examinee (परीक्षार्थी)

Dr.Khagendra Ghodasaini
0
                                                  डा. खगेन्द्र घोडासैनी

ऊ हेर !
यिनीहरू अनुशासित छन्
यिनीहरू अनुशासित हुन् ।
कि अगाडि फर्किन्छन्
कि पछाडि फर्किन्छन्
कोही कुराकानी गर्छन्
कोही कानेखुसी र सङ्केत गर्छन्
कोही स्थिर छन्, केवल स्थिर
यति स्थिर कि लेखिसकेको पाना पनि मोड्दैनन्
निरीक्षकले लेखिसकेको पाना मोड भन्नुपर्छ ।

ऊ हेर !
यिनीहरू अनुशासित छन्
यिनीहरू अनुशासित हुन् ।
उत्तरपुस्तिकामा लेख्ने कुरा छैन उनीहरूसँग
त्यसैले प्रश्नपत्रमै लेख्छन्
लेखेको प्रश्नपत्र साटासाट गर्छन्
कसैलाई भनूँ 'तलाई विद्यार्थीले टेर्दैनन्'भन्ने बात लाग्ने डर
जसलाई विद्यार्थीले टेर्छन् उनीहरू परीक्षा कोठामा विरलै देखिन्छन्
कथंकदाचित् देखिए पनि धेरैबेर टिक्दैनन्
म भुक्तभोगी यी अनुशासितहरूसित कति झेल्नु
संयोगले नजिक बसेकाहरूको बानी त्यस्तै छ
विगतमा कहिल्यै नबोलेका
कहिल्यै ननजिकिएकाहरू पनि आज अत्यन्त समीप छन्
समलिङ्गी हुन् वा विपरीत लिङ्गी
जति ठाउँ सारिदिए पनि
चुम्बकीय आकर्षणले फेरि तान्छ समीप
ऊ हेर !
यिनीहरू अनुशासित छन्
यिनीहरू अनुशासित हुन् ।
परीक्षा कक्षा छलफल गोष्ठी जस्तो
शून्यता छाउनुपर्ने ठाउँमा कोलाहल जस्तो
एक जना त होस् थपक्क बसेर लेख्ने
चोर्ने र चोराउने काममा संलग्न नभएको
हुन्छु म निरुत्तर
केवल मरुभूमि हुन्छु
एक थान सिसी क्यामेरा राखेर भित्तामा
सकिन्थ्यो प्रमाण जुटाउन
थियो नि निष्कासनसम्मको अधिकार त निरीक्षकलाई
गलत गर्नेलाई
पक्षपात र भेदभाव भए नभएको हेर्न
गरिँदैन यिनको प्रयोग
गरिए पनि निष्कासन
सदर नै होला भन्ने पूर्ण विश्वास
यस्तै यस्तैमा हुँदै छ शिक्षामा सुधार

ऊ हेर !
यिनीहरू अनुशासित छन्
यिनीहरू अनुशासित हुन्
उनीहरू लेख्दै छन्
कविताका नाउँमा यी शब्दहरू
म पनि लेख्दै छु
उनीहरू असचेत भएर लेख्छन्

बोध हुन्छ कक्षामा को को आए को को गए
कसले आफूलाई बोलाउँदै छ
आफूले बोलाएको ककसले सुन्दै छ
उनीहरू अरूले मुन्टो बटारेको चाल पाउने गरेर सचेत छन्
एउटा वाक्य लेख्न चार पटक शरीर र शिर घुमाउँछन्
कत्ति पनि शरीर र शिर नघुमाउने एक जना पनि पाउनै किठन
बोध हुन्छ अरू सबै कुराको
केवल हुँदैन सोधिएका प्रश्नको उचित उत्तर
म असचेत भएर लेख्छु
थप कपी माग्दा रोस्टमबाट कपी मात्रै लिएर जान्छु
तर बिर्सिन्छु स्टिचिङ मेसिन लैजान
दोस्रो कपी माग्दा
टक्य्राउँछु पहिलो कपी नै
अनि बोध हुन्छ मलाई
म कति लेख्नमा मस्त भएछु
हुनुपर्ने थियो जति परीक्षार्थी

ऊ हेर !
यिनीहरू अनुशासित छन्
यिनीहरू अनुशासित हुन् ।
 
                 रचना : २०८१/१२/१७

Post a Comment

0 Comments
Post a Comment (0)

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top