Survey History of Nepali Ghazal (नेपाली गजलको सर्वेक्षणात्मक इतिहास)

Dr.Khagendra Ghodasaini
0

नेपाली गजलको सर्वेक्षणाात्मक इतिहास
डा. खगेन्द्र घोडासैनी
(सारसङ्क्षेप : प्रस्तुत लेख नेपाली गजलको सङ्क्षिप्त ऐतिहासिक सर्वेक्षण गरेर तयार पारिएको हो । यसमा गजलसङ्ग्रह प्रकाशन वर्षलाई आधार मानेर त्यस्तो सङ्ग्रह प्रकाशन वर्षका आधारमा ऐतिहासिक रूपरेखा प्रस्तुत गरिएको छ । नेपाली गजलको ऐतिहासिक पक्षलाई उद्देश्यमूलक नमुना छनोटपद्धतिका आधारमा छनोट गरिएको छ । यो दस्तावेजको विश्लेषणमा आधारित गुणात्मक ढाँचाको लेख हो । यसमा फुटकर रूपमा गजल लेख्ने गजलकारको विवरणलाई समावेश नगरी कम्तीमा एउटा कृति प्रकाशित गरेका गजलकारका कृतिहरूलाई कालक्रमिक रूपमा सूचीकृत गर्ने प्रयास गरिएको छ । फुटकर रूपमा प्रकाशित गजलकारको नामावली मात्रै उल्लेख गरिएको छ । इतिहास लेखनका विभिन्न सिद्धान्तमध्ये आकृतिमूलक सिद्धान्तलाई सैद्धान्तिक आधार बनाई गजलको सङ्क्षिप्त सैद्धान्तिक पक्ष र नेपाली गजलको काल विभाजन गरी त्यसको कालक्रमिक प्रस्तुति गरिएको छ । व्यक्तिगत, समूहगत र संस्थागत रूपमा कृति प्रकाशन, वाचन र प्रसारणमा नेपाली गजलकारहरू पचासको दशकदेखि निकै सक्रिय देखिएका र त्यस्ता कार्यको निरत्नरता अद्यावधिक रहेको देखिएको छ । पछिल्लो समय नेपाली गलजले प्रविधिमा पनि ठाउँ पाएको देखिन्छ । गजलको सङ्ख्यात्मक वृद्धिसँगै गुणात्मक वृद्धिमा अग्रसर हुनुपर्ने निष्कर्ष प्राप्त भएको छ ।)
शब्दकुञ्जी : सर्वेक्षण, गजल, बहर, इतिहास, सेर ।
विषयपरिचय
गजल उर्दु र हिन्दीबाट नेपाली आएको हो । यसलाई नेपाली भाषामा मोतीराम भट्टले प्रवेश गराएका हुन् । मोतीराम भट्टका पालादेखि आजसम्म थुप्रैले जगलको रचना गरेका छन् । त्यसरी लेखिएका नेपाली गजलको इतिहास लेख्ने कार्य धेरैबाट भएको देखिन्छ तर सबै ठाउँलाई समेटेर तिनको न त अद्यावधिक गर्ने कार्य भएको पाइन्छ न त मोफसलका सबै गजलकारका रचना तिनमा समावेश भएका देखिन्छन् । यस्तो अभावको परिपूर्ति गर्न नेपाली गजलको सर्वेक्षण शीर्षक तयार पारिएको छ । इतिहास लेखन एकपटक गरेर मात्रै पुग्दैन । यसले प्रत्येक दिन अद्यावधिकको माग गरिरहेको हुन्छ । महिना, वर्ष र दशकपछि त इतिहासले एउटा निश्चित आकार ग्रहण गरिसकेको हुन्छ । यस्तो अवस्थामा इतिहास अद्यावधिक भएन भने विगत र वर्तमानका बिचको अन्तराल खट्किन्छ । यस्तो स्थिति साहित्यका प्रत्येक विधाको इतिहाससँग हुने गर्दछ । नेपाली गजलको इतिहास पनि त्यस्तो स्थितिबाट अछुतो छैन । त्यसैले नेपाली गजलको सर्वेक्षणको आवश्यकता देखिएको हो । खासगरी नेपाली गजलमा कलम चलाउने मोफसलका कतिपय गजलकार र तिनका कृतिहरू नेपाली गजलको मूल प्रवाहमा नभेटिएकाले उक्त अभावको परिपूर्ति गर्नुपर्ने देखिन्छ । गजलको सङ्क्षिप्त सैद्धान्तिक आधार पहिल्याएर त्यसको काल विभाजन तथा उद्भव र विकासको अवस्था औँल्याई नेपाली गजलको सङ्क्षिप्त ऐतिहासिक रूपरेखा प्रस्तुत गर्नु यस लेखको प्रमुख उद्देश्य रहेको छ । यो उद्देश्य पूरा गर्न वर्तमान नेपाली गजलको इतिहाससँग सम्बन्धित विभिन्न समस्याहरू पहिल्याउने कार्य गरिएको छ । त्यस्ता समस्यामध्ये ‘वर्तमान अवस्थामा लेखिएका सबै गजलको ऐतिहासिक रूपरेखा तयार भएको छैन’ भन्ने कुरालाई प्रमुख समस्या मानी प्रस्तुत लेख तयार पारिएको छ ।
अध्ययन विधि
यस अध्ययनमा निम्नानुसारको अध्ययन विधि अवलम्बन गरिएको छ :
अध्ययनको ढाँचा : यो गुणात्मक ढाँचाको अध्ययन हो । यसमा कृति र वेवसाइडबाट प्राप्त तथ्यकोे विश्लेषण गरी निष्कर्षमा पुग्ने काम गरिएको छ ।
सहभागी र नमुना छनोट : नेपाली साहित्यमा विभिन्न विधाहरू छन् । ती सबै विधाहरूलाई प्रस्तुत अध्ययनमा जनसङ्ख्याका रूपमा परिभाषित गरिएको छ । यसका लागि सम्भावनारहित नमुना छनोट पद्धतिअन्तर्गतको उद्देश्यमूलक नमुना छनोटपद्धतिका आधारमा नेपाली गजलको ऐतिहासिक पक्षलाई छनोट गरिएको छ ।
तथ्याङ्क सङ्कलन : प्रस्तुत अध्ययनमा नेपाली गजलको ऐतिहासिक पक्ष र त्यससँग सम्बन्धित विभिन्न कृति र लेखहरूलाई आधार बनाएर तथ्य सङ्कलन गरिएको छ ।
तथ्याङ्क सङ्कलनका साधन : यस अध्ययनमा प्राथमिक र द्वितीय स्रोतका विभिन्न प्रकाशित पुस्तक, पत्रिका, मोबाइल एप र वेवसाइडमा प्रकाशित लेखहरूको उपयोग गरिएको छ । त्यसैले यसमा प्रकाशित दस्तावेज र वेवसाइडमा प्राप्त तथ्यको विश्लेषण गरी निष्कर्ष निल्काने प्रयास गरिएको छ ।
तथ्याङ्क विश्लेषण प्रक्रिया : प्राप्त तथ्यको कालक्रमिक रूपमा वर्णन गरिएको छ । वर्णन गर्दा गजलसङ्ग्रह प्रकाशन वर्षलाई आधार बनाइएको छ । लेखकका नामको पुनरुक्तिलाई ख्याल गरी पहिलो सङ्ग्रहमै अरू सङ्ग्रहहरू पनि उल्लेख गरिएको छ । तथ्यको पुष्टिका लागि उदाहरणसमेत दिई विश्लेषण गरेर निष्कर्षमा पुग्ने काम गरिएको छ ।
सैद्धान्तिक पर्याधार
विगतमा भएका कुराहरूलाई वर्तमानमा इतिहास भनिन्छ । बितेको कालखण्ड इतिहास हो । बृहत् नेपाली शब्दकोशमा “अतीतकाल वा विगत समयका घटनाहरूको वर्णन, विश्लेषण र मूल्याङ्कन गर्ने ज्ञानको एक शाखा, अतीतको अनुसन्धान र छानबिनमा आधारित अध्ययन”लाई इतिहासका रूपमा चिनाइएको छ । यस दृष्टिले साहित्यिक विधाको इतिहास लेखन एकातिर अनुसन्धान ठहरिन्छ भने अर्कातिर त्यो इतिहास पनि हो । यो एक प्रकारले साहित्यको ऐतिहासिक परिप्रेक्ष्यबाट गरिने समीक्षा पनि हो । संस्कृत हिन्दी शब्दकोशमा इतिहास शब्दको शाब्दिक व्युत्पत्ति इति+ ह=आस (अस्) गरिएको पाइन्छ । यसमा तीन ओटा कुराहरू समेटिन्छन् : १.परम्पराबाट प्राप्त आख्यान समूह, २. वीरगाथा र ३. ऐतिहासिक साक्ष्य, परम्परा जसलाई पुराण भनिन्छ । इतिहास केवल कोरा घटना र शासकहरूका कथामा मात्रै सीमित छैन, यो त मानव जाति र यसका चिन्तन र विचारको दस्तावेज हो । यसलाई केवल घटना र कथा सँगालो मानिदै आएको परिप्रेक्ष्यमा भोल्टेयरले अठारौँ शताब्दीमा इतिहास दर्शन शब्दको प्रयोग गरेर इतिहासलाई हेर्ने नयाँ दृष्टिकोण प्रदान गरे । यस दृष्टिकोणअनुसार इतिहासलाई आलोचनात्मक दृष्टिकोणले हेर्ने परम्पराको थालनी भयो । इतिहास दर्शनका मुख्य तीन प्रकार देखिन्छन्, ती हुन्, १. अनुशीलनमूलक इतिहास, २. आलोचनात्मक इतिहास र ३. उपयोगितामूलक इतिहास (श्रेष्ठ, २०५९, पृ.८–९) । वाङ्मयका अरू विधाहरूको इतिहास भए झैँ साहित्यिक विधा र तिनका उपविधाहरूको पनि इतिहास लेखन आवश्यक हुन्छ । यस्तो इतिहास पढेर नवप्रवेशी साहित्यकारले आफूलाई अघिल्ला साहित्यकारभन्दा अब्बल सावित गर्ने प्रयत्न गर्दछ । साहित्यिक इतिहास लेखनको उद्देश्य साहित्यले सामाजिक, सांस्कृतिक चेतनाको विकासमा गरेका योगदानको मूल्याङ्कन गर्नु हो । साहित्येतिहामा मुख्यतः काल विभाजन, कार्यकारण सम्बन्ध, जीवनी जस्ता कुराहरू पर्दछन् (श्रेष्ठ, २०५९, पृ.३०–३१) आकृतिमूलक, विवरणात्मक, वर्णनात्मक र आलोचनात्मक गरी साहित्येतिहासका मुख्य चार प्रकार छन् । यीमध्ये इतिहासका तथ्यहरूलाई कालक्रमअनुसार प्रस्तुत गरी इतिहास लेखनका लागि आवश्यक पर्ने आधारभूत विवरण तयार पार्ने प्रारम्भिक कार्य आकृतिमूलक इतिहास हो । यसमा साहित्येतिहासका लागि आवश्यक पर्ने कृति, प्रकाशन मिति, कृतिकारको जीवनकालका अन्य घटनाहरूको ऐतिकासिक व्याख्या समावेश गरिएको हुन्छ (श्रेष्ठ, २०५९, पृ.४५–४६) । साहित्येतिहास लेखनका विभिन्न सिद्धान्तहरू छन् । मुख्यगरी कालक्रमिक र त्रिकालिक विभाजन गरेर अध्ययन गरिने पद्धति बढी प्रयोगमा आएका देखिन्छन् । यस लेखमा आकृतिमूलक ढाँचा अपनाई त्रिकालिक रूपमा विभाजन गर्नुलाई नेपाली गजलको सर्वेक्षण गर्ने सैद्धान्तिक पर्याधार मानिएको छ ।
विमर्श/विश्लेषण र नतिजा
नेपाली गजलको सिद्धान्त के कस्तो छ ? यसको विकास कसरी भएको हो ? तथा गजलको मर्म र नेपाली गजलमा पाइने विषयवस्तुका बिचको अन्तर के कस्तो छ भन्ने कुराको पनि खोजी आवश्यक हुन्छ । त्यसैले नेपाली गजलको सर्वेक्षणका लागि गजलको सिद्धान्त, गजलको आरम्भ र विकास, नेपाली गजलको काल विभाजन, प्राथमिक काल, माध्यमिक काल, आधुनिक काल, भारतीय नेपाली गजलको परम्परा र सार्वजनिक वाचन÷गायनजस्ता उपशीर्षक राखेर विमर्श÷विश्लेषण गरी नतिजा पहिल्याउने काम गरिएको छ ।
गजलको सिद्धान्त
‘गजल’ अरबी वा फारसी भाषाको स्त्रीलिङ्गी शब्द हो । ‘गजल’ शब्दमा आएका तीन ओटा शब्दका अलगअलग अर्थ अरबी भाषामा पाइन्छन्, जसअनुसार ‘ग’को अर्थ– वाणी, ‘ज’को अर्थ– नारी र ‘अल्’को अर्थ– को वा सँग हुन्छ । यसरी गजलको अर्थ नारीको वाणी, नारी सुलभ कोमल, सरल, मिठासपूर्ण वाणी भन्ने हुन्छ । पहिले गजललाई प्रेमीप्रेमिका बिचको प्रीतियुक्त वा शृङ्गारिक कुराकानीका रूपमा लिइन्थ्यो । आजभोलि प्रेम, राजनैतिक, सामाजिक र वैयक्तिक अनुभूति आदि विभिन्न विषयवस्तुमा आधारित गजल रचिएका पाइन्छन् । यस स्थितिमा यसको अर्थ कविताको एउटा भेदका रूपमा सीमित हुन पुगेको देखिन्छ । गजल फारसी र उर्दु साहित्यिक धरातलबाट पल्लवित र विकसित हुँदै हिन्दी र त्यसपछि नेपालीमा आएको हो । यसलाई विधिवत् रूपमा फारसका सायर रौदकी (रुदकी) ले इसाको दसौँ शताब्दीतिर जन्माएका हुन् भने यसलाई विकसित गर्नमा सादी सिराजी र अमिर खुसरोको उल्लेख्य योगदान देखिन्छ (न्यौपाने, २०६४, पृ.१७) । अरबी र फारसीमा सुफी सन्तहरूले प्रयोग गरेका गजल हिन्दी साहित्यमा पनि भक्तिधाराका सन्तकवि कबिर, रविदास, तुलसी साहेब, पलटु साहेब आदिले अझ उचाइमा पु¥याउने काम गरे । गजलमा पाइने विशुद्ध भौतिक प्रेमको वर्णन पछि गरिन थालेको देखिन्छ जबकि प्रारम्भमा गजल सुफी र निर्गुग भक्तिधाराका सन्तकविहरूले मात्रै प्रयोग गरेको देखिन्छ ।
गजलको उद्भव र विकास तथा विस्तार अरबी र फारसी भाषामा भएको हुनाले यससँग सम्बन्धित सैद्धान्तिक कुराहरू पनि तिनै भाषामा पाइन्छन् । गजलको संरचनामा आवश्यक पर्ने सैद्धान्तिक कुराहरूलाई सूत्रबद्ध रूपमा प्रस्तुत गरिएको छ :
१. गजलमा दुई पाउ (मिसरा) को एउटा श्लोक (सेर) हुन्छ । यसको पहिलो पाउलाई ‘मिसरा ए उला’ भनिन्छ भने दोस्रो पाउलाई ‘मिसरा ए सानी’ भनिन्छ ।
२. सामान्यतया गजलमा बिजोडा सङ्ख्याका ‘सेर’हरू राखिन्छ ।
३. गजलको पहिलो ‘सेर’लाई ‘मतला’ भनिन्छ । यो अन्त्यानुप्रासयुक्त हुन्छ । ‘मतला’को शब्दसङ्ख्याकै क्रमअनुसार अरू सेरहरूको संरचना हुन्छ ।
४. गजलको अन्तिम श्लोकलाई ‘मकता’ भनिन्छ । यसमा गजलकारले आफ्नो उपनामको प्रयोग छोटो रूपमा सार्थक अर्थ दिनेगरी प्रयोग गरिएको पाइन्छ जसलाई ‘तखल्लुस’ भनिन्छ ।
५. प्रत्येक सेरमा ‘रदिफ’ र ‘कापिया’को निर्वाह गरिएको हुन्छ । प्रत्येक सेरको दोस्रो पाउको अन्तिम शब्दलाई ‘रदिफ’, पहिलो सेर वा ‘मतला’का दुवै पाउमा र अन्य सेरका दोस्रा दोस्रा पाउहरूमा ‘रदिफ’का रूपमा एउटै शब्द राखिने वा दोहो¥याउने गरिन्छ । प्रत्येक सेरको दोस्रो पाउको अन्तिम शब्दका रूपमा आउने ‘रदिफ’भन्दा ठिक अघिल्लो अर्थात् पूर्ववर्ती तुकान्त शब्दलाई ‘काफिया’ भनिन्छ । ‘रदिफ’जस्तै यसको निर्वाह पनि गजलको पहिलो सेर ‘मतला’का दुवै पाउमा र अन्य श्लोकका दोस्रा दोस्रा पाउहरूमा गरिएको हुन्छ । यसक्रममा के कुरा द्रष्टव्य छ भने ‘रदिफ’अन्तर्गत एउटै शब्दको पुनरावृत्ति गरिएको हुन्छ भने ‘काफिया’अन्तर्गत चाहिँ अनुप्रास मिल्ने गरी भिन्नभिन्न तुकान्त शब्दहरूको चयन गरिएको हुन्छ ।
६. गजलमा यति नै शब्दसङ्ख्या वा मात्रा हुनुपर्छ भन्ने कुनै निश्चित नियम नभए पनि सिङ्गो गजल एउटै संरचनामा आधारित हुनु राम्रो मानिन्छ ।
७. अरबी, फारसी, उर्दु र हिन्दीमा बहरयुक्त गजल लेखिन्थे । नेपाली भाषामा पनि सुरुमा बहरयुक्त गजल नै लेख्न सुरु भएको देखिन्छ । वर्तमानका गजलहरू बहरयुक्त र बहरमुक्त दुवै प्रकारका देखिन्छन् । ‘बहर’ गजलको छन्द व्यवस्था हो । अरबीमा पहिले पन्ध्र ओटा मात्रै बहर थिए । उर्दु र हिन्दीमा आउँदा तिनको अझ विस्तार भयो । कतिपय बहरहरू आचार्य पिङ्गलका छन्दसँग हुबहु मेल खान्छन् (न्यौपाने, २०६४, पृ.६२–६३) । यस्ता गजलमा रुक्न वा गण र अर्कान गण समूहबाट बन्ने बहरको महत्त्वपूर्ण भूमिका हुन्छ । अर्का थरी मात्रामा आधारित बहरको प्रयोग गरेर पनि गजल लेखिएका छन् । यस्ता गजलमा अक्षरको नभई मात्राको गणना हुन्छ तर पढ्दा कथ्य उच्चारण हुन्छ जसमा अजन्तको हलन्त र दीर्घको ह्रस्व पठन हुन्छ (न्यौपाने, २०६४, पृ.६८–६९) । यस्ता गजल गेय नभई पाठ्य प्रकृतिका हुन्छन् ।
गजलमा प्रयोग हुने बहरहरूलाई मुख्य रूपमा ‘मुफरद बहर’ (मूलछन्द), ‘मुरक्कब बहर’ (मिश्रित छन्द) र ‘मुजाहिफ बहर’ (परिवर्तित छन्द) गरी तीन प्रकारमा वर्गीकरण गरिएको पाइन्छ (न्यौपाने, २०६४, पृ.७१) । गजल गेय र अनुशासित हुनका लागि बहरको पालना अनिवार्य मानिन्छ । गजलमा बहरको सम्बन्ध टुटेपछि यसको अस्तित्व धरापमा पर्छ । त्यसैले निश्चित वर्ण, अक्षर, मात्रा तथा रुक्न/अर्कानहरूको सन्तुलित संयोजन र गति र यतिको उचित व्यवस्थापनबाट मात्र गजलमा लय सिर्जना हुन्छ । यी कुराको अभाव भएमा गजलको गायन भङ्ग हुन्छ र लयको उचित संयोजन हुन सक्दैन । त्यसैले गजलकारले गेय गजलको आत्मा हो भने यसको मूल आधार बहरबद्धता हो भन्ने कुरा बुझेर यसलाई आत्मसात गर्न जरुरी देखिन्छ (न्यौपाने, २०६४, पृ.९२) ।
८. फर्द : गजल लेख्न बस्दा एक सेरभन्दा बढी लेख्नै नसकिने अवस्थाको एक सेरको गजललाई ‘फर्द’ भनिन्छ ।
९. कत्वा : गजल लेख्न बस्दा दुई वा तीन सेरभन्दा बढी लेख्नै नसकिने अवस्थाको दुई वा तीन सेरको गजललाई ‘कत्वा’ भनिन्छ ।
१०. अन्दाजेवया : श्रोतासामु गजललाई प्रभावकारी ढङ्गमा कौतुहलपूर्ण अभिव्यक्ति गरेर गरिने प्रस्तुतिलाई ‘अन्दाजेवया’ भनिन्छ ।
११. तासिर : गजल सुनेर श्रोताहरूमा परेको आनन्दमय प्रभाव ‘तासिर’ हो ।
यसरी गजल शब्दको शाब्दिक अर्थ र यसको मूल सिद्धान्तलाई सूत्रबद्ध रूपमा प्रस्तुत गर्न सकिन्छ ।
गजलको आरम्भ र विकास
नेपाली भाषामा गजलको प्रवेश मोतीराम भट्टबाट भएको हो । उनले समकालीन युवाहरूलाई आफ्नो मण्डलीमा सहभागी गराएर गजल लेख्न सुरु गरे । उनका प्रेरणाले गजल लेख्ने गजलकारहरू लक्ष्मीदत्त पन्त ‘इन्दु’, नरदेव पाण्डे, गोपीनाथ लोहली, मियाँ अजमद हुसेन र रत्नलाल श्रेष्ठ हुन् । सङ्गीत चन्द्रोदय (१९६९) मा यिनका केही गजलहरू सङ्कलित छन् । त्यसपछि शम्भुप्रसाद ढुङ्गेल, भीमनिधि तिवारी, उपेन्द्रबहादुर जिगर र मविवि शाह आदिको नाम गजल लेखकका रूपमा आउँछ । शम्भुप्रसाद ढुङ्यालको शम्भु भजनमाला (१९८३) मा केही गजल प्रकाशित छन् । भीमनिधि तिवारीले बत्तिस सेरसम्मका गजल लेखेका छन् । तिवारीको बयासी र बिस गजल मेरी (१९९४) र उपेन्द्रबहादुर जिगरको एकसय एक गजल (१९९६) पाइन्छ । यस बखत मोतीरामको समयमा झैँ गजलको सङ्ग्रह प्रकाशित नभए पनि यसको लेखन अवरुद्ध भने भएको देखिँदैन । यसबेला लेखनाथ पौडेल, बालकृष्ण सम, लक्ष्मीप्रसाद देवकोटा, बहादुरसिंह बराल, दुर्गा मल्ल, गङ्गावती, मैतराम, पवित्रादेवी, शम्शेरसिंह, दिलिप, मित्रसेन र कृष्णमञ्जरीका केही कवितामा गजलको संरचना रहेको कुरा उल्लेख पाइन्छ (बराल, २०६४, पृ.२१८–२२३) । यस्तै तारिणीप्रसाद कोइराला, मविवि शाह, भूपि शेरचन, छिन्नतला, राममान तृषित, जैनेन्द्र जीवन, रवि प्राञ्जल, वासुदेव अधिकारी, ठाकुरनाथ रिमाल, यज्ञविक्रम शाहीजस्ता सर्जकका छिटफुट गजलहरू वाचन र प्रकाशन भएका देखिन्छन् । यसपछि ज्ञानुवाकर पौडेल, ललिजन रावल, कृष्णहरि बराल आदिले गजललाई अघि बढाउने काम गरे । नेपाली गजलको क्रमिक विकासलाई कालक्रमिक रूपमा उल्लेख गर्नु सान्दर्भिक देखिन्छ ।
नेपाली गजलको काल विभाजन
नेपाली गजलको काल विभाजन गर्ने कार्य विभिन्न विद्वान्हरूबाट भएको देखिन्छ । विसं. १९४० बाट उठान भएको नेपाली गजलको इतिहास आजसम्म आइपुग्दा विभिन्न मोड र उपयोग हुँदै वृद्धि र विकास भइरहेको देखिन्छ । नेपाली गजलको काल विभाजनका अवधारणाहरूलाई निम्नलिखित रूपमा प्रस्तुत गरिएको छ :
(क) ललिजन रावलले समकालीन नेपाली गजल (२०४७) मा नेपाली गजलको काल विभाजन निम्नलिखित रूपमा गरेका छन् :
(अ) विसं. १९४० –१९९६ उठान काल
(आ) विसं. १९९७–२०३९ दीर्घ निद्राको काल
(इ) विसं. २०४० –हालसम्म पुनर्जागरण काल
(ख) दुवसु क्षेत्रीले समसामयिक नेपाली गजल (२०५०) मा गजलको काल विभाजन निम्नलिखत रूपमा गरेका छन् :
(अ) विसं. १९४०– १९९४ प्राथमिक काल
(आ) विसं. १९९५– २०३५ माध्यमिक काल
(इ) विसं. २०३६– हालसम्म आधुनिक काल
(ग) घनश्याम न्यौपाने ‘परिश्रमी’ले गजल सौन्दर्य मीमांसा (२०६४) मा गजलको काल विभाजन निम्नलिखित रूपमा गरेका छन् :
(अ) विसं. १९४०– २०३६ प्राथमिक काल
(आ) विसं. २०३७– २०४४ पुनर्जागरण काल
(इ) विसं. २०४५– हालसम्म आधुनिक काल
(घ) कृष्णहरि बरालले गजल : सिद्धान्त र परम्परा (२०६४) मा नेपाली गजलको काल विभाजन निम्नलिखित रूपमा गरेका छन् :
(अ) १९४०–२००२ पहिलो चरण
(आ) २००३–२०३५ दोस्रो चरण
(इ) २०३६– हालसम्म तेस्रो चरण
यसैगरी सनतकुमार वस्ती, सरिता देवकोटा, टीकाराम उदासी, देवी पन्थी आदिले पनि नेपाली गजलको काल विभाज गरेका छन् । यी सबैमा माथिका क–घ का काल विभाजनका सीमारेखाभित्र केन्द्रित रहेर काल विभाजन गरिएको देखिन्छ ।
नेपाली गजलमा १९९६ देखि २०३५ सम्मको समयलाई अन्धकार युगका रूपमा चित्रण गरिएको देखिन्छ । यस समयमा गीत, नाटक, कविता, मुक्तक आदि कृतिमा गजलका संरचनाहरू प्रकाशन भएका छन् । माथिको काल विभाजनलाई हेर्दा चरणगत एकरूपता नदेखिनु प्रमुख समस्या रहेको देखिन्छ । यसको समाधानका लागि काल विभाजन गर्दा व्यक्ति नहेरी कृति प्रकाशन वर्षलाई आधार बनाउनु युक्तिसङ्गत देखिन्छ । त्यसैले नेपाली गजलको काल विभाजन निम्नलिखित रूपमा गर्नु उपयुक्त देखिन्छ :
(अ) विसं. १९४० –१९९६ प्राथमिक काल
(आ) विसं. १९९७–२०४१ माध्यमिक काल
(इ) विसं. २०४२–हालसम्म आधुनिक काल
प्रस्तुत काल विभाजनमा प्राथमिक कालको उठान कृति प्रकाशनलाई नभई मोतीराम भट्टले गजल लेख्न सुरु गरेको समयलाई आधार बनाइएको छ । माध्यमिक र आधुनिक काल विभाजनको आधार कृति प्रकाशनलाई बनाइएको छ । त्रिकालिक ढाँचा र कृति प्रकाशनलाई आधार बनाइएको यस काल विभाजनको रूपरेखालाई निम्नलिखित रूपमा वर्णन गरिएको छ :
प्राथमिक काल (विसं. १९४०–१९९६)
मोतीराम भट्टबाट आरम्भ भई उपेन्द्रबहादुर जिगरको एक सय एक गजल (१९९६) सङ्ग्रह प्रकाशनको समय हो । यस कालमा मोतीराम भट्ट मुख्य गजलकारका रूपमा देखिन्छन् । उनले सम्पादन गरेको सङ्गीत चन्दोदयमा अरू गजलकारका गजल पनि समावेश छन् । मोतीरामका अतिरिक्त यसमा लक्ष्मीदत्त पन्त, गोपीनाथ लोहनी, मियाँ अजद् हुसेन, नरदेव शर्मा, गजब र रत्नलालका गजल समावेश छन् । यस्तै शम्भुप्रसाद ढुङ्गेल, भीमनिधि तिवारी, उपेन्द्रबहादुर जिगर आदि प्राथमिक कालका मुख्य गजलकार देखिन्छन् । यस कालमा मुख्य रूपमा शृङ्गारिक, भक्ति, देशप्रेम, नीति, दर्शन र जातीय सुधारका गजलहरू सिर्जना भएका देखिन्छन् ।
माध्यमिक काल (विसं. १९९७–२०४१)
माध्यमिक कालमा धेरै रसिकजनका नाउँबाट मिति उल्लेख नभएको ‘नञा गजल’ सङ्ग्रह प्रकाशित भएको पाइन्छ । यसमा १८ ओटा गजलहरू सङ्गृहीत छन् । यसबाहेक कविता, जीवनी, गीत, मुक्तक र नाटकभित्र बालकृष्ण सम, लेखनाथ पौड्याल, लक्ष्मीप्रसाद देवकोटा आदिले गजलहरू समावेश गरेका छन् । कृष्ण मञ्जरीको मेरो आँसु (२००४) मा सङ्कलित १४ गजल, तारिणीप्रसाद कोइराला, मविवि शाह, भूपि शेरचन, छिन्नलता, राममान तृषित आदिका विभिन्न कृतिमा गजलका संरचना प्रकाशित छन् । यस चरणका गजलहरू संरचनाका दृष्टिले प्राथमिक कालका जति सबल छैनन् । गजलको संरचना भए पनि गीत भनिएका छन् । विषयवस्तुका हिसाबले प्रेम, भक्ति, सामाजिक, नैतिक, प्राकृतिक पक्षको चित्रण भएको देखिन्छ ।
आधुनिक काल (२०४२–हालसम्म)
ज्ञानुवाकर पौडेलले गजल लेख्न सुरु गरेदेखिको समयावधिलाई नेपाली गजलको आधुनिक काल मानिए पनि उनको सङ्ग्रह प्रकाशन भने २०४९ मा मात्रै भएको देखिन्छ । कृति प्रकाशनको काललाई आधार बनाउँदा चालिसको दशकमा ललिजन रावलका केही गजलहरू (२०४२), बिरानो यो ठाउँमा (२०४६), समकालीन नेपाली गजल २०४७), सिरानीमा आँसु (२०५९), एउटा बन्द खाम (२०६६) र टहटह जून (२०६७) बाल गजलसङ्ग्रह प्रकाशित देखिन्छन् । त्यसैले रावलको केही गजलहरूबाट आधुनिक नेपाली गजलको आरम्भ भएको भन्नु युक्तिसङ्गत हुन्छ । त्यसपछि धर्मोगत शर्मा ‘तुफान’का तुफानका गजलहरू (२०४२) र देशको माटो दुख्ने गर्छ (२०४९), बद्रीलाल ‘निराशा’को केही गजलहरू निराशाका (२०४६), रवि प्रान्जलको तारिदेऊ न माझी दाइ (२०४८), उज्ज्वल जिसीका मनका तरङ्गहरू (२०४८) र नखोज आँसु बर्साउन (२०६१), ज्ञानुवाकर पौडेलेको खण्डहर नयाँघर (२०४९), खगेन्द्रप्रसाद बस्यालको दैलातुङ फाँटबाट सुरु भएको यात्रा (२०४९) प्रकाशित भएका छन् ।
पचासको दशकमा घनश्याम न्यौपाने ‘परिश्रमी’का यो मौसम (२०५०), घामको छहारीमा (२०५३), जुनुमाया (२०६०) संयुक्त बाल गजलसङ्ग्रह र जून चुहेको रात (२०६०), कुमार शिशिरको शिशिरका शीतहरू (२०५०), यज्ञविक्रम शाशीको बाँच्ने रहरहरू (२०५०), टीकाराम उदासीका बाँच्न खोज्दा (२०५०) र परिवेशका धुनहरू (२०५६), चन्द्र पोखे्रल ‘प्रभात’को धर्ती आकाश (२०५१), मनुब्राजाकीको गजलगङ्गा (२०५२), श्रेष्ठप्रिया पत्थरका पग्लिएका व्यथाहरू (२०५३), प्रलापहरू (२०५९) र आँसुको सौगात (२०६०), अझै ओभाएका छैनन् आँखा (२०६७), रोशनकुमार राजभण्डारीका पुष्पाञ्जली गजलसङ्ग्रह भाग १, २ र ३ क्रमशः (२०५२, २०५५ र २०५५) र गजतान्ती (२०६०) निमेष नेवाको याद (२०५३), वियोगी बुढाथोकीका आफन्तका चोटहरू (२०५३), गजल तिम्रो नाम होइन (२०६३), धर्म प्रधान ‘अकिञ्चन’को मृगमरिचिका (२०५२), मुन पौडेलको गजलोत्सव (२०५३), आरबी. ‘प्लेम’को ज्वालाका रापहरू (२०५४), दिव्य गिरीको सागर लहर किनार (२०५४), गोवद्र्धन पूजाको धर्तीको धुलो (२०५४), केबी.उदयको जेलभित्रको मुटु (२०५४), खड्गसेन ओलीको बादलको गुझा (२०५४), विजयभक्त उपाध्यायको विजयको गजल (२०५४), रोशन रेग्मीको परिभाषा हराउँदा (२०५५), गोविन्द नेपालको ढुङ्गाको मन (२०५५) आदि गजलसङ्ग्रह प्रकाशित भएका देखिन्छन् ।
पचासको दशकको उत्तरार्धतिर बुँद रानाका रातो मलाई प्यारो (२०५६) र चन्दै छ जिन्दगी (२०६४), काशीराम विरसको जिन्दगीका रेखाहरू (२०५६), देवी पन्थीको मनको बह (२०५६), दिव्यसागर ‘साउँद’को एउटा लहर सागरको (२०५६), अमर त्यागीको बाँसुरीमा आँसुको गीत (२०५६), गोविन्दुराज विनोदीको निर्मम निर्मम घडीहरू (२०५६), भीम विरागको भीम विरागका गीत गजल (२०५७), विजय सुब्बाको विजय सुब्बाका गीत र गजलहरू (२०५७), गोपाल अश्कको जीवनको लेकबेसी (२०५७), मधु साश्रुको पीडा अनन्त हुन्छ (२०५७), पूर्ण भण्डारीको सङ्कल्पका शिखा (२०५७), उत्सव खरेलको टाढिएको वसन्त (२०५७), रमेश हरिलट्ठकको दबाइएका स्वरहरू (२०५७), अमर त्यागीको बाँसुरीमा आँसुको गीत (२०५७), रामलाल जोशीको हत्केलामा आकाश (२०५७), भीमदर्शन रोक्काको घाम डुबी तारा नउदाएको आकाश हुँ म (२०५८), रासाको रात निदाएको रातमा (२०५८), माधव वियोगीको गुम्सिएका भावहरू (२०५८), नारद निठुरीको चह¥याइरहेका घाउहरू (२०५८), डबल भाटको अकेला (२०५८), पुष्करराज भट्टको सुनौलो बिहानी (२०५८), मिनबहादुर थापाका मेरा हत्केलाका मिलनका रेखाहरू (२०५८) र तिम्रो प्यार र छुटेको आँचल (२०६१), अशोक बोहराको बाँसुरीका धुनहरू (२०५८), महानन्द ढकालकाखण्डित आत्मा (२०५८), अव्यक्त प्रत्याशा (२०६३), विष्णुबहादुर सिंहका सलबलाउँछन् ओठहरू (२०५८) र इन्द्रेणी (२०६०), भोगेन एक्ले र धनप्रसाद सुवेदीको बेनाम (२०५८), अशोक बोहरा र ऋचा लुइटेलको बाँसुरीका धुनहरू (२०५८), ऋचा लुइटेलको पुष्पलता : कलमका डोबहरू (२०६१), रामबहादुर पहाडीको घाउ रैछ जिन्दगी यो (२०५९), दीर्घराज उपाध्यायको उनैको यादमा (२०५९), सुविसुधा आचार्यका सुधाका सिर्जनाहरू (२०५९), समाजदेखि सगरमाथासम्म (२०६१) र अब सहिद बोल्छ (२०६३), गोपाल पौडेलको छातीभरि तिम्रो माया (२०५९), शम्भुकुमार मिलनको तिम्रो सहरमा (२०५९), विमलप्रकाश देवकोटाको पलपलका तलतलहरू (२०५९), श्यामप्रसाद शर्मा न्यांैपानेको बोली गजबको (२०५९), प्रोल्लास सिन्धुलीयको आँखाभरि भुइँकुहिरो (२०५९), प्रकाश अधिकारी ‘अधुरो’को याद अधुरो छ (२०५९), सुदीप गौतमको परेलीमा बाढी (२०५९), टेकबहादुर ठकुल्लाको मनभित्रका ज्वारभाटाहरू (२०५९), महानन्द ढाकाल, खगेन्द्र गिरी ‘कोपिला’ र प्रकाश गिरी ‘निश्छल’को उस्तैउस्तै नदीका उस्तैउस्तै छालहरू संयुक्त गजलसङ्ग्रह (२०५९), खगेन्द्र गिरी ‘कोपिला’को व्यग्र चाँदनी (२०६१), उदय जिएम र नवीन विभासको उनका गजल (२०५९), जीवनपानीका जीवनपानीका फोहराहरू (२०५९) जीवनपानीका सुस्केराहरू (२०६१) र जीवनपानीका तरङ्गहरू (२०६३) प्रकाशित भएका छन् ।
यस्तै पचासको दशकभन्दा पहिलेदेखि गजल लेखन र प्रकाशन गराउँदै आएका तर सङ्ग्रह प्रकाशन नगरेका केही गजलकारहरू यसप्रकार छन् : प्रकाश राजापुरी, धिरेन्द्र प्रेमर्षि, अच्युत असीम, अधिकारी राजुश्री, इन्दिरा प्रसाई, इन्दु अधिकारी, इन्द्रकुमार श्रेष्ठ, ईश्वर थापा, उत्तमकृष्ण मजगैँया, कविराज पोखरेल, कृष्णप्रसाद बस्याल, कृष्णहरि बराल, खिमानन्द पोखरेल, जी.शाह, तारादेवी काफ्ले, तारा मैनाली, तीर्थ श्रेष्ठ, दीपक लोहनी, दीपक श्रेष्ठ, दुबसु क्षेत्री, देवी नेपाल, धीरेन्द्र प्रेमर्षि, धीरेन्द्र मल्ल, धु्रव मधिकर्मी, नम्रता ढुङ्गाना, नरेन्द्र घिमिरे, नवराज कार्की, नीलम कार्की, नेत्र न्यौपाने, प्रकाश घायल, प्रकाश बस्नेत, प्रकट पगेनी, प्रतिरोध कार्की, प्रभाती किरण, पूर्ण रञ्जितकार, पुष्पहरि क्याम्पा राई, पाण्डवराज कार्की, पुष्पराज बुढाथोकी, प्रकाश अभिलाषी, प्रमोद प्रधान, प्रमोद स्नेही, प्रेम ओम, बलराम, बागियान शर्मा, बालकृष्ण लामिछाने, बालकृष्ण रेग्मी, खगेन्द्र घोडासैनी, डिल्लीराम ढकाल, हरि सुवेदी, नारायण गाउँले, गोपाल आचार्य, रिता भुजेल, सुरेश वाग्ले, पुस्कर माथेमा, व्याकुल पाठक, सनतकुमार वस्ती, देवमाया शर्मा, कृष्णसिंह पेली, रमेश पन्त, मदन गौतम, राजेश्वरी रेग्मी, राममणि ढुङ्गाना, रमेश समर्थन, इन्द्रकुमार विकल्प, सरला जोशी, बिन्दु शर्मा, राजेन्द्र विमल, राधाकृष्ण भट्राई, व्याकुल माइला, विप्लव ढकाल, सनतकुमार वस्ती, साधना प्रतीक्षा, सुकुम शर्मा, सुरेश अधिकारी, होमकुमारी राई आदि रहेका छन् ।
साठीको दशकमा रमेश समर्थनको पर्खी बसेँ (२०६०) नेत्र एटमको भित्र कतै दुख्छ भने (२०६०), धनराज गिरीका गजलामृत (२०६०) र ढल्दैन स्वाभिमान कसै गरे पनि (२०६४), पदम गौतमको एकलासको फूल (२०६०), स्वागत नेपाल धमिराको दरबार (२०६०), सुमित्रा बाङ्देलको गङ्गाजल (२०६०), प्रकटकुमार शिशिरको शिशिरका मोतीहरू (२०६०), शान्तिनारायण श्रेष्ठको अनुभूति (२०६०) र अजम्बरी माया (२०६३), चङ्खी श्रेष्ठको फूलबिनाको शाखा (२०६०), प्रदीप बगर तिम्रो याद (२०६०), कृसु क्षेत्रीको अर्धमुद्रित आँखाहरू (२०६०), शशि मरासिनीको नजुरेको धुनमा (२०६०), तीर्थमान ‘अथाह सागर’को वर्तमान बिझाउँदा (२०६०), चंकी श्रेष्ठको फूलविनाको शाखा (२०६०), रवि प्राञ्जलका उही बाढी उही भेल (२०६०) र तारिदेऊ न माझी दाइ (२०६२), नवीन राईको चोटका फूलहरू (२०६०), जनकराज पौड्यालको एउटा कथा (२०६०), रामगोपाल आशुतोषको आशुतोषका रहरहरू (२०६०), पदम गौतमको एकलासको फूल (२०६०), मणि कोइमीको जूनको आभा (२०६०), गोपीकृष्ण ढुङ्गानाको मौनताका रातहरू (२०६०), सीता अस्था ढुङ्गेलको नेपालकी छोरी (२०६०), शेखर अस्तित्वको सेतो हिमाल मेरो (२०६०), केशवराज आमोदी र विमलप्रकाश देवकोटाको गजल दीपिका (२०६०), नारयण कौशिकको उही धर्ती उही आकाश (२०६०), कैलाश पाण्डेका नयाँ नयाँ सागरहरू (२०६०) र बादलका बुट्टाहरू (२०६२) कृष्णराज धमालाको अनिँदो रातका सपनाहरू (२०६०), किसन थापा ‘अधीर’को अलि कति जिन्दगी (२०६१), लक्की चौधरीको सहीदान (२०६१), रमेश सुवेदीको मनको तरेलीमा (२०६१), शिव प्रणतको कुन्ती (२०६१), तारा धुर्कापानीको बिसौनीमा (२०६१), धनकुटे कान्छाको लासमाथि एउटा बच्चा (२०६१), अनमोलमणिको नदी किनारमा उभिएर (२०६१), होमशङ्कर बास्तोलाको घाम हराएको दिन (२०६१), माधवी घर्ती मगरको बगरमा एउटा लहर मायाको (२०६१), ऋचा लुइटेलको भावनाको यात्रा (२०६१), रामप्रसाद साहाको अश्रूफुरित आँखाहरू (२०६१), रमेश हरिलट्ठक जिन्दगीको कहानीमा (२०६१), अञ्जु अन्जलीको च्यादिएर वर्तमान (२०६१), दीपक सुवेदीको दीपक बलेपछि (२०६१), अनमोलमणिको नदी किनारमा उभिएर (२०६१), घनेन्द्र ओझाका आफ्नै चिहानमा टेकेर (२०६१) र बल्झेर याद तिम्रो (२०६२), अतीत मुखियाको अभिशप्त आसिस (२०६१), निर्मला बोगटीको भिजेको परेली (२०६१), छविलाल कोपिलाको भौगर (२०६१), नवराज पुडासैनी ‘ज्योज्सना’को ज्योत्सनाका गीतगजल (२०६१), बुद्धिसागर चपाईको राधा जलेपछि (२०६१), नारायणप्रसाद शर्मा गैरेका एउटा अर्को आकाश (२०६१) र स्वप्नलोक (२०६३), गीता सापकोटाको इतिहासका पानाभित्र (२०६१), कृष्ण पौडेलेको नानी हजुरको (२०६१), लेखराम सापकोटाको श्रद्धाका फूलहरू (२०६१), निर्मल ढुङ्गानाको दिन हराएको दिन (२०६१), राजेन्द्र पौडेलको तिम्रो रूप तिम्रो माधुर्य (२०६१), रमेश शुभेच्छु लुइटेल र खगेन्द्र दाहालको अनुत्तरित प्रश्न (२०६१), ईश्वरी कार्कीको टुक्राटुक्रा आकाश (२०६१), मिजास तेम्बेको प्यास नजरको (२०६१), दीपा ढकाल ‘आँसु’को शान्तिको विगुल (२०६१), दीलिप झा ‘सागर’को कोपिला (२०६१), प्रकाश गिरी ‘निश्चल’को सपनाको सहर (२०६१), बलबहादुर रावतको गजल पूmलहरू (२०६१), बाबु त्रिपाठीको शालिकहरूको देश (२०६१), बा ! (२०६६), गोर्खे साइलाका सम्मोहन (२०६२), मुस्कान (२०६२), सूत्रमाला (२०६३) र गजल दर्शन (२०६९), गोरखसागर खत्रीको फूल मुस्कुराउँदा (२०६२), सरस्वती शर्मा ‘जिज्ञासु’को हुस्सुभित्रको घाम (२०६२), कृष्ण पहाडीको बारुदका धुवाँहरू (२०६२), इन्द्रकुमार विकल्पको लाली गुराँस फुल्ने मन (२०६२), दीपक समीपको भूगोलभित्र नकोरिएको देश (२०६२), घनेन्द्र ओझाका बल्झेर याद तिम्रो (२०६२), आफ्नै चिहानमा टेकेर (२०६१) र बहरमाला (२०६३), सरला जोशीको शब्दको सुवास (२०६२), सरोज काफ्लेको अधरामृत (२०६२), ईश्वर ‘बा’को जीवनका छालहरू (२०६२), पुष्प अधिकारी ‘अञ्जली’को मनभित्र (२०६२), अनुराग अधिकारीको अनुराग (२०६२), राजेश खतिवडाको पोख्न बाध्य व्यथाहरू (२०६२), टि.एन. किशोरको देश रोएको बेला (२०६२), रत्न प्रजापतिको मधुमास (२०६२), धिरज ठकुरीको किनारदेखि किनारसम्म (२०६२), राजेन्द्र थापाका सूर्य पनि अस्ताउन मात्रै (२०६२) र सहनेकै छाती अचानो (२०६२), भरत रोदन साउँद ‘पाखे’को आँखामा डुबेर आकृति (२०६२), दीपक समीपको भूगोलभित्र नकोरिएको देश (२०६२), पुष्प अधिकारीको मनभित्रको मन (२०६२), करणसिंह गोयलाको समाधिमा भक्त (२०६२), राममाया अधिकारीको हृदयाञ्जली (२०६२), सरस्वती शर्माको हुस्सुभित्रको घाम (२०६२) लोकेन्द्र बन्जाराको आँखाभरि सपना (२०६२), सरोज काफ्लेको अधरामृत (२०६२), शीतल कादम्मिनीको सुगन्ध यात्रा (२०६२), इन्द्रकुमार ‘विकल्प’को लालीगुराँस फुल्ने मन (२०६२), शान्तिराम पोख्रेलको आँखाभित्रको बस्ती (२०६२), भूपेन्द्र तिमल्सिना र मायामितु न्यौपानेको निर्वासित चराहरू (२०६२), खालिङ्ग बन्दना ‘विवश’ अदृश्य व्यथा (२०६२), ‘दुखी महल’ तिम्सिनाको काव्यलहर (२०६२), दिपेन्द्र कार्कीको तिर्खा र खोली (२०६२), बलबहादुर राउत ‘सानु’को गजलका फूलहरू (२०६२), धिरज ठकुरी ‘त्रिवेणी’को किनारादेखि किनारासम्म (२०६२), सरु कालीको स्मृति स्पर्श (२०६२), सुनिता कार्कीको सगरमाथा झुकेपछि (२०६२), वीरबहादुर चन्दको चौपाटो रे मान्स (२०६२), कृष्ण उदासीको तालैतालमा (२०६२), टिएन. जोशीको देश रोएको बेला (२०६२), हर्कमान घर्ती मगरको सद्भावका फूलहरू (२०६२), लक्की चौधरीको अन्तर्भाव (२०६३), रमेश क्षितिजको आफैँ आफ्नो साथी भएँ (२०६३), गोपीकृष्ण काफ्लेको समुन्द्रमा आगो (२०६३), पुष्कारराज भट्टको सुनौलो बिहानी (२०६३), कृृष्णकुसुमको अमृतको प्याला (२०६३), भोजराज घिमिरेका आहत (२०६३) र निर्बन्ध आकाश र उन्मुक्त किनारा (२०७५), सुवासचन्द्र ढुङ्गेलको भाँचिएको मन (२०६३), रामप्रसाद ‘प्रदीप’को बेलाको बोली (२०६३), रञ्जित ज्ञवालीको गजलधराको कल्पवृक्ष (२०६३), रूपक बनवासीको हल्का मद्यपान (२०६३), प्रेमविनोद नन्दनको भिडमा एक्लै एक्लै (२०६३), रासाको घाउमाथि घाउ (२०६३), राममणि ढुङ्गानाको पुष्पदंश (२०६३), कृष्ण उदासीको नयन तालैमा (२०६३), विरही केशुको दन्किएको आगो (२०६३), तपेन्द्र शाह ‘भावातीत’को जून झरेर पातमा दीपक आचार्यको आँसुभित्रको अविरल यात्रा (२०६३), त्रसित वसन्तको मनभित्र दुखेको मन (२०६४), सरुभक्तको साइबर क्याफेमा एकदिन (२०६४), सूर्यबहादुर दौल्याल र तीर्थराज जोशीको कल्पनाको आकाश परी (२०६४), सुरेश सुवेदीको अनुभूतिका डोबहरू (२०६४), जीत कार्कीको आस्थाका हिउँचुलीहरू (२०६४), नारायण निरासीको तुसारोमा फुलेका फूलहरू (२०६४), विक्रम ‘विवश’को जेल जिन्दगी (२०६४), प्रेमप्रकाश मल्ल मधुकरको सजल (२०६४), सृजन श्रीको माटो हाँस्छ (२०६४), जय गौडेलको आशाका बयलीहरू (२०६४), विक्रम तिमित्सिनाको अलिअलि चोट देऊ (२०६४), शुशील गौतमको गजल रापती (२०६४), मेघनाथ खनालको गजलयात्रा (२०६४), वासुदेव पाण्डेय र इन्द्र बम ‘घायल’को गजलका फाँकीहरू (२०६४) र वासुदेव पाण्डेयको आगमन (२०७२), उमेश राई ‘घायल’को अभीप्शा इन्द्रेणीको (२०६४), शैलेन्द्र अधिकारीको दिन रोएपछि (२०६४), तीर्थराज जोशीको कल्पनाको आकाशभरि (२०६४), जनक रसिकको युगीन सपना (२०६४), हेमबाबु लेखकको तस्नगी (२०६४), मोहन थापाका मनको फुलबारी (२०६४) र भिजेको परेली (२०६८) आदि कृति प्रकाशित भएका देखिन्छन् ।
साठीको दशकको उत्तरार्धबाट हरिश रावलको विरह विद्रोही आवाज (२०६५), कृष्ण पनेरुको बल्झेर घाउ फेरि (२०६५), वीरबहादुर चन्दको नौलो जुग (२०६५), दिपेन्द्र चन्दको प्रेम पुजारी (२०६५), निरञ्जन बमको मन बहलाउँदा (२०६५), दिपा ऐरको घामछाया (२०६६), हेमन्ती जोशीको मनहरू जित्नसके (२०६६), मिनरान निसानीको अन्त सुरु (२०६६), बाबु देवकोटाको बिछोडिनु पर्दाको पीडा (२०६६), प्रदीप जैसीको परिवर्तित आवाज (२०६६), गणेश रोकायको स्मृतिका छालहरू (२०६७), धन बिबि यात्रीको ओइलिएको फूल (२०६७), पूर्ण सङ्गम जेठाराको तिम्रो वियोग (२०६७), दुर्गा जैसीको माया (२०६७), कमल साउँदको मुस्कानको थोत्रो गणतन्त्र (२०६७), लोकेश महतोको युगीन पीडा (२०६७), नरेश न्यौपानेको विरक्तिएको जिन्दगी (२०६८), लक्ष्मीदत्त भट्टको चाँदनीको व्यथा (२०६८), प्रकाश पैँतोलाको मुटुमा रोपिएका बिउहरू (२०६८), झनक अधिकारीको अदृश्य आँसु (२०६८), टिआर शर्माको ताजमहलको सङ्गीत (२०६८), मनोज साउँदको दुखेको मन (२०६८), दिर्घराज गिरीको पग्लिएका रहरहरू (२०६९), करिस्मा सिंह कञ्चनको टुक्रेको माया (२०६९), टेकबहादुर ठकुल्लाको मनभित्रका ज्वारभाटाहरू (२०६९), यज्ञराज यात्रीको मनको पीडा (२०६९), तोयानाथ भट्टको विद्यारानी (२०६९), लोकराज भट्टको भुँमरी देश (२०६९), खेम बतासको बतास (२०६९), फणेन्द्र साउँदको वैरागीको मन (२०६९), नरेन्द्र बिहानीको संयुक्त गजल उदाएका कलमहरू (२०६९), प्रवासका अक्षरहरू (२०७१), ललिता ठकुन्नाको मनोवेग (२०६९), राजेन्द्र ओडको कोसेली (२०६९) जस्ता गजलसङ्ग्रह प्रकाशित भएका देखिन्छन् ।
सत्तरीको दशकमा भीम साउँदको तिक्त अतीत (२०७०) र चाँदनीको देश (२०७०), विष्णुदत्त भट्टको मनको ज्वाला (२०७०), हर्कबहादुर बुढाको किरण (२०७०), युगीन विवेकको समयका रङहरू (२०७०), खकेन्द्र समर्पणको आवरण (२०७१), सुनाखरीको सपना (२०७१), विपिन सलामीको मैले देखेको दुनियाँ (२०७२), हेमन्त खातीको आँसुको आँसु (२०७२), कपिल शर्माको तस्बिरमा दोसल्ला (२०७३), प्रकाश त्रिपाठीको फुलबारी (२०७३), कमल सङ्घर्षको सडक (२०७३), अमला अधिकारीको आरन (२०७३), कर्णदयाल सोडारीका आँखासामु (२०७३), पर्दापछाडि (२०७४) डुब्याकि जुःन (२०७५ डोड्याली भाषा), आमनेसामने (२०७६) र लकडाउन (२०७७), रितु पाण्डे ‘प्रियसी’को प्रियसी (२०७४), विपिन मर्मको मनको शल्यक्रिया (२०७४), विपिन सलामीको रानीचडा (२०७५), आस्था केसीको उज्यालोको खोजी (२०७५), अनन्त अनुरागको पर्दा (२०७६), खडानन्द तिमिल्सिनाको ११११ गजलहरू (२०७६), खगेन्द्र घोडासैनी र डिल्लीराम ढकालको संयुक्त गजलसङ्ग्रह कोसेली (२०७७) जस्ता प्रकृति प्रकाशित भएका देखिन्छन् ।
नेपाली गजल परम्परामा केही प्रतिनिधिमूलक सम्पादित गजलसङ्ग्रह पनि प्रकाशित छन्, तिनमा ललिजन रावलको समकालीन नेपाली गजल (२०४७) र प्रतिनिधि नेपाली गजल (२०६५), दुवसु क्षेत्रीको समसामयिक नेपाली गजल (२०५०), गोवद्र्धन पूजाको आकाश (२०५३), वियोगी बुढाथोकी र कृसु क्षेत्रीको प्रतिनिधि नेपाली गजल (२०५७), इन्द्रकुमार विकल्पको धौलागिरी स्पन्दन (२०५९), शिव रेग्मी प्रणतको पूर्वाञ्चलका समसामयिक केही गजल (२०६०), धर्मेन्द्र भट्टराई र शान्ता बस्नेतको सगर (२०६०), गोपीकृष्ण ढुङ्गाना र गङ्गाप्रसाद भेटवालको काठमाडौँ गजलसङ्ग्रह (२०६१), श्यामप्रसाद न्यौपानेको नवलपरासीका समसामयिक गजल (२०६१), बालकृष्ण थपलियाको गजलपथका यात्रीहरू (२०६१), निर्मल ढुङ्गानाको शुभरात्री गजलगङ्गा (२०६२), पुण्य अधिकारीको गजल विम्ब (२०६२), रमेश शुभेच्छुकको नेपाली गजलमा नारी हस्ताक्षर (२०६२) धिरज गिरीको नेपाली गजल २०६२), अनाम मण्डलीको बहरमाला (२०६३), आर.के. अदिप्तको ई.समकालीन नेपाली गजल (२०६४), अनुराग अधिकारीको गोधुली–२ (२०६३), मध्यपश्चिमाञ्चल साहित्य प्रतिष्ठानको गजल विशेषाङ्क (२०६३), मुख्य रहेका छन् । यस अवधिमा केही प्रतिनिधिमूलक गजलसङ्ग्रह पनि प्रकाशित भएका देखिन्छन्, जसमा कैफियत–१ (२०७०), अक्षहरूको पिरामिड (२०७१), कैफियत–२ (२०७३), चौतारी (२०७५), निर्मलाको न्यायका निम्ति (२०७५), मलेसियाबाट प्रकाशित सामुद्रिक छल्का (२०७०) आदि संयुक्त गजलसङ्ग्रहरू प्रकाशित भएका देखिन्छन् ।
सत्तरीको दशकदेखि गजल लेखनमा क्रियाशील स्रष्टाहरूमा अनुराग अधिकारी, शान्तिनारायण श्रेष्ठ, तपेन्द्र घोडासैनी, विमलप्रकाश देवकोटा, भोजराज घोडासैनी, दिनेश घोडासैनी, पुष्कर रिजाल, रामशरण श्रेष्ठ, योगेन ढोली, डम्बर पौडेल, ओनिस अज्ञात, पुस्कल पौडेल, एचएल गौतम, समर अनिल, अनिल बराइली, सुनामी कोसिस, विष्णु वली, दिपक नेपाली, रामकृष्ण पौडल, मोहन प्यासी, रामबहादुर निरंकारी, कृष्ण मार्मिक, नीरस मैनाली, सोपकृष्ण श्रेष्ठ, लोचन पाण्डे, निर्मल ढुङ्गाना, उज्ज्वल जिसी, विपिन शर्मा, सदानन्द अभागी, केशवप्रसाद ढुङ्गेल, एकु घिमिरे, कोमल श्रेष्ठ मल्ल, अनिता भण्डारी पौडेल, कौशिला रिसाल, राधा वाग्ले, सदानन्द उपाध्याय, विमला तुम्खेवालगायत अनेक गजलकारहरूले नेपाली भाषामा गजल लेखिरहेको पाउन सकिन्छ ।
भारतीय नेपाली गजलपरम्परा
भारतमा नेपाली गजल लेखनको परम्परा निकै पुरानो भए पनि गजलको सङ्ग्रह प्रकाशनको युग भने इ.सं. २००१ मा आएर पूरा भएको देखिन्छ । भारतमा नेपाली गजल लेख्ने प्रथम व्यक्ति पारसमणि प्रधान हुन् । उनका गजलको ढाँचा र शिल्प शिथिल प्रकृतिको देखिन्छ । उनी शभ्भुप्रसाद ढुङ्ग्यालका समकालीन देखिन्छन् । त्यसपछि बहादुरसिंह बराल र अन्य कविहरूको संयुक्त कवितासङ्ग्रह बरालको आँसु (सन् १९३८) प्रकाशित भएको देखिन्छ । यसको दोस्रो संस्करण (वि.सं.२०५२) भएको पाइन्छ । यसमा प्रकाशित केही रचनामा गजलको संरचना पाइन्छ । यो तीन भागमा विभाजित छ । पहिलोमा ३६, दोस्रोमा ६५ र तेस्रोमा १०४ ओटा रचनाहरू सङ्कलित छन् । यसमा सङ्कलित जम्मा २०५ रचनामध्ये बहादुरसिंह बरालका १८१ र २० अन्य लेखकका रचना छन् । यिनमा ४३ ओटा रचना संरचनात्मक दृष्टिले गजल बनेका छन् (बराल, २०६४, पृ.२२०–२२१) । बरालको आँसुमा सङ्कलित अन्य गजलका रचनाकारहरू हुन्, दुर्गा मल्ला, गङ्गावती, मैतराम, पवित्रादेवी, शमशेर सिंह, दिलिप, मित्रसेन आदि हुन् । भारतीय नेपाली गजलपरम्परामा सङ्ग्रह प्रकाशित गर्ने गजलकारहरूको विवरण यसप्रकार देखिन्छ :
सञ्जीव छेत्री र सन्तोष गुप्ताको तरल मुटुहरू (२००१), खुसेन्द्र राईको मेरा एकाउन्न गजल (२००५), असमका गोविन्द शाण्डिल्यको गजल गान्धार (२००६), असीम सागरका जून पोखिएको रात (२००७) र अस्तित्वका आवाजहरू (२००८), भविलाल लामिछानेका भविलाल लामिछानेका दुई नज्म र केही गजल (२००७) र गजल (२०११), वीरेन्द्र खँड्का, अनिल छेत्री र सुवास श्रेष्ठको गजल जल (२००८), डिल्लीप्रसाद अधिकारीको कविता र गजलसङ्ग्रह सुनभागाका स्वरहरू (२००९), लीलबहादुर छेत्री, बलराम सापकोटा र बुद्ध राईको गजल महक (२००९), गोविन्देको गोविन्देका गजल (२००९), दीपक ठटाल जलनको गजल कानन (२००९), छुदेन काविमुको केही घाउ केही मलम (२००९), सुवास श्रेष्ठका समुद्र रोएको साँझ (२०१०) र फूलबारी (२०१०), अरुण साङपाङ र सुरज सुब्बाको कालो गुलाब (२०१०), शैलेन्द्र समदर्शीको बालगजल सुरुआत (२०१०), धिरेन सङ्घर्षको मनोराग (२०१०), मिलन बान्तवाको मनचरी (२०१०), कमल रेग्मीका ऋतुगीत (२०१०) र कमलकोठी (२०११) आदि उपलब्ध छन् ।
सार्वजनिक वाचन/गायन
पछिल्लो समयमा गजलको सार्वजनिक वाचन र गायन गर्ने प्रकृतिका कार्यक्रमहरूको आयोजन गरिन थालिएको छ । यस क्रममा २०७२ सालबाट काठमाडौंको सर्वनाम थिएटरमा ‘महफिल’ सुरु भयो । अहिले आएर देशभर टिकट काटेर गजल सुन्ने बानीको विकास हुँदै गरेको देखिन्छ । काठमाडौंमा शीतल कादम्बिनीले सुरु गरेको गीत गजल, शीतल अनि रसिक राज लगायतले सुरु गरेको आभा काव्य लहर, सिन्धुलीमा वरुण लामिछानेले सुरु गरेको गजल सङ्गम, सुर्खेतमा भरत प्रमोद दाहालहरूले सुरु गरेको कार्यक्रम, पछिल्लो समय विश्व कोभिड–१९ले आक्रान्त भई लकडाउन भएका बेला सामाजिक सञ्जाल र प्रविधिका माध्यमबाट देश र देशबाहिरका विभिन्न भूभागबाट अनलाइन गजल रस कार्यक्रमले प्राथमिकता पाएका छन् । यसको नमुना कार्यक्रम बझाङ जिल्लाका हरिश कान्छो जोशीले सुरु गरेको गजल वाचन कार्यक्रमले २१ औँ शृङ्खला गर्न सफल भएको छ । नेपाली गलजका केही साइड र एपहरू पनि बनेका छन् । तिनमा ‘गजल मझेरी डटकम’, ‘साहित्य सङ्ग्रहालय’, ‘नेपाली गजल’, ‘नेपाली साहित्य दर्पण’, ‘समकालीन नेपाली साहित्य’ उल्लेखनीय छन् । गजल लेखनमा सङ्ख्यात्मक वृद्धि भए पनि त्यसको गुणात्मक वृद्धितर्फ बढी ध्यान दिनुपर्ने देखिन्छ ।
आधुनिक नेपाली गजलहरू बहरयुक्त र बहरमुक्त दुवै प्रकारका देखिन्छन् । संरचनात्मक हिसाबले प्रायः गजलहरू बिजोडा सेरका र तीनदेखि दश बार सेरसम्मका देखिन्छन् । यस बेलाका गजलमा समसामयिक राजनीति, सामाजिकता, ईश्वर, नैतिक, आशा, निराशा, सांस्कृतिक विचलन, प्रकृतिका सुन्दर र कुरूप स्वरूप, देशप्रेम आदि भाव व्यक्त गरिएको पाइन्छ ।
निष्कर्ष
प्रस्तुत लेख नेपाली गजलको सङ्क्षिप्त ऐतिहासिक रूपरेखा प्रस्तुत गर्ने प्रमुख उद्देश्य तथा ‘वर्तमान अवस्थामा लेखिएका सबै गजलको ऐतिहासिक रूपरेखा तयार भएको छैन’ भन्ने प्रमुख समस्याको समाधानार्थ तयार पारिएको हो । यसमा नेपालमा विभिन्न ठाउँबाट प्रकाशित भएका गजलसङ्ग्रहको प्रकाशन मितिलाई आधार बनाएर तथ्य सङ्कलन गरी तिनको कालक्रमिक प्रस्तुति गर्ने जमर्को गरिएको छ । यसमा इतिहास लेखनका विभिन्न सिद्धान्तमध्ये आकृतिमूलक सिद्धान्तलाई सैद्धान्तिक आधार बनाइएको छ । नेपाली गजलको ऐतिहासिक पक्षलाई उद्देश्यमूलक नमुना छनोटपद्धतिका आधारमा छनोट गरिएको छ । यो दस्तावेजको विश्लेषणमा आधारित गुणात्मक ढाँचाको लेख हो । यसमा फुटकर रूपमा गजल लेख्ने गजलकारको विवरणलाई समावेश नगरी कम्तीमा एउटा कृति प्रकाशित गजलकारका कृतिहरूलाई कालक्रममिक रूपमा सूचीकृत गर्ने प्रयास गरिएको छ । एउटा सर्जकका एकभन्दा बढी सिर्जना भएको अवस्थामा पहिलो कृतिको मितिसँगै त्यसपछि प्रकाशित भएका अरू कृतिहरू पनि सोही ठाउँमा उल्लेख गरिएको छ । यसो गर्दा नामको पुनरावृत्ति गर्नबाट बचिने र एउटा लेखकका कति ओटासम्म रचना छन् बुझ्न मद्दत मिल्ने अपेक्षा गरिएको छ । गजलको सङ्क्षिप्त सैद्धान्तिक पक्ष, नेपाली गजलको काल विभाजन गरी त्यसका आधारमा कालक्रमिक रूपमा प्रस्तुत गरिएको छ । नेपाली गजल लेखनमा पचासको दशकदेखि निकै शक्रियता देखिएको र त्यसको निरन्तरता अद्यावधिक रहेको देखिएको छ । व्यक्तिगत सङ्ग्रह प्रकाशनका साथसाथै संस्था र समूहगत रूपमा पनि प्रतिनिधिमूलक कृतिको प्रकाशनले पनि उत्तिकै निरन्तर पाएको देखिन्छ । वर्तमान अवस्थामा सामाजिक सञ्जाल र प्रविधिका माध्यमबाट वाचन, प्रकाशन र प्रसारणको मात्रा बढे पनि सङ्ग्रह प्रकाशनको गति अवरुद्ध भने नभएको देखिन्छ । नेपाली गलजका केही साइड र एपहरू निर्माण गरी प्रविधिका माध्यमबाट प्रकाशन गर्ने काम पनि गरिएको छ । समग्रमा नेपाली गजलको सङ्ख्यात्मक प्रकाशनसँगै अब गुणात्मक वृद्धिका लागि गजलकारहरूले अग्रसरता देखाउनुपर्ने स्थिति सिर्जना भएको छ । युवापुस्ताको गजल लेखन तीव्र गतिमा बढिरहेको आकर्षणले गजलको सङ्ख्यात्मक वृद्धिसँगै यसको गुणात्मक वृद्धितर्फको चेत पनि गजलकारमा भयो भने नेपाली गजलले साँच्चै सार्थकता पाउने छ भन्ने अपेक्षा गर्न सकिन्छ । गजलको समग्र इतिहास तयार पार्न हालसम्म व्यक्तिगत प्रयास मात्रै भएको देखिन्छ । व्यक्तिगत प्रयासबाट सबै ठाउँका सबै गजल समेट्न कठिन हुने र त्यसका लागि संस्थागत प्रयासको आवश्यकता रहेको निष्कर्ष यस लेखबाट निकालिएको छ ।
कृतज्ञताज्ञापन
अन्तमा प्रस्तुत लेख पढी उपयुक्त सुझाव दिएर लेख परिमार्जन, संशोधन र परिष्कार गर्न मद्दत गर्नुहुने विषयविज्ञज्यूप्रति हार्दिक कृतज्ञता प्रकट गर्दछु ।
सन्दर्भ सामग्रीसूची
आप्टे, शिवराम (इ.१९९५). संस्कृत हिन्दी शब्दकोश. नाग प्रकाशन ।
क्षेत्री, दुबसु (सम्पा.) (२०५०). समसामयिक नेपाली गजल. वसुन्धरा प्रकाशन ।
तिमिल्सिना, हरिप्रसाद (२०६८). केही टिप्पणी केही समालोचना. भेरी साहित्य समाज ।
न्यौपाने, घनश्यास, परिश्रमी (२०६४). गजल सौन्दर्य र मीमांसा. सन साइन आवासीय उच्च माध्यमिक विद्यालय ।
पोखरेल, बालकृष्ण (सम्पा.). (२०७५). बृहत् नेपाली शब्दकोश. नेपाल प्रज्ञाप्रतिष्ठान ।
बराल, कृष्णहरि (२०६४). गजल : सिद्धान्त र परम्परा. साझ प्रकाशन ।
रावल, ललिजन (सम्पा.) (२०४७). समकालीन नेपाली गजल. बगर प्रकाशन ।
श्रेष्ठ, दयाराम (२०५९). साहित्यको इतिहास सिद्धान्त र सन्दर्भ. त्रिकोण प्रकाशन ।
श्रेष्ठ, प्रिया पत्थर (२०५८). ‘गजल संरचना : आधारभूत कुरा र केही इतिहास पनि’. अङ्कुर–८, ३–७ ।
मधुपर्क, गरिमा, शब्दसंयोजन, हाम्रो पात्रो (एप) आदिका विभिन्न अङ्कहरू ।
https://www.samakalinsahitya.com/index.php?show=category&cat_id=5
https://saptahik.com.np/literature/2020/02/08/20200207143521.
https://sudurkhabar.com/archives/136957?fbclid=IwAR1VULe71rc85AVO3OdsYimNCOgkAB fChIs9ow6eYDJesRNQ4IUHlODbj-8.

(प्रस्तुत लेख वीरेन्द्र बहुमुखी क्याम्पसको अनुसन्धान व्यवस्थापन एकाइद्वारा प्रकशित BMC Research Journal volume : 1, No.1, March 2021 को पृ. ९१-१०५ मा प्रकाशित लेखलाई साभार गरी राखिएको हो । यसलाई हुबहु कपी पेस्ट गर्न र त्यसलाई प्रकाशन गर्न पाइने छैन । बरु यसमा प्रस्तुत गरिएका कृति र वर्ष तथा कुनै छुटेका भए जानकारी गराउनुहोला । - लेखक )

Post a Comment

0 Comments
Post a Comment (0)

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top