Our Coronil Story (हाम्रो कोरोनिल कथा)

Dr.Khagendra Ghodasaini
8
हाम्रो कोरोनिल कथा
डा. खगेन्द्र घोडासैनी
हाम्रो घरका चार जनामध्ये तीन जनालाई कोभिड-१९ को सङ्क्रमण भएको थियो । दुई जनाको पिसिआर जाँच गर्दा पोजेटिभ नै आयो । हामी कसरी सङ्क्रमित भयौँ भन्ने कुरा हामीले कतैबाट पनि पत्ता लगाउन सकेनौँ । गतवर्ष सुरु सुरुमा कोरोना लागेको भनेपछि सरकारी संयन्त्र आएर अपराधीहरूलाई झैँ घरबाट लगिएको कुरा पत्रिकामा पढेको र कतिपय मान्छेहरूले व्यक्तिगत रूपमा सुनाएका पनि थिए । यसवर्ष कोरोना लागेपछि त्यसबारे खोजीनीति कतैबाट भएको देखिएन । हामी कसरी सङ्क्रमित भयौँ भन्ने कुराको विवरण यहाँहरूसमक्ष राख्छु त्यो पत्ता लगाउने काम यहाँहरूकै जिम्मा ।
सबैभन्दा पहिले म हाम्रो परिवारका बारेमा केही उल्लेख गर्दछु । त्यसै पनि हाम्रो जडीबुटी प्रयोग गर्ने बानी थियो । सामान्य रुघा त मलाई प्रत्येक दिन लाग्छ । बिहान उठेर झ्याल ढोका खोलेपछि बाहिरको हावासँगको स्पर्श हुने बित्तिकै हाछ्युँ नआएको सायदै कुनै दिन होला । दिनभरि नै रुघा लागेमा प्राकृतिक चिकित्साको विधि अपनाउने गरेका थियौँ । जस्तै वाफ, गलगला आदि । दैनिक योग पनि मैले त बार वर्षको उमेरदेखि नै महर्षि महेश योगीको भावातीत ध्यान, आसन र प्राणायाम गर्दै आएकामा विगत सोर वर्षदेखि सुरत शब्दयोगको अभ्यास तथा अनुलोम विलोम र श्वाससम्बन्धी अन्य अभ्यास पनि गर्दै आएको छु । यस्ता अभ्यासमध्ये श्वास रोक्ने र कपालभाँती लगायत विभिन्न अभ्यासहरु हामी सबैले गर्दै आएका छौँ । अरू असाध्य रोग कुनै भएको मेडिकल ल्याबको प्रमाण मसँग छैन । रोग लाग्नभन्दा पहिलेदेखि नै सात्विक, शाकाहारी र घरमै बनेका खाने कुरा खाने गरेकाले पनि आहारले स्वस्थ विचार बनाउन सहयोग गर्दछ भन्ने कुरामा विश्वास गर्दछु । आध्यात्मिक चिन्तन र स्वस्थ विचारधारा निर्माणमा स्वस्थ आहारले नै मद्दत गर्दछ भन्ने कुरामा मलाई कुनै दुविधा छैन । म साँझ ९ बजे सुत्ने र बिहान ४ बजे नै उठ्छु । त्यस्तै साढे चार बजे मिना (श्रीमती) र छोरीहरू पनि त्यस्तै ५ र ६ बजे सधैँ उठ्छन् । उनीहरुले पनि योग र ध्यान तथा प्राणायाम गर्छन् । यो हाम्रो सामान्य दैनिकी हो ।
यस्तैमा २०७८ साल वैशाख ११ गते छोरीलाई रुघासँगै १०२ डिग्री जरो आयो । चार दिन सिटामोल खुवाएपछि जरो सन्चो भयो । वैशाख ७ गतेदेखि छोरीको विद्यालयमा पठनपाठन बन्द भएकाले हामीलाई कोरोनाको कुनै शङ्का भएन । त्यसपछि घाँटी र कान दुख्न थाल्यो । १४ गते बिहान सहकर्मी डा. सुरेन्द्र चौधरी सरसँग कुरा गरेँ । उहाँको सल्लाहअनुसार Azithromycin 500mg र Vitamin C खुवाएँ । त्यसपछि घाँटी दुख्ने र जरो कम भयो तर कानको समस्या बढी भयो । १४ गते नै सहकर्मी उपप्राध्यापक ध्रुवराज गौतम सरसँग कुरा भयो । उहाँलाई कोरोना भएकाले उहाँले डाक्टरको सल्लाहअनुसार आफूले प्रयोग गरेका औषधीको सूची उपलब्ध गराउनुभयो । छोरीलाई सानैदेखि रुघा लागेमा कान दुख्ने समस्या थियो । यो रुघाकै कारण होला भन्ने हामीलाई लाग्यो तापनि १७ गतेदेखि निषेधाज्ञा भएकाले त्यसअघि नै डाक्टरलाई देखाउनुपर्छ भन्ने लाग्यो । अनि १६ गते डा. सुनिलकुमार सरलाई देखाएँ । उहाँले दिनुभएको औषधीले कान ठिक भयो । उता १५ गतेदेखि नै मिनालाई पनि जिउ भारी हुने समस्या देखियो तर तीन चार दिन छोरीलाई स्याहार्दा अनिदो पनि भएर यस्तो भएको हुनसक्ने कुरा उनले भनेपछि अरू कुनै आशङ्का भएन । बाहिरतिर म नै जाने गरेकाले पनि मलाई केही नभएसम्म कोरोनाको हामीलाई कुनै आशङ्का भएन । म त १४ गते शिक्षा तालिम केन्द्र रुपन्देहीको तुलसीपुर शाखामा, १५ गते नेसंवि परीक्षा नियन्त्रण कार्यालय र १५ र १६ गते जनता विद्यापीठ तथा १६ गते तुलसीपुर बजार पनि पुगेको थिएँ । १७ गतेसम्म अनलाइनबाट पढाइ पनि रहेको थिएँ ।
वैशाख १६ गते साँझदेखि मलाई घाँटीमा खसखस र रुघा सुरु भयो । १७ गते जिउ भारी हुन थाल्यो । छोरीलाई भने यतिबेलासम्म गन्ध र स्वाद राम्रै थियो । मिना र मलाई गारो हुँदै गयो । हामीले सधैँ झैँ रुघा लाग्दा वा नलाग्दा पनि तुलसी पुदिना र गुर्जोको चिया खाने गरेका थियौँ । उता डा. सुनिलकुमार सरले १६ गते नै आयुर्वेदिक चिया दिनुभएको थियो । हामीले सुरुका चार दिन तुलसीको पात उमालेको पानी मात्रै पियौँ । चिया पनि बिहान र दिउँसो लिन सुरु गर्‍यौँ ।
१८ गतेपछि स्वाद र गन्ध क्रमश: कम हुँदै गयो । जिउ पनि बेसरी दुख्न थाल्यो । मिनालाई सुक्खा खोकी पनि बढ्यो । अब मलाई कोरोनाको आशङ्का भयो । मैले डा. सम्मोद आचार्यलाई आफ्नो समस्या बताएर आवश्यक सल्लाह मागेँ । उहाँको सुझावअनुसार स्थानीय मेडिकलमा गएर खोकीका लागि कासारिन तथा यष्टिमधु र सितोपलादि चूर्ण ल्याएर खान थाल्यौँ । १९ गते भने हामीलाई कोरोना लागेको हो भन्ने पक्का विश्वास भयो । वरिष्ठ आयुर्वेद चिकित्सक डा. प्रकाश ज्ञवालीका अनुसार अहिले कोरोना संक्रमितमा देखिएका मुख्य लक्षणहरू यसप्रकार छन् :
१. केहीमा रुघाखोकीका लक्षण,
२. ज्वरो सात दिनभन्दा बढी रहने,
३. लामो समय खोकी रहने, अत्यधिक सुक्खा खोकीले कसै कसैको खकारमा रगतसमेत देखा पर्ने,
४. टाउको र शरीरका मांसपेशी दुख्ने,
५. छालामा एलर्जी आउने,
६. शरीरमा शिथिलता आउने,
७. स्वाद वा गन्ध हराउने,
८. रिङटा लाग्ने,
९. कतिपयमा वाकवाकी र पखाला लाग्ने,
१०. कतिपयमा मुख सुक्खा हुने, घाँटी खसखसाउने, दुख्ने,
११. लक्षण देखिएको ६ देखि ७ दिनमा निमोनिया भएर सास फेर्न गाह्रो भई अस्पताल भर्ना हुने अवस्था आउने ।
यीमध्ये छोरीलाई सुरुमा जरो र कान दुख्नेबाहेक हामीलाई निम्नलिखित लक्षणहरू देखिए-
१. रुघा र सुक्खा खोकी,
२. टाउको र पेटभन्दा माथिका मांसपेशी दुख्ने,
३. सुत्दा वा कसैले छुँदा पनि छालामा बालुवा वा नुन लगाएर कोतरेको जस्तो हुने,
४. स्वाद र गन्ध हराउने,
५. मन्द शिर दुखाइ हुने,
६. मुख सुक्खा हुने र घाँटी खसखसाउने,
७. शरीरमा सुस्ती हुने जस्ता मुख्य लक्षण हामीले भोग्यौँ । अरूको स्वाद हराए पनि मेवा, मह र नुनको स्वाद भने यथावत् नै रह्यो ।
यसैबिच सहकर्मी ध्रुव सर र दाजु डोरप्रसाद उपाध्याय (भतिज कोरोना सङ्क्रमित भएकाले) सँग आवश्यक सुझाब पाइरहेँ । मिनालाई खोकी बढेपछि डा. रूपानन्द बजगाईंसँग पनि आवश्यक सल्लाह लिएँ । विशेषज्ञ डाक्टर र शुभेच्छुकहरूको सुझाबअनुसार पिसिआर जाँच गराउन चाहे पनि त्यसको आवश्यक चाँजोपाँजो कतै मिलेन । प्राचार्य सर र अर्का सहकर्मीले पिसिआर कसरी कहाँ जाँच गराउनुभयो भनी आवश्यक सल्लाह लिएँ । सरकारी र निजी दुवैका लागि घोराही पुग्नुपर्ने तुलसीपुरमा एन्टिजेन परीक्षण हुने जानकारी भयो । तुलसीपुर केही गरी पुगिहाल्यौँ भने जाँच हुने नहुने कुनै भरपर्दो स्रोत फेला परेन । घोराहीमा पनि जानेबित्तिकै र पैसा तिरेर पनि धेरै समय कुर्नुपर्ने बुझियो । हामी दुई जना जाँदा छोरीहरुलाई कसरी घरमा छोड्ने ? तुरुन्त पिसिआर नभएर ढल्ने अवस्था आए के गर्ने भन्ने कुराले घोराही गइहाल्ने हिम्मत भएन बरु घरमै सुरक्षित महसुस हुने ठान्यौँ । यसको मुख्य कारण हो सरकारी डाक्टरको दैनिक पत्रकार सम्मेलन । जसमा उनले भन्ने गर्छन् "ढल्ने अवस्था नभएसम्म अस्पताल नआउनू" । अन्तमा मिनालाई खोकी धेरै बढेर गारो भएपछि तुलसीपुरमा नगरपालिकाको संयोजनमा पिसिआर जाँच हुन्छ भन्ने जानकारी पायौँ । २२ गते बिहान मिना र म तुलसीपुर अरनिको मैदानमा गयौँ । सुरुमा त घरबाट ७ किलोमिटर टाढा पुग्न पनि बाइक चलाएर जाने हिम्मत थिएन । पछि सिटामोल खाएर भने आफै बाइक चलाएरै तुलसीपुर पुग्यौँ । नाउँ लेखाउने काम मात्रै भयो । अर्को दिन २३ गते बिहान ७ बजे गएर स्वाब दियौँ । तुलसीपुर पुग्नै गारो पुगेपछि चेक पनि गराएर जाऊँ भन्ने लाग्यो । मलाई त्यतिबेलासम्म सामान्य खोकी थियो । मिनालाई बढी सुक्खा खोकी भएकाले राप्ती लाइफ केयरमा गयौँ त्यहाँ काउन्टरमा बुझ्दा डाक्टरलाई देखाएपछि मात्रै छातीको एक्स-रे गर्न मिल्ले कुरा बुझियो । हामी त्यहाँबाट बाहिरिएर चिनारी हस्पिटलमा गयौँ । त्यहाँ पनि सुरुमा एक्स-रे गराउने भन्यौँ । एक्स-रे हुने निश्चित भएपछि बिल काटेर छातीको एक्स-रे गरायौँ । त्यसपछि डाक्टरलाई देखायौँ । छातीमा सामान्य समस्या छ भनेर केही औषधी लेख्नुभयो । हामीले डाक्टरको सल्लाहअनुसार सेवन गरिरहेका औषधी पनि देखायौँ । त्यसपछि अरू औषधी ल्याएर घर फर्कियौँ । स्वाब दिएको ४८ घन्टामा दुवैको पोजेटिभ नतिजा आयो । त्यतिबेलासम्म छोरीलाई स्वाद र गन्धबाहेक अरू समस्या नदेखिएकाले पिसिआर जाँच गराउन आवश्यक ठानेनौँ । एक त आफूहरू पोजेटिभ भएपछि पनि आफै लिएर जानुपर्ने अर्को थप समस्या नदेखिएको र जँचाए पनि आफू पोजेटिभ भएपछि पनि कुनै खोजखबर कतैबाट नभएकाले स्वास्थ्य सावधानी अपनाउनुबाहेक अरू केही काम रहेनछ भन्ने लाग्यो । त्यसपछि थप औषधीको जोहो गर्न छिमेकी अनोदकुमार देवकोटाले सघाउनुभयो ।
हामीलाई पोजेटिभ आउनुभन्दा पहिलेदेखि नै हामीले स्वास्थ्य सावधानी अपनाएका थियौँ । अब घरमा पनि हामी बिरामी मात्रै होइन आफैँ भान्से र छोरीहरूका लागि अभिभावक पनि थियौँ । सानी छोरीलाई भान्सा र बैठक कोठामा आउँदा मास्क लगाउन लगायौँ । हामीले पनि भान्सामा मास्क लगाउने गर्‍यौँ । सुत्न भने सानी छोरी र म एउटै कोठामा सुत्यौँ । ऊ एक्लै सुत्न नसक्ने समस्याले पनि यस्तो गर्नु पर्‍यो ।
हाम्रो दैनिकीमा खानपिन र सुत्ने तथा उठ्नेबाहेक दैनिक काम सबै बन्द भए । पठनपाठन लेखन तथा समाचार हेर्न र सामाजिक सञ्जाल पनि करिब १२ दिनसम्म अत्यावश्यक म्यासेज हेर्नेबाहेक अरू धेरै कम गर्‍यौँ । दैनिक दुई पटक वाफ लिने, दुई पटक गलगला गर्ने, दुई तीन पटक विभिन्न जडीबुटीको काढा पिउने, दुई पटक चिया त्यो पनि केही दिन चिनी पनि नराखेको, बिहान घाम ताप्ने, बिहान दिउँसो र साँझ जिउ पाट्टिएको महसुस भएमा बेलाबेला आफ्नै घरको बारीको पछाडिसम्म हिँडडुल गरेर स्वच्छ हावा लिने, आध्यात्मिक र हास्य कार्यक्रम मात्रै हेर्ने । सकेसम्म समाचार नसुन्ने र कसैले स्वास्थ्य मन्त्रालयका विज्ञको पत्रकार सम्मेलन सेयर गरेको रहेछ भने त्यो नहेर्ने, भिटामिन सि, बि, जिङ्क, हप्तामा १ दिन डि, खोकीको औषधी, केसरी जीवन, कस्तुरी भूषण, साँझ बेसार राखेर दुध तथा मुङका गेडा भिजाएर खिचडी, बिहान चना मुङ मेथी भट्ट आदि गेडागुडी उमारेर त्यसको रस, मेवा, मह, कागती, अमला, हर्रो, च्याउको सुप आदिको सेवनले नै कोरोनाबाट मुक्त भयौँ । हामीले प्रयोग गरेका कोराना भगाउने मुख्य औषधी यिनै हुन् । यी औषधीले भन्दा पनि जीवन बाँच्ने अवधि भएकाले नाथे कोरोनाले केही गर्न सकेन । समय नभएको भए यी वनस्पतिले केही काम गर्न सक्दैनथे भन्ने मलाई पूर्ण विश्वास छ । त्यसैले ठुलो कुरा समय नै आफ्ना पक्षमा रहेछ भन्ने म ठान्दछु ।
यसबखत पहिलेदेखि बनाउँदै आएको आफ्नो विचार र धारणालाई यथावत् राख्ने काम गर्‍यौँ । खास गरी कोरोना पोजेटिभ भएपछि उच्च मनोबल कस्तो हुनुपर्छ भन्दा–
सुखदु:खे समेकृत्वा लाभालाभौ जयाजयौ ।
(परम लक्ष्यमा लागेका व्यक्तिको जीवनमा सुख वा दुख जय वा पराजय लाभ वा हानि यी कुनै कुराले अवरोध र विचलित पार्न सक्दैनन् । यिनबाट विचलित हुनु पनि हुँदैन।)
जाको राखै साइयाँ ताको मेट न सकै कोय ।
(जसमाथि स्वयं साईं अर्थात् परमात्माको कृपा छ उसलाई कसैले अर्थात् कोरोनाको न्यु भेरियन्टले पनि केही लछारपाटो लगाउन सक्दैन ।)
जिस के शिर उपर तु है स्वामी सो दुख कैसा पावै ।
(जसमाथि स्वयं परमात्माको कृपा छ उसले दुख पाउने सम्भावना नै छैन । यो (कोरोना) त तिमीले कमाएको पैसामा कतै परिश्रमको कमाइ नभएको र तिमीले कसैको तिर्न बाँकी रकम रहेछ भने औषधी पसलेलाई दिएर त्यसको परिपूर्ति गर्ने बेला हो । त्यसको केही अंश डाक्टर औषधी पसलेहरुलाई बुझाउनु पर्ने थियो । तिमीले त्यसै निकाल्ने थिएनौ कोरोनाको बाहाना बनाएर निकाल्न लगाएको मात्रै हो । तिमीले खर्च गर्‍यौ अब पुग्यो ।)
हामीले यस्ता विचारलाई प्रबल बनायौँ । जीवनको अन्त्य हुने समय रहेछ भने कसैको केही लाग्दैन । समय सकिएको रहेछ भने कसैले केही गरेर पनि हुँदैन भन्ने अटोट लिने कोसिस गर्‍यौँ । यही नै हाम्रो उच्च मनोबल बन्यो । यसका साथै हामी एकआपसमा बसेर शरीरमा गारो भए पनि हासखेल गरेर नै समय कटाउने गर्थ्यौँ ।
यसरी एउटै घरमा बस्दा पनि सानी छोरीमा भने कोरोनाका कुनै लक्षण देखिएनन् । यसबाट कोरोना दुई मिटरको दुरीमा नबसेसम्म सर्छ भन्ने विज्ञहरूको विचार फेल खाए जस्तो छ । हामीले हात नाक र मुखमा लगेपछि अनिवार्य साबुन पानीले हात धुने र ढोकाका चुकुल र हेन्डिलमा स्यानिटाइजर गर्ने काम पोजेटिभको रिपोर्ट आएपछि बल्ल सुरु गर्‍यौँ । त्यसपछि पनि सुत्ने कोठा र सौचालय रातीमा एउटै हुन्थ्यो ।
आज सामान्य लक्षण देखिएको २० औँ दिन र पोजेटिभ रिपोर्ट आएको १४ औँ दिन हो । अरू सबै सुधार भए पनि केही दिनदेखि कुनै दिन मन्द शिर दुखाइ, कुनै दिन दाहिने कानदेखि घाँटीसम्मका नसा दुख्ने र कुनै दिन घुँडाभन्दा तल दुखाइ तथा सामान्य खोकी अझै पनि लागिरहेको छ । यस्तो समस्या मिना र छोरीलाई पनि छ ।
अन्तमा हामीलाई फोन र म्यासेन्जरबाटै आवश्यक सल्लाह र सुझाब दिनुहुने डाक्टरहरू, दाजु, भाउजू, भतिजा, भतिजी, दिदी, बहिनी, भान्जा, भान्जीलगायतका आफन्तहरू, सहकर्मी मित्रहरू तथा अन्य शुभेच्छुक सबैमा हाम्रो स्वास्थ्यलाई लिएर चिन्ता लिई आवश्यक सल्लाह र सुझाब दिनुहुने माथि नाम लिएका र अन्य सबैप्रति हामी हार्दिक आभार एवम् धन्यवाद व्यक्त गर्दछौँ ।

रचना- २०७८/०२/०५ गते बुधवार साँझ ९ बजे

Post a Comment

8 Comments
  1. Congratulations Guru for defeating Covid-19.❤️❤️

    ReplyDelete
  2. Congratulations Guru for defeating Covid-19.❤️❤️

    ReplyDelete
  3. Congratulations Guru for defeating Covid-19.❤️❤️

    ReplyDelete
  4. धन्यवाद सर जानकारीका लागी यसले धेरैकाे जीवन बचाउन मद्दत गर्ने छ ।

    ReplyDelete
  5. जानकारीमूलक सामग्रीका लागि धन्यवाद सर

    ReplyDelete
Post a Comment

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top