Memories with Dad!!! (बुबासँगको सम्झना !!!)

Dr.Khagendra Ghodasaini
7
बुबासँगको सम्झना !!!
डा. खगेन्द्र घोडासैनी
मैले मेरा बुबालाई सर्वप्रथम बुबाको रूपमा कहिलेदेखि चिन्न थालेँ । म मेरा विगतका अनुभूतिहरू पहिल्याउँदै यस प्रश्नको खोजी गर्दै छु । एउटा सन्तानले आफ्ना पितालाई कहिलेदेखि चिन्न सुरु गर्छ ? कसरी चिन्दछ भन्ने विषयमा कतै उल्लेख भएको पाइँदैन । ‘बुबालाई आमाले चिनाउँछिन्’ भन्ने कुरा भने धेरैले भनेको पाइन्छ तर मेरी आमाले बुबालाई कहिले कसरी चिनाउनुभएको थियो, त्यो मेरो सम्झनामा छैन । एउटा सन्तानको आफ्ना बुबासँगको सम्बन्ध कहिलेदेखि सुरु हुन्छ त्यो फेरि अलग कुरा हो । उसरी त बुबाको वीर्यबाटै हरेक सन्तानको जन्म हुने भएकाले आमाभन्दा पहिले सन्तानको सम्बन्ध बुबासँगै हुन्छ । मनुस्मृतिमा उल्लेख गरिएको छ-
आत्मा वै जायते पुत्रः पुत्रेण दुहिता समा । तस्यामात्मनि तिष्ठत्यां कथमन्यो धनं भवेत् ।।
अर्थात् आत्मस्वरूप पुत्र हुन्छ अनि पुत्रकै समान पुत्री पनि हो । आत्मरूपी पुत्री उपस्थित हुँदा पिताको धन अरूले कसरी हरण गर्न सक्छ ?
यसका सबै आशय र तात्पर्यलाई नखोतली सोझै भन्दा पुत्र वा पुत्री पिताका आत्मस्वरूप हुन् । त्यसैले हरेक सन्तानको आफ्ना पितासँगको सम्बन्ध आमाको गर्भमा आउनुभन्दा पहिलेदेखि नै हुन्छ ।
ऋग्वेद ८/३/२४ औं मन्त्रमा पनि भनिएको छ–
‘आत्मा पितुस्तनूर्वास ओजोदा अभ्यञ्जनम् । तुरीयमिन्दोहितस्य पाकस्थामानं भोजं दातारम ब्रवम् ।’
अर्थात् जुन कर्मयोगीले पिताकै आत्मा तथा शरीरबाट वस्त्रसमान अभिरक्षक तथा बल प्राप्त गरेको छ, जुन चारैतिरबाट हुने हिंस्रक आक्रमणबाट रक्षित छ, म त्यो भोक्ताको स्तुति गर्दछु ।
हरेक सन्तानको जन्म हुनुमा आमाका अतिरिक्त बुबाको महत्त्वपूर्ण भूमिका हुन्छ । वैज्ञानिक दृष्टिबाट हेर्दा हरेक सन्तानको लिङ्ग निर्धारण जुन पुरुषबाट हुन्छ तिनैलाई बुबा भनिन्छ । बच्चाको लिङ्ग निर्धारणमा बुबाकै वीर्य प्रमुख कारक हुन्छ । यस दृष्टिले प्रत्येक सन्तानको आफ्ना बुबासँगको सम्बन्ध आमाका गर्भमा आउनुभन्दा पहिलेदेखि नै रहेको देखिन्छ किनकि यहाँ वीर्यले बालकको जन्मका लागि बिउको काम गरेको देखिन्छ । हुन त चाणक्यले जन्मदाता, संस्कारदाता, विद्यादाता, अन्नदाता र अभयदाता गरी पिताका पाँच प्रकार बताएका छन् । शास्त्रमा भने पिताका तीन प्रकार उल्लेख गरिएको पाइन्छ–
शरीरकृत् प्राणदाता यस्यचान्नानि भुञ्ज्यते । क्रमेणैते त्रयोप्युक्ताः पितरौ धर्मशासने ।।
अर्थात् शरीर निर्माण गर्न सहायक हुने, प्राण दिएर रक्षा गर्ने र अन्न दिएर शरीरलाई बचाउने यी तीन प्रकारका पिता हुन्छन् । यसरी पितालाई विभिन्न वर्गमा देखाए पनि साररूपमा एउटा बालकको जसबाट पूर्ण संरक्षण, लालन, पालन, पोषण आदि हुन्छ तिनैलाई पिता वा बुबाका रूपमा शास्त्रले चित्रण गरेको देखिन्छ ।
आजभोलि पिताका गुण र व्यवहारलाई हेरेर पनि तिनलाई प्रकारमा विभाजन गर्ने गरिएको पाइन्छ । लोकव्यवहारका दृष्टिले अधिनायकवादी, प्रजातान्त्रिक, स्वतन्त्रताप्रेमी र बेवास्ता गर्ने स्वभाव वा बानी भएका गरी पिता चार प्रकारका उल्लेख गर्ने गरिएका छन् । यस्तै आफ्ना सन्तानप्रति सधैँ सजग भएर उसलाई उत्साहित पार्ने, उसमा अझै राम्रो होओस् भनी गुनासो गर्ने, अनुशासन लगाउने, खुसी रहने र चिन्ता व्यक्त गर्ने जस्ता गुणका आधारमा लोकव्यवहारमा पितालाई पाँच प्रकारमा विभाजन गर्ने गरेको पाइन्छ ।
मैले सानो छँदा ‘धर्तीभन्दा ठुलो र आकाशभन्दा चौडा के हो ?’ भन्ने गाउँखाने कथा सुनेको थिएँ । त्यसको अर्थ त्यतिबेला यति गहिरो रहेछ भन्ने मैले बुझेको थिइनँ । यसको उत्तर हो धर्तीभन्दा ठुलो– आमा, आकाभन्दा चौडा– बुबा । एउटा सन्तान जो भर्खर जन्मिएको छ, उसका लागि आमाको काखभन्दा ठुलो धर्ती आजसम्म संसारमा कसैले देखेको छ ? अवश्य छैन । त्यस्तै कमजोर र असहाय अवस्थामा लालन, पालन र पोषण गर्ने र सबै प्रकारबाट सुरक्षा गर्ने बुबाका पौरखी हातभन्दा ठुलो आकाश अर्को हुन सक्दैन । बुबाको छत्रछायाका अगाडि यो सिङ्गो आकास सानो ठहरिन्छ । त्यसैले यो गाउँखाने कथाको अर्थ मेरा लागि आजका दिनमा मात्रै अर्थिन्छ । आमाबुबाको परिक्रमा गरेर विश्वभ्रमणको मान्यता पाएको गणेशको कथाले हामीलाई बुबाआमाको उचाइ, गरिमा र महत्त्व अझ बढाइदिन्छ ।
अँ त, मैले बुबालाई कहिलेदेखि चिनेँ भन्ने विचार गर्दै थिएँ । खासमा बुबालाई कहिलेदेखि ठ्याक्कै बुबा भनेर चिनेको हुँला त ? यस प्रश्नमा म निकै घोरिएँ तर कतै पनि सम्झनाका त्यस्ता झिल्काहरू फेला परेनन् । तै पनि बुबासँग हिँडडुल गरेका स्मृतिहरूलाई पहिल्याएर नै मैले पहिलो पटक बुबालाई यसरी चिनेँ भन्ने एउटा टुङ्गोमा पुग्न सकिएला कि ? म सात वर्ष पुग्नुभन्दा अगाडिका केही घटनाहरू सम्झन्छु । सात वर्ष पुगेपछिका त धेरै कुरा सम्झन्छु त्यसैले ती घटना सर्वप्रथम सम्झेका घटनामा पर्दैनन् । सात वर्षभन्दा सानो भए पनि तीमध्ये म कुन उमेरको थिएँ थाहा छैन तर बुबा साँझबिहान पूजापाठमा व्यस्त हुने गरेको मलाई याद छ । बुबाले बिहान श्लोकहरू पढ्नुहुन्थ्यो । त्यो के पढ्नुभएको हो भन्ने कुरा मैले धेरैपछि मात्रै थाहा पाएँ । त्यो श्रीमद्भगवत् गीता पढ्नुहुने रहेछ । मैले बुबालाई लेखपढमा व्यस्त भएको र भेट्न आउने मानिसहरूसँग कुराकानी गरेको थाहा पाउँछु । त्यसरी आउने मानिसहरू कोही चिना हेराउने, कोही चिना लेखाउने, कोही नामकरण गर्ने, कोही दिन हेर्न आउने र कोही उपचारका लागि आउँथे भन्ने कुरा मैले धुलौटो कता छ भन्ने कुरा हुँदाका पल सम्झन्छु । उपचारका लागि आउनेहरूलाई जडीबुटी दिएर वा झारफुक अथवा जन्त्र बाँधेर पठाउनुहुन्थ्यो । त्यसक्रममा मैले पनि केही जडिबुटी र केही मन्त्रहरू सुनेको कुरा सम्झना छ तर ती यस्तो प्रयोजनका लागि प्रयोग हुन्छन् भन्ने कुरा आजको दिमागले बुझेको हुँ त्यतिखेर यसबारे केही जानकारी थिएन ।
सानो छँदा मैले बुबासँग यात्रा गरेको पनि सम्झना छ । एक दिन बुबाले मलाई आफू्रसँग गाउँदेखि टाढासँगै लिएर जानुभएको थियो । यो चाहिँ म आफैँ हिँड्न सक्ने भएपछि रहेछ । त्यसरी लैजाने क्रममा म मान्नाडा गएको थिएँ । मान्नाडा मेरो घरदेखि दश मिनेट जति टाढाको गाउँको टोल रहेछ भन्ने म आज बुझ्दै छु । त्यहाँ कुनै पूजाको आयोजना थियो । म बाहिरतिरै खेल्नमा लागेँ बुबा पूजामा । धेरैबेर पछि बुबा आउनुभयो र सँगै घर फर्कियौँ । त्यो कसको घर थियो ? केको पूजा थियो ? त्यसबारे म अनभिज्ञ छु । अहिले बुज्दैजाँदा त्यहाँ सबै हाम्रै परिवारका सदस्यहरूका घर छन् । त्यसैले आफन्तकै घरको पूजा रहेछ भन्ने बुझेको छु ।
बुबाले मलाई एक दिन देवकोट जाँदा पनि सँगै लग्नुभएको घटना सम्झन्छु । देवकोटमा पनि कुनै पूजाको कार्यक्रम थियो । त्यसबाहेक अरू कुरा मलाई सम्झना छैन । देवकोट गएको महिना भने माघफागुनको थियो । फर्किँदा पल्लामाजी गहुँ गरामा पानी जमेको रहेछ बुबाले पानी काट्नुभएको सम्झना छ ।
मेरा बुबा मेरा जन्मदाता मात्रै नभएर मेरो अक्षरारम्भ गराउने गुरु पनि हुनुहुन्छ । मैले अक्षर चिन्नुभन्दा पहिले दुर्गा कवच कण्ठ पारेको थिएँ । शारदीय होस वा चैत्रको नवरात्रभरि घरमा दुर्गाशप्तशतीको पाठ र पूजा हुन्थ्यो । मलगायत् अरू दाजु र दिदी बहिनीहरू पनि आरती गर्ने बेला एकएक ओटा घण्ट लिएर बजाउने गर्दथ्यौँ । त्यसैले पनि दुर्गाशप्तशतीका मन्त्रहरू याद गर्ने वातावरण निर्माण भएको थियो । सानामा बुबा कतै पूजाबाट आउनुभयो भने नारिवल ल्याउनुहुन्थ्यो । त्यो काटेर उहाँ आफैँले सबैलाई बाँड्नुहुन्थ्यो ।
बारीभरि भिमलका रुख थिए । घाँस काटेपछि तिनका सिठा सुरक्षित राखिन्थे । ती सुरक्षित राखेर के गर्छन् भन्ने कुरा मलाई थाहा थिएन । एक दिन कोरेको खेतका नजिक भिमलका सिठा भिजाएको ठाउँमा बुबाले लग्नुभएको थियो । मैले त्यही दिन गाईवस्तुलाई बाँध्न गल्यौँ बाट्ने पाटको उत्पादन यिनै भिमलका सिठाको रेसा निकालेर हुन्छ भनेर बुझेको थिएँ । मेरो ज्ञान र बुझाइका अंश अंशमा मेरा बुबाको शिक्षा थियो होला तर मलाई कहाँ सबै सम्झना हुनु ? मैले त बाल्यकालको धमिल वातावरणलाई उज्यालो पार्दै खोज्दाखेरि फेला पारेका सम्झनाका केही सूत्रहरूमात्रै हुन् यी । आजको मेरो सोच, चिन्तन, विचार र दर्शनमा मेरा बुबाको अंश छ । म त्यसलाई विश्वास गर्छु । त्यसैले त मनीषीहरूले भनेका छन् ‘आत्मा वै जायते पुत्रः’ ।
यसरी घुमाउँदा, खुवाउँदा र उहाँले गर्ने क्रियाकलापमा संलग्न हुँदाहुँदै उहाँसँगको समीप्यले कसरी नजिक्यायो त्यसको पत्तै भएन कुन दिनदेखि बुबा भनेर चिनियो । यसरी मेरा मनमा खड्किएको एउटा प्रश्न फेरि पनि अनुत्तरित नै रह्यो । अनुत्तरित नै रह्यो ! के तपाईंसँग आफ्ना बुबासँग पहिलो चिनजान कसरी भयो भन्ने कुराको ताजा ज्ञान वा जानकारी छ ? अहँ तपाईंसँग पनि यस्तो अनुभव होला जस्तो मलाई लाग्दैन । हरेक सन्तानले आफ्ना बुबालाई यसरी नजानिँदो तरिकाले चिन्दो रहेछ । सत्य यही हो वा अरू पनि केही छ ? 
रचना : २०७८-०५-२१

Post a Comment

7 Comments
  1. सारै सान्दर्भिक लेख मामा

    ReplyDelete
  2. हजुरको बिध्यार्थी हुन पाउनुमा गर्व लाग्छ गुरु।

    ReplyDelete
  3. हार्दिक धन्यवाद !

    ReplyDelete
  4. बहुत मर्मस्पर्शी छ

    ReplyDelete
  5. बहुत मर्मस्पर्शी छ

    ReplyDelete
  6. बहुत मर्मस्पर्शी छ

    ReplyDelete
Post a Comment

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top