‘राउको काँडी’ लोकमन्त्रको सम्पादनमूलक अध्ययन'
डा. खगेन्द्र घोडासैनी
उपप्राध्यापक
: नेपाली विभाग
नेसंवि,जनता विद्यापीठ, बिजौरी, दाङ
kghodasaini2017@gmail.com
विषयपरिचय
लोकसाहित्य लोकजीवनको
अभिव्यक्ति हो । यसका विभिन्न विधाहरूमध्ये लोकमन्त्र पनि एउटा मुख्य विधा हो । लोकमन्त्रका
पनि ठाउँअनुसार अनेक भेद एवम् उपभेदहरू पाइन्छन् । लोकसाहित्यका विधाहरूको अध्ययन
विश्लेषण गर्ने काम सुरु भएपछि विभिन्न पद्धतिहरू विकसित भएका पाइन्छन् (बन्धु,
२०५८,
पृ.
५८–७९) । यस लेखमा लोकसाहित्यका प्रयोक्ताहरूका बिचमा गएर अध्ययन गरिने सम्पादनमूल
सिद्धान्तको प्रयोग गरी अछामी लोकसाहित्यअन्तर्गत पर्ने ‘राउको काँडी’ लोकमन्त्रको
सम्पादनमूलक अध्ययन गर्ने प्रयास गरिएको छ ।
सम्पादन सिद्धान्तले लोकसाहित्यलाई
पाठका रूपमा होइन सन्दर्भका रूपमा हेर्नुपर्दछ भन्ने मान्यता राख्दछ । यसले लोकसाहित्यको
सम्पादनमूलक अधययनमा प्रासङ्गिक कुराहरू बढी मात्रामा सङ्कलन गरी तिनको प्रसङ्ग
केन्द्रित अध्ययनमा जोड दिन्छ । लोकसाहित्यको अध्ययनमा सम्पादन सिद्धान्तको
विकासले गर्दा यसका विधालाई तीनका प्रयोक्ताहरूका बिचमा राखेर प्रसङ्गमा हेर्ने
चलन चलेको पाइन्छ (बन्धु, २०५९,
पृ.
१७) । सम्पादन सिद्धान्तको पुरानो पृष्ठभूमि रहे तापनि यसको नामकरण सन् १९७० को
दशकमा भएको हो । सम्पादन सिद्धान्तअन्तर्गत सन्दर्भ वा प्रसङ्गका आधारमा लोकसाहित्यको
विश्लेषण गर्ने विभिन्न पद्धतिहरू विकसित भएका पाइन्छन् । वाक्क्रिया,
कथनको
जातितत्त्व र सम्पादनमूलक सिद्धान्त लोकसाहित्यको अध्ययन गर्ने प्रमुख प्रसङ्ग
केन्द्रित सिद्धान्त हुन् (बन्धु, २०५९,
पृ.
१८–२१) । सम्पादनमूलक सिद्धान्त र डेल हाइम्सको कथनको जातितत्त्वका आधारमा अछामी
गालीको अध्ययन गरिएको पाइन्छ (घोडासैनी, २०६७,
पृ.
४७–६३) । अछामी गाली र लोकगीतअन्तर्गत पर्ने मृत्युगीत,
पडेली
र लोकमन्त्रको सम्पादनमूलक अध्ययन गरिसकेपछि लोकमन्त्रभित्रको गाथामूलक गीगि
ढाँचाको काँडीको अध्ययन गर्ने प्रयास गरिएको छ । सम्पादन सिद्धान्तका आधारमा लोकसाहित्यका
अन्य विधाहरूको पनि अध्ययन गर्न सकिने देखिन्छ । रिचार्ड बाउमनले लोकसाहित्यको
अध्ययन गर्ने क्रममा भाषिक कलाको सम्पादनका रूपमा (क) अभिव्यक्तिको संहिता,
(ख) आलङ्कारिक भाषा,
(ग) समानान्तरता, (घ)
विशिष्ट पराभाषिक अभिलक्षण, (ङ)
विशिष्ट ढाँचा, (च) परम्परा पालन
र (छ) सम्पादनको स्वीकारोक्ति जस्ता कुरामा विचार राख्नुपर्छ भनेको पाइन्छ (बन्धु,
२०५९,
पृ.
२१) । यिनै बुँदाहरूलाई संयोजन गरी अछाम जिल्लामा प्रचलित लोकमन्त्रअन्तर्गत पर्ने
‘राउको काँडी’को सम्पादनमूलक अध्ययन गर्ने काम यस लेखमा गरिएको छ ।
‘राउको
काँडी’ लोकमन्त्रको शीर्षक
झार फुक गरेर उपचार गरी रोग
निको पार्न लोकजीवनमा प्रयोग गरिने मन्त्र नै लोकमन्त्र हुन् (घोडासैनी,
२०६७,
पृ.
२६) । संस्कृत वाङ्मयमा वैदिक र लौकिक गरी दुई प्रकारका मन्त्र पाइन्छन् । लौकिक
मन्त्रलाई शास्त्रीय र लोकमन्त्रमा पनि विभाजन गर्न सकिन्छ । नेपाली बृहत्
शब्दकोशमा लोकमन्त्रलाई टुन्याहा, बोक्सी,
भूतप्रेत
आदिको लागोका नराम्रो असर शान्त पार्न र सर्प, विच्छी
आदिको विष झार्न झारफुकेले प्रयोग गर्ने शब्द समूह भनेर चिनाइएको पाइन्छ । लोकमन्त्र
गोप्य हुन्छन् । यिनको प्रयोग गर्दा गुरुको आज्ञा, निर्देशन
र सल्लाह लिनु पर्दछ । मन्त्रको गलत प्रयोग वा गोपनीयता भङ्ग भएमा मन्त्रशक्ति
क्षीण भएको मानिन्छ । यिनको उच्चारण गर्दा सुनाइँदैन । शिष्यलाई मात्रै भनिन्छ वा
लेखिन्छ । ‘राउको काँडी’ शीर्षकको मन्त्र भने गायन गरेर व्यक्त गरिन्छ । यसको
उच्चारण गरेर सुनेका आधारमा अनुसन्धानकर्ताले मिति २०७० साल असार महिनाको १६ गतेका
दिन रेकर्ड गरेको थियो । मन्त्रका सम्पादनकर्तालाई आफ्नो उद्देश्य बताएर मन्त्र
भन्न लगाई रेकर्ड गरेर पुनः लिखित रूप दिने काम गरिएको हो । लोकमन्त्रमा देवी
देवताका कसम खुवाएर, बाचा
गराएर, भूत,
प्रेत,
मोहनी,
कपट,
चोखा,
डाइनी,
बोक्सी,
विषालु
प्राणीको टोकाइबाट हुने विष आदि निको पार्न लोकमन्त्रको उपयोग गरिएको देखिन्छ
(घोडासैनी, २०६७,
पृ.
२७) । ज्योतिषी, धामी,
वैद्य
र झारफुके समेतलाई देखाइ सकेँ अझै रोग निको भएन भन्ने जस्ता लोक अभिव्यक्ति
पाइन्छन् । लोकमन्त्रको शोधखोज त्यति भएको पाइँदैन । अझ लोकमन्त्रअन्तर्गत पर्ने
काँडीको त झन कतै अध्ययन भएको पाइँदैन । अछामी जनजीवनमा प्रयोग हुने लोकमन्त्रहरू
उपाध्यायले सङ्कलन गरेका छन् (उपाध्याय, अप्रकाशित
पाण्डुलिपि) । तीनमा पाइने भाषा भने अछामीभन्दा हिन्दीसँग बढी मिल्दो जुल्दो
देखिन्छ । यसको नमुना पनि उल्लेख गरिएको पाइन्छ (घोडासैनी,
२०६७,
पृ.
२७) । हिन्दी साहित्य कोशमा लोकसाहित्यको वर्गीकरणअन्तर्गत मन्त्रको स्थान रहेपनि
अन्य लोकसाहित्यका अध्येताहरूले उल्लेख गरेको पाइँदैन । लोकमन्त्रलाई लोकसंस्कृतिका
सङ्केत तथा व्यवहारका रूपमा व्यक्त हुने अभौतिक सामग्रीअन्तर्गत राखिएको पाइन्छ
(बन्धु, २०५९,
पृ.
१६) । बन्धुले अभौतिक सामग्री भने पनि अछामी जनजीवनमा बैजीले झार्ने मन्त्रहरू अरू
गीतसरह गाएर लयबद्धरूपमा अभिव्यक्ति गर्ने गरिएका हुनाले तिनलाई भौतिक नै
भन्नुपर्ने हुन्छ । ती इहलोकसँग सम्बन्धित रहेका हुनाले पनि अभौतिक भन्न नसकिने
स्थिति देखिन्छ । यसैले लोकमन्त्र अभौतिक होइनन् भौतिक नै हुन् । तिनको सम्बन्ध
परलोकसँग सम्बन्धित नभई इहलोकसँग सम्बन्धित देखिन्छ ।
‘राउको
काँडी’ लोकमन्त्र गाथा प्रकृतिको देखिन्छ । अछामी लोकसाहित्यमा भारत,
चाँचडी
र काँडी गरी तीन प्रकारका गाथाहरू पाइन्छन् । यी तीनका भिन्नता बताउँदै ‘राउको
काँडी’का स्रोत व्यक्ति गोपाल सिंह आहुजी भन्छन्– भारत र चाँचडीका पात्र मरेका
हुन्छन् काँडीका पात्र बाँचेका हुन्छन् । भारत वीरका कथामा आधारित हुन्छन् भने
चाँचडी निरीह वा दुःख पाएका पात्रका कथामा आधारित हुन्छन् । काँडी भने छल कपटबाट
नमरेका र छलको बदला लिने उद्देश्यले लोकजीवनलाई दुःख दिने चरित्रको वर्णनमा आधारित
हुन्छन् । काँडीमा झारफुकेले झारेर नमरेका चरित्रको कथा वर्णन गरिएको हुन्छ । हुन
त यी पनि गाथा प्रकृतिका हुन्छन् तर उद्देश्य, पात्र
र तिनको प्रयोगगत भिन्नताका कारण यिनलाई काँडी भनिन्छ । रोग,
भूत,
प्रेत,
पिशाच
आदि लाग्यो भने स्याउँला वा अम्लिसाको कुचाद्वारा बैजी (झार्ने व्यक्ति) ले
रोगीलाई झाड्दा काँडी प्रयोग गरिन्छ । ‘राउको काँडी’ यस्तै प्रकृतिको लोकमन्त्र हो
।
मन्त्र गोप्य हुने भए पनि
वैदिक मन्त्र सुनाएर पढिए जस्तै ‘राउको काँडी’ लोकमन्त्र लयबद्ध रूपमा गाएर व्यक्त
गरिन्छ । यसलाई झारफुकेले झारफुक गर्दा मन्त्रका रूपमा प्रयोग गरेको पाइन्छ भने
बैजीले झार्दा अरूलाई सुनाएर गाएको पाइन्छ । त्यसैले मन्त्रको रूपमा गोप्य हुने भए
पनि काँडीका रूपमा भने सार्वजनिक गरिएको देखिन्छ । वैदिक मन्त्र पनि झारफुकका रूपमा
प्रयोग गर्दा गोप्य नै हुन्छन् । यसैले काँडीको सम्बन्ध वैदिक मन्त्रसँग रहेको
देखिन्छ । मन्त्र र काँडीमा गोप्यता वा मनमनै भन्ने र सार्वजनिक वा अरूले सुन्ने
गरी गाएर भन्ने जस्ता कुरामा मात्रै भिन्नता देखाउन सकिन्छ । प्रस्तुत ‘राउको
काँडी’ का सम्पादनकर्ताले अगल अलग बसाइमा राउ (खटिरा) झार्ने मन्त्र र ‘राउको
काँडी’ भन्न लगाउँदा एउटै पाठ पढेका छन् । यसैले उपर्युक्त कुराको पुष्टि भएको छ ।
‘‘काँडी’ को अर्थ काण्ड वा श्लोक हो । यसलाई वैदिक मन्त्रका सन्दर्भमा ऋचा भनिन्छ
। ‘राउ’ भनेको बिस, खटिरा
वा मानिसलाई थला पार्ने प्रकृतिको रोग हो । यो राहु ग्रहले सूर्य र चन्दमालाई
ग्रसित गरे जस्तै मानव शरीरलाई ग्रसित गर्ने रोग हो । यसले ग्रसित गर्दा त्यसबाट
रोग उत्पन्न हुन्छ । राउका १२ भाइ हुन्छन् भने यिनले उत्पन्न गर्ने रोगका १८ भाइ
हुन्छन् भन्ने कुरा यसै ‘राउको काँडी’मा व्यक्त गरिएको छ । यस शीर्षकमा ‘राउको
काँडी’ लोकमन्त्रलाई अध्ययनको विषय बनाइएको छ । लोकमन्त्रलाई लोकजीवनमा मन्त्र
मात्रै भनिएको पाइन्छ । यहाँ मन्त्रका प्रकारहरूलाई ख्याल गर्दा लोकजीवनमा
प्रयुक्त हुने मन्त्रलाई ‘राउको काँडी’ लोकमन्त्र नाम दिइएको हो । लोकमन्त्रको
प्रयोग गर्दा छारो, मास,
चामल,
सस्सी,
पानी
पशुलाई रोग लागेको भए घाँस, नुन
आदिलाई लिएर मुखले मन्त्र भन्दै बिच बिचमा उक्त लिइएको वस्तुमा फुफु गरिन्छ भने
झार्नु पनि पर्ने भए सिरु वा अम्लिसाको कुचाले झार्दै मन्त्रिने काम हुन्छ ।
‘राउको काँडी’ लोकमन्त्रले झार्ने र पुक्ने दुबै काम हुन्छ । यसले फुक्दा फुसफुसे
सासमा मन्त्र पढ्ने गरिन्छ भने झार्दा लयबद्ध ढाँचामा गाएर सुनाइन्छ जस कारण वरपरका
मानिसहरूले राम्रोसँग सुन्न सक्छन् । यसरी झार्ने काम गर्ने व्यक्तिलाई ‘बैजी’
भनिन्छ । अछाम जिल्लामा बैजनाथको मन्दिर र यो मन्दिर भएको ठाउँलाई बैजनाथ भनिन्छ ।
यो वैद्यनाथको अपभ्रंश शब्द हो । ‘बैजी’ परम्परा अछाममै विकसित भएको मौलिक परम्परा
हो । यो अछामबाटै अन्यत्र फैलिएको हुनुपर्दछ । यसको सम्बन्ध औषधी र झारफुक दुबैसँग
रहेको देखिन्छ । ‘बैजी’को काम सबैले गर्दैनन्, यो
मन्त्र सिद्ध गरेका व्यक्तिले मात्रै गर्छन् । यो एउटा पेसाका रूपमा पनि अछाम
जिल्लामा विकसित भएको देखिन्छ । ‘बैजी’ले ज्वरो, खटिरा,
औलो,
बिष
र असाध्य रोग निको पार्न दुई, तीन,
पाँच,
सात
दिनसम्म पनि झार्ने काम गर्छन् । लोकमन्त्र अन्तर्गत ‘राउको काँडी’ मन्त्र
अध्ययनको विषय रहेको हुनाले प्रस्तुत अध्ययनमा ‘राउको काँडी’लाई नै शीर्षक मानी
अध्ययन गरिएको छ ।
परिचय
प्रस्तुत शीर्षकमा समेटिएको ‘राउको
काँडी’ लोकमन्त्र अछाम जिल्लाको विनायक गाविस–१ गैरीगाउँका ७५ वर्षीय गोपाल सिंह
आहुजीसँगको अभिव्यक्तिबाट सम्पादन गरिएको हो । उनी स्वयंले यसको निर्माण (रचना)
गरेको नभई आफू जस्तै अघिल्लो पुस्ताको झारफुके र बैजीबाट प्राप्त गरेर
अध्ययनकर्तालाई उपलब्ध गराएका हुन् । यसमा राउ (खटिरा) को प्रकोपबाट जनजीवन त्रस्त
भएपछि आफ्ना मितको सामर्थ्यले राउका ११ भाइ मारेको र बारौँ कान्या डुँडो राउलाई
बाचा बन्धनमा पारेर रोगीलाई राउ (खटिरा) बाट बचाएको कुरा वर्णन गरिएको छ । यो
लोकपरम्परानुसार ‘राउको काँडी’ ले मन्त्रेर वा झारेर राउ (खटिरा) जन्य रोगको
नियन्त्रण गर्न विष मार्ने वा शक्तिका बाचा बन्धनमा पार्ने सामर्थ्य मन्त्रका
प्रयोगकर्तामा रहेको कुरा यसमा मन्त्रमा प्रस्तुत गरिएको छ । राउ (खटिरा) को
प्रकोपले मानिस लगायत कोटका कुकुडा र असुडाका बोट समेतलाई असर परेको छ । सबै
ठाउँको जनजीवन राउले सन्त्रस्त बनाएको छ । राउलाई पन्छ्याउन मानिसहरूले अनेक उपायहरू
गर्छन्, कोही धामी
बसाउँछन्, कोही
ज्योतिषीलाई देखाउँछन् । राउले ग्रसित मानिसहरू आत्तिएर के खाऊँ,
के
लाऊँ, कहाँ जाऊँ,
के
गरौँ हे दैव ! हामीलाई कसरी
सन्चो होला भनी व्याकुल भएर विलौना गरिरहेका छन् । झारफुकेले यी सबैभन्दा भिन्न
आफ्ना मितको सामर्थ्यबाट रोगीलाई सन्चो बनाउने अटोट लिएको छ । यसमा झारफुकेले
रोगीलाई जेले समातेको छस् तँ बाँच्ने भए मेरो अनुकूल हुनु पर्छ,
मैले
जे भन्छु त्यो गर्नु पर्छ नभए मेरा मितको सामर्थ्य यस्तो छ भनी त्यसको वर्णन गर्ने
काम गरिएको छ । रोगीलाई सन्चो बनाउने सामर्थ्य झारफुकेमा नभई काल्यान
कल्लान्याँसँग भएको देखिन्छ । झारफुकेले पूर्व देशका काल्यान कल्लान्याँ निकै
जान्ने सुन्ने छन् तिनलाई बोलाएर सोधेपछि राउबाट मुक्त हुन सकिन्छ भनी ऊसँग मितेरी
र बैसेरी लगाएर आफू कहाँ बोलाएको देखिन्छ । आफ्ना मितलाई दुःखित र सन्तापमा परेको
देखेर काल्यान कल्लान्याँले सोधेपछि झारफुकेले आफ्नो दुःख र सन्तापको कारण यसरी
बताउँछ– राउ गाउँभरि फैलिएका छन्, कसैको
कपालमा, कसैको खुट्टामा,
कसैको
आँखामा पसेर राउले दुख दिएका छन् । मितको कुरा सुनेपछि काल्यान कल्लान्याँले जन्तर
मन्तर गरेर राउसँग मित लगायो अनि मितज्यू अब भोज खाऊँ भनी नदीको किनारमा लगेर १२
भाइ राउलाई बोलाएर भोजको आयोजना गर्यो । जसमा गाने, सेले,
फाले
र फट्टके नामका बिष हालेर भोज गरायो । यो भोज खाएर मितज्यु प्रसन्न हुनु होस्
भन्ने कुराको वर्णन छ । आफ्ना मितले लगाएको विषयुक्त भोज खाएर राउका ११ भाइ मरे ।
काने डुँडो राउ त्यहाँबाट भोजै नखाएर भागेछ । त्यही बचेको काने डुँडो राउले अहिले
गाउँ गाउँमा पसेर सताउने हुनाले झार्ने चलन चलेको प्रसङ्ग वर्णन गरिएको छ । उता
विषाक्त भोज खाएका राउका ११ भाइको मेल र खिराका हलानाले हानी जम्मुका जालमा बाँधी,
फलामका
जन्जिरले खिँचेर मारे । त्यसैले तिमी (रोगीलाई जे रोगले च्यापेको छ) अटेर नगर,
मेरो
भनाइमा लाग र मैले भनेको मान भनी आफ्नो र आफ्ना मितका सामर्थ्यको वर्णन छ । यस्तै
मितको भोज नखाएर भागी बचेको काने डुँडो राउलाई गुरु, एक,
दुई,
पाँच
पाण्डव, सय भाइ कौरव,
देवी,
खड्ग,
हाडे
गडुल आदिका बाचा र बन्धनमा राखेर अबदेखि यो व्यक्तिलाई रोग नलगाएस् भनिएको छ ।
‘राउको
काँडी’ लोकमन्त्रको अभिव्यक्ति गर्दा बैजी र रोगीको अनिवार्य उपस्थिति हुन्छ ।
रोगीका आफन्त, नाता र कुटुम्बहरूको
उपस्थिति ऐच्छिक हुन्छ । रोगीको स्वास्थ्य अवस्थालाई हेरेर उसका आफन्तहरू वा
सहयोगीहरूको उपस्थिति हुने र नहुने कुराको निर्धारण हुन्छ । रोगी र उसका आफन्त तथा
बैजीका बिचमा दोहोरो संवाद मन्त्रमा हुँदैन । एकोहोरो बैजीले मात्रै एकालापीय
अभिव्यक्ति गर्दछ । ‘राउको काँडी’ लोकमन्त्रको आन्तरिक संरचनामा भने ‘तमी,
मितजिउ,
ओ
मेरा बाबइऊ, भाइबिनाऊ’ भनी
सम्बोधन गरिएको र मित वा काल्यान कल्लान्याँमा मन्त्र शक्तिको सामर्थ्य रहे तापनि
उसलाई अप्रत्यक्षमै राखेर बैजी नै सम्पूर्ण काँडीको अभिव्यक्तिकर्ता भएको देखिन्छ
। मन्त्रको बाè संरचनामा भने
संवाद देखिँदैन । बैजीले ‘राउको काँडी’ लयबद्ध रूपमा गाएर सुनाउँछ । यसमा मन्त्रको
गोपनीयता राख्ने उद्देश्य रहेको देखिँदैन । रोगीलाई लागेको रोग र ‘राउको काँडी’मा
व्यक्त भावका बिच कुनै सान्दर्भिकता देखिँदैन । रोगी र उसका आफन्तहरूले बैजी र
उसको मन्त्र शक्तिमाथि विश्वास गरेका हुन्छन् । मन्त्रको गायन सुरु गर्नु कार्यको
आरम्भ हो भने रोगीलाई स्याउँला, सिरु
वा अम्लिसाको कुचोले छार्न छोड्नु कार्यको वा ‘राउको काँडी’ लोकमन्त्रको समापनको
अवस्था हो ।
मूल पाठ
१. कुकुडी कोटका कुकुडा
राखेन
असुडी बोटका असुडा राखेन
के खाउँला भन्ना छन्,
के
लाउँला भन्ना छन्
कोइ
राउ हद्दा छन् धामीको धम्यौलो
कोइ राउ हद्दा छन् जोइसीको
जोइस्यालो
कोइ राउ हद्दा छन् कोटीका
कट्टाल
बार भाइ राउका अठार रोगका
हे !
प्रभु
भन्ना छन् हे दैव भन्ना छन्
हे !
काँ
जाउँ भन्ना छन् क्या हरुँ भन्ना छन्
ओ !!
मेराइऔ
तमी बाँची आइ जाओ
२. पुरब देसका काल्यान
कल्लान्याँ
ती बडाइ जान्या छन् ती बडाइ
सुन्या छन्
तिनुकी बोलाओ तब सोधनी
हरियाल
तब त राउका काल्यान
कल्लान्याँ
तब त्याइँ ल्याया छन्
मित्यारी राख्या छन्
बैस्यारी राख्या छन् ओ !
मेरा
भाइबिनाऊ
३. तमुकी के दुःख के सन्ताप
पड्यो छ ?
केइ पन छैन प ओ !
मेरा
भाइबिनाऊ
४. तब भन्न लाग्या छन् तब
बोल्लँ लाग्या छन्
बार भाइ राउका अठारै रोगका
गाउँभरि फिँजिइ कोइ राउ
बस्ता छन्
कप्पालइ पस्ता छन् कोइ राउ
पड्डा छन्
गोडाउना पस्ता छन् कप्पालइ
चड्कन्या
हात गोडाइ खाइन्या आँखाउला
पस्ता छन्
तब त काल्यान कल्लान्याँ आया
र
तिनुकी मन्तर्या तिनुकी
जन्तर्या
ओ !
मेराइ
मितजिउ म अब भोज चलाऊँ
तमी त्यो खाइहेल्या भन्यो र
नदीको
किनारै तिनुल भोजओ लाया छन्
हे !
गान्या
बिख सेल्या बिख
फाल्या बिख फट्टक्या बिख
त्यो पन हाल्या छन् तब भोज
हराया
ओ !
मेरा
बाबइऔ तमी दाइना होइ जाया
परसन्न होइ जाया तब भन्न
लाग्या छन्
५. बार भाइ राउका अठारै
रोगका
त्यो भोज ह¥या
छन् अड्कनै लाइ गया
फड्कनै लाइ गया औ तेर्छा
पड्या छन्
त्यो डुँडो राउल त्यो कान्या
राउल
म भोज खानइन भन्यो र छुट्यो
छ
त्याइबाट बाँच्यो छ त्यो
कान्या डुँडो राउ
अइका जुगमा गाउँ गाउँमा
पस्यो छ
तब झाड्न्या चलन त्यो पनि भइ
गयो
६. बार भाइ राउका अठारै
रोगका
त्याँ नाठी हर्या छन्
अपुताली हर्या छन्
मेलका हलाना ती पन हाल्या
छन्
खिराका हलाना ती पन हाल्या
छन्
जम्मुका जालमा ती पन हाल्या
छन्
लवाका खन्जिर खैंचेर मा¥या
छन्
हे !
मेरा
बाबइऔ तमी दाइना होइ जाया
७. तब धेकि गुरुका बाचामा
राख्या छन्
एकाली बाचा छन् दवाली बाचा
छन्
पाँचैन पान्डबका सय भाइ
कउँरका
इ बाचा रैजाया फिरि फर्कि आओ
त
तमुकी देवीका बन्धन पडिजा खप्पर
हारितो मारुँला कसेर खड्गमा
फिरि फर्की नआया बाचा बन्धन
राखेर
हाड्या गडुलका बाचा ।इति ।
सार सङ्क्षेप
यस
मूल पाठमा सम्पादन गरिएको ‘राउको काँडी’ लोकमन्त्रमा सात अनुच्छेद छन् । यस
काँडीमा राउको प्रकोपबाट सन्त्रस्त जनजीवनको प्रसङ्गलाई उठान गरी झारफुकेको मित
काल्यान कल्लान्याँको शक्ति र सामर्थ्य तथा झारफुकेले प्राप्त गरेको मानव,
मावतेर
तथा दैवी शक्तिका बाचा र बन्धामा पारेर रोग निको पार्ने गरेका प्रसङ्गलाई सम्पूर्ण
मन्त्रले आत्मसात् गरेको छ । यसको पहिलो अनुच्छेदमा राउको प्रकोपबाट त्रस्त
जनजीवनको वर्णन गरिएको छ । राउलाई पन्छ्याउन मानिसहरू अनेक उपाहरूको खोजी गर्छन् ।
कोही धामी बसाउँछन्, कोही
ज्योतिषीलाई देखाउँछन् । के लाऊँ, के
खाऊँ, कहाँ जाऊँ,
के
गरौँ, हे दैव !
मेरा
आफन्त (रोगी)लाई कसरी राउबाट मुक्त गराउने होला भनेर राउको प्रकोपबाट उत्पन्न
समस्याको वर्णन गरिएको छ । दोस्रो अनुच्छेद झारफुके र काल्यान कल्लान्याँका बिचको
अन्तर्संवादका रूपमा आएको छ । यसमा झारफुकेले काल्यान कल्लान्याँसँग मितेरी र
बैसेरी लगाई उनलाई आफू कहाँ बोलाएर ल्याएका प्रसङ्गको वर्णन गरिएको छ । तेस्रो
अनुच्छेदमा दुई मितका बिचको भला कुसारी र समस्याका बारेमा सोधनी गरिएको छ । चौथो
परिच्छेदमा झारफुकेले आफ्ना मितलाई राउको ज्यादती र यसबाट मुक्त हुने उपायहरू गर्न
अनुरोध गरेको छ । राउका १२ भाइ छन्, रोगका
अठार भाइ छन् । यी राउ गाउँभरि फैलिएका छन्, कसैको
कपालमा, कसैको खुट्टामा,
कसैको
आँखामा पसेर राउले दुःख दिएको छ । तपाईँले जन्तर मन्तर गरेर हे मेरा मितज्यु!
यो
राउलाई भगाइ रोगीलाई निको पारि दिनु होस् भनी अनुरोध गरेको छ भने काल्यान
कल्लान्याँले नदीको किनारमा १२ भाइ राउलाई बोलाएर भोजको आयोजना गर्यो । जसमा गाने,
सेले,
फाले
र फट्टके नामका विष हालेर भोज गरायो । यो भोज खाएर तपाईं खुसी हुनु होस् भनी
अनुरोध गरेका कुराको वर्णन गरिएको पाइन्छ । पाँचौँ अनुच्छेदमा काल्यान
कल्लान्याँले लगाएको विषाक्त भोज खाएर राउका ११ भाइ बेहोस भए काने डुँडो राउ
त्यहाँबाट भागेर बँच्यो । त्यसले अहिले गाउँ गाउँमा पसेर सताउने हुनाले झार्ने चलन
चलेको कुरा वर्णन गरिएको छ । छैटौँ अनुच्छेदमा विषाक्त भोज खाएर बेहोस भएका ११ भाइ
राउको नाठी, अपुताली गरे । तिनलाई
मेल र खिराका हलाना, जम्मुका
जालमा र फलामका साङ्लाले बाँधी तानेर मारे । त्यसैले हे रोग अटेर नगर मेरो भनाइमा
लाग । मेरा मितको सामर्थ्यले तिम्रो पनि राउको जस्तै अवस्था होला भनी सचेत गराउने
काम गरिएको छ । सातौँ अनुच्छेदमा झारफुकेले आफ्ना मितको भोजबाट भागेको काने डुँडो
राउलाई गुरु, एक दुई सङ्ख्या,
पाँच
पाण्डव, सय भाइ कौरव,
देवी,
खड्ग,
हाडे
गडुल आदिका बाचा र बन्धनमा राखेर अबदेखि यो रोगी व्यक्तिलाई रोग नलगाएस् भनी
मन्त्रको समापन गरिएको छ । ‘राउको काँडी’ लोकमन्त्रको अभिव्यक्तिबाट राउ (खटिरा)को
रोगीले राउको उपचार भएको अनुभूति र मन्त्रप्रतिको विश्वासको भावना तथा कहिले काहीँ
खटिरामाथि झार्ने कार्यले पीडामा केही कमी भएको अनुभूति हुन्छ । रोगीका आफन्तहरू
पनि बैजीको मन्त्र शक्तिको सामर्थ्यसँग परिचित हुन्छन् वा उनीहरूलाई बैजीको झारफुक
गर्ने व्यवहारमाथि अन्धविश्वास हुन्छ । यस्तो परम्परा पालनका रूपमा पनि हुन्छ ।
परम्परादेखि बैजीको झार्ने कार्यप्रति विश्वास गरिँदै आएकोले अविश्वासको प्रसङ्ग
आउँदैन । त्यसैले रोगीका आफन्तहरूले पनि रोगीलाई प्रोत्साहित गर्छन् । यसरी
खटिराका प्रत्येक रोगीलाई निको पार्ने उद्देश्यले बैजीहरूले लोकजीवनमा ‘राउको
काँडी’ नामक लोकमन्त्रको अभिव्यक्ति गर्ने हुनाले लोकजीवनमा यसको महत्त्वपूर्ण
स्थान रहेको पाउन सकिन्छ ।
भाषिक
विशेषता
प्रस्तुत
‘राउको काँडी’ लोकमन्त्रको विषयवस्तुलाई ख्याल गर्दा सात अनुच्छेदमा विभाजन गर्न
सकिने देखिन्छ । यसका केही पङ्क्तिहरूमा अन्त्यानुप्रास र अन्तर अनुप्रासको आयोजना
गरिएको पाइन्छ । यसको पहिलो अनुच्छेदमा राउको प्रकोपले मानव जीवनमा हाहाकार
मच्चिएको त्रासद् अवस्थाको वर्णन गरिएको छ । दोस्रो, तेस्रो
र चौथोमा झारफुके वा बैजी र काल्यान कल्लान्याँका बिचको सूक्ष्म प्रश्नोत्तर
शैलीले अन्तर संवाद भएको देखिन्छ । बाँकी अनुच्छेदहरू झारफुके वा बैजीले आफ्ना मित
काल्यान कल्लान्याँको शक्ति र सामर्थ्यका कारण ११ भाइ राउको मृत्यु र काने डुँडो
राउलाई बाचा बन्धनमा पारेका घटनाको वर्णनका रूपमा आएका छन् । सबै अनुच्छेदका
प्रत्येक पङ्क्तिमा समान लम्बाइ छैनन् तर तिनको उच्चारणमा बैजीले गेय शैलीमा
अभिव्यक्ति गरेको पाइएको छ । यसमा ‘बार भाइ राउका अठारै रोगका’ पहिलो,
चौथो,
पाँचौँ
र छैटौँ अनुच्छेदमा गरी चार पटक दोहोरिएको छ । यस हिसाबले यो पङ्क्ति प्रस्तुत ‘राउको
काँडी’मा स्थायी र अरू पङ्क्तिहरू अन्तराका रूपमा आएका देखिन्छन् । बैजीले झाड्दा
गेय हुने हुनाले यसमा गीति शैलीको मिश्रण भएको पाउन सकिन्छ । यसमा अछामी भाषाको
प्रयोग गरिएको छ । अरू लोकमन्त्र, पडेली,
धरम्पबाडो,
मृत्यु
गीतभन्दा बैजीले गाएर झार्ने हुनाले ‘राउको काँडी’मा त्यति धेरै पुरानो भाषा
पाइँदैन, परिष्कृत र
वर्तमान अवस्थामा प्रयोग हुने भाषाकै प्रयोग भएको पाइन्छ । यसमा प्रयोग भएको भाषा नेपालीभन्दा
भिन्न छ । यसमा कुकुडी (कुखुराको पोथी), कुकुडा
(कुखुराको भाले), असुडा
(असुरा), भन्ना (भन्दा),
कोइ
(कोही), राउ (खटिरा),
हद्दा
(गर्दा), धम्यौलो
(झाँक्री बसाउने काम), जोइसी
(ज्योतिषी), जोइस्यालो
(ज्योतिषीलाई हेराउने काम), कहरी
(कसरी), काल्यान कल्लान्याँ
(काल्यान कल्लाने नामको व्यक्ति), तिनुकी
(तिनलाई), हरियाल (गरिहाल),
त्याइँ
(त्याहाँबाट), भाइबिनाऊ (भाइ
बहिनीहरू हो), तमुकी
(तपाईँलाई), केइ (केही),
पन
(पनि), फिँजिया (फैलिए),
पड्डा
छन् (पर्छन्), चड्कन्या
(दुख्ने), खाइन्या (दुःने),
मन्त¥या
(मन्त्र गरे), जन्त¥या
(जन्त्र गरे), भोजओ (भोज पनि),
गान्या
(गाने), सेल्या (सेले),
फट्टक्या
(उफ्रिने), हराया (गराए),
दाइना
(अनुकूल), होइ जाया (भए),
अड्कनै
(भैंसी जस्तै कराउने काम), डुँणो
(डुँडो), खानैन (खाँदैन),
नाठी
(निसन्तान), हलाना (हलो),
लवा
(फलाम), खन्जिर (जन्जिर वा
साङ्ला), खैँचेर (खिँचेर),
धेकि
(देखि), पाँचैन (पाँच
ओटै), कउँर (कौरव),
रै
जाया (बसे), फिरि (फेरि),
पडिजा
(परेस्), जस्ता शब्दहरूले
अछामी भाषाको प्रतिनिधित्व गरेको देखिन्छ । यसमा राउको प्रकोपबाट रोगी कतै मर्छ कि
भन्ने आशंका गरी पहिलो अनुच्छेदमा ‘ओ !!
मेराइऔ
तमी बाँची आइ जाओ’ भनिएको छ भने दोस्रो अनुच्छेदमा झारफुके वा बैजीले आफ्ना मितलाई
‘ओ! मेरा भाइ बिनाऊ
तमी दाइना होइ जाया’ भनी रोगीलाई लागेको रोगलाई फकाउने काम गरेको छ । यसरी
सन्त्रस्त जनमानसको वर्णन बैजीको मित काल्यान कल्लान्याँको सामर्थ्य र उसले लगाएको
भोज खाएर ११ भाइ राउलाई मारेको तथा त्यो भोज नखाएर उम्केको राउलाई बाचा बन्धनमा
पारेको कुरा बताइएको छ । बाचा बन्धन गराउँदा मानव, मानवेतर
र दैवी शक्तिलाई अघि सारिएको छ । सर्व प्रथम गुरु, पाँच
पाण्डव, सय भाइ कौरव
जस्ता मानवीय प्रकृतिका शक्ति अघि सारिएका छन् । एक दुई सङ्ख्या र हाडे गडुल
मानवेतर प्रकृतिका शक्ति हुन् । देवीलाई दैवी शक्तिका रूपमा उभ्याइएको छ । यिनका
बाचामा नरहे ‘देवीका बन्धन पडिजा खप्पर’ भनी सराप दिइएको छ । त्यसपछि पनि फर्केर
आएस् भने ‘हारितो मारुँला कसेर खड्गमा’ भनी धम्की दिइएको छ । यसरी बाचा बन्धन,
सराप,
धम्कीबाट
राउलाई भगाउने काम यसमा गरिएको छ । यसमा बैजीले माफूमा नभएको शक्ति आफ्ना मित तथा
अन्य मानव, मानवेतर र दैवी
शक्तिबाट लिएको छ भने त्यसबाट पनि रोग नहटेमा सराप र धम्कीबाट रोग निको पार्ने
उद्देश्य राखेको छ । यसबाट बैजीले मित्रता, पूजा,
भरोसा
र विश्वास गरेर आफूमा नभएको शक्ति हासिल गरेर राउसँग जुधि रहेको कुरा यो ‘राउको
काँडी’ लोकमन्त्रको पाठले पुष्टि गरेको छ ।
बैजीले
झार्दा प्रयोग गर्ने ‘राउको काँडी’ लोकमन्त्र गेय शैलीमा व्यक्त हुने हुँदा यसमा
व्यक्त विषयवस्तु गोप्य नभई सार्वजनिक हुन्छ । स्वयम् बैजीले वा उसँग शिक्षा लिएका
व्यक्तिले प्रयोग गर्दा मात्रै त्यसको भेद लाग्ने हुँदा सुनेकै आधारमा जो कसैले ‘राउको
काँडी’को प्रयोग गर्दैनन् । बैजीले प्रयोग गर्ने ‘काँडीहरू’ पनि उसको अनुमति बिना
प्रतिफल दिँदैनन् । मन्त्रले भन्दा बढी मन्त्रप्रतिको आत्मविश्वासले रोगको निदान
हुन्छ भन्ने कुरा ‘राउको काँडी’ लोकमन्त्रको अध्ययनबाट बुझिन्छ । ‘राउको काँडी’ लोकमन्त्रमा
प्रयोग हुने विषयवस्तु जे जस्तो भए तापनि त्यसको प्रयोग गर्ने बैजी वा झारफुके र
मन्त्र शक्तिप्रति विश्वास गरेर रोग निदानमा त्यसको प्रयोग हुने जस्ता व्यवहार,
चलन
मान्यतालाई यसले खुलासा गरेको छ । यसले नेपाली समाजमा आधुनिक स्वास्थ्योपचारको
पहुँच भए तापनि बैजीले गर्ने झारफुकप्रतिको विश्वास अझै कामय रहेको छ भन्नेतर्फ
सङ्केत गरेको छ ।
सारांश
‘राउको
काँडी’ लोकमन्त्रको सम्पादनमूलक अध्ययन गर्दा यसको शीर्षक,
परिचय,
मूलपाठ,
सारसङ्क्षेप
र भाषिक विशेषताहरू के कस्ता रहे छन् भन्ने कुरा स्पष्ट भएको छ । लोकसाहित्यका
विधा, तिनको प्रकृति र
स्वरूपअनुसार कुनै शब्दलाई चयन गरेर शीर्षक राख्ने गरिएको पाइन्छ । यो ‘राउको
काँडी’ लोकमन्त्र राउ (खटिरा) को निदानमा प्रयोग गरिने भएकोले यसैलाई शीर्षकका रूपमा
चयन गरिएको छ । सबै प्रकृतिका काँडीमा एउटै विषयवस्तु हुँदैन । काँडीको ढाँचागत एक
रूपता भने अवश्य हुन्छ । लोकमन्त्रमा जस्तै काँडीमा पनि बाचा बन्धन गर्ने कार्य
भने रहेकै हुन्छ तर आकार प्रकार एउटै हुँदैन । बैजीले एक,
दुई,
तीन,
पाँच
र सात दिनसम्म झार्न सक्ने हुँदा सम्पादनकर्ताको स्मरण क्षमता र सिर्जनशीलताले
काँडीको आकार प्रकार घटबढ हुन सक्ने देखिन्छ । कुनै बैजीले उही कुरा दोहोर्याउने,
कुनैले
नयाँ काँडी गाँसेर भन्ने गर्न सक्छन् । यस्तो नहुने भए काँडीको भाषा पुरानो मात्रै
हुनु पर्ने हो नयाँ भाषामा पनि काँडी पाइने हुनाले सिर्जनशीलताले प्रभावित पारेको
स्विकार्नुपर्ने देखिन्छ । काँडीको अभिव्यक्ति गेय रूपमा गरिने हुँदा यसको भाषाले
श्रोतालाई पनि प्रभावित पारेर रोगीलाई एकोहोरिन मद्दत गर्छ । यसबाट बैजीको झार्ने
कार्य, मन्त्रप्रतिको
विश्वास काँडीको लयबद्ध प्रस्तुतिबाट रोगको निदान हुने गरेको कुरा प्रस्तुत
काँडीका सम्पादनकर्ताको स्वीकारोक्ति रहेको पाइएको छ । यसबाट बैजीले प्रयोग गर्ने
काँडीका शब्दले बाह्य र
आन्तरिकरूपमा मानसिक सन्तुष्टि दिनुका साथै झार्ने कार्यको असरबाट रोगीलाई
प्रभावित पारेको मान्न सकिन्छ । यसरी सम्पादन सिद्धान्तको प्रयोग गरेर पनि ‘राउको
काँडी’ लोकमन्त्रको विश्लेषण गर्न सकिने देखिन्छ ।
सन्दर्भ
सामग्रीसूची
घोडासैनी,
खगेन्द्र
(२०६७). अछामी गालीको अध्ययन. श्रीमती मिना घोडासैनी ।
घोडासैनी,
खगेन्द्र
(२०६७). ‘पडेली’ गीतको सम्पादनमूलक अध्ययन, बबई
स्मारिका, १/१,
बबई
बहुमुखी क्याम्पस, मुखपत्र
।
त्रिपाठी,
वासुदेव
र अन्य (२०५५). (सम्पा.) बृहत् नेपाली शब्दकोश (चौ.सं.).
नेपाल
प्रज्ञा प्रतिष्ठान ।
बन्धु,
चूडामणि
(२०५८). नेपाली लोकसाहित्य. एकता बुक्स ।
बन्धु,
चूडामणि
(२०५९). क्षेत्रकार्य र सम्पदान सिद्धान्त, नेपाली
संस्कृति, सांस्कृतिक
संस्थान, विशेषाङ्क ।
बन्धु,
चूडामणि
(२०६५). अनुसन्धान तथा प्रतिवेदन लेखन. एकता बुक्स ।
शर्मा,
वीरेन्द्र
र अन्य (२०२०). (सम्पा.). हिन्दी साहित्य कोश, (भाग
१). ज्ञान मण्डल लिमिटेड ।
(साभार: घोडासैनी, खगेन्द्र (सन् २०१५). राउको काँडी’ लोकमन्त्रको सम्पादनमूलक अध्ययन, रिसर्च हाइलाइटस्, २/४, अक्टोभर–डिसेम्बर, (पृ.२१३–२२०) मा प्रकाशित )
