'हवाइ’
लोकमन्त्रको सम्पादनमूलक अध्ययन
डा. खगेन्द्र
घोडासैनी
उपप्राध्यापक :
नेपाली विभाग
नेसंवि,जनता
विद्यापीठ, बिजौरी,
दाङ
kghodasaini2017@gmail.com
सारसङ्क्षेप
प्रस्तुत लेख ‘हवाइ
लोकमन्त्रको सम्पादन सिद्धान्तका आधारमा अध्ययन गर्ने’ उद्देश्य र यो कसरी सम्पादन
गरिएको हुन्छ’ भन्ने प्रमुख समस्यालाई लिएर तयार पारिएको हो । गुणात्मक ढाँचामा
संरचित यस लेखमा सोद्देश्यमूलक नमुना छनोट विधि र अवलोकन तथा सोधनी गरेर तथ्याङ्क
सङ्कलन गरिएको छ । यस अध्ययनमा सैद्धान्तिक आधार सम्पादन सिद्धान्तलाई बनाइएको छ ।
सुदूरपश्चिम प्रदेशको अछाम जिल्लाबाट सङ्कलन गरिएको यस अध्ययनमा बैज्यालो प्रथाका
रूपमा ‘हवाइ’ लोकमन्त्र, यसको
शीर्षक, परिचय,
मूलपाठ,
सारसङ्क्षेप
र यसका भाषिका विशेषताहरू स्पष्ट पारिएको छ । ‘हवाइ’ लोकमन्त्र हावा वा वायुजन्य
समस्याबाट उत्पन्न रोगको उपचारमा प्रयोग गरिने र झारफुकमा पनि हावाको प्रयोग हुने
भएकाले यसलाई ‘हवाइ’ लोकमन्त्र भनिएको देखिन्छ । यो लोकमन्त्र अछाम जिल्लाको तोली
गाविस, वडा नं.१ का ४२
वर्षीय दल कँडारोको अभिव्यक्तिबाट सम्पादन गरिएको हो । यसमा हावा लागेर रोगीको
शरीरलाई परेको असर वा विष मार्ने र त्यसलाई शक्तिका बाचा बन्धनमा पारेर नियन्त्रण
गर्ने कुराको वर्णन गरिएको छ । यस मन्त्रमा प्रसङ्गको उठान गरी कालेका बाबुको
शक्ति र सामर्थ्य, शक्ति
वा सामर्थ्यका प्रेरक स्रोतहरू, मानव,
मानवेर
तथा दैवीशक्तिका बाचा र बन्धनमा पारेर रोग निको पार्ने गरेका प्रसङ्गलाई सम्पूर्ण
मन्त्रले आत्मसात् गरेको छ । लोकमन्त्रको अभिव्यक्तिबाट रोगीलाई रोग लागेकामा
उपचार भएको अनुभूति र मन्त्रप्रतिको विश्वासको भावनाले काम गर्न थालेपछि पीडाको
अनुभूति केही कम भएको महसुस हुन्छ । रोगीका आफन्तहरू पनि झारफुकेको मन्त्र शक्तिको
सामर्थ्यसँग परिचित हुन्छन् वा उनीहरूलाई मन्त्र शक्तिमाथि अन्धविश्वास हुन्छ र
रोगीको हौसला बढ्छ । यसरी हवाइ लोकन्त्रको प्रयोगबाट मनोवैज्ञानिक उपचार हुन्छ र
यसबाट रोगी रोगमुक्त हुन्छ भन्ने निष्कर्ष निकालिएको छ ।
शब्दकुञ्जी
: झारफुक, गोप्य,
बिख,
मन्त्र,
बोक्सी
।
विषयपरिचय
लोकसाहित्य लोकजीवनको
अभिव्यक्ति हो । नेपाली लोकसाहित्यमा लोकजीवनका मौलिक बान्कीहरू फेला परेका छन्
जसको अध्ययन र अनुसन्धान हुन बाँकी छ । नेपाली लोककविता,
लोकगीत,
बालगीत,
लोककथा,
लोकोक्ति,
लोकनाटक,
भारत,
लोकोक्ति,
गाली,
गाउँखाने
कथा, उखान र टुक्का
तथा लोकमन्त्र जस्ता विधाहरूले नेपाली जनजीवन र मानवीय मनका भावनाहरू समेटेका छन्
(बन्धु, २०५८,
पृ.३२)
। लोकमन्त्रका पनि ठाउँअनुसार अनेक भेद एवम् उपभेदहरू पाइन्छन् । प्रमुखरूपमा
वैदिकमन्त्र र लोकमन्त्र भए पनि लोकमन्त्रको अध्ययन र अनुसन्धान न्यून मात्रामा
भएको देखिन्छ । केही नेपाली लोकमन्त्रको अध्ययन घोडासैनीले गरेका छन् । उनका
अध्ययनहरू (२०७०), (सन्
२०१५) र (२०७७) हुन् । मन्त्रहरू वैदिक, पौराणिक
र तान्त्रिक गरी तीन प्रकारका पाइन्छन् । मन्त्र भूतप्रेत,
बोक्सी
र सर्प, बिच्छी आदिको
बिस झार्न प्रयोग गरिने वचन हुन् । “धामीझाँक्री
र
झारफुकेले
प्रयोग
गर्ने
लागोभागो हटाउन पढिने वचन पनि मन्त्र हुन् । लोकजीवनमा प्रचलित वा अप्रचलित
मन्त्रहरू यति नै छन् भनेर किटान गर्न सकिँदैन”
(न्यौपाने, २०७६,
मंसिर
१) झारफुक गरेर उपचार गरी रोग निको पार्न लोकजीवनमा प्रयोग गरिने मन्त्र नै
लोकमन्त्र हुन् (घोडासैनी, २०७७,
पृ.२६)
। संस्कृत वाङ्मयमा वैदिक र लौकिक गरी दुई प्रकारका मन्त्र पाइन्छन् । लौकिक
मन्त्रलाई शास्त्रीय र लोकमन्त्रमा पनि विभाजन गर्न सकिन्छ । नेपाली बृहत्
शब्दकोशमा लोकमन्त्रलाई “टुन्याहा,
बोक्सी,
भूतप्रेत
आदिको लागोका नराम्रो असर शान्त पार्न र सर्प, विच्छी
आदिको विष झार्न झारफुकेले प्रयोग गर्ने शब्द समूह”
भनेर
चिनाइएको
पाइन्छ
।
‘गुप्तभाषणे’
अर्थ
भएको
‘मत्रि’
धातुमा
’घञ्’
प्रत्यय
लागेर
मन्त्र
शब्दको
निर्माण
हुन्छ
।
त्यसैले
लोकमन्त्र
गोप्य
हुन्छन्
।
संस्कृत–नेपाली–अङ्ग्रेजी–हिन्दी
शब्दकोशअनुसार
मन्त्रका
मुख्य
आठ
ओटा
अर्थ हुन्छन्, जस्तै “१.
गुप्त
राख्न
योग्य
कुरा
वा
गुप्त
सल्लाह,
२.
चटक, जादु,
३.
स्तुति वा प्रार्थना, ४.
जुन कुराको चिन्ता गर्दा विश्वको विशेष ज्ञान र सांसारिक बन्धनबाट छुटकारा वा
रक्षा हुन जान्छ, त्यस्तो
सिद्धि दिने कुरालाई मन्त्र भनिन्छ, ६.
वेदको त्यो भाग जुन ब्राह्मण भागदेखि भिन्न छ, ७.
त्यो शब्द वा वाक्य जसको प्रयोग कुनै कुराको सिद्धि वा देवता,
पितृ,
भूत,
प्रेत
आदिलाई प्रसन्न पार्न प्रयोग गरिन्छ, ८.
त्यस्तो शब्द वा वाक्य जसको प्रयोगबाट भूत विष आदिको प्रभाव हट्न जान्छ”
।
त्यस्तै
यस
कोशका
अनुसार
‘वेद,
स्मृति,
तन्त्र,
पुराण,
सिद्ध
पुरुषको वाक्य आदिबाट उत्पन्न भएको हुन्छ जसमध्ये निरुक्तअनुसार वैदिक मन्त्रका
तीन भेद छन्– परोक्षकृत, प्रत्यक्षकृत
र आध्यातिमक । नारदपञ्चरात्रको सातौँ अध्यायमा मन्त्रका तीन भेद यसरी बताइएका छन्–
अन्तमा ‘हुं फट्’ लाग्ने पुंमन्त्र, ‘फट्स्वाहा’
लाग्ने स्त्री मन्त्र र ‘हुँ नमः’ लाग्ने नपुंसक मन्त्र हुन्छ । न्यौपाने (२०७६)
ले लोकजीवनमा पाइने मन्त्रलाई गोरखनाथको मन्त्र र बोक्सी फुक्ने मन्त्र गरी दुई
प्रकारमा विभाजन गरेका छन् ।
मन्त्र जे जस्ता भए पनि
यिनको प्रयोग गर्दा गुरुको आज्ञा, निर्देशन
र सल्लाह लिनुपर्दछ । गुरुको शिक्षाविना मन्त्रको सही उच्चारण हुन सक्दैन
(श्रीमाली, – पृ.२२) ।
मन्त्रको गलत प्रयोग वा गोपनीयता भङ्ग भएमा मन्त्रशक्ति क्षीण भएको मानिन्छ ।
यिनको उच्चारण गर्दा सुनाइँदैन । शिष्यलाई मात्रै भनिन्छ वा लेखिन्छ । हिन्दी
साहित्य कोशमा लोकसाहित्यको वर्गीकरणअन्तर्गत मन्त्रको स्थान रहे पनि अन्य
लोकसाहित्यका अध्येताहरूले उल्लेख गरेको पाइँदैन । लोकमन्त्रलाई लोक संस्कृतिका
सङ्केत तथा व्यवहारका रूपमा व्यक्त हुने अभौतिक सामग्रीअन्तर्गत राखिएको पाइन्छ (बन्धु,
२०५९,
पृ.१६)
तर यो अभौतिक सामग्री वैदिक मन्त्र वा गुरु मन्त्रमा मात्रै हुनसक्ने देखिन्छ ।
अछामी जनजीवनमा बैजीले झार्ने मन्त्रहरू अरू गीतसरह गाएर लयबद्धरूपमा अभिव्यक्ति
गर्ने गरिएको हुनाले तिनलाई भौतिक नै भन्नुपर्ने हुन्छ । ती इहलोकसँग सम्बन्धित
रहेका हुनाले तिनलाई आध्यात्मिक सन्दर्भसँग जोडेर पनि अभौतिक भन्न नसकिने देखिन्छ
। यसैले लोकमन्त्र अभौतिक होइनन् भौतिक नै हुन् । यिनै लोकमन्त्रहरूमध्ये ‘हवाइ’
लोकमन्त्रको लोकजीवनमा कसरी प्रयोग हुने गरेको छ भन्ने कुराको खोजी गरी सम्पादन
सिद्धान्तका आधारमा अध्ययन गर्ने उद्देश्य यस लेखमा राखिएको छ । त्यसैले यस लेखको
प्रमुख उद्देश्य ‘हवाइ’ लोकमन्त्रको सम्पादन सिद्धान्तका आधारमा अध्ययन गर्नु’
रहेको छ । यस उद्देश्यको परिपूर्तिका लागि ‘हवाइ’ कस्तो मन्त्र हो ?
यो
कुन रोगको निवारण गर्दा प्रयोग हुन्छ ? यसको
गायन हुँदाको अवस्था वा परिवेश कस्तो हुन्छ ? ‘हवाइ’
लोकमन्त्र पढ्नुको प्रमुख उद्देश्य के हो ? ‘हवाइ’
लोकमन्त्र कसरी सम्पादन हुन्छ र यसको रचनाकार को हुन्छ ?
यो
लोकमन्त्र कुन ठाउँमा प्रयोग हुन्छ ? यसले
त्यहाँको भाषिक, सामाजिक र
उपचारप्रणालीमा के कस्तो भूमिका निर्वाह गरेको छ भन्ने जस्ता मूलभूत समस्यालाई
आधार बनाएर प्रस्तुत लेख तयार पारिएको हो । त्यसैले ‘हवाइ’ लोकमन्त्र कसरी सम्पादन
गरिएको हुन्छ’ भन्ने कुरालाई प्रमुख समस्या मानी प्रस्तुत लेख तयार पारिएको छ ।
अध्ययन विधि
यो अध्ययन क्षेत्रीय विधिमा
आधारित छ । यसमा प्रस्तुत गरिएका तथ्यहरू आफ्नै अन्तरदृष्टिले सङ्कलन गरिएका
हुनाले यो गुणात्मक ढाँचाको अध्ययन हो । नेपाली लोकसाहित्यका विभिन्न विधा छन् ।
त्यस्ता विधाहरू क्षेत्र र ठाउँअनुसार भिन्नभिन्न देखिन्छन् । नेपालमा
लोकसाहित्यका विभिन्न विधा र तिनका भेदहरू भए झैँ लोकमन्त्रका पनि विभिन्न भेदहरू
छन् । ती सबै भेदलाई प्रस्तुत अध्ययनमा जनसङ्ख्या मानी सोद्देश्यमूलक नमुना
छनोटपद्धतिका आधारमा अछाम जिल्लामा पाइने ‘हवाइ’ लोकमन्त्र चयन गरिएको छ । ‘हवाइ’
लोकमन्त्र र सम्पादन सिद्धान्तसँग सम्बन्धित तथ्य प्राप्त गर्न सूक्ष्म अवलोकन र
कृतिमा आधारित तथ्य सङ्कलन गरिएको छ । यस अध्ययनमा प्राथमिक स्रोतका रूपमा
लोकमन्त्रको प्रयोग क्षेत्रका सम्पादनकर्तासँग सोधनी तथा अवलोकन विधिको उपयोग
गरिएको छ । द्वितीय स्रोतका लागि विभिन्न प्रकाशित पुस्तक र लेखको उपयोग गरिएको छ
। त्यसैले यसमा सोधनी, अवलोकन
र दस्तावेजमा प्राप्त तथ्यको विश्लेषण गरी निष्कर्ष निकाल्ने प्रयास गरिएको छ ।
यसमा प्राप्त ‘हवाइ’ लोकमन्त्रको पाठलाई मुख्य तथ्य मानिएको छ । सम्पादन
सिद्धान्तका आधारमा यसको वर्णन, तुलना
र त्यसको पुष्टिका लागि उदाहरण दिई विश्लेषण गरेर निष्कर्षमा पुग्ने काम गरिएको छ
। सोधनी, अवलोकन र
उदाहरणबाट निष्कर्ष निकाल्ने प्रयास गरिएको यस लेखको निष्कर्ष आगमन विधिमा आधारित
छ ।
सैद्धान्तिक
अवधारणा
लोकसाहित्यलाई पाठका रूपमा
होइन सन्दर्भका रूपमा हेर्नुपर्दछ भन्ने मान्यता सम्पादन सिद्धान्तको रहेको पाइन्छ
। लोकसाहित्यको सम्पादनमूलक अधययनमा प्रासङ्गिक कुराहरू बढी मात्रामा सङ्कलन गरी
तिनको प्रसङ्ग केन्द्रित अध्ययनमा जोड दिइन्छ । “लोकसाहित्यको
अध्ययनमा
सम्पादन
सिद्धान्तको
विकासले
गर्दा
यसका
विधालाई
तिनका
प्रयोक्ताहरूका
बिचमा
राखेर
प्रसङ्गमा
हेर्ने
चलन
चलेको
पाइन्छ”
(बन्धु, २०५९,
पृ.१७)
। सम्पादन सिद्धान्तको पुरानो पृष्ठभूमि रहे तापनि यसको नामकरण सन् १९७० को दशकमा
भएको हो । सम्पादन सिद्धान्तअन्तर्गत सन्दर्भ वा प्रसङ्गका आधारमा लोकसाहित्यको
विश्लेषण गर्ने विभिन्न पद्धतिहरू विकसित भएका पाइन्छन् । 'वाक्क्रिया,
कथनको
जातितत्त्व र सम्पादनमूलक सिद्धान्त लोकसाहित्यको अध्ययन गर्ने प्रमुख प्रसङ्ग
केन्द्रित सिद्धान्त हुन्”
(बन्धु, २०५९,
पृ.१८–२१)
। सम्पादनमूलक सिद्धान्त र डेल हाइम्सको कथनको जातितत्त्वका आधारमा अछामी गालीको
अध्ययन गरिएको पाइन्छ (घोडासैनी, २०७७,
पृ.४७–६३)
। यसैगरी लोकसाहित्यका अन्य विधाहरू लोकमन्त्र, धरम्पुबाडो,
मृत्युगीत,
पडेली
गीत आदिको अध्ययन पनि घोडासैनीले गरेका छन् ।
“रिचार्ड
बाउमनले लोकसाहित्यको अध्ययन गर्ने क्रममा भाषिक कलाको सम्पादनका रूपमा (क)
अभिव्यक्तिको संहिता, (ख)
आलङ्कारिक भाषा, (ग) समानान्तरता,
(घ) विशिष्ट पराभाषिक अभिलक्षण,
(ङ) विशिष्ट ढाँचा,
(च) परम्परा पालन र (छ) सम्पादनको स्वीकारोक्ति
जस्ता कुरामा ध्यान दिनुपर्छ भनेका छन्”
(बन्धु, २०५९,
पृ.२१)
। “सम्पादनको
विशिष्टताबारे
राबर्ट
जर्जेसले
के
भनेका
छन्
भने
कथावाचन
कुनै
ठाउँ
र
समयमा
एकै
पटक
मात्र
घटित
हुन्छ,
एकै
पटक मात्र खास सामाजिक अन्तर्सम्बन्धमा आउँछ र त्यसले एकै पटक मात्र विशिष्ट
सामाजिक र मनोवैज्ञानिक वातावरण पैदा पर्दछ”
(बन्धु, २०७२,
पृ.३३)
वास्तवमा लोकमन्त्रले कति गहिरो मनोवैज्ञानिक प्रभाव पार्दछ भन्ने कुरा
सम्पादनबाटै स्पष्ट हुन्छ । त्यसैले यस लेखमा यिनलाई प्रमुख आधार मानी
लोकमन्त्रअन्तर्गत पर्ने ‘हवाइ’ लोकमन्त्रको सम्पादनमूलक अध्ययन गर्न बैज्यालो
प्रथाका सन्दर्भमा हवाइ लोकमन्त्र, यसको
शीर्षक, परिचय,
मूलपाठ,
सारसङ्क्षेप,
भाषिक
विशेषताामा आधारित भएर विश्लेषण गर्ने सैद्धन्तिक अवधारणा निर्माण गरिएको छ । यसको
सैद्धान्तिक आधार सम्पादन सिद्धान्त भए पनि त्यसबाट विश्लेषणको नयाँ ढाँचा
प्रस्तुत गरी त्यसैलाई सैद्धान्तिक अवधारणा बनाइएको छ ।
विमर्श/विश्लेषण
र नतिजा
यसमा लोकमन्त्रअन्तर्गत
पर्ने ‘हवाइ’ लोकमन्त्रको सम्पादनमूलक अधययन गरिएको छ । त्यसका लागि यसको
सम्पादनमूलक अध्ययन गर्न बैज्यालो प्रथाको सन्दर्भ, ‘हवाइ’
लोकमन्त्रको शीर्षक, परिचय,
मूलपाठ,
सारसङ्क्षेप,
भाषिक
विशेषता शीर्षकमा छलफल र विश्लेषण गरी लेखको निष्कर्ष निकालिएको छ ।
बैज्यालो
प्रथाको सन्दर्भ
कुनै व्यक्तिलाई रोग,
भूत,
प्रेत,
पिशाच
आदि लाग्यो भने स्याउँला वा अम्लिसाको कुचाद्वारा बैजी (झार्ने व्यक्ति) ले
रोगीलाई झाड्दा ‘हवाइ’ लोकमन्त्रको प्रयोग गरिन्छ । ‘हवाइ’ यस्तै प्रकृतिको
लोकमन्त्र भएकाले यसको प्रयोगलाई बैज्यालोका रूपमा गरिन्छ । मन्त्र गोप्य हुने भए
पनि वैदिक मन्त्र सुनाएर पढिए जस्तै ‘हवाइ’ लोकमन्त्र लयबद्ध रूपमा गाएर व्यक्त
गरिन्छ । यसलाई झारफुकेले झारफुक गर्दा मन्त्रका रूपमा प्रयोग गरेको पाइन्छ भने
बैजीले झार्दा अरूलाई सुनाएर गाएको पाइन्छ । त्यसैले मन्त्रको रूपमा गोप्य हुने भए
पनि बैज्यालोका रूपमा भने सार्वजनिक गरिएको देखिन्छ । वैदिक मन्त्र पनि झारफुकका
रूपमा प्रयोग गर्दा गोप्य नै हुन्छन् । यसैले बैज्यालोमा प्रयोग हुने मन्त्रको
सम्बन्ध वैदिक मन्त्रसँग रहेको देखिन्छ । मन्त्र र बैज्यालोमा गोप्यता वा मनमनै
भन्ने र सार्वजनिक वा अरूले सुन्ने गरी गाएर भन्ने जस्ता कुरामा मात्रै भिन्नता
देखाउन सकिन्छ । बैज्यालोमा प्रयोग हुने मन्त्रलाई अछामी लोकजीवनमा ‘काँडि’ पनि
भनिएको पाइन्छ । ‘काँडि’को अर्थ काण्ड वा श्लोक हो । यसलाई वैदिक मन्त्रका
सन्दर्भमा ऋचा भनिन्छ । यसरी बैजीले झारफुक गरेर रोग निका पार्ने प्रथा वा चलनलाई
बैज्यालो प्रथा भनिन्छ । लोकोपचारको एउटा उल्लेख्य परम्पराका रूपमा बैज्यालो
प्रथालाई लिन सकिन्छ । बैजीले झार्दा प्रयोग गर्ने अनेक प्रकृतिका लोकमन्त्रहरू
उपलब्ध छन् । अध्ययनको विषय बनाइएको ‘हवाइ’ त्यस्तै प्रकृतिको लोकमन्त्र हो ।
‘हवाइ’
लोकमन्त्रको शीर्षक
"झारफुक
गरेर उपचार गरी रोग निको पार्न लोकजीवनमा प्रयोग गरिने मन्त्र नै लोकमन्त्र हुन्”
(घोडासैनी, २०७७,
पृ.२६)
। लोकमन्त्र गोप्य हुन्छन् । यिनको प्रयोग गर्दा गुरुको आज्ञा,
निर्देशन
र सल्लाह लिनुपर्दछ । मन्त्रको गलत प्रयोग वा गोपनीयता भङ्ग भएमा मन्त्रशक्ति
क्षीण भएको मानिन्छ । मन्त्रको सस्वर उच्चारण गरिँदैन तर शिष्यलाई सुनाइन्छ वा
लेखेर दिइन्छ । ‘हवाइ’ शीर्षकको मन्त्र भने गायन गरेर व्यक्त गरिन्छ । यसको
उच्चारण गरेर सुनेका आधारमा अनुसन्धानकर्ताले मिति २०७० साल असार महिनाको १७ गतेका
दिन रेकर्ड गरेको थियो । मन्त्रका सम्पादनकर्तालाई आफ्नो उद्देश्य बताएर मन्त्र
भन्न लगाई रेकर्ड गरेर पुनः लिखित रूप दिने काम गरिएको हो । “लोकमन्त्रमा
देवी
देवताका
कसम
खुवाएर,
बाचा
गराएर भूत, प्रेत,
मोहनी,
कपट,
चोखा,
डाइनी,
बोक्सी,
विषालु
प्राणीको टोकाइबाट हुने विष आदि निको पार्न लोकमन्त्रको उपयोग गरिएको देखिन्छ”
(घोडासैनी, २०७७,
पृ.२७)
।
हावाले हानेर गरेको असरलाई
निको पार्न ‘हवाइ’ मन्त्रको प्रयोग गरिन्छ । यसलाई ‘छिटा’ पनि भन्दछन् । यो
हड्डीमा परेपछि मान्छे मर्दैन तर गला, कलेजोमा
परेपछि भेदी वा झारफुकेलाई झार्न लगाइएन भने मान्छे मर्न पनि सक्छ भन्ने जनविश्वास
पाइन्छ । यस शीर्षकमा ‘हवाइ’ लोकमन्त्रलाई अध्ययनको विषय बनाइएको छ । लोकमन्त्रलाई
लोकजीवनमा ‘मन्त्र’ मात्रै भनिएको पाइन्छ तर मन्त्रका प्रकारहरूलाई ख्याल गर्दा
लोकजीवनमा प्रयुक्त हुने मन्त्रलाई लोकमन्त्र नाम दिइएको हो । लोकमन्त्रको प्रयोग
गर्दा खरानी, मास,
चामल,
सस्सी,
पानी,
पशुलाई
हो भने घाँस, नुन आदिलाई लिएर
मुखले मन्त्र भन्दै बिच बिचमा उक्त लिइएको वस्तुमा फुफु गरिन्छ भने झार्नु पनि
पर्ने भए सिरु वा अम्लिसाको कुचो अथवा सफा कपडा आदिले झार्दै मन्त्रिने काम हुन्छ
। ‘हवाइ’ लोकमन्त्रले झार्ने काम हुन्छ फुक्ने काम हुँदैन । यस मन्त्रको प्रयोग गर्दा
सिरुका कुचाले ‘हावा’ लागेका मान्छेलाई हान्दै फुसफुसे सासमा मन्त्र पढ्ने गरिन्छ
। लोकमन्त्रअन्तर्गत ‘हवाइ’ मन्त्र अध्ययनको विषय रहेको हुनाले प्रस्तुत अध्ययनमा
‘हवाइ’ लोकमन्त्रलाई नै शीर्षक मानिएको छ ।
परिचय
प्रस्तुत शीर्षकमा समेटिएको
‘हवाइ’ लोकमन्त्र अछाम जिल्लाको पञ्चदेवल नगरपालिका–६ (साविक– तोली–१) का ४२
वर्षीय दल कँडारोको अभिव्यक्तिबाट सम्पादन गरिएको हो । उनी स्वयम्ले यसको निर्माण
(रचना) गरेको नभई आफू जस्तै अघिल्लो पुस्ताको झारफुकेबाट प्राप्त गरेर
अध्ययनकर्तालाई उपलब्ध गराएका हुन् । यसमा हावा लागेर रोगीको शरीरलाई परेको असर वा
विष मार्ने र त्यसलाई शक्तिका बाचा बन्धनमा पारेर नियन्त्रण गर्ने कुराको वर्णन
गरिएको छ । लोकपरम्परानुसार ‘हवाइ’ रोगको नियन्त्रण गर्न विष मार्ने वा त्यसलाई
शक्तिका बाचा बन्धनमा पार्ने सामर्थ्य मन्त्रको प्रयोग कर्तामा रहेको कुरा यस
मन्त्रमा प्रस्तुत गरिएको छ । कालेका बाबु पात, जरा,
सेला,
गाना,
रगत,
पेट
जस्ता मानव र मानवेतर पशुपक्षी र वनस्पतिमा लाग्ने विष मार्न सक्षम छन् । उनी
पूर्व देशमा यही काम गर्ने गर्दछन् । उनले एकदेखि दसपात भएको विष र तिनका हाँगा,
पात,
गाना,
सेला
सबै मारेका छन् । त्यस्तै उनी डाइनी, बोक्सी
लागेको भए त्यसलाई पनि मार्न सक्छन् । उनले त्यस्तो विषलाई मन्त्रेर विभिन्न
शक्तिका बाचा बन्धनमा पारेर पनि रोगको निदान गर्छन् भन्ने कुराको यसमा वर्णन
गरिएको छ । ‘हवाइ’ लोकमन्त्रको अभिव्यक्ति गर्दा झारफुके र रोगीको अनिवार्य उपस्थिति
हुन्छ । रोगीका आफन्त, नाता
र कुटुम्बहरूको उपस्थिति ऐच्छिक हुन्छ । रोगीको रोगको प्रकृतिलाई हेरेर उसका आफन्त,
सहयोगीहरूको
उपस्थिति हुने र नहुने कुराको निर्धारण हुन्छ । रोगी र उसका आफन्त तथा झारफुकेका
बिचमा दोहोरो संवाद हुँदैन । एकोहोरो झारफुकेले मात्रै एकालापीय अभिव्यक्ति गर्दछ
। मन्त्रको आन्तरिक संरचनामा भने झारफुकेले कालेलाई सम्बोधन गरी उसका बालाई सोधेको
छ र सम्पूर्ण मन्त्रको अभिव्यक्तिकर्ता स्वयम् काले नै भएको देखिन्छ । मन्त्रमा
बिष झार्ने शक्ति भने कालेका बामा रहेको देखिन्छ । मन्त्रको बाह्य संरचनामा भने
यस्तो संवाद हुँदैन । झारफुकेले मन्त्रको उच्चारण फुसफुसे सासमा गर्छ,
प्रष्ट
बुझिने गरी गर्दैन । मन्त्रको गोपनीयता भङ्ग नहोस् भन्ने उद्देश्य रहेको हुँदा
श्रोतावर्गले नबुझ्ने गरी वा फुसफुसे सासमा मन्त्रको अभिव्यक्ति गरिएको हुन्छ ।
रोगीलाई लागेको रोग र ‘हवाइ’ लोकमन्त्रको अभिव्यक्तिका बिच कुनै सान्दर्भिकता
देखिँदैन । रोगी र उसका आफन्तहरूले झारफुके र उसको मन्त्र शक्तिमाथि विश्वास गरेका
हुन्छन् । मन्त्र फुक्न सुरु गर्नु कार्यको आरम्भ हो भने रोगीलाई अम्लिसो वा
सिरुको कुचो वा सफा कपडाले हान्न छोड्नु कार्यको अन्त्य वा ‘हवाइ’ लोकमन्त्रको
समापनको अवस्था हो ।
मूलपाठ
झारफुके : १.
ए काल्या ! ए काल्या ! तेरा बा काँ गया ?
काल्या : २.
हाम्रा बा पुर्ब देस
झारफुके : ३.
पुर्ब देस क्या हन्न गया ?
काल्या :
४. बिखैर लाइना बिखैर खाना,
बिखैर
ओड्डा, बिखैर
ओच्छ्याउना
एक् पात्या बिख मार्याँ दो
पात्या बिख मार्याँ
तिन् पात्या बिख मार्याँ
चार् पात्या बिख मार्याँ
पाँच् पात्या बिख मार्याँ छ
पात्या बिख मार्याँ
सात् पात्या बिख मार्याँ
आठ् पात्या बिख मार्याँ
नौ पात्या बिख मार्याँ दस्
पात्या बिख मार्याँ
दस् पात्या बिखको हाँगि मार्याँ
जगि मार्याँ
फल मार्याँ,
पात
मार्याँ, गान्या मार्याँ,
सेल्या
मार्याँ
रक्त्या मार्याँ,
पेट्या
मार्याँ, फाल्या मार्याँ,
फट्टक्या
मार्याँ
डाइनि मार्याँ,
बोक्सि
मार्याँ ।
५. रगतै सागर,
चन्दन
डालि, बिसे गडुल,
मागुँ
पोख, मारुँ बिख,
सेरि मेरि बइनिका बाचा
रेउलि बेउलि भान्जिका बाचा
सारि सारि सुन सारि
खक्तक मुल्याई खत्तक ब्वारि
रगतै सागर,
चन्दन
डालि, बिसे गडुल,
मागुँ
पोख, मारुँ बिख ।
६. सेरि मेरि बइनिका बाचा
रेउलि बेउलि भान्जिका बाचा
एकालि बाचा,
द्वालि
बाचा, पाँच पान्डवका
बाचा
एक सय कउँरका बाचा,
मैठे
(मस्ट) बन्नालिका बाचा
माल मनेख चन्दन पर्वतका बाचा
अठार देबिका बाचा,
लोट्न्या
ढुङ्गाका बाचा
बग्न्या पानिका बाचा,
तेत्तिस
देवका बाचा
मेरा बाचा,
मेरा
गुरुका बाचा
शिव शक्ति गुरु भक्ति फुर
मन्त्रका बाचा
हनुमान बिरका बाचा ।।इति।।
सारसङ्क्षेप
यस मूल पाठमा सम्पादन गरिएको
‘हवाइ’ लोकमन्त्रमा छ अनुच्छेद छन् । यस मन्त्रमा प्रसङ्गको उठान गरी कालेका
बाबुको शक्ति र सामर्थ्य, शक्ति
वा सामर्थ्यका प्रेरक स्रोतहरू, मानव,
मानवेर
तथा दैवी शक्ति, भूत,
प्रेत,
गुरु
आदिका बाचा र बन्धनमा पारेर रोग निको पार्ने गरेका प्रसङ्गलाई सम्पूर्ण मन्त्रले
आत्मसात् गरेको छ । यसको पहिलो अनुच्छेदमा झारफुकेले कालेसँग तेरा बुबा कहाँ गए
भनेर प्रश्न सोधेको छ । यसको उत्तरमा कालेले मेरा बुबा पूर्व देश गएका छन् भनी
जवाफ दिएको छ । पूर्व देश के गर्न गएका हुन् भन्ने झारफुकेको दोस्रो प्रश्नको
जवाफमा कालेले पूर्व देश जानुको कारणबारे जे बताउँछ, त्यही
कुरालाई यस ‘हवाइ’ लोकमन्त्रमा अभिव्यक्त गरिएको छ । यसको चौथो अनुच्छेदमा कालेले
आफ्ना बुबाले विष ओढ्ने, विष
ओछ्याउने गरेको, एकदेखि दस
ओटासम्म पात भएका विष मारेको, त्यस्ता
विषको हाँगो, फेद,
फल,
पात,
गाना,
सेला
सबै मारेको कुरा बताएको छ । विष मानिसलाई लागेर उसको रगतमा,
पेटमा,
दौडिँदा,
उफ्रिँद
लागेको वा डाइनी बोक्सीसमेतले लगाएको विष भएमा त्यो पनि मारेको कुरा बताएको छ ।
पाँचौँ अनुच्छेदमा विषले रगतकै सागर बनाए पनि चन्दनको काठमा जस्तै शीतलता दिन
सक्ने, चन्दनमा बेरिने
सर्पको जस्तै विष भए पनि गरुडको प्वाँख लिएर विष मार्न सक्ने सामर्थ्य रहेको वर्णन
पाइन्छ । यस्तै बहिनी र मान्जीका बाचा खुवाएर दोषी मुल्याई (अनाथ केटी) र दोषी
बुहारीलाई बाचामा पारी उनीहरूबाट लागेको विष भए त्यो पनि मार्न सक्ने कुरा बताइएको
छ । यसमा कालेका बाबुको शक्ति वा सामर्थ्यका पे्ररक स्रोतहरू को को हुन् भन्ने
कुराको वर्णन पाइन्छ । यसबाट कालेका बाबुको शक्ति र सामर्थ्यको पहिचान भएको छ ।
छैटौँ
अनुच्छेदमा मानव, मानवेतर,
प्राकृतिक
र दैवी शक्तिका बाचा र बन्धनमा पारेर रोग निको पार्ने कुरा उल्लेख छ । यसमा बहिनी,
भान्जी,
एक
दुई सङ्ख्या, पाँच पाण्डव,
सय
भाइ कौरव, मस्ट बन्डाली,
बेँसी,
प्रदेश,
चदन
पाइने पर्वत, नौ देवी,
लोट्ने
ढुङ्गा, बग्ने पानी,
तेत्तिस
कोटि देवता, म,
मेरा
गुरु, शिव र शक्ति,
फुकेको
मन्त्र, हनुमान वीर
आदिका बाचा र बन्धनमा रहेर सन्चो भएस् भनिएको छ । लोकमन्त्रको अभिव्यक्तिबाट
‘हावा’ लागेको व्यक्तिलाई रोग लागेकामा उपचार भएको अनुभूति र मन्त्रप्रतिको
विश्वासको भावनाले काम गर्न थालेपछि पीडाको अनुभूति केही कम भएको महसुस हुन्छ ।
रोगीका आफन्तहरू पनि झारफुकेको मन्त्र शक्तिको सामर्थ्यसँग परिचित हुन्छन् वा
उनीहरूलाई मन्त्र शक्तिमाथि अन्धविश्वास हुन्छ । यसका साथै झार्नेक्रममा रोगीलाई
थेरापी पनि हुन्छ यसैका कारण पनि रोग केही सन्चो हुन्छ । रोगीका आफन्तले रोगीको
हौसला बढाउँछन् । यसरी ‘हावा’ लागेको प्रत्येक रोेगीलाई निको पार्ने उद्देश्यले
झारफुकेलेहरूले लोकजीवनमा लोकमन्त्रको अभिव्यक्ति गर्ने हुनाले लोकजीवनमा यसको
उल्लेख्य स्थान रहेको देख्न सकिन्छ ।
भाषिक
विशेषता
प्रस्तुत ‘हवाइ’ लोकमन्त्र छ
अनुच्छेदमा संरचित छ । यसका केही पङ्तिहरूमा अन्त्यानुप्रास र अन्तर अनुप्रासको
आयोजना गरिएको पाइन्छ । सुरुका तीन अनुच्छेदमा प्रश्नोत्तर शैली अपनाइएको छ ।
तेस्रो अनुच्छेदमा सोधिएका प्रश्नको उत्तरका रूपमा बाँकी सबै अनुच्छेदहरू आएका छन्
। सबै अनुच्छेदका प्रत्येक पङ्तिमा समान लम्बाइ छैनन् तर तिनको उच्चारणमा
गेयात्मकता पाइन्छ । यसमा ‘रगतै सागर, चन्दन
डाली, बिसे गडुल,
मागुँ
पोख, मारुँ बिख,
सेरी
मेरी बइनीका बाचा, रेउली
बेउली भान्जीका बाचा’ जस्ता दुई पङ्ति भने पाँचौँ र छैठौँ अनुच्छेदमा गरी दुई पटक
दोहोरिएको छ । ‘मार्याँ’ र ‘बाचा’ शब्द भने प्रायः जस्तो एकै पङ्तिमा दुई तीन पटक
दोहोरिएको पाइन्छ । यसले विशेष प्रकारको लय सिर्जना गर्ने काम गरेको छ । यसमा
अछामी नेपाली भाषिकाको प्रयोग गरिएको छ । केही शब्दहरू भने अछामी नेपालीको वर्तमान
संरचना र स्वरूपभन्दा केही भिन्न प्रकृतिका छन् । यसमा प्रयोग गरिएको ‘एकदेखि दस
पाते विष मारेँ’, ‘रगतै
सागर, चन्दन डाली,
बिसे
गडुल, मागुँ पोख,
मारुँ
बिख’, सेरी मेरी’,
‘रेउली बेउली’, ‘खक्तक
मुल्याई खत्तक ब्वारी’ आदि पदको वास्तविक शब्दार्थ खुल्दैन । यी पदहरूले वर्तमान
अछामी नेपालीसँग व्यतिरेक राख्दछन् । यिनमा प्रयुक्त भाषा वर्तमान अछामी
नेपालीभन्दा पुरानो देखिन्छ । यसमा काल्या (काले), बा
(बुबा), काँ (कहाँ),
क्या
(के), हन्न (गर्न),
गया
(गए वा जानु भयो), बिखैर
(विष नै), ओडन (आढ्छन्),
मार्याँ
(मारेँ), हाँगि (हाँगा),
जाँगि
(फेद), गान्या (गाना),
सेले
(गानामा पाइने लाम्चा फल), गडुल
(गरुड), बइनि (बहिनी),
मुल्याइ
(अनाथ केटी), ब्वारि (बुहारी),
कउँर
(कौरव), मैठे बन्नालि
(मस्ट बन्डाली), माल (बेँसी),
मनेख
(मदेस) आदि शब्दले अछामी नेपाली भाषाको प्रतिनिधित्व गरेको देखिन्छ । ‘सेरि मेरि
बइनिका बाचा, रेउलि बेउलि
भान्जिका बाचा’ पदमा प्रयुक्त इ, आ
ध्वनिको वितरणले समानान्तरता देखाएका छन् । मान्छेले शक्तिको पूजा कसरी गर्दो रहेछ
भन्ने कुराको चरम उदाहरणका रूपमा ‘लोट्न्या ढुङ्गाका बाचा,
बग्न्या
पानिका बाचा’ लाई अघि सार्न सकिन्छ । जे जेमा शक्ति छ त्यसको पूजा,
भरोसा,
विश्वास
गरेर मान्छेले आफूलाई पनि शक्तिशाली प्राणीका रूपमा उभ्याएको छ भन्ने कुराको
पुष्टि उपर्युक्त उद्धरणबाट भएको छ । झारफुकेले जसलाई मन्त्र भनेर गोप्य राखेको
हुन्छ त्यसमा शक्तिका प्रतीक मानिएको पृथ्वी (माल, मनेस,
चन्दन
पर्वत), मानिस (गुरु,
पाँच
पाण्डव, सय भाइ कौरव,
बहिनी,
भान्जी),
देवी,
देवता
र फुकेको मन्त्र जस्ता कुराहरू रहेका हुँदा रहेछन् भन्ने कुराको रहस्योद्घाटन यस
लोकमन्त्रको अध्ययनले देखाएको छ । मन्त्रमा केही अरू थोक नभई शक्तिकै उपासना,
पूजा
र उनीहरूको आशीष मागिएको हुन्छ । मन्त्र जो कसैले प्रयोग गर्दैमा त्यसको भेद (असर)
लाग्दैन । गुरुबाट सही तरिकाले औपचारिक रूपमा शिक्षा लिएर प्रयोग गरिएको मन्त्र
मात्रै काम लाग्छ । जसरी घर बसी बसी कसैले पढेर शैक्षिक ज्ञान हासिल गरे पनि जागिर
खान र औपचारिक योग्याता बताउन प्रमाणपत्रको आवश्यकता हुन्छ र त्यसको व्यवस्था कुनै
शिक्षण संस्था वा गुरुकुलमा जानुपर्दछ जुन सरकारद्वारा मान्यता प्राप्त हुनुपर्दछ
। त्यस्तै मन्त्र पनि गुरुको अनुमतिबिना काम लाग्दैन । मन्त्रले भन्दा बढी
मन्त्रप्रतिको आत्मविश्वासले रोगको निदान हुन्छ भन्ने कुरा ‘हवाइ’ भन्त्रको
अध्ययनबाट बुझिन्छ । यस छोटो संवादात्मक लोकमन्त्रले मन्त्रमा प्रयोग हुने
विषयवस्तु जे जस्तो भए तापनि त्यसको प्रयोग गर्ने झारफुके र मन्त्रशक्तिप्रति
विश्वास गरेर रोग निदानमा त्यसको प्रयोग गर्न लगाउने जस्ता नेपाली जनमानसका
व्यवहार, चलन र
मान्यतालाई उजागर गरेको छ । यसले नेपाली समाजमा आधुनिक स्वास्थ्योपचारको पहुँच भए
तापनि झारफुकेले गर्ने तन्त्रमन्त्रप्रतिको विश्वास अझै टुटेको रहेनछ भन्नेतर्फ
सङ्केत गरेको छ ।
निष्कर्ष
‘हवाइ’
लोकमन्त्रको सम्पादन सिद्धान्तका आधारमा अध्ययन गर्नु’लाई प्रमुख उद्देश्य र यस
‘लोकमन्त्र कसरी सम्पादन गरिएको हुन्छ’ भन्ने कुरालाई प्रमुख समस्या मानी प्रस्तुत
लेख तयार पारिएको छ । यसमा यसमा गुणात्मक
ढाँचा अवलम्बन गरी अवलोकन तथा कृतिबाट प्राप्त तथ्यको विश्लेषण गरी निष्कर्ष
निकालिएको छ । सोद्देश्यमूलक नमुना छनोटपद्धतिका आधारमा अछाम जिल्लामा पाइने
‘हवाइ’ लोकमन्त्र चयन गरी सम्पादन सिद्धान्तका आधारमा यसको वर्णन,
तुलना
र त्यसको पुष्टिका लागि उदाहरण दिई विश्लेषण गरेर निष्कर्षमा पुग्ने काम गरिएको छ
। ‘हवाइ’ लोकमन्त्रको सम्पादनमूलक अध्ययनले बैज्यालो प्रथा र यसमा प्रयोग हुने
लोकमन्त्रको शीर्षक, परिचय,
मूलपाठ,
सारसङ्क्षेप
र भाषिक विशेषताहरू के कस्ता छन् भन्ने कुरा देखाइएको छ । लोकमन्त्रको प्रकृति र
स्वरूपअनुसार कुनै शब्दलाई नै शीर्षक बनाएर राख्ने गरिएको पाइन्छ । यसमा ‘हवाइ’
लोकमन्त्रलाई नै शीर्षक मानेर अध्ययन गरिएको छ । सबै खाले लोकमन्त्रमा एउटै
विषयवस्तु हुँदैन । मन्त्रको ढाँचागत एकरूपता भने अवश्य हुन्छ । सबै खाले मन्त्रमा
बाचा बन्धन गर्ने कार्य भने रहेकै हुन्छ तर आकार प्रकार एउटै हुँदैन ।
सम्पादनकर्ताको स्मरण क्षमता र सिर्जनशीलताले मन्त्रको आकार पनि घटबढ हुनसक्ने
देखिन्छ । यस्तो नहुने भए मन्त्रको भाषा पुरानो मात्रै हुनुपर्ने हो नयाँ भाषामा
पनि मन्त्र पाइने हुनाले सिर्जनशीलताले प्रभावित गरेको मान्नुपर्दछ । मन्त्रको
उच्चारण फुसफुसे सासबाट हुने भएकाले यसको भाषाले उपस्थित श्रोताहरूलाई भने कुनै
प्रभाव पार्न सक्दैन, परिणाम
भने विश्वास गरेर मात्रै रोगको निदानमा मद्दत पुग्न सक्छ । यसबाट मन्त्रभन्दा पनि
मन्त्रप्रतिको विश्वास र झार्ने कार्यबाट रोगको निदान हुने गरेको कुरा प्रस्तुत
मन्त्रका सम्पादनकर्ताको स्वीकारोक्ति रहेको पाइएको छ । यसबाट मन्त्रका शब्दले
बाह्यरूपमा होइन आन्तरिक वा मानसिक सन्तुष्टि दिएर रोगीलाई प्रभावित पारेको
निष्कर्ष निकाल्न सकिन्छ ।
सन्दर्भ
सामग्रीसूची
घोडासैनी,
खगेन्द्र
(सन् २०१५). 'राउको काँडी’
लोकमन्त्रको सम्पादनमूलक अध्ययन, रिसर्च
हाइलाइटस्, २/४,
अक्टोभर–डिसेम्बर,
(पृ.२१३–२२०) ।
घोडासैनी,
खगेन्द्र
(२०७७). अछामी गालीको अध्ययन, (दो.संस्क.).
सनलाइट प्रकाशन ।
त्रिपाठी,
वासुदेव
र अन्य (सम्पा.). (२०५५). नेपाली बृहत् शब्दकोश, (चौ.सं.).
नेपाल
प्रज्ञाप्रतिष्ठान
न्यौपाने,
कृष्णप्रसाद
(२०७६, मंसिर १) लोक
उपचार विधि : उपचारमा तन्त्रमन्त्रको प्रयोग र तरिका. https://www.loksambad.com/news/4904
बन्धु,
चूडामणि
(२०५८). नेपाली लोकसाहित्य, थापाथली.
एकता बुक्स ।
बन्धु,
चूडामणि
(२०५९). क्षेत्रकार्य र सम्पदान सिद्धान्त’, नेपालीसंस्कृति,
विशेषाङ्क,
(पृ. १६–२४) ।
बन्धु,
चूडामणि
(२०६५). अनुसन्धान तथा प्रतिवेदन लेखन. एकता बुक्स ।
बन्धु,
चूडामणि
(२०७२). लोकसाहित्यका सिद्धान्त र अध्ययन पद्धति, जीवेन्द्रदेव
गिरी (सम्पा.), नेपाली
लोकवार्ता (पृ.२०–३९). नेपाल प्रज्ञाप्रतिष्ठान ।
शर्मा,
वीरेन्द्र
र अन्य (सम्पा.). (२०२०). हिन्दी साहित्य कोश, (भाग
१). ज्ञान मण्डल लिमिटेड ।
श्रीमाली,
नारायणदत्त
( – ). मन्त्र रहस्य. हिन्दी पुस्तक भण्डार ।
स्वामी,
केएन
(२०७७). संस्कृत–नेपाली–अङ्ग्रेजी–हिन्दी शब्दकोश, एप.
https://play.google.com/store/apps/details?id=com.lpt.knswami
(साभार : घोडासैनी, खगेन्द्र (२०७०). ‘हवाइ’ लोकमन्त्रको सम्पादनमूलक अध्ययन। लोकसंस्कृति, ९ (१), ५७–६४।)
