To Mother आमाप्रति

Dr.Khagendra Ghodasaini
0
आमाप्रति
डा. खगेन्द्र घोडासैनी




जननीप्रति अन्जान म सन्तान अबोध भेै,
राख्द छु पाउमा बिन्ती आफ्नो अज्ञानता सबै ।। १

अल्पज्ञ हुँ म के लेखुँ श्रद्धाका शब्द दर्पण,
तथापि स्मृतिका शब्द आज गर्दै छु अर्पण ।। २

म रिक्त पाउँथेँ आमा संसार शून्य केवल,
बिना हजुरका सारा रिक्त छन् भित्री देवल ।। ३

शून्य शून्य मिली बन्छ परं चैतन्य व्यापक,
चैतन्यमा बसी आफैँ बन्नुभो पूर्ण रक्षक ।। ४

प्रेरणाको दियो बाली अन्तस्करण झल्मल,
नबनोस् जिन्दगी कैल्यै अन्धकार र अल्मल ।। ५

पाई आसिक माताको म हिँड्दै छु सरासर,
दिनमा रातमा उस्तै एकनास बराबर ।। ६

सुखमा दुखमा उस्तै विपना सपना हुँदा,
समभाव भई बाँचुँ देह भौतिक यो छँदा ।। ७

म अग्नि जल हावाको स्थल आकाश तत्त्वको,
पितामाता र दिव्यात्मा जगताधार चित्तको ।। ८

अस्थि र मांसको पिण्ड म खाली म त रिक्त हुँ,
चिन्मयी चेतना मात्र नभए म विरक्त हुँ ।। ९

प्रत्येक पलमा आफू आफेैँभित्र बिलाउँछु
बीजविन्दु भई व्याप्त समाली त्यो सिलाउँछु ।। १०

कसिलो ग्रन्थि पारेर मातृस्नेह लुकाउँछु,
देह यो रहँदासम्म आफैँलाई भुलाउँछु ।। ११

न मुहार म सम्झन्छु आमाको न त चित्र छ,
के भनी लोकले बुझ्ला यो संसार विचित्र छ ।। १२

नजानी जननीलाई दुख दिएँ जति सबै,
फल्यौटै हो भनी आमा मलाई माफ गर्नु है ! १३

रचना : २०८० साल मातातीर्थ औंसी

Post a Comment

0 Comments
Post a Comment (0)

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top