कक्षा ११ को परियोजना लेखन

Dr.Khagendra Ghodasaini
0

परियोजना कार्यः १


१.१ परियोजनाको शीर्षकः           'गाउँको माया' कथाको विश्लेषणात्मक अध्ययन

विषय:                                         नेपाली (कक्षा ११)

 (एकाइ/विधा):                            कथा ‘गाउँको माया’

परियोजना प्रकार:                          वैचारिक, विश्लेषणात्मक र खोजमूलक

अवधि:                                         ३ हप्ता

ढाँचा:                                              लिखित प्रतिवेदन + प्रस्तुतीकरण

प्रतिवेदन ढाँचा:                               नेपाली एकेडेमिक ढाँचा / APA Style

परियोजना लेखन                           हस्त लिखित हुनुपर्ने।

१.२ मुख्य प्रेरक प्रश्न

आधुनिक नेपाली समाजमा बढ्दो सहरकीकरणका बिच गाउँप्रतिको मोह, मौलिक संस्कृति र वर्गीय द्वन्द्व तथा सन्तुलन कायम कसरी भइरहेको छ ?

सहायक प्रश्नहरू:

१. 'गाउँको माया' कथामा प्रस्तुत परिछन पात्रको माध्यमबाट नेपाली गाउँले जीवनको कुन सामाजिक र आर्थिक यथार्थलाई उजागर गरिएको छ ?

२. सहरतर्फको बसाइँसराइले ग्रामीण नेपालको सामाजिक-सांस्कृतिक ढाँचा र जनजीवनमा कस्तो प्रभाव पारेको छ ?

३. आधुनिक भौतिक सुख-सुविधा र मातृभूमि/जन्मभूमिको मायाबिचको द्वन्द्वलाई कथाकार इस्मालीले कसरी प्रस्तुत गरेका छन् ?

४. कथामा व्यक्त गाउँप्रतिको आत्मीयता र वर्तमान नेपाली समाजको युवापुस्ताको सोचबिच के-कस्ता समानता वा भिन्नताहरू छन् ?

५. गाउँको मौलिक विकास, युवा पलायन र वर्गीय द्वन्द्वको वर्तमान सन्दर्भमा यो कथाको सान्दर्भिकता कसरी पुष्टि गर्न सकिन्छ ?

१.४ परियोजना कार्यका चरणहरू

कार्य १. साहित्यिक तथा सामाजिक (हप्ता १– ८ घण्टा)

निर्देशनहरू:

१. कथाको गहन पठन र विश्लेषण:

·     सामाजिक कथाको परिभाषा र विशेषता अध्ययन गर्ने ।

·     'गाउँको माया' कथाको कथावस्तु, पात्र विधान, ग्रामीण परिवेश, मुख्य द्वन्द्व र मूल सन्देशको अध्ययन गर्ने ।

२. सामाजिक-आर्थिक सन्दर्भ सङ्कलन:

  • वर्तमान नेपाली समाजमा युवा पलायन, रित्तिँदा गाउँहरू र यसले पारिवारिक सम्बन्धमा पारेको प्रभाव‚ वर्गीय द्वन्द्व र किसानले भोग्नुपरेका समस्याबारे समाचार, लेख र प्रतिवेदनहरू सङ्कलन गर्ने ।

३. अन्तर्वार्ता पूर्वतयारी:

  • समाजका ३ जना प्रतिनिधि व्यक्तिहरू (उदा: एक जना सहरको बसाइबाट घर फर्केका वा घरमा पाका अभिभावक‚ एक जना गरिब कृषक र एक जना सहर जाने तयारीमा रहेका/अध्ययनरत युवा) सँग सोध्नका लागि ६  ओटा प्रश्नहरू तयार पार्ने ।

सम्भावित प्रश्नका नमुनाहरू:

  • तपाईंको विचारमा युवाहरू गाउँ छोडेर सहर जानुको मुख्य कारण बाध्यता हो कि आकाङ्क्षा ?
  • भौतिक सुख-सुविधा र गाउँको मौलिक आत्मिक खुसीमध्ये तपाईं कसलाई रोज्नुहुन्छ ?
  • 'गाउँको माया' कथाका पात्रले जस्तै आधुनिक युवाले गाउँ फर्कने सोच राखेको पाउनुहुन्छ ?
  • युवा पलायनले हाम्रा गाउँहरू र सामाजिक-सांस्कृतिक परम्परामा कस्तो असर पारेको छ ?
  • तपाइँले गाउँमा खेती किसानी गर्दा के कस्ता समस्याहरू भोग्नु भएको छ  ?

कार्य २: तथ्याङ्क सङ्कलन र आलोचनात्मक विश्लेषण (हप्ता २ – १० घण्टा

निर्देशनहरू:

१. अन्तर्वार्ता तथा छलफल:

  • छानिएका प्रतिनिधि व्यक्तिहरूसँग अन्तर्वार्ता लिई टिपोट वा अडियो रेकर्ड गर्ने ।

२. तुलनात्मक विश्लेषण:

  • कथाका पात्रहरूले गाउँ र मातृभूमिप्रति देखाएको प्रेम तथा आधुनिक युवा पुस्ताको सहरमोहबिच तुलना गर्ने ।
  • कथामा वर्णित ग्रामीण जीवनको तस्बिर र वर्तमान समयका गाउँहरूको वस्तुस्थितिबिच तुलना गर्ने ।

३. सामाजिक-मनोवैज्ञानिक अध्ययन:

  • युवा वर्ग सहरमा जाँदा गाउँमा बाँकी रहेका वृद्धवृद्धाको मानसिक अवस्था, गाउँमा बसोबास गर्ने अनपढ किसानले भोग्नु परेका समस्या‚ सामाजिक शून्यता र  वर्गीय द्वन्द्वका कारणले गाउँको विकासमा परेको असरबारे विश्लेषणात्मक अध्ययन गर्ने ।

४. कथाको आन्तरिक द्वन्द्व र वर्तमान यथार्थको विश्लेषण:

  • सहरको सुविधा र गाउँको आत्मीयताबिचको द्वन्द्व ।
  • आर्थिक उपार्जन र पारिवारिक/सामाजिक उत्तरदायित्वबिचको सन्तुलन ।

कार्य ३ : प्रतिवेदन लेखन  (हप्ता ३  – १० घण्टा)

प्रतिवेदनको संरचना:

खण्ड

विवरण

आवरण पृष्ठ

परियोजनाको शीर्षक

प्रस्तुत परियोजना कक्षा ११ को नेपाली विषयको आन्तरिक मूल्याङ्कनअन्तर्गत 'प्रयोगात्मक तथा परियोजना कार्य'को 

आंशिक पाठ्यांशको परिपूर्ति गर्ने प्रयोजनका लागि

 गोरखा माध्यमिक विद्यालयसमक्ष 

प्रस्तुत 

परियोजना कार्य- २०८३

विद्यार्थीको नाम, रोल नं., कक्षा, विषय, विद्यालयको नाम।

दोस्रो पृष्ठ

परियोजनाको शीर्षक, दायाँतिर संयोजकको नाम र हस्ताक्षर, बायाँतिर विषय शिक्षकको नाम हस्ताक्षर । बुझाएको मिति

धन्यवाद तथा कृतज्ञताज्ञापन

विषय शिक्षक, विद्यालय, उत्तरदाताहरूलाई औपचारिक धन्यवाद

विषयसूची

सम्पूर्ण परियोजनाका मुख्य मुख्य शीर्षकलाई विषयसूचीका रुपमा राख्ने र तिनको पृष्ठसमेत उल्लेख गर्ने।

परिचय

'गाउँको माया' कथाको पृष्ठभूमि, परियोजनाको औचित्य र मुख्य प्रेरक प्रश्न

उद्देश्य र समस्या

सहायक प्रश्नहरूमा आधारित भएर ३–४ वटा उद्देश्यहरू सूचीबद्ध गर्ने र उद्देश्यमा आधारित भएर उद्देश्यजति नै प्रश्नात्मक शैलीमा समस्या लेख्ने

कथाको विश्लेषण

गाउँको परिवेश, सहरिया बसाइको प्रभाव, युवा पलायन, वर्गीय द्वन्द्व, गाउँको सामाजिक तथा सांस्कृतिक जनजीवनमा पारेको प्रभाव, गाउँको आर्थिक असन्तुलन, आत्मीयता र वर्तमान सामाजिक यथार्थसँग कथाको तुलनात्मक विश्लेषण

निष्कर्ष

कथाले दिएको सन्देश, गाउँको पुनरुत्थानको आवश्यकता र वर्तमान सन्दर्भमा कथाको सान्दर्भिकता

सन्दर्भ सामग्री

प्रयोग गरिएका स्रोतहरू (पाठ्यपुस्तक, लेख, अन्तर्वार्ताका पात्रहरू) को APA शैलीमा सूची तयार पार्ने, AI को प्रयोग निषेध।

 कार्य ४ : प्रस्तुतीकरण र अन्तर्वार्ता (हप्ता ३/४)

निर्देशनहरू:

           १. परियोजनाको सार समेटेर चार्ट पेपर वा ६–८ स्लाइडको Power Point Presentation तयार पार्नुहोस् ।

           २. आफ्नो प्रस्तुतीकरण कक्षा वा शिक्षकसामु गर्नुहोस् ।

          ३. शिक्षक वा साथीहरूले सोधेका प्रश्नहरूको मौखिक उत्तर (Viva-voce) दिन तयार रहनुहोस् ।


परियोजना कार्य-२


दसैँ परियजोना

  • मुख्य प्रश्न- "दसैँ पर्व र स्थानीय लोकसाहित्यले हाम्रा सांस्कृतिक परम्परालाई कसरी जीवन्त राखेका छन्?"
  • शीर्षक: दसैँ पर्वका अवसरमा गाइने लोकगीत/कथाहरूको सङ्कलन र विश्लेषण

निर्देशन:

१. दसैँ बिदाका क्रममा आफ्नो घर/गाउँका ज्येष्ठ नागरिकहरूसँग भेट गरी दसैँसँग सम्बन्धित २ ओटा लोकगीत वा लोककथाहरू सङ्कलन गर्नुहोस्। २. सङ्कलित सामग्रीमा प्रयोग भएका विशिष्ट शब्दहरूको वर्णविन्यास शुद्ध पार्नुका साथै शब्दवर्ग र शब्द स्रोतका पाँच पाँच ओटा उदाहरण छुट्ट्याउनुहोस्। ३. सङ्कलित सामग्री र तिनको सांस्कृतिक महत्त्व खुलाएर शब्दवर्ग र शब्दस्रोतसमेत राखी तिनको सिर्जनात्मक प्रस्तुतिका साथ परियोजनाको ढाँचामा प्रतिवेदन तयार पार्नुहोस्।

आइतबारको गृहकार्य

तपाईँले आफ्नो क्षेत्रमा रहेको कुनै सम्भावित पदमार्ग‚ तालतलैया‚ वनस्पति उद्यानमध्ये कुनै एकको स्थलगत अवलोकन गरी सो ठाउँमा पुग्ने बाटो‚ खाने बस्ने सुविधा र स्थानीय आकर्षणहरूको नक्साङ्कनसमेत गरेर ३०० शब्दसम्मको एक दैनिकी तयार गर्नुहोस् ।

Post a Comment

0 Comments
Post a Comment (0)

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top