आमासँगको सम्झना !!!
डा. खगेन्द्र घोडासैनी
हरेक बालकहरू आफ्ना घरका सदस्यहरूसँग कसरी परिचित हुन्छन् त्यो आफ्नै ठाउँमा छ । म पनि एकपटक आफ्नो त्यस स्थितिमा थिएँ नि त । म कसरी यो संसारमा आएर यहाँका नातासम्बन्धहरूसँग परिचित हुँदै गएँ त ? यो अनौठो प्रश्न धेरैले नगरेको लाग्ला तर साँचो कुरा यही हो आफू परिचित कुन दिनदेखि कसरी भइयो भन्ने कुराको केही हेक्का नै नराखीकन हामी परिचित हुँदा रहेछौँ । आखिर जन्मेका दिनदेखि करिब छ महिनासम्म त बालकले आफ्नी आमालाई पनि चिन्दैन । उसका लागि सबै संसार बराबर । के आफन्त के पराया । मनोवैज्ञानिकहरूले यही समयमा बच्चाले आमालाई चिन्द छ भनेका छन् । यसको कारण हो बच्चाले दुध जसबाट खान पायो उसलाई अरुभन्दा भिन्न दृष्टिले हेर्न र पहिल्याउन थाल्द छ र आमाको सुमसुम्याइ ठम्याउन थाल्दछ । मेरा दृष्टिमा मनौवैज्ञानिकहरूको यो भनाइ अनुमानमा आधारित देखिन्छ । म आफैँले आमालाई कहिलेदेखि चिनेँ त ? यसको जवाफ मनोवैज्ञानिकसँग होइन मैले म आफैँलाई सोध्नुपर्छ । एउटा बच्चालाई ‘तिमीले कहिलेदेखि आमालाई चिन्यौ ?’ भनी सोध्यो भने उसले सर्वप्रथम त यो प्रश्न नै बुझ्दैन । केही गरी प्रश्न बुझे पनि उत्तर भन्न सक्दैन । यसको उत्तर ठम्याउने वयष्कले नै हो । त्यसैले म आफैँ यस प्रश्नको उत्तर खोज्दै छु । मैले आफ्नी आठ वर्षकी छोरीलाई यो प्रश्न गरेँ । ऊ अलमलमा परी । राम्ररी बुझाएर फेरि सोधेँ । उसको जवाफ थियो “खै मलाई त केही थाहा छैन ।” यो स्थिति प्रायः सबैको हुनुपर्दछ । म जन्मिनुभन्दा नौ महिना अघिदेखि म आमासँग एकाकार थिएँ । नौ महिना पूरा पुगेर दसौँ महिना लागेपछि मैले संसार टेकेपछि आमाकै काख र पिट्युँमा आफूलाई हुर्कँदै र बढ्दै गए पनि आमासँगका सबै क्षणहरू म आज सम्झन सक्दिनँ । आमालाई ‘आमा’ भनेर सम्झिएको तथा मेरो स्मृतिमा रहेको प्रथम क्षण कुन हो त ? यस कुराको निर्क्योल गर्न मलाई निकै गारो भइरहेको छ । म आमाको पछिपछि लागेर आमा जता जानुहुन्थ्यो त्यतै पुगेको छु । आमा खेतबारी भएका ठाउँहरूमध्ये सुधेमारे पुगेको मलाई राम्ररी सम्भना छ । त्यसैगरी किमडे पानी पुगेको छु । आमाले एक दिन मेरो कुनै बदमासीबाट आजित भएर मलाई गोठमा थुनेको अनि गोठको एउटा कोठाबाट अर्कोमा जाने बिचमा झ्याल रहेको त्यही झ्यालबाट बाहिरिएर किमडा सानीआमाका घर गएर एक रात बसेर भोलिपल्ट मात्रै आफ्ना घर फर्किएको सम्झिन्छु । एक दिन आमासँग सँगै जान नदिएर दाजुहरूले समातेर राख्नुभयो । केही समयपछि घरमा अरु कोही मानिस आएर तिनैसँग दाजु गफ गर्न थालेको मौका छोपी घरको करेटाबाट फुत्किन खोज्दा आफूसँग सँगै सर्प पनि हिँडिरहेको र त्यससँग डराएर घरै फर्किएको घटना ताजै छ । मैले पहिलो दिन सर्प देखेको त्यही हो । सुनेको थिएँ तर देखेको त्यही हो । त्यस्तै एक दिन घरमा कोही नभएका बेला गाग्राबाट पानी सार्न खोज्दा थोरै पानी भएकाले सारिएन । नजिकै सिलौटामा लोडो थियो । त्यसैलाई गाग्राका तल राखेर दुई तीन पटक टोक्काएपछि पानी मात्रै निस्किएन गाग्रो नै फुटेर चार टुक्रा भयो । त्यसपछि ठुलै बिगार गरेको डरले आमा आउने बाटो कुर्दै गौँडानिर गएर बसेँ । आमा आएपछि रुन्चे स्वर लगाएर बेलिबिस्तार लगाएँ । यी सबै घटना सात वर्ष नपुग्दैका हुन् तर अघि र पछिका कुन हुन् अहिले ठम्याउन गारो भइरहको छ ।
साहिँली बहिनी हो कि कान्छी बहिनी हो जन्मेको दिन सम्झन्छु । दुई बहिनीमध्ये कुन हो त्यो भने ठम्याउन सकेको छैन । सबै कुरा बेलिबिस्तार लगाउँदा साहिँली बहिनी जन्मेको दिन हो भन्ने सुनेको छु तर म आफैँले भने ठम्याएको होइन । बहिनी जन्मिँदा ठुली आमा आउनुभएको र आमालाई गारो भएको, बहिनी जन्मिएपछि आमा गोठ (घरको भुइँ तला) मा बसेको सम्झना छ । साहिँली बहिनी मभन्दा चार वर्ष कान्छी भएकाले मैले चार वर्ष हुँदाको घटना सम्झेको रहेछु भन्नुपर्ने हुन्छ ।
यी सबै घटनाले मेरो बाल्यकालको धुमिल परिवेशभित्र प्रवेश गराएका छन् तर त्यो प्रश्न अनुत्तरित नै छ जसको मलाई खोजी छ । मनोवैज्ञानिकहरूले यस प्रश्नको खोजी गरेको पनि आजसम्म कतै पढेको छैन । यदि खोजेको भए पनि त्यसको सटिक उत्तर आउला जस्तो मलाई लाग्दैन किनकि यो जटिल प्रश्नको समाधानका लागि कुनै न कुनै बालकमाथि नै प्रयोग गर्नुपर्ने हुन्छ तर बालकले यसको उचित जवाफ दिन सक्दैन । एउटा बालक आमालाई पहिलो दिन कसरी आमा भन्न पुग्छ भन्ने कुरा पत्तै नपाईकन आमासँगको सामीप्यता कायम राख्दो रहेछ ।
सुन्दर लेख मामा 💕💖💕
ReplyDelete