्रमुख उद्देश्य राखिएको छ । यो उद्देश्य हासिल गर्न प्रस्तुत लेखमा भानुक्तीय रामायणको खास कथ्य के हो ? र यसलाई रामायणमा कसरी प्रस्तुत गरिएको छ’ भन्ने कुरालाई प्रमुख समस्या मानी ‘ महाकाव्य सिद्धान्तका आधारमा यसमा पाइने कथ्यको मुख्यतः वर्णनात्मक, तुलनात्मक र विश्लेषणात्मक विधिको प्रयोग गरिएको छ । विश्लेषण गर्दा रामायणको संरचना र यसका विशेषताहरु, कथावस्तु, चरित्र, परिवेश, मूल भाव वा विचार, भाषाशैली, छन्द र अलङ्कार, रामायणको मौलिक पक्ष र शीर्षकजस्ता उपशीर्षकमा केन्द्रित भएर प्रस्तुत कृतिमा पाइने कथ्यको खोजी गरी त्यसको समीक्षात्मक विश्लेषण गर्ने प्रयास गरिएको छ ।
नेपाली कविताका क्षेत्रमा भानुभक्त आचार्य बिर्सनै नसकिने नाम हो । उनका रामायण, बधुशिक्षालगायतका कृतिहरुले नेपाली पाठकका मनमा गहिरो छाप बसालेका छन् । रामायण सात काण्डमा रचित महाकाव्य स्तरको कृति हो । यसमा वेदान्त दर्शनद्वारा प्रतिपादित ‘ब्रह्म सत्यं जगन्मिथ्या’को सिद्धान्तलाई उद्देश्य बनाई रामका चरित्रको गायन गरिएको छ । यसमा मानवीय, मानवेतर र दैवी चरित्रहरु छन् । यीमध्ये कोही रामसँग मित्रता, पूजा, श्रद्धा र भक्ति गरेर उनलाई खुसी पार्न चाहन्छन् भने कोही उनीसँग वैर साधेर, उनका हातबाट मरेर मुक्त हुन चाहन्छन् । दुबैको भक्ति गर्ने तरिका भिन्नभिन्न भएपनि उद्देश्य भने एउटै हो भन्ने कुरा प्रस्तुत गरिएको छ । यो अध्यात्म रामायणको भावानुवाद भएकाले विषयवस्तु मूलग्रन्थकै छ तर भाषा, लय र भावको प्रस्तुतिमा भने मौलिकता रहेको निष्कर्ष निकालिएको छ ।
सन्दर्भ सामग्रीसूची
आचार्य, बाबुराम (२०५५). ‘हाम्रा आदिकवि भानुभक्त’, नेपाली समालोचना, सं. घनश्याम कँडेल, ललितपुर : साझा प्रकाशन ।
आचार्य, भानुभक्त (२०६७). भानुभक्तको रामायण, (छैं.सं.) ललितपुर : साझा प्रकाशन ।
ओझा, रामनाथ र गिरी मधुसूदन (२०५६). लोक साहित्य, पूर्व आधुनिक नेपाली साहित्य र आधुनिक नेपाली निबन्ध, कीर्तिपुर : वाङ्मय प्रकाशन ।
घोडासैनी, खगेन्द्र (२०६९). ‘आदिकवि भानुभक्त आचार्यको महाकाव्यकारिता’, राप्ति साहित्य परिपद्, अन्तर्ध्वनि, साहित्यक त्रैमासिक पृ १-१४ ।
त्रिपाठी, वासुदेव र अन्य (२०६०). नेपाली कविता भाग–४, (चौ.सं.) ललितपुर : साझा प्रकाशन ।
भट्ट, मोतीराम (२०५८). कवि भानुभक्तको जीवन चरित्र, (ते.सं.) ललितपुर : साझा प्रकाशन ।
भण्डारी, गोपाल प्रसाद (२०५३). प्राग्भानुभक्तीय नेपाली काव्य, काठमाडौं : नेपाल राजकीय प्रज्ञाप्रतिष्ठान ।
रिसाल, राममणि (२०५८). नेपाली काव्य र कवि (पाँ.सं.), ललितपुर : साझा प्रकाशन ।
लुइँटेल, खगेन्द्र प्रसाद (२०६०). कविता सिद्धान्त र नेपाली कविताको इतिहास, काठमाडौं : नेपाल राजकीय प्रज्ञाप्रतिष्ठान ।
शर्मा, मोहनराज (२०६०). ‘प्राथमिक कालको नेपाली पद्य’, नेपाली साहित्यको इतिहास (प्रथम खण्ड), चूडामणि बन्धू (सं.), काठमाडौं : नेपाल राजकीय प्रज्ञाप्रतिष्ठान ।
सान्दर्भिक विश्लेषण
ReplyDeleteहो र
Deleteसमसामयिक लेख
ReplyDeleteधन्यवाद
Delete