सरल र तिर्यक् कारकमा हुने त्रुटिको निरूपण

Dr.Khagendra Ghodasaini
3 minute read
0


डा. खगेन्द्र घोडासैनी








कारक मुख्य गरी अर्थ र संरचनाका आधारमा दुई प्रकारका हुन्छन् । अर्थका आधारमा कर्ता, कर्म, करण, सम्प्रदान, अपादान र अधिकरण गरेर छ प्रकारका छन् । यिनमा प्रथमा आदि विभक्ति चिह्नहरू लागेका हुन्छन् । यी सबैलाई विभक्ति लाग्ने र नलाग्ने आधारमा पनि विभाजन गरिन्छ । यसरी गरिने विभाजन संरचना वा रूपका आधारमा सरल र तिर्यक गरी दुई प्रकारका हुन्छन्:
१. सरल कारक
बिहानै उठ्छु । तिमी पनि बिहानै उठ । बिहान उठ्दा शरीर फुर्तिलो हुन्छ । बिहान उठेर योगध्यान गर्दा दिनभर ताजगी महसुस हुन्छ । स्वस्थ रहन योग, ध्यानसाधना निकै महत्त्वपूर्ण हुन्छ ।
माथिका वाक्यमा रेखाङ्कित शब्दले कारक जनाएका छन् । यी पदमा कतै पनि विभक्ति चिह्न भने लागेका छैनन् । विभक्ति चिह्न, नामयोगी र कोटिबोधक प्रत्यय लागेका छैनन् । विभक्ति नलागेर क्रियासँग अन्वित हुने कारकलाई सरल कारक भनिन्छ ।
शब्दको मूल रूपले सरल कारक बुझाउँछ । यस्ता शब्दहरू अकारान्त, इकारान्त, उकारान्त हुँदा खासै फरक पर्दैन तर ओकारान्त हुँदा भने सरल र तिर्यकका रूप भिन्न भिन्न हुन्छ । सरल कारकका रूपहरू हुन्- छोरो, केटो, बाच्छो, जस्ता ओकारान्त शब्दका पछाडि विभक्ति चिह्न नदाग्दा वाक्यमा पनि यसै गरी प्रयोग हुन्छन् तर यिनले विभक्ति चिह्न लिएमा यिनलाई आकारान्तमा परिवर्तन गरेर लेख्नुपर्ने हुन्छ । यस्ता रूपलाई सरल नभई तिर्यक रूप भनिन्छ । तिर्यक् रूप प्रयोग हुने कारकलाई तिर्यक कारक भनिन्छ ।
२. तिर्यक् कारक
केटाले पुस्तकबाट पैसा कमायो । त्यस पैसाले छोरालाई पढायो । उसको यस्तो व्यवहार देखेर मानिसहरूले भने, “बाठाले पैसाबाट पैसा तान्ने युक्ति गर्छ ।”
माथिका रेखाङ्कित शब्दले तिर्यक कारक जनाएका छन् । तिर्यक् रूप बन्न कतै विभक्ति उही शब्दमा नलागे पनि त्यस्तै अर्थ र आशयका लागि प्रयोग भएका शब्दले पनि तिर्यक् रूप गराउँछन् । नामिक पदको विकार भएका, विभक्ति, नामयोगी र कोटिबोधक प्रत्यय जोडिएका शब्दलाई तिर्यक् कारक भनिन्छ ।
३. त्रुटिनिरूपण
सरल कारक जनाउँदा :
केटो, पुस्तक, त्यो, पैसो, छोरी, ऊ, यो, बाठो, तँ, ऊ, उनी, यो, त्यो, यी, ती, जो, को, जे, के, छोरो, गेडो, दानो, चरो, लाटो, बहिरी, साझो, बाङ्गो ।
तिर्यक् कारक जनाउँदा :
केटा+ले, पुस्तक+बाट, पैसा, छोरा+लाई, उस +का, यस्तो, मानिसहरू+ले, बाठाले, तैँ+ले, उस, उन, यस, त्यस, यिन, तिन, जुन, कुन, जस, कस, छोरा, गेडा, दाना, चरा, लाटा, बहिरा, सोझा, बाङ्गा ।
ओकारान्त शब्दहरूका सरल रूप :
कोसो फल्यो । चोखो भाँडो ल्याऊ ।
झोँटो, झोरो, ठुटो, ठुलो, धाँजो, नाङ्गो, बोको, भिरालो, भुत्लो, मोसो, लङ्गडो, लोहोटो, बाटो, राँगो, सानो, सोतो, होलो, अमिलो, चम्किलो, चिल्लो, ठुलो, पहेँलो, मिठो, राम्रो, रातो, स्वादिलो, सानो, गुलियो, बाठो, कसो, सो, त्यो, उसो, यो, ऊ, यी, ती, भएको, खाएको इत्यादि ।
ओकारान्त शब्दहरूका तिर्यक् रूप :
कोसा फले । चोखा भाँडाहरू ल्याऊ ।
झोँटा, झोरा, ठुटा, ठुला, धाँजा, नाङ्गा, बोका, भिराला, भुत्ला, लङ्गडा, लोहोटा, बाटा, राँगा, साना, सोता, होचा, अमिला, चम्किला, चिल्ला, ठुला, पहेँला, मिठा, राम्रा, राता, स्वादिला, साना, गुलिया, बाठा, कस्, त्यस्, उस्, यस्, उस्, यिन, तिन इत्यादि ।
४. निष्कर्ष
त्यसैले 'गरिएकोले, भनेकोमा, खाएकोमा, तपाईंको लागि, सुन्दरताको लागि, सुन्नुको कारण, तिम्रो पछाडि, तिम्रो अगाडि, सुन्नुको कारण, हजुको लागि, आफ्नो निम्ति, तिनीले भनिन्' जस्ता प्रयोगहरू त्रुटिपूर्ण हुन् । यिनका ठाउँमा 'गरिएकाले, भनेकामा, खाएकामा, तपाईंका लागि, सुन्दरताका लागि, सुन्नाका कारण, तिम्रा पछाडि, तिम्रा अगाडि, हजुका लागि, आफ्ना निम्ति, तिनने भनिन्' जस्ता प्रयोग शुद्ध हुन् । यी तिर्यक् कारकका रूप हुन् । यसरी सरल र तिर्यक् कारकको प्रयोगसम्बन्धी केही त्रुटिहरू यहाँ औंल्याउने प्रयास गरिएको छ ।

(नोट : विस्तृत जानकारीका लागि प्रयोगात्मक नेपाली व्याकरण हेर्नुहोला । लेख पढेपछि यहाँलाई दिन मन लागेको उचित सुझाव ब्लगकै कमेन्टबक्समा दिनुहोला ।)

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top