कोरोनाको अनुभूति
डा. खगेन्द्र घोडासैनी
१
बोकेर पिरको भारी घाँटी खस खस पो भयो,
आलस्य जिउ पारेर रुघा खोकीसँगै भयो ।
२
स्वाद गन्ध हराउँदा खोजी नीति सुरु गरेँ,
हो कि ! कोभिडको शङ्का सोच्दासोच्दै थला परेँ ।
३
छाती कट्कट काटेर निरन्तर दुखी रह्यो,
भोक निद्रा हराएर सुर चिन्ता उतै गयो ।
४
हदेलो, तुलसी, गुर्जो, पारिजात वनस्पति,
असुरो, अमला, ज्वानो गुणकारी थरीथरी ।
५
लसुन, अदुवा, मेथी, टिमुर, पुदिना गुणी,
रुदिलो पत्र औ बोजो मिस्याई औषधी कुटी ।
६
पिप्ला, दालचिनी, जेठी मधु, मरिचको धुलो,
कुटी पिसी सबै जम्मा पकाई औषधी मुलो ।
७
यिनैको वाफ औ काढा लिइरहेँ सधैँभरि,
बाँचेँ समयको अंश हुनाले जिन्दगी अझै ।
८
समय बलशाली छ ठुलो हो समयै भनेँ,
समयै उच्च हो जानी ठुलो हो समयै गुनेँ ।
९
नआई समयै कोही नबस्छ न त उठ्दछ,
न रोग आउँदो केही नबाँच्छ न त मर्दछ ।
१०
बँचायो उसले भन्नु बाँचेँ म भन्नु व्यर्थ हो,
मन ईश्वरमा राखे जिन्दगी त्यही अर्थ हो ।
। इति ।
रचना- २०७८/०२/०४ गते बुधवार